Wise Words
समय को माया (नेपाली)
रोशन
**समय को माया** *"यो लेख गुरु तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' का लागि प्रकाशित भिडियोको नेपाली अनुवादित अंश मात्र हो; यसको उद्देश्य ज्ञानको प्रसार र सेवा गर्नु हो, त्रुटि भएमा क्षमा चाहन्छौं र सुझावको अपेक्षा गर्दछौं, साथै यसलाई ज्ञान प्रसारको उद्देश्यका लागि भिडियो बनाउन वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिन्छ।"* समय माया हो, काल मिथ्या हो। मैले त कहिल्यै समयको अनुभव गरेको छैन, न त अरू कसैले गरेका छन्। जसलाई तपाईंहरू भूतकाल भन्नुहुन्छ, त्यो स्मृतिको अनुभव मात्र हो। जसलाई तपाईं भविष्य भन्नुहुन्छ, त्यो कल्पना हो। र, जो वर्तमान छ, त्यो त समयको अभाव हो। हामी सबैको यही अनुभव हो। समय केवल एउटा अवधारणा हो, कोरा कल्पना मात्र हो। हामीलाई अनुभव त परिवर्तनको हुन्छ, जुन सधैँ वर्तमानमा नै हुन्छ। त्यो स्मृति, जसलाई हामी भूतकाल भन्छौं, त्यसको अनुभव पनि वर्तमानमा नै हुन्छ। त्यो कल्पना, जसलाई हामी भविष्य भन्छौं, त्यो पनि वर्तमानमा नै निर्माण भएको हो। स्मृति नै भएन भने त कल्पना पनि हुनेछैन। कसको कल्पना गर्ने? भविष्य भनेको स्मृति नै हो। यो स्मृतिको प्रक्षेपण हो, अनुमान हो। हिजो जे भयो, सायद भोलि पनि त्यही होला भन्ने अनुमान मात्र हो। के वर्तमान समयमा स्थित छ, वा वर्तमानमा समय लाग्छ? वर्तमान कति समयमा हुन्छ? समय त यहाँ शून्य छ, र मेरो सम्पूर्ण अनुभव वर्तमानको नै हो। मैले केवल समयको अभावको अनुभव गरेको छु, समयको होइन। सम्पूर्ण अनुभव परिवर्तनकै हो, जुन सधैँ वर्तमानमा हुन्छ। परिवर्तन बाट नै हामी समयको अवधारणा को निर्माण गर्छौं, जुन एक कोरा कल्पना मात्र हो। समयको यो अवधारणा चित्तद्वारा निर्मित छ। यदि परिवर्तन नै भएन भने, के समय रहन्छ त? यदि केही बदलिएन भने, के भूतकाल हुन्छ वा भविष्य आउँछ? यो परिवर्तनको ज्ञान कसरी हुन्छ? के परिवर्तन समयभित्र भइरहेको छ? हामी भन्छौं कि "मलाई परिवर्तनको ज्ञान भयो।" यो ज्ञान तब हुन्छ, जब वर्तमानमा भएको अनुभवलाई स्मृतिसँग तुलना गरिन्छ। यदि त्यो स्मृतिजस्तो छैन भने, त्यसलाई परिवर्तित भनिन्छ र यो सम्पूर्ण प्रक्रिया पनि वर्तमानमा नै हुन्छ। यसमा त समय लाग्दैन। परिवर्तन देख्न समय लाग्दैन। परिवर्तन समयभित्र होइन, वर्तमानमा हुन्छ। समय शून्यतामा हुन्छ। परिवर्तनको लागि स्मृति आवश्यक छ। स्मृति छैन भने, परिवर्तन पनि हुनेछैन। स्मृति भएन भने वर्तमानको तुलना केसँग हुन्छ? केही परिवर्तित भयो भनी कसरी थाहा हुन्छ? यो स्मृति के हो? तपाईंहरू सबैलाई थाहा छ, सबैले ज्ञानमार्गको शृङ्खला हेर्नुभएको छ। सबैलाई थाहा छ कि स्मृति नै चित्त हो। चित्त स्मृति र स्मृतिमा चल्ने प्रक्रियाहरूको नाम हो। स्मृति छैन भने, चित्त पनि हुँदैन। चित्तका प्रक्रियाहरू, जसले परिवर्तनको ज्ञान गराउँछन्, ती पनि हुनेछैनन्। परिवर्तन पनि चित्तद्वारा निर्मित छ र त्यसबाट समयको अवधारणा पनि चित्तले नै निर्माण गर्दछ। चित्त स्वयं माया हो। स्मृति स्वयं माया हो। ती केवल नाद रचनाहरू हुन्। पाराभौतिक, परामानसिक नाद नै स्मृति हो। न स्मृतिको अस्तित्व छ, न चित्तको अस्तित्व छ, न चित्तका प्रक्रियाहरूको अस्तित्व छ। त्यसो भए के हामी परिवर्तनको अस्तित्व छ भन्न सक्छौं? र यदि परिवर्तन नै भएको छैन भने, समयको अवधारणा कसरी बनाउन सकिन्छ त? यदि स्मृति, चित्त र परिवर्तन नै मिथ्या (झूटो) हुन् भने, ती सबैमाथि बनाइएका अवधारणाहरू त दोब्बर मिथ्या हुन्, दोब्बर माया हुन्। यहाँ केवल अनुभव छ, अनुभवकर्ता छ, र वर्तमान छ, यहाँ काल छैन, यहाँ समय छैन। समय शून्यता हो। यो वर्तमान नित्य (सधैं रहने) छ। वर्तमान कतै जाँदैन। भूतकाल आएर जान्छ। भविष्य आएर जान्छ। यो कुनै सपनाजस्तो हो। वर्तमान कतै जाँदैन। वर्तमान सत्य हो। समय धोखा हो, असत्य हो। काल चित्तद्वारा निर्मित हो, माया हो। त्यसको कुनै अस्तित्व छैन। म नै नहुने हो भने, के काल रहन्छ? काललाई जान्ने वाला नै नहुने हो भने, के परिवर्तन रहन्छ? स्मृति नहुने हो भने, के परिवर्तनको ज्ञान रहन्छ? परिवर्तन नहुने हो भने, न भूतकाल रहन्छ, न भविष्य रहन्छ। सायद वर्तमान पनि नरहला। वर्तमानको अनुभव पनि स्मृतिबाटै हुन्छ। चित्त नै हो जसले इन्द्रियहरूको माध्यमबाट वर्तमानको अनुभव पनि ल्याउँछ। इन्द्रियहरू पनि स्मृति हुन्। ती नाद रचनाहरू हुन्। हेर्नुहोस् त, कति विशाल माया हो र कति सुन्दर छ! यो असत्य हो भन्ने थाहा पनि हुँदैन। कुनै महान् कलाकारले यति कुशलताका साथ यसको निर्माण गरेका छन् कि हाम्रो आँखा अगाडि हुँदा पनि यो असत्य हो भन्ने थाहा नै हुँदैन। यदि समय छैन भने, यो घडीले के देखाउँछ? के तपाईंले घडीलाई ध्यान दिएर हेर्नुभएको छ? के घडीले समय देखाउँछ वा परिवर्तन देखाउँछ? यदि तपाईंको स्मृति छैन भने, तपाईं के हेर्नुहुन्छ? घडीमा चलेको सुई? यो दिन र रात ले के देखाउँछन्? के समय देखाउँछन्? परिवर्तन देखाउँछन्? ऋतुहरू (Seasons) ले के देखाउँछन्? चलेको समय वा केवल बदलाव, परिवर्तन जुन स्मृतिमा आधारित छ। के एउटा सानो बच्चाले घडी हेरेर "म समय हेरिरहेको छु" भन्छ? भन्दैन, त्यो बेचाराले त बडो रुचिपूर्वक टिक टिक गरेको सुई मात्र हेर्छ। बस। उसलाई के थाहा, समय के हो? उसलाई जे अनुभव भइरहेको छ, त्यति मात्र थाहा छ। मलाई घडीमा समय कसरी देखिन्छ, जुन सानो बच्चालाई देखिँदैन। किनभने मलाई घडी हेर्न सिकाइएको छ कि हेर्नुहोस्, यदि यी सुईहरू यसरी बदलिए भने यति समय बित्यो। त्यसरी बदलिए भने उति समय बित्यो। क्यालेन्डरमा मितिहरू बदलिए भने उति समय बित्यो। यति दिन बित्यो। यदि यो सिकाइएको भएन भने, के समयको अनुभव हुन्छ? यो जुन पट्टी पढाइएको छ, यो मतारोपण हो जुन समाजले हामीलाई दिएको छ। समाजले हामीलाई के दिन्छ? केवल अज्ञानता। हो, हुन त घडी धेरै उपयोगी छ। बाँच्नका लागि , यो जीवनका लागि, र यो समाजमा रहनका लागि समय धेरै काम आउँछ। नत्र त तपाईंको जन्मदिन कसरी मनाइन्थ्यो? मेरो पनि जन्म भएको थियो भन्ने कसरी थाहा हुन्थ्यो? सबै क्यालेन्डर र घडीहरू अदृश्य भए भने, के तपाईंको जन्म भएको थियो त? समाजले तपाईंलाई के-के सिकायो? समाजले तपाईंलाई कस्ता-कस्ता भ्रमको पट्टी पढायो र तपाईंले विश्वास गरिदिनुभयो। ध्यान राख्नुहोस्, ज्ञानको प्रमाण केवल अपरोक्ष अनुभव (प्रत्यक्ष अनुभूति), अनुमान र तर्क (Logic) हो। जुन परिवर्तनशील छ, त्यो असत्य हो, र जुन नित्य (शाश्वत) छ, त्यो सत्य हो। यो सत्यको मापदण्ड हो। समय त शुद्ध परिवर्तन हो। सत्यको यो मापदण्डले तपाईंलाई के देखाउँछ? ज्ञानको प्रमाण अनुभव हो। के समयको अनुभव हुन सक्छ? हुँदैन, अनुभव हुन सक्दैन, त्यसो भए कसरी भन्नुहुन्छ कि त्यसको अस्तित्व छ? कसरी भन्नुहुन्छ कि मेरो भूतकाल छ, यो व्यक्तिको भूतकाल छ र यो व्यक्तिको भविष्य छ, र जे घटनाहरू छन्, ती समयभित्र भएका छन्। यदि तपाईंको स्मृति खण्डित (नष्ट) भयो भने, के घटनाहरू भए तपाईंको जीवनमा? यहाँ अनुभव र अनुभवकर्ता बाहेक के छ? तपाईंको स्मृतिहरूमा के छ जो सत्य छ? यदि त्यो स्मृतिभित्र अरू नै केही हालिदियो भने, म को हुँ त? यी सबै प्रश्नहरू अध्यात्मको एक साधक का लागि अत्यन्त उपयोगी छन्। यिनले तपाईंको सत्यसँग साक्षात्कार गराउनेछन्। यिनले तपाईंको आत्मसँग साक्षात्कार गराउनेछन्। प्रश्नहरू गर्नुभएन भने अज्ञानी नै रहनुहुनेछ। जस्तो सबै छन्, तपाईं पनि त्यस्तै रहनुहुनेछ। एक सामान्य व्यक्ति अज्ञानतामा यति धेरै लीन (डुबेको) छ कि यी प्रश्नहरू उसलाई हाँसो र मजाक लाग्छन्। यदि तपाईंले कसैलाई भन्नुहुन्छ कि घडीले त समय देखाउँदैन, भने ऊ हाँस्नेछ। किनभने मतारोपण यति धेरै जमेको छ, सिमेन्ट जस्तै ठोस भएको छ कि घडीले त समय नै देखाउँछ। समय त सत्य नै हो। मेरो एक भूतकाल छ र भविष्यमा म यस्ता-यस्ता कामहरू गर्नेवाला छु। वर्तमानलाई कसैले देख्दैन। वर्तमान त ठीक छैन। यसलाई ठीक गर्नुपर्छ। वर्तमानमा धेरै कमीहरू छन्। भविष्य राम्रो हुनेछ। अहिले त्यो सबै छैन, जो पहिला थियो। भूतकाल कति राम्रो थियो। यस प्रकारको असत्यमा एक सामान्य व्यक्ति बाँचिरहेको छ। सामान्य व्यक्ति मायामा फँसेको छ, मिथ्यामा नै जन्मन्छ, मिथ्यामा नै मर्छ र मिथ्यामा नै सम्पूर्ण जीवन बिताउँछ। केही मानिसहरूमा धेरै अधिक बुद्धि हुन्छ र ती मानिसहरू त मिथ्यालाई पटक्कै देख्न सक्दैनन्। उनीहरूको बुद्धि नै उनीहरूको अज्ञानताको कारण बनिदिन्छ। बुद्धिले भन्नेछ, "यी पुराना भग्नावशेषहरू, खण्डहर हरु कहाँबाट आए? भूतकाल छैन भने यो पुरानो घर कहाँबाट आयो? यी बुढा मानिसहरू कहाँबाट आए?" म तपाईंहरूलाई एउटा उदाहरण दिन्छु। ध्यान दिएर सुन्नुस । मानिलिनुहोस्, तपाईं सपना देखिरहनुभएको छ। सपनाको लोक स्वप्नलोक मा हुनुहुन्छ। त्यहाँ तपाईंको पुरानो घर छ। छेउमै पाँच सय वर्ष पुरानो एउटा मन्दिर छ, जुन लगभग खण्डहर मा परिणत भएको छ। त्यहाँ एकजना बूढा मानिस बसेका छन्, जसले भन्छन् की "म अस्सी वर्षको भएँ" र अरु विभिन्न प्रकारका कहानी इतिहास सुनाउँछन्। "फलानो राजाले यो मन्दिर बनाएका थिए। भूतकालमा यो भएको थियो। भोलि यहाँ पूजा छ, आउनुहोला।" अब तपाईंको निद्रा खुल्छ। यो सबै दुई मिनेटभित्र भयो। पाँच सय वर्ष पुरानो भग्नावशेष पनि दुई क्षणमै निर्माण भयो। आधा क्षणमै त्यो पुजारी वृद्ध भए। एक चौथाइ क्षणमै सम्पूर्ण दिन बित्यो, नयाँ दिन आयो। यो कसरी भयो? जब तपाईं सपनामा हुनुहुन्थ्यो, तब सम्पूर्ण भूत, भविष्य, वर्तमान, समयको प्रभाव, सबै कुरा तपाईंलाई सत्य लाग्यो तर के तपाईंले एक क्षण पनि बसेर सोच्नुभयो कि यो सत्य हुन सक्छ? कहाँ थियो त्यो सम्पूर्ण समय? काल (समय) कहाँबाट उत्पन्न भयो? जान्न धेरै सजिलो छ। यो तपाईंको स्मृति हो। स्मृतिबाट यो सपनाको निर्माण गरिएको छ, जसको अनुभव यही अनुभवकर्ता लाई भएको छ। चित्तले स्मृतिबाट यो अनुभवको निर्माण गर्यो। समयको पनि निर्माण गर्यो। त्यहाँ समय बितिरहेको पनि देखियो। समय चलिरहेको देखियो। यहाँसम्म कि घडीहरू पनि चलिरहेका थिए। तर के त्यो सत्य हो? के त्यो सत्य थियो? के त्यो फेरि हुन्छ? के तपाईं सपनामा गएर त्यो भग्नावशेष, त्यसको इतिहास खोज्न सक्नुहुन्छ? यो उदाहरण बाट तपाईंलाई संदेह उत्पन्न हुनेछ कि यहाँ जे देखिन्छ, जाग्रत अवस्थामा त्यो पनि त्यो कुनै न कुनै स्मृतिबाट आइरहेको छ, त्यसको पनि एउटा अनुभवकर्ता छ, त्यो पनि कुनै चित्तबाट निर्मित भइरहेको छ। त्यहाँ पनि समयको भ्रम नै देखिन्छ। कुनै ठूलो भिन्नता छैन, जाग्रत अवस्था र स्वप्न अवस्थामा। तपाईं भन्नुहोला कि सपनाको अवस्था त समाप्त हुन्छ, म उठ्छु, जाग्छु। स्मृतिबाट निर्मित सपना देख्छु। त्यसको सत्य, त्यसको असत्य जान्दछु। तर यहाँ त, यो संसारमा त म उठ्न सक्दिनँ। यहाँ को छ जो उठ्छ? निद्राबाट को जाग्छ? को छ जो सपनाबाट जाग्छ? कुरा एकदमै सत्य हो। यदि तपाईं संसारको बन्धनमा बाँधिनुभएको छ भने, जाग्न सक्नुहुन्न, तर अनुमान भने लगाउन सक्नुहुन्छ। र हो, यसमा धेरै सत्यता हुन सक्छ कि यी अनुभवहरू एउटा स्मृतिबाट निर्मित भइरहेका छन्। यसैलाई मैले विश्व स्मृति भनेको छु। यो पनि हुन सक्छ कि सम्पूर्ण अनुभवहरू चित्तद्वारा निर्मित हुन्। जगत्का अनुभवहरू, जसलाई मैले विश्व चित्त भनेको छु। यदि तपाईंले ज्ञानमार्गको शृङ्खलामा त्यो अनुभवको बारेमा, चित्तको बारेमा जुन पनि विस्तारपूर्वक भनिएको थियो, त्यो हेर्नुभएको छ भने, तपाईंले यो निद्राबाट जाग्नका लागि आफ्ना प्रयोगहरू (अभ्यासहरू) सुरु गरिसक्नुभएको होला। हेर्नुहोस् को सुतिरहेको छ, जाग्रत अवस्थाको सपना कसले देखिरहेको छ? द्रष्टा (देख्नेवाला) को हो? यो कसको सपना हो? अभ्यास (प्रयोग) गर्नुहुन्न भने कसरी जान्नुहुन्छ? शब्दहरूले के ज्ञान दिन्छ? विश्व चित्तको स्मृति लाई कसरी जान्नुहुन्छ? धेरै प्रमाणहरू छन्, जसबाट अनुमान लगाउन सकिन्छ। हामी सबैको अनुभव एकैनासको किन छ? सबैलाई एउटै इतिहास किन देखिन्छ? सबैलाई एउटै सुकेको रुख, एउटै भग्नावशेष र एउटै वृद्ध व्यक्ति किन देखिन्छ? यदि यो मेरो सपना हो भने, यो फरक-फरक किन छैन? सबैको एउटै सपना कसरी हुन सक्छ? फेरि सपनाभित्र जानुहोस्। हेर्नुहोस् त त्यहाँ जो मानिसहरू थिए, सपनामा उनीहरूले कहिल्यै पनि हामीलाई फरक-फरक सपनाका वस्तुहरू देखिन्छन् भनेनन्। सपनामा उनीहरू सबैले यही भने कि मलाई पनि त्यही घर देखिन्छ। त्यही वृद्ध व्यक्ति देखिन्छ। त्यही पुरानो भग्नावशेष मन्दिर देखिन्छ। मिति उही छ। घडीमा उति नै बजेको छ। जब तपाईं सपनामा हुनुहुन्छ, तब ती सपनाका चरित्रहरू (Characters) तपाईंको कुरामा समर्थन गर्छन्। उनीहरूको पनि त्यही अनुभवकर्ता हो जो तपाईंको सपनाको अनुभवकर्ता हो। ध्यान राख्नुहोस्, जाग्रत अवस्थामा पनि अनुभवकर्ता एउटै हो। यो उसैको सपना हो। यो बडो विचित्र हो। धेरै विचित्र कुरा हो किनकि सामान्य व्यक्तिले यस्तो सोच्दैन। सोच्नै सक्दैन। यसका लागि केही पागलपन चाहिन्छ। यसका लागि अत्यन्तै जिज्ञासा चाहिन्छ। यसका लागि प्रश्न गर्ने कला तपाईंमा हुनुपर्छ। योग्यता हुनुपर्छ। अर्थात्, यो केवल एक साधकले मात्रै जान्न सक्छ। यदि सबैको अनुभव एकैनासको छ र स्मृतिहरूबाट आइरहेको छ भने, के हामी सबैको स्मृतिहरू आपसमा सम्बन्धित छन्? के यी स्मृतिहरू एउटै ठूलो स्मृतिका अंश (भाग) हुन्? यी प्रश्नहरूको समाधान खोजेर ल्याउनुहोस्। तपाईं साधक हुनुहुन्छ। धारणाहरूलाई त्यागिदिनुहोस्। अभ्यासमा लाग्नुहोस्। के यी प्रश्नहरूको कुनै उत्तर छन्, जुन तपाईंको सत्यको मापदण्डमा खरो (Valid) उत्रन्छन्? के तपाईंको अपरोक्ष अनुभव, अनुमान र तर्कको आधारमा तीबाट ज्ञान लिन सकिन्छ? खोजीकर्ता को काम खोज्नु हो, मान्नु होइन। समय मिथ्या हो। यति जानिसकेपछि पनि तपाईं आफ्नो अनुभवमा प्रश्न चिन्ह लगाउनुहुन्न भने, तपाईं कस्तो साधक हुनुहुन्छ? कुन स्मृतिको भाग हुन् यी सबै व्यक्तिहरूको स्मृतिहरू? के व्यक्ति स्वयं असत्य हो? के व्यक्ति स्वयं मिथ्या हो? के त्यो सब एकै स्मृति हो, जुन फरक-फरक खण्डहरूमा प्रकट भएको छ? यिनै स्मृतिहरूबाट निर्माण गरिएको सपना। हामी सबै सपनाका चरित्रहरू अनुभव गरिरहेका छौं। यो कुराको सत्यता खोज्नुहोस्। यो मान्ने कुरा होइन। यदि समय नै रहेन भने, यो इतिहासको के हुन्छ त? "भविष्यको के हुन्छ? समय छैन भने यो सबै जोड-जुगाड (तयारी) मैले भविष्यका लागि किन गरें? अनि यदि समय नै छैन, काल नै छैन, भविष्यकाल पनि छैन भने, यो विद्यालयहरूमा इतिहासको नाममा के पढाइँदैछ? यदि त्यो सपना हो, यदि त्यो मनगढन्ते हो भने, के इतिहास जान्न सकिन्छ? के किताबहरूमा लेखिएका कथाहरू नै इतिहास हुन्? यदि अपरोक्ष अनुभव नै मेरो प्रमाण हो भने, के म इतिहास जान्न सक्छु? किन म अरू कसैले लेखेका किताबहरू मा आँखा चिम्लिएर विश्वास गर्छु? किन यो बाल स्मृति मा यस्ता विचार स्थापना (मतारोपण) गरिँदैछन्? 'बाबु, तिम्रो जाति यस्तो छ, तिमीमाथि यिनीहरूले आक्रमण गरेका थिए। बाबु, यिनीहरू तिम्रा शत्रु हुन्। यो तिम्रो देश हो, यो विशाल देश हो। यहाँ यो-यो भएको थियो।' यो मिथ्यामा, यो मायाभित्र के भएको थियो, के भएको थिएन भनेर कसलाई थाहा छ? कसका साथमा यसको प्रमाण छ? इतिहास त जित्ने व्यक्तिले बनाउँछ। जसले लाखौं मानिसको रगत बगाउँछ, त्यही रगतले इतिहास लेखिन्छ। तपाईं त्यसैलाई सत्य मान्नुहुन्छ! यो कस्तो बुद्धि हो? यो कस्तो ज्ञान हो? इतिहास त अज्ञेय छ। कसैलाई थाहा छैन। किन थाहा छैन? किनभने त्यो भएकै छैन। अहिले तपाईंलाई हिजोको सपना याद होला। अस्तिसम्मको पनि थोरै-थोरै याद होला। दस वर्षअघिको सपना के तपाईंलाई याद छ? त्यो सपना कुन स्मृतिमा थन्किएको छ? त्यसको के अर्थ छ? त्यसको के महत्त्व रह्यो? अहिले जे भयो, त्यो के याद रहन्छ? र तपाईं इतिहास याद गरिरहनुभएको छ! त्यसको के महत्त्व छ? किन मानिसहरूको कुरामा लाग्नुहुन्छ? "भविष्यमा के छ? मानिसहरू ज्योतिषका किताब खोलेर बसिरहेका छन्। पहिले हेर्नुहोस् त, भविष्यको अस्तित्व छ कि छैन। मायाको ज्ञानमा किन अल्झिनुभएको छ कि यो हुन्छ र त्यो हुन्छ? जुन अहिले भइरहेको छ, त्यो त मिथ्या छ। तपाईं भविष्यको के कुरा गर्दै हुनुहुन्छ?" भविष्य पनि अज्ञेय छ। किन? म भविष्य जान्न सक्दिनँ, किनकि त्यसको अस्तित्व नै छैन। जसको अस्तित्व छैन, त्यसलाई जान्न सकिँदैन। जुन चित्तद्वारा निर्मित छ, त्यो चित्तले नै निर्मित गर्नेछ। चाहे त्यो व्यक्तिको चित्त होस्, चाहे विश्व चित्त होस्, त्यसले के निर्मित गर्छ, त्यो त्यसका संस्कारहरूमा निर्भर गर्छ। यसका बारेमा हामी आज कुरा गर्ने छैनौं। यो धेरै जटिल छ। रुखको जरा जस्तै छ। यो मायाको न आदि छ न अन्त (न ओर छ, न छोर)। हो, यो धेरै रुचिपूर्ण छ। माया त धेरै गहिरो चिज हो। कसैले त्यसलाई बुझ्दैनन्। म उसकै पासो (बन्धन) मा फँसेको छु। यो मन-शरीर उसकै पासोमा फँसेको छ। मन-शरीर त समयभित्र चल्छ। यो कालको पासो बाट मलाई मुक्ति कसरी मिल्छ? कालको नाश गरेर मात्रै मुक्ति सम्भव छ। कालको नाश कसरी हुन्छ? जान्नुहोस् कि त्यसको अस्तित्व नै छैन। जान्नुहोस् कि त्यो थियो नै होइन। जसको अस्तित्व छैन, त्यसको नाश कसरी हुन्छ? केवल ज्ञान हुन सक्छ कि त्यो छैन। ज्ञान तपाईंको अपरोक्ष अनुभव बाट मात्रै हुन सक्छ। हेर्ने प्रयास गर्नुहोस् कि त्यो समय छ कि छैन, यदि छ भने कहाँ छ? काल मभित्र छ। म कालभित्र छैन। म त अनन्त शून्य हुँ, जो निरन्तर छु। काल आउँछ-जान्छ, परिवर्तन आउँछ-जान्छ। धारणाहरू, इतिहास, भूत, भविष्य आउँछन -जान्छन जुन पानीमा उठेका तरङ्गहरू जस्तै हो। तरङ्गहरूको के अस्तित्व? पानी छैन भने के तरङ्गहरू हुन्छन्? के सत्य हो? पानी वा तरङ्गहरू? म त नित्य (शाश्वत) छु। म त त्यो जलजस्तै छु, जसमाथि अनित्य तरङ्गहरू आउँछन्, जान्छन्, सपनाको रूपमा देखिन्छन्। म त्यो अनुभवकर्ता हुँ। म त्यो हुँ, जसको न आदि छ न अन्त। यो जानिसकेपछि के तपाईं कालको बन्धनमा रहन सक्नुहुन्छ? अनि कति मुक्ति चाहिएको छ तपाईंलाई? तपाईं त सधैं मुक्त हुनुहुन्छ। यो त सपना हो। सपनालाई सत्य मान्नुभएको छ, त्यसैले बन्धन लागेको छ। तपाईं स्वयं अस्तित्व हुनुहुन्छ। कालका कारणले तपाईं सानो बन्नुभएको छ, अनित्य (नाशवान) बन्नुभएको छ, सुकेको पातजस्तै हुनुभएको छ। मायामा आसक्ति (लगाव) छ। फल त आउँछ नै। जसको न आदि छ न अन्त। जो कालभन्दा पर छ। म त्यो चैतन्य अस्तित्व हुँ। म यहाँ बिदा लिन्छु। सुन्दै रहनुहोला। बोधिवार्ता मायाको शृङ्खला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions