Wise Words
मृत्यु एक माया (नेपाली)
रोशन
मृत्यु एक माया *"यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"* मृत्यु त केवल माया हो, एउटा भ्रम हो। जन्म र मरणदुवै मिथ्या हुन्। 'मृत्यु' शब्दको उद्गम 'मृत्तिका' बाट भएको हो, जसको शाब्दिक अर्थ हुन्छमाटो। जब माटोले कुनै निश्चित आकार ग्रहण गर्छ, त्यो 'जन्म' बन्छ। र, जब त्यो आकार पुनः माटोमै विलीन हुन्छ, त्यसलाई नै हामी 'मृत्यु' भन्छौं। सारमा भन्नुपर्दा, मृत्यु माटोको रूपान्तरण सिवाय केही होइन। भौतिक पदार्थहरूको यो रचना क्षणभंगुर छ; केही पलका लागि दृष्टिगोचर हुन्छ र पुनः भौतिक पदार्थ मै बिलाएर जान्छ। यो त केवल आउने-जाने क्रमको एउटा परिवर्तन मात्र हो। अन्य सबै सांसारिक अनुभवहरू जस्तै, जन्म र मृत्यु पनि एउटा नश्वर संयोग मात्र हुन्। अब प्रश्न यो छमृत्युको यो शाश्वत सत्यलाई कसरी चिन्ने? यस अनुभवको अन्वेषण कसरी गर्ने? जन्म-मृत्युको चक्रलाई बुझ्न केही अटल नियमहरू छन्। यी नियमहरू पूर्णतः तर्कमा आधारित छन्, कुनै व्यक्तिको कपोलकल्पित रचना होइनन्। नियम स्पष्ट छ जसको जन्म हुन्छ, उसको मृत्यु अनिवार्य हो। जसको जन्म नै भएको छैन, उसको मृत्यु हुन सक्दैन। यदि कुनै वस्तु परिवर्तनशील छ भने, त्यसमा यति धेरै परिवर्तन आउनेछ कि त्यो अन्ततः नष्ट भएर जानेछ। परिवर्तनशीलताबाट नै मृत्यु निश्चित हुन्छ।। जन्म र मृत्युको यो लीलालाई देख्न, भोग्न र बुझ्नका लागि 'साक्षी' को उपस्थिति अपरिहार्य छ। द्रष्टा (साक्षी) बिनाको अनुभवको कुनै अस्तित्व हुँदैन; त्यो त केवल कोरा कल्पना वा दन्त्यकथा मात्र हुनेछ। ज्ञानमार्गको कसीबाट हेर्दासुनि-सुनाई कुरा, अन्धविश्वास र परम्परागत मान्यताहरू हाम्रा लागि अर्थहीन छन्। चाहे कुनै व्यक्तिले भनेको होस् वा कुनै धर्मग्रन्थमा लेखिएको होस्, सत्यको शोधमा ती सब निर्थक छन्। जसरी हामी कुनै पनि तथ्यको परीक्षण गर्छौं, त्यसरी नै जीवन-मृत्युको गहन अध्ययनका लागि हामीलाई केवल 'अपरोक्ष अनुभूति' र 'तर्क' को कसी नै चाहिन्छ। सर्वप्रथम त, मृत्युलाई नै यथार्थ रूपमा परिभाषित गर्नु वाञ्छनीय हुन्छ, किनकि संसार अज्ञानताको बाक्लो कुहिरोमा यसरी रुमल्लिएको छ कि मानिसलाई 'मृत्यु के हो' भन्ने सामान्य चेत समेत छैन। कसैले श्वास रोकिनुलाई अन्त्य ठान्छन्, कसैले हृदयको धड्कन बन्द हुनुलाई, त कसैले स्नायुतन्त्र निस्क्रिय हुनुलाई। तर, यदि चिकित्सा विज्ञान वा कुनै औषधीको बलमा पुनः प्राण सञ्चार गर्न सकिन्छ भने, ती अवस्थाहरू मृत्यु हुन सक्दैनन्। ती परिभाषाहरू अपूर्ण र व्यर्थ छन्। मृत्युको एकमात्र अकाट्य र पूर्ण परिभाषा होशरीरको आत्यन्तिक विनाश, सम्पूर्ण अस्तित्वको लोप। जब यो शरीर जलेर धुवाँमा परिणत हुन्छ, भस्मीभूत भएर खरानी बन्छ वा गलेर माटोमा विलीन हुन्छकेबल त्यस अवस्थालाई नै हामी 'मृत्यु' को संज्ञा दिनेछौं। यस बाहेकका अन्य कुनै पनि अनुभवहरू मृत्यु होइनन्। आखिर यो शरीर हो के त? सर्वविदितै छयो शरीर बाह्य पदार्थ बाट निर्मित छ। अन्य जीवहरूको मृत्युमा नै यस शरीरको जीवन अडिएको छ। जब हामी अन्य जीवहरूको वध गरेर आहार ग्रहण गर्छौं, तब यो शरीर पुष्ट हुन्छ। वातावरणबाट प्राप्त हुने पदार्थहरूको यो एक संग्रह मात्र हो। जैविक पदार्थहरूको एउटा थुप्रो हो यो शरीर, र यो नितान्त अस्थिर छ; यो सदैव परिवर्तनशील रहन्छ। केही समयसम्म यसको निर्माण वा संगठनको प्रक्रिया चल्छ, र बाँकी जीवन विघटनको यात्रा हो। जे कुरा संग्रहित गरिएको थियो, त्यो विस्तारै क्षत-विक्षत हुन थाल्छ। जब यसमा यति धेरै परिवर्तन आउँछ कि यो शरीर जस्तो देखिन छोड्छ, हो, त्यही अवस्थालाई हामी मृत्यु भन्छौं। यदि हामीले अघि चर्चा गरेका चार नियमहरू यस शरीरमा लागू गरेर हेर्यौं भने स्पष्ट देखिन्छशरीरको जन्म भएको छ, तसर्थ यसको मृत्यु अनिवार्य छ। शरीर निरन्तर बदलिइरहन्छ, यो परिवर्तनशील छ, त्यसैले यो नष्ट भएर जानेछ। शरीरको जन्मको पनि कोही साक्षी छ, र मृत्युको पनि साक्षी विद्यमान रहन्छ। अब विचार गरौंयदि 'म शरीर हुँ' भन्ने मान्ने हो भने, मेरो मृत्यु पनि निश्चित छ। त्यस्तो अवस्थामा मृत्यु माया वा भ्रम रहँदैन; त्यो सत्य सावित हुन्छ। किनकि जब तपाईंले 'शरीर नै म हुँ' भन्ने कुरालाई सत्य मान्नुभएको छ, तब नियमले यही भन्छ कि तपाईंको मृत्यु पनि उत्तिकै सत्य हो। एक अज्ञानीको ज्ञानको सीमा यहींसम्म हुन्छ। त्यो विचराले यही सोच्छ कि 'यो भौतिक पदार्थहरूको थुप्रो नै म हुँ; यो बदलिँदै छ, तैपनि म हुँ; यो पैदा भयो, त्यो पनि म हुँ; र यो मर्नेछ, त्यो पनि म नै हुँ।' अज्ञानीको चेतना यसभन्दा माथि उठ्न सक्दैन। हाम्रो समाजमा अधिकांश मानिसहरूको चिन्तनधारा यस्तै छ; उनीहरू यस देहभावभन्दा पर सोच्नै सक्दैनन्। तर, आफ्ना अनुभवहरूलाई गहिरिएर हेर्ने हो भने, शरीर बाहेक पनि धेरै कुराहरू अस्तित्वमा छन्। यो सम्पूर्ण जगत छ, यो मन छ, यो चित्त छ। चित्तका अनेकौं पत्रहरू छन्। र, यी बाहेक अनगिन्ती अनुभवहरू छन्, अनि ती सबैको 'अनुभवकर्ता' पनि छ। हाम्रो समग्र अनुभवको केवल १० प्रतिशत हिस्सा मात्र शरीर हो। यदि सूक्ष्म दृष्टिले हेर्ने हो भने, अज्ञानी मनुष्य बाँकी ९० प्रतिशत अनुभवहरूबारे सोच्दा पनि सोच्दैन। उसले शरीरसँग सम्बन्धित त्यो एक सानो अनुभवलाई नै 'म' मानेर बसेको छ। र, शरीरमा घटित हुने हरेक घटनाजन्म, मृत्यु, बाल्यकाल, यौवन वा वृद्धावस्थालाई उसले आफ्नै अवस्थाहरू ठान्न पुग्छ। विडम्बना, बाँकी ९० प्रतिशत अनुभवहरू त उसको चेतनाको परिधिभित्रै पर्दैनन्। तपाईंहरू सबैलाई विदितै छशरीर चित्तको एउटा पत्र मात्र हो। चित्तका २०-३० वटा विभिन्न पत्रहरूमध्ये शरीर केवल एउटा पत्र हो। यदि शरीरको पूर्ण विनाश नै मृत्यु हो भने, चित्तका बाँकी पत्रहरूको नियति के हुन्छ त? जसरी तपाईं लाइ थाहा नै छ, यो जगत पनि चित्तकै एउटा अंश हो। हामी सबैको अनुभव छ कि शरीर नष्ट भएर गए पनि यो जगत त यथावत रहन्छ। शरीरको नाश हुँदैमा जगतको नाश हुँदैन भने, यो कसरी स्वतः मान्न सकिन्छ कि शरीरसँगै चित्तका अन्य पत्रहरू पनि नष्ट हुन्छन्? के मृत्युको घटनामा केवल भौतिक शरीरको मात्र अन्त्य हुने हो त? आउनुहोस्, हाम्रा नियमहरूले के भन्छन्, हेरौं। जसरी शरीर पदार्थहरु को एक संग्रह हो, त्यसरी नै चित्तका अन्य पत्रहरू पनि संग्रह मात्र हुन्। तिनीहरूको पनि जन्म हुन्छ, त्यसैले तिनीहरूको मृत्यु पनि अनिवार्य छ। र, सम्पूर्ण पत्रहरू परिवर्तनशील भएका हुनाले, तिनको आरम्भ अवश्य थियो र अन्त्य पनि निश्चित छ। यद्यपि, चित्तको अनुभव प्रायः व्यक्तिनिष्ठ हुन्छ। शरीर नष्ट भइसकेपछि चित्तका ती सूक्ष्म पत्रहरूको के हाल भयो भनेर अरूले यकिनका साथ भन्न सक्दैनन्। बाहिरी आँखाले त केवल शरीरलाई मात्र देख्न सक्छ, जो नष्ट भएर खरानीमा परिणत भइसकेको हुन्छ। हो, तर्कको कसीमा राखेर भने हामी अवश्य केही भन्न सक्छौं। उदाहरणका लागि, शरीर जलेर खरानी भएसँगै स्नायुतन्त्र पनि नष्ट हुन्छ। जुन पत्रहरू शरीरलाई जीवित राख्न क्रियाशील थिए, अब तिनको कुनै प्रयोजन रहँदैन। ती प्राणवायुको गति र ऊर्जाका तरंगहरू पनि शरीरसँगै विलिन हुन्छन्। तर्कको आधारमा यति भन्न सकिन्छ कि यी सबै पत्रहरू ढिलो-चाँडो अवश्य नष्ट हुनेछन्, तर ठ्याक्कै कहिले नष्ट हुन्छन्, त्यो किटान गर्न कठिन छ। किनकि, हरेक पत्रको जीवन-अवधि फरक-फरक हुन्छ। तपाईंले गौर गर्नुभयो भने देख्नुहुनेछहिजोको शरीर आज उस्तै छैन, तर हिजोको 'व्यक्ति' आज पनि विद्यमान छ। अघिल्लो वर्षको व्यक्ति आज बदलिइसकेको छ, तर गत वर्षका स्मृतिहरू आज पनि ताजा छन्। दस वर्ष अघिका संस्कारहरू आज पनि जीवित छन् र दस वर्ष पछि पनि रहिरहनेछन्। पचास वर्ष अघिको स्मृति आज पनि छ र सम्भवतः अर्को पचास वर्षसम्म पनि रहला। यसबाट हामी एउटा नियम प्रतिपादन गर्न सक्छौंवस्तु जति 'स्थूल' हुन्छ, त्यति नै तीव्र गतिमा बदलिन्छ र त्यसको नाश पनि उत्तिकै छिटो हुन्छ। यसै सिद्धान्तबाट हामी बुझ्न सक्छौं कि चित्तका सूक्ष्म पत्रहरूको गति कस्तो हुन्छ, तिनको बदलावको स्वरूप कस्तो हुन्छ र परिवर्तनको दर के हुन्छ। यस क्रममा शरीर सबैभन्दा पहिले नष्ट हुन्छ। त्यसपछि क्रमशः अन्य सूक्ष्म पत्रहरू नष्ट हुँदै जान्छन् र अन्ततः 'कारण शरीर' को नाश हुन्छ। यद्यपि यसलाई कसैले प्रत्यक्ष देखेको त छैन, तर मानिन्छ कि कारण शरीर हजारौं वर्षसम्म रहन सक्छ। तथापि, सत्य के हो भनेअन्ततोगत्वा त्यसको पनि नाश अनिवार्य छ। आफ्नो अनुभवका आधारमा तपाईं अर्को एउटा नियम पनि बनाउन सक्नुहुन्छस्थूल पत्रहरूमा यति व्यापक परिवर्तन आउँछ कि तिनको पहिचान नै असम्भव हुन जान्छ। जब हामी कुनै वस्तुलाई देखेर 'यो के हो' भनेर चिन्नै नसक्ने अवस्थामा पुग्छौं, त्यही पूर्ण रूपान्तरणको स्थितिलाई हामी 'मृत्यु' भन्छौं वा 'नष्ट भयो' भनेर मानिलिन्छौं। जसरी-जसरी हामी चित्तका सूक्ष्म पत्रहरूतर्फ अग्रसर हुन्छौं, हामी पाउँछौं कि ती पत्रहरू बढी स्थायी प्रतीत हुन्छन्। तिनमा परिवर्तन त भइरहेको हुन्छ, तर त्यसलाई ठम्याउन कठिन हुँदैन। सूक्ष्म पत्रहरूमा हुने परिवर्तन पनि सूक्ष्म नै हुन्छन्। यदि परिवर्तन तीव्र गतिमा भइरहेका छन् भने पनि, तिनमा एक प्रकारको स्थायित्व झल्किन्छ। यसबाट हामी अनुमान लगाउन सक्छौं कि सूक्ष्म पत्रहरूको मृत्यु 'विनाश' नभएर केवल 'रूपान्तरण' जस्तो मात्र लाग्नेछ। हामी जति-जति स्थूलबाट सूक्ष्मतिर बढ्दै जान्छौं, त्यसको जीवनकाल उत्ति नै लामो हुनेछ र त्यसको मृत्यु पूर्ण विनाश नभई एउटा परिवर्तन मात्र प्रतित हुनेछ। तर्क र अनुभवको कसीमा राखेर हामी यति कुरा जान्न सक्छौं। यसभन्दा पर यदि तपाईं केही भन्न चाहनुहुन्छ भने, त्यो केवल कोरा कल्पना, अन्धविश्वास वा कुनै प्रकारको परम्परागत मान्यता मात्र हुनेछ। यद्यपि मृत्युका पनि अनेकौं प्रकार हुन्छन्। तर आम जनमानसले जुन मृत्युलाई बुझेको छ, त्यो केवल शरीरको नाश हो; त्यसैले यसलाई त्यसरी नै परिभाषित गरिएको छ। चाहे शरीर होस्, चाहे अन्य स्थूल पत्रहरू हुन् वा सूक्ष्म पत्रहरूती सबै विभिन्न प्रकारका अनुभवहरू हुन्, अर्थात् 'वस्तु' हुन्। र, जसरी हामीले अघिल्ला खण्डहरूमा चर्चा गर्यौंवस्तुहरू त मिथ्या हुन्, भ्रम हुन्। यी देखिने वस्तुहरूको पछाडि त 'नाद-रचना' हरू विद्यमान छन्, जो केवल तरंगहरू हुन् र यो अस्तित्वमा निरन्तर परिवर्तित भइरहन्छन्। यदि नाद-रचनाको दृष्टिकोणबाट हेर्ने हो भने, यहाँ केवल परिवर्तन छ; न जन्म छ, न मृत्यु। यस दृष्टिकोणले हेर्दा शरीर पनि एक प्रकारको 'व्यवस्थित नाद' थियो, जो कालान्तरमा 'अव्यवस्थित नाद' मा परिणत भयो। समग्र अस्तित्वको नजरबाट न त कुनै जन्म भयो, न मृत्यु नै; भयो त केवल रूपान्तरण। त्यसोभए यो परिवर्तन हामीलाई जन्म र मृत्युको रूपमा किन देखिन्छ त? यही नै मनुष्यको अज्ञानता हो, किनकि ऊ यसभन्दा पर न केही जान्दछ, न देख्न सक्छ। जे आँखाले देख्छ, उसले त्यसैलाई परम सत्य मानिलिन्छ। जसरी हामीले अघिल्लो भागमा बुझ्यौं, 'व्यक्ति' पनि एक भ्रम हो। व्यक्ति त झन् 'दुगुनी माया' हो; एउटा झुटमाथि अर्को झुटको लेप हो। आखिर व्यक्ति हो के त? यो केवल मान्यताहरूको एउटा स्थायी संग्रह हो। 'म यो हुँ, म त्यो हुँ, मेरो नाम यो हो, मेरा सम्बन्धहरू यी हुन्, मेरो पेसा यो हो, मेरो जाति त्यो हो, वा मेरो राष्ट्रियता यो हो'मन र स्मृतिमा सञ्चित यस्तै मान्यताहरूको संग्रहलाई नै हामी 'व्यक्ति' भन्दछौं। यदि म आफूलाई त्यो 'व्यक्ति' मान्छु भने त म पहिले नै मरिसकेको छु, किनकि वास्तविक अर्थमा त मेरो कुनै स्वतन्त्र अस्तित्व नै छैन। र, यदि तपाईं त्यस 'व्यक्ति' लाई सत्य मान्नुहुन्छ भने, तपाईंको लागि मृत्यु पनि सत्य नै हो। तर वास्तविकता यो हो कि त्यो 'व्यक्ति' त पहिल्यै मरिसकेको छ (वा भनौं, उसको अस्तित्व नै छैन)। न उसको कुनै जन्मदिन थियो, न कुनै मरण-दिन नै हुनेछ। किनकि 'व्यक्ति' को जुड़ाव शरीरसँग हुन्छ, उसलाई शरीरसँग गाँसिएको हुन्छ; त्यसैले जब शरीर नष्ट हुन्छ, तब मानिन्छ कि व्यक्ति पनि नष्ट भयो। तर, कसैले गहिरिएर हेर्दैन कि त्यो 'व्यक्ति' त पहिलेदेखि नै थिएन। जो अस्तित्वमै थिएन, त्यो कसरी नष्ट हुन सक्छ? जो छँदै छैन, उसको मृत्यु कसरी सम्भव छ? हो, 'मान्यता' हरूको मृत्यु हुन सक्छ, जुन शरीरसँगै बिलाएर जान्छन्। र, मान्यताहरूको जन्म पनि हुन सक्छ, जुन शरीरको जन्मसँगै आउँछन्। आखिर यो चित्त के हो? यो मन के हो? यो त केवल स्मृतिहरूको अस्थायी संग्रह मात्र हो। थरी-थरीका अनुभवहरूले स्मृतिमा छाप छोडिरहेका हुन्छन् र यो चित्त तिनै स्मृतिहरू मिलेर बनेको हुन्छ। स्मृतिहरू पनि 'नाद' नै हुन्, र तिनैमध्येको एउटा नादले भन्छ'यो म हुँ'। 'चित्त नै म हुँ' भन्ने भाव स्मृतिमा उब्जिएको एउटा विचार मात्र हो। कतिपयले भन्लान्'यो मेरो चित्त हो।' यो पनि एउटा विचार मात्र हो। जसरी मानिसहरू 'यी वस्तुहरू मेरा हुन्, यो शरीर मेरो हो' भन्छन्, त्यसरी नै अज्ञानीहरू दाबी गर्छन् कि 'यी भावनाहरू मेरा हुन्, यो बुद्धि मेरो हो, यी स्मृतिहरू मेरा हुन्।' वास्तविकतामा, 'म' र 'मेरो' भन्नु केवल मान्यताहरू हुन्। र, यसैकारण जब 'मेरो शरीर' नष्ट हुन्छ, तब त्यो व्यक्तिले मनमा एउटा मनगढन्ते कल्पना बनाउँछ कि अब 'चित्त' पनि नष्ट हुनेछ। किनकि उसलाई लाग्छ'यो मेरो हो; म नै नरहेपछि चित्त कहाँ रहला र?' उसलाई चित्तका पत्रहरूको कुनै ज्ञान हुँदैन। उसलाई त केवल यति थाहा छ कि जसरी अन्य भौतिक वस्तुहरू मेरा हुन्, त्यसरी नै यो चित्त पनि मेरो हो, यी स्मृतिहरू पनि मेरा हुन्। यहाँ ध्यान दिनुपर्ने कुरा के छ भनेचित्तको अनुभव भइरहेको छ, स्मृतिहरूको अनुभव भइरहेको छ, र 'यो मेरो हो' भन्ने विचारको पनि अनुभव भइरहेको छ। तर यी अनुभवहरूको कोही 'मालिक' छैन। यी अनुभवहरूमाथि कसैको नियन्त्रण छैन। यी आउँछन्, जान्छन्; जन्मन्छन्, मर्छन् र बदलिन्छन्। यो सब स्वतः भइरहेको छ। यहाँ कोही 'कर्ता' छैन। 'कर्ता-भाव' पनि मिथ्या हो। कोही भन्लान्'यी संस्कारहरू मेरा हुन्, यो कारण-शरीर मेरो हो।' यो संस्कारले बनेको शरीर हो, शुद्ध स्मृति हो। त्यो कुरा सत्य हो, तर ती 'मेरा' होइनन्। यी संस्कारहरू पनि मेरा होइनन्। यही नै 'तादात्म्य' हो, यही नै आसक्ति होयी आउने-जाने अनुभवहरूप्रति। हो, ती संस्कारहरू पनि मेटिनेछन् र तब तपाईंको मृत्यु निश्चित छ। किनकि जुन कुरा परिवर्तनशील छ, यदि त्यससँग तपाईंको तादात्म्य भयो, त्यससँग आत्मीयता गाँसियो भने, मृत्यु सत्य बनिदिन्छ। मृत्यु निश्चित हुन्छ, किनकि जसलाई तपाईंले 'म' वा 'मेरो' मान्नुभयो, त्यो त बदलिने वाला छ, त्यो त नष्ट हुने वाला छ। त्यो जतिसुकै सूक्ष्म रूपमा बदलिए पनि, आखिर नष्ट त भइरहेकै छ। हरेक क्षण नयाँ संस्कारहरू बन्दैछन्। हरेक क्षण पुराना संस्कारहरू मर्दैछन्। त्यसोभए, म कुन संस्कार हुँ त? यहाँ त हजारौं संस्कार छन्। के कसैले भन्न सक्छ कि 'म हजार हुँ, एक होइन'? मानिसहरू त यही दाबी गर्छन् कि 'म त केवल एक हुँ'। त्यसो हो भने कृपया बताउने कष्ट गर्नुहोस्यीमध्ये कुन वस्तु तपाईं हो? संस्कार हो कि, स्मृति हो कि, चित्त हो कि, मन हो कि, भावनाहरू हुन् कि, शरीर हो कि, प्राणवायु हो कि, स्नायुतन्त्र हो? र, यी निरन्तर मरिरहेका, बिलाइरहेका अनुभवहरूको भीडमा तपाईंको मृत्यु कहिले भयो? कहिले हुनेवाला छ? अनि तपाईंको जन्म कहिले भयो? यो यथार्थ देखिसकेपछि, एक बुद्धिमान व्यक्ति गहिरो सोचमा पर्नेछ। उसले आफ्ना कल्पना, मान्यता र अवधारणाहरूमाथि प्रश्नचिन्ह खडा गर्नेछ। किनकि 'म फलानो-फलानो हुँ' भन्ने जुन धारणा छ, त्यो त समाजले तपाईंमाथि लादेको हो। यो विचार बाहिरबाट आएको हो; यो तपाईंको आफ्नो ज्ञान होइन। यो त तपाईंले बिना सोच-विचार स्वीकार गर्नुभएको हो। र, जब अरू अनाडी (अज्ञानी) मानिसहरू भन्छन्'हेर, जसरी अरू सबै मरे, अब तिमी पनि मर्नेछौ'तपाईं त्यो कुरा पनि मानिदिनुहुन्छ। बिना सोच-विचार, आफ्नै अनुभवहरूमाथि एक नजर समेत नघुमाईकन। 'यो जनमानसले जे भनिरहेको छ, त्यसमा अलिकति पनि सत्यता छ कि छैन' भनेर जाँच्नुभन्दा पहिले नै तपाईं स्वीकार गरिहाल्नुहुन्छ। यदि म यो उतार-चढावयुक्त चित्त हुँ भने, पछिल्लो क्षणको चित्त त यो क्षणमा मरिसकेको छ। अब तपाईं कुनचाहिँ मृत्युको प्रतीक्षा गरिरहनुभएको छ? त्यस मरिसकेको चित्तको दाहसंस्कार किन गर्नुहुन्न? बीचरा कति पटक मरिसक्यो, तर तपाईं अझै 'मेरो हो, मेरो हो' भन्दै हुनुहुन्छ! त्यो के हो, जो यी आउँदै-जाँदै गरेका अनुभवहरूको साक्षी बनेर बसिरहेको छ? कहिलेकाहीँ त्यो अनुभवकर्तातिर पनि हेरिदिनुहोस् न! जो 'द्रष्टा' हो, ऊमाथि पनि एक दृष्टि लगाउनुहोस्। के हो त्यो? कहाँ छ? मलाई त देखिँदै देखिँदैन! कसरी देखियोस् त? त्यो त 'त्यो' हो, जसले देख्छ। त्यो परम शून्य हो। तपाईंलाई त संग्रहहरूलाई हेर्ने बानी परेको छ। हो, हेर्नुहोस्शरीर सत्य लाग्छ, किनकि यो एक संग्रह हो। चित्त, स्मृति, संस्कारसबै सत्य लाग्छन्, किनकि ती देखिन्छन्, संग्रह भएका छन्, केही जम्मा भएको छ। तर, यो देखिँदैन कि त्यो निरन्तर बदलिँदैछ, नष्ट हुँदैछ। चित्तले त्यसको स्थायीकरण गरिदिएको छ। त्यसमा 'कर्ता-भाव' मिसिएको छ। त्यसैले, यही मायाको पर्दाका कारण मनुष्य अन्धो भएको छ। यी पर्दाहरू बुद्धिमाथि लागेका पर्दा हुन्। जो 'संग्रह' होइन, त्यो दृष्टिगोचर हुँदैन; त्यो त शून्यता हो। अनुभवकर्ता नै ती सम्पूर्ण संग्रह-प्रक्रियाहरूको साक्षी हो। तपाईंको वरपर जति पनि थरी-थरीका संग्रहहरू भइरहेका छन्, तिनको साक्षी स्वयं अनुभवकर्ता हो। यथार्थमा भन्ने हो भने, त्यो अनुभवकर्ता नै 'म' हुँ। वा यति मात्र भन्नु उचित होला कियहाँ केवल 'अनुभवकर्ता' छ, बाँकी सम्पूर्ण अनुभवहरू मिथ्या हुन्। यी अनुभवहरूमा जन्मको अनुभव छ, मृत्युको अनुभव छ, र आउने-जाने हरेक गतिशील वस्तुको अनुभव छ। तर, यीमध्ये कुनै पनि 'म' होइन। यदि यी बदलिँदा अनुभवहरूमध्ये कुनै एक अनुभव पनि 'म' हुँ भने, मेरो मृत्यु निश्चित छ। नियमले यही भन्छ, किनकि चाहे त्यो शरीर होस्, चाहे मन होस् वा अन्य कुनै कुराती सबै परिवर्तनशील छन्। एक दिन तिनमा यति ठूलो परिवर्तन आउनेछ कि तिनलाई ठम्याउनै सकिने छैन। चाहे चाँडो होस् वा ढिलो, (यस अवस्थामा) मृत्यु अवश्यम्भावी छ। मृत्यु भनेको 'अनुभव' को मृत्यु हो। जो गतिमा छ, उसैको मृत्यु हुने हो। तर अनुभवकर्ता गतिहीन छ; त्यसमा कुनै परिवर्तन हुँदैन। आखिर शून्यतामा के नै परिवर्तन हुन सक्छ र? स्वयं 'दृष्टि' मा के परिवर्तन आउला र? दृश्य परिवर्तित हुन्छ। चित्रहरू बदलिन्छन्, तर पर्दा कहिल्यै बदलिँदैन। अनुभवकर्ता हरेक परिवर्तनको 'द्रष्टा' भएको हुनाले ऊ जन्म र मृत्युभन्दा पर (माथि) छ। न उसको जन्म हुन्छ, न त ऊ कहिल्यै मर्छ। यो कुरा कसरी जान्न सकिन्छ त? हुन सक्छ, अनुभवकर्ताको पनि जन्म भएको थियो होला; वा हुन सक्छ, उसको पनि मृत्यु होला। आउनुहोस्, फेरि तिनै नियमहरू, तिनै चार नियमहरूमाथि दृष्टि लगाऔं। यदि अनुभवकर्ताको जन्म भएको मान्ने हो भने, त्यसलाई देख्ने (साक्षी) पनि कोही हुनुपर्छ। उसको जन्म भइरहेको क्षणलाई देख्ने कोही त चाहियो। तर, अनुभवकर्ता त एक मात्र छ, द्रष्टा त एउटै हुन्छ। तसर्थ, यदि त्यही अनुभवकर्ताले 'आफ्नै जन्म' देखेको हो भने, यसको अर्थ यो लाग्छ कि अनुभवकर्ता त (जन्म हुनुभन्दा) पहिले नै विद्यमान थियो। अर्थात्, अनुभवकर्ताले नै स्वयंलाई जन्म लिँदै गरेको देखिरहेको थियोर यो कुरा पूर्ण रूपमा तर्कहीन छ, सर्वथा अर्थहीन छ। ठीक यसरी नै, यदि अनुभवकर्ताको मृत्यु हुन्छ भने त्यसको पनि साक्षी हुनुपर्छ, र साक्षी त स्वयं अनुभवकर्ता नै हो। यहाँ एउटै अनुभवकर्ता छ, एउटै द्रष्टा छ, केवल उसले मात्र देख्न सक्छ। र, यदि उसले 'स्वयंको मृत्यु' देखिरहेको छ भने, यसको सोझो अर्थ होउसको मृत्यु भएको छैन (किनकि ऊ त अझै देख्दैछ)। उसले त केवल कुनै बदलिँदो अनुभवलाई हेरिरहेको छ। तसर्थ, तर्कको कसीमा हेर्दा अनुभवकर्ताको जन्म, मृत्यु वा परिवर्तन हुनु सर्वथा असम्भव छ। यदि अनुभवकर्तामा कुनै परिवर्तन हुन्थ्यो भने, त्यो 'अनुभव' को रूपमा देखिने थियो, 'अनुभवकर्ता' को रूपमा होइन। यो तपाईंकै प्रत्यक्ष अनुभव हो। जब-जब कुनै परिवर्तन देखिन्छ, त्यो एउटा अनुभवको रूपमा प्रकट हुन्छ। त्यो परिवर्तन आउँछ र जान्छ; त्यो अनुभव उदाउँछ र अस्ताउँछ। तर अनुभवकर्ता उस्तैको उस्तै रहन्छ, जसरी शून्य आकाश। त्यहाँ बादल आउँछन् र जान्छन्, बिजुली चम्किएर बिलाउँछ। तर आकाश जस्ताको तस्तै रहन्छ। त्यसमा कुनै परिवर्तन हुँदैन, किनकि त्यहाँ परिवर्तन हुनका लागि केही 'वस्तु' नै छैन। त्यहाँ केही संग्रह नै भएको छैन। अनुभवकर्ता शुद्ध छ। त्यहाँ न जन्मिनका लागि केही छ, न त मर्नका लागि नै। यो अनुभवकर्ताको गुण नै हो कि ऊ 'निर्गुण' छ। गुणहरूमा पो परिवर्तन हुन सक्छ त, तर निर्गुणमा के परिवर्तन होला र? के यो सत्य होइन? के यो तपाईंको आफ्नै अनुभूति होइन? के यो तार्किक छैन? के तपाईंले कहिल्यै बसेर सोच्नुभएको छ? के यो जीवनमा दुई पल पनि बिताउनुभएको छआखिर 'म के हुँ? मेरो स्वरूप के हो?' भनेर जान्नका लागि? यो समाजको भेडा-चाल, जुन बुद्धिहीन मानिसहरूले भन्छन्, त्यसैलाई तपाईंले सत्य मानिदिनुभयो; जुन कुरा ज्ञानीजनहरूले हजारौं वर्षदेखि भन्दै आएका छन् , त्यसमा तपाईंले दुई पल पनि विचार गर्नुभएन। तपाईं केवल भागिरहनुभएको छ, डराउँदै बाँचिरहनुभएको छकि 'केही गरिहालौं, अझै केही संग्रह गरिहालौं, अझै खाइहालौं र थुपारिहालौं। थाहा छैन कहिले मरिन्छ!' वास्तवमा, यही थुप्रिने प्रक्रिया को नाम नै त मृत्यु हो। के जम्मा गर्दै हुनुहुन्छ? जे जम्मा हुन्छ, त्यो त एकदिन छरीने नै छ। यो त प्रकृतिको नियम नै हो। यही संग्रहवृत्ति मा व्यक्तिले सुख खोजिरहेको हुन्छ। तर कसरी मिल्ला सुख? जो पहिल्यै मृत छ, त्यहाँबाट मिल्ने सुख पनि त 'मृत' नै हुनेछ। यो मरेको व्यक्ति, मरेको सुख खोज्दैछयस मरेको शरीरमा! कति विचित्र कुरा छ। यही त माया हो। यही मायाको खेल हो। जो असत्य छ, त्यसलाई मायाले सत्य बनाएर देखाइदिन्छ; र जो सत्य छ, त्यसलाई तपाईंको सामु आउनै दिँदैन। किन आत्मसाक्षात्कार भएन त? मनमा थरी-थरीका फोहोर भरिएको छ; जब फोहोरसँगै साक्षात्कार भएर बस्नुभएको छ भने आत्मसाक्षात्कार कसरी हुन्छ? 'म के हुँ? मेरो स्वरूप के हो?' जब यो जान्नुहुनेछ, तब पाउनुहुनेछ कि 'म सम्पूर्ण अस्तित्व हुँ'। के सम्पूर्ण अस्तित्वको जन्म भयो र? के त्यो मर्न सक्छ? 'जो छ', के त्यो 'छैन' मा बदलिन सक्छ? जो पहिलेदेखि नै शून्य छ, के त्यो फेरि शून्य हुन सक्छ? शून्यमा गुञ्जिरहेको जो 'नाद' छ, के त्यो स्थायी हुन सक्छ? के त्यो परिवर्तन जड हुन सक्छ? अस्तित्व सधैं रहन्छ। जो निर्गुण छ, त्यो सधैं रहन्छ। अस्तित्वले नै यो अनुभव गरिरहेको छ। म नै अस्तित्व हुँ। यो आत्मा नै ब्रह्म हो। यहाँ न द्रष्टा छ, न दृश्य। यहाँ त मात्र 'दृष्टि' छ, जो अस्तित्वको दृष्टि हो। यस निराकार अस्तित्वको दृष्टिमा आकारहरू अनुभवको रूपमा उदाउँछन् र अस्ताउँछन्। यिनैलाई तपाईंले जन्म र मृत्यु मानिदिनुभएको छ। जो निराकार छ, त्यसका बारेमा मानिस पूर्णतः अज्ञानमा छ। त्यसैले एउटा अज्ञानी व्यक्ति जन्म र मृत्युको चक्करमा फस्िरहन्छ। न उसको जन्मबाट मुक्ति हुनेछ, न त मृत्युबाट। यी स्मृतिहरू हजारौं-लाखौं वर्षसम्म यसरी नै उब्जिँदै र मासिँदै रहनेछन्। जबसम्म 'म यी उदाउने र अस्ताउने अनुभवहरूमध्येकै एउटा अनुभव हुँ' भन्ने अज्ञान रहन्छ, तबसम्म जन्म र मृत्युबाट मुक्ति सम्भव छैन। त्यसैले, यता हेर्नुहोस्अनुभवकर्ता तर्फ। ऊ पहिलेदेखि नै मुक्त छ। म त्यो अस्तित्व हुँ जो जन्म-मरण भन्दा पर छ। म त्यो चैतन्य हुँ जो अमर छ। यहीँनेर म बिदा माग्छु। सुन्दै गर्नुहोलाबोधिवार्ता, मायाको श्रृंखला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions