Wise Words
Home
Read
Write
Publish
Profile
Logout
साधना कसरी गर्ने ? (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** साधना कसरी गर्ने ? "नमस्कार! ज्ञान सूत्रको यस शृङ्खलामा यहाँहरू सबैलाई स्वागत छ। आज हामी साधना कसरी गर्ने भन्ने बारेमा जान्नेछौँ र सबैभन्दा पहिले त म यो बताउन चाहन्छु कि यो वार्तालाप कुनै विशेष साधनाको बारेमा होइन। जस्तै ज्ञान मार्गको साधना, योग साधना, कुण्डलिनी साधना वा सूक्ष्म शरीरको साधना, ध्यान, विपश्यना यस्ता कुनै विशेष साधनाको बारेमा म कुरा गरिरहेको छैन। मैले एउटा कुरा देखेको छु कि साधना जस्तोसुकै किन नहोस्, चाहे मार्ग जस्तोसुकै होस्, केही यस्ता सार्वभौमिक नियमहरू हुन्छन् जुन सबैमा लागू हुन्छन्। मैले केही मार्गहरूमा आफैँ हिँडेर देखेको छु कि हो, यिनमा यी नियमहरू लागू हुन्छन् र यिनका बिना साधना सफल हुँदैन। म धेरै साधकहरू र गुरुजनहरूको सम्पर्कमा आउने भएकाले मलाई मेरो अनुभवबाट यो थाहा भएको छ कि कुनै पनि साधना होस् त्यसमा के गर्नुपर्छ र के गर्नु हुँदैन। त्यसैले यो केही सामान्य ज्ञान म तपाईँहरूको अगाडि राख्न गइरहेको छु। विशेष गरी अध्यात्ममा भर्खरै आउनुभएका र कुनै न कुनै साधना गर्ने प्रयास गरिरहनुभएकाहरूका लागि यो जान्नु निकै आवश्यक छ र उनीहरूलाई यसबाट धेरै लाभ हुनेछ। जसले वर्षौँदेखि साधना गरिरहनुभएको छ, उहाँहरूलाई त यो कुरा पहिले नै थाहा होला।" "पहिलो कुरा, यदि तपाईँको कुनै लक्ष्य छैन भने साधना गर्नु पूर्णतया बेकार छ। कुनै फल प्राप्त हुने छैन, र यदि फल प्राप्त भइहाले पनि त्यो तपाईँलाई चाहिएको हो कि होइन भन्ने तपाईँलाई थाहै हुँदैन। मैले यस्तो धेरै देखेको छु। लक्ष्यहीन मानिसहरू साधना गर्छन्। यो किताबमा पढेँ, त्यो भिडियोमा सुनेँ वा 'मेरो छिमेकीले पनि त्यही साधना गर्छ, म पनि त्यही गरिहाल्छु' यसरी नै चलिरहेको छ। धेरै मानिसहरूको त गुरु पनि हुनुहुन्न जसले भन्न सकोस् कि, यो साधना गर्ने होइन, यो तिम्रो लक्ष्य होइन।' कहिलेकाहीँ म भन्छु कि यदि तपाईँ कतै जानु नै छैन भने रेलको टिकट नक्किन्नुस। जब लक्ष्य नै छैन भने यो झिटि-कुम्लो कसेर कहाँ जाँदै हुनुहुन्छ त? पहिले लक्ष्य आउँछ, त्यसपछि मार्ग आउँछ, त्यसपछि गुरु अनि मात्र साधना आउँछ। मानिसहरू ठ्याक्कै उल्टो गर्छन्, पहिले केही गर्न सुरु गरिहाल्छन्। 'ल, ध्यानबाट सुरु गर्छु। ल, मूर्ति किनेर ल्याउँछु, कुनै पूजा सुरु गर्छु।' जब उनीहरूलाई सोधिन्छ कि 'तपाईँ यो किन गर्नुहुन्छ? श्वासमा ध्यान किन गर्नुहुन्छ?' तब उनीहरू यताउता हेर्न थाल्छन्। किन? किनकि त्यो अध्यात्म होइन, त्यसबाट केही पनि हुनेवाला छैन। यो सुनेर मलाई हाँसो पनि उठ्छ र आँशु पनि आउँछ कि अध्यात्मको के हविगत भयो? पहिले लक्ष्य निर्धारण गर्नुहोस्, त्यसपछि मात्र त्यो साधना गर्नुहोस्, जसले त्यो लक्ष्यसम्म पुर्याओस्। कुन साधना? त्यो गुरुले बताउनुहुनेछ। केही मानिसहरू एउटा मार्गबाट अर्को मार्गमा यसरी हाम फाल्छन् अरे, मैले यो साधना गरेको थिएँ तर फल आएन। ल, अब अर्को केही गरौँ' तर त्यो अर्कै मार्ग हुन्छ। 'म यो कुण्डलिनी गर्दैछु, तर केही भएन। अब म ध्यान गर्छु। ध्यानमा पनि केही भएन। ल अब म शास्त्र पढ्छु, त्यहाँ पनि केही भएन। ल, म सन्यासी बन्छु, सायद केही होला।' यस्तो साधना पूर्ण रूपमा विफल हुन्छ। मार्ग एउटै नहुने हो भने साधना गर्नु नै बेकार छ। एउटा लक्ष्य, एउटै मार्ग, एउटै गुरु र एउटै साधना।" "अब यदि यो पनि भएन भने मात्र बदल्ने हो। यस्तो होइन कि बदल्नै हुँदैन, साधना बदल्न सकिन्छ। यदि गुरु हुनुहुन्न भने त फेरि केही हुन सक्दैन। यदि गुरु हुनुहुन्छ र उहाँले जुन निर्देशन दिनुहुन्छ, त्यस अनुसार साधना गरिएन भने पनि केही हुन सक्दैन, त्यो विफल नै रहनेछ। यस्तो पनि देखिएको छ। मैले आफैँ पनि यस्तो गरेको छु कि गुरुले तपाईँलाई १० वटा कुरा बताउनुहुन्छ कि यो गर्ने, त्यसपछि यो गर्ने, त्यसपछि त्यो। तीन-चार दिनपछि यस्तो हुन्छ 'भो! उहाँले बताएको यो कुरा त निकै गाह्रो छ, निकै दिक्कलाग्दो छ, यो मबाट हुँदैन। उहाँले मन्त्र ४० पटक जप्न भन्नुभयो, यति धेरै समय कोसँग छ र? ४० को ठाउँमा २० पटक गरिहाल्छु नि। अलि ढिलो होला तर होला।' अनि गुरुलाई त केही थाहा हुँदैन कि मान्छेले भित्रभित्रै के गरिरहेको छ। गुरुले भन्नुभयो 'यो क्रियापछि त्यो क्रिया गर्नु।' तर साधकले सोच्छ 'अरे मलाई त्यो क्रिया मन पर्दैन, म सिधै अर्को क्रिया गर्छु, त्यसमा धेरै आनन्द आउँछ।' त्यसैगरी जो मेरोमा निर्देशन र मार्गदर्शनका लागि आउँछन् म पनि भन्छु, 'पहिले प्रयोग नगर्नु, पहिले राम्रो संग सुन्नु कि के भनेको हो' तर मानिसहरू लाई त पहिले प्रयोग गर्नु छ।' कसले सुनिराखोस २/३ घण्टा लगातार बोलिरहने लाइ होइन ?। अब प्रयोग के गर्छन्, मलाई त थाहा हुँदैन। उनीहरूलाई आफैँलाई पनि थाहा हुँदैन कि उनीहरूले के गरिरहेका छन्। त्यसैले यस्ता मानिसहरू गुरु हुँदाहुँदै पनि विफल हुन्छन्, किनकि उनीहरू निर्देशन अनुसार गर्दैनन्, अरु केही गरिरहन्छन्। उनीहरू भन्न त भन्छन 'हो-हो, मेरो गुरु उहाँ नै हो, मेरो मार्ग यही हो,' तर जाँदै चाहिँ अर्कैतिर रहेका हुन्छन्।" "धेरै साधकहरू छन् जो पूर्ण लगनका साथ साधना त गर्छन्, तर उनीहरूमा साधकको हुनुपर्ने गुण हुँदैन। किनकी साधकमा धेरै गुणहरू हुनुपर्छ, गुण हरु बारे 'ज्ञान दीक्षा' को भिडियोमा बताएको पनी छु। साधना त गरिरहेका छन्, तर साधकमा हुनुपर्ने ती गुणहरू नै छैनन् भने साधनाको कुनै फल प्राप्त हुने छैन। साधना गरिरहेका छन्, तर त्यो कस्तो प्रकारको साधना हो, त्यो गर्नाले के हुन्छ र त्यो किन गर्नुपर्छ? यदि यो ज्ञान छैन भने साधना विफल हुनेछ। यो जान्नु जरुरी छ कि यो जुन क्रिया वा आसन वा जे-जति निर्देशन मिलेको छ, त्यो गर्नाले शरीर र चित्तमा के असर हुन्छ भन्ने कुरा सुरुदेखि नै जान्नु जरुरी छ। अनि यो पनि जान्नु जरुरी र आवश्यक छ कि यो मैले किन गर्नुपर्छ? मानिसहरू सोच्छन् 'ल, आजदेखि शीर्षासन सुरु गर्छु, त्यसपछि शवासन गर्छु।' किन भन्दा? 'तेत्ति थाहा छ।' त्यो व्यक्तिलाई यो थाहा छैन कि किन गर्ने हो। बस कतैबाट देख्यो वा कतैबाट सुन्यो अनी 'हो, म नी यो गर्छु , तिमी पनि गर।' ठिक छ, तर किन? उसले कहिल्यै सोधेन। 'ल, आजदेखि प्याज खान छोड्छु।' किन? त्यो थाहा छैन। मानिसहरू भन्छन् कि साधकले प्याज खानु हुँदैन, त्यसैले छोडिदिए। अनी मेरो त विवाह भइसक्यो, तर मलाई त ब्रह्मचर्य हुनु छ। किन भन्दा थाहा छैन। उल्टै सोध्छन 'के ब्रह्मचर्य हुनु ठिक होइन र? मेरो ऊर्जा खेर गइरहेको छ...'! अनी गुरुले त्यस बारेमा बताउनुभयो र गर्दै हुनुहुन्छ भन्दा 'नाइँ, मैले सोधिनँ।' अनि किन नसोधेको त? 'नाइँ, मलाई थाहा छ।' त्यसो भए गर, उसो भए तिमी आफैँ गुरु हौ।" "यसरी पूर्ण ज्ञानबिना मानिसहरू साधना गर्छन् र जब त्यसको फल मिल्दैन, तब उनीहरू के सोच्छन्? उनीहरू भन्छन् 'अध्यात्म बेकार छ, अध्यात्म अन्धविश्वास हो।' यो त्यस्तै हो, जस्तै तपाईँले कार चलाउन सिक्नुभएको छैन तर एउटा ठुलो कार किन्नुहुन्छ र लगेर कतै ठोक्नुहुन्छ। गल्ती कसको हो त? कारको। उनीहरू भन्छन्'कार नै बेकार छ, मेरो पैसा बर्बाद भयो।' यदि कारको ज्ञान लिएको भए, ब्रेक कहाँ छ, एक्सीलेटर कहाँ छ भन्ने बुझेको भए यस्तो किन हुन्थ्यो र? ज्ञान भएन भने त दुर्घटना त हुन्छ नै। धेरै यस्ता मानिसहरू छन् जो गुरु खोज्न निकै अल्छी गर्छन्। उनीहरू सोच्छन् 'म किन कसैलाई खोजूँ? किताब पढिहाल्छु नि, भिडियो सुनिहाल्छु। घरमा आरामसँग बसेर जे मन लाग्छ त्यही गर्न सक्छु।' तर त्यस्तो साधनाको कुनै फल मिल्दैन। धेरै यस्ता साधनाहरू हुन्छन् जसमा गुरुको संकल्प आवश्यक हुन्छ। यदि गुरुले संकल्प गर्नुभएन भने त्यसको कुनै प्रभाव पर्दैन। कुण्डलिनी मार्गमा पनि यस्तै हुन्छ। शक्तिपात भएन भने तपाईँले जतिसुकै गरे पनि केही हुनेवाला छैन, उल्टै नोक्सान हुन सक्छ। अनी धेरै मानिसहरू कतैबाट मन्त्र पढ्छन् वा सुन्छन् र त्यसलाई दोहोर्याउन वा जप्न थाल्छन्। यदि त्यो मन्त्र गुरुले दिनुभएको होइन भने, कि त त्यो विफल हुन्छ कि त हानी गर्दछ। 'ए, तपाईँ गर्नुहुन्छ, म पनि गर्छु' भनेर यस्तो साधना गरियो भने त्यसले पक्कै पनि केही न केही नोक्सान गर्छ नै ।" "पढेलेखे हुनुको अर्थ यो होइन कि ज्ञान प्राप्त भयो। जतिसुकै किताबहरू पढ्नुहोस्, अध्यात्म आउँदैन। किन? किनकि यो प्रयोगात्मक हो र पूर्ण रूपमा गुरुमा निर्भर हुन्छ। जस्तो कि मैले भनेँ गुरु धुरी हुनुहुन्छ, उहाँबिना पाङ्ग्रा घुम्दैन। अध्यात्मको चक्र गुरुबिना चल्दैन। जतिसुकै पढ्नुहोस्, जतिसुकै सुन्नुहोस्, केही पनि हुनेवाला छैन। केही मानिसहरू एउटा साधनामा अर्को साधना मिसाउँछन्। यसका पनि निकै नराम्रा परिणामहरू आउँछन्। पहिलो कुरा त गुरुलाई नसोधी यसरी मिसावट गर्नु मूर्खता हो। कसैले मार्गहरूको मिसावट गर्छन्, कसैले मन्त्रहरूको त कसैले देवी देवताहरूको। यसरी मार्गहरूको मिसावट गर्नु र त्यसमा पनि साधनाको विधि मिसाउनु ठिक होइन। त्यसलाई पूर्ण रूपमा शुद्ध राख्नुपर्छ। कतिपयले आफ्नो मनमर्जीले साधना सुरु गर्छन् र जब केही अनौठा परिणामहरू देखिन थाल्छन्, तब उनीहरू डराउँछन्। अब उनीहरू इमेल गर्छन् कि 'मलाई साधना गर्दा निकै डर लाग्छ।' मैले सोधेँ 'अनि किन गर्छौ त?' उनीहरू भन्छन् 'मैले यति दिनदेखि यो गर्दैछु र मेरो शरीरमा, टाउकोमा निकै पीडा हुन्छ, निद्रा लाग्दैन, यस्तो हुन्छ, उस्तो हुन्छ।' मैले भनेँ 'पहिले साधना बन्द गर्नुहोस्। यो साधना तपाईँका लागि उपयुक्त छैन, तपाईँलाई सुहाइरहेको छैन। कसैले तपाईँलाई यो गर्न भनेको पनि छैन।' उनीहरूलाई सोध्दा कुन मार्गमा छु भन्ने पनि थाहा हुँदैन 'थाहा छैन कुन मार्गमा छु, मलाई त बस साधना गर्नु छ।' क्रोध उस्तै छ, वासना मर्दैन, पशु वृत्ति मर्दैन। म सोध्छु 'अनि किन गर्नुहुन्छ त साधना?' जब केही भइरहेको छैन, उल्टै समय खेर गइरहेको छ वा नोक्सान भइरहेको छ वा डर र विभिन्न मानसिक विकारहरू पैदा भइरहेका छन्, अनेकौँ भ्रमहरू भइरहेका छन् भने त्यो साधना गर्नुको के फाइदा छ र?" यदि साधनामा सुख छैन, आनन्द छैन वा सन्तुष्टि मिल्दैन भने त्यस्तो साधना गर्नु हुँदैन। यदि त्यसको परिणाम यति धेरै नकारात्मक हुन्छ भने त झन् पटक्कै गर्नु हुँदैन। यो त त्यस्तै हो जस्तै घन लिएर किला ठोक्दा बारम्बार आफ्नै हातमा हानिरहनु,'अनी हात दुख्यो भन्नु । दुख्यो भने हातमा किन हानेको त? किलामा किन नहिर्काएको?' उत्तर आउँछ 'मलाई त यति मात्रै आउँछ।' अब मलाई बताउनुहोस् कि यो पीडा कसरी निको हुन्छ? साधारण कुरा हो घन चलाउन छोडिदिनुहोस्, पीडा हराउँछ। तर मानिस भन्छ 'होइन, मलाई पीडा निको पार्नु छ, तर घन भने चलाइरहन्छु।' यदि त्यस्तै गर्ने हो भने गरिरहनुहोस्, म केही गर्न सक्दिनँ। जुन साधना तपाईँका लागि उपयुक्त हुन्छ, त्यसले आनन्द प्रदान गर्छ। त्यसबाट सुख र सन्तुष्टि मिल्छ। त्यो साधना गरेपछि तपाईँको पूरा दिन राम्रो जान्छ। त्यो साधना जस्तो लाग्दैन, बरु खेल वा मनोरञ्जन जस्तो लाग्छ। मैले देखेको छु, जब साधनाको फल मिल्दैन र यस्तो सुख-आनन्द प्राप्त हुँदैन, तब मानिसहरूले साधना छोडिदिन्छन् र फेरि संसारले उनीहरूलाई समात्छ। धेरै यस्ता साधनाहरू छन् जुन निरन्तर गरियो भने मात्र फल मिल्छ, नत्र मिल्दैन। धेरै पटक तपाईँले साधना र मार्ग सही रोज्नुभएको हुन्छ, तर त्यसमा विघ्न बाधाहरू आउँछन्। किनकि चित्त अशुद्ध छ, त्यसैले यसले केही न केही बाधा खडा गरिदिन्छ। कहिलेकाहीँ बाधा शारीरिक हुन्छ, कहिले ग्रन्थिहरूका कारण त कहिले बुद्धि शुद्ध नभएका कारण हुन्छ। जसले यी अवरोधहरूलाई बेवास्ता गर्छ र गुरुसँग 'यस्तो भइरहेको छ, म के गरूँ?' भनेर सोध्दैन, उसको साधना विफल हुन्छ। जब विघ्न आउँछ, तपाईँ सावधान हुनुपर्छ। पहिले त्यो विघ्नलाई हटाउनुपर्छ, त्यसपछि मात्र साधना अगाडि बढाउनुपर्छ।" "गुरुले भन्नुभयो कि बिहान साढे तीन बजे उठेर साधना गर्नुपर्छ, यो मन्त्र जप गर्नु र यो ध्यान गर्नु। अब त्यो साधकले सोच्छ 'यति राति कसले साधना गर्छ र? कुन गधा यति राति उठेर साधना गर्छ? मलाई त बेलुका पाँच बजे समय मिल्छ, म पाँच बजे नै गर्छु।' यदि यसो गरियो भने धेरै वर्षपछि पनि त्यसको कुनै फल आउँदैन। अब ऊ गुरुकोमा जान्छ र भन्छ 'तपाईँको साधना बेकार छ, मलाई कुनै निकै शक्तिशाली साधना दिनुहोस्।' गुरुले सोध्नुहुन्छ 'मैले भनेको साधना सधैँ गर्छौ त?' साधक भन्छ 'हो, सधैँ गर्छु।' 'कति बजे गर्छौ?' 'पाँच बजे।' 'मैले कहिले भनेको थिएँ?' 'बिहान साढे तीन बजे।' अनि फल कसरी आउँछ त? जुन साधना वा मन्त्र दिइएको छ, त्यसको आफ्नै निश्चित समय हुन्छ। साधना गर्दा तपाईँको भोजन पनि सही हुनुपर्छ। भोजन कस्तो हुनुपर्छ भन्ने कुरा केवल गुरुले मात्र बताउन सक्नुहुन्छ, किनकि यो पूर्ण रूपमा साधनामा निर्भर हुन्छ। केही मार्गहरूमा केवल फलाहार मात्र गरिन्छ, केहीमा उपवास बस्नुपर्छ, तर सबै मार्गमा उपवास हुँदैन। साधकहरूलाई यो थाहा हुँदैन। उनीहरू आफ्नो मनमर्जीले वा कतै पढेको भरमा 'आजदेखि म यही खान्छु' भनेर निर्णय गर्छन्। उनीहरू गुरुलाई सोध्दै सोध्दैनन्। वास्तवमा, शरीरको बनावट र शरीरमा विद्यमान आयुर्वेदिक दोषहरूका आधारमा भोजन तय गरिन्छ। केही मार्गहरूमा भाषा शुद्ध हुनु निकै जरुरी हुन्छ, जस्तै ज्ञान मार्ग। यदि भाषा शुद्ध भएन र शब्दहरूको सही अर्थ थाहा भएन भने बुद्धिमा पूरै फोहोर भरिन्छ। त्यसपछि बुद्धिले जुन तर्क प्रयोग गर्छ, त्यो पूर्ण रूपमा भ्रष्ट हुनेछ। यसबाट ज्ञान होइन, उल्टै अज्ञानता र मानसिक विकारहरू बढ्नेछन्। त् यसैगरी, मन्त्र साधना हो र मन्त्रको उच्चारण सही भएन भने कि त त्यसको कुनै फल आउँदैन, कि त त्यसले उल्टै हानी पुर्याउँछ।" "जसले मूर्ति पूजा गर्छन्, उनीहरू बजारबाट मूर्ति किनेर ल्याउँछन्। त्यसको कुनै प्राण-प्रतिष्ठा हुँदैन, त्यसमा कुनै मन्त्रोच्चारण हुँदैन। त्यो केवल ढुङ्गा वा धातु मात्र हुन्छ। त्यसमा कुनै प्राण हुँदैन र त्यसमा इष्टदेवको बास पनि हुँदैन। अब यस्तो साधनाको फल शून्य हुन्छ। यदि त्यो विधि अनुसार गरिएको छैन वा कुनै राम्रो तान्त्रिकद्वारा गरिएको छैन भने, त्यही मूर्तिले नराम्रो फल दिन्छ, नोक्सान गर्छ र जीवन नरक बनाइदिन्छ। यदि मूर्ति खण्डित छ, मूर्तिमा दोष छ, ठिकसँग बनाइएको छैन वा कुनै अनाडीले बनाएको हो भने, त्यस्तो मूर्तिले फाइदा होइन नोक्सान पुर्याउँछ। यसैगरी, जसले यन्त्र साधना गर्छन्, उनीहरूले आफ्नो मनमर्जीले यन्त्र नबनाऊन्। हुन त यो साधना लोप भइसकेको छ, तर केही मानिसहरू गर्छन् र जताततै यन्त्र बनाएर झुन्ड्याइदिन्छन्। त्यो ठिक होइन। त्यो त यन्त्रको अपमान हो। त्यसलाई घरमा फोटो जस्तै झुन्ड्याउने होइन। सही ठाउँमा, पूजा कोठामा, सही स्थान र सही दिशामा त्यो यन्त्र बन्नुपर्छ। त्यो यन्त्रको अर्थ पनि थाहा हुनुपर्छ। यन्त्र वास्तवमा मानसिक हुन्छ, भौतिक हुँदैन। मानिसहरूले बनाउन त बनाउँछन्, तर उनीहरूलाई त्यसको अर्थ थाहा हुँदैन। मूर्तिमा पनि सही यन्त्र हुनुपर्छ। अन्धविश्वासले सिधै कुनै नोक्सान त गर्दैन, तर यसले विभिन्न किसिमका मनोरोगहरू भने निम्त्याउन सक्छ।" "त्यसै गरी सही इष्टदेवको सही मन्दिरमा गएर तपाईंले उचित विधिले पूजा गर्नुपर्छ। मैले देखेको छु, मानिसहरू हरेक मन्दिरमा पस्ने गर्छन्। जोसुकै इष्टदेव हुन्, हरेक मूर्तिको अगाडि पूजा गर्न थाल्छन्। कसैले नभने पनि उनीहरू जबरजस्ती त्यो मूर्तिको पूजा गरिहाल्छन्। यहाँनेर के बुझ्नुपर्छ भने, यसरी जथाभाबी पूजा गर्दा इष्टदेव रुष्ट हुन सक्नुहुन्छ। तपाईंले आफ्नो इष्टको बाहेक अरू मन्दिरमा प्रवेश पनि गर्नु हुँदैन। यदि बाटोमा जाँदा कुनै मूर्ति अगाडि आइहाल्यो भने टाढैबाट नमस्कार गरेर अगाडि बढ्नुपर्छ। यो कुरा धेरै मानिसहरूलाई थाहा छैन। विशेष गरी, जुन तान्त्रिक वा तन्त्र साधनाका लागि बनेका मन्दिर हुन्, त्यहाँ साधारण मानिसले पाइला पनि टेक्नु हुँदैन। र त्यसै गरी, तन्त्र साधना गर्नेहरू भक्ति मार्गका लागि बनेका मन्दिरहरूबाट कम्तीमा १० किलोमिटर टाढा रहनुपर्छ। यो कुरा नबुझी मानिसहरू आफ्नो मनमर्जी गरिरहन्छन्। यसले गर्दा कि त केही न केही नोक्सान हुन्छ कि त कुनै फल नै मिल्दैन। पूर्णतया अन्धविश्वास मा चलेको छ । तेस्तै जब तपाईं तन्त्र साधना, पूजा वा योगमा आसनमा बस्नुहुन्छ, तब दिशाको धेरै ध्यान राख्नुपर्छ। कुन दिशामा बस्ने? आसन कस्तो हुनुपर्छ? र कुन दिशामा फर्किएर प्रणाम गर्ने? सबै इष्टदेव र कुल देवताहरूको आफ्नै निश्चित दिशा हुन्छ। कसैलाई यो कुरा थाहा होला जस्तो मलाई लाग्दैन। हरेक पूजाका लागि छुट्टाछुट्टै आसन हुन्छ, यो पनि मानिसहरूलाई थाहा हुँदैन। अचेल त मानिसहरू उभिएरै पूजा गर्छन्। कतिपय सहरमा त मानिसहरूसँग समय नै हुँदैन, उनीहरू मन्दिरको बाहिरबाटै आधा सेकेन्डको पूजा गरेर हिँडिदिन्छन्। अब यसबाट के प्राप्त हुन्छ र? जुन पूजा विधि, जुन प्रतिष्ठा वा स्थापना गरिएको छ, त्यसको नियम पालना नगरेसम्म केही हुनेवाला छैन। र यदि ती इष्टदेवलाई रिस उठ्यो भने त फेरि बर्बादी त निश्चित नै छ।" "तपाईँ जुन साधनामा हुनुहुन्छ, त्यसैसँग सम्बन्धित ग्रन्थ मात्र पढ्नुपर्छ। यदि तपाईँले अरू केही पढ्नुभयो भने तपाईँको साधना भङ्ग हुनेछ। किनकि त्यसले मनमा ठुलो दुविधा उत्पन्न गराउँछ कि 'यहाँ त यस्तो लेखिएको छ, त्यहाँ त्यस्तो लेखिएको छ, अब कुन चाहिँ सत्य हो?' त्यसै गरी, केही मानिसहरू आफ्नो मनले नियम बनाउँछन् कि 'हाम्रो खानदानमा त यही हुँदै आएको छ।' अब त्यसको कुनै कारण त होला नि? के तपाईँको मार्ग पनि त्यही हो? वा केवल खानदानी मार्ग मात्र हो? गुरुले जे भन्नुहुन्छ, त्यसै अनुसार नियम पालन गर्नुपर्छ र आफ्नो मनमर्जीले केही पनि गर्नु हुँदैन। त्यसै गरी, ब्रह्मचर्यको बारेमा गुरुलाई सोध्नु आवश्यक छ। यो सबैले गर्नुपर्ने कुरा होइन। र यदि गुरुले भन्नुभएको छ कि यहाँ ब्रह्मचर्य आवश्यक छ भने, आफ्नो मर्जीले त्यसलाई तोडमोड नगर्नुहोस्। जसले गुरुको निर्देशन अनुसार नियमहरूको पालन गर्दैनन्, उनीहरूको साधना विफल हुन्छ चाहे त्यो जुनसुकै साधना होस्। केही मानिसहरू आश्रममा सिक्छन् र सोच्छन् अरे, अब आश्रम को जान्छ दिनदिनै? घरमै गर्छु।' याद राख्नुहोस्, आश्रममा जे गरिन्छ, त्यो घरमा गर्नु हुँदैन। यदि केही कुरा घरमा गर्न मिल्ने भए गुरुले निर्देशन दिनुहुन्थ्यो कि 'यो कुरा घरमा गर्न सकिन्छ, बाँकीका लागि आश्रममै आउनुपर्छ।' गृहस्थहरूका लागि साधना अलग हुन्छ। 'नाइँ-नाइँ, म त त्यही (शक्तिशाली) साधना घरमै गर्छु' भन्नुहुन्छ भने त्यसको परिणाम के हुन्छ, त्यो भगवानलाई पनि थाहा छैन। यदि तपाईँलाई कुनै कुरा थाहा छैन भने, आफ्नो मनगढन्ते विचार वा कल्पना नबनाउनुहोस्। गुरुलाई सोध्नु आवश्यक छ। जति धेरै प्रश्न सोध्नुहुन्छ, तपाईँको मार्ग त्यति नै स्पष्ट हुनेछ। एउटा सामान्य ज्ञानको कुरा यदि तपाईँको शारीरिक वा मानसिक अवस्था ठिक छैन भने कुनै पनि साधना नगर्नुहोस्। मानसिक अवस्था ठिक नभई गरिने साधनाले तपाईँको स्थितिलाई अझ भ्रष्ट बनाउँछ। विशेष गरी ज्ञान मार्ग र कुण्डलिनी मार्गमा यो कुरा कडाइका साथ लागू हुन्छ। मानसिक अवस्था ठिक नहुँदा यहाँ केही साधनाहरू गर्न वर्जित छ, नत्र तपाईँ पूरै पागल हुनुहुनेछ।" "त्यसैगरी शरीर स्वस्थ छैन भने विशेष प्रकारको साधना गर्नु हुँदैन। हो, शरीरमा केही समस्या छ भने ज्ञान मार्ग चल्न सक्छ। किनकि ज्ञान त बौद्धिक हो, शरीरले थोरै धेरै साथ दिइरहेको छैन भने पनि चल्नेछ। तर तपाईँ योग गर्न चाहनुहुन्छ, आसन गर्न चाहनुहुन्छ र शरीर ठिक छैन भने त त्यो मार्ग नै छोड्नुपर्छ। अर्को कुरा, यदि साधना तपाईँलाई केही दिनका लागि मात्र भनिएको हो भने त्यसलाई अनावश्यक रूपमा लामो समयसम्म तन्काउनु हुँदैन। धेरैले भन्छन् 'म यो विपश्यना गर्दैछु' वा 'म यो योग गर्दैछु।' सोध्दा कति समय भयो भन्दा 'तीस वर्ष भइसक्यो' भन्छन्। अब तीस वर्षसम्म पनि त्यसको कुनै फल नै आएको छैन भने किन त्यसलाई जबरजस्ती तन्काइरहनुभएको त? त्यसको सीधा अर्थ हो त्यो साधना तपाईँका लागि होइन। साधना चरणबद्ध हुन सक्छ, तर यदि तपाईँ यति धेरै वर्षसम्म एउटै चरणमा अड्किरहनुभएको छ भने त्यो साधना होइन, त्यो त केवल समयको बर्बादी मात्र हो। त्यसमा प्रगति पनी देखिनुपर्छ।" "त्यसैगरी, केही मानिसहरू हतारिन्छन्। उनीहरूलाई एकै दिनमा सबै कुरा गर्नु छ। तर वास्तविकता के हो भने, जुन साधनाले जति समय लिन्छ, त्यति नै लिन्छ। जुन कुरा सही समयमा हुन्छ, त्यो नै ठिक हुन्छ। साधनामा हतारोपन वा उताउलोपन हुनु हुँदैन। यदि प्रगति भइरहेको छैन भने आत्म-मूल्यांकन गरिरहनुपर्छ। मेरो प्रगति किन भइरहेको छैन, यो पनि हेर्नुपर्छ। हरेक दुई-तीन महिनामा, छ महिनामा वा वर्ष दिनमा साधना कस्तो छ त्यसमा भर पर्छ तपाईँले आफ्नो मूल्यांकन गरिरहनुपर्छ। यदि गुरु हुनुहुन्छ भने यसको आवश्यकता पर्दैन। गुरुको काम नै मूल्यांकन गरिरहनु हो कि तपाईँको प्रगति भइरहेको छ वा छैन। तपाईँको प्रगति रोकियो भने त्यतिबेला तपाईँ गुरुकोमा जानुपर्ने हुन्छ। तर केही मानिसहरू न मूल्यांकन गर्छन्, न आफ्नो प्रगति नै जाँच्छन् र अन्धाधुन्ध साधना गरिरहन्छन्। त्यसको त कुनै फल प्राप्त हुने छैन। यदि साधनामा कुनै बाधा वा दोष छ र त्यसलाई नसुधारी साधना चलिरहेको छ भने त्यसको फल शून्य नै हुनेछ।" "यदि कुनै पनि फल प्राप्त हुँदैन र धेरै वर्ष बितिसक्यो भने त्यो साधना गर्नु हुँदैन। जुनसुकै साधना होस्, त्यो गर्नु हुँदैन, छोडिदिनुपर्छ। किन? किनकि त्यो तपाईँका लागि उपयुक्त छैन। तपाईँले गलत मार्ग रोज्नुभयो, गलत गुरु रोज्नुभयो वा तपाईँको लक्ष्य नै गलत छ यस्तै केही भएको छ। वा त्यो साधना तपाईँको शरीरका लागि उपयुक्त छैन वा तपाईँमा केही न केही मानसिक दोष छ। कतै न कतै साधनामा नै दोष आएको छ, गलत साधना भइरहेको छ वा तपाईँ आध्यात्मिक हुनुहुन्न। वा तपाईँले जे गर्नु हुँदैनथ्यो, त्यही गरिरहनुभएको छ। याद राख्नुहोस्, हरेक साधनाले कुनै न कुनै चिह्न वा सङ्केत छोड्छ, जसबाट थाहा पाउन सकिन्छ कि त्यसमा प्रगति भइरहेको छ वा छैन। यस्तो निकै कम हुन्छ कि 'अहिले गरिरहनुहोस्, २० जन्मपछि फल मिल्नेछ।' यस्तो विरलै हुन्छ। केही मानिसहरू सांसारिक आवश्यकताका लागि, सांसारिक इच्छा पूर्तिका लागि वा सांसारिक बाधाहरू हटाउनका लागि आध्यात्मिक साधना गर्छन् र मैले भनिरहनु पर्दैन कि यसको फल शून्य आउँछ। जब सोधिन्छ ' यो साधना किन गर्दै हुनुहुन्छ?' उनीहरू भन्छन् 'जागिर खानका लागि गर्दैछु।' अब, त्यसको जुन उपाय छ, त्यो त पूर्ण रूपमा सांसारिक छ। फेरि सोधिन्छ 'जागिरका लागि के गर्नुहुन्छ?' उनीहरू भन्छन् 'म यो देवताको पूजा गर्छु। उता त्यो नदीमा गएर नुहाउँछु।' अब नदीमा नुहाउनाले जागिरसँग के सम्बन्ध छ र? यो केवल अन्धविश्वास हो, साधना होइन।" "त्यसैगरी 'मेरा सन्तान भइरहेका छैनन्' भन्दै कोही आउँछन्। अब कसैले भनिदियो 'यो शिवलिङ्गको पूजा गर्नुस' वा 'गाउँ बाहिर एउटा रूख छ, त्यसको पूजा गर्नुस।' याद राख्नुहोस्, अब यो साधना होइन, यो त मूर्खता हो। सन्तान भइरहेका छैनन् भने त्यसका लागि तपाईँसँग डाक्टरकोमा उपाय छ। धेरै मानिसहरू गुरुहरूकहाँ आफ्ना सांसारिक दुःखहरू लिएर मात्र आउने गर्छन् 'यो भइरहेको छैन, त्यो भइरहेको छैन, केही मन्त्र बताइदिनुहोस्।' त्यो सुनेर गुरु पनि आफ्नो टाउको समाउनुहुञ्छ कि 'यिनीहरूले मेरो के हविगत बनाइदिए! कसैले मलाई वैद्य बनाइदिए त कसैले मलाई वकिल बनाइदिए। अब म गुरु नै रहिनँ।' यी मानिसहरूले साधनामा 'सस्तोपन' लिएर आउँछन्। गायत्री मन्त्र वा शिवका मन्त्रहरू जस्ता महान् मन्त्रहरूलाई अचेल फ्याक्ट्रीमा उत्पादन बढाउनका लागि प्रयोग गरिँदैछ। अब यति धेरै नीचता भएपछि त्यसको के फल आउला र? जब स्वयं साधक नै सस्तो छ भने उसको साधना पनि सस्तो हुन्छ, अनि फल प्राप्त हुँदैन।" "यदि कुनै साधनामार्फत अरूको हानि हुन्छ भने त्यो पटक्कै गर्नु हुँदैन। त्यसका कर्मका फलहरू निकै नराम्रा आउँछन्। तन्त्र मार्गमा यो सम्भव छ र यहाँसम्म कि अरू मार्गहरूमा पनि यो हुन सक्छ। जस्तै, तपाईं संन्यास लिन चाहनुहुन्छ तर तपाईंका श्रीमती, छोराछोरी र आमाबाबु सडकमा आउँछन् वा भोकै हुन्छन भने, तपाईंले संन्यासबाट जुन लाभ पाउनुपर्ने थियो, त्यो पाउनुहुने छैन। उल्टै कर्मको बोझ अझ बढ्नेछ, किनकि तपाईंले आफ्नो जिम्मेवारी पूरा गर्नुभएन। त्यहाँ परिवारको हानि भयो। त्यसैगरी, घरमा बालबालिका वा महिलाहरू छन् जसको मनोस्थिति कमजोर छ भने, त्यस्तो ठाउँमा कुनै तन्त्र साधना गर्नु हुँदैन। कुनै अशरीरी प्राणी आएर तपाईंलाई नसमाते पनि उनीहरूलाई पक्कै समात्नेछ। यसैगरी, पारिवारिक सम्बन्धहरूको उपेक्षा गर्नु हुँदैन। यदि तपाईंको परिवार छैन भने त धेरै राम्रो कुरा हो, तपाईं जे गर्न पनि स्वतन्त्र हुनुहुन्छ। तर यदि परिवारको बन्धन र दायित्व छ भने त्यसको उपेक्षा गर्नु हुँदैन। तपाईंले त्यस्तो साधना वा मार्ग रोज्नुपर्छ जुन गृहस्थका लागि बनाइएको हो। सबैका लागि मार्गहरू छन्। 'नाइँ-नाइँ, म त त्यही गर्छु जुन त्यो व्यक्तिले गर्छ, उसलाई साधनाको धेरै लाभ मिलिरहेको छ' भन्नु गलत हो। ऊ त एक्लै बस्छ, उसको कोही छैन, उसले जे पनि गर्न सक्छ। तर तपाईंले त जागिर पनि गर्नुपर्छ, पैसा पनि कमाउनुपर्छ, ट्याक्स भर्नुपर्छ, बच्चाहरूलाई स्कुल पनि पुर्याउनुपर्छ, खाना बनाउनुपर्छ र घरको सफाइ पनि गर्नुपर्छ। त्यसैले तपाईंले यस्तो मार्ग रोज्नुपर्छ जुन यी सबै काम गर्दै पनि गर्न सकियोस्। नत्र अर्को जन्ममा परिवार नमिलोस् वा यस्तो परिवार नमिलोस् भनेर प्रार्थना मात्र गर्नुपर्छ। यदि परिवारले नै तपाईंको साधनाको विरोध गरिरहेको छ, सबैको आँखा तपाईंको साधनामा छ र उनीहरूले रोकावट गरिरहेका छन् भने, त्यो साधनाको फल कहिल्यै आउने छैन।" "त्यसै गरी, सामाजिक उत्तरदायित्व पनि निभाउनुपर्छ। सामाजिक स्तरमा पनि सबैसँग मिलिजुली बस्नुपर्छ। 'तिम्रो साधना त नराम्रो छ, मेरो साधना राम्रो छ, तिम्रो साधना झुटो हो, मेरो साधना सत्य हो' यस्ता धेरै मानिसहरू भेटिन्छन्, जो झगडा खडा गर्छन्। उनीहरूले जे गर्छन्, त्यसको के हुन्छ थाहा छैन, तर अरूलाई चिढ्याएर वा रिसाएर तपाईँको साधना चाहिँ पक्कै भ्रष्ट हुनेछ। तपाईँको सामाजिक व्यवहार राम्रो हुनुपर्छ। अरूले जे गरिरहेका छन्, गर्न दिनुहोस्। तपाईँले आफ्नो साधना गर्नुपर्छ र साधनामा कहिल्यै 'अति' गर्नु हुँदैन। गुरुले भन्नुभएको छ यो मन्त्र १५ मिनेटभन्दा बढी नजप्नु। तर तपाईँ घर आउनुहुन्छ, मन्त्र जप्नुहुन्छ, ६ महिना भयो केही भएन। अब तपाईँ सोच्नुहुन्छ 'गुरुले १५ मिनेट त भन्नुभएको थियो, तर लाग्छ यसमा पावर छैन, म यसलाई ३ घण्टा गरिदिन्छु।' अब त्यो मन्त्रको असर के हुन्छ थाहा छैन, तर भगवानले पनि तपाईँलाई त्यो मन्त्रको कुप्रभावबाट बचाउन सक्नुहुन्न। केही मानिसहरू साधना गर्दैनन्, केवल पाखण्ड गर्छन्। तिलक लगाउँछन्, रुद्राक्ष आदि पहिरिन्छन्। विभिन्न रङका कपडाहरू लगाउँछन्। यसबाट उनीहरूले सामाजिक आदर-सम्मान पाउँछन्, किनकि साधारण मानिसहरूलाई थाहा हुँदैन कि यो वास्तवमा को हो। बाहिरबाट हेर्दा साधक जस्तो देखिन्छ, तर ऊ केवल पाखण्डी हुन्छ। उसलाई केही आउँदैन, साधना-वाधना केही छैन, केवल ढोंग गर्छ। र केही मानिसहरूले साधना गरिरहेका भए पनि त्यसमा पाखण्ड धेरै र साधना कम हुन्छ भने त्यस्तो साधनाको पनि कुनै फल आउँदैन। साधना हाम्रो व्यक्तिगत काम हो, कसैलाई देखाउनु आवश्यक छैन। यदि तपाईँको मनमा यो भाव आयो कि सबैलाई भनी-भनी वा देखाएर साधना गर्नु छ भने, त्यो साधना विफल नै हुनेछ। कहिलेकाहीँ गुरुहरूले यो देख्नुहुन्छ र ती साधकलाई राम्रोसँग हप्काइदिनुहुन्छ कि 'यो के गरिरहेका छौ?' तर मैले देखेको छु कि जो पाखण्डी हुन्छन्, उनीहरूको गुरु पनि हुँदैन। उनीहरूको गुरु पनि पाखण्डी नै हुन्छ। उनीहरूले आफ्नै गुरुबाट ढोंग गर्न सिक्छन्।" "केही मानिसहरू गुरुको ठुलो फोटो लगाएर वा कहिलेकाहीँ गलामा झुन्ड्याएर हिँड्छन्, तर गर्ने चाहिँ केही पनि होइन। उनीहरू अरुलाई यो देखाउन चाहन्छन् कि 'हेर म साधना गर्छु, यी मेरा गुरु हुन्' र जनताले पनि उसलाई कुनै ठुलो मान्छे होला भनी सोच्छन्। तर जसले यसो गर्छ, उसले आफ्नो कर्मको निकै नराम्रो फल भोग्नुपर्ने हुन्छ। अध्यात्मलाई जब हामी यसरी नीच कार्य वा स्वार्थका लागि उपयोग गर्छौँ, तब त्यसको निकै भयानक फल मिल्छ। मानिसहरू पैसा कमाउनका लागि पनी धेरै नीच काम गर्छन्, तर त्यसको फल त्यति नराम्रो हुँदैन जति अध्यात्मको दुरुपयोग गर्दा मिल्छ। आफ्नो साधनालाई सधैँ गुप्त राख्नुपर्छ, सबैलाई सुनाउँदै हिँड्नु हुँदैन। तपाईँले पाखण्डीले गर्ने भन्दा ठ्याक्कै उल्टो गर्नुपर्छ। पाखण्डीले सबैलाई म यसो गर्छु भन्दै सुनाउँछ, तर वास्तविक साधकले कसैलाई पनि केही बताउँदैन। साधक त त्यो हो, जसको छेउमा बस्दा पनि उसले कुनै साधना गर्छ भन्ने कुरा कसैले पत्तो नपाओस्। सबैसँग सधैँ अध्यात्मका कुरा मात्र गरिरहने वा अध्यात्मको खोल ओढेर बसिरहने गर्नु हुँदैन। 'ए तिमी त आध्यात्मिक छैनौ, लौ यो लेक्चर सुन, अनी कल्याण हुन्छ' यस्तो भन्दै हिँड्ने होइन। कसैले सोध्दैन भने मुख पनि खोल्नु हुँदैन। धेरै साधनाहरू यस्ता हुन्छन्, जसलाई पूर्ण रूपमा गोप्य राख्नुपर्छ। जस्तै तन्त्र साधना आफ्नो श्रीमती वा आमालाई समेत आफूले के गर्दैछु भन्ने बताउनु हुँदैन। यदि बताउनुभयो भने त्यो साधना विफल हुन्छ र इष्टदेव रुष्ट हुनुहुन्छ। कुण्डलिनी जस्ता धेरै साधनाहरू मानिसहरूबाट अलग रहेर गर्नुपर्छ, किनकि तपाईँ चाहनुहुन्न कि त्यो कुण्डलिनी शक्ति कतै अरू नै काममा खर्च होस्। यस्ता साधनाहरू बालबच्चा र परिवारबाट टाढा रहेर गर्नुपर्छ। मन्त्र साधनाको कुरा पनि त्यस्तै हो तपाईँलाई जुन मन्त्र दिइएको छ, त्यो अरू कसैको कानमा झुक्किएर पनि पर्नु हुँदैन। त्यसैले तान्त्रिकहरू जङ्गल, हिमालय वा टाढा गुफामा गएर साधना गर्छन्, किनकि उनीहरूलाई थाहा छ कि यसलाई गुप्त राख्नु कति अनिवार्य छ।" "यदि तपाईँको साधना अरू मानिसहरूमा निर्भर छ भने त्यसको कुनै फल प्राप्त हुने छैन। किनकि जब अरू मानिसहरू हुँदैनन्, तब तपाईँले साधना गर्न सक्नुहुने छैन। मैले देखेको छु, मानिसहरू सामूहिक रूपमा ध्यान गर्छन्, सामूहिक रूपमा आसनहरू गर्छन् र भन्छन् 'लौ न त , क्लबमा जाऊँ, योगा क्लब।' भीड जम्मा गर्छन् र सबैजना मिलेर गर्छन्। याद राख्नुहोस्, यो अध्यात्म होइन। यसले तपाईँको सामाजिक मेलमिलाप र मानिसहरूसँगको मित्रता त राम्रोसँग बढ्ला, तर साधनाको वास्तविक फल भने प्राप्त हुँदैन। साधना सधैँ एक्लै गरिन्छ। बढीमा गुरुको अगाडि ३/४ जना बसेर गर्ने सम्म ठिकै होला, तर जहाँ हजारौको भीड छ र त्यहाँ साधना भइरहेको छ भने अब त्यो साधना होइन, त्यो त केवल ठट्टा मात्र हो। जब साधनाको वास्तविक फल मिल्दैन, तब मानिसहरू आफ्नै मनले अनेक कल्पनाहरू गर्न थाल्छन्। जस्तै 'हिजो मेरो जीवनमा यो राम्रो भयो, मेरो बढुवा भयो, यो पक्कै मेरो साधनाकै फल हो' वा 'म बिरामी थिएँ र निको भएँ, अब देवता ममाथि प्रसन्न हुनुभएछ, त्यसैले यस्तो भयो।' यो के हो त? यो केवल आफैँलाई धोका दिनु हो। हो, साधनाको फल अवश्य आउँछ र तपाईँलाई स्पष्ट थाहा पनि हुन्छ कि के फल प्राप्त भइरहेको छ। तर त्यो फल अक्सर सांसारिक हुँदैन। साधनाको फल त यस्तो हुन्छ, जसले तपाईँलाई यो संसारको मोह र बन्धनबाट छुट्टी (मुक्ति) दिलाउँछ। यसले संसारमा केही थपिदिने होइन, बरु संसारबाट मुक्त गराउँछ। तर मानिसहरू यसरी नै कल्पना गरेर आफैँलाई धोका दिइरहन्छन्।" "धेरै मानिसहरू त मनोरोगी भइसकेका छन्। किन? उनीहरूले १० वर्ष साधना गरे र सोच्छन् कि अब केही न केही त नतिजा आउनैपर्छ। यदि त्यस्तो भएन भने उनीहरूको मनमा विभिन्न प्रकारका विकारहरू आउँछन्। त्यसपछि उनीहरूलाई जताततै देवता देखिन थाल्छ। हरेक रूखमा देवता छ, बादलमा देवता छ, यता पनि देवता, उता पनि देवता। याद राख्नुहोस्, यो के हो? यो भ्रम हो, देवता होइन। यदि गुरु हुनुभएको भए उहाँले रोक्न सक्नुहुन्थ्यो। तर यस्ता मानिसहरूको गुरु हुँदैनन्, त्यसैले उनीहरूको साधनामा यस्तो अवस्था आउँछ। अर्को कुरा, तपाईँलाई जे सिकाइएको छ, त्यो कसैलाई पनि नसिकाउनुहोस्। जबसम्म गुरुको आज्ञा हुँदैन, कसैलाई केही पनि नसिकाउनुहोस्। हो, सानातिना कुराहरू सिकाउन सक्नुहुन्छ कि 'हेर्नुहोस्, यो जगत् माया हो र यसको कारण यस्तो छ, शास्त्रमा यस्तो लेखिएको छ।' यसले कसैलाई नोक्सान गर्दैन। तर तपाईँले कसैलाई मन्त्र सिकाइदिनुभयो वा प्राणायाम सिकाइदिनुभयो र त्यो मान्छे आधा घण्टासम्म सासै नफेरेर अस्पताल पुग्यो भने अब यसको जिम्मेवारी कसको? जब गुरुले त सबैलाई सिकाउनुहुन्न भने साधकले किन कसैलाई सिकाउने? खास गरी यदि अगाडिको व्यक्तिमा कुनै अवरोध वा अनिच्छा देखिन्छ भने तुरुन्तै आफ्नो मुख बन्द गरिहाल्नुपर्छ, किनकि अब उसलाई नोक्सान नै हुनेवाला छ। यदि तपाईँले साधनामा कुनै सिद्धिहरू प्राप्त गर्नुभयो भने, त्यसको प्रदर्शन नगर्नुहोस् र त्यसको चमत्कार नदेखाउनुहोस्। कसैको बिरामी ठिक गर्ने, कसैको जागिर लगाइदिने, कसैको व्यापार चम्काइदिने वा कसैको विवाह गराइदिने जस्ता काममा ती सिद्धिहरू खर्च नगर्नुहोस्। तपाईँले कसैको केही पनि गरिदिने होइन। ती शक्तिहरूको प्रयोग गर्दा भविष्यमा कस्तो फल प्राप्त हुन्छ, त्यो तपाईँलाई थाहा छैन।" "मैले देखेको छु, जसले चमत्कार देखाउँछन्, उनीहरू धेरै जन्मसम्म यो संसारको बन्धनमा फस्छन्, किनकि त्यसको परिणाम के हुन्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन। ठिक छ, तपाईँले कसैको बिरामी ठिक त गरिदिनुभयो, तर अब त्यो कर्मको फल के होला? उसलाई बिरामी भएको थियो उसको आफ्नै कर्मका कारणले, तर तपाईँले त्यसमा व्यवधान पुर्याउनुभयो। उसको कर्मको फल भोग्न पाएन, उल्टै तपाईँमाथि पनि कर्मको बन्धन थपियो। उसलाई त्यो बिरामी फेरि बल्झिनेछ यो जन्ममा नभए अर्को जन्ममा हुनेछ। १० वर्ष उनीहरू राम्ररी बस्लान्, तर त्यसपछि फेरि कुनै अर्कै कडा बिरामी लाग्नेछ। हामी कर्मको फललाई बदल्न सक्दैनौँ, केही समयका लागि सार्न वा टाल्न सक्छौँ, तर पूर्ण रूपमा हटाउन सक्दैनौँ। र यसरी कर्म हटाउने प्रयास गर्दा जुन बन्धन बन्छ, त्यसको सिधै प्रभाव तपाईँमाथि पर्छ। त्यसैले, जबसम्म कुनै ठोस परम्परा हुँदैन, तबसम्म कुनै चमत्कार नदेखाउनुहोस्। किनकि त्यस्तो अवस्थामा त्यो कर्मको फल परम्परा वा गुरुक्षेत्रले झेल्छ र तपाईँमाथि त्यसको भार पर्दैन। तर यस्तो निकै कम हुन्छ। जसले सिद्धि प्राप्त गर्छन्, उनीहरूलाई सबैभन्दा पहिले गुरुक्षेत्रबाटै निर्देशन आउँछ कि 'अब यसलाई कतै पनि प्रयोग नगर्नु।' यदि प्रयोग गर्नैपर्ने भए पनि त्यसको निर्देशन आउँछ र त्यसको फल साधकलाई लाग्दैन। सिद्धिहरूको प्रदर्शन पटक्कै नगर्नुहोस्। आफूलाई जादुगर (मदारी) बनाउने होइन र जनताका सामु बाँदर नचाउने काम पनि नगर्नुहोस्। याद राख्नुहोस्, जसरी यी सिद्धिहरू आउँछन्, त्यसरी नै ती हराएर पनि जान्छन्। यदि तपाईँले यी सबै सर्तहरू र अनुशासनलाई ध्यानमा राख्नुभयो भने, साधना जस्तोसुकै भए पनि त्यसको राम्रो फल मिल्नेछ। राम्रो फल प्राप्त भएन भने पनि कम्तीमा नराम्रो त पक्कै हुने छैन। साधना गरिरहनुहोस्, व्यवस्थित गर्नुहोस् र यसलाई क्रमबद्ध एवं अनुशासित रूपमा अगाडि बढाउनुहोस्। अनाडी जस्तो होइन, ज्ञानी जस्तै गरी साधना गर्नुहोस्। पक्कै पनि सफलता मिल्नेछ र सबै साधकहरूका लागि मेरो शुभकामना सधैँ छ।"
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions