Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अध्यात्म के हो ? (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।** अध्यात्म के हो? मूल रूपमा अध्यात्म स्वयंको बारेमा हो, स्वयंको अध्ययन हो र आत्मदर्शन हो। आफ्नै तत्वलाई चिन्नु, त्यसको गहिरो अध्ययन गर्नु र त्यसलाई आत्मसात् गर्नु नै अध्यात्मको सबैभन्दा ठुलो र महत्त्वपूर्ण परिभाषा हो। यसबाहेक, यो सम्पूर्ण अस्तित्वको मूल तत्वलाई बुझ्ने प्रयास गर्नु पनि अध्यात्म नै हो। यो जगत् के हो? यो जीव के हो? मनुष्य के हो? यिनको मूल तत्व र सत्य के हो? यी सबै जिज्ञासा र सत्यको खोजी अध्यात्म अन्तर्गत नै पर्दछन्। अध्यात्म केवल एउटा विचार मात्र होइन, यो त एक जीवनशैली पनि हो। केवल पढ्नु, लेख्नु वा दर्शनका कुरा गर्नु त यसको एउटा सानो पाटो मात्र हो। वास्तविक अध्यात्म त त्यो ज्ञानलाई आफ्नो दैनिक जीवनमा उतार्नुमा छ। कस्तो जीवनशैली त? जब तपाईँलाई सत्यको बोध हुन्छ र तपाईँभित्रको चेतना जागृत हुन्छ, तब त्यही सत्य र चेतनाको प्रकाशमा बाँच्ने कला नै आध्यात्मिक जीवनशैली हो। यदि तपाईँ शास्त्रका सबै कुरा जान्नुहुन्छ, तर जीवनमा त्यसको कुनै उपयोग छैन र तपाईँको व्यवहारमा कुनै परिवर्तन आएको छैन भने, बुझ्नुहोस् त्यो केवल किताबी ज्ञान मात्र हो, अध्यात्म होइन।" आत्मदर्शन भएपछि आफ्नो वास्तविक स्वरूपमा स्थापित रहनु नै अध्यात्मको वास्तविक मूल हो। सबै कुरा जानेर पनि यदि व्यक्तिको अवस्था र व्यवहार उस्तै रहन्छ भने, बुझ्नुहोस् ऊ आध्यात्मिक होइन। यसको सिधा अर्थ यो हो कि उसले सत्यलाई चिनेन, वा त्यसलाई स्वीकार गरेन, कि त आफ्नो जीवनमा उतार्न सकेन। यदि अझै पनि मिथ्याप्रति आशक्ति छ र अझै पनि अनावश्यक कार्यहरू भइरहेका छन् भने बुझ्नुपर्छ कि यात्रा सुरु भएकै छैन। त्यसैले अध्यात्ममा ती सबै कुराहरू समेटिन्छन्, जो मिथ्याको त्याग हुन्। जे जति अनावश्यक छ, त्यसको त्याग नै अध्यात्म हो। अध्यात्म केही नयाँ कुरा पाउनु होइन, बरु आफूभित्रका नचाहिँदा कुराहरू गुमाउनु हो। हामी के गुमाउँछौँ त? जे झुट छ, जे मिथ्या छ, जे अनावश्यक छ र जे हानिकारक छ त्यो सबै विस्तारै छुट्दै जान्छ। त्यसपछि एउटा अद्भुत प्राकृतिक शुद्धता मात्र बाँकी रहन्छ। वास्तवमा यही नै अध्यात्म हो। अब प्रश्न उठ्छ आध्यात्मिक प्रगति कसरी हुन्छ? हेर्नुहोस्, यस जीवनको एउटा प्राकृतिक विकास क्रम निरन्तर चलिरहेको हुन्छ। साधकले त्यसबाटै ज्ञान प्राप्त गर्दछ र त्यो विकासको प्रक्रियालाई गति दिने प्रयास गर्दछ। यही नै आध्यात्मिक प्रगति हो। यस जीवको वास्तविक प्रगति केवल ज्ञानबाट नै सम्भव छ। ज्ञानले प्रगति गराउँछ र त्यो प्रगतिले पुनः गहिरो ज्ञान दिलाउँछ। यस प्रगतिमा हाम्रो वातावरण, शरीर, मन, भावना, विचार, बुद्धि र स्मृति यी सबै पक्षहरू समेटिन्छन्। कि त यी सबैको शुद्धि हुन्छ, कि त यिनमा सकारात्मक अभिवृद्धि हुन्छ। जसले हामीलाई एउटा सीमित घेराभित्र बाँधेर राख्छ, हामी त्यसको नाश गरिदिन्छौँ र त्यसलाई त्यागी दिन्छौँ। अनि जे असीमित छ, जुन मेरो वास्तविक स्वभाव हो अर्थात् म अनन्त हुँ त्यसतर्फ हामी पाइला चाल्छौँ र त्यस्तै बन्ने प्रयास गर्छौँ। यही नै वास्तविक आध्यात्मिक प्रगति हो।" "असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, अज्ञानबाट ज्ञानतर्फ, पशुबाट मनुष्य, मनुष्यबाट देव र देवबाट बोधिसत्वतर्फको यात्रा नै जीवनको वास्तविक गन्तव्य हो। संसारका सबै साधकहरू आज यसै कार्यमा तल्लीन छन्। उनीहरू यो विकास क्रमको गतिलाई अझ तीव्र बनाउन चाहन्छन्। आफ्नो सानो र संकीर्ण दृष्टि अनि मानसिकतालाई त्यागेर सबैमा एकता र अभिन्नता देख्नु, अनि त्यसलाई गहराईमा बुझ्नु नै साधनाको उपलब्धि हो। 'जे जति छ, त्यो मै हुँ र यी सबै मेरा नै विभिन्न रूप हुन्' यो बोध हुनु आध्यात्मिक प्रगतिको सबैभन्दा ठुलो लक्षण हो। यस अवस्थामा सुख बढ्दै जान्छ र व्यक्ति मुक्त हुँदै जान्छ हरेक कोणबाट, हरेक दृष्टिकोणबाट। शारीरिक, मानसिक र आध्यात्मिक सुखको अनुभूति गर्दै शरीरको बन्धन, जन्म-मृत्युको चक्र, दुःख, अज्ञान र अन्धकारबाट मुक्त हुनु; अनि मनका सबै दोष र मलिनताबाट छुटकारा पाउनु नै वास्तविक आध्यात्मिक प्रगति हो। यदि जीवनमा यी परिवर्तनहरू भइरहेका छैनन् भने, सम्झनुहोस् प्रगति रोकिएको छ। हाम्रो यो सीमित दृष्टिकोणको जड हामी स्वयम् हौँ। हाम्रो 'अहंभाव' नै यसको मूल कारण हो। जब त्यो अहं सम्पूर्णतामा विलीन हुन्छ, तब मात्र व्यक्तिले पूर्णता प्राप्त गर्दछ। यो विलीनता र यो परम मुक्ति नै व्यक्तिको अन्तिम लक्ष्य हो। यही नै आध्यात्मिक लक्ष्य हो र यसैलाई हामी वास्तविक प्रगति भन्दछौँ। याद राख्नुहोस्, अध्यात्ममा केही पाउनु छैन, बरु धेरै कुरा गुमाउनु छ। तपाईँले अहिलेसम्म जे-जे थुपार्नुभएको छ, ती त केवल अशुद्धि र मैल मात्र हुन्। जब ती मैलहरूको त्याग हुन्छ, तब स्वतः विलीनताको स्थिति पैदा हुन्छ। यदि हामीले आफूभित्रको त्यो मल वा फोहोरलाई हटाउन सक्यौँ भने, हामी त पहिलेदेखि नै निर्मल छौँ, पहिले नै विलीन र मुक्त छौँ अनि आनन्द स्वरूप छौँ। यही बोधको अवस्थामा पुग्नु नै आध्यात्मिक प्रगति हो।" अब अध्यात्म के होइन भन्ने विषयमा पनि थोरै चर्चा गरौँ। किनभने मैले देखेको छु, अहिले स्थिति निकै विचित्र छ। स्वयम् आध्यात्मिक मार्गमा लागेका व्यक्तिहरूले पनि अध्यात्म के हो भन्ने कुरा सही ढङ्गले बुझेका छैनन्। उनीहरूले अध्यात्मलाई अर्कै केही सम्झिरहेका छन्। त्यसैकारण उनीहरू भौँतारिरहेका छन्; न त उनीहरूलाई अहिलेसम्म आत्मदर्शन भएको छ, न आत्मसाक्षात्कार नै, न त उनीहरूको जीवनमा कुनै वास्तविक प्रगति नै भइरहेको छ। यताउताबाट जे-जे सुनियो, त्यसैलाई सत्य मानेर उनीहरू बसेका छन्। धेरै मानिसहरू अध्यात्मको अर्थ यस संसारमा नपाइने खालका विभिन्न विचित्र अनुभवहरू सँगाल्नु हो भन्ने सोच्दछन्। कहिले यस्तो अनुभव, त कहिले उस्तो अनुभव। कसैलाई लाग्छ 'तपाईँलाई दशवटा सानातिना आध्यात्मिक अनुभव भए होलान्, तर मलाई बीसवटा भइसके; त्यसैले मेरो प्रगति धेरै राम्रो छ।' तर याद राख्नुहोस्, यो केवल मूर्खता हो। अध्यात्मको उद्देश्य विचित्र अनुभवहरू बटुल्नु होइन। यो त केटाकेटीपन र नासमझ हो। साधनाको क्षेत्रमा सुरु-सुरुमा आउनेहरूले यस्तै गर्दछन्। तपाईँको अहिले, यसै समय र यसै स्थानमा जुन अनुभव भइरहेको छ, त्यो पहिलेदेखि नै सबैभन्दा विचित्र छ। त्यो पहिलेदेखि नै माया हो। तर हामीलाई यसको बानी परिसक्यो, यो सामान्य जस्तो भइसक्यो। त्यसैले तपाईँ अझै अनौठा र विचित्र अनुभवहरू खोज्नुहुन्छ र त्यसैलाई अध्यात्म सम्झनुहुन्छ। तपाईँ सोच्नुहुन्छ 'होइन, विचित्र अनुभव नभई मलाई ज्ञान कसरी होला र!' तर तपाईँको यो जुन सामान्य अनुभव छ, सारा ज्ञान पाउनका लागि यही नै पर्याप्त छ। के यहाँ 'म' छैन र? के यहाँ सम्पूर्ण सृष्टि छैन? के यहाँ यो अस्तित्व छैन? म कहाँ भेटिन्छु त? अस्तित्व र माया कहाँ भेटिन्छन्? सबै कुरा त यहीँ छ, अहिल्यै यसै क्षणमा छ। यदि कसैलाई लाग्छ कि सत्य यहाँ छैन भने, त्यो कस्तो खालको सत्य हो त? जुन एक ठाउँमा सत्य हुन्छ र अर्को ठाउँमा असत्य? जुन एक समयमा सत्य हुन्छ र अर्को समयमा असत्य? यस्तो कुन सत्य हो जुन ठुलो प्रयत्न गरेपछि मात्र सत्य हुन्छ? बुझ्नुहोस्, यदि सत्य तपाईँको सामुन्ने छैन र स्वयम् सिद्ध छैन भने, त्यो सत्य नै होइन। कुन अनुभवमा सत्य भेटिन्छ त? वास्तवमा सबै अनुभवहरू त मिथ्या हुन्। अनि यो मिथ्या वा भ्रमप्रति किन यति धेरै मोह? अध्यात्म त मिथ्याबाट मुक्त हुने मार्ग हो, त्यसमा अझ गहिरो गरी डुब्ने मार्ग होइन।" "त्यसैगरी, कतिपय मानिसहरूलाई के लाग्छ भने, अध्यात्म एउटा यस्तो 'छोटो बाटो' वा सर्टकट हो, जसले उनीहरूका सबै सांसारिक इच्छाहरू पूरा गरिदिनेछ। उनीहरू सोच्छन् यो मार्गमा लागेपछि धन-सम्पत्ति पाइनेछ, नातागोता र सम्बन्धहरू सुमधुर हुनेछन्, ऐश्वर्य र समृद्धि मिल्नेछ। यहाँसम्म कि राम्रो जागिर मिल्ने, विवाह हुने, सन्तान सुख प्राप्त हुने र समाजमा नाम र प्रतिष्ठा बढ्ने आशामा बिचराहरू अध्यात्मको शरणमा आउन चाहन्छन्। तर एउटा कुरा सधैँ ध्यानमा राख्नुहोस् अध्यात्मबाट तपाईँको कुनै पनि सांसारिक वासना पूरा हुने छैन। बरु, यसले तपाईँभित्रका वासनाहरूको अन्त्य गरिदिनेछ। यदि तपाईँ वासनाकै पूर्ति चाहनुहुन्छ भने सांसारिक मार्ग नै अपनाउनुहोस्, किनकि अध्यात्ममा वासना पूर्तिका लागि कुनै ठाउँ छैन। वास्तवमा वासनाहरूको आफ्नो कुनै सत्यता हुँदैन। हाम्रो मनस्पटलमा उब्जने यी अनेकौँ वासनाहरू त मिथ्या हुन्, यी मेरा होइनन्। अनि ती सबैलाई पूरा गरिरहनु मेरो उत्तरदायित्व पनि त होइन! वासनाको दास बनेर बाच्नु मानिसको स्वभाव होइन, त्यो त पशुता हो। र, आफ्नो स्वार्थ वा वासना पूर्तिका लागि अध्यात्मको सहारा लिनु त झन् ठुलो मूर्खता हो। हो, कतिपय वासनाहरू शुद्ध हुन सक्छन् जस्तै ज्ञान प्राप्त गर्ने तृष्णा। 'मलाई ज्ञान मिलोस्' वा 'मलाई सद्गुरुको प्राप्ति होस्' भन्ने इच्छा हुनु आफैँमा धेरै उत्तम कुरा हो। तर, यदि यो इच्छा केवल इच्छामा मात्रै सिमित भएर जीवनभर चलिरहन्छ भने, बुझ्नुहोस् तपाईँको आध्यात्मिक प्रगति भएकै छैन। न त तपाईँले ज्ञान पाउनुभयो, न त गुरुको साक्षात्कार नै गर्नुभयो सारा जीवन त केवल खोज्दैमा मात्र बित्यो। जसलाई हामी 'आध्यात्मिक इच्छा' भन्दछौँ, त्यो यात्राको सुरुवातमा केही क्षणका लागि त राम्रो मानिन्छ। तर एउटा सच्चा साधकको वास्तविक वासना त त्यो मात्र हो, जसले अन्य सबै प्रकारका वासनाहरूको अन्त्य गरिदियोस्। त्योभन्दा बाहेक अरू केही पनि होइन।" "धेरै मानिसहरू यहाँ सिद्धिहरूको लोभमा आउँछन्। उनीहरूलाई लाग्छ कि यहाँ लागेपछि केही अलौकिक शक्तिहरू पाइएला, केही सिद्धिहरू प्राप्त होला। 'मैले यसो गरुला वा त्यसो गरुला' भन्ने जुन चाहना छ, यो पनि एउटा मूर्खता नै हो। याद राख्नुहोस्, यसलाई अध्यात्म भनिँदैन; यो त केवल सांसारिकता मात्र हो। वास्तवमा, त्यस्ता व्यक्तिहरू आफ्नो वासना पूर्तिका लागि वा आफूभित्रको कुनै न कुनै पागलपनमा सफल हुनका लागि केही विचित्र सिद्धिहरू खोजिरहेका हुन्छन्। उनीहरू जगतका नियमहरूलाई आफ्नो मुठ्ठीमा राख्न वा नियन्त्रण गर्न चाहन्छन्। यो त केवल 'अहंभाव' को प्रदर्शन हो। यस जगतमा र समाजमा सामान्य जीवन यापन गर्नका लागि थोरै अहंभाव त आवश्यक पनि हुन सक्छ। तर, जुन अहंभावले यस मानव जीवनमा र यो भौतिक संसारमा सिद्धिहरूको प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहन्छ, बुझ्नुहोस् त्यो व्यक्ति रोगी भइसकेको छ। त्यो एउटा मनोरोग हो। त्यसलाई कदापि अध्यात्म भन्न सकिँदैन; त्यो त एउटा गम्भीर मानसिक बिमारी हो। यस्ता व्यक्तिले कहिल्यै वास्तविक सिद्धिहरू प्राप्त गर्न सक्दैनन्। कतैबाट जोडजाम गरेर वा 'जुगाड' गरेर केही प्राप्त गरे पनि, उनीहरूले त्यसको दुरुपयोग मात्रै गर्दछन्। किनभने यो माया एउटा यन्त्र जस्तै हो, जहाँ बटन थिच्ने बित्तिकै काम त हुन्छ, तर त्यसबाट कसैको भलो हुँदैन। नीच स्वभाव भएका व्यक्तिहरू मात्र सिद्धिहरूको पछाडि दौडिन्छन् र परिणामस्वरुप उनीहरूबाट नीच कर्महरू नै हुने गर्दछन्। त्यसैगरी, कतिपय मानिसहरू यस्तो पनि सोच्दछन् 'मेरो स्वभाव असल बनोस्, म एउटा राम्रो मान्छे बनूँ। म अनैतिक छु, त्यसैले नैतिक बन्नका लागि म आध्यात्मिक हुनुपर्छ।' तर वास्तविकता के हो भने, अध्यात्मको लक्ष्य केवल तपाईँलाई नैतिक बनाउनु मात्र पनि होइन।" नैतिकता त आध्यात्मिक जीवनको एउटा परिणाम मात्र हो। केवल नैतिक बन्नाले मात्र कोही व्यक्ति आध्यात्मिक भइहाल्दैन। धेरैले भन्ने गर्छन् 'हेर्नुहोस्, मैले सबै नराम्रा कामहरू छोडिदिएँ। मांसाहार र मदिरा त्यागेँ। म अपशब्द बोल्थेँ, परस्त्रीको पछाडि दौडिन्थेँ, ती सबै अहिले बन्द भए। त्यसैले अब म आध्यात्मिक भएँ।' तर सत्य के हो भने, तपाईँ केवल एउटा असल मानिस मात्र बन्नुभएको हो। सधैँ ध्यान दिनुहोस्, आध्यात्मिकताको वास्तविक परिभाषा त आफ्नै तत्वलाई चिन्नु हो, आत्मज्ञान प्राप्त गर्नु हो। असल मानिस बन्नु र आध्यात्मिक हुनु एउटै कुरा होइन। यो कुरा धेरै मानिसहरूलाई स्वीकार गर्न गाह्रो हुन सक्छ, किनकि उनीहरूको मनमा 'आध्यात्मिक व्यक्ति त नैतिक हुनैपर्छ' भन्ने धारणा गहिरो गरी थोपरिएको छ। आध्यात्मिक व्यक्ति नैतिक हुन सक्छ, तर त्यो उसको मुख्य लक्ष्य होइन। नैतिकता त एउटा सुखद परिणाम हो, साधनाको क्रममा देखिने एउटा 'साइड इफेक्ट' मात्र हो। जसरी सिद्धिहरू प्राप्त हुनु वा वासनाहरूको अन्त्य हुनु साधनाको परिणाम हो, नैतिकता पनि त्यस्तै हो। मानिसहरू आध्यात्मिक व्यक्तिको जीवनमा आएका बाह्य परिवर्तनहरू देख्छन् र त्यसैलाई अध्यात्म सम्झने गल्ती गर्छन्। वास्तवमा, त्यो व्यक्ति भित्रबाट रूपान्तरित भइरहेको हुन्छ र तपाईँले देख्ने नैतिकता वा शक्ति त उसको शुद्ध स्वरूपको बाहिरी प्रकटीकरण मात्र हो। तपाईँ बाहिरी रूपमा जतिसुकै नैतिक र अनुशासित भए पनि, त्यतिले मात्र तपाईँ आध्यात्मिक हुन सक्नुहुन्न। जबसम्म भित्र आत्मज्ञानको प्रकाश हुँदैन, तबसम्म त्यो नैतिकताको के नै अर्थ रहन्छ र? किनकि जे भइरहेको छ, त्यो त अझै पनि अज्ञानको अन्धकारमै भइरहेको छ। तर जो वास्तवमै आध्यात्मिक छ, उसलाई नैतिक बन्नका लागि कुनै संघर्ष गरिरहनु पर्दैन; उसका सबै कर्महरू स्वतः शुद्ध र नैतिक हुन पुग्छन्। किनभने वास्तविक शक्ति त 'ज्ञान' मा हुन्छ, केवल बाहिरी 'अनुशासन' मा होइन। कसैलाई डर-त्रास देखाएर वा दबाब दिएर नैतिक त बनाउन सकिएला, तर त्यस्तो नैतिकताको के मूल्य? किनकि त्यहाँ व्यक्तिको आचरण त बदलिएला, तर उसको अन्तस्करणमा कुनै परिवर्तन आएको हुँदैन।" केही मानिसहरू देवी-देवता र पराभौतिक शक्तिहरूको पछाडि यसरी लाग्छन् कि ती शक्तिहरूलाई पाउन सकियो र तिनमाथि नियन्त्रण जमाउन सकियो भने जीवन सफल हुन्छ। उनीहरू तन्त्र-मन्त्रलाई नै अध्यात्म सम्झिने गल्ती गर्छन्। तर याद राख्नुहोस्, यो अध्यात्म होइन। यसको वास्तविक ज्ञानसँग कुनै सम्बन्ध छैन; यो त सबै मायाको जाल मात्र हो। कुनै न कुनै लोभ, अशुद्धि वा पशुवृत्तिले गर्दा नै मानिस यस्ता शक्तिहरूको पछाडि दौडिन्छ। अझ उदेकलाग्दो कुरा त के छ भने, यसो गरेर उसले आफूलाई अरूभन्दा धेरै ठुलो ठान्न थाल्छ। 'म त सर्वसाधारणभन्दा माथि उठेँ, किनभने म यो मन्त्र र त्यो तन्त्र जान्दछु' भन्ने उसको अहङ्कार बढ्दै जान्छ। यो त केवल 'अहं' को तीलको पहाड बनाउनु मात्र हो। यो आध्यात्मिकताको ठिक विपरीत बाटो हो। यस्तो मार्गमा लाग्दा तपाईँको प्रगति होइन, बरु दुर्गति भइरहेको हुन्छ र तपाईँ विनाशतर्फ जाँदै हुनुहुन्छ। यस्तो व्यक्तिले न त आफ्नो शुद्धि गर्छ, न त अरूको भलो; उसले त केवल अरूलाई हानि मात्र पुर्याउँछ। त्यसैगरी, केही मानिसहरू शास्त्रको अध्ययनलाई नै आध्यात्मिकता ठान्दछन्। उनीहरू भन्छन् 'मैले वेद पढेँ, उपनिषद्, गीता र अनेकौँ भाष्यहरू पढेँ, मलाई संस्कृत आउँछ, त्यसैले अब म आध्यात्मिक भएँ।' तर होइन, तपाईँ त केवल 'किताबी कीरा' मात्र बन्नुभएको हो! वास्तविक ज्ञान त अपरोक्ष अनुभव, तर्क र विवेकपूर्ण बुद्धिबाट प्राप्त हुन्छ, केवल पानाहरू पढेर मात्र होइन। जसलाई सत्यको ज्ञान भयो, उनीहरूले भोलि अरूलाई पनि केही सहारा मिल्ला कि भन्ने हेतुले त्यसलाई लेखिदिएका हुन्। शास्त्रहरू त तपाईँको ज्ञानलाई जाँच्ने कसी मात्र हुन्, ती ज्ञानका स्रोत होइनन्। आत्म-अनुभव बिना तपाईँले जतिसुकै शास्त्र पढे पनि अज्ञानी नै रहनुहुनेछ। तपाईँसँग जतिसुकै डिग्री वा पीएचडी होस्, त्यसले तपाईँभित्रको अज्ञानतालाई छुन पनि सक्दैन। यस्तो पाण्डित्यलाई अध्यात्म भन्न मिल्दैन। यसको विपरीत, एउटा नपढेको, सोझो र निष्कपट मानिस, जसले आत्मज्ञान प्राप्त गरेको छ ऊ नै यो संसारको सबैभन्दा ठुलो ज्ञानी र सबैभन्दा श्रेष्ठ आध्यात्मिक व्यक्ति हो।" धेरै मानिसहरू देवी-देवताको पूजा-आराधना, उनीहरूसँगको याचना र भक्तिलाई नै अध्यात्म सम्झने गर्छन्। तर याद राख्नुहोस्, यो अध्यात्म होइन। यो त भक्ति मार्ग पनि होइन। भक्ति मार्ग त पूर्ण समर्पणको मार्ग हो, केवल पूजा र याचनाको मात्र होइन। मन्दिरमा मूर्तिको अगाडि बसेर केही माग्नु वा भिक्षाको हात फैलाउनु आध्यात्मिकता होइन, यो त एउटा मूर्खता मात्र हो। समाजले तपाईँको मनमा सानैदेखि एउटा भ्रमको पट्टी बाँधिदिएको छ। तपाईँलाई सिकाएको छ 'मूर्तिको अगाडि बस र केही माग, तिम्रो काम बन्नेछ।' जसरी एउटा सामान्य व्यक्ति कुनै धनी मानिसको घरमा जान्छ, उसलाई खुसी पार्न अघि-पछि घुम्छ र केही पाउने आशामा हात फैलाउँछ, सर्वसाधारणले पनि ईश्वरसँग त्यस्तै व्यवहार गरिरहेका छन्। यो पूर्ण रूपमा अन्धविश्वास र अन्धश्रद्धा हो। यहाँसम्म कि एउटा कट्टर भौतिकवादी मानिस पनि देवी-देवतासँग डराउँछ। कतै केही नराम्रो नहोस्, कतै देवता रिसाएर मेरो बैंक खाता खाली नगरिदिऊन् भन्ने डरले मात्र ऊ पूजा गर्छ। उसले भक्तिले होइन, केवल डरका कारण पूजा गरिरहेको हुन्छ। त्यसैगरी, कुनै एउटा सम्प्रदाय वा गुटसँग जोडिनु पनि आध्यात्मिकता होइन। उनीहरूले जे गर्छन् र जे मान्छन्, त्यही कुरा मैले पनि अपनाइदिएँ भने म आध्यात्मिक भएँ भन्ने सोच्नु ठुलो भूल हो। त्यो साम्प्रदायिकता हो, आध्यात्मिकता होइन। हुन त कुनै सम्प्रदायमा आबद्ध हुनुमा कुनै खराबी छैन; त्यो त तपाईँको सामाजिक जीवन र अस्तित्वको सुरक्षाका लागि आवश्यक हुन सक्छ। तर सम्प्रदायमा रहँदा तपाईँले केवल सुरक्षित महसुस गर्नुहुन्छ, त्यसको काम त्यति मात्र हो। गुटबन्दी गर्ने वा समूहमा बाँधिने कुरा साम्प्रदायिक त हुन सक्छ, तर त्यसमा अध्यात्मको कुनै लेश पनि हुँदैन। एउटा साम्प्रदायिक व्यक्तिलाई न त ज्ञानको चिन्ता हुन्छ, न त आध्यात्मिक प्रगतिको। उसलाई त केवल सुरक्षित रूपमा बाँच्ने चिन्ता हुन्छ, त्यसैले ऊ साम्प्रदायिक बन्छ। मानिस जन्मँदा अत्यन्तै शुद्ध र निष्पाप हुन्छ। कुनै सम्प्रदाय, कुनै नस्ल वा कुनै जातसँग उसको कुनै सम्बन्ध हुँदैन। तर पछि उसको बुद्धिमा यी संकुचित कुराहरू जबर्जस्ती कोचिन्छन्। उसको टाउकोमा साम्प्रदायिक धारणाहरू थुपारिन्छन् र त्यो निर्दोष बालक अशुद्ध हुन पुग्छ। यो अशुद्ध समाज र वैचारिक फोहरमा बस्दाबस्दै ऊ पनि फोहोरी हुन्छ। अनि विडम्बना त के छ भने, त्यही अवस्थालाई 'आध्यात्मिक हुनु' भनिन्छ। वास्तवमा, अब उसको जीवन व्यर्थ भयो, उसको अमूल्य मानव चोला खेर गयो। कसैको जीवनसँग यस्तो खेलबाड गर्नु त निकै ठुलो पाप हो। आफू पनि अन्धकारमा रहने र अरूलाई पनि त्यतै धकेल्ने यो त स्पष्ट रूपमा पाप हो। हेर्नुहोस् त, हाम्रो समाजमा कस्तो खालको आध्यात्मिकता हावी भइरहेको छ?" केही मानिसहरू ढोँगी हुन्छन्। दाह्री पालेर, थरिथरिका रङका कपडाहरू लगाएर वा टाउको मुण्डन गरेर उनीहरू एउटा विचित्रको भेष धारण गर्छन् र आफूलाई आध्यात्मिक भएको दाबी गर्छन्। उनीहरूले यसो गरेर के पाउँछन् त? कसलाई के थाहा! सायद मानिसहरूले पैसा चढाउँछन् होला वा उनीहरूको सेवा गर्छन् होला। कतिपय नयाँ साधकहरू त बिचरा यस्ता मानिसहरूको बाहिरी भेष देखेरै झुक्याइन्छन्। उनीहरूलाई लाग्छ 'हेर, यो कति विचित्र देखिन्छ, श्मशानको खरानी घसेको छ, खप्पर बोकेर हिँड्छ, पक्कै पनि यो धेरै ठुलो महात्मा होला।' तर याद राख्नुहोस्, यस्ता ढोँगी मानिसहरू आध्यात्मिक होइनन्। थोरै मात्र विवेक प्रयोग गर्नुभयो भने तपाईँले प्रष्टै बुझ्नुहुनेछ कि को वास्तविक हो र को केवल नाटक गरिरहेको छ। त्यसैगरी, केही मानिसहरू संसारबाट निकै पीडित र त्रस्त छन्। कोही रोगले थलिएका छन्, कोही गरिबीले त कोही सम्बन्धहरूको कलहले। जहाँ जाँदा पनि अपमान र असफलता मात्र पाएपछि उनीहरू सोच्छन्'अब म कहाँ जाऊँ? म मर्न त चाहन्नँ, तर यो जीवन पनि धान्न सक्दिनँ। त्यसैले अब म संन्यासी बन्छु, सबै छोडेर काशीतिर लाग्छु, त्यहाँ मागेर त खान पाइन्छ।' तर प्रियजनहरू, यो अध्यात्म होइन, यो त केवल पलायन हो। डरले गर्दा संसार छोडेर संन्यासीको मुकुण्डो लगाउनु त कायरता मात्र हो। एउटा वास्तविक आध्यात्मिक व्यक्ति कहिल्यै संसारसँग डराउँदैन। उसलाई स्वर्ग, संसार वा नर्क जहाँ राखे पनि ऊ शान्त, स्थिर र मुस्कुराइरहन्छ। उसका लागि त यो संसार नै मिथ्या हो। अनि जुन कुराको अस्तित्व नै छैन, त्यसबाट कहाँ भाग्ने? दुःख त हाम्रो चित्तले बनाएको हो, अनि दुःखसँग किन डराउने? आत्मज्ञान भएकाहरूका लागि त न जन्म छ, न मृत्यु। बुझ्नुहोस्, पलायन अज्ञानका कारण हुन्छ, ज्ञानका कारण होइन। संन्यास र विरक्ति त आत्मज्ञानको एउटा स्वाभाविक परिणाम मात्र हो। पहिले अध्यात्म र आत्मज्ञान आउँछ, अनि त्यसको फलस्वरूप व्यक्तिको जीवनशैली बदलिन्छ। त्यसैले संन्यास र पलायन बीचको भिन्नतालाई चिन्नुहोस्। संन्यासी त्यो हो, जसको मनबाट संसार स्वतः छुट्यो; तर पलायन गर्ने त त्यो हो, जो संसारबाट डराएर भाग्यो। जसबाट मोह छुट्यो, त्यो संन्यासी हो; र जसले बाध्य भएर छोड्यो, ऊ त कायर हो। कतिपय मानिसहरू आफ्नै भावना र विचारहरूबाट निकै चिन्तित रहन्छन्। उनीहरूभित्र नकारात्मकता र अनेकौँ वासनाहरूको विष भरिएको हुन्छ, जसले उनीहरूलाई सधैँ बेचैन बनाउँछ। अब उनीहरू ती मानसिक घटनाहरूलाई नियन्त्रण गर्न वा दमन गर्न चाहन्छन् म निकै लोभी छु, धेरै खान्छु, लालची छु। मलाई मदिरा, चुरोट र लागुऔषध जस्ता अनेकौँ खराब दुर्व्यसनहरू छन्। तर यदि म आध्यात्मिक भएँ भने यी सबै बानीहरू आफैँ हटेर जानेछन्।' किन यस्तो लाग्छ त? उनीहरू अरू कुनै आध्यात्मिक व्यक्तिलाई देख्छन् र सोच्छन् 'उ कति पवित्र र शुद्ध छ! उनका सबै वासनाहरू नियन्त्रणमा छन्, अनुहारमा एउटा दिव्य चमक छ र शरीर पनि कति स्वस्थ छ। त्यसैले मलाई पनि अब आध्यात्मिक बन्नु छ।' मानिसहरू यही सोचेर अध्यात्मतर्फ लाग्छन् कि मनमा भरिएका सबै अशुद्धिहरूलाई दबाउन सकिन्छ वा यिनलाई नियन्त्रणमा राख्न सकिन्छ। हुन त अध्यात्ममा ठुलो शक्ति छ र ती कुराहरू नियन्त्रणमा आउन पनि सक्छन्, तर बुझ्नुहोस् ती कुरालाई दबाउनु अध्यात्मको वास्तविक उद्देश्य होइन। इच्छाहरूको दमन, ब्रह्मचर्य, लोभ वा क्रोध जस्ता वृत्तिहरूलाई जबर्जस्ती दबाउनु अध्यात्मको लक्ष्य होइन। यदि तपाईँलाई लाग्छ कि दमन नभए पनि कम्तीमा नियन्त्रण त होला नि, तर याद राख्नुहोस् त्यो पनि अध्यात्मको अन्तिम लक्ष्य होइन। जे मिथ्या छ, त्यसलाई मिथ्या नै हो भनेर चिन्नु र जे अनावश्यक छ, त्यसलाई त्याग्नु नै अध्यात्मको मूल लक्ष्य हो। जहाँ जुन कुराको आवश्यकता छ, त्यो स्वतः आउनेछ। यदि आत्मरक्षा गर्नुपर्ने अवस्था आयो भने, त्यहाँ त क्रोध र हिंसा पनि प्राकृतिक रूपमै प्रकट हुन्छन्। त्यसैगरी प्रजननका लागि कामवासना आउनु पनि स्वभाविक हो। यी सबै त प्राकृतिक कुराहरू हुन्। तपाईँ आखिर कसको दमन गर्नुहुन्छ? अनि कोसँग डराउनुहुन्छ? यी त मनुष्य हुनुका स्वाभाविक हिस्सा हुन् र मनुष्यकै स्वभाव हुन्। यी वृत्तिहरूबाट भागेर वा यिनलाई दबाएर केही हुँदैन। यो मानसिक दबाब त एक दिन विस्फोटक बनेर बाहिर निस्कन्छ र व्यक्तिलाई पागल बनाउँछ। त्यसैले विचार गर्नुहोस् यो कस्तो अध्यात्म हो? यो त पागलखाना जाने मार्ग हो, मुक्तिको मार्ग होइन। अब यदि तपाईँले अध्यात्म के हो र के होइन, अनि आध्यात्मिक प्रगति कसरी हुन्छ भन्ने कुराको संकेत पाउनुभयो भने, यस विषयमा थोरै गम्भीर भएर मनन गर्नुहोस्। मैले भनेकै भरमा यसलाई सत्य नमान्नुहोस्, आफैँले विवेक प्रयोग गर्नुहोस्। जब तपाईँले गहिरिएर सोच्नुहुन्छ, तब मात्र मनमा प्रश्न उठ्नेछ 'वास्तवमा सही मार्ग कुन हो? र म कसरी सही आध्यात्मिक मार्ग रोजूँ?' यसका बारेमा हामी अर्को पटक विस्तृत रूपमा चर्चा गर्नेछौँ।" नमस्कार
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions