Wise Words
त्रिज्ञान : आत्मज्ञान नेपाली प्रश्नोत्तर भाग ४
रोशन
त्रिज्ञान : आत्मज्ञान प्रश्नोत्तर भाग ४ *(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।)* नमस्कार। बोधि वार्तामा सबैलाई स्वागत छ। त्रिज्ञानसँग सम्बन्धित प्रश्नोत्तरको शृङ्खला चलिरहेको छ। र कुनै भूमिका नबाँधी, म अर्को प्रश्नमा आउँछु। प्रश्न छ: के म मृत्युपछि आत्मज्ञान बिर्सिन्छु? कसलाई थाहा छ र, मृत्युभन्दा ठूलो रहस्य के हुन सक्छ? म यति भन्न सक्छु कि तपाईंले त अहिले नै आत्मज्ञान बिर्सिसक्नुभएको छ। कसरी? आत्मज्ञानको अर्थ हो: न मेरो जन्म हुन्छ, न मृत्यु हुन्छ। यो त प्रमाणित कुरा हो। तैपनि सोधिँदैछ, के म मृत्युपछि यो वा त्यो कुरा बिर्सिन्छु? भनेपछि त तपाईंले म को हुँ भन्ने कुरा पहिल्यै बिर्सिसक्नुभएछ नि! जो दुई मिनेटमै म को हुँ भनेर बिर्सिन्छ, उसको त मृत्युपछि के नै बाँकी रहला र? यो कुरा याद राख्न आवश्यक छ कि मेरो मृत्यु हुँदैन। न म केही बिर्सिन्छु, न केही याद राख्छु। मेरो स्मृति पनि हुँदैन। मृत्यु त यो मन-शरीर रूपी यन्त्रको हुन्छ। माटोले जे बनेको छ, त्यो माटोमै मिल्छ। स्मृतिको अर्थ पनि माटो नै होमाटोमा परेको छाप। र त्यसको पनि अन्त्य माटो नै हो। र यो सबै माटोमा मिलिसक्दा पनि, म त छँदै छु नि! तपाईं नै भन्नुहोस्, मेरो हुनु बढी महत्त्वपूर्ण हो कि मेरो याद हुनु? यदि तपाईं भोकाउनुभएको छ भने, तपाईंलाई खानाको फोटोले सन्तुष्टि मिल्छ कि तातो-तातो खानाले? मृत्युपछि म साक्षात् हुन्छु, त्यसको कुनै चिन्ता छैन। तर कतै माटोको गुडीयामा रहेको त्यो स्मृतिको किन चिन्ता गर्नुहुन्छ? तत्त्व जाँदैन, तत्त्वको रूप मात्र जान्छ। जसरी माटोको घैँटो फुटे पनि माटो त रहिरहन्छ, अनि त्यसबाट फेरि नयाँ घैँटो बन्न सक्छ। यो मायाको दिक्क नमान्ने एउटा नीति हो। एउटै कुरा हेर्दा-हेर्दा ऊ दिक्क हुन्छिन र तत्त्वबाट नयाँ-नयाँ जीव बनाइ रहन्छीन । अब, त्यो जुन नयाँ रचना भएको छ, त्यसलाई के याद रहन्छ, के रहँदैन, त्यसको कुनै अर्थ छैन। किनभने, त्यो पनि ठीक त्यही तत्त्वबाटै बनेको हो। मानिलिनुहोस्, यो जीवलाई केही याद रह्यो भने पनि, त्यो स्मृति त नश्वर नै हो। कति दिन याद रहला, कति जन्म याद रहला र? महत्त्व त मेरो हुनुको हो, मेरो ज्ञानको हो। त्यसलाई लामो समयसम्म याद राखिरहनुको कुनै महत्त्व छैन। धेरै मानिसहरू भन्लान्, जब यादै रहँदैन भने, ज्ञान लिएर मैले के गरूँ? हो, त्यो कुरा पनि सही हो। ज्ञान लिएर केही गर्नु त हुँदैन। केही गर्नका लागि ज्ञान लिइँदैन। ज्ञान आफैँमा लक्ष्य हो। ज्ञान कुनै अर्को लक्ष्यको लागि भर्याङ हुन सक्दैन। ज्ञान सिंहासन हो, खुड्किलो होइन। त्यसैले, के गरूँ? भन्ने प्रश्न आउनुहुँदैन। हामी यस्ता धेरै काम गर्छौं, जुन हामी बिर्सिन्छौँ, तर ती कामहरू अत्यन्तै आवश्यक हुन्छन्। जस्तै, तपाईंले दस वर्षअघि केही खानुभएको थियो होला, जसरी हरेक दिन खानुहुन्छ। के तपाईंलाई याद छ? र यदि याद छैन भने, के त्यो दिन खाना खानुको कुनै अर्थ थिएन र? आज खाएको खाना पनि त याद नरहला। त्यसोभए, किन खानुभयो त? कुनै कुराको आवश्यकता, त्यो याद रहन्छ कि रहँदैन भन्ने कुराले तय गर्दैन। आवश्यकता त आज तपाईंलाई त्यो चाहिन्छ कि चाहिँदैन भन्ने कुराले तय गर्छ। आज भोजन चाहिन्छ, खानुहोस्। याद रहला कि नरहला, कसलाई के थाहा? त्यसको के महत्त्व छ र? आज तपाईंलाई ज्ञान चाहिन्छ कि चाहिँदैन? चाहिन्छ भने लिनुहोस्। बिर्सिन्छु होला भन्नुहुन्छ भने, फेरि लिनुहोला। होइन, मेरो यत्रो मेहनत खेर जान्छ! के मेहनत लाग्छ र? ज्ञानको अर्थ हो छोड्नु; ज्ञानको अर्थ हो त्याग। जे-जति जम्मा गरिएको छ, त्यसको त्याग। केमा बढी मेहनत लाग्छटाउकोमा भारी ढुङ्गा बोकेर हिँड्नमा कि त्यो ढुङ्गालाई फ्याँकिदिनमा? मानिलिनुहोस्, मैले आज सारा ज्ञान बिर्सिएँ र भोलि बिहान मलाई लाग्यो, सायद म केही पनि जान्दिनँ, भने त्यो सबै ज्ञान फिर्ता आउन सायद पाँच मिनेट मात्र लाग्छ। म अक्सर भन्ने गर्छु: ज्ञानमार्ग एउटा जीवनशैली हो, कुनै पाठ होइन, जसलाई तपाईंले कण्ठ पारेर कुनै परीक्षामा लेख्नुपरोस्। ज्ञान लिनु एउटा आनन्ददायी कार्य हो, मेहनत होइन। ज्ञानमा केही पाउनु छैन, गुमाउनु छ। म बुझ्न सक्छु, नयाँ-नयाँ मानिसहरूमा यस्ता प्रश्नहरू आउँछन्। र थोरै बुद्धि चलाउँदा, थोरै मनन गर्दा, अनि गुरुको थोरै सहायता र सहाराले यी प्रश्नहरू हटेर जान्छन्। यहाँ सायद साधकमा यस्तो आशा छ: ज्ञान त भयो, तर म मन-शरीर नै हुँ। मेरो कोही अनुभवकर्ता हुन्छ भनेर बताइएको छ। सायद गुरुले यो जरूरी छ भन्दै हुनुहुन्छ, त्यसैले मैले यसलाई याद राख्नुपर्छ। म यसलाई याद राख्ने कोसिस गर्नेछु। तर मरेपछि कसरी याद राख्ने? यो त ठूलो दुविधा भयो! भन्न त पुनर्जन्म पनि हुन्छ भन्नुभएको छ, अर्थात् मेरो पुनर्जन्म हुनेछ। तब मैले यसलाई फेरि कसरी याद राख्ने? यो ज्ञान कहाँबाट लिएर आउने? त्यसैले, बुद्धि अझै पनि अज्ञानमै डुबुल्की मारिरहेको छ। त्यसलाई तानेर बाहिर निकालिएको थियो। हो, बाहिर निकाल्नु साँच्चै ठूलो मेहनतको काम हो। तर त्यो अझै पनि त्यहीँतिर फर्किरहेको छत्यो व्यक्ति पुरानै विचार, पुरानै मान्यताहरूमा फर्किरहेको छ। त्यति मात्र होइन, उसले त यस्तो कल्पना पनि गरिरहेको छ कि आत्मज्ञान याद गर्ने कुरा हो, र यो याद पनि रहन्छ। र यो शरीर, मन, सबै नष्ट भए पनि, कुनै चमत्कार होला र यो याद रहिरहला! यो कुरा लेखेरै दिन सकिन्छ: केही पनि याद रहनेछैन। किनभने, यो याद गर्ने कुरा नै होइन। अब धेरै मानिसहरू निराश हुनुभयो होला। तर चिन्ताको कुरा छैन, म तपाईंलाई एउटा रहस्य बताउँछु। तपाईंले दस वर्षअघि खानुभएको भोजन याद छैन होला, तर त्यो तपाईंको शरीरको भाग बनिसकेको छ। तपाईं भोजन गर्दै आउनुभएकोले नै तपाईंको शरीर जीवित छ। ठीक त्यसैगरी, तपाईंको मनमा ज्ञानले जुन संस्कार पारेको छ, त्यो तपाईंको भाग बनिसकेको छ। यादहरू हराएर जान्छन्, तर संस्कार बाँकी रहन्छ। तपाईं जे बन्नुभएको छ, त्यो रहिरहन्छ। अब धेरै मानिसहरू खुसी हुनुभयो होला। यसमाथि अझै अनुसन्धान गर्नुहोस्। अर्को प्रश्न छ, यो ज्ञानलाई कसरी बनाई राख्ने? सायद यहाँ बनाई राख्ने को अर्थ याद राख्नु नै हो। किनभने, ज्ञानमार्गमा केही बन्दैन, सबै भत्किन्छ मात्र। यदि तपाईंले केही बनाई राख्नुभयो भने, गुरु आएर सबै भत्काइदिनुहुन्छ। त्यसैले यस्तो खतरा लिनुहुँदैन। केही बनाउनु छैन, छोडिदिनु छ। त्यसैले, पहिलो कुरा त, ज्ञानमार्गमा कतै पनि यसलाई याद राख्नुहोस्, बनाई राख्नुहोस्, यसमा बनिरहनुहोस् भनेर भनिएको छैन। यस्तो कुनै काम दिइएको छैन। म अक्सर भनिरहन्छु, ज्ञानीहरू ठूला अल्छी हुन्छन्। उनीहरू केही काम गर्न चाहँदैनन्, यस्तो मेहनत गर्न चाहँदैनन्। त्यसैले, ज्ञान दिने ऋषि-मुनिहरूलाई थाहा थियो, उहाँहरूले तपाईंलाई गर्नका लागि कुनै काम दिनुभएन। यो आवश्यक छैन। जस्तै, मैले त्यो दिन भनेको थिएँ, जब तपाईंले म पुरुष हुँ भनेर जान्नुहुन्छ, तब पुरुषलाई बनाई राख्न आवश्यक छैन। सम्भव पनि छैन। के गर्नाले जो पहिलेदेखि नै पुरुष छ, ऊ पुरुष बन्छ र? तपाईं पहिलेदेखि नै साक्षी हुनुहुन्छ। अब साक्षीलाई कसरी बनाई राख्नुहुन्छ? के गर्नाले तपाईं साक्षी बन्नुहुन्छ र? त्यसैले, यसलाई बिगार्नुचाहिँ हुँदैन, यति मात्र ध्यान राख्नुहोस्। तपाईंले जे जान्नुभएको छ, त्यसमाथि मान्यता नथोपर्नुहोस्। चित्तले त प्रयास गर्छ, भरपुर प्रयास गर्छ। तपाईं जुन वातावरणमा बस्नुहुन्छ, त्यसले पनि प्रयास गर्छ। आफन्तदेखि लिएर अपरिचितसम्म, यस्तो लाग्छ मानौँ सबै मेरा ज्ञानका दुश्मन हुन्। त्यसैले, अज्ञानमा फिर्ता नगएर, तपाईं यसलाई बिग्रिनबाट बचाउन सक्नुहुन्छ। यसका लागि साक्षी भावको साधना दिइएको छ। जसमा म साक्षी रहिरहन सक्दिनँ होला, बिर्सिन्छु होला भन्ने आत्मविश्वास छैन, उनीहरूका लागि थोरै साधना दिइएको छ। जसलाई हामी साक्षी भाव भन्छौँ, जुन केवल स्मरण मात्र हो। हरेक क्षण स्मरणमा रहनु नै साक्षी भाव हो। कसको स्मरणमा? ज्ञानको स्मरणमा। म एउटा तीतो सत्य बताइदिन चाहन्छु: तपाईं जतिसुकै प्रयास गर्नुहोस्, जतिसुकै मेहनत गर्नुहोस्, जतिसुकै कर्म गर्नुहोस्, जतिसुकै तन्त्र-मन्त्र गर्नुहोस्, वा त्यसमा सारा विज्ञान नै किन नलगाउनुहोस्त्यो स्मरणमा रहँदैन। किनभने, यो चित्तले यी सबै कुरा याद राख्नुपर्ने कुनै राम्रो कारण नै देख्दैन। कारण, बाँच्नको लागि यो ज्ञान कुनै काम आउँदैन। ज्ञानको लक्ष्य त बाँच्नको संघर्षबाट मुक्ति हो, जीवनको संघर्षको अन्त्य हो। त्यसैले, जो जीवित रहन चाहन्छ, उसले यसलाई यादै राख्न चाहँदैन, किनभने ज्ञान त उसको मृत्यु हो। त्यसोभए, उपाय के हो त? उपाय हो: प्रेम, समर्पण, रुचि। यति धेरै रुचि, जति तपाईंलाई सास फेर्नमा हुन्छ। आज यदि तपाईंको सास दुई मिनेटका लागि रोकिदिने हो भने, तपाईंलाई के लाग्छ, त्यो बेला के चाहिन्छ होला? कुन प्रोजेक्ट याद आउँछ? कुन स्त्री याद आउँछे? कुन फिल्म याद आउँछ? कुन टीभी सिरियल याद आउँछ? मैले सास फेर्नुपर्छकेवल यति मात्र इच्छा बाँकी रहन्छ। यदि ज्ञानमा पनि त्यति नै रुचि छ भने, कुनै साधना गर्नुपर्दैन, कुनै आवश्यकता नै रहँदैन। तपाईं जसलाई प्रेम गर्नुहुन्छ, उसलाई याद गर्न कति प्रयास गर्नुपर्छ? जसलाई प्रेम भएको छ, उसले त भन्छ, म त आफ्नो प्रेमीलाई बिर्सिनै सक्दिनँ। बरु कसैले उसको याद बिर्साइदिए हुन्थ्यो! तर यहाँ साधक भन्दैछ, म बिर्सिन्छु, कसरी बनाई राख्ने? यसको अर्थ, तपाईंलाई ज्ञानसँग प्रेम नै भएको छैन। र त्यो कुनै अरूको ज्ञान होइन, कुनै किताबमा लेखिएको सूत्र पनि होइन, जसलाई घोकेर परीक्षामा पास हुनुपर्ने होस्। यो त्यस्तो ज्ञान होइन। म स्वयं हुँ। र मलाई आफ्नै बारेमा रुचि छैन, आफैँसँग प्रेम छैन! यो चमत्कार कसरी भयो, भन्नुहोस् त? हामीले यति धेरै विधिहरू दिएका छौँ, यति धेरै उपायहरू बताएका छौँ, यति लामो-चौडा शुद्धीकरण प्रक्रिया र थाहा छैन के-के कुराहरू भनेका छौँ। तर तीतो सत्य के हो भने, त्यो सबै बेकार हो। पूरै बेकार। ज्ञान प्रमाणले हुन्छ। प्रमाणित भइसकेपछि केही गर्नुपर्दैन। एकपटक भयो भने, समाप्त। अब, यदि त्यो बारम्बार गइरहन्छ , त्यसलाई बनाई राख्नुपर्छ, बारम्बार बिर्सिइन्छ भने, यो मार्ग नै छोडिदिनु राम्रो हुन्छ। त्यो काम गर्नुहोस्, जसलाई याद राखिरहनु नपरोस्, जसको स्मरण हराएर जान नसकोस्। जुन कुरा पूरै प्राकृतिक हुन्छ, त्यही तपाईंको मार्ग हुनेछ। यदि केही अशुद्धिहरू, इच्छाहरू, वा विकारहरू छन् भने, चित्तले बारम्बार भनिरहन्छ, म त त्यही पुरानो चिज हुँदुई हात, दुई खुट्टा, दुई आँखा भएको एउटा मेसिन। म यही हुँ। र यसले यो-यो गर्नुपर्छ, यसबाट बदला लिनुपर्छ, त्यसलाई देखाइदिनुपर्छ, र यति करोड कमाउनुपर्छ ताकि सबै दुई हात-दुई खुट्टा भएकाहरूले मेरो पूजा गरून्। यसरी, उसले केही न केही अनौठो कुरा भनिरहन्छ, किनभने यस्ता अशुद्धिहरू छन्। त्यसैले, ज्ञानलाई बनाई राख्नुको अर्थ यही हो कि यी अशुद्धिहरूलाई भत्काउनु , यिनीहरूको नाश गर्नु। तल्लो स्तरका वृत्तिहरूको नाशले नै ज्ञानको स्मरण गराउँछ। तपाईं जे होइन, त्यो नबन्नुके यो कठिन छ? तपाईं पुरुष हुनुहुन्छ भने स्त्री बनेर नहिँड्नुहोस्के यो कठिन काम हो? तपाईं स्त्री हुनुहुन्छ भने पुरुषको जस्तो व्यवहार नगर्नुहोस्। आफ्नो प्राकृतिक अवस्थामा, आफ्नो सत्य अवस्थामा स्थित हुनु नै साक्षी भाव हो। जसले यसका लागि प्रयास गरिरहेको छ, उसलाई ज्ञान भएको छैन। छोड्नुस तपाइँ यो मार्ग छोड्नुस । जसमा धेरै अशुद्धिहरू छन्, तर पनि उनीहरू चाहन्छन्, पहिले मैले याद राख्नुछ, अशुद्धिको कुरा पछि हेरौँला, उनीहरूले यसलाई दोहोर्याउन सक्छन्। हेर्नुहोस्, यो अलिकति यान्त्रिक काम हो: दिनभर दोहोर्याइरहनुहोस्, म को हुँ? यस्तो कर्म गर्नुहोस् कि यो संस्कार एकदमै गहिरो परोस् र तपाईं त्यस्तै बन्नुहोस्। अथवा, जसको सङ्कल्प शक्ति राम्रो छ, उनीहरूले सङ्कल्प लिनुहोस्, अब म बिर्सिन्नँ। मानिसले त्यो कुरा कहिल्यै बिर्सिँदैन, जसलाई उसले महत्त्व दिन्छ। यो तपाईं सबैको अनुभव हो। के तपाईंले ज्ञानलाई महत्त्व दिनुभएको छ? कि अझै पनि कुनै चमत्कार वा जादु-टुनाको आशा गरिरहनुभएको छ, कि गुरुजीले केही बताइदिनुहुन्छ र मैले केही गर्नुपर्दैन, आफैँ भइहाल्छ भन्ने सोचमा हुनुहुन्छ? जुन कुरालाई तपाईंले महत्त्व दिनुभयो, त्यसका लागि केही गर्नुपर्दैन। र यदि ज्ञानको महत्त्व नै छैन भने पनि, केही गर्नु छैन। केही गरेर केही हुनेवाला छैन। जब ज्ञानको महत्त्व नै छैन भने, अब के गर्नु र? ज्ञानमार्गमा कुनै चमत्कार हुँदैन। यो चमत्कारभन्दा धेरै ठूलो कुरा हो। चमत्कार त मदारीले देखाउँछ, बाँदर नचाएजस्तो। ज्ञानलाई बनाई राख्नु कुनै चमत्कार होइन, यो सबैभन्दा प्राकृतिक घटना हो। म जे हुँ, त्यही हुनुत्यसका लागि कुनै चमत्कार चाहिन्न। त्यसका लागि थोरै बुद्धि चाहिन्छ, सामान्य ज्ञान, कमन सेन्स चाहिन्छ। अर्को प्रश्न छ, सबैलाई आत्मज्ञान किन हुँदैन? तपाईंले त मेरो मुखकै कुरा खोस्नुभयो। म त चाहन्छु, सबैलाई एकै दिनमा भइहालोस्। र जब मैले सिकाउन सुरु गरेँ, तब मेरो खुसीको सीमा नै रहेन, अब त सबैलाई ज्ञान भएरै छोड्छ भन्ने लागेको थियो। तर के देखेँ भने, कसैलाई चाहिँदै चाहिँदैन। कसैलाई पनि आत्मज्ञान चाहिँदैन। उनीहरूमा कुनै इच्छा नै छैन। उनीहरूलाई हुन सक्दैन भन्ने होइन। न समय लाग्छ, न बुद्धि, न पैसा, न मेहनत। यसमा त तीव्र इच्छा लाग्छ, जसलाई हामी मुमुक्षा वा जिज्ञासाजान्ने इच्छाभन्छौँ। तर यो कसैमा हुँदैन। सायद उनीहरू त्यो स्तरसम्म पुगेकै छैनन्, जहाँ यी कुराहरूको इच्छा गर्न सकियोस्। त्यस्ता एक-दुई जना मात्र होइनन्, ९९ प्रतिशतभन्दा पनि बढी मानिसहरू यस्तै छन्। जसलाई चमत्कार हेर्नु छ, हेरिहालोस्: चमत्कार यही हो कि जो ब्रह्म-स्वरूप छ, ऊ यो पुच्छर नभएको बाँदर बनेर घुमिरहेको छ, र उसलाई जान्ने कुनै इच्छा नै छैन। यसलाई हामी स्वेच्छा भन्छौँ। यदि कसैले स्वेच्छाले ज्ञान लिन चाहेन भने, उसलाई दिइँदैन र उसलाई हुँदैन पनि। कहिले हुन्छ, यो कसैलाई थाहा छैन। यो हुन्छ, तर किन हुन्छ, त्यो जान्न सकिँदैन। त्यसलाई हामी कृपा भन्छौँ। जब कृपा हुन्छ, तब ज्ञान हुन्छ। सबैमाथि कृपा हुँदैन। सबै कृपाका पात्र हुँदैनन्, सुपात्र हुँदैनन्, ज्ञानका अधिकारी हुँदैनन्। त्यसैले, उनीहरूको स्वेच्छाको आदर गर्दै, उनीहरूलाई जे चाहिन्छ, त्यही गर्न दिइन्छ। उनीहरूमाथि ज्ञान कहिल्यै थोपिँदैन। धेरैजसो मानिसहरू आफ्ना मान्यता, अन्धविश्वास, किस्सा-कहानी आदिमा नै सन्तुष्ट छन्, धेरै खुसी छन्। त्यसोभए, उनीहरूको खुसीमा हामी किन दख्खल दिने, किन बाधा बन्ने? र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, धेरै मानिसहरूले यो कुरा बुझ्नै सक्दैनन्। उनीहरूमा जान्ने इच्छा त धेरै हुन्छ। जब उनीहरूलाई भनिन्छ, तिमी आनन्दको स्थितिमा आउनेछौ, सबै सुख-दुःख नष्ट हुनेछन्, जीवनको पनि अन्त्य हुनेछ, मनुष्य योनि समाप्त हुनेछ, तब उनीहरूमा एक प्रकारको इच्छा, एक लालसा पनि पैदा हुन्छ। तर उनीहरूले बुझ्न सक्दैनन्। उनीहरूमा बुद्धि पनि हुँदैन र श्रद्धा पनि हुँदैन। बुद्धि छैन भने, कम्तीमा श्रद्धा त हुनुपर्छ, कि गुरुले जे बताइरहनुभएको छ, त्यसमा केही अर्थ छ, त्यो मेरो लागि लाभदायक छ। तर त्यस्तो व्यक्ति त उल्टै गुरुलाई नै गाली दिन थाल्छ। मूर्खताको सबैभन्दा ठूलो निशानी नै यही हो कि उसले बुद्धिमानलाई गाली दिन्छ। मूर्खतालाई बुद्धिमानीसँग घृणा हुन्छ, यो देखिएकै कुरा हो। फेरि, यस्तो व्यक्तिलाई ज्ञानसँग के मतलब? मूर्खताको अर्को निशानी हो, मूर्खले आफूलाई नै सबैभन्दा बुद्धिमान ठान्छ र भन्छ, मभन्दा बुद्धिमान कोही छैन। अब, जो केही नजानिकन नै सबैभन्दा बुद्धिमान भइसक्यो, उसलाई ज्ञान दिन सकिँदैन। हामी यस्तो उदाहरण दिन्छौँ: जुन घैँटो पानीले भरिएको छ, त्यसमा थप पानी भर्न सकिँदैन। त्यसमा केही पनि भर्न सकिँदैन। तर जो खाली छ, त्यसमा थोरै-बहुत केही भर्न सकिन्छ। फुटेकै किन नहोस्, केही बेर त त्यसमा रहन्छ। त्यसैले पात्र नाम दिइएको हो। पात्रको अर्थ हुन्छ भाँडो, जसमा केही भर्ने सम्भावना छ। खाली भाँडो नै सुपात्र हो। यो सुनेर धेरै मानिसहरूलाई दुःख लाग्छ। म त निराश नै भइसकेको थिएँ कि कसैलाई ज्ञान हुँदैन, म गलत ठाउँमा आएँ, यो काम मेरो होइन। ठूला-ठूला सन्त-महात्माहरू त सबैलाई आत्मज्ञान गराउन असफल भए, आत्मज्ञानको थोरै बुद्धि दिनमा असफल भए। त्यसैले, सबैलाई हुँदैन। यो सुन्दा ठूलो निराशाजनक कुरा लाग्छ। तर, यो अँध्यारोमा थोरै उज्यालो पनि छ: सबैलाई आत्मज्ञान हुन सक्दैन, तर सबैमा सम्भावना भने छ। किन? किनभने, उनीहरूको विकास भइरहेको छ। जस-जसको विकास हुँदै जान्छ, उनीहरूको समझ बढ्दै जान्छ। के महत्त्वपूर्ण हो, के महत्त्वहीन हो भनेर उनीहरूले जान्नेछन् एक दिन। सायद कैयौँ जन्मपछि, उनीहरूलाई आत्मज्ञान हुनेछ। अन्तमा, हरेक जीवलाई हुनेछ, सबै जीवलाई हुनेछ। कहिले हुन्छ? यो भन्न सकिँदैन। यही त लीला हो। कहिलेकाहीँ यस्तो समय आउँछ, जब धेरै मानिसहरूलाई ज्ञान हुन्छ। त्यसलाई हामी सतयुग भन्छौँसत्यको युग, जहाँ सत्य सबैले जान्दछन् वा धेरैजसोले जान्दछन्। कहिलेकाहीँ यस्तो समय आउँछ, जुन मूर्खताको युग हुन्छ। हाम्रो दुर्भाग्य भन्नुहोस् वा जे भन्नुहोस्, यो समय यस्तै छ, जसको नाम हो कलियुग। कलियुगमा त यसै पनि कसैलाई कुनै प्रकारको ज्ञान हुँदैन, र जसलाई हुन्छ, उनीहरूको सङ्ख्या झनै कम हुन्छ। र यदि तपाईंलाई भएको छ भने, यो सबैभन्दा ठूलो चमत्कार हो। यसभन्दा अद्भुत घटना अर्को छैन। जब गुरु भेटिनुहुन्छ, तब यो लगभग १०० प्रतिशत तय हुन्छ कि ज्ञान भएरै छोड्छ। त्यसैले, गुरु भेटिनु नै सबैभन्दा ठूलो चमत्कार हो। व्यक्तिको जीवनको सबैभन्दा ठूलो घटना हो गुरु भेटिनु। जसले समर्पण गरिदियो, उसका सबै जिम्मेवारीहरू समाप्त हुन्छन्। जसरी बिरालोको बच्चाले आमा बिरालोको अगाडि समर्पण गरिदिन्छ, बिरालोले उसलाई उठाएर जहाँ राख्छे, ऊ त्यहीँ आरामले बस्छ। त्यस्तै हुन्छ साधक, त्यस्तै हुन्छ शिष्य। तपाईं संघर्ष गरिरहनुभएको छ, यदि तपाईं यसमा विफल भइरहनुभएको छ, ज्ञान भइरहेको छैन भने, सबैभन्दा राम्रो त यही हुन्छ कि कृपाको प्रतीक्षा गर्नुहोस् र गुरु खोज्न सुरु गर्नुहोस्। हो, मलाई थाहा छ, तपाईंहरू सोच्नुहुन्छ, के गर्ने? म यति ठूलो भइसकेँ, अब गुरु भेटिँदैनन्। त्यसोभए, ठूलै गुरु खोज्नुहोस्, केही छैन। किन कसैको अगाडि सानो हुनुपर्यो र? तर गुरु जरूरी छ। यदि तपाईं समर्पित भएर गुरुको पछि लाग्नुभयो भने, यदि सबैले आफूलाई ज्ञानी ठानेर बसेनन् भने, तब सबैलाई ज्ञान हुन सक्छ। त्यसैले, ध्यान राख्नुहोस्: ज्ञान हुनु त ठूलो सामान्य कुरा हो, समर्पण हुनुचाहिँ धेरै कठिन छ। गुरु प्रतीक्षा गरिरहनुभएको छ, कि को समर्पणमा आउँछ, हात जोडेर याचना गर्छ, मलाई ज्ञान दिनुहोस्, अरू केही चाहिँदैन। मेरो सबथोक लिनुहोस्, मलाई सत्य दिनुहोस्। कति जनाले यसो गर्न सक्छन् र? करोडौँमा एक। आजको अन्तिम प्रश्न छ, अझै बढी ज्ञान कसरी मिल्छ? जब यो अन्तिम हो, यो ब्रह्मज्ञान हो भनेर बताइन्छयसलाई त ज्ञान पनि भन्न मिल्दैनत्रिज्ञानपछि केही पनि मिल्दैन। तैपनि मानिसहरू सोध्छन्, मलाई अझै जान्नु छ। म तपाईंलाई भेट्न चाहन्छु, मलाई दुई-तीन घण्टा दिनुहोस्। मलाई अझै ज्ञान चाहिन्छजुन तपाईंले अरू कसैलाई दिनुभएको छैन, त्यो मलाई चाहिन्छ। यो ठूलो अनौठो कुरा हो। तपाईंलाई सम्पूर्णताको ज्ञान भएको छ। त्यो के हो, जसलाई जानेपछि सबै कुरा जानिन्छ? त्यो म हुँ। यो ठूलो साधारण कुरा हो। तर हेर्नुहोस्, ज्ञानमार्ग त मान्यताहरूको अन्त्य हो। तपाईंले जसलाई असाधारण मान्नुभएको छ, त्यसैको अन्त्य गरिदिइन्छ। त्यसैले, यहाँ केही मिल्दैन, यहाँ त खोसिन्छ। अब त सबै लुटिइसक्यो, अब कति लुटिनु छ र, जहाँ गुरुले केही लिन सकून्, केही खोस्न सकून्? प्रश्नमा पहिलो गल्ती नै यही छ: कसरी मिल्छ? साधकमा अझै केही पाउने आशा छ। यही आशा नै त अज्ञानको जड हो। आशा छोडिदिनुहोस्। जसले यो जानेको छैन कि यो अन्तिम हो, उसले केही न केही मागिरहन्छअझै बढी, अझै बढी! जीवको यही वृत्ति हो, सङ्ग्रह गर्ने वृत्ति। उसलाई सबै कुरा दिनुहोस्, ल, तिमी नै ब्रह्म हौ, तिमी सबैथोक हौ। ऊ भन्छ, होइन, अझै बढी! तपाईंले त भन्नुभएको थियो, तपाईंको ठूलो कोर्स छ, ठूलो कार्यक्रम छ, जसमा तपाईंले अझै बढी ज्ञान मिल्छ भन्नुभएको थियो। होइन, त्यो सबै झुट हो। त्यहाँ त अझ बढी टाउको दुखाइ मिल्छ, अझ बढी काम मिल्छ। बुद्धिमान मानिसले त्यो कार्यक्रम गर्दैन, कुनै साधना गर्दैन। जो पण्डित बन्न चाहन्छन् वा अरूलाई सिकाउन चाहन्छन्, उनीहरूलाई यो कलाचाहिँ अवश्य सिकाउन सकिन्छ: न्याय-शास्त्र, बौद्ध -दर्शन, जैन-दर्शन, अद्वैत-दर्शन, विस्तार-शास्त्र, बारीकीहरू, विज्ञान, मायायी सबै सिकाउन सकिन्छ। तर यो ज्ञान होइन, यो बुद्धि-विलास हो। लिनुहोस्। अघि भर्खरै कोही चिन्तित हुनुहुन्थ्यो, मलाई याद रहँदैन, किन लिऊँ म? यो त पूरै बिर्सिइन्छ। साना-साना बारीकीहरू त संस्कारमा पनि बदलिँदैनन्। जसको इच्छा छ, अवश्य लिनुहोस्। यसको नाम हामीले राखेका छौँ, ज्ञान दीक्षा कार्यक्रम। जसलाई ज्ञान भएको छैन, यदि ऊ सिधै ज्ञान दीक्षामा आयो भने पनि यही ज्ञान मिल्छ, केही ठूलो ज्ञान मिल्दैन। र जसलाई त्रिज्ञानमा वा अन्य माध्यमबाट आत्मज्ञान आदि भएको छ, ऊ ज्ञान दीक्षामा अलिकति प्रवीण हुन्छ, पण्डित बन्छ। उसले यस्ता भिडियो बनाउन सक्नेछ, जनतालाई आधा-आधा घण्टा दिक्क लगाउन सक्नेछ। यो कला तपाईंमा आउनेछ। सायद अझै बढी ज्ञान भन्नाले उनीहरू विज्ञानको कुरा गर्छन्। सायद उनीहरू विज्ञान जान्न चाहन्छन्: मायाले कसरी काम गर्छ, मायामाथि नियन्त्रण कसरी गर्ने, इच्छाहरू कसरी पूरा गर्ने? जे म चाहन्छु, त्यो कसरी बनूँ, वा कसरी प्राप्त गरूँ, वा केही गरिदिऊँ? किनभने तपाईंले भन्नुभएको छ, यो माया हो, झुट हो। झुट त जे पनि हुन सक्छ। हो, यदि ज्ञानबाट तपाईंको अर्थ विज्ञान हो भने, त्यो अनन्त मिल्छ। त्यो अनन्त छ, त्यसको कुनै अन्त्य छैन। यसलाई हामी तन्त्र मार्ग भन्छौँ। र त्यसको पनि हामीले व्यवस्था गरेका छौँजसलाई तन्त्रमा दीक्षा चाहिन्छ, तन्त्रमा अघि बढ्नु छ। मलाई थाहा छ, ज्ञान त ठूलो नीरस छ, केही छैन, एकदमै सुख्खा छ। त्यसैले जसलाई रसमा रुचि छ, उनीहरू तन्त्रमा जान्छन्। त्यो मिल्न सक्छ, तर त्यो ज्ञान होइन। अझै बढी मिल्दैन। यी सबै प्रश्नहरू आत्मज्ञानसँग सम्बन्धित छन्। र यो शृङ्खला जारी रहनेछ, किनभने अब मायाको ज्ञान र ब्रह्मज्ञानसँग सम्बन्धित प्रश्नहरू आउन बाँकी छन्। त्यसैले, मलाई आशा छ, यो शृङ्खला तपाईंहरूका लागि उपयोगी साबित हुनेछ। र हामी अर्को भागमा भेट्नेछौँ। सुनिदिनुभएकोमा सबैलाई धेरै-धेरै धन्यवाद। नमस्कार।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions