Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - ४ : आचरणशुद्धि (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** बोधिवार्तामा यहाँहरू सबैलाई स्वागत छ। अंतर्शुद्धि को यस शृङ्खलामा आज हामी आचरणको शुद्धिका विषयमा परिचर्चा गर्नेछौँ। शुद्ध आचरण के हो? अशुद्ध आचरण के हो? यसको एउटा अत्यन्त सरल परिभाषा छ जुन व्यवहार वा आचरण स्वार्थप्रेरित हुन्छ र जसले अन्यलाई हानि पुर्याउँछ, चाहे त्यो शारीरिक क्षति होस् वा आर्थिक एवं मानसिक आघात, यस्तो आचरण नै अशुद्ध आचरण हो। यसलाई हामी हिंसा पनि भन्दछौँ। कुनै पनि प्रकारको हानि वा क्षति नपुर्याउनु नै वास्तविक अहिंसा हो। धेरै मानिसहरूको बुझाइमा हिंसा केवल भौतिक मात्र हुन्छ जस्तै कुटपिट गर्नु, काट्नु वा जीवहत्या गर्नु। तर हिंसाको व्यापक अर्थ यो हो कि कसैलाई किञ्चित वा सामान्य मात्र पनि क्षति पुर्याउनु हिंसा नै हो। यसमा भौतिक, मानसिक र शारीरिक सबै प्रकारका हिंसाहरू समाविष्ट हुन्छन्। यद्यपि यस जगत वा अस्तित्वमा न त केही नैतिक छ, न त केही अनैतिक नै, यी त केवल चित्तद्वारा निर्मित भेद र विभाजन मात्र हुन्। व्यवहार वा आचरण त जे जस्तो छ, त्यस्तै नै छ। हामी सामाजिक प्राणी भएकाले हामीले आचरणलाई विभिन्न भागमा विभाजित गरेका छौँ जस्तै, कस्तो आचरण हानिकारक हुन सक्छ र कस्तो प्रकारको आचरणले सबैको हित वा कल्याण गर्न सक्छ। यसरी हामीले यसलाई नैतिक र अनैतिकको संज्ञा दिएका छौँ। कुन आचरण नैतिक हो र कुन अनैतिक भन्ने विषय सदैव वाद विवादको विषय रहिआएको छ। यसमा सबैका आफ्नै परिभाषाहरू छन् र यो पूर्णतः व्यक्तिनिष्ठ छ; यसमा कुनै ठोस वा सार्वभौम सत्यता छैन। जसले जे मान्नुपर्ने हो, उसले त्यही मानिरहेको छ। अतः हामी एक आध्यात्मिक शिष्यको दृष्टिकोणबाट संवाद गर्नेछौँ। सबै आध्यात्मिक साधकहरूका लागि यो परिभाषा अत्यन्त उपयुक्त छ यदि कुनै आचरणबाट हिंसा हुन्छ वा कसैलाई हानि पुग्दछ भने, त्यो आचरण अनैतिक हो। यस पश्चात् साधकले आफ्नो आचरणप्रति ध्यान केन्द्रित गर्नुपर्दछ, त्यसलाई चेतनाको स्तरमा ल्याउनुपर्दछ र आफ्नो प्रत्येक क्रियाकलापप्रति सचेत बन्नुपर्दछ। अन्यलाई कुनै पनि प्रकारको क्षति पुर्याउने जुनसुकै आचरणलाई साधकले तत्कालै त्याग वा बन्द गरिदिनुपर्दछ। यहाँले कुनै नयाँ कुरा आरम्भ गर्नु पर्दैन; केवल जे-जे अनैतिक कार्यहरू गरिरहनुभएको छ, तिनलाई त्याग गरिदिए पुग्छ। कुनै ठुलो महात्मा गान्धी बन्नु आवश्यक छैन र सबैको सेवा वा परोपकार नै गर्नुपर्छ भन्ने कुनै अनिवार्यता पनि छैन; यो ऐच्छिक विषय हो। यसमा कुनै कठोर नियम छैन। साधकले आफ्नो प्रज्ञा र विवेकको आधारमा आफ्नो व्यवहार एवं आचरण निर्धारण गर्नुपर्दछ र यदि यस परिभाषालाई आत्मसात् गर्ने हो भने हिंसात्मक आचरणलाई तत्कालै परित्याग गर्नुपर्दछ। वर्तमान समयमा कसैलाई प्रेम गर्नु कठिन हुन सक्दछ, तर कम्तीमा कसैको कुभलो वा क्षति नगर्नुहोस्; एक साधकले न्यूनतम यति त गर्नैपर्दछ। यदि यहाँको कार्य वा व्यवसायमा कुनै अपराध, चोरी वा हिंसाको सम्भावना छ भने, त्यस्तो वृत्ति वा व्यवसायलाई परिवर्तन गर्नुहोस्। अब विगतका कार्यहरूका लागि पश्चात्ताप गरेर कुनै लाभ छैन। अतीतमा जे भयो, त्यसलाई परिवर्तन गर्न सकिँदैन, तर शुद्धीकरणको प्रक्रिया त आजैबाट आरम्भ गर्नुपर्ने हुन्छ। मैले यस्तो गरेँ वा उस्तो गरेँ भनेर चिन्तित नहुनुहोस्। जे-जस्ता कर्महरू भएका छन्, तिनको प्रतिफल अवश्य प्राप्त हुनेछ र त्यो प्रतिफलले यहाँलाई शुद्ध नै गर्नेछ। जब कर्मको फल प्राप्त हुन्छ, त्यसबाट शुद्धि नै हुने गर्दछ। कर्मको फलले सदैव हामीलाई एउटा शिक्षा दिन्छ र त्यस्तो शिक्षाले नै चित्तको निर्मलता र अंतर्शुद्धि गराउँदछ। जब कसैले जीवनमा एक पटक शिक्षा वा ठक्कर पाउँछ, उसले फेरि त्यही गल्ती दोहोर्याउँदैन। एउटा सामान्य मानिसले सिक्ने र शुद्धिको मार्गमा अघि बढ्ने तरिका नै यही हो। तर जो साधक छ, र विशेष गरी जो ज्ञानको मार्गमा हिँडिरहेको छ, उसले आफ्नो प्रज्ञाको प्रयोग यसरी गर्दछ कि उसलाई त कर्म सुरु गर्नुअघि नै त्यसको परिणाम देखिन्छ। किनकि उसको चेतना जागृत छ, त्यसैले त्यस कर्मको प्रभाव र प्रतिफल कस्तो होला भन्ने उसलाई पहिल्यै दृष्टिगोचर हुन्छ। अनि त्यही बिन्दुमा साधक रोकिन्छ र उसले त्यो अशुद्ध कर्मलाई घटित हुन नै दिँदैन। याद राख्नुहोस्, यो नियन्त्रण पूर्णतः यहाँकै हातमा छ। त्यसैले, यदि यहाँलाई लाग्छ कि अहिलेसम्म मबाट जानेर वा नजानेर अनैतिक कार्यहरू भइरहेका छन् भने, अब ढिला नगर्नुहोस्, त्यसलाई तुरुन्तै त्यागिदिनुहोस्। यहाँको व्यवसाय, कार्य वा रोजगारीमा यदि चोरी, अपराध वा हिंसाको कुनै पनि अंश मिसिएको छ भने त्यसलाई आजै बदल्नुहोस्। अब बितेका कुरालाई लिएर पश्चात्तापमा नअलमलिनुहोस्, जे भयो त्यो भयो। अहिले समाजमा कस्तो भइदियो भने, धेरै मानिसहरूको एउटा गलत मान्यता छ उनीहरू भन्छन्, 'यहाँ त सबैजना भ्रष्ट छन्! धेरैजना चोरीको कमाइले कति मोजमस्तीमा बाँचिरहेका छन्, कति धनी र सुखी देखिएका छन्, अनि मैले मात्र किन दुःख झेल्ने? अरूले जे गर्छन्, म पनि त्यही गर्छु।' तर विचार गर्नुहोस् , 'म मात्र शुद्ध भएर के हुन्छ र? म त दरिद्र र पिछडिएको हुनेछु' भन्ने यस्तो मानसिकता राख्नु नै अंतर्शुद्धि को मार्गमा सबैभन्दा ठूलो अवरोध र स्वार्थको पराकाष्ठा हो।" यदि यहाँको मानसिकता अझै पनि त्यस्तै संकुचित र भौतिकवादी छ भने, यहाँ आध्यात्मिक मार्गमा प्रवेश नगर्नुमै कल्याण छ। किनकि यो त केवल संसारी प्राणीहरूको मानसिकता हो। ईर्ष्या, द्वेष, प्रतिस्पर्धा र शत्रुता यी सबै एक संसारी जीवका लक्षणहरू हुन्। म यो कुरा बारम्बार दोहोर्याइरहन्छु किनकि हामी प्रायः बिर्सने गर्छौँ हामीले यो शुद्धि किन गर्ने? किन आफ्नो आचरण बदल्ने? कहिलेकाहीँ हामी आफ्नो वास्तविक लक्ष्य नै भुल्न पुग्छौँ। त्यसैले म यहाँलाई बारम्बार सम्झाइरहन्छु कि हामीले यो किन गर्नु परिरहेको छ। यदि यहाँको अन्तिम लक्ष्य मुक्ति होइन भने, यो सबै सुनेर यहाँको समय मात्र नष्ट हुनेछ। आत्मशुद्धि, अंतर्शुद्धि, शरीर शुद्धि वा आचरणको शुद्धिको यहाँका लागि कुनै अर्थ रहँदैन र यसले कुनै लाभ पनि पुर्याउँदैन। त्यसो हो भने त त्यही गर्नुहोस् जो यहाँको स्वार्थले भन्छ, जो यहाँको अहङ्कारले अह्राउँछ वा यहाँभित्र लुकेको त्यो पशुत्वले जे निर्देशन दिन्छ, त्यही गर्नुहोस्। तर, जसलाई अगाडि बढ्नु छ, जसलाई यो संसारबाट मुक्ति चाहिएको छ र जो यो संसारको प्रपञ्चबाट विरक्त भइसकेको छ उसले मात्र आफ्नो आचरण शुद्ध गर्नुपर्दछ। अतः जब जब यहाँको मनमा 'फलानो त कति अगाडि बढिसक्यो' वा 'मेरो मित्रले त यति प्रगति गर्यो' भन्ने जस्ता विचार आउँछन्, तब तुरुन्त आफ्नो लक्ष्यप्रति एकाग्र हुनुहोस्। आफ्नो ध्येयलाई सधैँ आँखाको अगाडि राख्नुहोस्। यदि भुल्ने डर छ भने भित्तामा ठुलो पोस्टर नै टाँस्नुहोस् कि जीवनको वास्तविक लक्ष्य के हो। आफ्नो वरपर स्मरण गराउने यस्ता साधनहरू राख्नुहोस्, आफ्ना कपडामा लेख्नुहोस् वा यस्ता मानिसहरूको सङ्गतमा रहनुहोस् जसको लक्ष्य यहाँको जस्तै छ। निरन्तरको स्मरणले यहाँको आचरणलाई सधैँ मर्यादा र नियन्त्रणमा राख्न मद्दत गर्नेछ।" यदि यहाँले आफ्नो जीवनको लक्ष्य भुल्नुभयो भने समाजको यो जुन भेडचाल छ नि, बिना सोचविचार यहाँ त्यहीँ हराउनुहुनेछ, त्यहीँ लिप्त हुनुहुनेछ। यो माया र यो संसार अत्यन्त शक्तिशाली छ। यसको शक्तिले साधकलाई सधैँ आफ्नो तर्फ तानिरहन्छ। मायाले यति सहजै कसैलाई छाड्दैन। यहाँले मायालाई छाड्ने कुरा त सोच्न सक्नुहोला, तर मायाले यहाँलाई यति सजिलै आफ्नो पञ्जाबाट मुक्त हुन दिँदैन। बुद्धका कथाहरूमा जुन 'मारा' को प्रसङ्ग आउँछ, त्यो अरू केही नभएर यही मायाको शक्ति हो। यसले यहाँलाई आफ्नो आध्यात्मिक पद र मार्गबाट विचलित तुल्याउने निरन्तर प्रयास गरिरहन्छ। त्यसैले, यो मार्गमा संकल्प अत्यन्त उपयोगी र अनिवार्य कुरा हो। एक पटक दृढ संकल्प गर्नुहोस् र त्यसलाई आफ्नो जीवन-मरणको प्रश्न बनाउनुहोस् कि यदि मैले यो अशुद्ध कार्य नगर्ने निर्णय गरेँ भने अब म मृत्यु पर्यन्त त्यो गर्ने छैन। विचार गर्नुहोस् त, संकल्प बिना यहाँ एक कदम पनि अघि बढ्न सक्नुहुन्छ र? संकल्प नै छैन भने न वातावरणको शुद्धि सम्भव छ, न शरीरको शुद्धि, अनि न त सम्बन्धहरूमा नै कुनै पवित्रता आउन सक्छ। त्यसैले अंतर्शुद्धि का लागि संकल्प अपरिहार्य छ। एक पटक संकल्प गरेपछि साधक त्यसमा हिमाल झैँ अडिग रहनुपर्छ। बाँकी मानिसहरूले के गरिरहेका छन्, त्यो उनीहरूको विषय हो। यदि यहाँले उनीहरूलाई उपदेश दिन वा सम्झाउन थाल्नुभयो भने उनीहरूले यहाँलाई कि त पागल ठान्नेछन्, कि त महामूर्ख। उनीहरू भन्छन् 'कस्तो बेकुफ मान्छे होला, मलाई झुट बोलेर वा चोरी गरेर लाभ भइरहेको छ, धन आर्जन भइरहेको छ र यसले मलाई त्यसो नगर्न अर्ति दिइरहेछ!' यस्तो प्रतिकुल समाजमा आफ्नो संकल्प जोगाउनु नै वास्तविक साधना हो।" उनीहरूको बुद्धि त भ्रष्ट भइसकेको छ! मायाले उनीहरूलाई यसरी मोहित र अन्धो बनाएको छ कि उनीहरू केवल 'मारा' का दास बनेका छन्। अनि याद राख्नुहोस्, उनीहरूले यहाँलाई आफ्नो मार्गबाट विचलित तुल्याउने दुष्प्रयास अवश्य गर्नेछन्। त्यसैले, अहिले कसैलाई केही सिकाउन वा उपदेश दिइरहनु आवश्यक छैन। साधकले त यो मार्गमा एक प्रकारले स्वार्थी बन्न सिक्नुपर्छ। तर यो संसारको सानो स्वार्थ होइन, बरु अध्यात्मको महान स्वार्थ हुनुपर्छ! 'मेरो प्रगति कसरी होला? मेरो आचरणको शुद्धिकरण कसरी होला?' यस्तो पवित्र स्वार्थ यहाँमा हुनुपर्छ। जसले यहाँलाई पतन तर्फ लैजान्छ, त्यस्ता सांसारिक स्वार्थलाई तिलाञ्जली दिनुहोस् र आध्यात्मिक स्वार्थलाई आफ्नो जीवनको केन्द्र बनाउनुहोस्। अब प्रश्न उठ्न सक्छ किन यसो गर्ने? किनकि यो चित्तको स्वभाव नै यस्तो छ कि यसले स्वार्थ बिना केही गर्नै सक्दैन। यदि यहाँले चित्तको गतिविधिलाई सूक्ष्म रूपमा अध्ययन गर्नुभयो भने पाउनुहुनेछ कि यसको एकमात्र मूल उद्देश्य भनेको केवल आफ्नो अस्तित्व रक्षा गर्नु हो। यो 'अहम्' वा 'म' को भाव केवल जीवित रहन चाहन्छ, यो जन्मजात स्वार्थी छ र यसले यति सहजै आफ्नो स्वार्थ छाड्दैन। त्यसैले यहाँ एउटा जुक्ति लगाउनु पर्ने हुन्छ। यो त ठीक त्यस्तै हो जस्तो गधाको अगाडि घाँसको मुठो झुण्ड्याइन्छ। यदि यहाँले गधाको अगाडि चारा देखाउनुभयो भने मात्र ऊ अगाडि बढ्छ। गधालाई त लाग्छ कि मलाई केही खानेकुरा मिल्दैछ, त्यसैले ऊ त्यसको पछि दौडिन्छ, तर वास्तवमा त्यसबाट मालिक को काम भइरहेको हुन्छ। त्यसैले, यो अहम् भाव र चित्तको अहङ्कारलाई अब एउटा नयाँ 'चारा' दिनुहोस्। यसलाई त्यो आध्यात्मिक हरियाली देखाउनुहोस् कि यदि अंतर्शुद्धि भयो भने, यदि आचरण पवित्र भयो भने यस्ता दिव्य फलहरू प्राप्त हुनेछन्। जब यस्ता संकल्प गर्नुहुन्छ र चित्तलाई नयाँ प्रलोभन दिनुहुन्छ, तब मात्र यो साधनाको मार्गमा अघि बढ्न तयार हुनेछ।" एउटा कुरा सधैँ स्मरणमा राख्नुहोस् यो चित्त सधैँ बुद्धि को नियन्त्रणमा रहन्छ। प्रज्ञाको स्तर जस्तो हुन्छ, चित्तले त्यसरी नै चिन्तन गर्दछ। विचारहरू पनि त्यस्तै बन्दछन् र अन्ततः हाम्रो आचरणमा पनि त्यही प्रतिविम्बित हुन्छ। त्यसैले, कुनै पनि कर्म सम्पादन गर्नुअघि आफ्नो विवेकको गहिरो प्रयोग गर्नुहोस्। मनलाई एउटा प्रश्न सोध्नुहोस् मेरो वास्तविक लक्ष्य के हो? के यो त्यही लक्ष्य हो जो अरूले ममाथि लादिदिएका छन्? के म अरूको इसारामा नाचिरहेको छु? जब यहाँलाई यो कुराको दृढ बोध हुन्छ कि 'आध्यात्मिक साधना र मुक्तितर्फको यात्रा नै मेरो एकमात्र गन्तव्य हो', तब यहाँको प्रज्ञाले एउटा स्वचालित यन्त्रले जस्तै यहाँलाई मार्गमा डोर्याउन थाल्छ। त्यसले यहाँलाई बाटो बिराउन दिँदैन र सधैँ सत्कर्मका लागि प्रेरित गरिरहन्छ। साधकको आचरण यस्तो हुनुपर्छ जसले उसलाई आफ्नो लक्ष्यको नजिक लैजाओस्। यदि यहाँको आचरणले यहाँलाई लक्ष्यबाट टाढा लैजाँदै छ भने, बुझ्नुहोस् त्यो सही आचरण होइन। वास्तवमा, एक साधकको नैतिकता सामान्य मानिसको नैतिकता भन्दा हजारौँ गुणा बढी शुद्ध र उच्च कोटीको हुन्छ। दुर्भाग्यवश, हामीलाई बाल्यकालदेखि नै के सिकाइयो भने 'जसरी भए पनि, छल-कपट, चोरी, हिंसा वा प्रतिस्पर्धा गरेर आफ्नो काम फत्ते गर।' यस्तो आचरण गर्ने व्यक्तिलाई समाजले 'चतुर' भन्दछ। तर याद राख्नुहोस्, चतुर हुनु र बुद्धिमानी हुनुमा आकाश-जमिनको फरक छ। यस्तो चतुर व्यक्तिले संसारमा निकै भौतिक उन्नति गर्ला, धन-दौलत कमाउला, तर त्यसका जे-जस्ता परिणामहरू हुन्छन यहाँ मैले व्याख्या गरिरहनु आवश्यक छैन। यहाँ आफैँले त्यो कुरा महसुस गर्न सक्नुहुन्छ।" यदि यहाँ अझै पनि त्यस्तै अशुद्ध आचरणमा लिप्त रहनुभयो भने, सदैवका लागि यही संसारको मोहजालमा फस्नुहुनेछ। यहाँको प्रगति त परको कुरा, बरु घोर दुर्गति हुनेछ। यहाँको चित्तको जुन उन्नति हुनुपर्ने थियो, त्यसमा अवरोध आउनेछ र यहाँ आफ्नो मार्गमा अघि बढ्नुको साटो झन् पछाडि धकेलिनुहुनेछ। विचार गर्नुहोस् त, अहिले प्राप्त यो दुर्लभ मानव जन्मको सदुपयोग भएन भने, त्यो जीव यति पतित बन्न पुग्नेछ कि उसले भविष्यमा पुन: यो मनुष्यको चोला समेत प्राप्त गर्ने छैन। एउटा सामान्य मानिस त यही अन्धकारपूर्ण मार्गमा बिना सोचविचार हिँडिरहेको छ, किनकि उसलाई सही मार्ग देखाउने कोही छैन। तर यहाँ त सौभाग्यशाली हुनुहुन्छ! यहाँ आध्यात्मिक मार्गमा हुनुहुन्छ, यहाँलाई मार्गदर्शन गर्ने गुरु हुनुहुन्छ र यहाँसँग अत्यन्तै उत्तम मार्गनिर्देशन उपलब्ध छ। त्यसैले, बाल्यकालदेखि यहाँको मस्तिष्कमा जे-जे कुराहरू हालिएको छ, ती सबैलाई आजै त्यागिदिनुहोस्। यहाँलाई अनैतिक कर्महरू नै सिकाइएको छ, तर त्यो सिकाउनेहरूको अज्ञानता र उनीहरूको अचेतनाको उपज हो। विद्यालयदेखि घरसम्म यहाँलाई जुन प्रतिस्पर्धाको भावना सिकाइएको छ, त्यो वास्तवमा यहाँका अभिभावकहरूको आफ्नै डर थियो। उनीहरू स्वयं त्यही प्रतिस्पर्धाको चपेटामा थिए र उनीहरूले धेरै कष्टपूर्ण दिनहरू देखेका थिए। उनीहरू केवल यति मात्र चाहन्थे कि आफ्ना सन्तानले उनीहरूले जस्तो दरिद्रता र शोषण भोग्नु नपरोस्। यही डरका कारण उनीहरूले यहाँलाई 'चतुर' बन्न र अरूलाई उछिन्न सिकाए। एक आध्यात्मिक शिष्यका लागि जीवनयापन अत्यन्त सरल र सहज हुनुपर्दछ। टेढो बाटो अपनाएर वा अनैतिक कर्म गरेर गाँसको जोहो गर्नुपर्ने उसलाई कुनै आवश्यकता नै छैन, किनकि उसको लक्ष्य नै भिन्न छ। यहाँको लक्ष्य संसारमा वस्तुहरू थुपार्ने वा संग्रह गर्ने होइन, बरु जे-जति अशुद्धि र संचित संस्कारहरू छन्, तिनलाई त्याग्नु हो। यो त संसारीहरूको भन्दा ठीक विपरित लक्ष्य हो। कुनै महापुरुषले भन्नु भएको थियो जो एउटा सामान्य व्यक्तिले समाजमा गरिरहेको छ, यदि यहाँ त्यसको ठीक उल्टो दिशामा हिँड्नुभयो भने, यहाँलाई मुक्ति अवश्य मिल्नेछ। किनकि यहाँको मार्ग नै उल्टो छ! त्यसैले, जे सिकाइएको छ, त्यही आचरण गरिरहनुपर्ने कुनै आवश्यकता छैन। यदि यहाँले त्यही पुरानै ढर्रा पछ्याउनुभयो भने, बुझ्नुहोस् कि यहाँ आफ्नो मार्गमा उल्टो हिँडिरहनुभएको छ। आफ्नो मार्गमा सिधा र स्पष्ट अघि बढ्नु छ भने ती सबै फोहोरहरू त्याग्नुपर्छ, जुन यहाँको मस्तिष्कमा परिवार, समाज, नेता र नातेदार हरूले वर्षौँदेखि भरिदिएका छन्। अब यहाँले आफ्नो विवेक प्रयोग गर्ने समय आएको छ कि मेरो वास्तविक लक्ष्य के हो र के गर्दा म आफ्नो मार्गमा अगाडि बढ्छु? आफैँलाई सोध्नुहोस् के अनैतिक व्यवहार, चोरी, अपराध, हिंसा, ईर्ष्या वा प्रतिस्पर्धाबाट म अगाडि बढ्न सकुँला र? के अरूलाई शत्रु बनाएर, कसैलाई नीच देखाएर वा कसैको मुखको गाँस खोसेर मलाई शान्ति मिल्ला? के घरमा यी झिनामसिना कङ्कड-पत्थर र भौतिक सामग्रीहरू थुपारेर म आफ्नो मार्गमा अगाडि बढ्न सकुँला? के मलाई यो संसारबाट मुक्ति मिल्ला? हेर्नुहोस्, यसका लागि कुनै ठुलो प्रज्ञा वा दर्शनशास्त्रको ज्ञान पनि चाहिँदैन; एउटा गाउँको सामान्य किसानलाई सोध्नुभयो भने पनि उसले यसको सही उत्तर दिन सक्छ। यदि कोही आध्यात्मिक मार्गमा छैन भने उसको प्रज्ञाले सही दिशामा काम गर्नै सक्दैन। त्यसैले यहाँले चाहिँ अब अनैतिक कार्यको साटो नैतिक आचरणको शुभारम्भ गर्नैपर्छ। विगतमा के भयो, त्यसलाई भुल्नुहोस् र जति सकिन्छ उच्च नैतिकतालाई अङ्गाल्नुहोस्। यहाँको नैतिकताको मापदण्ड अरू कसैले तोकिदिएको होइन, यहाँको आफ्नै हुनुपर्छ र त्यो आम मानिसको सोचभन्दा निकै माथि हुनुपर्छ। साधारण मानिसहरूको मापदण्ड त निकै तुच्छ र स्वार्थी हुन्छ, उनीहरूसँग बराबरी गर्ने भूल नगर्नुहोस्। यहाँको आचरण त साक्षात् गङ्गा झैँ पवित्र हुनुपर्छ। चोरी, अपराध र हिंसा जस्ता प्रवृत्तिबाट टाढा रहेर पूर्ण इमानदारीका साथ जीवन सञ्चालन गर्नुहोस्। प्रयास गर्नुहोस् कि यहाँले गर्ने व्यवसाय वा जागिरमा इमानदारी कायम रहोस्। यदि यहाँलाई लाग्छ कि सबैतिर झुट र बेइमानी मात्र चलिरहेको छ भने, बरु आफ्नै कुनै सानो व्यवसाय सुरु गर्नुहोस्। सानो होस्, तर सफा र इमानदार होस्, जसले यहाँको जीविकोपार्जनलाई शुद्ध तुल्याओस्। अरूसँग ईर्ष्या नगर्नुहोस्; उनीहरूले यो मायाको संसारमा जुन भौतिक फोहोरको पहाड थुपारिरहेका छन्, ती सबै यहीँ नष्ट भएर जाने हुन्। त्यस्ता मूर्खहरूको प्रगति देखेर केको ईर्ष्या र डाह? अरूलाई हेर्न छाडिदिनुहोस्, केवल आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस्। प्रतिस्पर्धाको त यहाँ कुरै आउँदैन। वास्तवमा प्रतिस्पर्धा गर्नु भनेको त अरू मानिसहरूलाई आफूभन्दा श्रेष्ठ मान्नु हो। याद राख्नुहोस्, जो सांसारिक व्यक्ति छ, ऊ सधैँ तलै रहन्छ, ऊ कहिल्यै श्रेष्ठ हुन सक्दैन। अनि उनीहरूसँग केको होडबाजी? यहाँको त गन्तव्य नै अर्कै छ! कतिपय मानिसहरू त अचम्मका हुन्छन्, उनीहरू अध्यात्ममा पनि 'मभन्दा ऊ अघि छ' भन्दै प्रतिस्पर्धा गर्न थाल्छन्, जुन अत्यन्तै दुःखद र घातक कुरा हो। यो प्रतिस्पर्धाको भावना यहाँभित्र यसरी खादीएको छ कि यो यहाँको स्वभाव नै बनिसक्यो। विचार गर्नुहोस् त, २० वर्षसम्म विद्यालय र कलेजको शिक्षा लिँदा, अनि घरमा माता-पिताको छत्रछायामा बस्दा यहाँको मानसपटलमा के भरियो? केवल एउटै कुरा 'तिमी अरूभन्दा राम्रो हुनुपर्छ।' तर यहाँ 'राम्रो' हुनुको अर्थ चरित्रवान् हुनु होइन, बरु 'सफल' हुनु हो! अनी संसारमा सफलताको परिभाषा के बनाइएको छ भने अरूले जति धन-दौलत र सामग्री संग्रह गरेका छन्, तिमीले त्योभन्दा बढी संग्रह गर्नुपर्छ। चाहे त्यसका लागि जस्तोसुकै भ्रष्ट वा अनैतिक कार्य किन गर्नुनपरोस्, जतिसुकै हिंसा वा छल-कपटको सहारा किन लिनुनपरोस्। जो व्यक्ति अरूलाई लडाएर, ढाँटेर वा ठगेर शिखरमा पुग्छ, आजको समाजले उसैलाई 'चतुर' र 'सफल' भन्दछ। साधकले आफ्नो मनबाट यस्तो दूषित विचारधारालाई पूरै पखालेर सफा गर्नुपर्दछ। आफ्नो आँखाको अगाडि केवल आफ्नो लक्ष्य राख्नुहोस्। यदि यो प्रतिस्पर्धाको रोग यहाँको अध्यात्ममा पनि छिरेको छ भने सावधान हुनुहोस्! यदि यहाँ सोच्नुहुन्छ कि 'उसले दुई घण्टा ध्यान गर्छ, अब मैले चार घण्टा गरेर देखाउनुपर्छ' वा 'उसले संस्कृतका पाँचवटा ग्रन्थ पढ्यो, अब मैले २० वटा पढेर उसलाई उछिन्नुपर्छ' भने बुझ्नुहोस्, यहाँ अझै पनि संसारकै खेल खेलिरहनुभएको छ। अरूभन्दा बढी नैतिक देखिने वा बढी इमानदार देखिने होडबाजी पनि एक प्रकारको अहङ्कार र मूर्खता नै हो। यहाँको सामर्थ्य जति छ, यहाँको योग्यताले जति भ्याउँछ, त्यति नै साधना गर्नुहोस्। अरूले के गरिरहेका छन्, त्यता हेर्दै नहेर्नुहोस्। हो, उनीहरूबाट प्रेरणा लिन सकिन्छ, आफ्नो यात्रामा सहज हुनुहोस्, किनकि अध्यात्म दौड होइन, यो त विश्राम हो।" यदि यहाँको सामुन्ने साक्षात् गुरु नै एउटा उच्च आदर्शका रूपमा विराजमान हुनुहुन्छ भने अब अरू सामान्य मानिसहरूलाई हेरिरहनुको के आवश्यकता छ र? जो सबैभन्दा उच्च व्यक्तित्व हुनुहुन्छ, उहाँ नै यहाँको अगाडि हुनुहुन्छ। अब यहाँलाई कुनै प्रतिस्पर्धा वा होडबाजीको के काम? त्यसैले गुरुको छविलाई आफ्नो जीवनमा उतार्नुहोस्, गुरु जस्तै बन्ने प्रयत्न गर्नुहोस्। यसमा कुनै प्रतिस्पर्धा गरेर केही लाभ मिल्नेवाला छैन। आचरण शुद्धिको एउटा निकै ठुलो र मीठो लाभ के हो भने यसले मनमा गहिरो शान्ति प्रदान गर्दछ। यो जुन भागदौड छ नि, जहाँ मानिसहरू जंगली जनावर हरू जस्तै बाँचिरहेका छन्, एक-अर्कालाई टोक्न दौडिरहेका छन् र एउटा अन्धो भेडचालमा लागिरहेका छन् आचरणको शुद्धिले यहाँलाई त्यो कोलाहलबाट मुक्ति दिलाउँछ। तब मात्र यहाँले शान्तिको सास फेर्न सक्नुहुन्छ र चैनसँग सुत्न सक्नुहुन्छ। याद राख्नुहोस्, जब यहाँको आचरण शुद्ध हुन्छ, तब जीवनमा पहिलो पटक यहाँले साँचो अर्थमा सुखद निद्रा प्राप्त गर्नुहुनेछ। मानिसहरू अनेकौँ प्रकारका उल्टो-पाल्टो र कुकर्महरू त गर्छन्, तर उनीहरू कहिल्यै ढंगले सुत्न सक्दैनन्। किनकि जब हामी केही नराम्रो गर्छौँ, तब हाम्रो विवेकले हामीलाई भित्रभित्रै झक्झकाइरहन्छ। उनीहरूमा एउटा गहिरो ग्लानि र अपराधबोध पैदा हुन्छ। उनीहरूमा सधैँ एउटा अज्ञात भय रहिरहन्छ कि कुनै न कुनै दिन मेरा यी दुष्कर्महरू सबैको सामुन्ने आउनेछन् र मैले यसको कठोर फल भोग्नुपर्नेछ। यस्तो व्यक्ति न दिनमा शान्तिसँग बस्न सक्छ, न रातमा सुखले निदाउन नै सक्छ। उसले जे खान्छ, जे पिउँछ वा जे गर्छ, ती सबै कुरा उसको अशुद्ध आचरणका कारण दूषित हुन पुग्दछन्। अझ अचम्मको कुरा के छ भने, उसको वरिपरि पनि त्यस्तै अनैतिक र अपराधी मानसिकता भएका मानिसहरूको भिड जम्मा हुन थाल्छ। उसले समाजमा जहाँ हेरे पनि केवल आफ्ना प्रतिस्पर्धी र शत्रुहरू मात्र फेला पार्छ। उसले सधैँ यस्ता मानिसहरू मात्र भेट्छ, जो ऊसँग ईर्ष्या गर्छन्। यो यहाँको आफ्नै स्वानुभूति पनि होला कि जसको आचरण शुद्ध छैन, उसको जीवन कति कष्टकर र अशान्त हुन्छ। यो चित्तको एउटा यस्तो अटल नियम हो कि यहाँ जस्तो हुनुहुन्छ, यहाँको बाह्य वातावरण पनि ठ्याक्कै त्यस्तै बन्न पुग्छ। यहाँको वरिपरि जम्मा हुने नातेदार, मित्र र छिमेकीहरू पनि यहाँको आन्तरिक अवस्थाकै प्रतिविम्ब हुन्। यो त ठ्याक्कै काग र हाँसको जस्तै कुरा हो। कागहरूको बथानमा कहिल्यै हाँस भेटिँदैन र हाँसहरूको समूहमा काग कहिल्यै जाँदैन। जो जस्तो छ, उसले आफ्नो तर्फ त्यस्तै आचरण भएका मानिसहरूलाई चुम्बकले झैँ आकर्षित गर्दछ। एक अनैतिक व्यक्तिले सधैँ अनैतिक र भ्रष्ट मानिसहरूलाई नै आफ्नो वरिपरि फेला पार्छ। कुनै नैतिकवान् र चरित्रवान् व्यक्ति त उसको छेउछाउमा फट्किन वा झुक्किन पनि आउँदैन। जो ईर्ष्या र डाहले भरिएको छ, उसले आफूभन्दा पनि ठुलो ईर्ष्यालु व्यक्ति मात्र भेट्छ। यो किन हुन्छ त? किनकि जो व्यक्ति प्रेम, मैत्री र करुणाले ओतप्रोत छ, ऊ यस्तो अशुद्ध र दुर्गुणी मानिससँग दुई मिनेट पनि बस्न सक्दैन। "अतः यसको एउटा लाभ के हो भने, यहाँको वरिपरि असल मानिसहरू आउन थाल्नेछन्। यहाँको नैतिकता देखेर नैतिकवान् व्यक्तिहरू स्वतः यहाँतर्फ आकर्षित हुनेछन्। जीवनमा प्रथम पटक यहाँले प्रेमका वचनहरू श्रवण गर्न पाउनुहुनेछ। प्रथम पटक यहाँले साँचो आदर र सम्मान प्राप्त गर्नुहुनेछ। तुच्छ वा सामान्य मानिसहरूबाट आदर र सम्मान प्राप्त गर्ने चेष्टा नगर्नुहोस्। जो पूर्वतः शुद्ध छन्, यदि उनीहरूले यहाँको सम्मान गर्छन्, यदि उनीहरूले यहाँलाई आदर गर्छन् भने त्यो नै सार्थक हुन्छ। जब एक इमानदार व्यक्तिले यहाँको सामुन्ने हात जोड्दछ, तब बुझ्नुहोस् कि यो नै सबैभन्दा ठुलो सफलता हो। यो नै महान् उपलब्धि हो। यसभन्दा उत्तम अरू के होला र? यसभन्दा ठुलो पुरस्कार अरू के मिल्ला? ईर्ष्या, प्रतिस्पर्धा, वैमनस्य र शत्रुताको सट्टा सहयोगको मार्गलाई अङ्गाल्नुहोस्। यहाँका कार्यहरू प्रतिस्पर्धाको साटो सहयोगबाट पनि सिद्ध हुन सक्छन्; एक पटक यस्तो प्रयोग गरेर त हेर्नुहोस्। यी जीवनका प्रयोगहरू हुन्। स्वयंलाई बदलेर हेर्नुहोस्। स्वयंको आचरण शुद्ध तुल्याएर हेर्नुहोस् र हेर्नुहोस् कि यसको प्रतिफल कस्तो प्राप्त हुन्छ। जसरी एक वैज्ञानिकले प्रयोग गर्दछ, त्यसरी नै यहाँले आफ्नो जीवनका साथ प्रयोग गर्नुपर्दछ र आफ्नो चित्तका साथ प्रयोग गर्नुपर्दछ। "यदि यहाँले यही कार्य अन्धश्रद्धाका साथ गर्नुभयो भने के होला? हुन सक्छ, यसले खासै ठुलो परिणाम नदेला, किनकि यहाँको मनमा एउटा आशा पलाएको छ। मनमा यस्तो एउटा अपेक्षा जागेको छ कि 'हो, अब मेरो साथमा सबै कुरा शुभ नै हुनेछ, किनकि मेरो आचरण त निकै उत्तम भइसकेको छ। म नैतिकवान् बनेकाले अब सबै राम्रो हुनेछ' भन्ठान्नुहुन्छ भने विचार गर्नुहोस्, त्यस्तो केही हुनेवाला छैन। यो त केवल माया मात्र हो। यहाँ मार्ग त्यति सिधा र सरल छैन। यो त काडा को बाटो हो। पहिले भने झैँ, यो बाटोमा यहाँका लागि कसैले गलैँचा ओछ्याएर पुष्पवृष्टि गरिरहेको छैन। यहाँ त केवल तिखा ढुङ्गाहरू छन्, यो त एउटा प्रज्वलित मार्ग हो, जसमा यहाँ निरन्तर हिँड्नुपर्नेछ। यहाँ संसारकै सबैभन्दा महान् नैतिकवान् वा इमानदार व्यक्ति नै किन नबन्नुहोस्, यहाँ जे पनि हुन सक्छ। म असल भएँ, त्यसैले अब मेरो साथमा सबै असल नै हुन्छ भन्ने भ्रममा कदापि नपर्नुहोस्। यस्तो हुनेवाला छैन। यो त मायाको खेल हो। यहाँ प्रत्येक क्षण यहाँको परीक्षा हुनेछ। यो आध्यात्मिक मार्ग कुनै सामान्य व्यक्तिका लागि होइन। यस पथमा हिँड्नका लागि अदम्य साहस र निर्भयता चाहिन्छ। यस्ता मिथ्या आशाहरू र व्यर्थका अपेक्षाहरू पाल्नाले अन्ततः यहाँलाई केवल दुःख मात्र प्राप्त हुनेछ। "यहाँले देख्नुभएकै होला, कतिपय मानिसहरू विलाप गर्दै यहाँका गुरु वा यहाँ स्वयंकहाँ आउने गर्दछन् र भन्दछन् 'मैले त सबै कुरा उत्तम नै गरेँ। मैले कुनै चोरी गरिनँ, कहिल्यै कुनै अपराध गरिनँ र कसैलाई कहिल्यै कटु वचन भनिनँ। तर अहिले मेरो साथमा सबै कुरा किन नराम्रो मात्र हुन्छ? मेरो जीवनमा सधैँ किन यस्तै अवाञ्छित मानिसहरू मात्र ठोक्किन आउँछन्? मेरा आफ्नै नातेदारहरूले मेरो तिरस्कार गर्दछन्। मेरो कुनै पनि कार्य फत्ते हुँदैन, किनकि म त्यसलाई सत्यनिष्ठा र इमानदारीका साथ गर्न चाहन्छु। ममाथि सबै उपहास गर्दछन्, किनकि ममा कुनै प्रपञ्च वा संसारले खोज्ने चतुराई देखिँदैन। म हिंसाको मार्ग अवलम्बन गर्न चाहन्न र कसैलाई हानि पुर्याउन खोज्दिनँ, त्यसैले मलाई सोझो-साझो वा गवाँर सम्झिन्छन्। उनीहरू मलाई अत्यन्त दुर्बल ठान्दछन्।' यसरी रुँदै-कराउँदै यस्ता गुनासोहरू गर्ने मानिसहरू यहाँले जताततै फेला पार्नुहुनेछ। "तसर्थ स्मरण रहोस्, यस्तै नै हुनेवाला छ। यो आध्यात्मिक मार्ग हो। यहाँ कुनै त्यस्तो जादु हुँदैन कि 'मैले सबै ठीक गरिदिएँ, अब मलाई सत्फल नै प्राप्त हुन्छ' भन्नलाई। यदि यहाँले कुकर्म गर्नुभयो भने, त्यसको दुष्फल अवश्य मिल्नेछ; यसमा कुनै सन्देह छैन। तर यदि यहाँले सत्कर्म गर्नुभयो भने, त्यसमा कुनै निश्चितता छैन; यहाँको साथमा सबै राम्रै हुन्छ भन्ने कुनै प्रत्याभूति छैन। यो कुरालाई विशेष ध्यान दिनुहोस् यो माया हो। यहाँ जे जति प्राप्त भइरहेको छ, ती सबै यहाँकै आफ्नै कर्मका संचित प्रतिफल हुन्। अनि फेरि 'मैले त सबै राम्रो गरेँ, तर अहिले किन मप्रति नराम्रो भइरहेको छ' भनी ठान्नु त नितान्त मूर्खता हो। यस्तो सज्जनता वा आचरणको शुद्धिको सांसारिक फलहरूसँग कुनै सीधा सम्बन्ध हुँदैन। यसको सांसारिक प्रतिफल यहाँलाई जादु झैँ तुरुन्त प्राप्त हुन थाल्दछ भन्ने भ्रममा नपर्नुहोस्, त्यस्तो केही हुँदैन। " त्यसो भए प्रतिफल के प्राप्त हुनेछ? जस्तो कि मैले भनेँ, यहाँको आचरणबाट चित्तको निर्मलता र अंतर्शुद्धि प्राप्त हुनेछ। चित्तमा एउटा गहिरो शान्ति छाउनेछ। बाहिर जे-जस्तो परिस्थिति भए तापनि यहाँको अन्तर्मनमा एउटा अनौठो आनन्द रहनेछ। यहाँको मनमा एउटा सुखको अनुभूति हुनेछ। हो, जे भइरहेको छ, त्यो भइरहेको छ; त्यो मेरो कारणले भइरहेको छैन। मैले त कुनै कुकर्म गरिनँ। मैले त पूर्णतः त्यही मार्ग अवलम्बन गरेँ जो नैतिक छ र जो इमानदारीको कर्म हो। मैले सबैसँग सहयोग गरेँ र सबैसँग मैत्रीपूर्ण व्यवहार गरेँ। अब यसका बाबजुद पनि केही नराम्रो भयो भने, त्यसमा मेरो कुनै दोष छैन। यो शान्ति यहाँको मनमा सदैव रहनेछ। त्यसपछि यसलाई त्यो विश्व-चित्तमा सुम्पिदिनुहोस्, विश्व-चित्तले जे गरिरहेको छ, यदि त्यसको इच्छा छ भने यहाँको जीवनमा केही परिवर्तन होला, अन्यथा हुनेछैन। तसर्थ, प्रत्येक फल र घटित हुने प्रत्येक घटनालाई, चाहे त्यो शुभ होस् वा अशुभ, त्यसलाई एउटा शिक्षा वा परीक्षाको रूपमा ग्रहण गर्नुहोस्। यहाँ आफ्नो मार्गबाट कदापि विचलित हुनुहुँदैन। याद राख्नुहोस्, यस मार्गमा अडिग रहनुपर्दछ; यहाँको संकल्प अत्यन्त शक्तिशाली हुनुपर्दछ। जो जति महान् आध्यात्मिक शिष्य हुन्छ, उसको परीक्षा पनि त्यति नै ठुलो हुन्छ। म यहाँलाई त्रसित तुल्याउन चाहन्न, तर म यहाँसँग असत्य पनि बोल्न चाहन्न। हौसला बढाउनु एउटा कुरा हो भने मिथ्या आश्वासन दिएर यहाँलाई खुर्सानी को रुखमा चढाउनु अर्कै कुरा हो।" "म तपाइँ लाई त्यही कुरा बताउछु जो मेरो अनुभव हो र जो अन्य आध्यात्मिक साधकहरू एवं गुरुजनहरूको अनुभव हो; म ती सबैलाई जस्ताको तस्तै यहाँको सामुन्ने प्रस्तुत गर्नेछु। म यहाँलाई कुनै लोभ-लालच देखाएर फकाइफुल्याइ गरिरहेको छैन। म त बरु के भन्दछु भने यो मार्गमा आउँदै नआउनुहोस्। यदि यहाँसँग अदम्य साहस छैन, प्रज्ञा छैन, निर्भयता छैन र दृढ संकल्प शक्ति छैन भने यहाँ कदापि पाइला नटेक्नुहोस्। यहाँ निकै ठुलो परीक्षा हुनेछ र अत्यन्त भीषण संकटहरू आइपर्नेछन्। तर त्यसका बाबजुद पनि म भन्दछु यहाँ निडर रहनुपर्दछ। किनभने यदि यहाँको आचरण शुद्ध छ भने डर स्वतः भाग्नेछ र दुःखले पनि आफैँ यहाँलाई छाडिदिनेछ। त्यसपछि यहाँलाई एउटा अनौठो हाँसो लाग्नेछ। धेरै मानिसहरूको यस्तो अनुभव होला कि उनीहरूले सबै कुरा राम्रो गरिरहेका छन्, तैपनि उनीहरूको साथमा अत्यन्त नराम्रा घटनाहरू घट्दछन्, तर उनीहरूको मनमा कुनै गुनासो आउँदैन। उनीहरूको मनमा कुनै ग्लानि पैदा हुँदैन। उनीहरूको मनमा कुनै डर पनि आउँदैन 'ए, यो के भयो?' भनेर उनीहरू सोच्दा पनि सोच्दैनन्। बरु उनीहरू मुस्काउछन 'मैले मायालाई, हल्लाइदिएको छु; त्यसैले त यसले मलाई मेरो मार्गबाट विचलित तुल्याउनका लागि यति ठुलो कदम चालेको छ।' "यो यहाँको सफलता हो कि यहाँले मायालाई हल्लाइदिनुभयो। यसले गर्दा अब मायाको ध्यान यहाँमाथि केन्द्रित भएको छ। पहिला त यहाँ मायाको हातको खेलौना मात्र हुनुहुन्थ्यो; माया यहाँसँग खेलिरहेकी थिइन् र जहाँ इच्छा लाग्थ्यो, त्यहाँ यहाँलाई एउटा कठपुतली झैँ नचाइरहेकी थिइन्। तर अब यहाँले इन्कार गरिदिनुभयो, यहाँलाई अब यसबाट मुक्ति चाहिएको छ। त्यो कुरा मायालाई कति पनि मन पर्दैन। म अलिकति काव्यात्मक भाषाको प्रयोग गर्दैछु ताकि यो प्रवचन अलिक मनोरञ्जनपूर्ण बनोस् अब ऊ मरिहत्ते गरेर यहाँको पछि लाग्नेछिन्, म यहाँलाई यस कुराको पूर्ण प्रत्याभूति दिन्छु। तर यहाँले चाहिँ त्यसमा केवल हाँस्नुपर्दछ। किनकि यो सबै माया नै हो। यहाँ जे-जति नराम्रो हुन्छ, त्यो पनि माया हो र जे राम्रो हुन्छ, त्यो त माया हुँदै हो। यहाँले देख्नुहुनेछ, यस्तै नै हुनेछ। मैले 'विघ्न र तिनका उपाय' नामक ती भिडियोहरूमा यस विषयमा विस्तृत परिचर्चा गरेको छु; ती दुई वा तीन घण्टाका वार्तालापहरू हुन्। तिनीहरूलाई सुन्ने कष्ट गर्नुहोस्। त्यहाँ कस्ता विघ्नहरू आउन सक्छन् र तिनका के-कस्ता उपाय हुन सक्छन् भन्ने कुरा मैले संक्षेपमा बताउने प्रयास गरेको छु। सबै कुरा त बताउन सम्भव छैन। जति साधकहरू छन्, विघ्नहरू पनि त्यति नै प्रकारका हुन्छन्। हजारौँ प्रकारका विघ्नहरू छन्; अब त्यसको के व्याख्या गरिरहनु,? तर नियम वा सिद्धान्त यही हो कि यहाँ आफ्नो संकल्प, आफ्नो पथ र आफ्नो मार्गमा सदैव अडिग रहनुपर्दछ, चाहे त्यो मार्ग जुनसुकै किन नहोस्। "जो मानिसहरू ज्ञान मार्गमा छन्, उनीहरूले 'यी विघ्नहरू त अरूसंग मात्र आउने हुन्, उनीहरूको मात्र परीक्षा हुने हो, म त ज्ञानमार्गमा छु, मेरो त केही हुँदैन' भनेर हर्षित नहुनुहोस्। तसर्थ यो भ्रममा नपर्नुहोस्; ज्ञानमार्गीको पनि परीक्षा हुन्छ। त्यो अर्कै तरिकाले होला, तर अवश्य हुनेछ। म यो प्रमाणित गरिदिन्छु कि बाधाहरू त आउने नै छन्, विघ्नहरू आउने नै छन् र परीक्षा त हुने नै छ; अनि यदि तपाइँ यी सानातिना कुराहरूबाट पराजित हुनुभयो भने फेरि माया यहाँमाथि हाँस्नेछिन्। त्यसपछि तपाइँ मायामाथि हाँस्न सक्नुहुनेछैन। यो कुराको ध्यान राख्नु आवश्यक छ कि माया अत्यन्त विशाल शक्ति हो। हामी जस्ता सानातिना साधकहरूको वशमा माया छैनन्। तसर्थ, त्यो मायाप्रति यहाँको मनमा आदर र सम्मान हुनुपर्दछ; यहाँले मायालाई प्रणाम गर्नुपर्दछ। मायाका साथ एउटा सुन्दर सम्बन्ध गाँस्नुहोस्; प्रेमपूर्वक सम्बन्ध बनाउनुहोस्। मायालाई जेपाई नभन्नुहोस्, चाहे उनले जे-सुकै गरून्, उनले परीक्षा त लिने नै छिन्। तर माया हाम्रो आमा हुन्; उनी नै माता हुन् र उनैले जन्म दिएकी हुन्। उनको आदर त गर्नैपर्दछ। अनि उनैले यहाँलाई प्रेम पनि गर्दछिन्। र अन्ततः, मायाको कृपा बिना यो संसारबाट यहाँको छुट्टी वा मुक्ति सम्भव छैन। "याद राख्नुहोस्, यहाँको सामुन्ने जुनसुकै परीक्षा राखिए तापनि, त्यसलाई पूर्ण सम्मानका साथ स्वीकार गर्नु नै एक आध्यात्मिक शिष्यको वास्तविक गुण हो। 'मैले त यति राम्रो गरेँ, तर मेरो साथमा यो के गर्यौ?' भनेर निन्दा वा गाली गर्न नथाल्नुहोस्; यस्तो त केवल बुद्धिहीन मानिसहरूले गर्दछन्, आध्यात्मिक मानिसहरूले होइन। अतः यहाँको परम्परा जुनसुकै होस् चाहे त्यो कर्मयोग होस्, भक्तियोग होस् वा कुण्डलिनी योग यहाँले जहाँबाट आफ्नो शुद्धि आरम्भ गर्नुभएको छ, त्यहाँ यहाँले त्यस्तै प्रकारका विघ्न र परीक्षाहरूको सामना गर्नुपर्नेछ र यहाँ त्यहाँबाट पार हुनुपर्नेछ। यसैलाई नै 'तप' भनिएको छ। जसरी जमिनमुनि कोइला तपेर नै हीरा बन्दछ, जसरी सुनलाई पगालेर मात्र चम्किला र सुन्दर गहनाहरू निर्माण गरिन्छ, त्यसरी नै एक सामान्य व्यक्तिले पनि तपको मार्गबाट गुज्रिनुपर्दछ। यस परीक्षाको अग्नि वा भनौँ अग्नि-परीक्षाबाट पार भएपछि मात्र वास्तविक शुद्धि सम्भव हुन्छ। यहाँले यस्ता कैयौँ कथा र प्रसङ्गहरू सुन्नुभएको होला, तर सायद तिनीहरूलाई अहिलेसम्म त्यति गम्भीरताका साथ लिनुभएको छैन। जसरी यहाँको आत्मशुद्धि हुँदै जानेछ र यहाँ आफ्नो मार्गमा अगाडि बढ्नुहुनेछ, यहाँले यी पौराणिक कथाहरूको वास्तविक अर्थ बुझ्न थाल्नुहुनेछ। ती केवल कथाहरू मात्र होइनन्, तिनीहरूका पछाडि महान् ज्ञान र ठुलो शिक्षा लुकेको हुन्छ। तीक्ष्ण प्रज्ञा भएकाहरूले त कथा श्रवण मात्रले पनि ज्ञान प्राप्त गर्दछन् र उनीहरूको अंतर्शुद्धि कहिलेकाहीँ कथा सुनेरै पनि हुन पुग्दछ। त्यसैले, यस्ता कुराहरूलाई निकै गम्भीरताका साथ ग्रहण गर्नुहोस्। गुरुका वचन र महापुरुषका जीवनीहरूलाई ध्यानपूर्वक अध्ययन गर्नुहोस्, "यस्तो कोही पनि छैन, जो यस आध्यात्मिक मार्गमा एउटा राजा झैँ सानका साथ हिँडेको होस्। यो कुनै यस्तो मार्ग होइन, जहाँ यहाँ ठुलो गाडीमा चढेर कुनै 'फाइभ स्टार' होटलमा विलासी जीवन बिताउन जानुहुन्छ। जुनसुकै महान् गुरुलाई हेर्नुहोस्, उनीहरूसँग के-के मात्र भएन? यहाँसम्म कि अवतारहरूलाई नै हेर्नुहोस्। गुरु त सानो कुरा हो, यहाँ त ठुला-ठुला अवतारहरूको समेत कठोर परीक्षा भएको छ। त्यसैले त यसलाई 'तप' भनिएको हो, यसैलाई 'तपस्या' भनिएको हो। तपको वास्तविक अर्थ नै प्रज्वलित हुनु वा जल्नु हो। जसरी फलामलाई तपाएर मात्र त्यसको धारिलो तरबार निर्माण गरिन्छ र बल्ल त्यसले काट्ने सामर्थ्य राख्दछ, त्यसरी नै एक साधक पनि तपको कठोर परीक्षाबाट गुज्रिनुपर्दछ। यहाँको आचरण नै यहाँको वास्तविक परीक्षा हो। यहाँको व्यवहार र आचरण कस्तो छ, त्यसले नै यो पुष्टि गर्दछ कि यहाँ त्यो तपका कारण कति परिपक्व हुनुभएको छ। यो संसार जस्तोसुकै कुटिल, नीच, अनैतिक वा हिंसक किन नहोस्, अनि यहाँ जतिसुकै ईर्ष्या र द्वेष किन नहोस् यहाँलाई त्यो दलदलमा कदापि खस्नु छैन, चाहे जेसुकै होस्। हुन त यी कुराहरू यहाँलाई केवल आदर्शवादी वा किताबी उपदेश जस्तो लाग्न सक्छ। व्यावहारिक सत्य के हो भने यहाँ यो अधेरोबाट तुरुन्तै पूरै निस्कन सक्नुहुनेछैन। त्यसैले, बिस्तारै-बिस्तारै बाहिर निस्कनुहोस्। आफ्नो आचरणमा दैनिक एउटा सानो भए पनि असल सुधार गर्नुहोस्। जहाँ पनि सानो-तिनो अनैतिकता देखिन्छ, त्यसलाई तुरुन्तै बदल्नुहोस् ती अनैतिक व्यवहार र अनैतिकतालाई जीवनबाट हटाउनुहोस्। त्यसपछि बिस्तारै-बिस्तारै, यदि यहाँ कुनै ठुलो मामिलामा फस्नुभएको छ भने, त्यो पनि क्रमशः छुट्दै जानेछ। बुझ्नुहोस्, आचरणको शुद्धि अरू धेरै प्रकारका शुद्धिहरूमा निर्भर गर्दछ, जस्तो कि यहाँले महसुस गर्न सक्नुहुन्छ। यदि यहाँका मित्रजन, यहाँका नातेदार, यहाँका परिचित वा अपरिचित जोसुकै मानिसहरू हुन्, उनीहरूको आचरण शुद्ध छैन भने यहाँको आफ्नो आचरण पनि बिग्रनेछ। यस कुराको त म पूर्ण प्रत्याभूति दिन्छु। याद राख्नुहोस्, हिलोमा रहेर सफा रहनु अत्यन्त कठिन हुन्छ। तसर्थ, सबैभन्दा पहिले सम्बन्ध शुद्धि गरिहाल्नुहोस्, जस्तो कि हामीले अघिल्लो भागमा चर्चा गरेका थियौँ। यदि यहाँको वरिपरिका मानिसहरू नैतिक छन्, इमानदार छन्, सहयोगी छन् र उनीहरूको व्यवहार मित्रतापूर्ण छ, उनीहरूमा कुनै ईर्ष्या एवं प्रतिस्पर्धा छैन भने यहाँको आचरण पनि स्वतः परिवर्तन हुन थाल्नेछ। त्यसपछि यहाँले ती सबै प्रयत्न गरिरहनु आवश्यक पर्नेछैन। किनकि एउटा अनैतिक व्यक्तिले नै अरूलाई अनैतिकतातर्फ धकेल्ने गर्दछ। यो यहाँको आफ्नै अनुभव होला कि जो चोर प्रवृत्तिका मानिसहरू हुन्छन्, उनीहरूले अरूको इमानदारी सहन सक्दैनन्। उनीहरूले ती इमानदार मानिसहरूमा केही न केही दोष पहिल्याउने प्रयास गर्दछन्, ताकि उनीहरू आफूलाई सही सावित गर्न सकून्। यदि यहाँले कसैमाथि औँला उठाउनुभयो र भन्नुभयो ', तिमीले यो काम गरिरहेका छौ, यो त अनैतिक हो, गैरकानुनी हो र अरूको हानि गर्ने खालको छ' भने उसले त्यो कुरालाई त्यसै छाड्ने छैन। यहाँको अर्ति-उपदेशको उसमाथि कुनै सकारात्मक प्रभाव पर्नेछैन। बरु उल्टै उसलाई तपाइँमाथि रिस उठ्नेछ, उसले यहाँलाई शत्रुको दृष्टिले हेर्नेछ र उसले यहाँभित्र पनि त्यस्तै कमजोरी पहिल्याउने चेष्टा गर्नेछ। अनी भन्छ, तिमी पनि त यही गर्दछौ, तिम्रो परिवारका मानिसहरूले पनि त यही गर्दै आएका थिए, तिम्रा बाजे-बराजुले पनि त यही गर्दै आएका थिए, अनि तिमी अहिले आएर ममाथि औँला उठाउँछौ?' यदि यहाँमा त्यस्तो कुनै खोट फेला पारेन भने पनि, उसले यहाँलाई जबरजस्ती अनैतिकताको दलदलमा घिसार्ने प्रयत्न गर्नेछ। उसले यहाँबाट कुनै यस्तो कर्म गराउने प्रपञ्च रच्नेछ जुन अनैतिक होस् र त्यसपछि ऊ यहाँमाथि हाँस्नेछ। तसर्थ, यसरी भड्काउने मानिसहरूको यहाँ कुनै कमी छैन। हेर्नुहोस्, यही नै यहाँको वास्तविक परीक्षा हो। यस्ता सम्बन्धी र यस्ता मित्रहरू, जसलाई मित्र भन्नु पनि उचित हुँदैन यिनीहरू त शत्रु भन्दा पनि निकृष्ट र घातक हुन्। यदि यस्ता सम्बन्धहरूको शुद्धि भयो भने, यहाँको आचरण स्वतः शुद्ध हुन थाल्नेछ। यो अत्यन्तै प्राकृतिक र स्वाभाविक कुरा हो। "तसर्थ, यदि यहाँले अहिलेसम्म सम्बन्ध शुद्धि आरम्भ गर्नुभएको छैन भने, आचरण शुद्धिका साथसाथै त्यसलाई पनि सुरु गर्नुहोस्। यसको प्रतिफल यहाँले तुरुन्तै देख्नुहुनेछ। यदि यहाँ असल मानिसहरूको सङ्गतमा हुनुहुन्छ भने, मायाको सामुन्ने पनि धेरै उपाय रहँदैन। यहाँको परीक्षा लिनका लागि उसले दशजना मानिसहरूलाई भड्काउनुपर्ने हुन्छ, अनि मात्र यहाँमाथि संकट आउन सक्छ अर्थात्, यदि यहाँको सम्बन्ध शुद्ध छ भने मायाको काम निकै कठिन बन्नेछ। त्यस्तै, यदि यहाँको शरीर पनि सुदृढ र शुद्ध छ भने कुनै पनि संकट सहजै आउन सक्दैन। तैपनि, यसबाट पूर्ण मुक्ति त हुँदैन; सुरुमा सबैजना लड्छन्, यहाँ पनि लड्नुहुनेछ, तर त्यसबाट त्रसित हुनुपर्ने आवश्यकता छैन। र यदि यहाँले आचरण शुद्धि गर्नुभयो भने, त्यसको प्रत्यक्ष सम्बन्ध वाक् शुद्धिसँग छ। अर्थात्, हामी जे बोल्छौँ, त्यसमा नै हाम्रो आचरण निर्भर रहन्छ। मैले भने झैँ, यी सबै शुद्धिहरू एक-अर्कामा निर्भर छन्। यिनीहरूका बीचमा कुनै सीमारेखा छैन। हामीले त केवल अध्ययन गर्न र यो मार्गमा हिँड्न सहज होस् भनेर यसलाई विभिन्न भागमा विभाजित गरेका हौँ। तर एउटा शुद्धिलाई अपनाएर अर्कोलाई त्याग्छु भन्नु सम्भव छैन। सबै कुरा एकैसाथ गर्नुपर्दछ। त्यसैले आचरणको शुद्धि, सम्बन्ध र वाणीको शुद्धिमा आधारित छ। यसले यहाँको आचरणलाई सही मार्गमा राख्न निकै सहयोग पुर्याउनेछ। यसै विषयमा, अर्थात् 'वाक् शुद्धि' का बारेमा हामी अर्को भागमा विस्तृत रूपमा परिचर्चा गर्नेछौँ।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions