Wise Words
आत्मसंवाद भाग -३ ( नेपाली अनुवाद )
रोशन
शिष्य: गुरुजी, के आज तपाईं मलाई म को हुँ भनेर देखाउनुहुने छ? गुरु: होइन, आज तिमी के होइनौ त्यो हेर्नेछौ। शिष्य: हो र ?, किन यस्तो? गुरु: किनभने तिमीमा रहेका पुराना मान्यताहरू हटेपछि तिमीले आफूलाई स्पष्ट रूपमा चिन्न सक्नेछौ। शिष्य: तर ममा त कुनै त्यस्तो मान्यता छैन। गुरु: जब कसैले तिमीलाई सोध्छ, तिमी को हौ? त्यति बेला तिम्रो जवाफ के हुन्छ? शिष्य: नाम, ठेगाना, काम र मैले गरेको पढाइ, यति कुरा म बताउँछु। गुरु: यदि तिम्रो नाम, ठेगाना, काम आदि सबै परिवर्तन भयो भने ? के यसको अर्थ तिमी परिवर्तन भयौ वा तिम्रो नाम, ठेगाना, काम परिवर्तन भयो ? शिष्य: होइन, म त उही छु। गुरु: हो, तिमी होइन, तिम्रो परिचय परिवर्तन भएको हो। तिम्रो नाम, काम आदि तिम्रो परिचय हुन सक्छ, तर तिमी स्वयं होइनौ । यही कुरालाई हामी मान्यता भन्छौं, जुन बिना विचार बस स्वीकार गरिएको हुन्छ। यस्ता मान्यताहरूलाई हटाउन म र मेरो बीचको भेद जान्न आवश्यक छ। शिष्य: मैले बुझें, नाम, ठेगाना, काम मेरो हो, म होइन। किनकि सबैले यस्तै भन्छन्, त्यसैले मैले पनि भन्थें। तर अब म ध्यान राख्छु, म र मेरो बीच फरक छ। जुन मेरो हो, त्यो मेरो नरहन पनि सक्छ। गुरु: केही चीजहरू मेरो हुन सक्छन्, तर ती क्षणिक छन्, आउँछन्-जान्छन्, परिवर्तन हुन्छन्। म के होइन भन्ने जान्नको लागि यो पहिलो नियम हो जुन परिवर्तन हुन्छ, र जुन आउँछ-जान्छ, त्यो म होइन। शिष्य: हस, गुरुजी, म यो नियम लेख्छु। एउटा मान्यता हट्यो, आज मेरो दिन राम्रो भयो। गुरु: जसलाई म मेरो भन्छु, त्यो पनि वास्तवमा मेरो होइन, किनभने त्यो जान्छ। तर म उही रहन्छु। त्यसको ठाउँमा अर्को केही आउँछ र त्यसलाई अब मेरो भनिन्छ। यसको अर्थ त्यो मेरो आवश्यक हिस्सा होइन। तिमीसँग यसको कुनै ठोस उदाहरण छ ? शिष्य: हो, जस्तै मेरो झोला, त्यो म होइन, तर मेरो हो। यदि त्यो बिग्रियो भने, नयाँ झोला मेरो भनिनेछ, तर त्यो पनि मेरो होइन, मेरो आवश्यक हिस्सा होइन। त्यो आउने-जाने चीज हो। गुरु: तिम्रो समझ राम्रो छ। यस संसारमा प्राप्त हुने कुनै पनि वस्तु म होइन। हो, यदि जीवनको लागि उपयोगी छ भने त्यसलाई मेरो वस्तु वा मेरो पहचान को भन्न सकिन्छ। तर ममा जुन परिवर्तन हुँदैन, जसको ठाउँमा अरू केही राख्न सकिँदैन, त्यो नै म हुँ। यसलाई नै हामी तत्त्व भन्छौं। तत्त्व भनेको त्यो हो, जो मेरो सबैभन्दा आवश्यक हिस्सा हो, जसलाई हटाएर अरू केही राख्न सकिँदैन। त्यो मेरो तत्त्व हो, वा सही अर्थमा त्यो नै म हुँ। शिष्य: मैले बुझें, जुन परिवर्तन हुँदैन, जसको ठाउँमा अरू केही लिन सकिँदैन र जो सबैभन्दा आवश्यक छ, त्यो तत्त्व हो। तर त्यस्तो चीज के हो? हामीले कसरी थाहा पाउने? यो मैले अझै बुझिनँ। गुरु: यो धेरै सजिलो छ। जसलाई तिमीले म मानेका छौ, त्यसलाई हटाएर हेर। यदि त्यसलाई हटाएपछि वा त्यो परिवर्तन भएपछि पनि तिमी रहन्छौ भने, त्यो तिमी होइन, या त्यो तत्त्व होइन। हामीले वस्तुहरू हटाएर हेरिसक्यौं। अब बाँकी छन्शरीर र मन। सायद यही तिमी हौ की। तिम्रो के विचार छ? शिष्य: ती त हटाउन सकिँदैन। तपाईंले ठीक भन्नुभयो, शरीर र मन नै म हुँ। यो नभए म पनि छैन। यो त हुनैपर्छ। गुरु: हो, धेरैजसो मानिसहरू यस्तै भन्छन्। र एक साधारण व्यक्तिको लागि यति मान्नु पनि पर्याप्त छ। यति जान्दा पनि जीवन सुखमय बित्न सक्छ। तर एक खोजी, जो आफूलाई खोजिरहेको छ त्यो त अझै गहिराइमा जान्छ, जस्तै वैज्ञानिक वा जासूस। तिमी आफ्नो अनुभवबाट हेर र भन, शरीर र मनमा यस्तो के छ, जो परिवर्तन हुँदैन? त्यही तत्त्व हुन सक्छ। शिष्य: माले त अरु केहि देखिरहेको छैन। र यस्तो त कहिल्यै पनि भएको छैन कि यिनी हरु बिना म रहें। शरीर र मन नभए, म पनि छैन। न त कुनै जान्ने वाला बच्छ। गुरु: यो कुरा त सत्य हो। मन र शरीर बिना आफूलाई चिन्न सकिँदैन। त्यसैले पहिले तिमीले मन र शरीरमै तत्त्व खोज्नुपर्छ। शरीरबाटै सुरु गरौं। ल अनुभवबाट भन त , के शरीर कहिल्यै परिवर्तन भएको छैन? वा यो कहिल्यै परिवर्तन हुने छैन? शिष्य: हो, यो छ तर परिवर्तन हुन्छ। पहिले सानो थियो, पछि ठूलो भयो, पछि बूढो हुनेछ। अनुहार, रंग, रूप, सबै परिवर्तन हुन्छ। तर पनि त यो परिवर्तन हुने शरीर म नै हुँ। होइन र ? गुरु: तिमी तत्त्वको अर्थ बिर्सियौ। यो तत्त्व शब्द धेरै नै महत्त्वपूर्ण छ। यसको अर्थ हो जुन परिवर्तन हुँदैन। तर शरीर त परिवर्तन हुन्छ, त्यसैले त्यो तत्त्व हुन सक्दैन। ध्यान देउ की , हामी तत्त्व जान्ने कोसिस गरिरहेका छौं। जस्तै, काठका धेरै सामानहरू हुन सक्छन्, धेरै रंग, रूप, आकार हुन सक्छन्, तर ती सबैमा परिवर्तन नहुने चीज काठ हो नी ? त्यस्तै, माटोका धेरै भाँडा वा वस्तुहरू हुन सक्छन्, तर तिनमा माटो तत्त्व हो, जो रूप परिवर्तन भए पनि माटो त उही नै रहन्छ। शिष्य: हो, गुरुजी, एक मिनेटको लागि मैले तत्त्व को परिभाषा बिर्सिएँ। सायद यो पनि मेरो मान्यता हो कि म शरीर हुँ। गुरु: साधकको यही काम हो आफ्ना मान्यताहरूलाई जाच्ने र जुन सही छैन, तिनलाई हटाउदै सत्य खोज्ने। हामी यो मान्छौं कि शरीर जन्मै देखि उही छ, केवल सानो-ठूलो हुन्छ। तर यो अन्नबाट बनेको एक यन्त्र हो। बाहिरबाट आउने भोजन नै शरीर बन्छ। जब यो प्रक्रिया रोकिन्छ, तब यो घट्छ र निर्जीव भएर माटोमा फर्किन्छ। यो भौतिक पदार्थ वा अणुहरूबाट बनेको रचना हो, जो निरन्तर परिवर्तन हुन्छ। यस्तो भ्रम हुन्छ कि यो पहिलेकै हो। जस्तै, यदि तिमीले आफ्नो घरको एक-एक इँटा हरेक दिन परिवर्तन गर्यौ भने, केही वर्षमा त्यो नयाँ घर बन्नेछ, तर बाहिरबाट पुरानै जस्तो देखिनेछ। जबकि त्यहाँ पुरानो केही बाँकी रहँदैन, केवल भ्रम हुन्छ कि यो उही घर हो। विशेषगरी जब तिमीलाई थाहा हुँदैन कि सबै इँटाहरू परिवर्तन भइसके। यो शरीर पनि यस्तै रचना हो। यो कुरा सायद चकित पार्ने छ, हैन ? शिष्य: धेरै नै रोचक छ। यो सब जादू जस्तो भइरहेको छ। तर अब मलाई थाहा भयो, यदि पुरानो शरीर गइसक्यो र म अझै छु भने, म शरीर हुन सक्दिन। र यो शरीर जो अहिले छ, त्यो पनि म होइन, किनभने त्यो पनि परिवर्तन हुनेछ। मेरो समझ सही छ? गुरु: तिमीले धेरै राम्रो तर्क दियौ। तिमी त गुरु बन्यौ! शिष्य: तपाईंको कृपा हो, गुरुजी, नत्र म कहाँ! तर अब मलाई पूर्ण विश्वास छ कि मेरो तत्त्व मनमै भेटिनेछ, किनभने त्यही जन्मैदेखि छ, शरीर नभए पनि। गुरु: त्यो त हेरेपछि थाहा हुन्छ। तिमी एक हप्ता शरीरमै मनन गर, हेर हामीबाट कतै गल्ती त भएन? के हाम्रो तर्क वा अनुभव एकदम सही छ, सय प्रतिशत? शिष्य: अवश्य, तपाईंको जो आज्ञा । **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)**
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions