Wise Words
जगत को माया (नेपाली)
रोशन
जगत को माया *"यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य उद्देश्य ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र यस ज्ञानवर्धक सामग्रीलाई थप प्रचारार्थ दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"* यो सम्पूर्ण चराचर जगत केवल माया हो, वस्तुहरू मिथ्या हुन्। हामीलाई कुनै पनि वस्तुको यथार्थ अनुभव कहिल्यै हुँदैन। हाम्रो अनुभव त त्यति मात्र हो, जति हाम्रा इन्द्रियहरूले हामीलाई बोध गराउँछन्। इन्द्रियहरूको त्यही चञ्चल गतिविधिलाई नै हामीले 'अनुभूति' को रूपमा महसुस गरिरहेका हुन्छौं। यिनै अनुभूतिहरू कहिले रङ्ग बनेर आउँछन्, कहिले ध्वनि वा नाद बनेर, कहिले आकार बनेर, त कहिले गन्ध, स्पर्श वा रसको रूप धारण गर्छन्। यस्ता चिरपरिचित अनुभूतिहरूलाई नै हामी 'तन्मात्रा' पनि भन्दछौं। हो, हामीलाई केवल तन्मात्राकै अनुभव हुन्छ, जुन पूर्ण रूपमा हाम्रा इन्द्रियहरूमा नै आश्रित हुन्छन्। यदि हाम्रा इन्द्रियहरूको अवस्था बदलियो भने, यी तन्मात्राहरू पनि स्वतः परिवर्तित हुन्छन्। जब इन्द्रियहरू शिथिल हुन्छन् वा रोगले ग्रस्त हुन्छन्, तब तन्मात्राको अनुभव पनि बदलिन्छ, अथवा भनौँ, तिनको अनुभव नै हुन छाड्छ। यो संसारका सम्पूर्ण अनुभवहरू यिनै तन्मात्राबाट निर्मित छन्। तर, कस्तो विचित्र लीला छ हेर्नुस् त! अत्यन्त आश्चर्यको कुरा यो छ कि, यी तन्मात्रा स्वयंमा कुनै 'वस्तु' होइनन्। हामीले जति पनि तन्मात्राको अनुभव गर्छौं, ती कदापि यो बाहिरी जगतमा पाइँदैनन्। न रङ्ग जगतमा छ, न आकार जगतमा छ; न त ध्वनि नै जगतमा छ। गन्ध, स्पर्श र स्वादयी पनि जगतमा विद्यमान छैनन्। तथापि, समस्त वस्तुहरूको ज्ञान यिनै तन्मात्रा रुपी वर्णमालाद्वारा नै सम्भव हुन्छ। तन्मात्रा केवल पाँच मात्र सीमित छैनन्, अनेकौँ छन्जस्तै शीतलता, उष्णता, भारीपन, हलुकापन, सुन्दरता, कुरूपता, असल अनि खराब। यहाँसम्म कि हाम्रा विचार, इच्छाहरू, अनन्त कल्पना र सपनाहरूयी सबै पनि कुनै न कुनै तन्मात्राकै उपज हुन्, र यी अनुभूतिहरू भौतिक जगतमा कतै भेटिँदैनन्। यदि यस्तो हो भने, आखिर यो जगतमा चाहिँ के विद्यमान छ त? जब तपाईं कुनै रक्तिम (रातो) वस्तु देख्नुहुन्छ, त्यहाँ वास्तवमा रक्तिम प्रकाश विद्यमान हुँदैन, त्यहाँ त केवल स्पन्दन मात्र हुन्छ। जब तपाईं कुनै ध्वनि श्रवण गर्नुहुन्छ, त्यहाँ आवाज हुँदैन, वायुमा उत्पन्न कम्पन मात्र हुन्छ। जब तपाईं चिसो वा तातो महसुस गर्नुहुन्छ, त्यहाँ न चिसो हुन्छ न त तातो नै, त्यहाँ केवल अणुहरूको कम्पन मात्र हुन्छ। ठीक त्यसैगरी, स्वाद र गन्ध पनि केवल रसायनहरूको मिश्रण मात्र हुन्। हाम्रा इन्द्रियहरूले यिनै सूक्ष्म स्पन्दनहरूलाई ग्रहण गर्दछन्। स्नायुतन्त्रले तिनलाई तन्मात्रामा रूपान्तरित गर्छ। अनि मस्तिष्कमा यी सबैलाई एकै ठाउँमा एकीकृत गरिन्छ, र यही समिश्रित रचनाको हामीलाई अनुभव हुन जान्छ। अतः हामी निर्धक्क भन्न सक्छौं कि हामीलाई वस्तुहरूको होइन, व्यक्तिहरूको होइन, जीवहरूको होइनकेवल स्पन्दनको अनुभव हुन्छ, केवल नादको अनुभूति हुन्छ, जसलाई इन्द्रियहरूले टपक्क टिपिरहेका हुन्छन्। कतिपयले तर्क गर्लान्"होइन, वस्तुहरू वास्तविक हुन्, कण र अणुबाट बनेका हुन्।" तर यदि तपाईंले भौतिक विज्ञानमा गहिरो अभिरुचि राख्नुहुन्छ भने तपाईंलाई विदितै होला कि कण वा अणु भनेको ऊर्जा मात्र हो। र, ऊर्जा पनि एक प्रकारको नाद नै हो, एक किसिमको स्पन्दन नै हो। जहाँ गति हुन्छ, त्यहाँ हामी ऊर्जाको परिकल्पना गर्दछौं। अन्तमा, त्यहाँ चलायमान कुनै ठोस चीज भेटिँदैन। अन्त्यमा त केवल शून्यता नै चलायमान भएको भेटिन्छ। हो, शून्यता नै गतिमान भएको, शून्यता नै नाद गरिरहेको अवस्थामा भेटिन्छ। यो भौतिक जगतमा न वस्तुहरू भेटिन्छन्, न व्यक्ति, न बोटबिरुवा, न नदीनाला, न पहाड, न समुद्र, न त ग्रह-नक्षत्र नै। त्यहाँ केवल नाद भेटिन्छ। हाम्रा इन्द्रियहरूले त्यही नादलाई समातिरहेका छन्। अझ गहिरिएर हेर्दा, इन्द्रियहरू स्वयं पनि नाद मात्र हुन्। एउटा नादले अर्को नादसँग प्रतिक्रिया गरिरहेको छ। यिनै प्रतिक्रियाहरूको परिणामअनुभूति हो; यिनै प्रतिक्रियाहरूको फलतन्मात्रा हो। अनि यिनै तन्मात्राहरूको तानाबानाबाट वस्तुहरूको निर्माण हुन्छ। यो निरन्तर परिवर्तनशील स्पन्दन हो। यो क्षणभरको लागि हुन्छ र विलिन भइहाल्छ। यसैकारण वस्तुहरू 'अनित्य' छन्, किनकि तिनको अस्तित्वको मूलमा नै स्पन्दन छ, बदलाव छ, गति छ; ती स्थिर रहँदैनन्। वस्तुहरू जगतमा होइन, केवल अवधारणामा सीमित छन्। ती चित्त-निर्मित हुन्। तपाईंहरू सबैलाई विदितै छ, समस्त स्पन्दनहरू चित्तकै अंश हुन्, जसलाई मैले 'नाद-रचना' को संज्ञा दिएको छु। इन्द्रियहरू तिनै मध्येका विशेष प्रकारका नाद-रचनाहरू हुन्, जसले अन्य नाद-रचनाहरूसँग प्रतिक्रिया गर्दछन्। अनि चित्तमा त्यस्ता विशिष्ट संरचनाहरू वा ढाँचाहरू हुन्छन्, जसले यी निरन्तर परिवर्तन भइरहने तन्मात्राहरूलाई व्यवस्थित गर्छन् र वस्तुको रूपमा प्रस्तुत गर्छन्। तिनको नामकरण गरिन्छ, तिनको स्मृति बनाइन्छ र तिनलाई स्थायित्व प्रदान गरिन्छ। चित्तले यी छविहरूमा समानता खोज्दछ र स्मृतिको सहारा लिएर एउटा स्थायी वस्तु खडा गर्ने प्रयास गर्दछ। यदि तपाईंले कुनै रातो रङको वस्तु लिनुभयो र त्यसलाई हरियो रङले पोत्नुभयो भने, तन्मात्राको केही अंश अवश्य बदलिन्छ। तथापि, चित्तले त्यसलाई पहिचान गरिहाल्छ कि वस्तु त उही हो, केवल रङ बदलिएको छ। चित्तले त्यसलाई नयाँ वस्तुको रूपमा गन्दैन, किनकि उसँग स्मृति छ। उसले त त्यसमा केवल एउटा नयाँ गुणको परत मात्र चढाइदिन्छ। चित्तमा सम्पूर्ण वस्तुहरू गुणहरूद्वारा नै व्यवस्थित हुन्छन्। यो कति विचित्र छ, कति गूढ छ! चित्तद्वारा गरिने यो वस्तुहरूको निर्माण-प्रक्रिया अत्यन्त जटिल छ। इन्द्रियहरूदेखि लिएर वस्तुहरूको स्थायित्वसम्म आइपुग्दा अनगिन्ती प्रक्रियाहरू घटित भइसकेका हुन्छन्। यी आउने-जाने क्षणभंगुर स्पन्दनहरूलाई ठोस वस्तुमा रूपान्तरित गर्न चित्तले अथक परिश्रम गरिरहेको हुन्छ।तथापि, जे देखिन्छ, ती वस्तुहरू त केवल प्रतिरूप हुन्, मात्र छवि वा छाया हुन्। आखिर यो जगत के हो त? यो त असंख्य वस्तुहरूको एउटा विशाल संग्रह मात्र हो। र, जब वस्तुहरू नै भ्रम हुन् भने, यो सम्पूर्ण जगत पनि एक महाभ्रम हो। इन्द्रियहरूको माध्यमबाट दृष्टिगोचर हुने यो सम्पूर्ण विश्व केवल एक अवधारणा मात्र हो। यहाँ न समय छ, न स्थान छ; न वस्तुहरू छन्, न व्यक्तिहरू नै। यी त केवल चित्त-निर्मित छविहरू हुन्। सत्य त यही होयो जगत एक स्वप्न हो। त्यसोभए, यो हामीलाई स्थायी किन लाग्छ त? यो निरन्तर परिवर्तन भइरहन्छ, तैपनि स्थायी जस्तो प्रतीत हुन्छ। यसको एकमात्र कारण स्मृति हो। यदि स्मृति नहुने हो भने, कस्तो स्थायित्व? स्मृतिबिना त तपाईंले स्वयंलाई पनि चिन्न सक्नुहुन्न। यहाँ यति विघ्न परिवर्तन छ कि स्मृति पनि चित्तकै खेल हो, र स्थायित्व पनि भ्रम मात्र हो। यहाँ केही पनि शाश्वत छैन, सबथोक अनित्य छ। ठीक यिनै तन्मात्राहरू, ठीक यिनै वस्तुहरू, र ठीक यिनै छविहरू व्यक्तिले रातको सपनामा पनि देख्छ। त्यहाँ त कुनै जगत छैन, त्यहाँ त कुनै भौतिक कण छैन, न त कुनै भौतिक ऊर्जाहरू नै छन्। तैपनि, ठ्याक्कै त्यस्तै जगत प्रकट हुन्छ, जस्तो जागृत अवस्थामा हुन्छ। यो कहाँबाट आयो त? हामी सबैलाई विदितै छ, यो हाम्रो स्मृतिबाट आउँछ। स्मृतिको गहिराइमा जुन छविहरू सञ्चित छन्, जुन संस्कारहरू गडेर बसेका छन्, तिनैले तन्मात्राको रूप धारण गर्छन्। तिनै स्पन्दन बन्दछन् र तिनकै अनुभूति हुन्छ। जागृत अवस्थामा सक्रिय रहने तिनै इन्द्रियहरू सपनामा पनि सक्रिय हुन्छन्। तर, सपनामा तिनको आंशिक भाग मात्र आवश्यक पर्छ। किनकि त्यहाँ भौतिक जगत छैन, त्यसैले सूक्ष्म इन्द्रियहरूले कार्य गर्छन्। स्थूल इन्द्रियहरूको जुन सूक्ष्म अंश छ, त्यतिले मात्र त्यहाँ काम चलाउँछ। तर तन्मात्राहरू अझै पनि बन्दछन्, स्थायित्वको प्रक्रिया अझै पनि चलिरहन्छ। तर सपनामा यो प्रक्रिया निकै क्षीण हुन्छ। त्यहाँ वस्तुहरू अति शीघ्र बदलिन्छन्। त्यसैले सपनामा स्थायित्वको आभास कम हुन्छमानिसहरू बदलिन्छन्, तिनका अनुहार फेरिन्छन्, स्थानहरू तुरुन्तै परिवर्तन हुन्छन्। सायद, त्यसैकारण हामी सपनालाई असत्य भन्छौं, मिथ्या भन्छौं। किनकि ती जागृत अवस्था जति स्थायी छैनन्। त्यसैले यी सपनाहरू जीवस्मृतिबाटै उत्पन्न हुन्छन्। जागृत अवस्थामा चित्तमा जुन संस्कारहरू परेका हुन्छन्, यो तिनकै लीला हो, तिनकै पुनरावृत्ति हो। तर, यहाँ मनन गर्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भनेयी सबै स्मृतिबाटै जन्मन्छन्। स्मृति नै यिनको मूल स्रोत हो। जब हामीलाई यो बोध हुन्छ कि जीवको स्मृति नै यसको कारण हो, तब हामी यो अनुमान लगाउन सक्छौं किकिनकि अन्तःकरण त उही हो, यन्त्र त उही हो, यो मनो-शरीर रुपी यन्त्र पनि उही नै हो, र शारीरिक इन्द्रियहरूलाई पनि स्पन्दनकै माध्यमबाट जगतको अनुभव हुन्छ... अतः यस्तो पनि हुन सक्छ कि जागृत अवस्थामा दृष्टिगोचर हुने वस्तुहरू पनि कुनै गहिरो स्मृतिबाटै आइरहेका छन्। कुनै स्मृतिबाटै उद्भूत भएको स्पन्दन हो त्यो। जसरी रात्रिकालीन स्वप्नमा स्मृति स्वयं देखिँदैन, तर स्मृतिबाट जे उब्जिएको छत्यही स्पन्दन मात्र देखिन्छ; तन्मात्राको रूपमा, वस्तुहरूको रूपमा। चित्तले तिनलाई एउटा आकार दिन्छ, एउटा स्वरूपमा ढाल्छ। ठीक त्यसैगरी, जागृत अवस्थामा पनि त्यो मूल स्मृति देखिँदैन। केवल त्यसमा घटित हुने परिवर्तन र स्पन्दन मात्र देखिन्छन्। तथापि, यो मान्न सकिन्छ कि यी स्पन्दनहरू कुनै स्मृतिबाटै प्रवाहित भइरहेका छन्। त्यसैकारण त, आज जब तपाईं कुनै वस्तु देख्नुहुन्छ र भोलिपल्ट निद्राबाट ब्युँझिएर पुन: हेर्दा पनि त्यही वस्तु जस्ताको तस्तै फेला पर्छ। यदि त्यो स्मृतिबाट उत्पन्न नभएको भए, त्यो अवश्य बदलिइसक्थ्यो। अर्थात्, हामीलाई कुनै स्थिर अनुभव नै सम्भव हुने थिएन। अनुभव यति तीव्र गतिमा परिवर्तित हुन्थ्यो कि न वस्तुहरू रहन्थे, न शरीर, न जगत, न त पृथ्वी नै। अनि, यो जीवन पनि कदापि सम्भव हुने थिएन। त्यसकारण, यो भन्नु उचित र तर्कसंगत हुनेछ कि जागृत अवस्थाका स्पन्दनहरू कुनै बृहत् स्मृतिबाट आइरहेका छन्, र यही स्मृतिलाई मैले 'विश्वस्मृति' भनेको छु। अनि जुन चित्तसँग यो स्मृति सम्बन्धित छ, त्यसलाई मैले 'विश्वचित्त' को संज्ञा दिएको छु। यो विशाल जगत यही विश्वस्मृतिको वा यही विश्वचित्तको एक सानो अंश मात्र हो। हाम्रो यो सम्पूर्ण जीवन त केवल जीवस्मृति र विश्वस्मृतिको बीचमा चलिरहेको एउटा खेल मात्र हो। कस्तो विचित्र विडम्बना छजसलाई मानिसहरू यति गम्भीरतापूर्वक लिन्छन्, ती त केवल छविहरू मात्र हुन्, फगत छाया मात्र हुन्। जसलाई तपाईंले 'म' भनी मानिरहनुभएको छ, त्यो शरीर त केवल तन्मात्राहरूको तानाबाना मात्र हो, जुन निरन्तर परिवर्तन भइरहेको छ र एक दिन पूर्ण रूपमा नष्ट भएर जानेछ। अवश्य पनि, यहाँ अनेकौं प्रश्नहरू उब्जन सक्छन्, किनकि तपार्इंको मान्यताहरू अब जड भइसकेका छन्। किनभने तपाईंले कहिल्यै प्रश्नचिन्ह खडा गर्नुभएनन जगतमाथि, न वस्तुहरूमाथि, न त आफ्नै अनुभवमाथि नै। स्मरण रहोस्, जो प्रश्न गर्दैन, उसले कहिल्यै जान्ने पनि छैन। हिराहरू त जमिनको गहिराइमा गाडिएका हुन्छन्; तिनलाई खन्नुपर्छ, खनेरै निकाल्नुपर्छ। र, त्यो केवल प्रश्नरूपी बन्चरोले खनेर मात्र सम्भव छ। प्रश्न गर्नुहोस्, उत्तर अवश्य मिल्नेछ। केवल परम्परागत मान्यताहरूको पछि नलाग्नुहोस्। मान्यताहरू त तपाईंलाई अरू कसैले दिएका हुन्। यो अन्धविश्वास कि 'वस्तु सत्य हो, जगत सत्य हो, मेरो शरीर सत्य हो र अन्य मानिसहरू पनि सत्य हुन्'यो सब भ्रम हो। जसलाई तपाईं ज्ञान भन्नुहुन्छ, त्यो वास्तवमा अज्ञान हो, जुन बाहिरबाट थोपरिएको छ। तपाईंको आफ्नो स्वयंको अनुभवले के भन्छ? तपाईंको आफ्नै तर्क र विवेकले के भन्छ? कहिलेकाहीँ त्यतातिर पनि ध्यान दिनुहोस्। साधारण जनमानस, अर्थात् अज्ञानी समाजले के भन्छ, त्यसलाई त तपाईं निकै गम्भीरतापूर्वक लिनुहुन्छ। तर ज्ञानीजन, महान् वैज्ञानिकहरू र ऋषि-मुनिहरूले जे भन्छन्, त्यसलाई भने तपाईं हाँसोठट्टाको विषय बनाउनुहुन्छ। यसलाई नै हामी 'विपरीत बुद्धि' भन्दछौं, जुन कलियुगको मुख्य पहिचान हो। कलियुगमा मानिसको बुद्धि उल्टो हुन्छ। त्यसैले त तपाईंले यहाँ जताततै भौतिकवादी मानिसहरू मात्र देख्नुहुन्छ। जो वस्तुहरूको प्रेममा पागल छन्, जो नितान्त उपभोक्तावादी छन्। ती लोभी मानिसहरू, जो केवल संग्रह गर्नमै तल्लीन छन्। यहाँसम्म कि उनीहरूले अन्य व्यक्तिहरूलाई समेत 'वस्तु' नै ठान्दछन्। यी आउने-जाने छायाहरूमा उनीहरू सुख खोजिरहेका छन्। सुख त मिल्दैन, तैपनि खोज्न छोड्दैनन्। यस्ता व्यक्तिलाई अज्ञानी भन्नु पनि कम हुन्छ; यस्ता व्यक्ति त विक्षिप्त भइसकेका हुन्छन्, पागल भइसकेका हुन्छन्। तिनको बुद्धि भ्रष्ट भइसकेको हुन्छ। त्यसैले त आज यो समाजको, यो जगतको यस्तो दुर्दशा छ, यति दयनीय अवस्था छ। यसको मूल कारण अज्ञान होयो जगतप्रतिको अज्ञान। जसको बुद्धि नै बाङ्गो छ, उनीहरूले प्रश्न पनि बाङ्गै गर्छन्। उनीहरू गहिराइमा हेर्दैनन्। उनीहरू भन्छन्"होइन, वस्तुहरू त सत्य हुन्, किनकि मलाई पनि त्यही वस्तु देखिन्छ, जुन तपाईंलाई देखिन्छ।" तर गहीरो ध्यान दिएर हेर्नुहोस् त! मलाई जे देखिन्छ, त्यो तपाईंलाई देखिँदैन। मलाई के देखिन्छ भन्ने कुरा तपाईंले कदापि जान्न सक्नुहुन्न। जुन तन्मात्राहरूको अनुभव, जुन अनुभूतिहरूको आभास मलाई हुन्छ, त्यो अन्य कसैलाई हुँदैन। हामीबीच सहमति यसकारण मात्र छ कि नामहरू एउटै छन्। बाल्यकालदेखि नै हामीले तिनै नामहरूद्वारा वस्तुहरू र तन्मात्राहरूलाई चिन्दै आएका छौं। त्यसैले दुई व्यक्तिहरू बीचमा एक किसिमको सहमति बनेको छ। मैले गुलियो खाएँ, तपाईंले पनि गुलियो खानुभयो, र हामीले सहमति जनायौं कि "हो, गुलियो यस्तै हुन्छ।" तर, मलाई गुलियोको जुन विशिष्ट अनुभव भएको छ, त्यो अरू कसैलाई हुँदैन। त्यो कसैले जान्न पनि सक्दैन। त्यो स्वादको नितान्त अनुभव केवल मलाई मात्र थाहा हुन्छ। यदि सहमति नहुने हो भने वस्तु असत्य सिद्ध हुन्छ। हो, जुन वस्तुहरू अत्यन्त स्थूल छन्, तिनमा सहमति चाँडै जुट्छ। तर, जति-जति वस्तुहरू सूक्ष्म हुँदै जान्छन्, सहमति उति-उति कम हुन थाल्छ। सबैले मान्लान् कि यो रङ 'नीलो' हो। तर यदि तपाईंले सोध्नुभयो कि "के यो नीलो लुगा मलाई सुहाएको छ? के यो सुन्दर देखिन्छ?" तब आधा मानिसहरूले भन्लान्"आहा! अति सुन्दर छ।" तर बाँकी आधाले भन्लान्"होइन, त्यति जमेको छैन, अर्कै रङ लगाउनुस्।" यहाँ सहमतिको अभाव छ; त्यसैले यहाँ 'सुन्दरता' को कुनै निरपेक्ष सत्य रहेन। सुन्दरता त नितान्त व्यक्तिनिष्ठ भयो। ठीक यसैगरी, ध्वनिहरूलाई सबैले चिन्छन्। तर एउटा संगीत कसैको लागि कर्कश हुन सक्छ भने कसैको लागि त्यही संगीत मधुर हुन सक्छ। यहाँ पूर्ण सहमति हुन सक्दैन। जबकि ध्वनि त उही हो, तर सहमतिको अभाव छ। यसैगरी, यदि कसैको शरीरमा पीडा भइरहेको छ भने, अर्को व्यक्तिले त्यो पीडा देख्न सक्दैन। त्यहाँ प्रत्यक्ष सहमति पनि हुँदैन। तैपनि हामी मानिदिन्छौं, विश्वास गरिदिन्छौं कि उसलाई पीडा भइरहेको होला, किनकि कहिलेकाहीँ मलाई पनि त पीडा भएको थियो। वास्तवमा दुवै पीडाहरू व्यक्तिनिष्ठ अनुभव हुन्। यदि सहमति नहुने हो भने, त्यहाँ वस्तुनिष्ठता को गुञ्जायस रहँदैन। जुन वस्तुहरू तपाईंलाई देखिन्छन्, ती मलाई नदेखिन सक्छन्। जुन मलाई देखिन्छन्, ती तपाईंलाई नदेखिन सक्छन्। एउटा दृष्टिविहीनको जगत अर्कै हुन्छ, र दृष्टिवालाको जगत अर्कै। अत: वस्तुनिष्ठता त केवल सहमतिको परिणाम मात्र हो। जे अनुभव हुन्छ, त्यो त सधैं व्यक्तिनिष्ठ नै हुन्छ। आँखा चिम्लेर नमान्नुहोस्, स्वयं हेर्नुहोस्। के यो सत्य होइन र? यदि सबै वस्तुहरूको अनुभव व्यक्तिनिष्ठ छ भने, यो जगत पनि व्यक्तिनिष्ठ नै हो। हरेक मनुष्यका लागि एउटा छुट्टै जगत छ। मेरो जगत तपाईंले देख्न सक्नुहुन्न, र तपाईंको जगत मैले देख्न सक्दिन। यो नितान्त चित्त-निर्मित हो। यदि यो जगत वास्तविक हुन्थ्यो भने, अनुभव अर्कै किसिमको हुन्थ्यो; त्यो व्यक्तिनिष्ठ हुँदैन थियो। जबसम्म चित्तको रचना वा संरचना मनुष्यहरूमा अलिकति मिल्दोजुल्दो हुन्छ, तबसम्म सहमति जुटिरहन्छ। तर, एउटा अर्को प्राणीचाहे त्यो वन्यजन्तु होस्, समुद्रमा बस्ने जलचर होस्, वा आकाशमा उड्ने पन्छी होस्र मनुष्यको बीचमा कुनै सहमति हुन सक्दैन। एउटा कीरालाई जुन जगत दृष्टिगोचर हुन्छ, त्यो एउटा गाईलाई वा बाँदरलाई देखिँदैन। तिनका बीचमा कुनै सहमति हुँदैन। त्यसोभए, त्यो वस्तुनिष्ठताको के हविगत होला? यो त केवल एक अवधारणा हो, एक मान्यता मात्र हो। अल्पबुद्धि भएकाहरूले तर्क गर्लान्"हेर्नुस्, म खाना खान्छु, त्यसैले म जीवित छु। खाना त वस्तु हो, सत्य हो, त्यसैले यसले मलाई जीवित राख्छ। हेर्नुस्, यदि म गुडिरहेको रेलगाडीको अगाडि उभिएँ भने मर्छु। यो रेलगाडी त सत्य हो। यदि विश्वास लाग्दैन भने, "लौ त, कृपया पटरीमा उभिनुहोस्, तपाईं आफैंले थाहा पाउनुहुनेछ।" यस्ता मूर्खतापूर्ण तर्कहरू दिने गरिन्छ। " तर होइन, यो सत्य होइन। यो रेलगाडी पनि चित्त-निर्मित नै हो। वास्तवमा, त्यो रेलगाडी पनि स्पन्दनले नै बनेको हो। तपाईंको शरीर पनि स्पन्दनले नै बनेको हो। जब दुवै ठोक्किन्छन्, बाँकी रहने त केवल स्पन्दन नै हो, अरू केही होइन। जुन 'वास्तविक' वस्तुहरूको कल्पना तपाईंले गर्नुभएको छ, त्यो कल्पना अवश्य नष्ट हुनेछ। तर, बाँकी जे पहिलेदेखि थियो, त्यो त अहिले पनि रहिरहन्छ। पहिले पनि नाद थियो, अहिले पनि नाद नै छ। नाद कहिल्यै नष्ट हुँदैन। यदि तपाईंले खाना खानुभएन भने, यो शरीर परिवर्तित हुनेछ; यो हाड-मासु माटोमा परिणत भएर अर्को कुनै रचना बन्नेछ। तर अन्ततः त्यो पनि नाद नै हो। शरीरमा त अहिले पनि निरन्तर परिवर्तन भइरहेकै छ, अहिले पनि यो मरिरहेकै छ। तपाईंले जतिसुकै खाना खाए पनि, यो परिवर्तन त अवश्य हुन्छ नै। यो जगतमा त्यस्तो के छ, जुन परिवर्तित हुँदैन? जुन बदलिँदैन? जुन नित्य छ? केही क्षणका लागि यो शान्त वा स्थिर देखिएला, तर त्यो त केवल स्मृतिको कारणले उत्पन्न हुने भ्रम हो कि 'यो उही हो'। यसको अर्थ यो होइन कि त्यो सत्य हो। यसको अर्थ यो होइन कि त्यो वास्तविक हो। खाना खाँदैमा तपाईंको शरीर 'सत्य' भइहाल्दैन। केवल केही समय अझ टिक्छ। बस, त्यो रचना केही बेर अझ कायम रहन्छ। यदि तपाईंलाई तर्क यति नै प्रिय लाग्छ भने, अलिकति गहिराइमा गएर तर्कको उपयोग गर्नुहोस् न! के यस्ता ससाना र सतही तर्कहरू दिइरहनुहुन्छ? आफ्नो बुद्धिको गहिराइमा जानुहोस्। तपाईंको बुद्धि शुद्ध छैन। अरूले भनेको-सुनेको कुरालाई नै दोहोर्याइरहनुहुन्छ र त्यसैलाई ज्ञान सम्झिनुहुन्छ। ध्यान दिनुहोस्सपनामा जब तपाईंलाई भोक लाग्छ, तपाईं 'स्वप्न-भोजन' गर्नुहुन्छ। त्यसको प्रभाव के पर्छ? त्यसले के सपना सत्य भइहाल्छ? सपनामा तपाईं रेलगाडीको अगाडि उभिनुभएको हुन्छ, भाग्ने प्रयास गर्नुहुन्छ। त्यहाँ पनि उत्तिकै पीडा हुन्छ, उत्तिकै डर लाग्छ। त्यसो भन्दैमा, के सपनाको रेलगाडी सत्य भयो त? हो, जबसम्म तपाईं सपनामा हुनुहुन्छ, त्यो 'स्वप्न-गाडी' त्यतिबेला सत्य नै लाग्छ। स्मरण रहोस्, यो बुद्धि पनि स्वप्नकै एक अभिन्न अंश हो। स्वप्नमा 'स्वप्न-बुद्धि' क्रियाशील हुन्छ भने जागृत अवस्थामा 'जागृत-बुद्धि'। दुवै एउटै चित्तका भाग हुन्। त्यसैले, त्यो स्वप्न-पात्र र यो जागृत-पात्रको व्यवहार एकनासको नै हुन्छ। के तपाईंले तिनको व्यवहारमा कहिल्यै तात्विक अन्तर देख्नुभएको छ? त्यहाँ पनि वस्तुहरू आकार, रङ र ध्वनिले नै बनेका हुन्छन्। तिनै तन्मात्राहरूबाट स्वप्नका वस्तुहरू निर्माण हुन्छन्, जसबाट जागृतिका वस्तुहरू बनेका छन्। स्वप्न पनि एक नितान्त व्यक्तिनिष्ठ अनुभव हो। तर स्वप्नका पात्रहरूले पनि त्यही दाबी गर्नेछन्"मलाई पनि त्यही अनुभव भइरहेको छ, जुन तपाईंलाई भइरहेको छ।" यदि स्वप्नमा तपाईं आफ्नो घरमा बस्नुभएको छ र आमा-बुबा वा परिजन साथमा छन् भने, उनीहरूले पनि "यो घर सत्य हो" भन्ने कुरामा पूर्ण सहमति जनाउनेछन्। उनीहरूले तपाईंको 'हो' मा 'हो' मिलाउनेछन्। तर के सहमति हुँदैमा त्यो स्वप्न सत्य सिद्ध भयो त? धेरैले तर्क गर्लान्"हेर्नुस्, मलाई कतै जानु छ भने वास्तविक रेलगाडीमै बस्नुपर्छ। म स्वप्नको रेलगाडीमा बसेर यात्रा गर्न सक्दिनँ। स्वप्नको रेलगाडीले मलाई यो सहरबाट अर्को सहर पुर्याउँदैन। त्यसैले त्यो असत्य हो।" तर यहाँ ध्यान दिनुपर्ने कुरा के छ भनेयदि तपाईंलाई स्वप्नमा कतै जानु छ भने, यो 'वास्तविक' रेलगाडी तपाईंको कुनै काम आउँदैन। त्यहाँ त तपाईंलाई स्वप्नकै रेलगाडी आवश्यक पर्छ। यदि वास्तविक रेलगाडी तपाईंको स्वप्नमा काम लाग्दैन भने, के त्यो असत्य भयो त? यस्तो दोहोरो मापदण्ड किन? धेरै मानिसहरूले यो पनि भन्नेछन् कि जागृत अवस्थामा वस्तुहरू निकै स्थायी हुन्छन्। जुन हिजो थियो, त्यो आज पनि छ र पर्सि पनि रहनेछ। हो, त्यो बदलिँदै छ, तर निकै सुस्त गतिमा। अनि तिनै मानिसहरू भन्छन्स्वप्नमा त सबै कुरा अति शीघ्र बदलिन्छ, केही ठम्याउनै सकिँदैन, तुरुन्तै परिवर्तन भइहाल्छ। तर यहाँ गहिरो रहस्य के छ भनेसपनाहरू 'जीवस्मृति' बाट आइरहेका छन्, जुन अत्यन्त अस्थायी प्रकृतिको स्मृति हो। जबकि यो जागृत संसार 'विश्वस्मृति' बाट आउँछ, जुन करोडौं वर्षदेखि सञ्चित छ। यो स्थायी भइसकेको छ, अलिकति स्थूल र सुस्त भएको छ, अरू केही होइन। मूलभूत रूपमा हेर्दा स्मृति त स्मृति नै होचाहे त्यो बिस्तारै चलोस् वा तीव्र गतिमा। म तपाईंलाई एउटा उदाहरण दिन्छु, ध्यान दिएर सुन्नुहोस्। आजको रात देखेको सपना भोलिको रात दोहोरिँदैन। त्यहाँ अर्कै जगत हुन्छ, अर्कै मानिसहरू हुन्छन्। अलिअलि मिल्दोजुल्दो त होलान्, तर तपाईंले "यो उही घर हो" वा "यो उही बाटो हो" भन्न सक्नुहुन्न। "यो उही सहर हो" भनेर किटान गर्न सक्नुहुन्न। त्यो स्वप्न निकै बदलिएको देखिन्छ। तर, आजको दिन र भोलिको दिन करिब-करिब उस्तै हुन्छ। आजको जागृत अवस्था र १० वर्ष अघिको जागृत अवस्था करिब-करिब उस्तै हुन्छ। उही घर हुन्छ, उही मानिसहरू हुन्छन्। अलिअलि परिवर्तन त आएको होला, तर सपनामा जस्तो आमूल परिवर्तन हुँदैन। अब उदाहरणको लागि मानौं कि एक दिनको अवधि १०० वर्ष बराबर भएको छ। अब जब तपाईं अर्को दिन ब्युँझनुहुन्छ, तब १०० वर्ष बितिसकेको हुन्छ। बाहिरी जगतमा अब तपाईंको अनुभव हिजोको अनुभवसँग मिल्दोजुल्दो हुँदैन। जुन घरहरू थिए, ती सबै ढलिसके। जहाँ घना जंगल थियो, त्यो काटिइसक्यो। परिचित व्यक्तिहरू सबै मरिसके। जहाँ खेतहरू थिए, त्यहाँ अहिले ठूला भवनहरू छन्। जहाँ भवनहरू थिए, त्यहाँ अहिले पानी भरिएको छ, समुद्र बनेको छ। तैपनि तपाईं भन्नुहुन्छ"केही छैन, बदलिएको मात्र हो, तर यो जगत सत्य हो, यो जागृत अवस्था हो।" तपाईं भन्नुहोला कि अर्को दिन फेरि उठ्नेछु। तर ध्यान दिनुहोस्, १०० वर्ष बितिसकेको छ। अब त्यो दृश्य पूर्ण रूपमा बदलिएको पाउनुहुनेछ। के भयो? जगतको सत्य कहाँ गयो? किन यति धेरै परिवर्तन भइरहेको छ? स्मरण रहोस्यो केवल गतिको फरक मात्र हो। सारतत्व त उही हो। तर एउटा यस्तो व्यक्ति, जसको लागि एक दिन र एक रात १०० वर्ष बराबर छ, उसको जागृत अवस्था पनि स्वप्नावस्था बराबर नै हुन जान्छ। किनकि अब सापेक्ष रूपमा स्मृति धेरै छिटो बदलिरहेको छ। तपाईं सुस्त हुनुभयो, तर जगत र जागृत अवस्था तीव्र भयो। अब न स्वप्नमा कुनै सत्य बाँकी रह्यो, न त जगतमा नै। हिजोको जगत तपाईंलाई आज याद पनि रहने छैन, किनकि स्मृतिका कडीहरू नै टुटेका छन्। हिजोको जगत र आजको जगतमा कुनै सम्बन्ध नै बाँकी रहेन। ठीक यसैगरी, हिजो रातिको सपना र आज रातिको सपनामा पनि कुनै सम्बन्ध हुँदैन, कुनै कडीहरू जोडिएका हुँदैनन्। त्यहाँ धेरै परिवर्तन भइसकेको हुन्छ। हेर्नुहोस्, यो माया कति विशाल छ, कति जटिल छ र कति चतुर छ कि यसले हामीलाई सहजै धोका दिन्छ। त्यसैले सानो तर्कको उपयोग नगर्नुहोस्, वृहत् तर्कको उपयोग गर्नुहोस्। सानो बुद्धि नलगाउनुहोस्, विराट बुद्धि लगाउनुहोस्। अलिकति गहिराइमा जानुहोस्। कंकड र ढुङ्गाहरू मात्र बटुलेर साधकको के भलो होला? हिरा नै खोजेर ल्याउनुहोस्। जब तपाईं सपनामा जानुहुन्छ, तपाईंलाई थाहा हुँदैन"म कहाँबाट आएँ? मलाई के गर्नु छ? म कहाँ जानेछु?" त्यहाँ मानिसहरू भन्छन्"बाबु, म तिम्रो पिता हुँ। म तिम्रो माता हुँ। तिमीले यो काम गर्नुपर्छ। छिटो निस्क। यहाँ खतरा छ!" अनि तपाईं त्यो सपनामा, त्यहाँका घटनाहरूमा पूर्णतः लीन हुनुहुन्छ। तर के तपाईंले कहिल्यै आफ्नो जागृत अवस्थामा ध्यान दिनुभएको छ? यो पनि ठीक यस्तै छ। थाहा छैन कहाँबाट आएका छौं। थाहा छैन कहाँ जानु छ। बस, कसैले केही भनिदियो। उसले यो भनिदियो, यसले त्यो भनिदियो। तपाईंले त्यसलाई मानिदिनुभयो र तपाईं पनि त्यही दौडमा लागिरहनुभएको छ। मुसा-दौड मा जहाँ सबै दौडिरहेका छन्, तपाईं पनि दौडिरहनुभएको छ। किन? थाहा छैन। "सबैले यही गर्छन्, त्यसैले म पनि गर्छु।" एउटा बाँदरले भनिदियो"आकाश खस्दै छ, भाग!" अनि सबै भागिरहेका छन्। म पनि भाग्दै छु। त्यो बाँदरलाई किन सोध्नुहुन्न"आकाश कहाँ छ? आकाश कहाँ खस्यो?" यो त एउटा निदाएको व्यक्तिको चरित्र हो। ऊ कहिल्यै प्रश्न गर्दैन, केवल मान्यतहरूको भारीले थिचिएको छ। ऊ यति बाक्लो अन्धकारमा छ कि उसलाई केही देखिँदैन। यदि सपनामा तपाईं करोडपति हुनुहुन्छ, सुनको थुप्रो लगाएर बस्नुभएको छ, विभिन्न प्रकारका नातेदारहरू छन्, ठूलो पदमा आसिन हुनुहुन्छ, वा प्रधानमन्त्री नै हुनुहुन्छ भने पनि, ब्युँझिएपछि ती सब कहाँ जान्छन्? त्यो सुनको के मोल रहन्छ? त्यो 'स्वप्न-मन्त्री' कहाँ विलीन भयो? ठीक यसैगरी तपाईंको जीवन बित्नेछ। मृत्यु आउनेछ। त्यसपछि यहाँ जागृत अवस्थामा तपाईंले जे-जे गर्नुभयो, ती सब कहाँ जानेछन्? कुन स्मृतिमा दबिएर बस्लान्? कसले जान्दछ र कि माया कति विशाल छ? यो त महासागर हो, र मनुष्य त केवल एक सानो थोपा मात्र हो, तर आफूलाई सत्य ठान्दछ। यो महासागर त भ्रमको सागर हो। स्मरण रहोस्, 'जागृति' र 'जगत' शब्दको मूल स्रोत एउटै हो। जगत भनेको त्यो अनुभव हो, जुन जागृत अवस्थामा घटित हुन्छ। कसको जागृत अवस्था? यो धेरै स्पष्ट छयो चित्तको अवस्था हो। यहाँ 'म' नामको कुनै छुट्टै वस्तु छैन। 'जीव' नामको कुनै ठोस चीज छैन, केवल चित्त छ। यो जुन 'म' (अहंकार) छ, त्यसको निर्माण पनि चित्तले नै गर्दछ। जसरी सपनामा एउटा कृत्रिम 'अहम्' खडा गरिन्छ, त्यसरी नै जागृत अवस्थामा पनि एउटा 'अहम्' खडा गरिन्छ। यदि जगत केवल चित्तको एउटा अवस्था मात्र हो भने, यो कसरी सत्य हुन सक्छ? के चित्तको अभावमा, चित्तबिना स्वतन्त्र रूपमा जागृत अवस्था सम्भव छ? यदि जागृत अवस्था नै छैन भने, जगत कहाँबाट अस्तित्वमा आउँछ? कसले बताउँछ कि जगत छ? सुन्नको लागि इन्द्रियहरू छैनन्, ध्वनिहरू छैनन्, तन्मात्राहरू छैनन् भने जगतको सत्यको ज्ञान कसरी हुन्छ? स्वप्न पनि तन्मात्राहरूबाटै कोरिएको हो, र जागृति पनि तन्मात्राहरूबाटै कोरिएको हो। जसले स्वप्नावस्थाका प्रयोगहरू गरेका छन्, उनीहरूलाई यो कुरा राम्ररी थाहा छ। जे चाहनुहुन्छ, त्यस्तै वस्तु सपनामा प्रकट गर्न सक्नुहुन्छ। ती तन्मात्राहरू नै हुन्। किन गर्न सक्नुहुन्छ त ? किनकि यो चित्त-निर्मित हो। सपनामा तपाईं आफ्ना सबै इच्छाहरू पूरा गर्न सक्नुहुन्छ। जसले सूक्ष्म शरीरका प्रयोगहरू गरेका छन्, उनीहरू जान्दछन् कि जुन जगत जागृत अवस्थामा देखिन्छ, त्यस्ता लाखौं-करोडौं अनन्त जगतहरू अस्तित्वमा छन्। मायाको यो महासागरको कुनै वारपार छैन, कुनै ओर-छोर छैन। यहाँसम्म कि कतिपय मानिसहरू यति प्रतिभाशाली छन् कि उनीहरूले सूक्ष्म शरीरको अवस्थामा एउटा सम्पूर्ण जगत नै सृष्टि गर्न सक्छन्। यो कसरी सम्भव छ? किनकि सबै स्पन्दन हो, सबै स्मृति हो। जे चाहे पनि रचना गर्न सकिन्छ; तन्मात्राहरू पनि माया-मात्र हुन्, तन्मात्राहरू पनि मिथ्या हुन्। तिनको आफ्नो कुनै स्वतन्त्र अस्तित्व छैन। यदि अनुभवकर्ता भएन भने तन्मात्राहरू पनि हुँदैनन्। तसर्थ, तन्मात्रा र अनुभवकर्तामा कुनै भेद छैन। तन्मात्राहरू ठीक त्यहीँ प्रतीत हुन्छन्, जहाँ अनुभवकर्ता विद्यमान हुन्छ। त्यहाँ कुनै दूरी छैन; "यो स्पन्दन मेरै हो। यो नाद मेरै नाद हो। म ब्रह्म हुँ र यो ब्रह्मनाद हो," जुन जगतका वस्तुहरू, व्यक्तिहरू र चित्तका अनेक रूपहरूमा दृष्टिगोचर हुन्छ। चित्र पनि म नै हुँ, र चित्रकार पनि म नै हुँ। जसले यो रहस्य जान्यो, उसका लागि जगत केवल एक खेल होमायाको खेल। तर अज्ञानमा डुब्नाको कारण यो खेल एउटा रोग बनेको छ। जीवन लीला को सट्टा युद्ध भएको छ। जो अनुभवकर्ता हो, ऊ परम सुखी छ। तर यो स्वप्न-चरित्र परम दुखी छ, किनकि बीचमा अज्ञानको पर्दा छ, र ऊ सपनाभित्रै पागलेजस्तै सुखको पछाडि दौडिरहेको छ। त्यहाँ के सुख पाइएला? त्यहाँको सुख पनि नक्कली हो, र त्यहाँको दुःख पनि नक्कली हो। तिमी कहिले जागछौ यो 'जागृति' बाट? कहिले देख्छौ कि "मेरो स्वरूप त्यो होइन जुन इन्द्रियहरूले देखाउँछन्, जुन तन्मात्राहरूले देखाउँछन्, जुन अनुभूतिहरूले देखाउँछन्, वा जुन स्पन्दनहरूले देखाउँछन्?" मेरो स्वरूप त अनुभवकर्ता हो। म त्यो 'द्रष्टा' हुँ, जसले यो आउने-जाने स्वप्न हेरिरहेको छ। म कुनै त्यस्तो 'वस्तु' होइन जसको अनुभव गर्न सकियोस्। म त्यो सत्य हुँजहाँ जगतहरू उदाउँछन् र विलीन हुन्छन्। म त्यो परम ब्रह्म हुँ। यहाँ म बिदा लिन्छु। सुन्दै रहनुहोला 'बोधिवार्ता', मायाको श्रृंखला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions