Wise Words
Home
Read
Write
Publish
Profile
Logout
मेरो गुरु को हुन् ? (नेपाली )
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।** "बोधि वार्तामा यहाँलाई हार्दिक स्वागत छ। जब तपाईँले सही मार्ग रोज्नुहुन्छ, तब सबैभन्दा पहिलो प्रश्न यो आउँछ कि मेरो गुरु को हुन्? मलाई कसले मार्गदर्शन दिनेछ? मलाई कसले मेरो लक्ष्यसम्म पुर्याउनेछ? र यसरी गुरुको खोजी सुरु हुन्छ। जस्तो कि हामीले अघिल्ला भागहरूमा देख्यौँ, कहिलेकाहीँ न मार्ग हुन्छ, न त लक्ष्य नै। कहिलेकाहीँ गुरु सबैभन्दा पहिले आउनुहुन्छ, जुन पहिलो चरण हो। पहिलो प्रश्न यो हुन्छ गुरु कहाँ भेटिनुहुन्छ? गुरु त्यो हो, जसले अन्धकारबाट प्रकाशतर्फ लैजान्छ। संस्कृतमा यसको अर्थ हो अज्ञानको अन्धकारबाट ज्ञानको प्रकाशतर्फ। गुरु त्यो हो जसले आँखा दिन्छ, जसबाट सत्यको दर्शन हुन सकोस्। व्यक्ति गुरु होइन, उनीभित्र गुरु हुन्छन्। जसलाई तपाईँ गुरु भन्नुहुन्छ, जो व्यक्तिका रूपमा देखिनुहुन्छ, उहाँ गुरु क्षेत्रको एउटा उपकरण हुनुहुन्छ। यदि त्यहाँ केवल व्यक्ति मात्र छ भने केही गडबड छ, किनकि त्यसो हो भने त उनलाई ज्ञान नै भएको छैन। कहिलेकाहीँ गुरु र व्यक्तिमा भेद गर्नका लागि जुन काया देखिन्छ, त्यसलाई म 'गुरु व्यक्ति' पनि भन्दछु। अब तपाईँ सोचिरहनुभएको होला यो 'गुरु क्षेत्र' भनेको के हो? यसका लागि पहिले नै 'गुरु क्षेत्र' को विषयमा एउटा भिडियो बनाइएको छ र हुन सक्छ कि अहिले यो कुरा तपाईँको समझमा नआओस्, किनकि यो भिडियो नयाँ आउने साधकहरूका लागि बनाइँदैछ। म यहाँ केवल तपाईँलाई जानकारी दिन्छु कि 'गुरु क्षेत्र के हो?' भनेर जान्नका लागि कहाँ जाने भनेर। अहिले त तपाईँका लागि व्यक्ति नै गुरु हुनुहुनेछ, अहिले नै तपाईँले भेद गर्न सक्नुहुनेछैन। र जो मानिसहरू गुरुका बारेमा धेरै विस्तारमा जान्न चाहनुहुन्छ, उनीहरूका लागि 'गुरु ज्ञान' नामको अर्को भिडियो बनाइएको छ, जसमा धेरै विस्तारमा बताइएको छ। यहाँ हामी ती सबै कुराहरू गर्ने छैनौँ, जो निकै जटिल छन्। जब तपाईँ केही दिन मार्गमा हिँड्नुहुन्छ, त्यसपछि तपाईँलाई गुरु आदिको पहिचान हुन थाल्नेछ र तब मात्र ती भिडियोहरू काम लाग्नेछन्। म त्यसको कडी विवरणमा दिनेछु।" "जस्तो कि तपाईँले जानिसक्नुभयो पहिले लक्ष्य आउँछ, त्यसपछि मार्ग र अन्त्यमा गुरु आउँछन्। यस क्रममा तपाईँले देख्न सक्नुहुन्छ कि जसले सही मार्गबाट तपाईँलाई तपाईँको आध्यात्मिक लक्ष्यसम्म पुर्याउँछन्, उही नै गुरु हो। यो अर्को एउटा परिभाषा हो। यदि तपाईँलाई यो अन्धकार के हो र प्रकाश के हो भन्ने कुरा बुझ्न कठिन भइरहेको छ भने यो परिभाषा निकै उत्तम छ। अब तपाईँ भन्नुहोला 'यसरी सही मार्ग देखाउने त धेरै होलान्, तीमध्ये मेरो गुरु चाहिँ को हुन्?' मैले भने जस्तै, जो तपाईँलाई सबैभन्दा राम्रो लाग्छ, उही नै तपाईँको गुरु हो। जो तपाईँलाई प्रिय लाग्छ, जसका कुराहरू मन पर्छन् चाहे सुरुमा ती कुरा बुझ्न नसकिए पनि उहाँप्रति एउटा आकर्षण छ भने बुझ्नुहोस् उहाँ नै तपाईँको गुरु हो। हुन त अहिले सबै कुरा समझमा आउँदैन, किनकि तपाईँले भर्खर त सुरु गर्नुभएको छ। जसमा तपाईँको श्रद्धा छ, उही नै तपाईँको गुरु हो। तर याद राख्नुहोस् श्रद्धाको अर्थ अन्धश्रद्धा होइन। सुनेर यस्तो श्रद्धा जाग्छ कि 'हो, उहाँले जे भन्दै हुनुहुन्छ, त्यो सही होला र मेरा लागि काम लाग्ने होला।' यदि मेरो लक्ष्य आत्मज्ञान हो र यी व्यक्ति चाहिँ तन्त्र-मन्त्र वा देवी-देवताका कुरा गरिरहेका छन् भने अब त्यहाँ श्रद्धा हुँदैन, उनका कुरा मन पर्दैनन् र उनी प्रिय पनि लाग्दैनन्। यसरी नै तपाईँले निर्णय लिनुपर्छ। जब तपाईँ गुरुको निर्देशनमा मार्गमा अघि बढ्न थाल्नुहुन्छ, तब देख्नुहुनेछ कि उहाँले जे सिकाउनुहुन्छ त्यो सत्य सावित हुन्छ र तपाईँको आफ्नै अनुभव बन्न पुग्छ। तब तपाईँलाई विश्वास हुनेछ कि 'हो, यही नै मेरा गुरु हुन्, मैले सही गुरु रोजेको छु।' तर यदि ती गुरुले केहीकेही सिकाउँछन्, यताउता पढेर सुनाइदिन्छन् र तपाईँको केही प्रगति भइरहेको छैन भने उनी तपाईँको गुरु होइनन्; चाहे उनका कुरा जतिसुकै राम्रा किन नहुन् वा तपाईँको श्रद्धा नै किन नहोस्। यदि गुरुसँग भेट नै हुँदैन, कुरा नै हुन पाउँदैन, किनकि त्यहाँ त हजारौँ मानिसहरूको भीड लागिरहेको हुन्छ र गुरु चाहिँ महिनाको पन्ध्र दिन त अमेरिकामै रहनुहुन्छ भने बुझ्नुहोस् उहाँ तपाईँका लागि होइन। तपाईँलाई सिकाउनका लागि र साधनामा आइरहेका बाधाहरू हटाउनका लागि उहाँसँग समय छैन भने उनी तपाईँका गुरु होइनन्, चाहे उनी संसारकै जतिसुकै ठुलो गुरु किन नहुन्। सुरु-सुरुमा गुरुले धेरै समय नदिनु स्वभाविक होला, तर यदि कैयौँ वर्षदेखि यस्तै चलिरहेको छ भने तपाईँले त्यहाँबाट विदा हुनुपर्छ। या त गुरुले तपाईँलाई स्वीकार गरेका छैनन्, या त त्यो तपाईँको मार्ग नै होइन। अथवा, कतिपय अवस्थामा त गुरु केवल पैसा र नोट गन्नमा मात्र व्यस्त हुन्छन्; उनलाई शिष्यको आवश्यकता केवल पैसाकै लागि मात्र पर्छ र अरू कुनै कामको लागि उनीसँग समय हुँदैन। यस्ता गुरुहरूलाई तुरुन्तै छोडिदिनुपर्छ। आफ्नो अमूल्य समय खेर नफाल्नुहोस्। समय नै आध्यात्मिक साधनाको वास्तविक सार हो र एउटा साँचो साधकले आफ्नो समय कहिल्यै खेर फाल्दैन। "गुरुहरूमा केही गुणहरू पनि देखिनुपर्छ, जो अनिवार्य त छैनन्, तैपनि मैले यहाँ उल्लेख गरेको छु। जस्तै शास्त्रको ज्ञान हुनुपर्छ, शास्त्रमा के लेखिएको छ र कुन गुरुले के भन्नुभएको छ भन्ने कुरा थाहा हुनुपर्छ र उहाँमा ज्ञान कसरी दिने भन्ने कला हुनुपर्छ। जस्तै योग सिकाउँदै हुनुहुन्छ तर आफैँलाई योग आउँदैन भने उहाँ सही गुरु होइन। तन्त्रमन्त्र सिकाउँदै हुनुहुन्छ तर उहाँले कहिल्यै प्रयोग गर्नुभएको छैन भने उहाँ सही गुरु होइन। केही शास्त्र पढ्दै हुनुहुन्छ तर त्यो के हो भन्ने कुरा उहाँ आफैँले बुझ्नुभएको छैन भने उहाँ गुरु होइन। मैले किन यी गुणहरू अनिवार्य छैनन् भनेको हो भने शास्त्रबिना पनि ज्ञान हुन सक्छ र कुनै विशेष शिक्षण कला नभए पनि गुरुको सामीप्यमा शिष्यले सिक्न सक्छ। यदि ती गुरुले अध्यात्मको पसल खोलेका छैनन् भने त्यो धेरै राम्रो कुरा हो। यदि उहाँले अलिअलि पैसा माग्नुहुन्छ भने ठिकै छ, तर यदि उहाँले यति धेरै पैसा माग्नुहुन्छ जुन केवल करोडपति वा विदेशीहरूले मात्र दिन सक्छन् भने उहाँ तपाईँको गुरु होइन। एउटा आध्यात्मिक व्यक्तिलाई कति नै पैसा चाहिन्छ र? यदि कोही ५० हजार, ६० हजार वा १ लाख मागिरहेका छन् र त्यही कुरा बताइरहेका छन् जुन हरेक किताबमा लेखिएको छ भने उनी गुरु होइनन्, उनले त यसलाई एउटा व्यावसायिक धन्दा बनाएका छन्। त्यस्तै, गुरु नैतिक पनि हुनुपर्छ। यदि उहाँको विगतमा केही दाग छ भने पनि चल्छ, तर अहिले पनि उनी त्यही गरिरहेका छन् जो आम जनताले गर्छन्, जस्तै झुट बोल्ने वा राजनीति गर्ने र आचरण राम्रो छैन भने उनी गुरु होइनन्। तर मैले फेरि किन यो अनिवार्य छैन भनेँ त? किनभने केही व्यक्तिहरूको आचरण देख्दा तपाईँलाई राम्रो नलाग्न सक्छ, तर उनीहरू गुरु हुन्छन् र निकै क्रोधी स्वभावका हुन्छन्। उनीहरू कुटपिट गर्ने वा मुख छाड्ने खालका पनि हुन सक्छन्, तर उनीहरूभित्र ज्ञान र कला निकै धेरै हुन्छ। नैतिकता त सबैको फरकफरक हुन्छ। यदि गुरुमा प्रेम, दया र करुणा छ भने धेरै राम्रो कुरा हो; यदि छैन भने पनि तपाईँले कुनै न कुनै प्रकारले काम चलाउनुपर्छ। तर गुरुको वाणी स्पष्ट हुनुपर्छ; के बोलेको भन्ने नै थाहा भएन भने तपाईँको समय खेर जानेछ। उहाँहरूमा अभिव्यक्ति कला हुनुपर्छ, अर्थात् कुन समयमा के र कसरी बोल्ने भन्ने ज्ञान हुनुपर्छ। यदि तपाईँले धेरै ज्ञानी गुरु त भेट्नुभयो, तर प्रश्न सोध्दा उहाँले केवल दुई शब्द 'यसो गरेर आउनु' मात्र भन्नुहुन्छ र केही बुझाउनुहुन्न भने त्यो ज्ञान तपाईँको कामको छैन। अभिव्यक्ति आवश्यक छ र स्पष्ट वाणी पनि जरुरी छ; तर जो जोडजोडले चिच्याइरहेको छ, त्यो पनि ठिक होइन, त्यसलाई स्पष्ट वाणी भनिँदैन।" त्यसैगरी अरू धेरै वांछित गुणहरू हुनुपर्छ जुन त्यति धेरै आवश्यक भने छैनन्। जस्तै, कुनै गुरु हुनुहुन्छ जो हरेक पाँच मिनेटमा गीत गाउन वा भजन सुरु गरिहाल्नुहुन्छ, जबकि तपाईँ त्यहाँ अर्कै कारणले आउनुभएको हो; त्यो पनि ठिक होइन। उहाँलाई गाउन मन पर्छ तर तपाईँको त समय खेर गइरहेको छ। त्यसैगरी, जसले बीच-बीचमा कथा, कहानी, पुराण सबै सुनाउन थाल्छ जबकि तपाईँको लक्ष्य त ती कथाबाट प्राप्त हुँदैन भने त्यो गुरु पनि ठिक होइन। यसरी अरू पनि धेरै गुणहरू छन् जुन तपाईँ आफैँ बुझ्न सक्नुहुन्छ। सुनेरै तपाईँले थाहा पाउन सक्नुहुन्छ कि यो गुरु मेरो हो कि होइन? र यदि कसैलाई गाउने-बजाउने वा कथाहरू सुन्ने नै मन पर्छ भने हो, ठिक छ, तब उही नै तपाईँको गुरु हो। यदि तपाईँले कुनै गुरुको मार्गदर्शनमा केही गर्नुभयो, तर उहाँको मृत्यु भयो वा उहाँ यति वृद्ध हुनुभयो कि अब केही सिकाउन सक्नुहुन्न भने के म त्यहीँ बसिरहनुपर्छ? मैले के गर्नुपर्छ? मेरो सुझाव यस्तो छ कि तपाईँले अर्को गुरु खोज्न सक्नुहुन्छ। यदि उहाँ जीवितै हुनुहुन्छ भने उहाँलाई नै बताइदिनुहोस् कि 'अब मलाई अझ अगाडि बढ्नु छ, त्यसैले तपाईँको अनुमति छ भने म अरू कसैबाट केही सिक्न चाहन्छु।' सायद यस्तो कुनै गुरु होलान् जसले भनुन् 'होइन, होइन, अरूसँग नसिक!' यस्तो त हुँदैन। त्यसैले तपाईँलाई जति आवश्यक छ, त्यति नै गुरुहरू लाग्नेछन्। बीच-बीचमा मार्ग बदलियो भने गुरु पनि बदलिन्छन्। गुरु आफैँले पनि भन्नुहुनेछ कि यो तिम्रो मार्ग होइन, तिमि अर्को मार्गमा अर्को गुरुलाई भेट। केही मानिसहरूको यस्तो धारणा हुन्छ कि गुरु त एक जना मात्र हुनुपर्छ।त्यस्तो होइन। तपाईँलाई जति आवश्यक छ, त्यति नै गुरुहरू हुनुपर्छ। हो, यदि हरेक दुई-दुई दिनमा गुरु बदलिइरहेको छ भने त केही गडबड छ। त्यसो हो भने त तपाईँलाई मार्ग के हो, लक्ष्य के हो र गुरुको पहिचान कसरी गर्ने भन्ने केही पनि थाहा छैन। हो, नयाँ मानिसहरूले गुरुको पहिचान निकै कम गर्न सक्छन्, त्यसैले सधैँ सोधपुछ गरिरहनुपर्छ कि यी गुरु कस्ता हुन्? तपाईँलाई फाइदा भयो कि भएन, केही प्राप्त भयो कि भएन, वा केवल पैसा मात्र बुझाएर आउनुभयो? यस्तो अलिअलि सोधिरहनुपर्छ। जसलाई गुरु वा अध्यात्मका बारेमा पटक्कै ज्ञान छैन, उनीहरूले यस्तो गर्नुपर्छ। र भावनात्मक हुनु हुँदैन कि यी गुरु त धेरै वर्षदेखि मेरा हुन्, अब म उहाँलाई छोड्न सक्दिनँ। तपाईँको प्रगति भइरहेको छ कि छैन, यो जान्नु आवश्यक छ। छोड्नु नै त आवश्यक छैन, गुरुलाई तपाईँले सधैँ भेट्न सक्नुहुन्छ। तर साथमा अरू केही पनि गर्न सक्नुहुन्छ। गुरु त एक पटक बनेपछि कहिल्यै छुट्दैनन्।" "अब गुरुको पहिचानपछि यो प्रश्न आउँछ कि गुरुहरू कति प्रकारका हुन्छन्? यो त निकै सजिलो छ। जति मार्गहरू छन्, त्यति नै गुरुहरू छन् र ती मार्गहरूमा पनि उपमार्गहरू छन् भने गुरुहरू झन् धेरै प्रकारका हुन्छन्; अनि उनीहरूको स्वभाव आदि जानिसकेपछि त गुरुहरूका अरू धेरै प्रकार हुन पुग्छन्। यसरी त सयदुई सय प्रकारका हुने भए, तर हामी उनीहरूलाई विभिन्न वर्गमा बाँड्न सक्छौँ, गुरुहरूको वर्गीकरण गर्न सक्छौँ। त्यसैले मैले जुन 'गुरु ज्ञान' को भिडियो बनाएको छु, त्यसमा वर्गीकरण गरिएको छ। इच्छा हुनेहरूले हेर्न सक्नुहुन्छ र त्यहाँ निकै विस्तृत रूपमा वर्गीकरण गरिएको छ। जस्तै प्राचीन कालमा भएको वर्गीकरण सूचक, वाचक इत्यादि सबै बताइएको छ, तर ती अहिले तपाईँको कुनै काम लाग्ने छैनन्। आधुनिक कालमा भएका गुरुहरूलाई चाहिँ मैले चार भागमा बाँडेको छु, ताकि तपाईँलाई आफूलाई को चाहिएको हो भनेर चिन्न सजिलो होस्। पहिलो प्रकारका गुरुहरू ती हुन्, जसले तपाईँलाई बाँच्ने कला सिकाउँछन्। उनीहरूले तपाईँलाई त्यही ज्ञान दिनेछन्, जसले तपाईँको जागिर लागोस् वा तपाईँले अक्षर चिन्नुहोस्। अङ्क गणित र कला सिकाउँछन्, जसले तपाईँको जीविकोपार्जन चल्न सकोस्। सरकारले यसका लागि धेरै व्यवस्था गरिदिएको छ। विद्यालय जानुहोस् वा कलेज जानुहोस्; तपाईँलाई जुन विषय मन पर्छ, ती गुरुहरूले सिकाउनेछन् र उनीहरूले मागे जति पैसा दिएर सिक्नुहोस्। यो त पूर्ण रूपमा व्यावसायिक छ, एउटा व्यवसाय हो र पूर्णतः सांसारिक कुरा हो। हो, उनीहरूलाई पनि गुरु भनिन्छ, किनकि केही सिकाइरहेका छन् भने उनीहरू गुरु नै हुन्। तर यस्ता गुरुबाट कुनै आध्यात्मिक लाभ हुने छैन, पटक्कै हुने छैन। चाहे उनीहरूले तपाईँलाई खुट्टामा उभिन किन नसिकाउन्, अब त्यसभन्दा अगाडि उनीहरूले केही सिकाउन सक्ने छैनन्। उनीहरूलाई त्यहीँ छोडिदिनुपर्छ।" "यसपछि आउँछन् लोक गुरुहरू! जसलाई नामबाटै चिन्न सकिन्छ कि उनीहरू निकै लोकप्रिय हुन्छन्। उनीहरूको नाम सबैलाई थाहा हुन्छ, टेलिभिजनमा देखिन्छन्। उनीहरूकै समाचारहरू छापिरहन्छन् र उनीहरूको वरिपरि हजारौँ लाखौँ मानिसहरूको भीड हुन्छ। फिल्म स्टारहरू उनीहरूको वरिपरि भेटिन्छन्। ठुला ठुला राजनीतिज्ञ हरूसँग उनीहरूका फोटो खिचिएका हुन्छन्। यी लोक गुरुहरूका बारेमा हामीलाई थाहा नै होला, उनीहरूको छेउमा उभिने मौका पाउनु पनि निकै कठिन हुन्छ। त्यसो भए उनीहरूले के सिकाउलान् त? हो, उनीहरूले जे बोल्छन् त्यो निकै काम लाग्न सक्छ, तर उनीहरूले जे सिकाउँछन् त्यो एकदमै सामान्य ज्ञान मात्र हुन्छ। उनीहरू आफ्नो विषय लिएर बस्छन् र केही सामान्य कुराहरू बोलिरहन्छन् 'हेर्नुहोस्, सुख यसबाट मिल्छ, सुख त्यसबाट मिल्दैन।' मानिसहरू ताली बजाउँछन्, पैसा चढाउँछन्, कथा सकियो। धेरै मानिसहरू जसको कुनै आध्यात्मिक मार्ग वा लक्ष्य हुँदैन, उनीहरूले यस्ता गुरु रोज्छन् कि 'होइन, उहाँ त धेरै ठुलो हुनुहुन्छ, धेरै चर्चित हुनुहुन्छ, अब त उहाँ नै मेरो गुरु हो।' मानिसहरू भन्छन् 'म त प्रभावित भएँ, तर भेट्न जाँदा उनीहरू भेटिँदैनन् । त्यहा उनीहरूको कुनै सानोतिनो चेला भेटिन्छ र उसले भन्छ 'यति पैसा दिनुहोस् र भोलिदेखि आउनुहोस्, कोर्स गर्नुहोस्।' त्यसो भए यस्ता गुरुको के लाभ छ त? ठिक छ उनीहरू निकै परिचित र लोकप्रिय छन्, धेरै कुरा आउँछ उनीहरूलाई, तर तपाईँले सिक्न सक्नुहुन्न। उनीहरूले पनि खासै केही सिकाउँदैनन्, केवल सामान्य ज्ञान दिन्छन्, जुन केही मानिसहरूका लागि काम लाग्न सक्छ, तर उनीहरू धेरैजसो साधारण जनताका गुरु हुन्छन्। हुन सक्छ उनीहरूको कुनै आश्रमहरू होलान्, जहाँ छुट्टै व्यवस्था होला र साथसाथै उनीहरूले लोक गुरुको काम पनि गरिरहेका होलान्, यस्तो पनि हुन सक्छ।" "यसपछि आउँछन् तन्त्र गुरुहरू, जसले तपाईँलाई तन्त्र मन्त्र, देवी देवताको साधना र यी भूत प्रेत तथा सूक्ष्म लोकका बारेमा सिकाउनेछन्। यदि तपाईँको लक्ष्य त्यही हो भने ठिक छ, तब तपाईँलाई यिनै तान्त्रिक नै उपयुक्त लाग्नेछन्; तर यदि तपाईँको लक्ष्य केही ठुलो छ भने यिनीहरू कुनै काम लाग्ने छैनन्। यस्ता गुरुहरूले तपाईँलाई मायामा बाँधेर राख्छन्। यदि तपाईँ मायाबाट मुक्ति चाहनुहुन्छ भने यी गुरुहरू कुनै काम लाग्दैनन् र यदि तपाईँ सिद्धिहरू आदि चाहनुहुन्छ भने हो, पक्कै पनि तब यिनै तपाईँका गुरु हुन्। जसले सिद्धिहरूको प्रदर्शन गरिरहेको छ, उही नै गुरु हो। हो, तर तपाईँको प्रगति भने हुने छैन। अब ती सिद्धिहरू लिएर तपाईँ मायामै कतै हराउनुहुनेछ। के होला? त्यो कसैलाई पनि थाहा छैन। जसले केवल मन्त्र दिएर पठाइदिन्छ वा मूर्ति दिएर भोलिदेखि मूर्ति पूजा गर भनिदिन्छ अथवा जसले तपाईँलाई मसानघाटमा गएर बस्न भन्छ, यी सबै तन्त्र गुरुका लक्षण हुन्। तपाईँलाई त्यही मन पर्छ भने अवश्य गर्नुहोस्। भविष्य जान्नु र वैदेहिक प्राणीहरूलाई आफ्नो वशमा पार्नु नै तपाईँको लक्ष्य हो भने, तपाईँलाई शक्तिहरू चाहिएको छ र वासना पूर्ति गर्नु छ भने तन्त्र गुरु तपाईँका लागि हुन्। यिनीहरूमा एउटा खास कुरा के हुन्छ भने यिनीहरू आफ्नो प्रदर्शन गर्दैनन्। जसले साच्चै जान्दछन् र जसमा वास्तवमै सिद्धिहरू हुन्छन्, उनीहरू आफ्नो प्रदर्शन गर्दैनन्; उनीहरू लुकेका हुन्छन्, गुप्त रहन्छन् र सबैलाई सिकाउँदैनन्। त्यसैले उनीहरूलाई खोज्न र उनीहरूको वरिपरि घुम्नमै तपाईँका १५२० वर्ष बित्नेछन्। उनीहरूले छानेर मात्र शिष्य लिन्छन्, किनकि जो पायो त्यसलाई शिष्य बनाएर सबै कुरा सिकाइदिएमा व्यक्तिले त्यसको खराब प्रयोग गर्दछ। यो कलियुग हो, यहाँ स्वार्थ छ, छल, कपट र बेइमानी छ। यस्ता मानिसहरूलाई केही सिकाइदियो भने उनीहरूले त्यसको दुरुपयोग गर्छन्। त्यसैले जो पाखण्डी छन्, उनीहरूले ठुला ठुला विज्ञापन दिन्छन् र उनीहरूको शुल्क पनि निकै धेरै हुन्छ। सिकाउन चाहिँ केही सिकाउँदैनन्। उनीहरूले मानिसहरूलाई मूर्ख बनाउँछन्, धोका दिन्छन् र जसलाई साच्चै तन्त्रको ज्ञान छ, उनीहरूलाई त तपाईँले देख्न पनि पाउनुहुने छैन। केही मानिसहरूलाई शास्त्रीय ज्ञान हुन्छ र उनीहरू तन्त्रका बारेमा किताबहरू लेख्छन्, जसले तपाईँको मनोरञ्जन त राम्रो हुन्छ तर तन्त्र प्रयोगात्मक कुरा हो, किताब पढेर यो आउँदैन, कहिल्यै आउँदैन।" "यसपछि आउँछन् सद्गुरु। सद्गुरु को हुन्? यसको निकै सरल परिभाषा छ जसले आत्मज्ञान गराउँछन्, जसले मलाई मसँग भेटाउँछन्, उही नै सद्गुरु हुन्। सद्गुरुको अर्थ हो साँचो गुरु, सत्य गुरु। तपाईँको साँचो गुरु नै यही हो। ध्यान दिनुहोस्, अध्यात्मको परिभाषालाई ध्यानमा राख्नुहोस्। मेरो बारेमा, स्वयम्का बारेमा र आत्माका बारेमा जसले जानकारी दिन्छन्, जसले परिचय गराउँछन् अर्थात् आत्म-परिचय गराउँछन्, उनी नै सद्गुरु हुन्। यी गुरु सबैभन्दा श्रेष्ठ हुन्। यी गुरु सबैभन्दा ठुला हुन्। तपाईँ भन्नुहोला 'यो त निकै बोरिङ छ। यसले त लामा लामा प्रवचन दिन्छ। यसले त. वेदमा के लेखिएको छ, उपनिषद्मा के लेखिएको छ, यति मात्र बताउँछ।' मलाई त चमत्कार देखाउने गुरु चाहिएको छ। त्यसो हो भने ध्यान दिनुहोस्, तब तपाईँले सद्गुरु भेट्टाउनुहुने छैन। जो तपाईँको अगाडि हुनुहुनेछ, उहाँलाई तपाईँले चिन्न सक्नुहुने छैन। त्यस्ता गरुहरु निकै साधारण लाग्न सक्छ। न दाह्री हुनेछ, न जटा हुनेछ, न रुद्राक्ष हुनेछ, न त यस्तो वा उस्तो प्रकारको लुगा नै हुनेछ, न त्रिशूल हुनेछ। जस्तो म र तपाईँ छौँ, उहाँ पनि त्यस्तै । त्यही सर्ट, त्यही पाइन्ट र त्यही मोबाइल बोकेर हिँडिररहेको । उहाँहरूले कुनै चमत्कार देखाउनुहुन्न। उहाँहरूको न कुनै नाम हुन्छ, न त ठेगाना नै। कहिलेकाहीँ जो परम्परामा हुनुहुन्छ, उहाँहरूलाई तपाईँले चिन्न सक्नुहुनेछ। जस्तै स्वामीहरू वा बौद्ध परम्परामा रहेकाहरू चिनिन सक्छन्, किनकि उनीहरूको परम्पराले भन्छ कि यस्तो लुगा लगाऊ र यसरी बस, दाह्री पाल वा टाउको खौर; उनीहरूको परम्परामा यस्तै केही होला। नत्र उहाँहरू चिनिनुहुन्न। उहाँहरूलाई पनि कसैले चिन्न सक्दैन। मानिसहरूले सोच्छन् कि उनी कोही ठुला व्यक्ति हुन्, तर उनी सद्गुरु हुन् कि होइनन् भन्ने कुरा कसैले चिन्न सक्दैन। जसलाई आफ्नो लक्ष्य नै थाहा छैन, उसले त्यो व्यक्तिलाई चिन्न सक्दैन जसले उसलाई लक्ष्यसम्म पुर्याउँछ। त्यसैले निकै भौँतारिएपछि मात्र तपाईँले सद्गुरुलाई चिन्नुहुनेछ र तब तपाईँलाई सही लक्ष्य बताइएनेछ अनि त्यो प्राप्त पनि गराइनेछ।" "सद्गुरुको अर्को एउटा पहिचान के हो भने उहाँले कुरा घुमाउनुहुन्न। थोरै भन्दा थोरै समयमा धेरै भन्दा धेरै ज्ञान दिनुहुनेछ। यस्तो हुँदैन कि २० वर्ष वा ५० वर्षसम्म साधना नै चलिरहोस्, यस्तो कमै हुन्छ। एक पटक सद्गुरु भेटिएपछि काम छिट्टै सकिन्छ र लक्ष्य पनि छिट्टै प्राप्त हुन्छ, तर यो शिष्यमा पनि निर्भर गर्दछ। सद्गुरुको अर्को पहिचान यो हो कि उहाँहरूलाई केही पनि चाहिएको हुँदैन। हो, यदि कसैले दानदक्षिणा मागिहाल्यो भने पनि तपाईँले जति दिनुहुन्छ, त्यतिमै उहाँ खुसी हुनुहुन्छ। उहाँहरूले कुनै माग राख्नुहुन्न र अरू गुरुहरूले जस्तो भिक्षा पनि माग्नुहुन्न, यो एउटा मुख्य पहिचान हो। यदि तपाईँले 'म तपाईँलाई केही दिन सक्दिनँ' भन्नुभयो भने पनि उहाँले तपाईँको सहायता पक्कै गर्नुहुनेछ। उहाँहरू ज्ञानको वास्तविक अधिकारीको खोजीमा हुनुहुन्छ। यदि ज्ञानको अधिकारी उहाँको ढोकासम्म आयो भने उहाँले केही पनि माग्नुहुन्न। उहाँहरू अलिकति लुकेर रहनुहुन्छ। उहाँहरू 'म सद्गुरु हुँ' भनेर प्रदर्शन गर्नुहुन्न र आफू के हुँ भनेर पनि बताउनुहुन्न। तर उहाँहरूको ख्याति आफै फैलिन्छ, किनकि सबैलाई लाभ हुन थालेपछि मानिसहरूले एकअर्कालाई बताउन थाल्छन्। त्यसैले हामी सद्गुरुलाई चिन्ने साधकहरूसँगै रहनुपर्छ। अनि उहाँहरूको अर्को एउटा विशेषता के हो भने उहाँहरूको अगाडि पछाडि भीड हुँदैन। यदि तपाईँले दिनहुँ गुरुकोमा जानुपर्छ, दैनिक दुई तीन घण्टा बस्नुपर्छ र त्यहाँ उनीहरूको सेवा चाकरी गर्नुपर्छ भने बुझ्नुहोस् मामला निकै ढिलो चल्नेवाला छ। सद्गुरुको विशेषता यो हो कि उहाँले तपाईँलाई ठ्याक्कै त्यही कुरा बताउनुहुन्छ जुन तपाईँलाई आवश्यक छ र बाँकी कुराहरू आफैँ हुँदै जान्छन्। बीच बीचमा तपाईँले एक दुई पटक फोन गर्नुपर्ने वा सत्संगमा जानुपर्ने हुन सक्छ। जहाँ तपाईँ अड्किनुहुन्छ त्यहाँ सोध्नुपर्छ, उहाँले तपाईँलाई त्यहाँबाट बाहिर निकाल्नुहुन्छ र त्यसपछि फेरि भेटिरहनु आवश्यक पर्दैन। त्यसैले उहाँहरूको आसपास कोही देखिँदैन। उहाँहरूको कुनै रिसेप्सनिस्ट हुँदैन र कुनै ठुलो आश्रम पनि हुँदैन। उहाँहरू स्वच्छन्द रूपमा घुम्नुहुन्छ। उहाँलाई बडिगार्ड, कार, हवाईजहाज वा हेलिकप्टरको आवश्यकता पर्दैन। हुन सक्छ उहाँसँग कार वा हेलिकप्टर होस् र तैपनि उहाँ सद्गुरु हुनुहोला, यस्तो पनि हुन सक्छ, तर यस्तो विरलै हुन्छ।" "अब यस्ता गुरु कसरी भेटिनुहुन्छ त? पहिले त तपाईँले आफैँलाई तयार पार्नुपर्छ। मैले यहाँ जे-जति जानकारी दिएको छु, त्यसलाई पूर्ण रूपमा बुझ्नुहोस्। अब मलाई केही सोध्नु छ भने सोध्नुहोस्। अध्यात्मका लागि आफूलाई तयार पार्नुहोस्, गुरुका लागि आफूलाई तयार पार्नुहोस्। तपाईँ तयार हुनुभयो भने गुरु पनि तयार अवस्थामा भेटिनुहुनेछ। यो सृष्टिको नियम हो। शिष्य तयार छ भने गुरु पनि अगाडि खडा हुनुहुन्छ। यदि तपाईँको लक्ष्य छैन, मार्ग छैन, कतैबाट केही पढ्नुभयो, केही ध्यान गरिरहनुभएको छ तर केही थाहा छैन धेरै यताउता डुलिरहनुभएको छ, यो कोर्स गर्नुहुन्छ, त्यो कोर्स गर्नुहुन्छ भने त्यस्तो गुरु पनि भेटिनुहुने छैन। किनकि तपाईँको मनमा यति धेरै धारणाहरू बन्नेछन् कि अब तपाईँले गुरुलाई चिन्नै सक्नुहुने छैन। र ती गुरु अगाडि हुनुभयो भने पनि तपाईँले अस्वीकार गर्दिनुन्छ कि 'उहाँलाई त त्यो आउँदैन जो मलाई आउँछ।' यसलाई तयारी भनिँदैन, यो एउटा रोग हो, तयारी होइन। त्यसैले लक्ष्य स्पष्ट होस्, मार्ग स्पष्ट होस्, आफ्नो 'होमवर्क' पूरा गर्नुहोस्। किताबहरू पढ्नुपर्छ भने पढ्नुहोस् कि अध्यात्म के हो, यी सबै के हुन्। जब तपाईँ तयार हुनुहुनेछ, गुरुको पहिचान भइहाल्नेछ। देख्नेबित्तिकै बुझिनेछ 'हो, यहाँ मलाई मेरो लक्ष्य प्राप्त हुनेछ। यी गुरुले मलाई बताउनुहुनेछ।' सबैलाई हेर्दै रहनुहोस्, सबैलाई पढ्दै र सुन्दै रहनुहोस्। आजभोलि त धेरै सजिलो भएको छ। धेरै मानिसहरू युट्युबमा आउँछन्। किताबहरू पनि धेरै लेखिएका छन्, गुरुहरूले किताब धेरै लेख्नुहुन्छ। पढ्दै रहनुहोस्, सुन्दै रहनुहोस्, गुरुजनहरूलाई भेट्दै रहनुहोस्। धेरै यस्ता गुरुहरू हुनुहुन्छ जसले भेट्नका लागि कुनै शुल्क लिनुहुन्न। पाँच-दश मिनेट बसेर कुरा गरेको पैसा लिनुहुन्न। त्यसैले भेट्नमा कुनै हानी छैन, फोन गरिरहनुहोस्।" "त्यसैगरी, जो आध्यात्मिक मार्गमा वर्षौँदेखि छन्, उनीहरूसँग मित्रता राख्नुपर्छ, उनीहरूसँगै सत्संग गर्नुपर्छ र उनीहरूलाई छोड्नु हुँदैन। आध्यात्मिक मार्गमा आउनेबित्तिकै मानिसहरू बदलिन्छन्, तपाईँसँग पनि त्यही हुनेछ। अब एक्लै बस्नु आवश्यक छैन। साधकहरूसँगै उठबस गर्नुहोस् र ती साधकहरूले नै आफैँ बताइदिन्छन् कि कहाँ कुन गुरु हुनुहुन्छ र कस्ता हुनुहुन्छ। त्यसैले मैले देखेको छु, धेरै मानिसहरूले मलाई पनि प्रश्न पठाउँछन् कि मलाई कुनै गुरुको नाम बताइदिनुहोस्। अब म त चिन्दिनँ, म तपाईँको लक्ष्य पनि जान्दिनँ, तपाईँको चित्त कस्तो छ थाहा छैन, तपाईँलाई के चाहिन्छ जान्दिनँ, तपाईँको विगत थाहा छैन केही पनि थाहा छैन। म कुन नाम बताइदिऊँ त? यसबाट थाहा हुन्छ कि जसले नाम सोधिरहेको छ, त्यो व्यक्ति परम अज्ञानी हो। उसले आफूलाई तयार पारेको छैन र अरूसँग यसरी गुरुको नाम सोध्नु हुँदैन। कसैले कुनै गुरुको नाम बताइदियो र तपाईँका अब बीस पच्चीस वर्ष त्यसै बितिगए। तपाईँले विश्वास गर्नुभयो तर कुनै फाइदा भएन, कुनै लक्ष्य भेटिएन, साधनाको कुनै फल मिलेन भने गल्ती कसको हो त? नाम बताउनेको होइन, तपाईँकै गल्ती हो। नसोची नबुझी तपाईँ त्यो मार्गमा लाग्नुभयो। नसोची नबुझी उहाँलाई गुरु बनाउनुभयो भने अब त हानी नै हुन्छ, फाइदा हुँदैन। यस कार्यमा हतार गर्नु हुँदैन। हतार कहाँ गर्ने त? छिटो भन्दा छिटो आफूलाई तयार पार्नमा हतार गर्नुपर्छ। तयारीको अर्थ यो होइन कि कतैबाट, किताब सिताबबाट सबै कुरा सिकियो र अब मलाई गुरु को हुन् भन्ने थाहा भयो; होइन, यो तयारी होइन।" "जब गुरु भेटिनुहुन्छ, तब उहाँसँग कसरी याचना गर्ने कि 'अब तपाईँ नै मेरो गुरु हुनुहुन्छ र मलाई सिकाउनुहोस्'? मानिसहरूलाई धेरै कुरा थाहा हुन्छ, तर गुरुसँग कसरी याचना गर्ने र ज्ञान कसरी माग्ने भन्ने कुरा थाहा हुँदैन। खास गरी जब न गुरुले तपाईँलाई चिन्नुहुन्छ, न तपाईँले गुरुलाई चिन्नुहुन्छ, तब कस्तो व्यवहार गर्ने? यो कुरा साधारण मानिस र साधकहरूलाई पनि थाहा हुँदैन। सबैभन्दा पहिले गुरुलाई भेटेपछि तपाईँले आफ्नो लक्ष्य बताउनुपर्छ कि 'गुरुजी, मलाई यो चाहिएको छ। मैले सुनेको छु कि तपाईँ यो काम गर्नुहुन्छ, यो सिकाउनुहुन्छ, मलाई पनि सिकाउनुहोस्।' अब ती गुरुले नाइँ भन्न सक्नुहुने छैन। उहाँले भन्नुहुनेछ 'ए, तिम्रो लक्ष्य पनि त्यही हो जुन मेरो लक्ष्य हो? ल ठिक छ, आऊ।' यदि तपाईँलाई आफ्नो लक्ष्य थाहा छैन भने पनि केही छैन, तपाईँले लक्ष्य नै सोध्नुपर्छ कि 'मैले के गर्ने?' उहाँले तपाईँलाई सुझाव दिनुहुनेछ वा केही दिन सोच्नका लागि पठाइदिनुहुनेछ। तपाईँले गुरुलाई भन्नुपर्छ कि 'मलाई केही आउँदैन'। तयारी भनेकै यही हो। 'मलाई केही आउँदैन' भन्ने कुरा स्वीकार गर्नुको अर्थ हो तपाईँ अब ज्ञान लिन र सिक्नका लागि, अध्यात्मका लागि तयार हुनुहुन्छ। गुरुलाई मलाई यो आउँछ वा त्यो आउँछ, मैले यहाँ यसो गरेँ, त्यहाँ त्यसो गरेँ भनेर सुनाउनु हुँदैन। नत्र गुरुले भन्नुहुनेछ बाबु, तिमि आफैँ गुरु हो, तिमि नै मलाई सिकाउनु ।' यस्तो कहिल्यै नभन्नुहोस्। आफ्नो अज्ञानतालाई पूर्ण रूपमा प्रकट गर्नुपर्छ कि मलाई केही पनि आउँदैन। तपाईँले भन्नुपर्छ कि म रित्तो छु। यसको अर्थ 'मलाई केही आउँदैन' भनेर झुट बोल्नु होइन। तपाईँले आफ्नो पहिलेको साधना, पहिले कुन गुरुको मातहतमा हुनुहुन्थ्यो, पहिलेको मार्ग के थियो यी सबै कुरा गुरुलाई बताउनुपर्छ। तपाईँले नभने पनि गुरुले सोध्नुहुनेछ वा उहाँलाई आफैँ थाहा भइहाल्नेछ। गुरुभन्दा नजिक कोही हुँदैन। जुन कुरा तपाईँका आमाबुबालाई पनि थाहा हुँदैन, ती सबै कुरा गुरुलाई थाहा भइहाल्छ। तपाईँको पारिवारिक स्थिति वा कुनै दोष छ भने गुरुले सुरुमै भन्न सक्नुहुन्छ कि 'यो मार्ग वा म तपाईँका लागि उपयुक्त छैन,' जसले गर्दा तपाईँको कैयौँ वर्ष जोगिनेछ। मैले देखेको छु, धेरै मानिसहरू गुरुलाई भेट्छन् र उल्टै गुरुलाई नै सिकाउन थाल्छन्। तपाईँले त्यहाँ ज्ञान दिन जाने होइन, ज्ञान लिन जाने हो। कतिपयले कतैबाट श्लोक पढेर संस्कृतमा प्रश्न सोध्छन् हेरुँ त गुरुलाई आउँछ कि आउँदैन! यस्तो अनाडीपन गुरुले तुरुन्तै बुझिहाल्नुहुन्छ। गुरुले उनीहरूकै सहयोग गर्नुहुन्छ जो पूर्ण रूपमा खाली छन्; जो पहिले नै भरिएको छ, त्यसमा अब केही पनि अटाउन सक्दैन। तपाईँले आफ्ना मागहरू राख्नु हुँदैन कि 'गुरुजी मलाई यही मन्त्र वा यही क्रिया सिकाउनुहोस्।' यदि तपाईँलाई आफैँलाई कुन मन्त्र राम्रो छ भन्ने थाहा छ भने गुरुको के आवश्यकता? 'मैले तपाईँलाई यति पैसा दिएको छु, मलाई यही गरिदिनुहोस्' यस्तो व्यवहार त पसलमा जस्तो भयो कि 'भाइ, मलाई एक किलो आत्मज्ञान दिनुहोस् र २५० ग्राम ज्ञान सित्तैमा दिनुहोस्।' अध्यात्ममा यस्तो चल्दैन।" "गुरुलाई थाहा छ तपाईँलाई के चाहिन्छ। तपाईँलाई थाहा छैन। गुरुले जे दिनुहुन्छ, त्यो तपाईँले लिनुपर्छ। पैसा दिनु छैन भने नदिनुहोस्। गुरुसँग बहस गर्नु हुँदैन। 'होइन, तपाईँ गलत हुनुहुन्छ, बाँकी सबै सही छन् र म त पूर्ण रूपमा सही छु' भन्नुहुन्छ भने तपाईँ त्यस्तो ठाउँमा टिक्न सक्नुहुन्न। न गुरुले राख्नुहुनेछ, न तपाईँ नै बस्न सक्नुहुनेछ। धेरै मानिस पहिलो भेटमै बहस गर्न थाल्छन् कि 'तपाईँले त्यहाँ गलत बताउनुभएको थियो। त्यो होइन, तपाईँले त त्यो कुरा बताउनुपर्थ्यो जुन मलाई थाहा छ।' ठिक छ, तपाईँलाई त्यो थाहा छ, राम्रो कुरा हो। तर म त त्यही बताउँछु जुन मलाई थाहा छ। 'ए, त्यसो भए तपाईँ मलाई त्यो सिकाउन सक्नुहुन्न जुन मलाई पहिले नै थाहा छ?' गुरु भन्नुहुन्छ 'अँ, त्यो सिकाउन सक्दिनँ।' तब तपाईँ भन्नुहुन्छ 'त्यसो भए तपाईँ गुरु नै हुनुहुन्न, म गलत ठाउँमा आएँछु।' वास्तवमा तपाईँ गुरु खोजिरहनुभएको छैन, आफ्ना मान्यताहरूको एउटा समर्थन खोजिरहनुभएको छ। 'मेरो मान्यतालाई कसले समर्थन गर्छ, उही मेरो गुरु हो' भन्ने सोचेर मानिसहरू आउँछन्। उनीहरू सोच्छन् 'अरे, यिनले त त्यो कुरा नै बोलेनन् जुन मलाई थाहा छ र जुन म मान्छु। यिनी त गुरु नै होइनन्।' यो बिल्कुल सही कुरा हो। पहिले नै यति धेरै जान्नुहुन्छ र पहिले नै यति धेरै मानिसक्नुभएको छ भने गुरुले पनि केही गर्न सक्नुहुन्न। मानिसहरूलाई ज्ञान चाहिएको छैन। उनीहरूलाई त यो जान्नु छ कि यो व्यक्तिले ठ्याक्कै त्यही बोल्छ कि बोल्दैन, जुन मलाई थाहा छ; त्यसैले उनीहरू आउँछन्। भन्छन् 'होइन, होइन म त तपाईँको शिष्य हुँ।' तर भित्रभित्रै चाहन्छन् 'त्यही बोल्नुहोस् जुन म सुन्न चाहन्छु।' यो शिष्य हुनु होइन, यो त एउटा मानसिक रोग हो। तपाईँले गुरुको अगाडि केही भन्नु छैन भने नभन्नुहोस्, तर झुट चाहिँ नबोल्नुहोस्। मेरो साथमा पनि धेरै पटक यस्तो भइसकेको छ। मानिसहरू यहाँ आउँछन्, उनीहरूलाई लाग्छ कि 'यिनलाई धेरै कुरा थाहा होला' तर साँचो कुरा बताउँदैनन्। झुट बोल्छन् 'मलाई ज्ञानमार्गमा आउनु छ, मलाई यो जान्नु छ, त्यो जान्नु छ।' पछि एक हप्तापछि थाहा हुन्छ, उनीहरू भन्छन् 'गुरुजी, मलाई मन्त्र बताइदिनुहोस्, मलाई सिद्धि चाहिएको छ।' मैले सोधेँ 'पहिले किन नभनेको त?' उनीहरू भन्छन् 'मलाई लाग्यो तपाईँ मसँग कुरा नै गर्नुहुन्न, त्यसैले भनिनँ।' अब के लाग्छ त? एक महिनासम्म झुट बोलेपछि के म अब उनीहरूसँग कुरा गर्छु र? मेरो पनि समय गयो, उसको पनि समय गयो। प्राप्त केही पनि भएन। म के बताऊँ? मलाई त कुनै सिद्धि आउँदैन, कुनै मन्त्र आउँदैन। यस्ता मन्दबुद्धि मानिसहरू गुरुकोमा जान्छन र उनीहरूको जीवनमा सायदै केही राम्रो होला। झुट बोल्नाले कस्तो कर्म बन्ला? त्यसमा पनि आध्यात्मिक व्यक्तिसँग झुट बोलिएको छ भने त केही भन्नै सकिँदैन। तपाईँलाई केही चाहिएको छ भने, चाहे त्यो मुर्खतापूर्ण कुरा नै किन नहोस्, सिधै भन्नुपर्छ। गुरुको अगाडि भन्नुहोस् 'गुरुजी, मैले सुनेको छु कि यो गर्नाले यस्तो चमत्कार हुन्छ, मलाई पनि यो गर्नु छ।' अब गुरु कम्तीमा हाँस्नुहोला, त्यति मात्र हो। यसले तपाईँको कुनै कार्मिक हानी हुने छैन, समयको पनि बर्बादी हुने छैन र तपाईँको छवि पनि बिग्रने छैन। गुरुको अगाडि कम्तीमा यति त होला कि उहाँले भन्नुहुनेछ 'यो सबै छोडिदेऊ, तिमी त्यो गर जुन म बताउँछु।' यति भनेर गुरुले तपाईँलाई स्वीकार पनि गर्न सक्नुहुन्छ। तर यदि लामो समयदेखि छलकपट चलिरहेको छ भने, बुझ्नुहोस् तपाईँले आफ्नो आध्यात्मिक आत्महत्या गरिसक्नुभयो। यस्तो कहिल्यै गर्नु हुँदैन। गुरुको परीक्षा लिनु हुँदैन। गुरुले तपाईँको परीक्षा लिनुहुन्छ, तपाईँले गुरुको परीक्षा लिन सक्नुहुन्न। यदि तपाईँ गुरुको परीक्षा लिन थाल्नुभयो भने उहाँ गुरु नै हुनुहुन्न। किनकि गुरुले त सबै कुरा जानिसक्नुहुन्छ र उहाँ जानीजानी परीक्षामा असफल भइदिनुहुन्छ। उहाँलाई परीक्षा लिन आउने व्यक्ति चाहिएको छैन, उहाँलाई त सिक्न चाहने व्यक्ति चाहिएको छ। उहाँ त त्यस्तो शिष्य खोजिरहनुभएको छ। आफूलाई कसैको अगाडि सही साबित गर्नमा गुरुको कुनै रुचि हुँदैन। यदि त्यस्तो रुचि हुन्थ्यो भने उनी गुरु नै हुँदैनथे, उनी पनि अज्ञानी नै हुन्थे।" "आफ्नो आर्थिक अवस्था पूर्ण रूपमा बताउनुपर्छ। गुरुले भन्नुहुन्छ 'यसका लागि पच्चीस हजार लाग्नेछ।' तपाईँले स्पष्टसँग बताइदिनुपर्छ, झुट बोल्नु हुँदैन। दिन सक्नुहुन्छ भने दिनुहोस्, नत्र 'म तपाईँलाई पाँच हजार मात्र दिन सक्छु' भन्नुपर्छ। 'म गरिब परिवारको हुँ' वा 'अहिले मेरो जागिर छैन' जस्ता यथार्थ कुरा बताउनुपर्छ। र कुनै पनि असल गुरु हुनुहुन्छ भने उहाँले भन्नुहुनेछ 'त्यो पैसा छोडिदेऊ, तिमी सिधै आइहाल, सिधै आऊ यहाँ, पछि दिँदै गरौला। दिन मन लागे दिनु, नत्र नदिनु।' किनकि उहाँ तपाईँको इमानदारीबाट प्रभावित हुनुभएको छ। यदि तपाईँ पैसा दिन सक्नुहुन्न भने पनि तपाईँ जान सक्नुहुन्छ। गुरुसँग प्रार्थना वा याचना गर्नुहोस्। गुरु असल हुनुहुन्छ र तपाईँकै गुरु हुनुहुन्छ भने पक्कै पनि मिल्नुहुनेछ। तपाईँ जे चाहनुहुन्छ सबै प्राप्त हुनेछ, पैसा खर्च नगरी पनि प्राप्त हुनेछ। मानिसहरू के भन्छन्? 'ओहो यति धेरै पैसा लिँदा रहेछन्, अब म जान्नँ।' त्यो पैसाको एउटा पर्खाल यसकारण पनी बनाइएको हो ताकि जो कोही जथाभाबी नआओस्। जो पैसा तिर्न तयार हुन्छ, उनी साधनाप्रति अलि गम्भीर हुन्छन् भन्ने सोचेर पनि कहिलेकाहीँ शुल्क राखिन्छ। तर सधैँ यस्तो हुँदैन। हरेक गुरुले पैसा मात्र चाहनुहुन्न। हेर्नुहोस्, पैसा दिनेहरू धेरै होलान्, उहाँकोमा लाखौँ करोडौँ दिने आउलान्, त्यसैले एक दुई जना पैसा दिन नसक्नेहरू आए पनि चल्छ। र जसले 'होइन, होइन, तिमी गरिब हौ, मगन्ते हौ, तैपनि मलाई पच्चीस हजार नै देऊ' भन्छ, तब तपाईँले बुझ्न सक्नुहुन्छ कि उनी तपाईँका गुरु होइनन्। उनमा त गुरुको गुण नै छैन। तपाईँ ज्ञानका लागि योग्य हुनुहुन्छ, तपाईँमा सबै गुण छन्, तर गुरुले भनिरहेका छन् 'होइन, पच्चीस हजार नै देऊ,' भने अब ती तपाईँका गुरु होइनन्।" त्यसैगरी आफ्नो कुनै पनि शारीरिक समस्या त्यहाँ लिएर नजानुहोस्। 'गुरुजी, मलाई यो रोग लागेको छ, निको पारिदिनुहोस्, म पैसा पनि दिन्छु' कुनै पनि साँचो गुरुले यसो गर्नुहुने छैन। पारिवारिक समस्या पनि त्यहाँ नलैजानुहोस् कि मेरो विवाह ठिकसँग चलिरहेको छैन वा सम्बन्ध विच्छेद हुने अवस्था आयो। यी सबै कुरासँग गुरुको कुनै सरोकार हुँदैन। तपाईँको परिवारमा के भइरहेको छ वा संसारसँग गुरुलाई केही लिनुदिनु छैन। कुनै पनि सांसारिक समस्या लिएर गुरुकोमा नजानुहोस्। 'गुरुजी, हाम्रोतिर निकै प्रदूषण बढेको छ, केही बताइदिनुहोस् न?' वा 'गुरुजी, यो सरकार ठिकसँग चलिरहेको छैन, हाम्रो युद्ध हुन लागेको छ, म के गरूँ?' गुरुले यस्ता कुरा के गर्नुहुन्छ र? यी सबै बकवास कुराहरू गुरुभन्दा निकै टाढाका हुन्।गुरु संसारका यी कुराहरूबाट निकै पर हुनुहुन्छ। अनि हो, यदि यस्ता सबै चक्करमा फसेको कोही भेटियो भने बुझ्नुहोस् उनी गुरु होइनन्। 'मलाई भोट दिनुहोस्, म तपाईँका सबै समस्याहरू समाधान गरिदिनेछु, म सडकहरू चकाचक बनाइदिन्छु, सबैलाई जागिर दिनेछु' अब उनी गुरु होइनन्, उनी त राजनीतिज्ञ हुन्। उनी गुरु भएको नाटक वा ढोंग गरिरहेका छन्। वा 'मेरो उत्पादन किन्नुहोस्, दाँत चट्ट टल्कन्छन् र यो हुन्छ, त्यो हुन्छ' भन्नेहरू त अब राजनीतिज्ञ पनि होइनन्, ढोंगी पनि होइनन्। उनी त नीच हुन्, उनी त निकै गिरेका व्यक्ति हुन्। पैसा नै कमाउनु थियो भने व्यापारी बने हुन्थ्यो। गुरु किन बनेको त? व्यापारी बनेर के उनले पैसा पाउँदैनथे र? टन्नै पाउँथे। यो त अपराध हो। यसरी तपाईँले अलिअलि चिन्न सक्नुहुन्छ। केही मानिसहरू चमत्कारको आशा लिएर जान्छन् 'गुरुजी, चमत्कार देखाइदिनुहोस्। चमत्कार देखाए मात्रै गुरु हो, नत्र होइन' "यस्तै नीच भन्दा नीच मानिसहरू कहिलेकाहीँ गुरुकोमा पुग्छन्। गुरु कुनै सर्कसमा काम गर्ने जोकर होइनन्, जो तपाईँको मनोरञ्जनका लागि बसेका हुन्। यस्ता मानिसहरू धेरै आउँछन्। हो, यदि कसैले चमत्कार देखाइरहेको छ भने ऊ सर्कसमा काम गर्न लायक नै हो। जो साँचो गुरु हुन्छ, उसले न चमत्कार देखाउँछ, न त मलाई केही आउँछ नै भन्छ। गुरुले सिद्धिहरूको प्रदर्शन गर्दैनन्। जसले गर्छन्, उनीहरू केवल मदारी हुन्, बाँदर नचाउने जस्तै, अरू केही होइनन्। हो, उनीहरू पैसा लिन्छन् र चमत्कार देखाउँछन्। तर यसमा तपाईँको के प्रगति भयो त? ध्यान दिनुहोस्, उनीहरूले तपाईँलाई केही पनि सिकाउँदैनन्। त्यहाँ आधा त झुट हुन्छ र आधा त धोका हुन्छ। साधारण जनता यसमा निकै चाँडो फस्छन् चमत्कारको चक्करमा, विशेष गरी जो अनाडी र सोझा जनता छन्। उनीहरूलाई लाग्छ चमत्कार देखाउन थालेपछि त पक्कै पनि यिनी आध्यात्मिक होलान्। तर उनीहरूलाई अध्यात्मको 'अ' पनि थाहा हुँदैन, बोल्न पनि आउँदैन, तैपनि मानिसहरू उनीहरूलाई गुरु बनाउँछन्, सेवा गर्छन् र पैसा चढाउँछन्। ढोंगीहरूले जनताको यही अज्ञानता र मूर्खताको फाइदा उठाउँछन्। नत्र आध्यात्मिक स्थिति यति खराब हुने थिएन। कतै न कतै मानिसमा पतन आएको छ, कतै न कतै उसको बुद्धिमा पतन आएको छ। अब त बुद्धि चल्नै छोडेको छ। मानिसहरू पूर्ण रूपमा विक्षिप्त भएका छन्, त्यसैले त्यसको प्रभाव अध्यात्ममा पनि देखिन्छ। यो कुरा मैले नयाँ आउनेहरूका लागि भनेको हुँ र मलाई आशा छ कि यसबाट तपाईँलाई केही न केही सहयोग मिल्नेछ। अर्को पटक हामी हेर्नेछौँ कि गुरु भेटिएपछि साधना कसरी गर्ने। कहिलेकाहीँ गुरु भेटिएपछि पनि त्यसको फल शून्य आउँछ, किनकि शिष्यलाई साधना कसरी गर्ने भन्ने थाहा हुँदैन। हुन त गुरुले बताइदिनुहुन्छ, तर मानिसहरूले त्यसै अनुसार गर्दैनन्। त्यसैले हेर्दै रहनुहोस् बोधि वार्ता, हामी अर्को पटक भेट्नेछौँ।" नमस्कार ।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions