Wise Words
Home
Read
Write
Publish
Profile
Logout
ज्ञान एक माया (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** ज्ञान माया हो र अज्ञान मिथ्या हो। जुन कुराको अनुभव गर्न सकिन्छ, त्यसैको ज्ञान हुन सम्भव छ। अनि ज्ञान मार्गमा अपरोक्ष अनुभवलाई नै एकमात्र प्रमाण स्वीकार गरिन्छ। अनुभव छैन भने ज्ञानको पनि कुनै अस्तित्व रहँदैन। जसरी सबैलाई ज्ञात छ सम्पूर्ण अनुभवहरू परिवर्तनशील छन्। सबै अनुभवहरू आउँछन् र जान्छन्, ती कुनै पनि स्थायी छैनन्। अनि जसरी हामीले मायाको यस शृङ्खलामा देख्यौं, सबै अनुभवहरू चित्तद्वारा नै निर्मित हुन्। अनुभवहरूको आफ्नो कुनै छुट्टै अस्तित्व छैन; तिनको कुनै स्वतन्त्र सत्ता विद्यमान छैन। चित्तले जे निर्माण गर्यो, त्यही नै अनुभवका रूपमा प्रकट हुन्छ; त्यसैले सम्पूर्ण अनुभवहरू माया हुन्। ज्ञान मार्गमा सत्यको मापदण्ड यो हो कि जुन बदलियो, त्यो असत्य थियो। जो स्थायी छ, बदलिँदैन र परिवर्तनशील छैन त्यही नै सत्य हो। अनुभव भने यसको ठ्याक्कै विपरीत छ। यस मापदण्ड अनुसार सम्पूर्ण अनुभवहरू परिवर्तनशील भएका कारण असत्य हुन्, मिथ्या हुन्। अनि यदि सबै अनुभवहरू मिथ्या हुन् भने, अपरोक्ष अनुभवद्वारा ती अनुभवहरूमा आधारित भएर प्राप्त हुने ज्ञान पनि मिथ्या नै हो। यस्तो कसरी भयो? के ज्ञान मार्गमा कतै त्रुटि भयो? के महान ऋषि-मुनिहरूबाट कुनै भूल भयो त? हामी त सत्यको अनुभव गर्न हिँडेका थियौं, तर हात लाग्यो मायाको अनुभव, हात लाग्यो मिथ्याको अनुभव। के हाम्रा मापदण्डहरू सही छैनन्? के हाम्रा प्रमाणहरू उचित छैनन् र? धेरै मानिसहरू भन्दछन् कि अनुभव मिथ्या हुन सक्छ, तर अनुमान मिथ्या हुन सक्दैन। जुन कुरा तर्कद्वारा जानिन्छ, त्यो मिथ्या हुन सक्दैन भन्ने उनीहरूको ठम्याइ छ। अनुमान पनि अन्ततः अनुभवमै आधारित हुन्छ भन्ने कुरा निकै कम मानिसलाई मात्र ज्ञात छ। जब तपाईं धुवाँ देख्नुहुन्छ, तब आगो पनि हुनुपर्छ भनी अनुमान लगाउनुहुन्छ र त्यसलाई सत्य मान्नुहुन्छ। यो अनुमान तपाईंको विगतको अनुभवमा आधारित छ, जब तपाईंले आगो र धुवाँलाई एकैसाथ देख्नुभएको थियो। अनुमान त केवल अनुभवको निष्कर्ष हो, अनुभवको सार मात्र हो। यदि अनुभव हुँदैनथ्यो भने अनुमान लगाउन असम्भव हुने थियो, र यदि अनुभवले नै हामीलाई मायाको बोध गराउँछन् भने अनुमान पनि विश्वसनीय रहँदैन माया आधारीत हुन्छन । जब हामी एउटा सानो ढुङ्गा हावामा फ्याँक्छौं, तब त्यो पुनः जमिनमा नै खस्दछ। यसैबाट हामी तर्कको एउटा नियम बनाउँछौं कि जे कुरा माथि फ्याँकिन्छ, त्यो तल नै खस्नेछ। मानिलिनुहोस्, तपाईं यस्तो कुनै लोकमा हुनुहुन्छ जहाँ ढुङ्गा माथि फ्याँक्दा त्यो चरा बनेर उड्छ। तब तपाईंको अनुमानले यो भन्नेछ कि जब-जब ढुङ्गा माथि फ्याँकिन्छ, त्यो चरा बनेर उड्नेछ। अनि तपाईंलाई त्यसमा अलिकति पनि अविश्वसनीयता लाग्ने छैन। तपाईं पूर्ण रूपमा विश्वास गर्नुहुनेछ किनकि हो, यहाँ त यस्तै हुन्छ। तिम्रो लोकमा ढुङ्गा तल झर्दो हो, तर हाम्रोमा त्यस्तो हुँदैन; यही नै सत्य हो र तार्किक पनि छ। म जब-जब ढुङ्गा फ्याँक्छु, म अनुमान लगाएर भन्न सक्छु कि त्यो चरा बनेर उड्नेछ। अनुमान अनुभवमा आधारित हुन्छ। जस्तो अनुभव हुन्छ, त्यस्तै अनुमान लगाइन्छ। यदि दुई र दुई जोड्दा चार हुन्छ भने, त्यो केवल तपाईंको अनुभवका कारणले मात्र हो। अनुभवले यो भन्दछ कि जब म दुईमा दुई जोड्दछु, तब गणना गर्दा चार नै निस्कन्छ, अरू केही होइन। यदि यो अनुभव अर्कै भइदिएको भए तपाईंको अनुमान पनि अर्कै हुने थियो। अनुमान अनुभवमा आधारित हुने भएकाले यो मायाको अनुमान हो, सत्यको अनुमान होइन। धेरै मानिसहरू भन्दछन् कि सत्य बुद्धिका माध्यमले जान्न सकिन्छ। यो अनुभव के हो, यो बुद्धिका माध्यमले बुझ्न सकिन्छ। भन्न सक्छन 'मेरो बुद्धि निकै प्रखर छ, म सबै जान्न सक्छु।' तर ध्यान दिनुहोस् कि बुद्धि पनि अनुभवमै आधारित हुन्छ। जङ्गलमा बस्ने एउटा आदिवासीसँग निकै सीमित अनुभव हुन्छन्, त्यसैले उसको बुद्धि पनि सीमित हुन्छ। सहरमा बस्ने व्यक्तिसँग धेरै अनुभव हुन्छन्, ऊ शिक्षित हुन्छ। पाठशाला र महाविद्यालय जान्छ, त्यसैले उसको बुद्धि अलि बढी हुन्छ। एउटा वैज्ञानिकलाई आफ्नो क्षेत्रमा धेरै अनुभव हुन्छ र उसको बुद्धि त्यस क्षेत्रमा अत्यन्तै प्रखर रूपले चल्दछ, निकै तीव्र हुन्छ। तर अन्य कुनै क्षेत्रमा उसको बुद्धि चल्दैन। उसलाई केही पनि थाहा हुँदैन। न उसले अनुमान लगाउन सक्छ, न त उसँग कुनै अनुभव वा ज्ञान नै हुन्छ। बुद्धि अनुभवमा आधारित छ। त्यसैले सम्पूर्ण बुद्धि मायामा आधारित छ। बुद्धि स्वयं नै माया हो। चित्त एउटा भाग हो र चित्त माया हो। बुद्धी चित्तकै वृत्ति हो। हाम्रो तार्किक क्षमता, हाम्रो बुझ्ने शक्ति र हाम्रो विवेक यी सबै चित्तका वृत्तिहरू हुन्। तर्क बुद्धिमा आधारित हुन्छ। जति बुद्धि हुन्छ, व्यक्तिले त्यति नै तर्क गर्न सक्छ। साना बालबालिकाहरू तर्क गर्न सक्दैनन्। उनीहरूलाई तर्कको बारेमा केही थाहा हुँदैन। जब बुद्धि बढ्दै जान्छ, तब तार्किक क्षमता आउँछ; तर धेरै मानिसहरू यस्ता पनि हुन्छन् जो वृद्ध अवस्थामा पुग्दा पनि तार्किक हुन सक्दैनन्। उनीहरूको बुद्धिको सीमा त्यति नै हुन्छ। निकै बुद्धिमान व्यक्तिको पनि तर्क गर्ने एउटा सीमा हुन्छ। तर्क असीम हुन्छ भन्ने कुनै नियम छैन र तर्कमा कुनै त्रुटि हुँदैन भन्ने पनि केही छैन। तर्क विश्वसनीय छैन र यसमाथि पूर्ण विश्वास गर्न सकिँदैन। निकै विचित्र कुरा त यो छ कि ज्ञान मार्गमा अपरोक्ष अनुभव, अनुमान, तर्क र बुद्धि नै ज्ञानका आधार हुन्। त्यसैले ज्ञान स्वयं नै आधारहीन छ। यी आधारहरूको पनि कुनै आधार छैन। अथवा भनौं यी आधारहरूको आधार नै माया हो। यहाँ आएपछि ज्ञानको विनाश हुन्छ। तपाईंले आजसम्म जे-जति ज्ञान आर्जन गर्नुभएको छ, त्यो सबै निरर्थक लाग्नेछ। त्यो फोहरको थुप्रो जस्तो प्रतीत हुनेछ। जसलाई तपाईंले सुनको मूर्ति वा सुनको गहना सम्झिनुभएको थियो, त्यसको मूल त पित्तल निस्कियो। अब त्यो मूर्ति वा गहना जतिसुकै सुन्दर भए पनि, अन्ततः त्यो पित्तल नै हो। त्यसको के मूल्य रह्यो र? तपाईंले जतिसुकै ज्ञान आर्जन गरे पनि, त्यसको मूलमा माया र मिथ्या नै छ। तपाईंले जे-जति सङ्ग्रह गर्नुभएको छ, त्यसको के नै मूल्य छ र त्यो त केवल व्यर्थको वस्तु मात्र हो। एक दृष्टि सत्यमा पनि हालौँ। जसरी मैले ज्ञान मार्गको शृङ्खलामा भनेको थिएँ सत्य व्यक्तिनिष्ठ र मनोगत हुन्छ। सत्य केवल एउटा वर्गीकरण मात्र हो अनुभवहरूको वर्गीकरण। कुन अनुभव सत्य हो र कुन अनुभव असत्य हो भन्ने कुरा, र यसका लागि हामी एउटा आधार तयार गर्छौं वर्गीकरणको आधार जुन चित्तद्वारा निर्मित हुन्छ। यदि कुनै घटना यस्तो-यस्तो छ भने म त्यसलाई सत्य मान्छु र घटना अर्कै छ भने म त्यसलाई असत्य मान्छु। यस आधारको मूल आधार चित्त हो, अनुभव, तर्क, अनुमान र बुद्धि नै हुन्, जुन हामीले देखिसक्यौं कि मिथ्या छन्। सत्यको आधारमै मिथ्या लुकेको छ। सत्यको वर्गीकरण चित्तद्वारा नै निर्मित हुन्छ। त्यसैले एउटै घटनालाई धेरै मानिसहरूले आफ्नो विचार अनुसार सत्य वा असत्य मानिदिन्छन्, किनभने यो व्यक्तिनिष्ठ छ। सत्य त सधैं बदलिइरहन्छ; कुन आधारमा वर्गीकरण गरिएको छ, त्यही आधारमा यो परिवर्तन भइरहन्छ। ज्ञान मार्गमा एउटा निकै ठूलो आधार राखिएको छ। सत्यको एउटा मापदण्ड तोकिएको छ त्यो हो, जो बदलिन्छ त्यो असत्य हो। जो बदलिँदैन, त्यो सत्य हो। यो पनि पूर्ण रूपमा व्यक्तिनिष्ठ र चित्तद्वारा नै निर्मित कुरा नै हो। तर मनीषीहरूले र प्रखर बुद्धिमान व्यक्तिहरूले निकै चिन्तन-मनन गरेपछि यो वर्गीकरण गरेका हुन्। यसको अर्थ यो होइन कि त्यो सत्य ढुङ्गामा लेखिएको अक्षर झैँ भयो, जसलाई अब कसैले बदल्न सक्दैन। जसले पनि आएर यसलाई बदल्न सक्छ; नयाँ अनुभव वा नयाँ ज्ञान प्राप्त भयो भने यसलाई पनि परिवर्तन गर्न सकिन्छ। तर हाम्रो सौभाग्यवश आजसम्म कसैले पनि यस्तो देखेको छैन कि जो अपरिवर्तनशील छ, त्यो असत्य सावित भएको होस्। त्यसैले हामी विश्वास गरिदिन्छौं किनभने हाम्रो अनुभवले त्यस्तै भन्छ र हाम्रो बुद्धिले पनि त्यही भन्छ; तर वास्तवमा यो पूर्ण विश्वसनीय चाहिँ छैन। अनुभवका अनेकौं अर्थहरू निकाल्न सकिन्छ। सत्य र असत्यका पनि कैयौँ अर्थहरू लगाउन सकिन्छ। तर्क-वितर्कका धेरै अर्थ निकाल्न सकिन्छ। शब्दहरूका, पुस्तकहरूका र गुरुका वचनहरूका पनि मनपरी अर्थ निकाल्न सकिन्छ। जसरी व्यक्ति आध्यात्मिक मार्गमा अगाडि बढ्छ, उसका आफ्नै विचारहरू बदलिँदै जान्छन्। सत्य र असत्यको धारणा पनि बदलिन्छ र अनुभवहरू बदलिन्छन्। सत्यको वर्गीकरण बदलिन्छ, उसका मापदण्ड र मानकहरू बदलिन्छन् र एक दिन ऊ वृद्ध भएर मृत्युवरण गर्दछ। अब यस कुरामा कस्तो सत्य रह्यो र कि उसले सबै कुरा जानिसकेको थियो? यदि उसको मृत्यु नभएको भए सायद यो शुद्धिकरणको प्रक्रिया अझ अगाडि बढ्ने थियो; त्यसो भए के उसका अन्तिम शब्दहरू सत्य होलान् त? के ती परम सत्य होलान्? यदि ऊ अझै जीवित रहेको भए हुनसक्छ उसलाई अझै नयाँ अनुभवहरू प्राप्त हुने थिए र त्यो सत्य असत्यमा बदलिने थियो। सबैलाई ज्ञात छ कि अनुभव त अनन्त छ र अनुभव जुनसुकै प्रकारको पनि हुन सक्छ, किनभने यो माया हो। यहाँ सबै सम्भावना छ, अनन्त सम्भावना छ। जुन कुरा आज सत्य लाग्दछ, अर्कै कुनै नयाँ अनुभव भएपछि त्यो असत्य सावित हुनेछ। तपाईंका मापदण्डहरू त्यहीँ सिमित रहनेछन् वा फेरि नयाँ मापदण्डहरू निर्माण गर्नुपर्नेछ। विज्ञानमा यस्तो धेरै हुने गर्दछ। एउटा खोज हुन्छ, सबैले त्यसलाई स्वीकार गर्छन् कि हो, यो निकै राम्रो खोज हो, यही नै सत्य हो। तर १०-१५ वर्षपछि अर्कै कुनै ठूलो वैज्ञानिक आएर त्यसलाई असत्य सिद्ध गरिदिन्छ। नयाँ प्रयोगहरूद्वारा, नयाँ गणितद्वारा र नयाँ सिद्धान्तहरूका माध्यमले। यो क्रम चलिरहेको छ र यो केवल विज्ञानमा मात्र होइन, ज्ञानका सबै क्षेत्रहरूमा व्याप्त छ। कुनै समय यो दर्शन अगाडि थियो, कुनै समय त्यो दर्शन अगाडि भयो; कुनै बेला यस गुरुका सबै भक्त थिए, पछि त ती कहाँ गए पत्तोसम्म भएन। यी पुस्तकहरू त कति लेखिए कति, कति बने र कति हराएर गए। यी त आउने-जाने क्रम चलिरहन्छ। यिनैलाई के ज्ञानको आधार मान्नु ? जब हामी हार्छौं, जब बुद्धिले हार मान्छ, तब त्यसैलाई हामी ज्ञान मानिदिन्छौं। जब हामीसँग अरू कुनै विकल्प बाँकी रहँदैन, अरू केही सोच्नै सक्दैनौं, तब त्यसलाई ज्ञान मानिदिन्छौं, त्यसैलाई सत्य मानिदिन्छौं। यस्तो लाग्छ कि खुट्टा मुनिको जमिन नै भासियो। यस्तो लाग्छ कि म ज्ञानको जुन ठोस भूमिमा उभिएको थिएँ, त्यो हल्लियो। अब म कहाँ जाऊँ? कहाँबाट ज्ञान ल्याऊँ? अब त गुरुले पनि साथ छोडिदिनुभयो। गुरुले पनि भनिदिनुभयो कि मैले तिमीलाई जे-जति ज्ञान दिएँ, ती सबै माया हुन्। यस्तो कुनै आधार छैन। अब मेरो के होला? म त ज्ञानमार्गी थिएँ, म त आफूलाई ज्ञानी भन्थेँ। अब त मलाई कसैले पानीसम्म सोध्दैनन्, सबै टुट्यो, सबै नष्ट भयो। मैले ज्ञानका जुन पहाडहरू खडा गरेको थिएँ, ती त ढलेर गए। यी जुन पुस्तकहरू लेखिएका थिए, पाण्डुलिपिहरू लेखिएका थिए, जसले सारा घर भरिएको छ यी त जलाउनका लागि पनि काम नलाग्ने खालका छन्। ज्ञानमार्गमा निकै हताशा छ, निकै निराशा छ। ज्ञानको मार्ग सबैभन्दा कठिन मार्ग हो। देख्दा सजिलो लाग्छ, तर कुनै पनि साधकले यहाँ जीवनभर ठक्कर खाइरहन्छ, यस मार्गलाई सिद्ध गर्न सक्दैन। यसको तुलनामा अन्य मार्गहरू कति सहज लाग्दछन्, तर यहाँ त अन्तिम ठोकर लाग्यो। अब त केही पनि बाँकी रहेन। मैले त पहिले नै भनेको थिएँ यहाँ नआउनू। निकै विचित्र मार्ग छ, अत्यन्तै कठिन मार्ग छ। यहाँ केही पनि पाइँदैन, ज्ञानसमेत पाइँदैन। कस्तो अचम्मको कुरा ज्ञान मार्गमा ज्ञान नै प्राप्त हुँदैन। तर हामी भाग्यमानी छौं, किनभने हामीलाई अनुभवसँग के सरोकार? अनुभव मिथ्या नै भए पनि त्यसबाट हामीलाई के मतलब? होस् न त मिथ्या। हामीलाई ज्ञानसँग के सरोकार? सबै मिथ्याको ज्ञान हो, सबै मायाको ज्ञान हो, त्यससँग मेरो के सम्बन्ध? म त अनुभवकर्ता हुँ। म त यस ज्ञानको पनि साक्षी हुँ। भले नै त्यो मिथ्या होस्, भले नै त्यो अज्ञान नै किन नहोस्। अनुभवकर्तालाई ज्ञानको के आवश्यकता छ र? अनुभवकर्ता अर्थात् शून्यता केवल आत्मसाक्षी मात्र हो। उसको स्वभाव अत्यन्तै सरल छ। शून्यको कस्तो स्वभाव होला र? शून्यको कुनै इच्छा हुँदैन। शून्यको कुनै मान्यता हुँदैन। ऊ केही जान्न पनि चाहँदैन। बुझ्न पनि चाहँदैन। जान्नु भनेको त केवल एउटा चित्तवृत्ति हो। बुझ्नु पनि एउटा चित्तवृत्ति नै हो। अज्ञान पनि चित्तवृत्ति नै हो। अनुभवकर्तालाई कुनै ज्ञान हुँदैन। अनुभवकर्तालाई कुनै अज्ञान पनि हुँदैन। उसको शुद्धता परम छ। यदि त्यसमा ज्ञान हालिदिने हो भने पनि अनुभवकर्ता अशुद्ध हुनेछ। अज्ञानले त झन् हुने नै भयो। पानी मा तेल मिसाइएको जस्तो छ अनुभवकर्ताको स्वभाव । तपाईं मिसाउन त सक्नुहुन्छ, तर केही बेरपछि तेल अलग्गै र पानी अलग्गै हुन्छन्। अनुभवकर्ता कुनै पनि प्रकारको मल (अशुद्धि) बाट टाढा रहन्छ। उसले आफूलाई स्वतः अलग राख्दछ, किनभने ऊ साक्षी हो, उसलाई कसैले छुन सक्दैन। ज्ञानले समेत उसलाई स्पर्श गर्न सक्दैन। यो निकै ठूलो सौभाग्यको कुरा हो। यदि अनुभवकर्तालाई ज्ञान भइदिने भए हामी कतै पनि पुग्न सक्ने थिएनौं। त्यसो भए त यो ज्ञान मार्ग नै अर्थहीन हुने थियो र यहाँ कोही पनि आउने थिएनन्। राम्रो कुरा त यो छ कि अनुभवकर्तालाई न ज्ञानले छुन सक्छ, न त अज्ञानले नै स्पर्श गर्न सक्छ। ज्ञान र अज्ञान त चित्तमा हुन्छन्, अनुभवकर्तामा होइन। मेरो न ज्ञानसँग कुनै सम्बन्ध छ, न त अज्ञानसँग नै मेरो कुनै साइनो छ; न केही बुझ्नुसँग मतलब छ, न त नबुझ्नुसँग नै। ममा न ज्ञान प्राप्त गर्ने कुनै इच्छा छ, न त अज्ञान हटाउने नै कुनै अभिलाषा छ। चित्तमा जे छ, त्यससँग मलाई केही पनि सरोकार छैन। म परम शुद्ध छु, निर्मल छु। चित्त र चित्तवृत्तिसँग मेरो कुनै पनि प्रकारको सम्बन्ध छैन। ज्ञान आर्जन गर्नु पनि अन्ततः एउटा चित्तवृत्ति नै हो। अनुभवकर्तालाई तपाईं सत्य देखाइदिनुहोस् ऊ चुपचाप देख्छ, शान्त भएर देख्छ। त्यहाँ परम शान्ति छ। अनुभवकर्तालाई तपाईं असत्य देखाइदिनुहोस् ऊ चुपचाप देख्छ, यो सत्य हो वा होइन भनेर केही भन्दैन। सत्य र असत्य त चित्तद्वारा निर्मित कुरा हुन्। चित्तले भन्छ, मनले भन्छ ओहो, यो त असत्य रहेछ, त्यो त सत्य निस्कियो! अनुभवकर्ता चाहिँ बिचरा चुपचाप देखिरहन्छ ए, यो सत्य हो? म देखिरहेको छु। ए, यो असत्य हो? म यो पनि देखिरहेको छु। म यसको पनि द्रष्टा हुँ। न सत्यले अनुभवकर्तालाई स्पर्श गर्न सक्छ, न त असत्यले नै। ऊ यति धेरै निर्मल छ। किन? किनभने ऊ परम शून्य हो। शून्यमा कुन कुरा टिक्न सक्छ र? शून्यता बाहेक यसमा न कुनै गुण छ, न स्थान छ; यहाँसम्म कि समय र स्मृतिको समेत कुनै अस्तित्व छैन। यसमा के नै अडिन सक्छ र? यसभन्दा सरल अरू केही पनि छैन। मभन्दा पूर्व केही पनि छैन। मभन्दा न्यून केही पनि छैन र मभन्दा अधिक पनि केही छैन। यो निकै सौभाग्यको विषय हो कि सम्पूर्ण अस्तित्व नै अनुभवकर्ता हो, जसको स्वभाव नै यस्तै छ। ज्ञानभन्दा पर, अज्ञानभन्दा पर, सत्य र असत्यभन्दा पर, एवं तर्क, अनुमान र बुद्धिभन्दा पनि पर। सम्पूर्ण अस्तित्व यस्तै छ र सत्य असत्य भन्ने कुरा चित्तसम्म मात्र सीमित छ; जबकि चित्त त मायाको एउटा कृति मात्र हो। अस्तित्व असीम छ। त्यसका सामु माया अत्यन्तै तुच्छ लाग्दछ र त्यहाँ घटित भइरहेका यी घटनाहरू अर्थहीन प्रतीत हुन्छन्। यो अस्तित्व म नै हुँ। यो अस्तित्व म स्वयं हुँ। त्यसैले मलाई कसैको कुनै चिन्ता छैन। यसै कारण मलाई न ज्ञानको कुनै चिन्ता छ, न त अज्ञानको नै कुनै फिक्री छ। मैले के नै गर्नु छ र? के सत्य हो, मलाई के मतलब? के असत्य हो, मलाई के सरोकार? जब यहाँ सबै थोक सम्भव छ भने, सबै कुरा सत्य पनि हुन् र सबै कुरा असत्य पनि हुन्। यदि मेरो अनुभव नै प्रमाण हो र अनुभव इन्द्रियहरूबाट प्राप्त हुन्छ भने, अस्तित्वमा जुनसुकै प्रकारका इन्द्रियहरू पनि सम्भव छन्। जुनसुकै प्रकारको बुद्धि र जुनसुकै प्रकारको तर्क पनि सम्भव छ। अस्तित्वमा सम्भावनाहरू त अनन्त छन्। यो सानो अनुभव र यसबाट प्राप्त भएको यो तुच्छ ज्ञानलाई मैले किन यति धेरै महत्त्व दिएँ होला, त्यो त मेरो भूल थियो। म त असीम हुँ, म कसरी सानो भएँ ? यदि स्मृति हुँदैनथ्यो भने के ज्ञान सम्भव थियो र? अनि स्मृति त स्वयं माया हो। यी त केवल नादका रचनाहरू हुन्, जुन नहुनु बराबर नै छन्। ज्ञान त स्मृतिभित्रको एउटा रचना हो, एउटा व्यवस्थापन मात्र हो; त्यसैले त यो माया हो। त्यो व्यवस्थापन वा रचना जुनसुकै तरिकाले पनि निर्माण गर्न सकिन्छ; बनाउने अनन्त उपायहरू छन्। अब मेरो स्मृतिमा रहेको यस ज्ञानको के नै महत्त्व रह्यो र त्यो त केवल व्यर्थको वस्तु मात्र हो। करोडौं रचनाहरू मध्ये यो एउटा रचना हो। मैले यसलाई किन यति धेरै महत्त्व दिएँ होला? जसरी समुद्रको किनारमा बालुवाका कणहरू हुन्छन्, मेरो ज्ञान पनि त्यस्तै हो; मेरो ज्ञान एउटा कण बराबर मात्र छ। जति धेरै ज्ञान हुँदै जान्छ, रचना त्यति नै कठोर बन्दै जान्छ, त्यति नै ठोस हुँदै जान्छ। अब त्यसलाई हटाउनु कसैको बसको कुरा होइन। एकपटक ज्ञान भयो त भयो। जुन फूल जस्तै कोमल थियो, ज्ञान बढ्दै-बढ्दै गएपछि नरिवल जस्तै कठोर बन्न पुग्छ र त्यस ज्ञान मुनि अनुभवकर्ता लुक्न पुग्छ। ज्ञान नै त एउटा मल (अशुद्धि) हो, ज्ञान नै त माया हो, जसले अनुभवकर्तालाई समेत लुकाइदिएको छ। यो शक्ति यति शक्तिशाली छ कि यसले शिवलाई समेत मूर्छित तुल्याइदिएको छ। जब-जब ज्ञान टुट्छ र जब मेरो यो अहंकार टुट्छ कि म यति ठूलो ज्ञानी हुँ, मलाई सबै कुरा थाहा छ, सबै ज्ञात छ; जब त्यो 'नरिवल' फुट्छ, तब अनुभवकर्ता प्रकट हुन्छ। तब उसको सरलता देखिन्छ, तब उसको निर्मलता दृष्टिगोचर हुन्छ। ज्ञानका पछाडि यो अस्तित्व लुकेको थियो। ज्ञानको अशुद्धिले यसलाई ढाकेको थियो। ज्ञानको अन्त्य हुनु नै अनुभवकर्ताको प्रकट हुनु हो। यदि यस्तो भएन भने व्यक्ति ज्ञानमै लिप्त रहिरहनेछ र ज्ञानलाई नै आफ्नो लक्ष्य मानिबसनेछ। ज्ञान मार्गको लक्ष्य ज्ञान प्राप्त गर्नु हो, तर अध्यात्मको लक्ष्य आत्मा प्राप्त गर्नु हो, आत्मामा विलीन हुनु हो। आत्माको ज्ञानसँग के सम्बन्ध? मार्ग त त्यो डुङ्गा जस्तै हो, जसले तपाईंलाई एक किनारबाट अर्को किनारसम्म पुर्याउँछ। अर्को किनारमा पुगेपछि त डुङ्गालाई त्यहीँ छोडिदिनुपर्दछ। यस तीर्थभन्दा अगाडि डुङ्गाको के काम? त्यसलाई बोकेर हिँड्नाले के नै मिल्नेवाला छ र? सबै मार्गहरूमा यस्तै हुनुपर्दछ। मार्ग त एउटा साधन मात्र हो, जसले तपाईंलाई स्वयं सम्म पुर्याउँछ। त्यहाँ पुगेपछि त्यो साधन त्यागिदिनुपर्छ। त्यो अरू कसैको काममा आउनेछ। त्यो डुङ्गा अब अरू कसैको काममा आउनेछ; तपाईं त किनारमा आइपुग्नुभयो। अब यसलाई किन समातेर बस्नुहुन्छ? अब यो स्मृति, जुन ज्ञान र अज्ञानले भरिएको छ, थाहा छैन के-के कुराले भरिएको छ त्यही त अशुद्धि हो। जब तपाईंले त्यो स्मृतिलाई पनि त्याग्नुहुनेछ, तब स्वयंलाई भेट्नुहुनेछ। स्वयंमा नै लीन हुनुहुनेछ। त्यही शून्यतामा विलीन हुनुहुनेछ, जुन म हुँ। ज्ञान मार्गमा धेरै मानिसहरूको यो भ्रम छ कि जति धेरै ज्ञान हुन्छ, म अनुभवकर्ताको त्यति नै नजिक पुग्नेछु। ज्ञान भएन भने अनुभवकर्ता कसरी भेटिएला? आत्मा कसरी प्राप्त होला? ब्रह्म कसरी देखिएला? हेर्नुं न , नामहरू पनि यस्तै राखिएका छन् आत्मज्ञान, ब्रह्मज्ञान, मायाको ज्ञान, यो ज्ञान, त्यो ज्ञान। मानिसहरू सोच्छन् कि यो ज्ञानबाटै प्राप्त हुन्छ। के अनुभवकर्ता ज्ञानबाट प्राप्त हुन्छ र? के आत्मज्ञान त्यो होइन र, जसले भन्छ कि 'मेरो अनुपस्थिति नै अनुभवकर्ता हो।' जब म हट्दछु, तब मात्र आत्मा छ। त्यहाँ तपाईंले के पाउनुभयो? के ब्रह्मज्ञानले यो भन्दैन र कि अनुभवको विलोप हुनु नै ब्रह्म हो? अनुभवकर्ता अनुभवमै समाहित हुनु नै ब्रह्म हो। योग नै ब्रह्म हो। त्यहाँ के मिल्छ र? यसपछि कुन चाहिँ ज्ञान बाँकी रहला? प्रश्न उठ्न सक्छ त्यसो भए के म मूर्ख बनेर बसिरहूँ, केही पनि नगरूँ, शुद्धि नगरूँ र बुद्धिलाई तीक्ष्ण नबनाऊँ भने के अनुभवकर्ता भेटिएला त? त्यस्तो पनि होइन। अज्ञानीलाई त यो कदापि प्राप्त हुने छैन। ज्ञानीलाई चाहिँ थोरै सम्भावना छ कि उसले यसको दर्शन पाउन सकोस्। अनुभवकर्ता न ज्ञानबाट मिल्छ न त अज्ञानबाट नै। जब यी दुवैको नाश हुन्छ, तब मात्र अनुभवकर्ता प्रकट हुन्छ। तब जे बाँकी रहन्छ, त्यो अनुभवकर्ता नै बाँकी रहन्छ। जे बाँकी रहन्छ, त्यो परम शून्य अस्तित्व बाँकी रहन्छ। अज्ञान पनि एउटा मल (अशुद्धि) हो र ज्ञान पनि एउटा मल नै हो। यी दुवैको विसर्जन हुनु नै निर्मलता हो। जसरी मैले भनेँ निकै विचित्र कुरा छ। ज्ञान मार्गमा ज्ञान प्राप्त हुँदैन। तपाईंले कुनै ज्ञान पाउनुहुने छैन। त्यसो भए यहाँ हामी के गर्छौं त? हामी त केवल अज्ञानको नाश मात्र गर्दछौं। ज्ञान त त्यो प्रकाश हो, जसले छायालाई हटाउँछ र अन्धकारलाई दूर गरिदिन्छ; त्यसबाहेक अरू केही पनि हुँदैन। तपाईंले जे-जति बटुल्नुभएको छ र जे-जति सङ्ग्रह गर्नुभएको छ, त्यो अज्ञान हो। ज्ञान त त्यसलाई सफा गर्ने एउटा विधि हो, त्यो अन्धकारलाई हटाउने एउटा प्रक्रिया हो। ज्ञान मार्ग एउटा ऋणात्मक मार्ग हो जसमा अज्ञानको क्षय हुन्छ, अर्थात् अज्ञान घट्दै जान्छ। अनि जब अज्ञान शून्य हुन पुग्छ, तब ज्ञान मार्गको पनि अन्त्य हुन्छ। अब यस्तो हुने छैन कि केही थप ज्ञान प्राप्त हुन थालोस्। त्यहाँ केही पनि प्राप्त हुँदैन। तपाईंले जे जम्मा गरिराख्नुभएको थियो, तपाईंका जे-जस्ता मान्यता, बन्धन र धारणाहरू थिए, ती सबैको नाश ज्ञान मार्गमा हुने गर्दछ। अर्थात्, यहाँ चित्तको शुद्धि हुन्छ। जब चित्त अज्ञानशून्य हुन पुग्छ, तब अनुभवकर्ता वारपार स्पष्ट देखिन थाल्छ। जसरी तपाईंले एउटा ऐनामा लागेको धुलो सफा गरिदिनुभयो भने दृश्य स्पष्ट देखिन्छ, तब अनुभवकर्ताको जुन किरण छ, त्यो यस चित्तको वारपार प्रवाहित हुन पाउँछ र त्यो चमक वा आभा मनोशरीरका माध्यमले प्रकट हुन्छ। अज्ञान घट्दै जान्छ, बस ज्ञान मार्गमा यसभन्दा बढी केही पनि हुँदैन। पाइने त केही पनि होइन। जे जम्मा भएको थियो, त्यो पनि छुटेर जानेछ। व्यक्ति पूर्णतः रूपान्तरित हुनेछ। यहाँसम्म कि व्यक्तित्वको पनि विनाश हुनेछ र 'म' भन्ने भावको पनि अन्त्य हुनेछ। ज्ञान मार्गबाट सर्वनाश हुन्छ। यहाँ केही पनि सङ्ग्रह हुँदैन र हातमा केही पनि लाग्दैन। त्यसैले धेरै मानिसहरू डराउँछन्। त्यसैले तपाईंले देख्नुहुनेछ कि आम सर्वसाधारणहरू मायाकै पछाडि दौडिरहेका छन्, ज्ञानको पछाडि होइनन्। कतै न कतै चित्तमा यो डर छ एउटा प्राचीन भय कि कतै मैले केही जान्ने त होइन? मेरो अज्ञानको नाश हुनेछ र मसँग जे-जति छ, ती सबै मबाट छुट्नेछन्। म अलिकति कम भइहाल्नेछु कि भन्ने डर छ। चित्त त एउटा सङ्ग्रह मात्र हो; चाहे त्यसलाई ज्ञान भन्नुहोस् वा अज्ञान, ती दुवै बराबर हुन्। चित्त अनुभवहरूको सङ्ग्रह हो, स्मृति हो, त्यसैले यसमा 'मलाई ज्ञान चाहिँदैन, मलाई त सपनाहरू देखाऊ, मलाई त कथा कहानी सुनाऊ' भन्ने खालकै वृत्ति हुन्छ। तपाईंले देख्नुहुनेछ कि लाखौंमा कोही एक मात्र यस्तो हुन्छ जसलाई ज्ञानको अभिलाषा हुन्छ, बाँकी सबैलाई त मिथ्याप्रति नै प्रेम छ। अध्यात्मलाई पनि उनीहरूले मिथ्या बनाइदिएका छन्। मलाई यी मन्त्रहरू दिनुहोस् जसले गर्दा केही प्राप्त होस्; कुन देवताको पूजा गरूँ जसबाट केही शक्ति मिलोस्; मेरो स्वभाव राम्रो होस्, शरीर स्वस्थ होस्; कुन योगासन गरूँ जसले गर्दा मेरा सम्बन्धहरू सुमधुर बनून्। मायाभित्रै अल्झिरहनका लागि व्यक्ति अध्यात्मको उपयोग गर्न चाहन्छ, मायाबाट बाहिर निस्कनका लागि होइन। लाखौंमा कोही एक वीर हुन्छ, जो यहाँ अज्ञानको नाश गर्नका लागि आउँछ। जब सबै कुरा नष्ट हुन्छ, तब त्यस व्यक्तिलाई हामी महावीर भन्दछौं। सबै थोक छुट्न सक्छ, तर 'म' भन्ने भाव छुट्न सक्दैन त्यस्तो व्यक्तिलाई हामी महासन्यासी भन्दछौं, महायोगी भन्दछौं। ठूला-ठूला धनीहरू र प्रतापी राजाहरूको नामसम्म कसैलाई थाहा छैन, तर यी महावीरहरूको नाम हजारौं वर्षसम्म पनि मानिसहरूले भुल्दैनन्। उनीहरूले त्यस्तो के गरे त? उनीहरूले सर्वनाश गरिदिए, अरू केही होइन। जे-जति सञ्चित थियो, त्यसलाई फालिदिए, अरू केही गरेनन्। ज्ञानको मार्ग पनि यस्तै हो, यहाँ सबै कुरा छुट्नेछन्। यदि तपाईंमा वीरता छैन, साहस छैन भने यहाँ आउनु हुँदैन। यहाँ सबै कुरा नष्ट हुनेछ। यो जे-जति सङ्ग्रह छ, त्यो माया हो र सम्पूर्ण माया नष्ट हुनेछ। मायालाई देख्नु नै मायाको विनाश हुनु हो। यस सम्पूर्ण शृङ्खलामा यही कार्य गरिएको छ। तपाईंसँग जे-जति थियो, ती सबै खोसिएका छन्। अब के बाँकी रह्यो त? अब महाज्ञानी र महाअज्ञानी दुवै शून्य छन्; अर्थात् ती दुवै एउटै हुन्। म के जान्दछु केही पनि होइन; किनकि यदि अनुभव गरिन्छ भने त्यो अज्ञेय छ। ज्ञान त उसको मात्र हुन सक्छ जसको अनुभव हुन्छ। अनुभवकर्ता त त्यो हो, जसको अनुभव गर्न सम्भव छैन। 'जसले अनुभव गरिरहेको छ' यो त केवल उसको परिभाषा मात्र हो, त्यसैले उसको ज्ञान कसरी हुन सक्छ र? हो, तपाईंका केही मान्यता र धारणाहरू छन् भने ती ज्ञान मार्गमा पक्कै पनि नष्ट हुनेछन्। अनुभवकर्ताको कुनै ज्ञान हुने छैन। आत्मज्ञान पनि ऋणात्मक छ अर्थात् 'म हुँ' भनेर तपाईंले जे बुझ्नुभएको थियो, त्यसको विनाश हुनेछ। त्यो बुझाइ जलेर खरानी हुनेछ। अब जे बाँकी रहन्छ, त्यो निर्मल छ र निर्गुण छ। उसको कुनै ज्ञान हुन सक्दैन। बुद्धि र ज्ञानबाट पनि मुक्त भएको मुक्त व्यक्तिले यही भन्नेछ कि म सबै कुरा जान्दछु, तैपनि केही पनि जान्दिनँ। यति धेरै जानेपछि पनि मैले केवल यति मात्र थाहा पाएँ कि यहाँ जान्नका लागि केही पनि छैन, बुझ्नका लागि यहाँ केही पनि छैन। यस अस्तित्वको स्वभाव न ज्ञान हो न त अज्ञान नै; यो अत्यन्तै निर्मल छ। म केही पनि जान्दिनँ भन्नु नै अज्ञेयवाद हो सबै कुरा जानेर पनि नजान्नुको स्थितिमा रहनु नै अज्ञेयवाद हो। अज्ञेयवादी नै त्यो हो, जो ज्ञानको दास हुँदैन। उसले ज्ञानलाई पनि त्यागिदिएको हुन्छ। वर्षौंसम्म ज्ञानको मार्गमा हिँड्दछ, बीस, तीस वा चालीस वर्षसम्म, यहाँसम्म कि कैयौँ जन्मसम्म; त्यसपछि उसले भन्दछ कि यो ज्ञान मिथ्या हो। उसले ज्ञानलाई पनी लात मारिदिन्छ। यो नै अज्ञेयवाद हो, जहाँ ऊ मुक्त र परम मुक्त छ। जसरी अनुभव गर्दछ र जस्तो अस्तित्व छ अस्तित्व ज्ञानको दास छैन। के ज्ञान भएन भने अस्तित्व रहने छैन र? के अनुभवकर्ताको अस्तित्व हुने छैन र? अनुभवकर्ता स्वतन्त्र र स्वच्छन्द छ। ऊ ज्ञान हुनु वा नहुनुमा आधारित वा निर्भर छैन। अज्ञेयवादी कुनै बन्धनमा छैन। उसले जान्दछ भने पनि बन्धनमा छैन र जान्दैन भने पनि बन्धनमा छैन। यहाँ जान्नका लागि छ नै के र? ऊ पूर्णतः स्वतन्त्र र पूर्णतः मुक्त छ, त्यसैले यो अनुभवकर्ताको अत्यन्तै सुन्दर छवि हो। अज्ञेयवादीभन्दा निकट कोही पनि हुन सक्दैन; एउटा मनुष्य अनुभवकर्ताको यति धेरै निकट हुनु भनेको त अनुभवकर्तामा विलीन हुनु वा लीन हुनु नै हो। त्यसपछि न मनुष्य बाँकी रहन्छ, न चित्त बाँकी रहन्छ, न त विश्व-चित्त नै रहन्छ। त्यो त महाप्रलय हो। सर्वनाशको पनि सर्वनाश हो। त्यहाँ अज्ञेयवादी पुग्दछ। यो त अत्यन्तै ठुलो कुरा हो। जसले मलाई सबै थाहा छ वा म निकै बुद्धिमान छु, सबै कुरा जान्न सक्छु भन्दछ, ऊ अत्यन्तै दम्भी बन्न पुग्दछ। उसले आफूलाई ठूलो मान्न थाल्दछ र भन्छ 'हेर, यी अज्ञानीहरू कति तुच्छ र दुःखी मानिसहरू हुन्, म कति श्रेष्ठ छु, मलाई त ज्ञान प्राप्त भइसकेको छ। मलाई त संसारकै महान गुरु भेटिनुभएको छ, मैले संसारका ठूला-ठूला शास्त्रहरू पढेको छु। मलाई त सबै कण्ठस्थ छ, मेरो त स्मृति पनि अत्यन्तै श्रेष्ठ छ। तिमीलाई त संस्कृतको एउटा शब्दसम्म आउँदैन, म त पण्डित हुँ।' यस प्रकारको दम्भ उसमा आउँछ। सबैलाई यो ज्ञात छ कि दम्भ हुनु नै नीचता हो। जो व्यक्ति अज्ञानी छ, उसले केही पनि गर्नु पर्दैन र ऊ दम्भी पनि भइदिन्छ। उसमा मूर्खता यति धेरै हुन्छ कि 'म अज्ञानी हुँ' भन्ने कुरासम्म उसले बुझ्न सक्दैन। उसलाई त ज्ञान के हो भन्ने कुराको समेत ज्ञान छैन र यही नै उसको दम्भको कारण हो कि 'मभन्दा ठूलो कोही छैन।' कमसेकम जसले जान्दछ, उसले यति त जान्दछ कि मैले केही प्राप्त गरेको छु र त्यसैले म ठूलो दम्भी हुँ। मूर्ख व्यक्ति केही नजानी र केही नगरीकनै दम्भी हुन्छ। यही दम्भका कारण ऊ हिंसक बन्दछ। यही दम्भका कारण उसले अनुचित कार्यहरू गर्दछ। यो अज्ञान दम्भको कारण हो, तर ज्ञान त त्योभन्दा पनि ठूलो मूर्खता हो, त्योभन्दा पनि विशाल दम्भ हो, जुन ज्ञानको सुनौलो तहमुनि लुकेको हुन्छ, ज्ञानको चमकधमक पछाडि लुकेको हुन्छ। यो नीचता यहाँ उच्चताका रूपमा देखिन्छ। यो कुरुपता यहाँ सुन्दरताका रूपमा देखिन्छ, किनभने यसलाई ज्ञानले लेपन गरिएको छ। यो फोहोरलाई ज्ञानले ढाकिदिएको छ। जो मनुष्य हो, मनुष्यको जुन चित्त र अहंकार हो, ज्ञानले त्यसलाई अझ विशाल बनाइदिन्छ। ज्ञानले त्यसलाई अझ घृणित तुल्याइदिन्छ। जो धेरै ज्ञानी र बुद्धिमान हुन्छन्, उनीहरूले नै ठूलो हानि गर्दछन्, ठूलो चोरी गर्दछन्, ठूला युद्धहरू लड्छन् र ठुला ठुला हत्याकाण्डहरू मच्चाउँछन्। जो मूर्ख छ, उसले त सानोतिनो हानि पुर्याउन सक्छ वा सानोतिनो अपराध गर्न सक्छ। ध्यान दिनुहोस् जो मूर्ख छ, उसमाथि शासन गरिँदैछ; तर जो महामूर्ख छ, ऊ स्वयं शासक हो। किन? किनभने उसँग ज्ञान छ, बुद्धि छ, त्यसैले उसले त्यसको दुरुपयोग गरिरहेको छ। ज्ञानिहरूले कति धेरै नीच कर्महरू गरेका छन्। सोच्छन 'म जान्दछु कि म श्रेष्ठ छु, म उच्च जातको हुँ, त्यसैले म पूरै देशलाई गुलाम बनाउनेछु, शोषण गर्नेछु।' यसको पछाडि 'म श्रेष्ठ छु' भन्ने ज्ञान नै छ। मलाई ज्ञान छ, त्यसैले म अस्त्र-शस्त्र निर्माण गर्नेछु र निर्दोष मानिसहरूको हत्या गर्नेछु; लाखौं मानिसलाई एकैसाथ मार्न सक्छु। मलाई यति धेरै ज्ञान छ! मलाई ज्ञान छ कि म ती अनपढ र सिधा मानिसहरूलाई कागजमा सहीछाप गराएर उनीहरूको जमिन हडप्न सक्छु। उनीहरूलाई जेसुकै भ्रम बेच्न सक्छु र उनीहरूको पसिनाको कमाइ आफ्नो खल्तीमा भर्न सक्छु। किन? किनभने मलाई ज्ञान छ। मूर्ख व्यक्तिले ठूलो हानि गर्न सक्दैन, दम्भी त ऊ अवश्य हुन्छ, तर ज्ञानीले नै सबैभन्दा ठूलो विनाश गर्दछ। ज्ञानको दम्भ अत्यन्तै विशाल हुन्छ र ज्ञानको मूर्खता पनि निकै भयानक हुन्छ। जसले जान्दैन, ऊ ज्ञान र अज्ञानको यो हिलोबाट बाहिर निस्किसकेको छ। उसलाई त बुद्धिमान भन्न पनि कठिन हुन्छ। जसले भन्छ कि 'म जान्दिनँ', उसलाई कसले बुद्धिमान भन्ला र? अज्ञेयतामा ठूलो पवित्रता छ, निकै इमानदारी छ र निश्छलता छ। त्यसैले आम सर्वसाधारणले अज्ञेयलाई चिन्न पनि सक्दैनन्, किनकि उनीहरू स्वयं अपवित्र छन्। चोरले त चोर नै देख्छ। जसले 'म केही जान्दिनँ' भन्छ, पण्डित त उसमाथि हाँस्ने नै भयो। उसलाई अज्ञेयको त्यो निश्छलता कहाँ देखिनेवाला छ र? अज्ञेयताले सबै कुरा जानेर त्यो पाठ समाप्त गरिदिएको छ। पुस्तक पढेर बन्द गरिदिएको छ। अब त्यहाँ केही पनि बाँकी छैन। अब त केवल अज्ञेयता बाँकी छ, जुन अत्यन्तै निर्मल छ। अज्ञेयता अर्थात् ज्ञानको दम्भको अभाव र मूर्खताको पनि अभाव हो। यसलाई कसैले बुद्धिमानी त भन्दैन। बुद्धिमानी के हो भनेर कसलाई थाहा छ र? मैले जुन उदाहरणहरू दिएँ, मानिसहरूले त्यसैलाई बुद्धिमानी भन्नेछन्। अज्ञेयवादको कुनै उपलब्धि हुँदैन। यसले केही गर्दैन, केही जमाउँदैन र यहाँ कुनै सङ्ग्रह पनि छैन। ऊ फोहरको थुप्रोमा बसेको छैन। यहाँसम्म कि उसले आफ्नो मनबाट पनि सबै कुरा निकालेर फालिदिएको छ। उसले आफ्नो स्मृतिबाट पनि फोहर निकालेर फालिदिएको छ। 'म जान्दिनँ' भन्ने छाप उसले सबैतिर लगाइदिएको छ। जे उसले जान्दथ्यो, त्यसमा पनि उसले यही छाप लगाइदियो। मेरा प्रमाणहरूले मायाको दर्शन गराउँछन्। मेरो सत्यको मापदण्डले मायाको दर्शन गराउँछ। मेरा प्रयोगहरूले मायाको दर्शन गराउँछन्। फेरि मैले के जान्ने? जसले दर्शन गर्दछ, त्यहाँ जान्नका लागि केही पनि छैन। त्यो अज्ञेय छ। यो नै इमानदारी हो। निश्छलता हो। अज्ञेयवादीमाथि सबै हाँस्छन्। अज्ञेयवादी चाहिँ सबैमाथि हाँस्दछ। ऊ मस्त छ, रमाइरहेको छ। उसमाथि ठूला-ठूला पदवीहरू झुण्डिएका छैनन्। उसको कुनै उपाधि छैन। न ऊ डाक्टर हो, न प्रोफेसर, न पण्डित, न ऋषि, न मुनि, न त महर्षि नै; ऊ त केवल खाली छ। अनि यदि तपाईंले उसको घाटीमा 'यो' वा ' त्यो ' भनेर कुनै पदवी झुण्ड्याइदिनुभयो भने पनि उसले त्यो निकालेर फालिदिन्छ। 'म केही पनि होइन' उसले यही भन्दछ र उसको नामसम्म कसैलाई थाहा हुँदैन। जसरी अस्तित्व अज्ञेय छ, त्यस्तो व्यक्ति पनि अज्ञेय नै हुन्छ। उसलाई कसैले पनि जान्न सक्दैन, कसैले उसको नाम याद राख्दैन र उसलाई यसको कुनै प्रवाह पनि छैन। ऊ यति मात्र भन्छ अस्तित्व अज्ञेय छ। अनुभव र अनुभवकर्ता पनि अज्ञेय हुन्। म स्वयं अज्ञेय छु भने अरू कसरी रहूँ त? यो नभनेर अरू के भनूँ? जसलाई म सत्य भन्छु, त्यो पनि असत्य भइदिन्छ। यसलाई असत्य भनूँ भने त्यो पनि अर्थहीन हुन्छ। यसलाई मेरो अनुभव भनूँ भने म मायाकै श्रेणीमा आउँछु। यदि मैले 'म अनुभवकर्तालाई जानिसकेको छु' भनेँ भने म मूर्ख कहलाउनेछु। यो जुन अज्ञेय हो, त्यहाँ न कुनै ज्ञान छ, न कुनै अज्ञान। यो सत्य र असत्यभन्दा पर छ। अज्ञेयभन्दा अगाडि केही पनि छैन। अज्ञेयभन्दा माथि केही पनि छैन। अज्ञेय हुनु नै बुद्ध हुनु हो, किनभने यो बुद्धिको पनि माथि छ। ज्ञान बुद्धिको परिधिभित्र छ, अज्ञान पनि बुद्धिको सीमाभित्रै छ। सत्य-असत्य, तर्क-वितर्क सबै कुरा बुद्धिकै भित्र छन्। बुद्धिभन्दा माथि जानु नै अज्ञेयता हो, बुद्धत्व हो। बुद्धले केही पनि जान्दैनन् र सबै कुरा जान्दछन्। सबै कुरा जानिसकेपछि र अज्ञानको पूर्ण विनाश गरेपछि कसैले पनि आफूलाई ज्ञानी भन्न सक्दैन। उसले आफूलाई अज्ञेय नै भन्नेछ। 'जान्न सम्भव छैन' उसले यति मात्र भन्नेछ। उसले कसैलाई विश्वास दिलाउने प्रयाससम्म पनि गर्ने छैन। उसले त केवल यही भन्नेछ 'जाऊ तिमी आफैं बुझ, यदि तिमीलाई लाग्छ कि तिमी सबै कुरा जान्न सक्छौ भने जाऊ र जान।' ज्ञान मार्ग खुल्ला छ। म तिम्रो सहायता गर्नेछु। उसले कसैलाई हतोत्साहित गर्दैन, कसैको हिम्मत तोड्दैन। उसले भन्छ 'जाऊ, आफैं हेर। मैले सत्य पनि देखेँ, असत्य पनि देखेँ, ज्ञान पनि देखेँ, अज्ञान पनि देखेँ। सबै प्रमाणहरू पनि हेरेँ। ज्ञान केही पनि होइन र म यहीँ रहन चाहन्छु। म यहीँ प्रसन्न छु।' उसको अगाडि ज्ञान राखियो भने ऊ केवल हाँस्छ। यो के ज्ञान हो? तिम्रो प्रमाण नै माया हो, अनि यसैलाई ज्ञान भन्छौ? केही कुरा पनि किन जान्न सकिँदैन त? यसको पनि कुनै निश्चित उत्तर छैन। तर यति चाहिँ भन्न सकिन्छ कि जब केही छँदै छैन भने त्यसका बारेमा के जान्न सकिन्छ र? शून्यताको बारेमा ज्ञान त शून्य नै हुनेछ। सम्पूर्ण अस्तित्व शून्यता हो। सम्पूर्ण अनुभवकर्ता शून्यता हो। मायाको आधार शून्यता हो। शून्यता भनेको अस्तित्वहीनता होइन। शून्यतामा त अनन्त सम्भावनाहरू हुन्छन्, नत्र यो सबै माया हुने थिएन। म हुने थिइनँ, तपाईं हुनुहुने थिएन र कुरा गर्ने कोहीसम्म हुने थिएन। यो निकै रहस्यमय छ। अन्ततः सारा अस्तित्व, सारा अनुभव, सारा माया र अनुभवकर्ता जो म हुँ ती सबै रहस्यपूर्ण छन्, तिनलाई जान्न सकिँदैन। यो बुद्धिको सीमाभन्दा पर छ। तर सुखद कुरा त यो छ कि 'हुन' सकिन्छ। म यो सबै पहिलेदेखि नै हुँ। म अनुभवकर्ता हुँ। म सारा अनुभव हुँ। म अस्तित्व स्वयं हुँ। अनि यसमा उठ्ने र गिर्ने लहरहरू जो मायाका रूपमा देखिन्छन्, ती पनि म नै हुँ। म जान्न त सक्दिनँ, तर हुन सक्दछु र म त्यो पहिलेदेखि नै हुँ। त्यसैले त अज्ञेयवादी प्रसन्न छ। यो ठ्याक्कै कस्तो हो भने यदि तपाईं भोकाउनुभएको छ भने 'ज्ञान' भनेको रोटीको चित्र हो, जसले तृप्ति दिँदैन; तर 'अज्ञेयता' भनेको रोटी स्वयं हो। यसभन्दा बढी सन्तुष्टि अरू केहीबाट मिल्दैन। रोटीको चित्र हेरेर कतै भोक मेटिन्छ र? भोक मेटाउन त रोटी नै खानुपर्छ। अस्तित्व, अनुभव, अनुभवकर्ता र अनुभवको क्रियालाई जानेर मात्र भोक मेटिने छैन। त्यो 'हुनु' पर्दछ। र सौभाग्यवश तपाईं पहिलेदेखि नै हुनुहुन्छ, त्यसैले केही पनि गर्नु पर्दैन। सत्य-असत्यभन्दा पर, ज्ञान-अज्ञानभन्दा पर जो अज्ञेय छ, म त्यही चैतन्य हुँ। यहाँ आएर मायाको यो शृङ्खला समाप्त हुन्छ। मलाई आशा छ कि यसबाट धेरै मानिसहरू लाभान्वित हुनुभएको होला। धेरैका शङ्काहरू मेटिए होलान् र धेरैको अज्ञान नष्ट भएको होला। यस शृङ्खलाको मद्दतले तपाईंलाई आफ्नो आध्यात्मिक मार्गमा अगाडि बढ्न सहायता मिल्नेछ। र यही आशाका साथ म बिदा लिन्छु। मेरा शुभकामनाहरू तपाईंहरू सबैका साथमा छन्। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions