Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - २ : शरीरशुद्धि (नेपाली )
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** 'बोधि वार्ता'मा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यो 'अंतर्शुद्धि'को शृङ्खला हो। आज हामी शरीरको शुद्धि अर्थात् शारीरिक शुद्धिका विषयमा चर्चा गर्नेछौँ। जति-जति हामी अघि बढ्दै जान्छौँ, यहाँहरूले एउटा तथ्य पाउनुहुनेछ कि यी समस्त शुद्धि र अशुद्धिहरू आपसमा अन्तरसम्बन्धित छन् र एक-अर्कामाथि परस्पर निर्भर छन्। एक प्रकारको शुद्धि वा अशुद्धि अर्कोमा समाहित छ। यिनीहरूका बीचमा कुनै त्यस्तो स्पष्ट सीमा वा अभेद्य पर्खाल छैन। यिनीहरूका बीचमा कुनै यस्तो सीमा रेखा खिच्न सकिँदैन कि बाह्य शुद्धि यहाँ समाप्त हुन्छ र शारीरिक शुद्धि यहाँबाट आरम्भ हुन्छ; अनि शारीरिक शुद्धि यहाँ टुङ्गिन्छ र मानसिक शुद्धि यहाँबाट सुरु हुन्छ। वास्तवमा, यी समस्त शुद्धि र अशुद्धिहरू एउटा निरन्तर प्रवाह हुन्। यी कुनै भिन्न-भिन्न वस्तुहरू होइनन्। हामीलाई बुझ्न र साधना गर्न सहज होस् भन्ने उद्देश्यले मात्र यी विविध प्रकारहरू वर्गीकरण गरिएका हुन्। यहाँले देख्नुहुनेछ कि हाम्रो शरीर यो विशाल वातावरणकै एउटा अविभाज्य अंश हो। यदि शरीर अशुद्ध छ भने वातावरण स्वतः अशुद्ध बन्न पुग्दछ र यदि वातावरण नै प्रदूषित वा अशुद्ध छ भने त्यसको प्रत्यक्ष नकारात्मक प्रभाव शरीरमा पर्दछ। यदि शरीर स्वस्थ छैन, अशुद्ध छ वा रोगग्रस्त छ भने त्यसको सीधा प्रभाव हाम्रो मन वा चित्तमा प्रतिविम्बित हुन्छ। त्यसैगरी, यदि मन नै प्रशन्न र शुद्ध छैन भने त्यसले शरीर र वातावरण दुवैलाई प्रभावित तुल्याउँछ। जब म यिनीहरू आपसमा समाहित र अन्तरनिर्भर छन् भन्छु, मेरो तात्पर्य यही अविभाज्य सम्बन्ध हो। एक प्रकारको शुद्धि वा अशुद्धि अर्कोसँग निकै प्रगाढ रूपमा सम्बन्धित छ। अब तपाईँ जहाँसुकैबाट आरम्भ गर्नुहोस्, यसको शुभ प्रभाव तपाईँको जीवनको प्रत्येक आयाममा प्रतिविम्बित हुन थाल्छ। शुद्धिकरणको अनुष्ठान कहाँबाट सुरु भयो भन्ने कुराले खासै महत्व राख्दैन। यदि तपाईँले बाह्य वातावरण, वासस्थान र परिवेशको परिशोधन आरम्भ गरिसक्नुभएको छ भने, अब यो शरीरको शुद्धितर्फ लाग्ने समय हो। धेरै मानिसहरू वातावरणको शुद्धिसँग पूर्णतः सहमत नहुन सक्छन्; उनीहरू भन्लान् "वातावरणसँग मेरो के सरोकार? त्यो त 'म' होइन, तर यो शरीर त 'म' नै हुँ।" त्यसैले शरीरको शुद्धिबाट केही ठोस लाभ हुन सक्छ भन्ने कुरामा उनीहरू सहमत देखिन्छन्। अतः जसलाई अझै आत्मज्ञान भएको छैन, अद्वैत वा एकत्वको बोध भएको छैन र जसलाई अझै पनि "बाहिरको संसार अर्कै हो र यो शरीर मात्र म हुँ" भन्ने द्वैत भाव लाग्दछ यस्तो अज्ञान बाँकी रहेकाहरू शरीरको शुद्धि अनिवार्य छ भन्ने कुरामा त सहमत हुनेछन्। तर अलिकति सुक्ष्म दृष्टिले हेर्नुभयो भने पाउनुहुनेछ कि शरीरलाई जतिसुकै परिशोधन वा स्वस्थ बनाए तापनि यदि वातावरण नै अपवित्र छ र मानसिक शान्ति छैन भने, यो शरीर पुनः व्याधिग्रस्त र अशुद्ध बन्दछ। यो शरीर सड्न, गल्न र मृत्युको मुखमा पर्न थाल्दछ। यो शरीर आफैँमा एउटा स्वावलम्बी वा आत्मनिर्भर एकाइ हो र यसलाई बाह्य वस्तुहरूको आवश्यकता पर्दैन भन्ने नसोच्नुहोला, त्यो ठूलो भूल हुनेछ। वास्तवमा, पहिलो भूल त शरीरलाई नै 'म' ठान्नु हो। शरीर त तपाईँको एउटा अनुभूति मात्र हो, जुन उदय हुन्छ र अन्ततः विलय हुन्छ। यो पनि बाह्य अनुभव समान नै हो र यो पूर्णतः वातावरणमा नै आश्रित छ। तपाईँ जे आहार ग्रहण गर्नुहुन्छ, जल पिउनुहुन्छ वा श्वास फेर्नुहुन्छ, ती सबै कहाँबाट प्राप्त हुन्छन्? शरीरले त ती वस्तुहरू स्वयं उत्पन्न गर्दैन। ती सबै बाह्य जगतबाटै प्राप्त हुन्छन्। त्यसैगरी, शरीरका विभिन्न द्वारहरूबाट जे-जति वस्तुहरू उत्सर्जित वा विसर्जित हुन्छन्, ती अन्ततः पुनः वातावरणमै समाहित हुन पुग्दछन्। म यो शरीर होइन। शरीर त यो विराट वातावरणकै एउटा अविभाज्य अंश मात्र हो। त्यसैले, वातावरणको परिशोधन त्यति नै अनिवार्य छ, जति शरीरको शुद्धि; अन्यथा शरीरको पूर्ण शुद्धि सम्भव हुँदैन। यही कारणले गर्दा हामीले हाम्रो संवादको थालनी वातावरणको शुद्धिबाट गरेका थियौँ। शरीरको शुद्धिका दुई विशिष्ट पक्ष वा आयामहरू छन्, किनकि हामीलाई यसको अनुभूति दुई भिन्न स्वरूपमा हुने गर्दछ। एउटा त्यो शरीर, जो वातावरणको एउटा वस्तु जस्तै दृश्यमान छ अर्थात् बाह्य शरीर। र अर्को त्यो शरीर, जो आन्तरिक छ र करिब करिब मानसिक स्वरूपको छ, जसलाई हामीले भित्रैबाट मात्र अनुभव गर्न सक्छौँ। बाह्य शुद्धि भन्नाले यो स्थूल शरीर, जो बाहिरबाट देखिन्छ, त्यसलाई स्वच्छ, निर्मल र पवित्र राख्नु हो। अब प्रश्न उठ्न सक्छ बाहिरबाट त शरीर राम्रै देखिन्छ, फेरि यसको शुद्धि किन आवश्यक छ? यदि मानिसहरूले आफ्नो शरीरलाई वास्तविक अर्थमा स्वच्छ र निर्मल राख्ने कला जान्दथे भने, उनीहरू कहिल्यै पनि व्याधिग्रस्त हुने थिएनन्। उनीहरूको शारीरिक बनोट कहिल्यै बिग्रने थिएन। न त उनीहरूको शरीर निर्बल र कुरूप हुन्थ्यो, न त मोटोपना र विद्रूपताले नै उनीहरूलाई गाँज्ने थियो; न त उनीहरूले कुनै भयानक रोग वा कष्टकर मृत्यु नै भोग्नुपर्ने थियो। कटु सत्य त यो हो कि धेरै मानिसहरूलाई आफ्नो शरीरको समुचित व्यवस्थापन र परिरक्षण कसरी गर्ने भन्ने बोध नै छैन, किनकि समाजमा यस्तो विषय कहिल्यै सिकाइँदैन। जब शरीरमा कुनै ठूलो विकार वा रोग उत्पन्न हुन्छ, तब मात्र मानिसहरूको ध्यान शरीरतर्फ जान्छ, अन्यथा उनीहरू उदासीन रहन्छन्। मानिसहरू विभिन्न प्रकारका औषधि, चक्की वा सुई लिएर शरीरलाई स्वस्थ राख्न चाहन्छन्, तर शरीरको वास्तविक शुद्धि त शौच क्रिया र स्नानबाट आरम्भ हुन्छ। यो तथ्यलाई सदैव स्मरण राख्नुहोस् कि शरीर बाह्य वातावरणकै एउटा अंश हो। परिवेश जति प्रदूषित हुन्छ, शरीर पनि त्यति नै मलिन बन्दछ। यदि तपाईं दूषित वातावरणमा रहनुहुन्छ भने शरीर पनि स्वतः दूषित हुन्छ; र यदि शरीर दूषित छ भने यसले बाह्य वातावरणलाई पनि प्रदूषित तुल्याउँछ। शरीरबाट दुर्गन्ध आउन थाल्छ र यसबाट विसर्जित हुने मलमूत्रले समग्र परिवेशलाई नै अशुद्ध बनाउँछ। जति धेरै जनसङ्ख्या हुन्छ, त्यति नै अधिक मलिनता व्याप्त हुन्छ। किन? किनकि मानिसका शरीरहरू नै अशुद्ध छन् र तिनले नै फोहोरको मात्रा बढाइरहेका हुन्छन्। यो तपाईंको आफ्नै अनुभव होला कि शहर जति विशाल हुन्छ, त्यहाँ त्यति नै धेरै भिडभाड हुन्छ। त्यो भिडमा एक निर्मल व्यक्ति जो अंतर्शुद्धिको मार्गमा छ वा एक आध्यात्मिक साधक छ पाँच मिनेट पनि टिक्न सक्दैन। सार्वजनीक यातायातमा हुने जुन भिडभाड र ठेलाठेल हुन्छ, त्यसलाई एक आध्यात्मिक व्यक्तिले सहन गर्न सक्दैन। यस्ता साधकहरू अरूको शारीरिक स्पर्शसमेत रुचाउँदैनन्। यो अन्य मानिसप्रतिको घृणा वा हेंलाको कारणले होइन। यथार्थ त के हो भने, अन्य मानिसका शरीरहरू अशुद्ध छन्; कसैको शरीर बाट दुर्गन्ध आउँछ, कोही पसिनाले निथु्रक्क भिजेका हुन्छन् र वस्त्रहरू पनि दुर्गन्धित भइरहेका हुन्छन्। केही सम्पन्न मानिसहरूले सुगन्धित द्रव्य वा अत्तर प्रयोग गरेर दुर्गन्ध लुकाउने कामचलाउ प्रयास त गर्छन्, तर शरीरको मूल अशुद्धि भने उत्तिकै रहिरहन्छ। शरीर एउटा जटिल रासायनिक संयन्त्र हो, जसबाट निरन्तर विभिन्न प्रकारका रस र मलिन स्रावहरू उत्सर्जित भइरहन्छन्। यसलाई सदैव परिशोधन गरिरहनु आवश्यक छ। देहका असंख्य छिद्र र रोमकुपहरूबाट कुनै न कुनै स्वरूपमा अशुद्धिहरू बाहिर निस्कने क्रम जारी रहन्छ। यदि तपाईंले एक दिन मात्र पनि स्नान गर्नुभएन भने, यो शरीरले कतिसम्म मलिनता उत्पन्न गर्न सक्छ भन्ने कुरा स्पष्ट हुन्छ। तपाईंले स्नान गरेर बाहिरबाट स्वच्छ देखिए तापनि, शरीरका मृत कोशिकाहरूको क्षय हुने र श्वासप्रश्वास एवं मलमूत्रको माध्यमबाट आन्तरिक विकारहरू विसर्जित हुने प्रक्रिया अनवरत चलिरहेकै हुन्छ। यदि बाल्यकालदेखि नै यस देहलाई कसरी निर्मल र पवित्र राख्ने भन्ने संस्कार दिइएन भने, वयस्क अवस्थासम्म पुग्दा यो शरीर केवल मलिनता फैलाउने एउटा मेसिन वा यन्त्रमा परिणत हुन्छ। यो हामी सबैको साझा अनुभव हो। बाह्य वातावरण केही हदसम्म निर्मल नभए तापनि जीवन यापन हुन सक्छ, तर यदि आफ्नो शरीर नै निर्मल छैन भने अन्तःकरणमा एउटा असहजता र अशान्ति व्याप्त हुन्छ। जब शरीरको 'नाद' वा आन्तरिक कम्पन बिग्रन थाल्छ, तब मात्र मानिसलाई यो देहमा केही गडबडी छ भन्ने आभास हुन्छ। अरूको शरीरको कुरा त छोडौँ, यदि आफ्नै शरीर शुद्ध छैन भने तपाईं पाँच मिनेट पनि चैनले वा एकाग्र भएर बस्न सक्नुहुन्न, स्नान गर्नु पर्ने नै हुन्छ। यो अत्यन्तै विडम्बनाको विषय हो कि समाजमा शारीरिक शुद्धिको यथार्थ संस्कार नै सिकाइँदैन। मानिसहरू ठान्दछन् कि केवल धनवान् व्यक्तिहरू मात्र स्वच्छ र सुसंस्कृत रहन सक्छन्। "म त निर्धन हुँ, मलिन रहनु नै मेरो नियति हो" भन्ने सोच राख्नु घोर मूर्खता हो। निर्धनलाई मार्गदर्शन गर्ने कोही हुँदैन भने अर्कोतर्फ सम्भ्रान्तहरूले पनि केवल देखावटी प्रशिक्षण मात्र पाएका हुन्छन्, जुन पूर्ण अंतर्शुद्धिका लागि पर्याप्त हुँदैन। वास्तवमा, केवल एक आध्यात्मिक साधकलाई मात्र यो रहस्य ज्ञात हुन्छ कि शरीरलाई अहोरात्र कसरी निर्मल र पवित्र राख्ने। यस्तो निर्मलता, जहाँ न त कृत्रिम साबुनको आवश्यकता पर्दछ, न त कुनै बाह्य सुगन्ध वा अत्तरको प्रदर्शन नै। त्यस्तो साधकको शरीर त स्वयंमा नैसर्गिक रूपमा सुगन्धित हुन्छ। त्यहाँ न त कुनै व्याधिको गुञ्जायस हुन्छ, न त कुनै सङ्क्रमणको भय नै। यो विशिष्ट कला केवल आध्यात्मिक मार्गका यात्रीलाई मात्र थाहा हुन्छ। मैले देखेको छु, कतिपय मानिसहरू यस्ता वस्त्रहरू धारण गर्दछन् जसले शरीरमा वायुको स्पर्शसमेत निषेध गरिदिन्छ। आफूलाई अत्यन्त सुशिक्षित र बुद्धिमान् ठान्नेहरू मोटो कपडाको सुट, कोट र घाटीलाई 'टाई' ले कसेर कसिलो आवरणमा बाहिर निस्कन्छन्। खुट्टामा मोजा र जुत्ताले पूर्णतः बाँधिएका उनीहरू पाँच मिनेट पनि घाम वा भिडमा उभिँदा शरीरबाट दुर्गन्ध र पसिनाको धारा बग्न थाल्दछ। ती महँगा वस्त्रहरू त खराब हुन्छन् नै, साथै कुनै पनि समझदार वा संवेदनशील व्यक्ति उनीहरूको सामीप्यमा बस्नसमेत हिच्किचाउँछ। यस्तो प्रतिकूल वेशभूषाका कारण नै उनीहरूलाई 'वातानुकूलन' को अनिवार्य आवश्यकता पर्दछ; उनीहरू लाइ नै बरफ जम्ने गरी एसी चलाउन पर्छ ।" किन? किनकि उनीहरूले गर्मी मौसमको मध्याह्नमा पनि शिरदेखि पाउसम्म मोटो कपडाले आफूलाई ढाकेका हुन्छन्। जेष्ठ-आषाढको प्रचण्ड गर्मीमा पनि यस प्रकारका टाइ सुट लाएर हिँड्ने मूर्खतापूर्ण प्रवृत्ति मैले केवल यहा मात्र देखेको छु। यदि यो कार्य ग्रामीण भेगका सरल र अल्पज्ञानी मानिसहरूले गरिरहेका हुन्थे भने त बुझ्न सकिन्थ्यो, तर विडम्बना ! यहाँका सुशिक्षित र आफूलाई बुद्धिमान् ठान्नेहरू नै यसैमा लीन छन्। बरु ग्रामीण मानिसहरू मौसम अनुकूलका खुल्ला, र हल्का वस्त्रहरूमा निकै सहज देखिन्छन्। यो कस्तो प्रकारको मानसिक व्याधि वा रुग्णता हो, त्यो मेरो समझभन्दा बाहिरको विषय हो। तर यहाँहरूले सहजै अनुमान लगाउन सक्नुहुन्छ कि यस्ता मानिसहरू केवल उनीहरूको नक्कल गरिरहेका छन्, जसलाई उनीहरू 'ठूलो' र 'सभ्य' ठान्दछन्। यो पाश्चात्य देशहरूको अन्धतुल्य अनुकरण मात्र हो। ती देशहरूमा वर्षभरि हिमपात हुन्छ र तापक्रम न्यून रहन्छ, त्यसैले उनीहरूका लागि मोटो सुट, मोजा-जुत्ता र टाई लगाउनु अनिवार्य हुन्छ; अन्यथा उनीहरूको प्राण रक्षा हुँदैन। तर हाम्रो जस्तो ३५४० डिग्रीको उष्ण तापक्रम हुने परिवेशमा यस्तो वेशभूषा धारण गरेर बाहिर निस्कनु भनेको प्राणघातक 'लू' का कारण मृत्युलाई निम्तो दिनु सरह हो। तथापि, केवल प्रदर्शन र मिथ्या अहङ्कारका लागि उनीहरू आफूलाई 'आधुनिक' र 'उच्च शिक्षित' प्रमाणित गर्न चाहन्छन्। "हलुका वा साधारण नेपाली पहिरनमा कसैले मेरो प्रतिष्ठा स्वीकार गर्दैन" भन्ने हीनताबोधले उनीहरूलाई गाँजेको छ। यो एक गम्भीर मानसिक रोग हो, जुन आधुनिक शहरहरूमा र आफूलाई ठूलो ठान्ने व्यक्तिहरूमा व्यापक रूपमा देख्न सकिन्छ। जो मानिसहरू आफूलाई अत्यन्त सुशिक्षित ठान्दछन्, विडम्बना ! उनीहरूका शरीर नै दुर्गन्ध र अनेकौँ सूक्ष्म सङ्क्रमणले व्याप्त हुन्छन्। उनीहरूले विभिन्न प्रकारका औषधि र चक्कीहरूको सेवन गरेर शरीरलाई कृत्रिम रूपमा जीवित राख्नुपर्ने अवस्था छ। उनीहरू किन देख्दा आकर्षक देखिन्छन् त? किनकि उनीहरूसँग प्रचुर धन छ र उनीहरू महँगो एवं पौष्टिक आहार ग्रहण गर्न सक्छन्। अर्कोतर्फ, एक निर्धन व्यक्तिसँग न त पर्याप्त वस्त्र छन्, न त 'सुट-बुट' जस्ता महँगा पोसाक नै। उनीहरूसँग त उचित आहारका लागि धनसमेत हुँदैन, त्यसैले उनीहरू शारीरिक रूपमा निर्बल र असुन्दर देखिन्छन्। त्यै भएर मानिसहरूमा जुन यी विपरीत र अस्वस्थकर बानीहरू परेका छन् चाहे त्यो शौचको सही विधि नहुनु होस्, स्नानको अभाव होस् वा मौसम विपरीतका वस्त्रहरूको चयन यी सबैले शरीरलाई अशुद्ध बनाइरहेका छन्। त्यसमाथि, त्यो अशुद्धिलाई लुकाउन मानिसहरू अनेकौँ रासायनिक द्रव्यहरूको प्रयोग गर्दछन् ताकि भित्री मलिनता बाहिर प्रकट नहोस्। अनुहारमा विभिन्न प्रकारका लीपापोती गरिन्छ ताकि आफू सदैव युवा र सुन्दर देखिन सकियोस्। यो शुद्धिकरणको नाममा गरिएको एउटा फगत स्वाङ र बाह्य आडम्बर मात्र हो। यथार्थमा, उनीहरूको शरीर बाह्य रूपमा समेत शुद्ध छैन। यसको वास्तविक उपचार त केवल एक निष्ठावान साधकलाई मात्र ज्ञात हुन्छ। आध्यात्मिक साधकले आफ्नो प्रज्ञाको सही उपयोग गर्दछ।। आफ्नो शरीरलाई कसरी अहोरात्र निर्मल राख्ने र कस्ता वस्त्रहरू धारण गर्ने भन्ने कुरामा ऊ सचेत रहन्छ। किनकि वस्त्र र शारीरिक निर्मलता बीच अत्यन्त गहिरो सम्बन्ध छ। साधकले वातावरणीय तापक्रम अनुकूल वस्त्र चयन गर्न जान्दछ। शरीरलाई वस्त्रले ढाक्नु त आवश्यक छ, तर वेशभूषाको आडमा शरीरप्रति क्रूरता देखाउनु आवश्यक छैन। अनावश्यक रसायनहरूको प्रयोगबाट बच्नुहोस्। सौन्दर्य प्रसाधन ठानेर तपाईँले जुन रासायनिक उत्पादनहरू प्रयोग गरिरहनुभएको छ, तिनले तपाईँको छालाको प्राकृतिकता लाई कति ठूलो क्षति पुर्याइरहेका छन् भन्ने कुराको यहाँलाई अलिकति पनि आभास छैन। मानव शरीर अत्यन्त कोमल छ। यसको प्राकृतिक सन्तुलन कायम राख्न निरन्तर परिरक्षण र सुव्यवस्थाको आवश्यकता पर्दछ। हाम्रो शरीर पशुलक्षित स्थूल छैन; तर विडम्बना ! वर्तमान समयमा यस सुकोमल देहमाथि विजातीय रसायनहरूको लेपन र अनेकौँ प्रकारका अत्याचार भइरहेका छन्। यस्तो अवस्थामा यो शरीर कसरी निर्मल र बाह्य रूपमा शुद्ध रहन सक्ला? निस्सन्देह, श्रृङ्गार आवश्यक छ र शरीर सुदर देखिनु पनि श्रेयष्कर हो। तथापि, शरीरको सौन्दर्य त त्यसको नैसर्गिक स्वास्थ्यबाट प्रस्फुटित हुनुपर्दछ, अप्राकृतिक लेपन वा 'लीपापोती' बाट होइन। बाह्य र आन्तरिक रूपमा देह अशुद्ध, मलिन र व्याधिग्रस्त छ, तर त्यसमाथि केवल प्रदर्शनकारी श्रृङ्गारको जलप लगाउनु घोर मूर्खता र अज्ञानता हो। कतिपय मानिसको शरीर यति विघ्न जर्जर र बर्बाद भइसकेको हुन्छ कि उनीहरू आफ्नो शारीरिक विद्रूपतालाई लुकाउन सुन चादीका भारी आभूषण र विभिन्न धातुका वस्तुहरू धारण गर्दछन् वा अत्यन्त महँगा वस्त्रहरूले आफूलाई ढाक्ने गर्दछन्। उनीहरूमा यस्तो भ्रम छ कि "मेरो शरीर त जर्जर र गुणस्तरहीन छ, तर यी विशिष्ट 'ब्रान्ड' का वस्त्रहरू देखेर नै समाजले मेरो सम्मान गरिदिनेछ।" ३५ डिग्रीको प्रचण्ड गर्मीमा पनि उनीहरू वैदेशिक कम्पनीका लामा र मोटा जुत्ताहरू पहिरिएर हिँड्छन् ताकि आफूलाई कुनै 'ठूलो मानिस' का रूपमा प्रस्तुत गर्न सकियोस्। वास्तविकता त यो हो कि उनीहरूको त्यो अशुद्ध शरीर कोही हेर्नसमेत चाहँदैनन् र उनीहरूको सामीप्यमा बस्न पनि रुचाउँदैनन्; केवल महँगा जुत्ता हेरेर कसैले शिष्टाचारवश सम्मान प्रकट गरिदेला भन्ने आशयमा उनीहरू बाँचेका छन्। मानिसहरू चप्पल लगाउन सङ्कोच मान्दछन् तर चप्पल लगाउँदा गोडाहरू खुल्ला रहन्छन्, जसले गर्दा पसिना सहजै सुक्छ र गोडाबाट दुर्गन्ध आउने सम्भावना रहँदैन। तर विडम्बना ! मानिसलाई लाग्छ "यदि मैले साधारण चप्पल लगाए भने म धनी र सुशिक्षित भएको प्रमाण कसरी पेश गर्ने? मलाई कसले सम्मान गर्ने?" यो एउटा गम्भीर मानसिक व्याधि हो। देखावटी प्रदर्शनले कहिल्यै शरीरको शुद्धि हुँदैन। कृत्रिम श्रृङ्गार, रसायनिक लेपन, महँगा वस्त्र वा बाँदरले झैँ विदेशीको अन्ध-अनुकरण गरेर शरीर पवित्र बन्दैन। यदि मौसम गर्मी छ भने दिनमा दुई पटक स्नान गर्नु उचित हुन्छ। वस्त्रहरू पनि यस्ता हुनुपर्छ जसले दुर्गन्ध उत्पन्न नगरून् र शरीरले प्राकृतिक रूपमा श्वास फेर्न सकोस्। तपाईँको परिवेशमा वायुको निर्बाध आवागमन हुनुपर्छ र छालामा कुनै पनि प्रकारको व्याधि हुनुहुँदैन। त्यस्तो स्वस्थ र स्फूर्त शरीर नै वास्तविक अर्थमा सुन्दर देखिन्छ। शरीरमा स्वर्ण-रजतका भारी आभूषणहरू झुन्ड्याउँदैमा सौन्दर्य प्राप्त हुँदैन, बरु त्यस्तो प्रदर्शनले त केवल अन्तःकरणमा घृणा मात्र उत्पन्न गराउँछ। कल्पना गर्नुहोस्, १०० किलोग्राम तौल भएको कुनै अत्यन्त स्थूल व्यक्ति आइरहेको छ, जो बाहिरबाट महँगा दुर्गन्धनाशक रसायन र स्वर्ण-अलंकारमा बेरिएको छ। यो दृश्य अत्यन्त विद्रूप र घृणास्पद प्रतित हुन्छ। एक सच्चा साधक त्यस्तो अस्वाभाविक परिवेशमा क्षणभर पनि स्थिर रहन सक्दैन। हाम्रो समाजमा व्याप्त यस्तो अज्ञान र मूर्खतापूर्ण प्रवृत्ति देखेर कहिलेकाहीँ हाँस्नु कि रुनु भन्ने दुविधा उत्पन्न हुन्छ। शरीरको बाह्य शुद्धि भन्दा पनि यसको आन्तरिक परिशोधन अझ बढी महत्वपूर्ण छ। आन्तरिक शुद्धिको वास्तविक तात्पर्य शरीरका सूक्ष्म अङ्ग-प्रत्यङ्गहरूलाई पूर्णतः स्वस्थ र विकाररहित राख्नु हो। वास्तवमा, शरीरले स्वयंलाई कसरी परिशोधन गर्ने भन्ने कुरा राम्ररी जान्दछ। शरीरमा आफ्नै एउटा विशिष्ट बुद्धि हुन्छ। यदि शरीरमा कुनै प्रकारको अशुद्धि वा सङ्क्रमण उत्पन्न भयो भने त्यसलाई कसरी विसर्जन गर्ने भन्ने ज्ञान शरीरसँग सुरक्षित छ। यस शरीरको स्वामी वा वाहकको रूपमा मानिसको एकमात्र उत्तरदायित्व यो हो कि उसले देहलाई भित्रैबाट अशुद्ध नतुल्याओस्। प्रकृतिले शरीरभित्र शुद्धिको यस्तो प्रबन्ध मिलाएको छ कि हामीले केही अतिरिक्त गरिरहनु पर्दैन, केवल यसलाई दूषित हुनबाट जोगाए पुग्छ। सामान्यतया, यहाँलाई योग वा कठिन आसनहरू गरिरहनु आवश्यक छैन। यी उपचारहरू तब मात्र अनिवार्य हुन्छन्, जब शरीर भित्रैबाट पूर्णतः जर्जर, मलिन र विषाक्त भइसकेको हुन्छ। जब न त वायु शुद्ध रहन्छ, न जल र आहार नै तब शरीरको आन्तरिक संरचना नै विग्रन थाल्दछ। यस्तो चरम अवस्थामा मात्र देहलाई पुनः शुद्ध गर्नका लागि कठोर उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ। यदि शरीर आन्तरिक रूपमा शुद्ध छैन भने त्यसको सबैभन्दा छिटो प्रभाव स्वास्थ्यमा देखिन्छ। यस्तो व्यक्ति अस्वस्थ र व्याधिग्रस्त भएर अन्ततः अल्पायुमै मृत्युको मुखमा पर्न विवश हुन्छ। यहाँहरूलाई विदितै होला कि प्रदूषित जल र दूषित वायु आन्तरिक अशुद्धिका प्रमुख कारणहरू हुन्। तर, यी सबैभन्दा ठूलो र निर्णायक कारण भनेको 'आहार' वा भोजन नै हो। दुर्गन्धयुक्त वायु, धुवाँ वा प्रदूषित जलबाट टाढा रहनुपर्दछ भन्ने कुरा सबैलाई अवगत छ र कसैले पनि त्यसलाई लामो समयसम्म सहन गर्न सक्दैन। तर, विडम्बना ! भोजनका सम्बन्धमा भने मानिसहरूमा घोर अज्ञानता व्याप्त छ। के ग्रहण गर्ने र के नगर्ने भन्ने कुरा यो समाजले कहिल्यै सिकाउँदैन; बरु कुन वस्तुको सेवनले स्वास्थ्य बिग्रन्छ, त्यही खानका लागि यसले अभिप्रेरित गरिरहेको हुन्छ। आरोग्य प्राप्तिका निम्ति आहार कस्तो हुनुपर्दछ भन्ने विषयमा हाम्रो समाज सर्वथा मौन देखिन्छ। मानिसहरू बासी र 'तामसिक' आहार ग्रहण गर्दछन् र आवश्यकताभन्दा अधिक भोजन गरेर शरीरलाई व्याधिको केन्द्र बनाउँछन्। उनीहरू अशुद्ध स्थानमा निर्मित बाह्य खाद्यवस्तु, उद्योगहरूमा उत्पादित कृत्रिम एवं प्रशोधित आहार र यहाँसम्म कि मृत प्राणीहरूको मासुसमेत भक्षण गर्दछन्। यदि आहार नै यस्तो विजातीय, अस्वस्थकर र अपवित्र छ भने, यसले देहलाई आन्तरिक रूपमा कसरी परिशोधन गर्न सक्छ? एक आध्यात्मिक शिष्य वा साधकमा यस्तो प्रज्ञा र संवेदनशीलता हुन्छ कि, यदि अलिकति मात्र पनि अनुचित आहार शरीरमा प्रवेश गर्यो भने उसलाई तत्कालै केही विसङ्गति भएको आभास हुन्छ। उसको शरीरले त्यसलाई स्वीकार गर्नै सक्दैन। त्यसैले अंतर्शुद्धिका लागि आहारको पवित्रता अनिवार्य शर्त हो। तपाईंले आफ्नो शरीरमा कहिल्यै गम्भीरतापूर्वक ध्यान नै दिनुभएको छैन, त्यसैले देहको संवेदनशीलता शून्यप्रायः छ। मानिसहरूले आफ्नो शरीरसँग कस्तो व्यवहार गरिरहेका छन्, त्यो उनीहरू आफैँलाई पनि बोध छैन। हाम्रो परम्परामा देहलाई चेतनाको मन्दिरको रूपमा व्याख्या गरिएको छ म यसभित्र विराजमान देवता हुँ र यो शरीर मेरो देवालय हो। तर आधुनिक मानिसले यस पवित्र मन्दिरलाई मलिनताको भण्डार वा कसिङ्गर थुपार्ने 'रछान' बनाइदिएको छ। यो वर्तमान युगको एउटा भयानक व्याधि हो, जसको मूल जड अज्ञान र मूर्खता नै हो। हामीले केवल प्राण रक्षाका निम्ति आहार ग्रहण गर्ने हो। आहारकै निम्ति मात्र हाम्रो अमूल्य जीवन खर्चिनु वा खानकै लागि बाँच्नु घोर भ्रम मात्र हो। मानिसले अधिक अर्थोपार्जन किन गर्दछ? ताकि उसको जीवन सुव्यवस्थित, स्वस्थ र सुन्दर बनोस्। अखाद्य वस्तु भक्षण गरेर आफ्नो तौल दुई-तीन सय किलोग्राम पुर्याउनका लागि धन आर्जन गरिएको पक्कै होइन। धेरैमा यस्तो गलत मान्यता छ कि आहार जति महँगो भयो, त्यति नै त्यो स्वास्थ्यवर्धक हुन्छ। तर वास्तविकता त्यस्तो छैन। हाम्रो भूमिमा उपलब्ध आलु वा प्याज जस्ता प्राकृतिक कन्दमूलहरू नै वास्तविक अर्थमा शुद्ध र सात्त्विक हुन्छन्। सोच्नुहोस् त, जुन खाद्यवस्तु निर्माणका क्रममा कैयौँ प्राणीहरूको बलि चढाइएको छ, त्यो कसरी शुद्ध हुन सक्छ? कुनै महँगो होटलको 'फ्रिजर' भित्र महिनाौँदेखि बरफमा कोचिएको बासी वस्तुलाई हजारौँ रुपैयाँमा बिक्री गरिँदैमा त्यो श्रेष्ठ हुँदैन। बाह्य देशबाट आयात गरिएको र 'सम्भ्रान्त' हरूको आहार भन्दैमा त्यसको गुणस्तर उच्च हुँदैन। त्यस्ता वस्तुलाई सड्नबाट जोगाउन अनेकौँ घातक रसायनहरू प्रयोग गरिएको हुन्छ। यस्तो विषाक्त आहारले कसरी शरीरको अंतर्शुद्धि गर्न सक्छ? यो मेरो समझभन्दा बाहिरको कुरा हो। यदि कुनै विक्षिप्त वा पूर्णतः अज्ञानी व्यक्तिले यस्तो आचरण गरेको भए त बुझ्न सकिन्थ्यो। तर, यहाँ त उच्च शैक्षिक उपाधि प्राप्त गरेका, महँगा सवारी साधनमा सयर गर्ने र बैंकमा करोडौँको मौज्दात भएका व्यक्तिहरू नै यस्तो अखाद्य आहारमा लिप्त छन्। यो कस्तो प्रकारको ज्ञान हो? यसमा कस्तो बडप्पन लुकेको छ? के यसबाट साच्चै मान-प्रतिष्ठा बढ्छ? विचार गर्नुहोस्, जसले देहलाई आन्तरिक रूपमा दुर्गन्धित, मलिन र जर्जर तुल्याउँछ, त्यस्तो मिथ्या सम्मानको के नै मूल्य रहन्छ र? यदि यहाँको शरीरमा जताततै बोसो लत्रिएको छ र अत्यधिक भोजनका कारण हिँडडुल गर्नसमेत कष्टकर भइरहेको छ भने, समाजले यहाँलाई "सम्पन्न परिवारको" संज्ञा देला, तर यथार्थमा यो घोर मूर्खता र अनेकौँ व्याधिहरूको प्रतीक मात्र हो। हो, यहाँसँग प्रचुर धन छ, यहाँले महँगा औषधि सेवन गर्न सक्नुहुन्छ र प्रख्यात चिकित्सककहाँ उपचार गराउन सक्नुहुन्छ। तर, शरिरलाई त्यो रुग्ण अवस्थासम्म पुग्नै नदिने सामान्य विवेक यहाँमा छैन भने त्यस धनको के नै उपयोगिता रह्यो र? मैले देखेको छु मानिसहरू कठोर श्रम गरेर धन आर्जन गर्छन् र पुनः उद्योगको चिम्नीले झैँ अनवरत धुवाँ ओकल्दै धूमपानमा लिप्त हुन्छन्। उनीहरू आफ्नो सामर्थ्यको सदुपयोग गर्नुको सट्टा घोर दुरुपयोग गर्दछन्। मद्यशालाको त्यो दुर्गन्धित वातावरणमा बसेर, बीसौँ-तीसौँ वर्ष अघिदेखि फलहरू सडाएर बनाइएको त्यो 'तितो जल' पिउनुलाई नै उनीहरूले जीवनको आनन्द ठानेका छन्। यो अंतर्शुद्धिको मार्गभन्दा पूर्णतः विपरित र आत्मघाती बाटो हो। मद्यपान पश्चात् उनीहरू के प्रलाप गर्छन्, उनीहरू स्वयं अनभिज्ञ छन्। उनीहरूलाई लाग्दछ कि यो केवल 'मनोरञ्जन' हो र यसले उनीहरूलाई सुख प्रदान गरिरहेको छ। तर, वास्तविकता त यो हो कि उनीहरूको मन र चेतना पूर्णतः नष्ट भइरहेको छ। उनीहरूको मस्तिष्क क्रमशः रुग्ण र जर्जर बन्दै गइरहेको छ, तर विडम्बना ! उनीहरू त्यही विनाशकारी अवस्थामा नै क्षणिक 'आनन्द' को अनुभूति गरिरहेका छन्। पुनः, म यो भन्न सक्छु कि यदि कुनै अशिक्षित व्यक्तिले यस्तो आचरण गरेको भए त्यसलाई स्वाभाविक मान्न सकिन्थ्यो। तर, यहाँ त कुलीन परिवारका सदस्य र उच्च शैक्षिक उपाधिधारी व्यक्तिहरू समेत यसैमा लीन छन्। किन? किनकि उनीहरूलाई लाग्दछ कि "धनी र सम्भ्रान्तहरूले यस्तै गर्छन् र मैले पनि यस्तै गर्नुपर्छ, अन्यथा समाजमा मेरो प्रतिष्ठा कायम रहने छैन।" यस्तो निकृष्ट मानसिकताले उनीहरूलाई गाँजेको छ। त्यसमाथि, उनीहरूमा अहङ्कार र दम्भ यति प्रगाढ छ कि उनीहरूलाई सम्झाउनु वा मार्गनिर्देशन गर्नु अत्यन्त दुष्कर छ। जो आध्यात्मिक मार्गमा छैनन्, उनीहरूले स्वयंलाई परिवर्तन गर्ने सम्भावना म निकै कम देख्छु। जो अज्ञानको यस्तो अगाध खाडलमा खसेका छन्, उनीहरूका निम्ति कुनै महान् चमत्कार बिना त्यहाँबाट निस्कनु असम्भव प्रायः छ। जब शरीर पूर्णतः जर्जर भएर क्षय हुन थाल्दछ, तब मात्र उनीहरूको निन्द्रा खुल्दछ; तर त्यतिबेलासम्म धेरै विलम्ब भइसकेको हुन्छ। त्यस्तो चरम अवस्थामा पनि उनीहरूको अहङ्कार शान्त हुँदैन। उनीहरू सोच्छन् "मेरो कुसंस्कारले शरीर त नष्ट भयो, तर मसँग करोडौँको वैभव छ; म त पुरै अस्पताल नै खरिद गरेर आफ्नो स्वास्थ्य पुनः प्राप्त गर्न सक्छु।" यस्तो मूढता उनीहरूबाट सहजै हट्दैन। तर, जो वास्तविक आध्यात्मिक साधक हुन् र आफ्नो प्रज्ञाको सही उपयोग गर्न जान्दछन्, उनीहरूले अंतर्शुद्धिको मार्ग अवलम्बन गर्दै यस्ता आत्मघाती बानीहरूलाई तत्कालै पूर्णविराम लगाइदिन्छन्।किनकि साधकको संवेदनशीलतामा अभूतपूर्व वृद्धि भएको हुन्छ। जब यहाँले बासी वा तामसिक आहार ग्रहण गर्नुहुन्छ, जब शरीरमा अनावश्यक रसायनहरू प्रवेश गराउनुहुन्छ वा लोभका कारण अत्यधिक भोजन गर्नुहुन्छ, तब यहाँको शरीरले सबैभन्दा पहिले सङ्केत प्रदान गर्दछ कि "यो उचित छैन।" त्यो सङ्केत कष्ट, मलिनता वा दुर्गन्धको स्वरूपमा तत्कालै यहाँको सामुन्ने प्रकट हुन्छ; यसका लागि एक दिनको समय पनि लाग्दैन। यो यहाँहरू जस्ता समस्त साधकहरूको आफ्नै स्वानुभूति होला। शरीरमाथि गरिएको सानो अत्याचारको पनि देहले तत्कालै प्रतिउत्तर दिन्छ। एक साधारण व्यक्ति र साधकका बीचमा यही एउटा मूलभूत अन्तर छ कि साधारण मानिसले देहको त्यो आवाजलाई सुन्नै सक्दैन। ऊ तमसको यस्तो सघन अन्धकारमा पतित भइसकेको हुन्छ कि शरीरले के भनिरहेको छ भन्ने कुरा उसको बोधभन्दा बाहिर हुन्छ। मानिसहरू शरीरको दुरुपयोग गर्न त जान्दछन्, तर यसलाई सुन्न र यसको भाषा बुझ्न भने असमर्थ छन्। तर एक साधकले शरीरको सूक्ष्मभन्दा सूक्ष्म गतिविधिलाई पनि सहजै आत्मसात् गर्दछ। किन? किनकि शरीर पनि मेरै एउटा अंश हो। शरीर पनि चित्तकै एउटा स्वरूप हो। वास्तवमा शरीर चित्तको एउटा सघन पत्र मात्र हो, यो केवल भौतिक वस्तु होइन। यस अस्तित्वमा केही पनि पूर्णतः भौतिक वा अभौतिक छैन, सबै चित्तकै विलास हो। यदि यहाँले शरीरका द्वारहरूलाई नै अवरुद्ध गरिदिनुभएको छ भने मात्र यसको भाषा सुनिने छैन। तर यदि यहाँको चेतना जाग्रत छ र प्रज्ञा स्पष्ट छ भने, यहाँले तत्कालै सबै कुरा बुझ्नुहुनेछ। सदैव स्मरण राख्नुहोस् देहले स्वयंलाई आन्तरिक रूपमा परिशोधन गर्न जान्दछ। यहाँले केवल यसलाई अशुद्ध हुनबाट जोगाए पुग्छ, बाँकी स्वच्छता यसले स्वतः कायम राख्दछ। यो शरीर अत्यन्त अद्वितीय र विलक्षण छ; यस चराचर जगतमा यो भन्दा जटिल र अद्भुत यन्त्र अर्को कुनै छैन। मानिसले आफ्नो शरीरको कस्तो दुर्दशा बनाएका छन्! मानव चोला अत्यन्त दुर्लभ र सौभाग्यले मात्र प्राप्त हुन्छ। यो शरीर यस संसारको सबैभन्दा अमूल्य सम्पदा हो, तर मानिसहरूले यसलाई आन्तरिक र बाह्य दुवै रूपमा तहसनहस पारिसकेका छन्। बाहिरी चमकधमक, बहुमूल्य पत्थर र झिनामसिना भौतिक वस्तुहरू सङ्कलन गर्न मानिसहरू मरिहत्ते गर्छन्, तर आफ्नै पवित्र शरीरको शुद्धितर्फ भने उनीहरूको अलिकति पनि ध्यान छैन। के यो घोर मूर्खता र अज्ञानता होइन र? हाम्रो घर-परिवार र समाजमा पनि यही सिकाइन्छ "प्रशस्त खाऊ, विलासी होटलका आहार ग्रहण गर। यति धेरै धन आर्जन गर कि जीवनभर केवल खाइरहन पाइयोस् र चौबीसै घण्टा भक्षणमै तल्लीन हुन सकियोस्।" तामसिक भोजन गर, किनकि समाजका 'ठूला' मानिने मानिसहरूले त्यही गर्छन्। एक सामान्य व्यक्ति त सुपाच्य र हल्का आहार ग्रहण गर्दछ; तर कथित 'ठूला' मानिसहरू त्यस्तो विजातीय आहार भक्षण गर्छन्, जसलाई पचाउनका लागि नै पचासौँ औषधि वा चक्कीहरूको सहारा लिनुपर्दछ। तपाइँ लाई पनि त्यही बाटोमा लाग्न यो अज्ञानी समाजले प्रेरित गर्दछ। अचम्मको कुरा त के छ भने, यो समाजले पनि उनीहरुकै मान-सम्मान र प्रतिष्ठा स्वीकार गर्दछ जो भोजन र विलासिताका कारण भैँसी जस्तै स्थूल र विद्रूप भएका छन्। यस्तो रुग्ण मानसिकता भएको समाजमा यहाँले अंतर्शुद्धिको वास्तविक ज्ञान कसरी प्राप्त गर्न सक्नुहुन्छ? यो त एउटा गहन आध्यात्मिक प्रज्ञा हो, जुन केवल एक निष्ठावान आध्यात्मिक शिष्य वा साधकले मात्र हृदयङ्गम गर्न सक्दछ। एक निष्ठावान आध्यात्मिक साधकले सदैव ताजा र सात्त्विक आहार मात्र ग्रहण गर्दछ। २४ घण्टाभन्दा अधिक समय सञ्चित गरिएको वा ओसिलो आहारको पूर्णतः त्याग गर्नुहोस्, किनकि त्यस्तो भोजन सूक्ष्म रूपमा सड्न र क्षय हुन आरम्भ भइसकेको हुन्छ। सदैव स्मरण राख्नुहोस् यहाँको आहार तामसिक, चिल्लो वा भारी हुनु हुँदैन। अत्यधिक मिष्टान्न, अत्यधिक तैलीय पदार्थ र उत्तेजक मसलायुक्त भोजनबाट टाढै रहनुहोस्। केवल सात्त्विक आहारको चयन गर्नुहोस्, जो सहजै पाचन हुन सकोस्। वास्तवमा, आहार यस्तो सुपाच्य हुनुपर्दछ कि भोजन पश्चात् शरीरले कुनै बोझ अनुभूत नगरोस् र यहाँको भोक को पनि शान्त र सौम्य निवारण होस्। कस्तो आहार ग्रहण गर्ने भन्ने विषयमा यहाँको आफ्नै शरीरले सङ्केत प्रदान गर्दछ। शरीरको प्रकृति (वात, पित्त, कफ) र यहाँको साधनाको स्वरूप अनुसार नै आहारको निर्धारण हुनुपर्दछ। यदि यहाँमा अझै त्यो सुक्ष्म संवेदनशीलता जाग्रत भइसकेको छैन भने, आफ्ना गुरुसँग विनम्रतापूर्वक जिज्ञासा राख्नुहोस् कि "मेरो साधनाका लागि कस्तो आहार उपयुक्त हुन्छ?" गुरु, जो स्वयं यो साधनाको कठिन मार्गबाट गुज्रिसक्नुभएको छ, उहाँसँग यसको यथार्थ अनुभव हुन्छ। अतः, गुरुले जे निर्देश दिनुहुन्छ, त्यही आहार ग्रहण गर्नुहोस्। त्यसमा आफ्नो तर्क वा बौद्धिक दम्भको प्रयोग नगर्नुहोस्। गुरुलाई के थाहा होला र? उहाँ त वृद्ध हुनुहुन्छ वा उहाँका कुराहरू पुरानो ढर्राका हुन् भन्ने जस्ता संकीर्ण सोच नराख्नुहोस्। गुरुको ज्ञान हजारौँ पुस्ताको साधना र गहन शोधमा आधारित हुन्छ। उहाँलाई पूर्णतः बोध छ कि कुन आहारले यहाँको आध्यात्मिक उन्नति र अंतर्शुद्धिमा मद्दत पुर्याउँछ। गुरुको वचनमा विश्वास गरी त्यसलाई व्यवहारमा उतार्नुहोस्, आफ्नो व्यर्थको दिमाग नलगाउनुहोस्। यदि यहाँ ज्ञान मार्गमा हुनुहुन्छ भने, यो बुझ्नु अत्यन्त सरल छ कि त्यस्तो आहार कदापि ग्रहण नगर्नुहोस् जसलाई शरीरले सहजै स्वीकार गर्दैन। जसले उल्टी गराउँछ, पाचन प्रक्रिया बिर्साउँछ वा शरीरलाई व्याधिग्रस्त तुल्याई हिँडडुल गर्नसमेत कष्टकर बनाउँछ, त्यस्तो भोजनबाट टाढै रहनुहोस्। त्यो आहार जतिसुकै ताजा वा स्वादिष्ट किन नहोस्, यदि त्यसले शरीरको प्राकृतिक लयलाई खल्बल्याउँछ भने त्यसलाई निषेध गर्नुहोस्। प्रत्येक व्यक्तिको शारीरिक प्रकृति भिन्न हुन्छ, त्यसैले आफ्नो शरीरको आवश्यकता र क्षमता अनुसार मात्र आहारको चयन गर्नुहोस्। अतिभोजन नगर्नुहोस्; आवश्यकताभन्दा अधिक आहार ग्रहण गर्नु एक प्रकारको मानसिक रुग्णता हो। योग शास्त्रमा बताइएको उचित मात्रामा नै भोजन गर्नुहोस् अर्थात् आफ्नो पेटको पचहत्तर प्रतिशत भाग मात्र अन्नले भर्नुहोस्, बाँकी दस प्रतिशत जलका निम्ति र बाँकी अंश वायुको सञ्चारका निम्ति रिक्त राख्नुहोस्। यदि यहाँले घाटी सम्म अभक्ष्य र मसालेदार भोजन कोच्नुभएको छ भने, त्यस्तो शरीरलाई ईश्वरले पनि रक्षा गर्न सक्दैनन्। यो सुकोमल देह यस्तो अत्याचार सहनका निम्ति बनेको होइन। बाह्य अशुद्ध खाद्यवस्तु त्याग्नुहोस् र घरकै सात्त्विक भोजनमा जोड दिनुहोस्। अझ महत्त्वपूर्ण कुरा यहाँ चाहे पुरुष हुनुहोस् वा स्त्री आफ्नै हातेले निर्मित आहार ग्रहण गर्ने सङ्कल्प गर्नुहोस्। पुरुषहरूमा "मैले खान पकाउन लाग्नु हुँदैन" भन्ने जुन धारणा व्याप्त छ, त्यो एक विचित्र मानसिक रोग मात्र हो। भोजन पकाउनु कुनै स्त्रीको मात्र उत्तरदायित्व होइन। आफ्नै हातले तयार पारेको भोजन नै यहाँका निम्ति सबैभन्दा स्वास्थ्यवर्धक र पवित्र हुन्छ। जब अन्य व्यक्तिले भोजन स्पर्श गर्छन्, उनीहरूका शारीरिक विकार, रोग र उनीहरूको 'नाद' वा नकारात्मक तरङ्गहरू त्यस आहारमा सङ्क्रमित हुन सक्छन्। अतः, आफै खाना पकाउन कुनै शर्म वा संकोच नमानी आफ्नो आहार स्वयं तयार गर्नुहोस। तपाईँको मानसपटलमा यस्ता भ्रान्त धारणाहरू कसले भर्यो? यो सबै यस विवेकहीन र जड समाजको उपज हो। यो समाज स्वयं अज्ञानी छ र यसलाई यथार्थको अलिकति पनि बोध छैन। आफ्नो बुद्धिको प्रयोग नै नगरी यस्ता कुराहरूलाई कसरी स्वीकार गर्नुभयो? विचार गर्नुहोस् यहाँको स्वास्थ्य र आहारको शुद्धिसँग 'पुरुष' हुनुको के सरोकार छ र? के यहाँले कहिल्यै देख्नुभएको छ यस जगतमा कुनै अन्य प्राणीले आफ्नो आहारका निम्ति अरूलाई आदेश दिइरहेको? कदापि छैन। प्रकृतिका समस्त प्राणीहरू आफ्नो आहार स्वयं सङ्कलन गर्दछन् र आफ्नै ढङ्गले त्यसलाई ग्रहण गर्दछन्। तर मनुष्यलाई किन यस्तो भ्रम भयो, त्यो मेरो समझभन्दा बाहिरको विषय हो। अरूले मात्र भोजन बनाएर दिनुपर्छ र म चाहिँ भान्सामा प्रवेश गर्दिनँ भन्ने सोच्नुको अर्थ हो यहाँ आफ्नो आहारको शुद्धताका निम्ति पूर्णतः परनिर्भर हुनुहुन्छ। अरूले भोजनमा जे-जस्ता सामग्री वा भावनाहरू मिसाइदिएका छन्, यहाँ त्यसैलाई आत्मसात् गर्न विवश हुनुहुन्छ। यस्तो अवस्थामा यहाँको अहङ्कार नै यहाँको अंतर्शुद्धिको मार्गमा सबैभन्दा ठूलो तगारो बन्न पुग्दछ। "म विशिष्ट हुँ, म अरूले तयार पारेको मात्र भोजन गर्छु, म स्वयं कष्ट गर्दिनँ" भन्ने यो मिथ्या दम्भ नै यहाँको आन्तरिक मलिनताको प्रमुख कारण हो। यो केवल एक मूढता मात्र हो; यसमा कुनै महानता वा बडप्पन लुकेको छैन। एक निष्ठावान साधकले यथासम्भव आफ्नै हातबाट निर्मित आहार नै ग्रहण गर्दछ, चाहे त्यो जस्तो सुकै किन नहोस्। स्वादिष्ट भोजनको तात्पर्य यो होइन कि त्यो कुनै भव्य होटलमा वा कुनै कुशल कारीगर द्वारा नै तयार गरिएको हुनुपर्छ। भोजनलाई सुरुचिकर तुल्याउनु कुनै जटिल कला होइन। एक साधकसँग यति बुद्धि त अवश्य हुन्छ कि उसले आफ्नो आहारलाई स्वादिष्ट बनाउन सकोस्। यदि यहाँमा कस्तो भोजन रुचिकर हुन्छ भन्ने सामान्य बोधसमेत छैन भने, आध्यात्मिक मार्ग यहाँका निम्ति होइन भन्ने बुझ्नुपर्दछ। आखिर, भोजन पकाउनसमेत असमर्थ व्यक्तिले साधनाको कठिन पथमा कसरी पाइला चाल्न सक्ला? स्मरण रहोस्, जीवनको आधार नै आहारबाट आरम्भ हुन्छ। यदि यो प्रारम्भिक खुड्किलोमा नै यहाँ चुक्नुभयो भने, अगाडिको यात्रा कसरी सम्भव होला? हाम्रो आहार कुनै कृत्रिम कारखानाबाट उत्पादित हुनुहुँदैन; यो त पूर्णतः प्राकृतिक र प्रकृति प्रदत्त हुनुपर्दछ। यो ब्रह्माण्डमा प्रकृतिभन्दा विशाल र शुद्ध कारखाना अर्को कुनै छैन। प्रकृतिले जति शुद्ध भोजन बनाउन अरू कसैले जान्दैन। हो, कहिलेकाहीँ सुक्खा हुनाले सानो-तिनो बिस्कुट जस्ता वस्तुहरू चल्न सक्छन्, तर नियमित भोजनमा सजगता अनिवार्य छ। होटलहरूमा जुन 'करी' वा परिकारहरू पस्किइन्छ, ती प्रायः हप्तौदेखि सञ्चित गरिएका हुन्छन्। यहाँले अर्डर गर्नासाथ सात-आठ दिनदेखि बासी रहेको वस्तुलाई तताएर यहाँको सामुन्ने राखिदिन्छन्। त्यसभित्रको मलिनता र दुर्गन्ध लुकाउनका निम्ति उनीहरूले विभिन्न प्रकारका विजातीय रसायन, कीटनाशक र कडा मसलाहरू मिसाएका हुन्छन्, ताकि यहाँले के खाइरहनुभएको छ भन्ने कुराको पत्तो नै नपाउनुहोस्। म यहाँहरूलाई भन्दछु पशुहरूको आहार मानिसले हजारौँ रुपैयाँ खर्चेर खाने होटलको कृत्रिम भोजन भन्दा कयौँ गुणा शुद्ध हुन्छ। कारखाना वा यन्त्रशालामा निर्मित निर्जीव पदार्थहरूको सेवन नगर्नुहोस्। प्रकृति बाट प्राप्त ताजा र प्राकृतिक आहार नै ग्रहण गर्नुहोस्। बजारमा गएर आफ्ना लागि उपयुक्त खाद्यवस्तु स्वयं छनोट गरी ल्याउनुहोस्। हो, धान्य वा बीजहरू जस्तै गहुँ, धान वा चामललाई यहाँले लामो समयसम्म सञ्चित गर्न सक्नुहुन्छ, किनकि प्रकृतिले नै ती बीजहरूभित्र सड्नबाट जोगाउने र शुद्ध राख्ने एउटा अभेद्य आन्तरिक प्रबन्ध मिलाएको हुन्छ। तर यो पनि स्मरण रहोस् कि भोजन स्वयंमा एउटा जीवन हो। यहाँले अर्को कुनै जीवित वस्तुको संहार गरेर नै त्यसलाई आफ्नो आहार बनाउनुहुन्छ। यो यस मृत्युलोक वा मर्त्यमण्डलको एउटा शाश्वत तर कठोर नियम हो कि यहाँ एउटा जीवले अर्को जीवको भक्षण गरेर नै आफ्नो अस्तित्व धान्दछ। यो सुन्दा अत्यन्तै कष्ठकर र अप्रिय लाग्न सक्छ, तर यस लोकलाई 'निम्न लोक' भनिनुको वास्तविक कारण नै यही हो कि यहाँका प्राणीहरू आहारमा पूर्णतः आश्रित छन्। उनीहरूमा शरीरप्रतिको आशक्ति यति प्रगाढ छ कि उनीहरूले यस नश्वर देहलाई नै 'म' ठानिरहेका छन्। यस विषम परिस्थितिमा एउटा शरीरलाई अर्को शरीरले नै जीवित राखिरहेको हुन्छ। यस्तो बोध हुनु नै अंतर्शुद्धिको दिशामा पहिलो पाइला हो। मेरो जुन आहार छ, त्यो वास्तवमा अर्को कुनै प्राणीको मृत शरीर हो। र यो शाश्वत नियम हो कि मेरो यो शरीर पनि कुनै न कुनै दिन अर्को कुनै प्राणीको भोजन बन्नेछ। यो मृत्युलोक कुनै रमणीय स्थान होइन; यसलाई स्वर्ग सम्झने भूल कदापि नगर्नुहोस्। यस लोकको यस्तो विभत्स चक्र र शरीरका मलिन गतिविधिहरू प्रति जब घृणा र अनासक्ति जागृत हुन्छ, तब एक सच्चा साधक जति सक्दो चाँडो यहाँबाट मुक्तिको मार्ग खोज्न आतुर हुन्छ। यही अनासक्तिले हामीलाई मांस र मांसाहारको गम्भीर विषयतर्फ डोर्याउँछ। आज मनुष्य 'सर्वभक्षी' भएको छ। यदि कुनै प्राणीले अर्को जीवको शिकार गरेर तत्कालै भक्षण गर्दछ भने, उसको शरीर व्याधिग्रस्त नहुन सक्छ, किनकि त्यो एक प्राकृतिक प्रक्रिया हो। तर मनुष्यको सन्दर्भमा यो भिन्न छ। मांस त रक्त, अशुद्धि र शरीरभित्रका विभिन्न चिपचिपा स्रावहरूले निर्मित हुन्छ। जीवको मृत्यु हुनेबित्तिकै त्यसका कोशिकाहरूले जब प्राणवायु, जल र रक्तसञ्चार प्राप्त गर्दैनन्, तब ती तत्कालै मर्छन् र सड्न आरम्भ गर्दछन्। तपाईंले देख्नुभएको होला आलु, प्याज वा अन्य वानस्पतिक वस्तुहरू यति शीघ्र कुहिँदैनन्। तर मांसको प्रकृति अत्यन्तै अशुद्ध हुन्छ। जीवको प्राण पखेरु उड्नेबित्तिकै त्यसको शरीरमा क्षयीकरणको प्रक्रिया सुरु हुन्छ, जसले गर्दा त्यो आहार नभई एउटा दुर्गन्धित 'लाश' मा परिणत हुन्छ। शाकाहारमा यो एउटा फाइदा छ कि यसलाई विकृत हुन वा सड्नका लागि पर्याप्त समय लाग्छ; तर सूक्ष्म रूपले हेर्ने हो भने यो पनि अर्को कुनै प्राणीकै मृत देह हो। त्यसैले, एउटा मृत सुँगुर र एउटा काटिएको गोलभेंडाको बीचमा केवल 'शुद्धता' को मात्र अन्तर छ। दुवैमा प्राण थियो र दुवैमा हिंसा निहित छ। तथापि, जो व्यक्ति आफ्नो शरीरलाई आन्तरिक रूपमा परिशुद्ध राख्न चाहन्छ, उसले सदैव शुद्ध भोजनको मात्र छनोट गर्दछ। मनुष्यको भोजन मांस पनि हुन सक्छ, यसलाई भक्षण गर्नुमा आफैँमा कुनै खराबी छैन। तर यदि त्यो मांस तीन-चार घण्टाभन्दा बढी समयसम्म राखिन्छ भने, त्यसले शरीरमा मलिनता उत्पन्न गर्दछ र त्यसमा निहित हिंसाका कारण मनलाई समेत अशुद्ध तुल्याउँछ। तपाईंले जति विशाल पशुको वध गरेर भक्षण गर्नुहुन्छ, त्यति नै अधिक हिंसा घटित हुन्छ। र त्यो मृत मांस जति ढिलो खाइन्छ, त्यति नै त्यो अशुद्ध र विषाक्त बन्दछ। शाकाहारमा त्यस्तो तीव्र मलिनता र अशुद्धता हुँदैन। अतः, प्रत्येकले आफ्नो रुचि र आवश्यकता अनुसार आहारको निर्णय लिनुपर्दछ। उदाहरणका लागि, चिसो देशका मानिसहरू जहाँ कुनै वनस्पति वा घाँससमेत उम्रिँदैन, उनीहरूले यदि मांस खाएनन् भने उनीहरूको अस्तित्व नै समाप्त हुन्छ। तर हाम्रो जस्तो देश, जहाँ प्रकृतिको वरदान छ, यहाँ शाकाहारी र स्वादिष्ट आहारको कुनै अभाव छैन। यस्तो अनुकूल परिवेशमा अंतर्शुद्धिका निम्ति सात्त्विक आहार नै सर्वोत्कृष्ट मार्ग हो। आध्यात्मिक साधकहरूमा निरन्तरको सुद्धीकरण का कारण संवेदनशीलताको प्रखर विकास हुन्छ। यद्यपि मांसलाई कतिपयले मनुष्यको प्राकृतिक आहार मान्लान्, तर यसको विभत्स र विद्रूप स्वरूपका कारण साधकको अन्तःकरणमा स्वतः घृणा उत्पन्न हुन थाल्दछ। यहाँले महसुस गर्नुहुनेछ कि जति जति यहाँको अंतर्शुद्धि सघन हुँदै जान्छ, यहाँको आहारको प्रवृत्तिमा पनि क्रमिक रूपान्तरण आउन थाल्दछ। कुनै बाह्य उपदेश वा करकाप बिना नै, जुन बासी, तामसिक, कारखाना मा निर्मित वा होटलका अशुद्ध आहार यहाँले पहिले स्वाद मानी मानी ग्रहण गर्नुहुन्थ्यो, अब ती प्रति यहाँको अन्तःकरणमा नैसर्गिक वितृष्णा जाग्नेछ। किनकि यहाँको संवेदनशीलता प्रखर भइरहेको छ र यहाँलाई के निर्मल छ र के मल हो भन्ने यथार्थ बोध हुन थालेको छ। जब अंतर्शुद्धि सँगै प्रज्ञा र चेतनाको विस्तार हुन्छ, तब त्यसको प्रत्यक्ष प्रभाव यहाँको आहार, आचरण र जीवनका प्रत्येक सूक्ष्म पक्षमा प्रतिविम्बित हुन्छ। यहाँको जीवनशैली, वेशभूषा, शरीर र गृह-परिवेश समेत त्यस आन्तरिक परिशोधनको उज्यालोबाट अछुतो रहन सक्दैनन् र ती सबैमा एक प्रकारको दिव्य स्वच्छता झल्कन थाल्दछ। मैले प्रारम्भमै उल्लेख गरेझैँ, यहाँले जुनसुकै बिन्दुबाट थालनी गरे तापनि अंतर्शुद्धि एउटा चामत्कारिक प्रक्रिया हो। एक पटक शुद्धिको यो महायज्ञ आरम्भ भएपछि जीवनका प्रत्येक आयामहरू स्वतः परिशोधित र निर्मल हुन थाल्दछन्। यहाँले यस अंतर्शुद्धिको सुमधुर फल प्रत्यक्ष अनुभूत गर्न पाउनुहुनेछ। मांसाहारप्रति पनि यहाँको अन्तःकरणमा स्वतः वितृष्णा जाग्नेछ र त्यो स्वभावैले मलिन एवं विद्रूप प्रतित हुन थाल्नेछ। यद्यपि कतिपयका लागि यो केवल भोजन मात्र हुन सक्ला, तर जब यहाँमा सूक्ष्म संवेदनशीलताको उदय हुन्छ र यहाँको अभिरुचि सुगन्धित, प्राकृतिक एवं सात्त्विक आहारतर्फ उन्मुख हुन्छ, तब ती तामसिक वस्तुहरू यहाँबाट स्वतः टाढा हुनेछन्। त्यसपछि, हजारौँ मूल्य तिरेर खरिद गरिने ती मदिरा जसले मस्तिष्कलाई केही क्षणका निम्ति जड र सुस्त बनाइदिन्छ ती प्रति यहाँको कुनै आशक्ति रहने छैन। विभिन्न नशालु पदार्थ र अखाद्य वस्तुहरूको सेवन केवल एक प्रकारको पशुता र मूर्खता हो भन्ने विवेक यहाँमा जागृत हुनेछ। विडम्बना त के छ भने, आफ्नो शरीरमाथि जति क्रूर अत्याचार एक सुशिक्षित र सम्भ्रान्त भनिने मानिसले गर्दछ, त्यति अत्याचार त यो प्रकृतीका पशुहरूले समेत आफ्नो शरीरमाथि गर्दैनन्। यो अत्यन्तै खेदजनक र विडम्बनापूर्ण विषय हो कि हामी यस्तो देश र कालखण्डमा जन्मिएका छौँ, जहाँ समग्र समाज नै भ्रष्ट र पथभ्रष्ट भएको छ। यस्तो परिवेशमा हाम्रो आध्यात्मिक साधना र अंतर्शुद्धिको मार्ग निकै दुष्कर भएको छ। एक पटक मानसपटलमा "मैले यही खानुपर्छ" भन्ने कुसंस्कार गढिसकेपछि, त्यसलाई आजीवन हृदयबाट हटाउन असम्भव प्रायः हुन्छ। यदि कुनै व्यक्तिलाई उसले खाइरहेको वस्तु फोहोर वा मलिनता हो भनी बोध गराउन खोजियो भने, उसले त्यसलाई त्याग्नुको साटो उल्टै जाइलाग्छ वा यहाँको घाटी काट्न तयार हुन्छ; तर उसले आफ्नो अशुद्ध आहार छोड्न कदापि तयार हुँदैन। समाजको प्रभावले गर्दा मानिसको मस्तिष्कमा यस्तो एउटा विषाणु भरिएको छ कि उसलाई आफ्नो हित र अहितको समेत विवेक छैन। किनकि उसको बाल्यकालदेखिको पालनपोषण र संस्कार नै यस्तै अस्वस्थकर ढङ्गले भएको छ। मानिसलाई आफ्नो वास्तविक आहार के हो र कति मात्रामा भोजन गर्नुपर्छ भन्ने सामान्य ज्ञानसमेत छैन। यस्तो घोर अज्ञानता के अन्य कुनै प्राणीमा होला र? एउटा कुकुरको सामुन्ने यदि उसलाई मन नपर्ने वा अनुपयुक्त वस्तु राखियो भने, उसले सुँघेर त्यसलाई त्याग गरिदिन्छ। तर मानिस त्यसो गर्दैन। यदि कुनै वस्तुमा अङ्ग्रेजीमा आकर्षक 'लेबल' टाँसिएको छ र टेलिभिजनमा त्यसको विज्ञापन देखेर आफ्नो अहङ्कार र बडप्पन बढ्ने भ्रम छ भने, मानिसले त्यसलाई सहर्ष भक्षण गर्दछ। यो गम्भीर मानसिक रोग र चेतनाको शून्यता बाहेक अरू केही होइन। आहारका सम्बन्धमा म धेरै चर्चा गर्न सक्दछु, तथापि यहाँ एक आध्यात्मिक साधक हुनुभएको नाताले यहाँका निम्ति एउटा सङ्केत नै पर्याप्त छ। आहारका अतिरिक्त निद्रा पनि जीवनका लागि नितान्त आवश्यक र अपरिहार्य छ। निद्रा चित्तको यस्तो अवस्था हो, जसमा शरीरको आन्तरिक परिरक्षण र मर्मत-सम्भार हुने गर्दछ। दिनभरिको शारीरिक र मानसिक सक्रियताका कारण शरीर र मनमा जुन टुटफुट वा क्षति हुन्छ, त्यसको पुनरुत्थान निद्राकै समयमा हुन्छ। यसै अवधिमा कोशिकाहरू विभाजित हुन्छन् र नयाँ कोशिकाहरूको निर्माण प्रक्रिया अघि बढ्दछ। यहाँका समस्त अङ्ग-प्रत्यङ्गहरूको पुनः नवीकरण हुन्छ र शरीरभित्र सञ्चित मलिनता एवं विकारहरू निष्कासनका निम्ति तयार हुन्छन्। मृत कोशिकाहरू र विभिन्न मलिन स्रावहरू एकत्रीकरण हुने यो सम्पूर्ण प्रक्रिया निद्राको शान्त वातावरणमै सम्पन्न हुन्छ। यदि यहाँको निद्राको मात्रा र समय उचित छैन भने, शरीरको यो स्वाभाविक परिशोधन प्रक्रियामा गम्भीर बाधा उत्पन्न हुन्छ र शरीर आन्तरिक रूपमा मलिन हुन थाल्दछ। यदि यो क्रम वर्षौँसम्म चलिरह्यो भने, व्यक्ति अन्ततः रोगग्रस्त हुन पुग्दछ। विडम्बना ! वर्तमान कालखण्डमा मानिसले निद्रालाई समयको बर्बादी वा अपव्यय ठान्ने गर्दछ। ऊ अल्प निद्रा लिएर अधिक समय काममा व्यतित गर्न चाहन्छ, किनकि उसको दृष्टिमा धन नै सर्वस्व हो। "शरीर त आउने-जाने वस्तु हो, म त यहाँ केवल पैसा कमाउनको लागि जन्मिएको हुँ" भन्ने भ्रामक सोचका कारण मानिसले आफ्नो अधिकांश समय केवल काममा खर्चिन्छ र उसँग विश्रामका लागि पर्याप्त समय नै हुँदैन। एक स्वस्थ व्यक्तिले ८ देखि १० घण्टा निद्रा लिनु पर्दछ, जसबाट मनको समेत परिशोधन भई अंतर्शुद्धिमा सहयोग पुग्दछ। यहाँले निश्चय नै अनुभव गर्नुभएको होला कि निद्रा पूर्ण भएपछि मानसिक अवस्था अत्यन्त शुद्ध, पवित्र र स्फूर्त प्रतीत हुन्छ। निद्राको अभावमा प्रज्ञा वा बुद्धि चल्दैन र कुनै पनि कार्य कुशलतापूर्वक सम्पन्न गर्न सकिँदैन। निद्राले मानसिक पक्षमा पनि गहिरो प्रभाव पार्दछ। मैले पूर्ववत् उल्लेख गरेझैँ, यहाँ मानसिक र भौतिक भन्ने कुराहरू पृथक् छैनन्; यो शरीर तपाइको मानसिक र भौतिक अवधारणाहरूको मध्यभागमा अवस्थित छ। मानसिक अवस्थाको प्रभाव शरीरमा तत्कालै देखिन्छ र त्यसै गरी भौतिक भोजन एवं निद्राको असर पनि चित्त वा मनमा तुरुन्तै महसुस हुन्छ। त्यसैले, निद्राको सन्दर्भमा शरीरमाथि कुनै पनि प्रकारको अत्याचार नगर्नुहोस्। शरीरलाई जति विश्रामको आवश्यकता छ, त्यति निद्रा लिन दिनुहोस्। सही समयमा सुत्नु र सही समयमा जाग्नु नितान्त आवश्यक छ। एक साधकका लागि भोजन ग्रहण गरेको दुई घण्टा पश्चात् सुत्न र प्रातः चार बजे जाग्नु उचित हुन्छ। सूर्योदयभन्दा पूर्व नै उठ्नु एक आदर्श निद्राको लक्षण हो, यद्यपि व्यवहारमा सधैँ यस्तो नहुन सक्छ। त्यसैले, यहाँले यथाशक्य सही समयमा सुत्ने प्रयत्न गर्नुहोस् र शरीरले माग गरेसम्म विश्राम लिनुहोस्; किनकि यहाँले देख््नुहुनेछ कि निद्राको चक्र पूर्ण भएपछि यो शरीर कुनै बाह्य दबाब बिना स्वतः जाग्ने गर्दछ। जसले अलार्म लगाएर वा कोलाहलको माध्यमबाट शरीरलाई बलपूर्वक जगाउँछन्, बिचारा उनीहरू आफ्नो चितातर्फ अझ तीव्र गतिमा अग्रसर भइरहेका छन्, किनकि यो प्रक्रिया प्राकृतिक होइन। अप्राकृतिक रूपले निद्रा लिनु र बिउँझनुको मूल्य यहाँले कहिले न कहिले चुकाउनै पर्ने हुन्छ, जुन व्याधि वा अकाल मृत्युको रूपमा प्रकट हुन सक्छ। तथापि, उचितभन्दा बढी सुत्नु पनि हानिकारक छ। अत्यधिक निद्राले मानिसको प्रज्ञा वा बुद्धिलाई मन्द तुल्याउँछ। मैले देखेको छु, मन्दबुद्धि भएका व्यक्तिहरू १२-१२ घण्टासम्म सुत्छन् र भोजन पश्चात् दिउँसो पनि पुनः सुत्ने गर्दछन्; उनीहरूको सम्पूर्ण दिनचर्या केवल भोजन र शयनमा सीमित हुन्छ। यदि यहाँ लामो समयसम्म क्रियाशील रहनुभएन भने, यो शरीरमा खिया लाग्न थाल्दछ। एक साधकले सधैँ समयमा सुत्ने, समयमा जाग्ने र उचित मात्रामा निद्रा लिने कार्य जीवनभर गर्दछ। यदि यहाँको आहार र निद्रा श्रेष्ठ एवं सन्तुलित छ भने, यहाँको शरीर भित्रबाट कहिल्यै अशुद्ध हुने छैन र अंतर्शुद्धि सदैव अक्षुण्ण रहनेछ। यो पूर्णतः सुनिश्चित छ कि यस्तो अवस्थामा यहाँलाई कहिल्यै चिकित्सककहाँ धाउनु पर्ने छैन र औषधिहरू सेवन गर्नुपर्ने छैन। शरीरमा स्वयंलाई आरोग्य राख्ने अद्भुत सामर्थ्य हुन्छ। यो शरीर एक यन्त्र समान भए तापनि यसभित्र एउटा यस्तो प्रणाली छ, जसले यसको निरन्तर रेखदेख र नवीकरण गरिरहन्छ; त्यसैकारण यो देह परिवर्तन हुँदै सय वर्षसम्म जीवित रहन सक्षम हुन्छ। यदि यहाँले यस शरीरलाई यसरी नै शुद्ध राख्नुभयो भने यहाँलाई दीर्घायु र स्वस्थ शरीर प्राप्त हुनेछ; साथै यसले स-साना कष्ट वा शरीरमाथि हुने सामान्य विचलनहरूलाई पनि सहजै सहन गर्नेछ। यसले स्वयंलाई नयाँ बनाउने र आफैँलाई उपचार गर्ने अद्भुत क्षमता राख्दछ। यो नै यहाँको शरीरको बाह्य परिशोधन र अंतर्शुद्धिको प्रक्रिया हो। यसका निम्ति यहाँलाई देहको बोध हुनु नितान्त आवश्यक छ। ज्ञान मार्गमा लाग्नेहरूले शरीरको ज्ञान प्राप्त गर्दछन् भने योग मार्गमा रहेकाहरूलाई पनि शरीरको विज्ञानबारे दीक्षित गराइन्छ। शरीरका आसनहरू, श्वासप्रश्वासको विधि, के भक्षण गर्ने र के पिउने भन्ने कुरामा उनीहरूको जीवन अत्यन्त नियमबद्ध र अनुशासित हुन्छ। जो योग, कर्म वा भक्ति जस्ता कुनै पनि साधना मार्गमा छैनन्, ती केवल सांसारिक प्राणीहरू भने कष्ट भोग्न विवश छन्। उनीहरूको आफ्नै शरीर नै उनीहरूको दुःखको मूल कारण बन्न पुग्दछ। त्यस अवस्थामा यहाँसँग जतिसुकै धन-सम्पत्ति होस्, जतिसुकै नाता-सम्बन्धहरू हुन् वा यहाँ स्वर्ण जडित भवनमै किन नबस्नुहोस् यदि शरीर स्वस्थ छैन भने जीवन नरक जस्तै कष्टकर हुन्छ। यो यहाँको आफ्नै अनुभव सिद्ध सत्य हो।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions