Wise Words
आत्मसंवाद भाग -४ (नेपाली अनुवाद )
रोशन
**गुरु:** आज हामी तपाईंको मनमा के छ भनेर हेर्नेछौं। **शिष्य:** मेरो मनमा? **गुरु:** हो, सायद तपाईं स्वयं त्यहाँ हुनुहुन्छ की। मन धेरै अनुभवहरूको मिश्रित नाम हो, जस्तै संवेदना, भावना, विचार, कल्पना, इच्छा, र स्मृति। यी सबै मानसिक अनुभव भनिन्छन् किनभने यिनलाई तपाईंमात्र जान्न सक्नुहुन्छ, अरूले सक्दैनन्। यी बाहेक केही अरू पनि छन मनमा? **शिष्य:** हजुर , बुद्धि, सपनाहरू, सुख, दुख, यिनी हरु पनि छन्। र मलाई टाउको दुख्छ भने त्यो पनि ममात्र जान्न सक्छु, अरूले सक्दैनन्। **गुरु:** राम्रा उदाहरणहरू दिनुभयो, तर यी कुनै भिन्न प्रकारका अनुभव होइनन्। बुद्धि, रचनात्मकता, सहनशीलता, योग्यताहरू हुन्, अनुभव होइनन्। तपाईं यो पनि भन्न सक्नुहुन्छ की, यी मनका गुणहरू हुन्। सपनाहरू कल्पनाजस्तै हुन्, सुख र दुख भावनाहरू हुन्, र दुखाइ संवेदना हो, जुन शरीरसँग सम्बन्धित छ, जस्तै चिसो, तातो आदि। **शिष्य:** त्यसो भए के तपाईंले भन्नुभएका यी छ प्रकारका अनुभवहरू मात्र मानसिक हुन्? **गुरु:** यी छ प्रकारहरू हुन्। मनमा जे जे हुन्छ, ती सबैलाइ तपाईं यी प्रकारहरूमा वर्गीकरण गर्न सक्नुहुन्छ। यसले मनलाई बुझ्न सजिलो बनाउँछ, जुन धेरै जटिल कुरा हो। तपाईं साधनाको समयमा हेर्नुहोस्, मनमा के-के हुन्छ र ती यी प्रकारहरूमा पर्छन् कि पर्दैनन्। सायद तपाईंले कुनै नयाँ प्रकार पनि फेला पार्नुहोला। **शिष्य:** हस, गुरुजी, अवश्य गर्नेछु। मैले सायद आजसम्म मनलाई यति ध्यानपूर्वक हेरेकै थिइनँ। **गुरु:** कसैले पनि हेर्दैन, सबै जीवनको संघर्षमा व्यस्त छन्। केवल साधकमा मात्र जिज्ञासा हुन्छ। जब तपाईंले ध्यान दिनुहुन्छ, तब ज्ञान पनि प्राप्त हुन्छ। अब महत्त्वपूर्ण कुरा, तपाईंले भन्नुभएको थियो की, म मन हुँ। मलाई ध्यान दिएर बताउनुहोस्, यी छ प्रकारका अनुभवहरूमध्ये तपाईं कुन हुनुहुन्छ? **शिष्य:** यहा निकै कठिन लाग्यो । सायद यी सबै म नै हुँ? **गुरु: **तत्त्वलाई के भनिन्छ, केही सम्झना छ? यीमध्ये के परिवर्तन भइरहेको छैन? **शिष्य: **सबै त उस्तै छन्। मेरो सोच, भावनाहरू, र सम्झनाहरू, सबै त उस्तै छन्। **गुरु: **हो, यो मानसिक अनुभव वा मन सधैं हुन्छ, तर के यो सधैं एकनास हुन्छ? जब तपाईंलाई दुखाइ भएको थियो, के त्यो सधैंनै थियो र अहिले पनि छ? **शिष्य:** होइन, त्यो त ठीक भैसक्यो। केही समय थियो, अहिले छैन, र पहिले पनि थिएन। **गुरु: **अनि के तपाईं पहिले हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ? **शिष्य:** हो, म त उही हुँ, दुखाइ होस् वा नहोस्। **गुरु:** त्यसो भए के दुखाइ तत्त्व हो वा तपाईं स्वयं दुखाइ हुनुहुन्छ? **शिष्य:** होइन, तत्त्व होइन, त्यो त गयो, आउने-जाने कुरा हो। अब मैले तपाईंको संकेत बुझें। म दुखाइ होइन, यद्यपि त्यो ममात्र जान्न सक्छु। यही तर्कले म भन्न सक्छु कि म कुनै पनि संवेदना पनि होइन। **गुरु:** तपाईंको तर्क राम्रो छ। ठीक छ, हेर्नुहोस्, गुरुले संकेत गर्नुपर्छ, यद्यपि यो तपाईंको आफ्नै अनुभव हो। तर जबसम्म यो बताइँदैन, तपाईंले जान्न सक्नुहुन्न, मान्यताकै आधारमा सत्य ठान्नुहुन्छ।र अब बाँकी अनुभवहरूलाई हेरेर बताउनुहोस्, यीमध्ये तपाईं के हुनुहुन्छ? **शिष्य:** भावनाहरू पनि आउँछन्, जान्छन्। कल्पना, इच्छाहरू पनि। त्यसकारण यी सबै म होइन। तर यदि विचार नभए म पनि हुँदिनँ, किनभने विचार वा सोचले नै त म हुँ भन्ने कुरा बताउँछ। **गुरु:** कति विचारहरू आउँछन्? **शिष्य:** तिनको त गणना नै हुँदैन, हजारौं। म धेरै नै सोच्छु। **गुरु: **तपाईं एकजना मात्र हुन सक्नुहुन्छ, हजारौं त होइन। ती हजारौं विचारहरूमध्ये कुन विचार तपाईं हो? **शिष्य**: होइन, कुनै एक विचार त म होइन। तपाईंले ठीक भन्नुभयो, ती सबै आएर जान्छन्। **गुरु: **हो, विचार पनि तत्त्व होइन। बाँकी अनुभवहरूजस्तै, आउने-जाने कुरा हो। तीमध्ये एउटा प्रकारको विचारले भन्छ, म यो हुँ, म त्यो हुँ, म यस्तो अनुभव हुँ, वा त्यस्तो अनुभव हुँ, वा शरीर हुँ, वा शरीरको कुनै अंग हुँ। यस्तो विचारले भन्छ, यो वस्तु मेरो हो, त्यो मेरो होइन। यस्ता विचारहरूबाट म यही हुँ भन्ने भ्रम हुन्छ। यी विचार वा भावनाहरूलाई अहंकार वा अहम् भाव भनिन्छ। ती पनि मानसिक अनुभव नै हुन्, आउँछन्, जान्छन्, तर तपाईं रहनुहुन्छ। **शिष्य:** गुरुजी, तपाईंले यो गहन कुरा बताउनुभयो। धेरै गहिरिएर हेर्नुपर्यो। **गुरु:** हो, सावधान रहनुपर्छ, मन धेरै जटिल छ। बुद्धिलाई भ्रमित पार्छ। र अब बाँकी रह्यो, स्मृति वा सम्झना। **शिष्य:** अ तपाईंले भन्नुभएको थियो, जे हटाउन सकिँदैन, जे बाँकी रहन्छ, त्यही नै म हुँ। त्यसो भए, त्यो स्मृति हो, होइन? किनकि यदि मैले सबै बिर्सें भने म कोही पनि होइन, होइन त? **गुरु:** मलाई भन्नुस एक वर्षअघि, ठीक आजकै दिन, तपाईं कहाँ जानुभएको थियो? के खानुभयो? त्यस दिन कस्तो लुगा लगाउनुभएको थियो? र को को संग के के कुराकानी भयो ? **शिष्य:** अब यो बताउन सम्भव छैन, गुरुजी। केही पनि सम्झना छैन। तर तपाईं किन सोध्दै हुनुहुन्छ? **गुरु:** केहि छैन। तर के त्यस दिन तपाईं हुनुहुन्थ्यो? यो बताउन सम्भव छ? **शिष्य:** हो, म त्यस दिन पनि थिएँ, अहिले पनि छु। तर घटनाहरू सम्झना छैन। **गुरु:** यदि तपाईं कुनै स्मृति हुनुहुन्छ र त्यो गयो भने, अहिले तपाईं यहाँ कसरी हुन सक्नुहुन्छ? यसको मतलब तपाईं त्यो स्मृति होइन। तर सायद तपाईं कुनै अर्को स्मृति हुनुहोला होइन ? **शिष्य:** म तपाईंको संकेत बुझ्दैछु। कुनै पनि स्मृति गयो, तर म त छु। **गुरु: **हो, स्मृति तत्त्व होइन। केही घटनाहरू वा जानकारी, जो तपाईंको स्मृतिमा छन्, ती जीवनका लागि उपयोगी हुन सक्छन् वा तपाईंको सामाजिक पहिचान हुन सक्छन्, तर तपाईंको तत्त्व हुन सक्दैनन्। ती परिवर्तन हुन सक्छन् वा बिर्सिन पनि सकिन्छ। तिनमा नयाँ घटना वा जानकारी थपिन्छ। स्मृति परिवर्तन हुन्छ। सायद तपाईंलाई आफ्नो जीवनका ५० प्रतिशत घटनाहरू पनि सम्झना छैन। त्यसो भए, के तपाईं ५० प्रतिशत मात्र बाँकी रहनुभयो? **शिष्य: ** होइन, स्मृति आउँछ, जान्छ, म होइन। म सधैं उही हुँ, कुनै कुरा बिर्सेको भरमा मा कम वा बढी हुँदिनँ। गुरु: ध्यान दिनुहोस्, तपाईंको नाम, ठेगाना, तपाईंको शिक्षा, काम, सम्बन्ध, जात, धर्म, सम्प्रदाय, राष्ट्रियता, रुचि, अरुचि यी सबै स्मृतिमा छन्। आउने-जाने अनुभव हुन्। तसर्थ, यो तपाईं होइन। सायद यिनी बिना तपाइँ जीवन सजिलो छैन, यसैले तपाईंको पहिचान बनेको छ। तर यो सबै बाहिरबाट प्राप्त भएको हो। तसर्थ, न यो तपाईं हो, न यो तपाईंको हो। जतिबेला पनि, परिवर्तन हुन सक्छ। केही नयाँ थपिन पनि सक्छ। तपाईंको नाम पनि कसैले दिएको हो, त्यो पनि तपाईंको होइन। **शिष्य: **ओहो, यो कसरी सम्भव छ ? मेरो मनले यो सबै स्वीकार गर्न सकिरहेको छैन। **गुरु:** यी मान्यताहरू धेरै गहिरोसँग बसेका छन्। तसर्थ, यिनबाट मुक्त हुन समय लाग्न सक्छ। तर हामीलाई के को हतार छ र ? र बिना सोचविचार यिनलाई फाल्न पनि सकिँदैन। सायद स्मृतिमा भएको कुरा काम लाग्दो पनि छन् । **शिष्य:** हो, म यसबारे अझै सोच्नेछु। तर अब त मनमा केही बाँकी नै छैन, जुन म हुँ। अब के गर्ने? **गुरु:** अझै हेर्नुहोस्, सायद केही बाँकी छ, कतै अरू ठाउँमा? **शिष्य:** हुन सक्छ, म मन वा शरीर होइन, तर व्यक्ति त हुँ। एउटी नारी, एउटा मानव, यति मात्र ? **गुरु: **व्यक्ति अहंकार हो। नारी वा पुरुष शरीरका प्रकारहरू मात्र हुन् र स्मृतिमा त्यसका संस्कारहरू छन्, बानीहरू छन्। मानव भनेको मनोशरीरको नाम नै हो, अन्य जीवहरू जस्तै। यी सबै हामीले हटाइसकेका छौं। यी सबै कुनै न कुनै प्रकारका अनुभव वा धारणाहरू हुन्। तैपनि, तपाईं अझै मनन गर्नुहोस्, हतार गर्नुपर्दैन। समय लिनुहोस्। सायद हामीबाट कुनै गल्ती भएको होला। तपाईंले यही पाउनुहुनेछ कि म कुनै पनि अनुभव होइन, किनभने सबै आउँछन् अनि जान्छन्। **शिष्य: ** त, के म केही पनि होइन? **गुरु:** तपाईंले सबै कुरा हटाउनुभयो, तर के तपाईं अहिले यहाँ हुनुहुन्न? **शिष्य:** म त छु। सबै गए पनि म छु। यो त बडो अचम्मको कुरा हो। तत्त्व यो सबै होइन, तर पनि छ। तर त्यो के हो? **गुरु:** यो हप्ता तपाईं म के होइन भन्ने विषयमा मनन गर्नुहोस्। त्यसपछि तत्त्व जान्न दुई मिनेटको काम हो। **शिष्य:** तपाईंको जो आज्ञा, गुरुजी। नमस्ते। **(यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रूपान्तरण मात्र हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यसमा रहेका कुनै पनि त्रुटिहरूका लागि हामी क्षमाप्रार्थी छौं र साथै मूल्यवान् सुझावहरूको अपेक्षा गर्दछौं। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसारको उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।) **
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions