Wise Words
दुःख एक माया (नेपाली)
रोशन
दुःख एक माया ***यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"*** दुःख एउटा माया हो; दुःख मनोनिर्मित हो। दुःख र पीडामा भेद बुझ्नुहोस्। पीडा त अत्यन्तै नैसर्गिक कुरा हो। पीडा एउटा यस्तो अनुभव हो, जसले हामीलाई शरीरमा कुनै प्रकारको क्षति भएको ज्ञान गराउँछ। पीडाका संकेतहरू स्नायु-प्रणालीमा सञ्चारित हुन्छन्, त्यसको अनुभव पीडाको रूपमा हुन्छ, र त्यसले जीवलाई कुनै उचित कदम चाल्न प्रेरित गर्छजस्तै, कुनै एक ठाउँमा बस्नु वा पीडाको स्रोतबाट टाढा हट्नु। यो अत्यन्तै उपयोगी छ। पीडाकै कारणले जीव जीवित रहन्छ। जस्तो कि तपाईंलाई थाहै होला, शरीर र स्नायु-प्रणाली 'चित्त' का तल्ला पत्रहरू हुन्। पीडाको स्मृति त्यति लामो समय रहँदैन। पीडा आउँछ र जान्छ। पीडाले आफ्नो काम गर्छ, र त्यसपछि त्यो बिर्सिइन्छ। दुःख पनि एक प्रकारको पीडा नै हो, तर यो 'चित्त' का माथिल्ला पत्रहरूमा घटित हुन्छ। क्षतिका संकेतहरू 'चित्त' का माथिल्ला पत्रहरूले पठाउँछन्। र स्मृतिमा यो दुःखअर्थात् यो मानसिक पीडालामो समयसम्म रहिरहन्छ। केही दुःख त यस्ता हुन्छन्, जो जीवनभर जाँदैनन्। दुःखको उद्देश्य पनि पीडाको जस्तै होमनमा केही क्षति भयो; जीवनमा केही क्षति भयो; यो व्यक्ति, जो कृत्रिम छ, त्यसको केही हानि भयो। अपमान भयो, धोका भयो, त्यसमाथि आक्रमण भयो, उसको उपहास गरियो। यस्ता प्रकारका हानिहरूका संकेत पनि 'चित्त' ले पठाउँछ, र यी संकेतहरू 'चित्त' का तल्ला वा बीचका पत्रहरूमा गएर छापिन्छन्। अब, किनकि यो अधिक स्थायी छ, किनकि यो अधिक सूक्ष्म छ, यो कैयौं वर्षसम्म वा जीवनभर पनि रहिरहन्छ। त्यो स्मृति बारम्बार प्रकट भइरहन्छ; ती स्थितिहरू बारम्बार मनसपटलमा आइरहन्छन्, र यो मानसिक पीडा फेरि-फेरि उब्जिरहन्छ। यो 'चित्त' मा चल्ने एउटा 'वृत्ति' हो। यो कहीँ बाहिर भइरहेको छैन। जे बाहिर भयो, त्यो त भएर गइसक्यो। अब यो त्यो हो, जुन स्मृतिमा छापिएर बसेको छ। दुःखको कारण पीडा होइन; त्यो त आएर गइहाल्छ। दुःखको कारण जीवनका परिस्थितिहरू पनि होइनन्। तपाईंका आफन्त, प्रियजन वा अरू अपरिचित मानिसहरू पनि होइनन्। दुःखको कारण त 'चित्त' होत्यही चित्त, जसलाई तपाईं 'आफ्नो' भन्नुहुन्छ; जसलाई तपाईं 'म' र 'मेरो' भन्नुहुन्छ, त्यो हो। यो अज्ञान होइन भने के हो त? दुःखको मूल कारण नै 'अज्ञान' हो।कुन अज्ञान? त्यही अज्ञान, कि तपाईंले 'चित्त' लाई नै 'म' भनेर सम्झनुभयो, र त्यसको 'वृत्ति' लाई 'मेरो वृत्ति' भनेर मान्नुभयो। न आत्माको ज्ञान छ, न 'चित्त' को ज्ञान छ, न त यी प्रक्रियाहरूकै ज्ञान छ। र यही कारणले, यही अज्ञानका कारणले, तपाईंको जीवन नर्क बनेको छ। अरू कुनै कारणले होइन; कुनै रोगले होइन, कुनै गरिबीले होइन, जनताले होइन, तपाईंको जाति, तपाईंको सरकारयी कुनै पनि कारण होइनन्। कारण होअज्ञान। 'चित्त' लाई यो हानि किन पुग्छ? यो मानसिक क्षति किन हुन्छ? यदि तपाईंले गहिराइमा गएर हेर्नुभयो, ध्यान दिएर हेर्नुभयो भने, जब-जब हाम्रो कुनै अनुभव हाम्रो इच्छाविपरीत हुन्छ, त्यसको प्रतिक्रियास्वरूप 'चित्त' ले एक नकारात्मक प्रकारको 'वृत्ति' उत्पन्न गर्छ। जस्तै: नकारात्मक विचार, दुःखदायी भावना, नकारात्मक वाणी, र उल्टो-पुल्टो कर्मअर्थात्, मूर्खताले भरिएका कर्म। यो प्रतिक्रिया तपाईंले देख्नुभएकै होला। जब-जब कुनै अनुभव तपाईंको इच्छाविपरीत भएको छ... यही नै दुःखको अवस्था हो। यसैलाई हामी दुःख भन्छौं। र, त्यो स्थिति, दुःख दिने त्यो व्यक्तिजसलाई तपाईं दुःखको कारण सम्झनुहुन्छवा त्यो परिस्थिति, यति मात्रै स्मृतिमा छापिँदैन, बरु त्यो घटनामाथिको नकारात्मकता पनि त्यसमाथि गएर छापिन्छ। यी जुन परिस्थितिहरू छन्, जति पनि घटनाहरू भएका छन्, ती त तटस्थ छन्; ती न सकारात्मक छन्, न नकारात्मकती त प्राकृतिक हुन्। तर, किनकि ती 'चित्त' को आफ्नै इच्छाविपरीत छन्, 'चित्त' ले तिनलाई नकारात्मक रङले रङ्ग्याइदिन्छ, र "ती नकारात्मक घटनाहरू थिए" भन्ने कुरा पनि स्मृतिमा छापिन पुग्छ। जुन प्रतिक्रिया हुन्छ, त्यो त केही क्षणमै भएर जान्छ। तर यो स्मृति भने बारम्बार फर्केर आइरहन्छ। बारम्बार, 'चित्त' फेरि दुःखको अवस्थामा फर्कन्छ। किनभने, तपाईंलाई थाहै छ, 'वृत्तिको' अर्थ नै होदोहोरिनु, चक्रमा चल्नु। दुःख पनि एउटा 'वृत्ति' नै हो; यो बारम्बार उठिरहन्छ। यस्तो होइन कि मैले चाहें, र त्यसैले यो भइरहेको छ। तपाईं किन नराम्रा कुराहरू सम्झन चाहनुहोला र? यो यस्तो पनि होइन कि 'चित्त' भित्र केही यस्तो छ, जसले तपाईंलाई दुःखी राख्न चाहन्छ; वा यो विश्वमा यस्तो केही छ, जसले यो अवस्थालाई बारम्बार दोहोऱ्याउन चाहन्छ। यो 'चित्त' को स्वभाव हो। यो यन्त्रको स्वभाव हो। यसमा यही 'सफ्टवेयर' हालिएको छ। प्रकृतिले यसलाई यस्तै बनाएको हो। स्मृतिबाट 'चित्त' मा जुन यो दुःखको अवस्था आउँछ, त्यो कहिले अवसादको रूपमा, कहिले क्रोधको रूपमा, कहिले घृणाको रूपमा, कहिले कटुताको रूपमा, त कहिले डरको रूपमा प्रकट हुन्छ। कहिलेकाहीँ व्यक्ति आफ्नै निन्दामा लाग्छ: "यो मैले नै गरेको हुँ; मैले धेरै नराम्रो गरें। म कति मूर्ख थिएँ! यसो गर्नु हुँदैनथ्यो, उसो गर्नु हुँदैनथ्यो।" वा कहिले यस्तो भाव आउँछ: "म धेरै पीडित छु; म धेरै दुःखी छु। म यी परिस्थितिहरू र यी व्यक्तिहरूको शिकार भएँ। मेरो साथमा सधैं नराम्रो किन हुन्छ?" यस्तै-यस्तै रूपहरूमा यो दुःख अनुभव गरिन्छ। अहिले न त्यो स्थिति छ, न त्यो व्यक्ति छ। अहिले केही नराम्रो भइरहेको छैन। तैपनि 'चित्त' को अवस्था उस्तै छ। यदि "'चित्त' नै 'म' हुँ" भन्ने मान्ने हो भने, यो मेरै कारणले भएको हो जस्तो लाग्छ। तर जो समझदार छन्, उनीहरू जान्दछन् कि "'चित्त' 'म' होइन।" उनीहरूले बुझ्नेछन् कि, यो त स्वतः भइरहेको छ। यो एक प्रकारको सजाय हो; एक प्रकारको कोर्रा हो, जुन 'चित्त' ले आफैंलाई हानिरहेको छ। यो सजाय 'चित्त' ले आफैंलाई दिन्छ र माथिबाट भन्छ: "म दुःखी छु। हेर, म कति दुःखी छु!" यो बारम्बार त्यही स्मृतिलाई निकालेर तपाईंको अगाडि राखिदिन्छ: "हेर, यो दुःख हो, यो दुःख हो, यो दुःख हो, र म नै हुँ जो यसको शिकार भएको छु।" यसले 'अहंभाव' लाई झनै बलियो बनाउँछ। "जे मैले गरें, त्यो मेरो दोष थियो," वा "त्यो अरू कसैको दोष थियो।" मनमा आइरहेका यी नराम्रा-नराम्रा नकारात्मक भावहरू 'मेरा' हुन्; 'म' यस्तै छुयो त्यही 'अहंभाव' हो, जसले दुःखको घाउमा नुनचुक छर्किने काम गर्छ। एकातिर यो प्रक्रिया चलिरहेको छ र स्मृति आइरहेको छ, अर्कोतिर यो 'अहंभाव' त्यसमा गएर मुछिन्छ, र त्यसले दुःखलाई दश गुणा बढाइदिन्छ। यो तपाईंको आफ्नै अनुभव हो। के यो जगत्मा यस्तो कोही छ, जसले यो अनुभव नगरेको होस्? हो, यस्ता मानिसहरू अत्यन्तै कम छन्, जसले यो अनुभवमाथि ध्यान दिएका छैनन्। एक 'साधक' ले मात्रै 'चित्त' का प्रक्रियाहरूमाथि ध्यान दिन सक्छ, किनकि उसँग चेतना छ। आम व्यक्तिमा चेतना हुँदैन; न ज्ञान छ, न केही छ। ऊ त बिचरा दुःखलाई झेल्छ, सहन्छ। अब तपाईं भन्नुहोला, "यो सजाय किन मिलिरहेको छ? यो आफैंलाई किन दिइँदैछ? 'चित्त' ले यस्तो किन गर्ला? यो त प्रकृतिको सबैभन्दा उत्तम कृति हो; सबैभन्दा उत्कृष्ट रचना हो। यसमा यस्तो गल्ती कसरी हुन गयो?" ध्यान राख्नुहोस्, 'चित्त' ले जे-जे गर्छ, त्यसको पछाडि कुनै न कुनै कारण हुन्छ, र त्यो कारण अत्यन्तै तार्किक हुन्छ। जब त्यो प्राणीलाई दण्डमाथि दण्ड मिल्छ, तब त्यसले उसलाई केही गर्नका लागि प्रेरित गर्छ। जस्तै, तपाईंलाई भोक लागेको छ भने, त्यो पीडाले तपाईंलाई केही खानका लागि प्रेरित गर्छ। यदि कतै चोट लागेको छ भने, त्यो पीडाले मलम-पट्टी गर्न र एक ठाउँमा चुपचाप बस्न प्रेरित गर्छ। तपाईं त्यो अङ्ग हल्लाउन चाहनुहुन्न; हात-खुट्टामा चोट लागेको छ भने, तपाईं त्यसलाई आराम दिन चाहनुहुन्छ। ठीक त्यसरी नै, दुःखले पनि केही न केही गर्नका लागि प्रेरित गरिरहेको हुन्छ। जस्तै, कसैले तपाईंको अपमान गरेको छ भने, यो सजायले व्यक्तिलाई गएर त्यसको बदला लिन, दोब्बर अपमान गर्न बाध्य बनाउँछ। वा यदि त्यो व्यक्ति अब शत्रु बनेको छ भने, उसलाई मारिदिऊँ भन्ने भाव जगाउँछ। कसैले तपाईंलाई चोट पुऱ्याएको छ भने, गएर उसलाई पनि चोट पुऱ्याउने, उसको केही नराम्रो गरिदिने प्रेरणा मिल्छ। वा तपाईंको इच्छा पूरा भइरहेको छैन भने, दुःखले त्यो प्राणीलाई प्रेरित गर्छ: "जाऊ, केही गर, इच्छाहरू पूरा गर!" यो इच्छाहरूको कोर्रा हो, जुन दुःखको रूपमा देखा पर्छ। किनभने, इच्छाहरूलाई पनि 'आफ्नो' मानियो, दुःखलाई पनि 'आफ्नो' मानियो, र यो सम्पूर्ण स्थितिलाई 'मेरो स्थिति' भनेर स्वीकार गरियो। यही अज्ञानमा परेर त्यो प्राणीले केही न केही गर्छ, र सधैं उल्टो-सुल्टो नै गर्छ। दुःखको अवस्थामा जे-जति गरिन्छ, त्यसमा बुद्धिमानी हुँदैन। दुःखबाट क्रोध उठ्छ, भय उठ्छ, र अनेक प्रकारका निम्न कोटिका भावनाहरू उठ्छन्। त्यस्तो अवस्थामा त्यो प्राणीले जे-जति गर्छ, त्यो त गल्ती नै हुन्छ। यो पनि तपाईं सबैको अनुभव हो। अब तपाईं बुझ्न सक्नुहुन्छ कि, सुख र दुःख दुवै 'वासना-पूर्ति' का क्रियाहरू हुन्। 'चित्त' को एउटै मात्र उद्देश्य छवासना-पूर्ति, र त्यो त्यसैमा लिप्त छ। जब वासना-पूर्ति हुन्छ, त्यसले सुख पैदा गर्छ; जब हुँदैन, तब दुःख पैदा गर्छ। र यो दुःख 'चित्त' को आक्रोश हो; त्यसको हिंसक रूप हो, जसले भन्छ: "जाऊ, अब त वासनाको पूर्ति गर, नत्रभने दुःख भोग्न तयार होऊ!" नत्रभने, त्यसले बारम्बार त्यही स्थितिलाई अगाडि ल्याइरहन्छ। जस्तो कि तपाईंलाई थाहै छ, एक आम मानिसको सम्पूर्ण जीवन केवल वासना-पूर्ति र उत्तरजीविता मात्र हो; एक आम मानिसको जीवनमा योभन्दा बढी केही हुँदैन। व्यक्ति जति धेरै वासनाले ग्रस्त हुन्छ, उसले त्यति नै धेरै दुःख पाउँछ, किनकि उसका त्यति नै कम वासनाहरू पूरा हुन्छन्। वासनाहरूको भार यति धेरै हुन्छ, बोझ यति धेरै हुन्छ कि, बिचरा! त्यसमध्ये एक-दुईवटा कुनै तरिकाले पूरा भइहाले पनि, बाँकीका ९९ वटा वासनाहरूले उसलाई जीवनभर दुःखी राखिरहन्छन्। मानिस मर्दा पनि दुःखमै मर्छ: "अरे! मर्नुपर्ने भयो; म त मर्न चाहन्नथें। मैले यो गरिनँ, मैले त्यो गरिनँ; मेरो यो इच्छा पूरा भएन, मेरो त्यो इच्छा पूरा भएन। यसो भएन, उसो भएन। यो शत्रुलाई मार्न सकिनँ, ऊसँग बदला लिन सकिनँ।" मानिस यसरी नै मर्छ। 'चित्त' कति शक्तिशाली छ, तपाईं देख्न सक्नुहुन्छ। यदि पीडा इन्द्रियहरूबाट आइरहेको छ भने, त्यसले धेरै दुख्छ। तर यदि त्यही संकेत स्मृतिबाट आयो भने, त्यही अनुभव स्मृतिबाट आयो भने, पीडा उति नै हुन्छ। 'चित्त' का तल्ला पत्रहरूले भेद गर्न सक्दैनन्: कुन स्मृतिबाट आइरहेको छ, कुन इन्द्रियहरूबाट आइरहेको छ; के वास्तविक हो र के काल्पनिक हो? 'चित्त' ले भेद गर्दैन र दुःखमा लिप्त भइदिन्छ। अनि फेरि, तपाईंको स्मृतिबाट जुन क्रोध उठेको छ, स्मृतिबाट जुन दुःख उठेको छ, स्मृतिबाट जुन घृणा उठेको छ, व्यक्तिले त्यसमाथि पनि कर्म गरिदिन्छ। उसले यो देख्न सक्दैन कि, "यो त स्मृतिबाट आइरहेको छ। मेरो अगाडि त कोही पनि छैन। म त ठूलो सुखको स्थितिमा छु।" तर, 'चित्त' ले कल्पना र इन्द्रियहरूको अनुभवमा भेद गर्न नसक्ने हुनाले, त्यसका लागि दुःख सधैं वास्तविक हुन्छ। दुःख सत्य लाग्छ, र जब यो बारम्बार हुन्छ, तब यो झनै गहिरो हुँदै जान्छ। कुनै कुरा बारम्बार दोहोरिरह्यो भने, हामी त्यसलाई के भन्छौं? सत्य नै भन्छौं। "तिमीलाई के थाहा, म दश वर्षदेखि कति दुःखी छु!"कोही व्यक्ति यसो किन भन्छ? किनभने, दश वर्षदेखि त्यही स्मृति बारम्बार आइरहेको छ। यी दुःख भरिएका स्मृतिहरूको हामी अनुसन्धान गर्न सक्छौं; यिनलाई हेर्न सक्छौं; "यी कस्ता छन्?" भनेर यसमाथि प्रयोग गर्न सक्छौं। यो केवल एक 'साधक' ले मात्र गर्न सक्छ, आम मानिसले सक्दैन। आम मानिसले त तिनलाई केवल भोग्नेछ। पहिलो कुरा त तपाईंले यो ध्यान दिनुहुनेछ कि, जति कटु स्मृति हुन्छ, त्यो उति नै पहिले आउँछ। साना-तिना दुःखले तपाईंलाई परेशान गर्दैनन्। जुन सबैभन्दा ठूलो हुन्छ, तीमध्ये पनि जुन सबैभन्दा दुष्ट हुन्छ, त्यो सबैभन्दा पहिले आउँछ। जुन सबैभन्दा गहिरो हुन्छ, त्यो सबैभन्दा पहिले आउँछ। पुराना घटनाहरू, पुराना दुःखहरू त सायद बिर्सिन पनि सकिन्छ, तर जुन ताजा-ताजा छ, जुन नयाँ छ, त्यो सबैभन्दा पहिले आउँछ। त्यसले नै तपाईंलाई सबैभन्दा पहिले प्रेरित गर्नेछ: "अब जाऊ, यो स्थितिलाई ठीक गर्नका लागि केही गर! मेरो इच्छा पूरा भएन, मेरो साथमा नराम्रो भयो।" र तपाईंले देख्नुहुनेछ, यी दुःखका अनुभवहरू जहिले पनि आइदिन्छन्। तपाईं स्वर्गमा भए पनि, जतिसुकै राम्रो स्थितिमा भए पनिकिनकि यो स्वतः भइरहेको छती आफैं उब्जिन्छन्। यो प्रक्रिया आफैं चल्छ। केही मानिसहरू भन्छन्, "म जतिसुकै सुखी भए पनि, बारम्बार केही न केही उल्टो-सुल्टो सोचेर आफैंलाई दुःखी बनाउँछु। म यस्तो किन छु? वा मेरो यो मन यति कुटिल किन छ? यति नीच किन छ? जब-जब म केही राम्रो सुख भोगिरहेको हुन्छु, यसले केही न केही नराम्रो देखाइदिन्छ; पुरानो केही निकालेर ल्याउँछ।" र उनीहरू त्यसलाई पनि आफ्नै दोष मान्छन्। उनीहरूले यो देख्न सक्दैनन् कि यो स्वचालित हो। र यो 'वृत्ति' यति बलशाली छ कि, केही राम्रो सोच्दा पनि त्यसलाई नराम्रो बनाइदिन्छ। तपाईंका राम्रा अनुभवहरू आउँछन्, त्यसपछि तुरुन्तै एउटा विचार आउँछ: "अरे! अब यो त भइरहेको छैन, र कहिल्यै हुने पनि छैन। म पहिले कति सुखी थिएँ! अब यो हुनेछैन। जे मैले पाएको थिएँ, अब त्यो पाउँदिनँ।" यस्ता प्रकारका विचारहरू आउनेछन्। त्यो जुन सुखी स्मृति छ, त्यसलाई पनि 'चित्त' ले दुःखी बनाइदिन्छ। यो कल्पना हो, तर सत्य लाग्छ, र यसले नकारात्मक विचार र दुःख पैदा गर्छ। कहिलेकाहीँ यस्तो सोच आउँछ कि, "हो, सबै कुरा धेरै राम्रो चलिरहेको छ। कहीँ केही नराम्रो नहोस्!" "धेरै पैसा आयो, कतै कसैले चोरेर नलैजाओस्।" "मेरी श्रीमती धेरै सुन्दरी छे, धेरै राम्रो लाग्छ, तर कतै भागेर नजाओस्, किनकि म त कुरूप छु; म त साधारण छु।" यो सबैको अनुभव हो। यसलाई हामी 'चिन्ता' भन्छौं। केही राम्रो छ भने, त्यसलाई पनि 'चित्त' ले नराम्रो बनाइदिन्छ; त्यसमाथि पनि दुःखको कालो पोतिदिन्छ। यो पनि 'वृत्ति' हो। 'साधक' ले यो सबै देख्न सक्छ। कहिलेकाहीँ सबै कुरा राम्रो हुन्छ, तर 'चित्त' ले भन्छ: "ओहो! त्यो जुन गल्ती भयो, त्यो जुन पुरानो घटना भयो, त्यो नभएको भए कति राम्रो हुन्थ्यो! म के गरूँ, जसले गर्दा त्यो ठीक होस्" अनि आफैंलाई दोष दिन्छ, आफैंलाई दण्ड दिन्छ। यस्तै प्रकारका विचारहरू चलिरहन्छन्; कैयौं वर्षसम्म चल्छन्, किनकि भूतकालमा केही भएको थियो, गल्ती भएको थियो। 'चित्त' त लाई यो थाहा हुँदैन की भूतकाल के हो? वर्तमान के हो? भविष्य के हो? । त्यसलाई त केवल दुःख थाहा छ। त्यो त एउटा 'वृत्ति' हो; त्यो प्रक्रिया हो, जसले कुनै न कुनै तरिकाले त्यसलाई ठीक गर्न चाहन्छबस, यति मात्र। 'चित्त' ले भूतकाललाई पनि सुधार्ने प्रयत्न गर्छदुःखको प्रहार गरेर। यो त असम्भव हो भन्ने कुरा सबैलाई थाहा छ। तर, यो दोहोरिरहने स्मृति हो भन्ने कुरा भने बहुतै कमलाई थाहा हुन्छ। यो 'चित्त' को 'वृत्ति' हो, यो 'चित्त' को अज्ञान हो भन्ने कुरा त झनै कमलाई थाहा हुन्छ। त्यसलाई त यति मात्र थाहा छ कि, "केही गलत भएको छ, अब त्यसलाई ठीक गर।" यो 'वृत्ति' नैसर्गिक हो। कोही भन्लान्, "यो ठीक होइन," तर मानिसको 'चित्त' को निर्माण यसरी नै भएको हो। यिनै 'वृत्तिहरू' ले उसलाई जीवित राख्छन्; यिनै 'वृत्तिहरू' ले उसबाट कर्म गराउँछन्। नत्रभने, कोही किन केही गर्ला र? न सुख मिल्छ, न दुःख मिल्छ भने त कोही हल्लिने पनि छैन। त्यसैले, यो जीवनका लागि आवश्यक छ। तर, यदि यो तपाईंको नियन्त्रणभन्दा बाहिर गयो भने, जीवन नर्क बन्छ। यो दुःख के हो? यही अज्ञानका कारण र "यो मेरो हो" भन्ने अहंभावका कारण, व्यक्तिले जीवनभर दुःख भोग्छ; उसले आफ्नै 'चित्त' द्वारा निर्मित दुःख भोग्छ। केही मानिसहरू त यति निराश भइसकेका छन्, हार मानिसकेका छन् कि, उनीहरू दुःखलाई आफ्नो जीवनको अङ्ग नै मानिदिन्छन्मानौं, यसविना त जीवन सम्भव नै छैन। यो त अज्ञानमाथिको पनि ठूलो मूर्खता हो। एकातिर अज्ञान छ, त्यसमाथि यस्ता धारणाहरू छन्। यस्तो व्यक्तिलाई दुःखबाट कसरी छुटकारा मिल्ला? मिल्दैन। ज्ञान यो हो: यी जुन उठ्ने-झर्ने करोडौं वासनाहरू छन्, ती 'मेरा' होइनन्। यो इच्छा 'मेरो' होइन। यी त संस्कारहरू हुन्, जुन पछिल्ला अनुभवहरूका कारण स्मृतिमा बसेका छन्। यो पीडा पनि 'मेरो' होइन; यो त शरीरको हो, शरीरको संकेत हो। यो दुःख पनि 'मेरो' होइन; यो त 'चित्तवृत्ति' हो। र म दुःखी होइन, म पीडित होइन, म शिकार होइन, म दोषी होइन। यो त अज्ञानवश यस वस्तुसँग, यस 'चित्त' सँग, यस शरीरसँग हुन गएको 'तादात्म्य' मात्र हो। यी त सबै अनुभवहरू हुन्; आउँछन्, जान्छन्। यी सबै अनुभवहरू त केवल तरङ्गहरू मात्र हुन्, जुन 'माया' हुन्। यी उठ्ने-झर्ने तरङ्गहरूमा के सत्य होला? यिनलाई किन गम्भीरतापूर्वक लिइँदैछ? म यी अनुभवहरूको 'अनुभवकर्ता' हुँ। 'चित्त' मा जे-जति भइरहेको छ, म त्यसको 'द्रष्टा' हुँ। यही ज्ञान हो। यो 'आत्मज्ञान' बाटै मिल्छ। यो स्पष्टता उनीहरूलाई मात्र मिल्छ, जसलाई आत्मज्ञान छ। उनीहरूले नै दुःखलाई जित्न सक्छन्; उनीहरू नै दुःखबाट रहित छन्। 'चित्त' र 'स्वयं' मा भेद गर्न सिक्नुहोस्। 'चित्त' के हो? 'चित्तवृत्ति' के हो? यसले के-के गर्छ? र 'म' के हुँ? मेरो स्वभाव के हो? दुवैमा भेद गर्नुहोस्, नत्रभने यो जीवन यस्तै रहनेछ। केही सुध्रिए पनि, 'चित्त' ले त्यसलाई बिगार्दिनेछ। तपाईं जतिसुकै मेहनत गर्नुहोस्, जति पसिना बगाउनुहोस्, जति रगत जलाउनुहोस्, दुःख जानेछैन, किनकि दुःख यहाँ (भित्र) बनिरहेको छ। यसको स्रोत 'चित्त' हो, बाहिरका परिस्थितिहरू होइनन्। जे बाहिर हुन्छ, त्यो आएर गइहाल्छ। त्यसको स्मृति रह्यो भने पनि, त्यसमा के गलत छ र? स्मृतिहरू त स्मृतिहरू नै हुन्। जसरी दृश्यहरू क्यामेरामा कैद हुन्छन्, त्यसरी नै स्मृतिहरू 'चित्त' मा कैद भइरहेका छन्, छापिरहेका छन्। तिनलाई दुःखमा बदल्नुको के कारण हुन सक्छ? र यदि बदलिए पनि, 'चित्तवृत्ति' भए पनि, प्राकृतिक भए पनि, त्यसलाई 'मेरो' भन्नुको के कारण हुन सक्छ? यिनलाई आफूबाट टाढा राख्नुहोस्। यिनलाई त्यागिदिनुहोस्। जे-जति हुन्छ, प्राकृतिक हो; त्यसमा मेरो कुनै अधिकार छैन, कुनै नियन्त्रण छैन। म कहाँ हस्तक्षेप गर्न सक्छु? जब यी अनुभवहरूले, जीवनका अनुभवहरूले, दुःख पैदा गर्न थाल्छन्, त्यहाँ मैले हस्तक्षेप गर्नुपर्छ। कुन रूपमा? 'चित्त' को रूपमा होइन, 'चेतना' को रूपमा। 'चित्त' का स्थितिहरूको चेतना बनाइराख्नुहोस्। जब चेतनाको प्रकाश प्रकट हुन्छ, 'चित्त' को 'वृत्ति' नष्ट भएर जान्छ, त्यसको अन्त्य हुन्छ। वा त्यो स्पष्ट रूपमा देखिन्छ कि के भइरहेको छ। 'चित्त' को खेल देखिन्छ, र त्यो बिचरा 'चित्त' सुकेर झर्छ। त्यसमा कुनै बल बाँकी रहँदैन। जसरी जलेको डोरीले बाँध्न सक्दैन, त्यसरी नै चेतनाको प्रकाशमा 'चित्त' ले दुःख पैदा गर्न सक्दैन। त्यसको सत्य अगाडि आइहाल्छ। सत्य के हो? दुःख 'चित्तवृत्ति' हो, कुनै कारणले छ, तर हामीलाई के मतलब? अब मानिसहरू भन्छन्, "दुःख त छ, मैले देखिसकें, तर के गरूँ?" जसरी शरीरमा चोट लाग्दा, तपाईं केही उचित कर्म गर्नुहुन्छ, शरीरलाई बचाउने प्रयास गर्नुहुन्छ, त्यो पीडालाई कम गर्ने प्रयास गर्नुहुन्छ, औषधि खानुहुन्छ; ठीक त्यसरी नै, दुःख पनि एउटा संकेत हो कि केही हानि भएको छ। अब जे-जति सबैभन्दा उचित छ, सम्पूर्ण चेतनामा रहेर त्यो कर्म गर्नुहोस्। कसैले नराम्रो भनिदिएको छ, कसैले झगडा गरेको छ, वा कसैले अपमान गरिदिएको छ भने, अब उचित कर्म यही हो कि, ऊबाट टाढा रहनुहोस्धेरै सजिलो छ। कुनै इच्छा पूरा भएन, केही हरायो, केही नोक्सान भयो भने, अब उचित कर्म यही हो कि, कुनै अर्को इच्छा पूरा गर्ने प्रयास गर्नुहोस्। इच्छाहरू त करोडौं छन्, सबै त पूरा हुँदैनन्। भइहाले पनि, कुनै ठूलो कुरा होइन। मर्नु त सबैलाई छ। मृत्यु सबै इच्छाहरूको अन्त्य हो। कति पूरा गर्नुहोला र? सबै त जलेर खरानी हुने हो। जुन खेलको अन्त्य नै खरानी र धुवाँ हो, त्यसलाई यति गम्भीरतापूर्वक किन लिनु? यी सबै स्मृतिहरूको, यी सबै घटनाहरूको, र 'चित्तवृत्ति' को चेतना बनाइराख्नुभयो भने, दुःखले तपाईंलाई छुन सक्नेछैन। र जे-जति कर्महरू हुनेछन्, ती सधैं सही हुनेछन्; ती सधैं उचित हुनेछन्; ती बुद्धिमानीका हुनेछन्। यो के 'चित्त' को गुलामी गरिरहनुभएको? किन 'चित्त' को कोर्रा खाइरहनुभएको छ, दिन-दिनै? तपाईं त राजा हो, राजगद्दीमा हुनुपर्छ। आत्माको स्थान सबैभन्दा माथि छ। तपाईंले आफ्नो उचित स्थान ग्रहण गर्नुपर्छ। 'यो द्रष्टा म हुँ।' जुन ठाउँमा हुनुहुन्छ, त्यही ठाउँमा बस्ने प्रयास गर्नुहोस्। सधैं त्यहीँ रहने प्रयास गर्नुहोस्। जतिसुकै नराम्रो स्थिति आए पनि, तपाईंले त्यहाँबाट ओर्लिनु हुँदैन। 'चित्त' ले तपाईंसँग आज्ञा लिनुपर्छ, तपाईंले 'चित्त' सँग होइन। यो अज्ञानको नाशबाट सम्भव छ; ज्ञानबाटै सम्भव छ। अरू कुनै तरिका छैन, अरू कुनै विधि छैन। यो मेरो आत्मस्वरूप हो, जुन आनन्दले भरिएको छ। मलाई न दुःखको भेद छ, न पीडाको भेद छ, न 'चित्तवृत्तिहरू' को नै भेद छ। यी सब तरङ्गहरू हुन्अर्थहीन छन्, माया हुन्। जो दुःख र पीडाभन्दा पर छ, म त्यो परमानन्द हुँ। म त्यो चैतन्य हुँ। यहाँनेर म आज्ञा लिन्छु। सुन्दै रहनुहोला बोधिवार्ता, मायाको शृङ्खला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions