Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - १ : प्रस्तावना, प्रकार र बाह्यशुद्धि
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** 'बोधि वार्ता'मा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। आज हामी एउटा नवीन शृङ्खलाको आरम्भ गर्न गइरहेका छौँ, जसको नाम हो 'अंतर्शुद्धि'। कुनै पनि साधकका निम्ति अन्तर शुद्धि अपरिहार्य छ। आखिर यो के हो? यसलाई कसरी सम्पादन गर्ने? यसबाट के-कस्ता लाभ मिल्दछन् र यस मार्गमा कस्ता विघ्न-बाधाहरू आउन सक्छन्? यस शृङ्खलामा हामी यिनै जिज्ञासा र प्रश्नहरूमाथि केन्द्रित रहेर चर्चा गर्नेछौँ। धेरैका लागि यो कुनै नौलो विषय होइन, किनकि जब तपाईं कुनै आश्रम वा सद्गुरुको सामीप्यमा पुग्नुहुन्छ, तब सर्वप्रथम शुद्धिकरणकै मार्ग निर्देश गरिन्छ। गुरुले अन्य ज्ञान प्रदान गरून् वा नगरून्, तर अन्तर शुद्धि अर्थात् 'चित्तको शुद्धि'लाई नै पहिलो प्राथमिकता र कार्यका रूपमा सुम्पिइन्छ। त्यसैले, धेरैका लागि यो विषय परिचित हुन सक्छ र कतिपयले त यसलाई पूर्ववत् अभ्यासमा ल्याइसक्नुभएको पनि होला। तपाईंहरूको साधना चलिरहेको होला र यस विषयमा आफ्नै चिन्तन तथा धारणाहरू पनि होलान्। यहाँहरूका आफ्नै मापदण्डहरू पक्कै हुनुपर्छ; अन्तर शुद्धि कसरी गर्ने भन्ने सम्बन्धमा यहाँहरूका आ-आफ्नै दृष्टिकोण र मतहरू हुन सक्छन्। सुरुवात् गर्नुपूर्व म के निवेदन गर्न चाहन्छु भने, अंतर्शुद्धिका सम्बन्धमा मैले यहाँ जे-जति व्यक्त गर्दैछु, ती सबै मेरा आफ्नै स्वानुभूतिमा आधारित छन्। यसमा प्रस्तुत गरिएका सबै विषयहरू अकाट्य वा पूर्णतः सही नै हुनुपर्छ भन्ने छैन। यहाँ कुनै कठोर नियम वा त्यस्तो विधिको बन्धन छैन, जसले शुद्धिको एउटा मात्र मार्गलाई अनिवार्य रूपमा निर्दिष्ट गरोस्। शुद्धिका अनेकौँ आयाम र पद्धतिहरू हुन सक्छन्। अशुद्धिका स्वरूपहरू पनि भिन्न-भिन्न हुन सक्छन् र तिनको निराकरणका निम्ति गरिने प्रयत्नहरू पनि अनेक हुन सक्छन्। अतः, जुन पद्धति तपाईंको साधनाका निम्ति फलदायी सिद्ध हुन्छ, त्यही नै तपाईंका लागि उचित र ग्राह्य छ। मैले भनेका कुराहरू नै ढुङ्गामा कोरिएका अक्षर हुन् र तिनकै अनुसरण गरे मात्र शुद्धि सम्भव छ भन्ने कुनै आग्रह यहाँ छैन। कतिपयलाई मेरा यी विचारहरू प्रिय नलाग्न पनि सक्छन्, त्यसका लागि म पूर्ववत् क्षमाप्रार्थी छु; किनकि शुद्धिकरणको मार्ग कसरी अवलम्बन गर्ने भन्ने विषय प्रत्येक साधकको व्यक्तिगत निर्णय र रुचिमा निर्भर रहन्छ। अब प्रश्न उठ्छ अंतर्शुद्धि के हो त? मेरो दृष्टिमा अंतर्शुद्धि चित्तको त्यो अवस्था हो, जसले हामीलाई परमानन्दको पथमा अग्रसर गराउँदछ; जसले हामीलाई अखण्ड शान्ति, मोक्ष र मुक्तितर्फ डोर्याउँदछ। शुद्ध चित्त र अशुद्ध चित्त यी दुवै चित्तका दुई विशिष्ट अवस्थाहरू हुन्। अशुद्ध चित्तले तपाईंलाई दुःख, पीडा, बन्धन र पशुत्वतर्फ धकेल्दछ। शुद्धिकरण त यसको पूर्ण उन्मूलन हो; अर्थात् अशुद्धतालाई जरादेखि नै निर्मूल पार्नु नै वास्तविक शुद्धिकरण हो। तपाईंले देख्नुहुनेछ कि शुद्धिकरणको प्रक्रियामा हामी कुनै असम्भव कार्य गर्दैनौँ। हामी कुनै अप्राकृतिक कुरा पनि गर्दैनौँ। हामी आफ्नो चित्तमा बाहिरबाट कुनै नयाँ कुरा थप्दैनौँ। केवल यति गर्दछौँ कि जे दूषित भएको छ, जसमा अपवित्रता भित्रिएको छ र जुन विकार वा मलिनता त्यहाँ जमेको छ, त्यसैलाई मात्र निराकरण गर्दछौँ। चित्त स्वयंमा शुद्ध छ। नैसर्गिक रूपमै अशुद्ध रहेको चित्तलाई हामीले शुद्ध पार्न खोजेका हौँ भन्ने पटक्कै होइन; त्यस्तो कुनै चित्त नै हुँदैन जो स्वभावैले अशुद्ध होस्। वास्तवमा, यो संसारमा रहँदा-बस्दा, समाज र अन्य मनुष्यहरूसँगको निरन्तर संसर्गका क्रममा चित्त दूषित हुन पुग्दछ। यसमा विकारहरू भरिन्छन् र अशुद्धि भित्रिन्छ, जुन अन्ततः दुःख र बन्धनको आधारभूत कारक बन्दछ। अतः, अंतर्शुद्धि यही प्रक्रिया हो मनको यो प्रदूषण र मलिनतालाई हटाउनु वा निष्कासन गर्नु। यसलाई पखालेपछि जे अवशिष्ट रहन्छ, त्यो अत्यन्त शुद्ध र कञ्चन जलसमान पवित्र हुन्छ। यो अंतर्शुद्धिको मेरो मौलिक परिभाषा हो। अन्य व्यक्तिहरूका आफ्नै परिभाषाहरू हुन सक्छन्, तपाईंलाई जुन उचित र तार्किक लाग्छ, त्यसैलाई अङ्गीकार गर्न सक्नुहुन्छ। अर्को मुख्य कुरा, यसलाई मैले किन 'अंतर्शुद्धि' नै भनेँ, केवल 'शुद्धि' मात्र किन भनिनँ त? किनकि त्यो विकार वा मलिनता तपाईंको भित्र छ, चित्तमा छ। जसका परिणाम वा फलहरू भित्र र बाहिर दुवैतिर प्रतिविम्बित हुन्छन्। त्यसैले, वास्तविक शुद्धिकरण आन्तरिक नै हुन्छ। बाह्य रूपमा तपाईं जतिसुकै शुद्ध हुनुहोस् वा बाह्य आवरणलाई जतिसुकै परिष्कृत गर्नुहोस्, त्यसले कुनै सार्थक प्रभाव पार्दैन। त्यसबाट तपाईं वास्तविक सुख, आनन्द र मुक्तिको दिशामा अग्रसर हुन सक्नुहुन्न। यो तपाईंको आफ्नै स्वानुभूति पनि हुन सक्छ। जबसम्म अंतर्शुद्धि हुँदैन, तबसम्म बाह्य शुद्धि पनि सम्भव छैन र त्यसको कुनै सार्थक प्रतिफल पनि प्राप्त हुन सक्दैन। वास्तवमा अज्ञान नै यस मलिनताको मूल जड हो। हामी प्रायः ज्ञानमार्गको चर्चा गर्दछौँ, की सबैभन्दा ठूलो अशुद्धि अज्ञान नै हो। यही नै त्यो जड हो, यही मूल हो र यही नै त्यो बीज हो, जहाँबाट अन्य समस्त अशुद्धिहरू प्रादुर्भाव हुन्छन्। अतः, ज्ञानमार्गमा अज्ञानको निवारण गर्नु नै सर्वोपरि अंतर्शुद्धि हो। त्यसैले ज्ञानमार्गका अनुयायीका लागि छुट्टै अंतर्शुद्धि अनिवार्य छैन। धेरैलाई यो सुनेर आश्चर्य लाग्न सक्छ र मनमा जिज्ञासा उठ्न सक्छ "यो कस्तो विपरित कुरा सिकाइदैछ? यदि अंतर्शुद्धि नै आवश्यक छैन भने यो कस्तो प्रकारको आध्यात्मिक साधक हो?" तर यसमा विचलित हुनुपर्ने कुनै कारण छैन, किनकि ज्ञान स्वयंमा शुद्धिकरणको एउटा अमोघ साधन हो। ज्ञानको उदय हुनासाथ अंतर्शुद्धि कुनै चमत्कार झैँ स्वतः आरम्भ हुन्छ। ज्ञानमा यस्तो सामर्थ्य हुन्छ कि यसले आन्तरिक र बाह्य दुवै पक्षलाई पूर्णतः परिशोधित र पवित्र तुल्याइदिन्छ। त्यसैले ज्ञानमार्गमा ज्ञानको प्राप्ति नै सबैभन्दा ठूलो साधना हो। यो कसरी सम्भव छ त? हामी यसै विषयमा चर्चा गर्नेछौँ र यस शृङ्खलामा अघि बढ्दै जाँदा मैले भनेका कुराहरू किन सत्य हुन् भन्ने तथ्य तपाईंसामु स्वतः स्पष्ट हुनेछ। जो साधकहरू ज्ञानमार्गमा छैनन्, उनीहरूले यसका लागि कठोर पुरुषार्थ गर्नुपर्ने हुन्छ। उनीहरूको सम्पूर्ण जीवन नै यसैमा व्यतीत हुन सक्छ, किनकि संस्कार र विकारका मलिनताहरू निकै गहिरा छन्। वास्तवमा मानव जीवनको अन्य कुनै विशिष्ट प्रयोजन वा लक्ष्य छैन; अंतर्शुद्धि नै एक साधकको अन्तिम गन्तव्य हो। बाँकी सबै थोक त तपाईंसँग पहिलेदेखि नै उपलब्ध छ। केवल अज्ञानको पर्दालाई हटाउनु छ र यसैका निम्ति मनुष्यको रूपमा यो जन्म भएको हो। यो जन्म ग्रहण गर्नु आफैँमा एउटा अशुद्धि हो। अतः मानव जीवनको बन्धनबाट मुक्ति प्राप्त गर्नु नै पूर्णतः शुद्ध हुनु हो। अंतर्शुद्धि कसरी गर्ने त? अशुद्धिका स्वरूपहरू जति विविध हुन्छन्, तिनका निराकरणका उपायहरू पनि त्यति नै हुनेछन्; जस्तो कि यहाँहरू सबैलाई विदितै होला। मनुष्यको चित्त वा मनमा अनेक प्रकारका अशुद्धिहरू सञ्चित भएका हुन्छन्। जुन मलिनता त्यहाँ जमेको छ, त्यो विविध प्रकृतिको छ। यहाँ मैले एउटा संक्षिप्त सूची प्रस्तुत गरेको छु; यद्यपि यो नै अन्तिम सूची भने होइन र यसबाहेक अन्य धेरै कुराहरू हुन सक्छन्, तर आरम्भका लागि यति पर्याप्त छ। यसमा बाह्य शुद्धि, शारीरिक शुद्धि, सम्बन्धको शुद्धि, आचरणको शुद्धि, वाक् शुद्धि, विचार शुद्धि, बुद्धिको शुद्धि र चेतनाको शुद्धि समाविष्ट छन्। सम्भवतः यहाँहरूले यस्तो सूक्ष्म वर्गीकरण अन्यत्र सुन्नुभएको छैन होला, किनकि यो मेरा आफ्नै स्वानुभूतिमा आधारित छ; वा यससँग मिल्दाजुल्दा केही कुराहरू पुस्तकहरूमा सुन्नुभएको हुन सक्छ। पुस्तकहरूमा दुई वा तीन प्रकारका शुद्धिका बारेमा उल्लेख भएको पाइएला, तर केही छैन, प्रारम्भका लागि यति नै प्रशस्त छ। यदि यहाँहरूलाई अन्य कुनै प्रकारको अशुद्धि बोध हुन्छ भने त्यसलाई यिनै वर्गहरूमध्ये कुनै एकमा समाहित गर्न सक्नुहुन्छ। जो साधकहरू यी सबै शुद्धिकरणको अभ्यासमा हुनुहुन्छ, जसलाई यी सबै प्रकारहरू ज्ञात छन् र जसको साधना अविराम चलिरहेको छ, उहाँहरूले यसभन्दा अगाडि सुन्नु आवश्यक छैन। आफ्नो समय व्यर्थ नफाल्नुहोस् र आफ्नो परिशोधन प्रक्रियालाई निरन्तरता दिनुहोस्। तर जसले यसअघि कहिल्यै सुन्नुभएको छैन कि आखिर यो 'अंतर्शुद्धि' भनेको कस्तो चिज हो? र के मेरो भित्र यति धेरै प्रकारका अशुद्धिहरू छन्? जसले यसबारे कहिल्यै चिन्तन गर्नुभएन वा कसैले कहिल्यै बताएको थिएन, उहाँहरूले भने सुन्दै जानुहोस्। किन ? किनभने यो ज्ञान यहाँहरूले अन्यत्र कतै प्राप्त गर्न सक्नुहुने छैन। यो आध्यात्मिक ज्ञान हो, जुन न कुनै विद्यालयमा पढाइन्छ, न त विश्वविद्यालयमा नै। तपाईंसँग जतिसुकै उच्च पदवी वा शैक्षिक प्रमाणपत्र भए तापनि भित्रको मलिनता यथावत् रहेको देख्नुहुनेछ। जतिसुकै ठूलो राजा वा धनाढ्य भए पनि भित्र एउटा तुच्छता र अपवित्रता व्याप्त हुन्छ; किनकि सारा समाज नै भ्रष्ट छ र समस्त मानव जाति नै अशुद्ध छ। अतः, यस धर्तीमा जन्म लिने जो-कोही पनि समयक्रमसँगै शनैः-शनैः अशुद्ध हुन पुग्दछ। किनकि यहाँ सबै जसो अशुद्ध र अज्ञानी छन्, त्यसैले कसैले कसैलाई "तिमी अशुद्ध छौ र तिमीले यो शोधन वा शुद्धिकरण गर्नुपर्छ" भनेर देखाउन वा मार्ग निर्देश गर्न सक्दैन। लगभग सत्प्रतिशत मानिसहरू यस विषयमा पूर्णतः अनभिज्ञ छन्। न तपाईंका बुवा-आमाले यसबारे बताउनुहुनेछ, न तपाईंका मित्रहरूले, न विद्यालय वा विश्वोविद्यालयका गुरुवर्गले, न त ठूला नेता वा धर्मग्रन्थहरूले नै। यसबारे कसैले चर्चा गर्दैनन्, किनभने जहाँ बोधको अभाव हुन्छ, त्यहीँ अशुद्धि व्याप्त हुन्छ। त्यसैले, जसले यसबारे कहिल्यै सुन्नुभएको छैन वा जसले भर्खरै अध्यात्मको मार्गमा पाइला चाल्नुभएको छ, उहाँहरूका लागि यो शृङ्खला निकै हितकारी सिद्ध हुनेछ। यदि यहाँहरूले यसलाई हृदयङ्गम गर्नुभयो भने यो ज्ञान जीवनपर्यन्त फलदायी रहनेछ। यो केही दिन प्रयोग गरेर फालिदिने वस्तु जस्तो होइन। यो न त कुनै जटिल दर्शन हो, न त कुनै गहकिलो शास्त्र वा विज्ञान नै; यो त केवल एउटा साधारण बोध मात्र हो। अत्यन्त दुःखको कुरा त के छ भने, यति साधारण विषय भएर पनि निकै कम मानिसलाई मात्र यसको यथार्थ ज्ञान छ। कतिपयलाई यसबारे केही जानकारी त होला, तर व्यवहारमा भने उनीहरू तिनै कार्यहरू गर्दछन्, जुन उनीहरूका आन्तरिक विकारहरूले गराइरहेका हुन्छन्। उनीहरूको जीवन अपवित्र नै रहन्छ। उनीहरूसँग भएको ज्ञान केवल शब्द र प्रदर्शनमा मात्र सीमित हुन्छ, तर भित्र भने मलिनता नै भरिएको हुन्छ। स्मरणीय रहोस्, यो त अनुष्ठान गर्ने र जीवनमा उतार्ने प्रयोगात्मक विधा हो, केवल पढेर वा सुनेर मात्र यो बोध प्राप्त हुँदैन। यदि तपाईंको मानसपटलमा बाह्य शुद्धि, शारीरिक शुद्धि वा आहार-विहारको शुद्धि के प्रयोजनका लागि होला भन्ने संशय उत्पन्न भएको छ भने, त्यो स्वभाविक हो। "यदि विकार भित्र छ भने किन म अन्तःस्थलबाटै आरम्भ नगरूँ? किन आफ्नै चित्तबाट सुरु नगरूँ?" भन्ने प्रश्न निश्चय नै निकै घतलाग्दो र तर्कसङ्गत छ। ज्ञानमार्गको पद्धति नै यही हो। यसमा हामी बाह्य पक्षहरूमा त्यति धेरै केन्द्रित हुँदैनौँ; हामी भित्रबाटै आरम्भ गर्दछौँ र त्यसैको दिव्य प्रभाव बाह्य जीवन एवं आचरणमा स्वतः प्रतिविम्बित हुन थाल्दछ। धेरै मानिसका लागि भित्रबाटै परिवर्तन सुरु गर्न कठिन हुन सक्छ, त्यसैले उनीहरूले बाह्य पक्षबाट आरम्भ गर्नुपर्ने हुन्छ। यदि तपाईं भित्रबाट आरम्भ गर्नुहुन्छ भने तपाईं 'ज्ञानमार्ग'मा हुनुहुन्छ र यदि बाहिरबाट सुरु गर्नुहुन्छ भने तपाईं 'कर्ममार्ग' वा कर्मयोगको पथमा हुनुहुन्छ। यी दुवै मार्गको अन्तिम प्रतिफल एउटै हो। आरम्भ जसरी गरे पनि हुन्छ, तर साधनाको थालनी गर्नु नै महत्वपूर्ण विषय हो। कुन अशुद्धिबाट सुरु गर्ने भन्ने कुरा यहाँको नितान्त व्यक्तिगत निर्णय हो। आफ्नो विवेक र बुद्धिद्वारा तपाईंले यसलाई बुझ्न र कार्यान्वयन गर्न सक्नुहुन्छ। यसमा धेरै मार्गदर्शनको पनि आवश्यकता पर्दैन; सद्गुरुले एकपटक पथप्रदर्शन गरेपछि तपाईंले त्यसलाई आजीवन निरन्तरता दिनुपर्दछ। यो एउटा जीवनपर्यन्त साधना हो। यसले तपाईंलाई परम सुख र परम मुक्ति दिलाउने कुरा सुनिश्चित छ; यसको सत्प्रतिशत प्रत्याभूति छ। तपाईं यो वा त्यो योग गर्नुहोस्, यो पुस्तक पढ्नुहोस् वा त्यो हुन सक्छ त्यसको परिणाम शून्य होस्। तर यदि तपाईं 'अंतर्शुद्धि' गर्दै हुनुहुन्छ भने यस कुराको पूर्ण सुनिश्चितता हुन्छ कि ढिलो-चाँडो यसले तपाईंलाई मुक्तिको द्वारसम्म पुर्याएरै छोड्छ। त्यसैले मार्ग जुनसुकै होस्, तपाईंले पाउनुहुनेछ कि अंतर्शुद्धि त्यस मार्गको एउटा अविभाज्य र अभिन्न अङ्ग हो। कुनै पनि परम्परा, पद्धति वा योग होस्, सबैमा यस्तै प्रकारको शोधन र साधना निर्देश गरिएको हुन्छ। अतः, "म त यो अमुक मार्गमा छु, कुनै दिव्य शक्ति वा ईश्वरले नै मेरा सबै विकारहरू हटाइदिनुहुनेछ" भन्ने भ्रममा कदापि नपर्नुहोस्। साधनाको वास्तविक पुरुषार्थ स्वयंले नै गर्नुपर्दछ। बाह्य जगत वा परिवेशबाट सहायता र मार्गदर्शन त प्राप्त हुन सक्छ, तर शोधनको मूल कार्य भने स्वयंले नै सम्पादन गर्नुपर्दछ। जहाँ अशुद्धि व्याप्त छ, त्यसको निराकरण पनि त्यहीँ गर्नुपर्दछ। तपाईंका इष्टदेव, सद्गुरु वा ऋषि-मुनिहरूले तपाईंलाई सत्कर्मका लागि प्रेरित मात्र गर्न सक्नुहुन्छ, तर तपाईंको आन्तरिक स्वच्छताको कार्य अरू कसैले गरिदिनेवाला छैन। जो साधक ज्ञानमार्गमा हुनुहुन्छ, उहाँहरूले पनि "मलाई त बोध भइसक्यो, अब अंतर्शुद्धि स्वतः हुनेछ" भन्दै निष्क्रिय बस्नु उचित हुँदैन। हुन त ज्ञानको उदय हुनासाथ अंतर्शुद्धि कुनै चमत्कार झैँ स्वतः आरम्भ हुन्छ र यसका लागि कुनै अतिरिक्त प्रयासको आवश्यकता पर्दैन। यद्यपि, यदि तपाईंले आफ्नो चित्तरुपी यन्त्रलाई थोरै सचेत प्रयत्नद्वारा सहयोग गर्नुभयो भने, अंतर्शुद्धि निकै शीघ्र सम्पन्न हुनेछ। यसका लागि "आफैँ भइहाल्छ नि" भन्दै वर्षौँसम्म प्रतीक्षा गरिरहनु पर्दैन। आखिर यस मानव जीवनमा सम्पादन गर्नुपर्ने योभन्दा श्रेष्ठ अर्को कार्य नै के छ र? ज्ञानको प्राप्ति भइसकेपछि अब तत्परताका साथ अंतर्शुद्धिमा लाग्नुपर्दछ। मैले पहिले पनि भनेको छु यो पूर्णतः अनिवार्य त होइन, तर यदि कुनै ज्ञानमार्गी साधकले थोरै मात्र पनि सचेत प्रयास गर्दछ भने त्यसमा कुनै हानि छैन। यसो गर्दा साधनाको लक्ष्य छिट्टै प्राप्त हुनेछ र मुक्तिको अवस्था शीघ्र सुनिश्चित हुनेछ। स्मरणीय रहोस् कि योगका समस्त मार्गहरू अन्ततः एउटै बिन्दुमा आएर समागम हुन्छन्। त्यसैले प्रत्येक साधकले सबै मार्गका केही न केही पक्षलाई अवलम्बन गर्नुपर्ने हुन्छ। ज्ञानमार्ग हुँदैमा यो पूर्णतः एकाङ्गी वा नितान्त स्वावलम्बी मार्ग हो भन्ने भ्रममा पर्नु हुँदैन। यस पथमा पनि विविध साधनाहरू सहयोगी सिद्ध हुन्छन्; जस्तै केही शक्ति साधना, केही कर्मयोग, अलिकति भक्ति र केही समर्पण। ज्ञानीका लागि यी सबैको समन्वय आवश्यक छ भन्ने मेरो व्यक्तिगत ठम्याइ हो र म स्वयं पनि यसैको अनुशरण गर्दछु। वेद र उपनिषद्को ज्ञान हुनु सराहनीय छ, तर कहिलेकाहीँ व्यावहारिक बोध पनि उत्तिकै फलदायी हुन्छ। त्यसैले तत्वज्ञानी भएँ भन्दैमा निष्क्रिय भएर बस्नु हुँदैन; बरु तत्परताका साथ 'अंतर्शुद्धि'को प्रक्रिया आरम्भ गरिहाल्नु पर्दछ। ज्ञानको प्रकाशले शुद्धि त भइरहेकै हुन्छ, तर पनि साधकले स्वयं सचेत प्रयत्न गर्नु श्रेयष्कर हुन्छ। आखिर यस संसारमा योभन्दा उत्तम सम्पादन गर्नुपर्ने कार्य नै के छ र? तसर्थ, ज्ञानमार्गीहरूका लागि पनि यो शृङ्खला अत्यन्त उपयोगी सिद्ध हुनेछ। आज हामी बाह्य शुद्धिकरण अर्थात् 'बाह्य शुद्धि'बाट यस विषयको उठान गरौँ। प्रसङ्ग 'अंतर्शुद्धि'को भए पनि म किन 'बाह्य शुद्धि'को विषय लिएर प्रस्तुत भएँ भन्ने प्रश्न यहाँहरूका मनमा उब्जन सक्छ। तर यो जिज्ञासा तिनैको मन मा उठ्नेछ, जो अझै पनि आन्तरिक र बाह्य द्वैत वा भेदको भुमरीमा अल्झिएका छन्। जसलाई आत्मज्ञान, ब्रह्मज्ञान वा चित्त र मायाको रहस्य बोध भइसकेको छ, ती साधकलाई राम्ररी थाहा छ कि बाहिर र भित्र भन्ने कुनै वास्तविक पर्खाल नै छैन। यी सबै चित्तद्वारा निर्मित कृत्रिम भेदहरू मात्र हुन्। जे बाहिर छ, त्यही नै भित्र पनि छ। हाम्रा इन्द्रियहरूले जुन बाह्य जगतको बोध गराइरहेका छन्, त्यो वास्तवमा बाहिरको केही नभएर 'विश्वचित्त'कै प्रतिविम्ब हो। हामी त केवल 'विश्वचित्त'का अविभाज्य अंश मात्र हौँ। यी दुई बीच कुनै दुरी छैन; जुन बाहिर देखिन्छ र जुन भित्र छ, ती बीच केवल अनुभूतिको आयाम मात्र भिन्न हो। यथार्थमा तिनको स्वभाव र मूल तत्व एउटै हो। यदि तपाईँलाई बाहिरको जगत कसरी मेरै अंश हो वा म नै कसरी यो सम्पूर्ण ब्रह्माण्ड हुँ भन्ने बोध भएको छैन भने, यसको अर्थ तपाईँलाई न आत्मज्ञान भएको छ न त एकात्मभावको बोध नै। त्यसैले म पुनः यहाँहरूलाई के विनम्र अनुरोध गर्दछु भने, 'ज्ञानमार्ग' सम्बन्धी त्यो सम्पूर्ण शृङ्खला गएर एकपटक श्रवण गरिदिनुहोला। त्यसबाट यहाँहरूलाई यो बोध हुनेछ कि बाहिर र भित्र भन्ने कुनै भिन्न अस्तित्व हुँदैन; अन्ततः सबै थोक एकै हुन्। वस्तुतः बाह्य अशुद्धिको मूल कारण आन्तरिक अशुद्धि नै हो। मानसपटलमा व्याप्त अज्ञानकै कारण मानिसले आफ्नो बाह्य वातावरणलाई दूषित तुल्याउँछ र त्यही मलिनतामा आफ्नो जीवन व्यतीत गर्दछ, किनकि उसको अन्तःकरण नै अशुद्ध छ। तसर्थ, हामी बाह्य पक्षबाट पनि साधना आरम्भ गर्न सक्छौँ। जोसँग अझै पूर्ण ज्ञान छैन, उनीहरूले पनि ज्ञानविना नै यसको थालनी गर्न सक्छन्, जसमा कुनै हानी छैन। बाह्य शुद्धिकरणको तात्पर्य तपाईँको परिवेश अर्थात् भौतिक जगतका वायु, जल र पृथ्वी जस्ता तत्वहरूलाई स्वच्छ र पवित्र राख्नु हो। हामी सबैलाई विदितै छ कि जहाँ मानिसहरूको सङ्ख्या धेरै हुन्छ वा जनघनत्व तीव्र हुन्छ, त्यहाँको भू-भाग, जल र वायु अर्थात् समग्र वातावरण नै प्रदूषित हुन पुग्दछ। तर जब तपाईँ कुनै प्राकृतिक स्थलमा पुग्नुहुन्छ, जहाँ प्रकृतिको अनुपम सौन्दर्य व्याप्त छ, वरपर हिमाल, झरना, नदी र खुला आकाश छ त्यहाँ तपाईँले एउटा अद्भुत स्वच्छता पाउनुहुनेछ। त्यहाँ सरसफाइ गर्ने कुनै मानिस हुँदैन, तैपनि प्रकृतिले स्वयंलाई कति स्वच्छ र लावण्यमय राख्दछ! त्यहाँ पशु-पन्छी र जनवारहरू छन्, जो लौकिक अर्थमा विवेकहीन (मूढ) मानिन्छन्। उनीहरूलाई शुद्धि र अशुद्धिको भेदसमेत ज्ञान छैन, तैपनि उनीहरू स्वयं कति पवित्र र सुन्दर देखिन्छन् र त्यहाँको सम्पूर्ण परिवेश कति निर्मल एवं शान्त प्रतीत हुन्छ! तर जब तपाईँ मानव बस्ती वा घना शहरी क्षेत्रमा प्रवेश गर्नुहुन्छ, तब जताततै दुर्गन्ध, धुवाँ र कोलाहलको साम्राज्य व्याप्त देख्नुहुनेछ। यहाँसम्म कि त्यहाँको वायु र जलसमेत अत्यन्त प्रदूषित भइसकेका हुन्छन्। यस्तो किन हुन्छ त? मनुष्य त एक विवेकशील प्राणी हो। मनुष्यसँग त बुद्धि हुन्छ र ऊ सौन्दर्यको अनुरागी पनि हो। तैपनि यस्तो विद्रूप अवस्था किन सिर्जना हुन्छ त? तपाईँले देख्नुभएकै होला, जहाँ जनघनत्व बढी हुन्छ, त्यहाँ त्यति नै बढी फोहोर र मलिनता हुन्छ। यसको मूल कारण यो हो कि मनुष्य स्वयं आन्तरिक रूपमा मलिन छ। उसको अन्तःकरणमा विकार र मलिनता व्याप्त छ र उसले आफ्नै दूषित आचरण एवं व्यवहारद्वारा प्रकृतिको नैसर्गिक लावण्यलाई भ्रष्ट र कुरूप तुल्याइदिन्छ। अब तपाईँलाई अलिकति आभास भयो होला कि किन बाह्य शुद्धि र अंतर्शुद्धि बीच यति गहिरो सम्बन्ध छ। आखिर मानिसहरू यस्तो किन गर्छन्? किन आफ्नो वासस्थानदेखि सम्पूर्ण राष्ट्रलाई नै प्रदूषित तुल्याइरहेका छन्? यसको कारण ज्ञानको अभाव हो। शुद्धताका सम्बन्धमा उनीहरूमा कुनै चेतना छैन र उनीहरूको बुद्धि पनि कुण्ठित भएको छ। यसका अन्य कारणहरू पनि छन्; जस्तै ठूला-ठूला उद्योग र व्यवसायहरू केवल लोभ र लालसाका वशीभूत भई प्रदूषण फैलाइरहेका छन्। यदि उनीहरूले धेरै उत्पादन गरे भने धेरै धन आर्जन हुनेछ भन्ने सोच राख्दछन्। पर्यावरणको विनाश भए पनि उनीहरूलाई कुनै चिन्ता छैन, उनीहरूलाई केवल स्वार्थ र अर्थोपार्जनसँग मात्र सरोकार छ। अतः उनीहरू प्रत्येक वस्तुलाई प्रदूषित तुल्याइदिन्छन्। उनीहरू खानीहरूको उत्खनन गर्दछन् र उद्योगहरूबाट निस्कने प्रदूषित त्याज्य पदार्थहरूलाई नदीहरूमा प्रवाहित गरिदिन्छन्; धुवाँलाई वायु र समग्र वातावरणमा मिसाइदिन्छन्। अनि उनीहरूले निर्माण गरेका सामग्रीहरूले पनि स्वयंमा मलिनता नै फैलाइरहेका हुन्छन्। चाहे ती प्लास्टिकजन्य वस्तु हुन्, सवारी साधन हुन् वा अन्य कुनै सामग्री प्रयोगपश्चात् मानिसहरूले तिनलाई यत्रतत्र फालिदिन्छन् र सडकहरू फोहोरका थुप्राहरूले भरिन्छन्। यो समस्या प्रत्येक राष्ट्रमा विद्यमान छ। केवल हाम्रो देशमा मात्र होइन, तर हाम्रो देश विशेषगरी वायु र जल प्रदूषण अनि मलिनताका लागि कुख्यात छ। दक्षिण एसिया लाइ अत्यन्त प्रदूषित क्षेत्र मानिन्छ, जबकि विश्वका सर्वाधिक आध्यात्मिक र बुद्धिमान मानिसहरू पनि यहीँ छन्। आखिर यस्तो किन त? आध्यात्मिक वा बुद्धिमान हुँदैमा स्वतः शुद्धि भइहाल्छ भन्ने हुँदैन। मानिसहरू समाजकै अङ्ग हुन्, त्यसैले उनीहरू त्यही गर्दछन् जुन अन्यले गरिरहेका छन्। उनीहरूमा "यो मलिनताका लागि म नै उत्तरदायी छु" भन्ने बोध वा भावको सर्वथा अभाव छ। यदि कसैमा त्यस्तो भाव छ भने पनि उनीहरू त्यसलाई लुकाउँछन् र बाह्य एवं आन्तरिक अशुद्धिलाई सतहमा आउन दिँदैनन्। सबैमा "मेरो घर त सफा छ, बाँकी परिवेशसँग मेरो सरोकार छैन" भन्ने संकुचित भावना व्याप्त छ। यही गैर-जिम्मेवारीपनले गर्दा बाह्य जगत कुरूप बन्दै गएको छ। तपाईंले देख्नुभएकै होला, कतिपय मानिसहरू आफ्नै वासस्थानलाई समेत मलिन राख्दछन्। यद्यपि, केही व्यक्तिहरूमा सामान्य विवेक हुन्छ र उनीहरू आफ्नो घरलाई केही हदसम्म स्वच्छ त राख्दछन्, तर कार्यस्थलमा पुग्नेबित्तिकै प्रदूषण फैलाउन उद्यत हुन्छन्। कार्यालय अन्य कसैको हो, मेरो होइन; म त यहाँ केवल पैसा कमाउनका लागि आउँछु भन्ने उनीहरूको संकीर्ण सोच हुन्छ। उनीहरू ठान्दछन् कि सरसफाइको सम्पूर्ण दायित्व केवल पारिश्रमिक लिने सफाइकर्मीको मात्र हो, आफ्नो होइन। ठ्याक्कै यसैगरी मानिसहरू आफ्नो शहरप्रति कुनै पनि प्रकारको अपनत्व वा जिम्मेवारी महसुस गर्दैनन्। विश्वका धेरै देशहरूमा मानिसहरू आफ्नो शहरलाई आफ्नै घरजस्तै पवित्र र स्वच्छ राख्छन्, तर हाम्रो परिवेशमा त्यो संस्कारको सर्वथा अभाव देखिन्छ। मानिसहरू यत्रतत्र फोहोर फालिदिन्छन् र शहरलाई पूर्णतः दूषित तुल्याउँछन्; किनकि यो धर्तीप्रति उनीहरूमा कुनै श्रद्धा वा आदरभाव छैन। जुन देश वा शहरमा उनीहरू बस्छन्, त्यसलाई आफ्नो मान्दैनन्; यदि कहिलेकाहीँ स्वामित्वको कुरा गर्छन् भने पनि त्यो केवल प्रदर्शन वा मिथ्या अहङ्कारका लागि मात्र हुन्छ। उनीहरूमा वास्तविक अपनत्वको प्राण हुँदैन। अन्तःकरणमा उनीहरूले यसलाई स्वार्थपूर्तिको साधन मात्र ठान्दछन्। "मेरो प्रयोजन सिद्ध होस्, बाँकी शहर, गाउँ वा देश जे-जस्तो अवस्थामा रहे पनि मलाई के मतलब? यो मेरो काम होइन, सरकारको उत्तरदायित्व हो" भन्ने गैर-जिम्मेवार मानसिकताले समाजलाई गाँजेको छ। तपाईंले देख्नुहुनेछ कि यदि जनमानसको अन्तर्यमा यस्तो भावना व्याप्त छ भने त्यस राष्ट्र, नगर वा गाउमा मलिनताको थुप्रो लाग्न थाल्दछ। मानिसहरूले आफ्नो परिवेशलाई आफ्नो ठान्दैनन्। घरलाई आफ्नो माने तापनि केवल बैठक कक्ष लाई मात्र महत्व दिन्छन, भित्रि कक्षहरूमा भने अशुद्धि र फोहोर नै रहन्छ। सबैभन्दा दूषित त उनीहरूका शौचालय र स्नानगृहहरू हुन्छन्; किनकि त्यहाँ कसैको दृष्टि पर्दैन, बाहिरबाट त केवल बैठक कक्ष मात्र देखिन्छ। त्यस बाह्य कक्षलाई उनीहरू सुनचाँदी झैँ चम्किला र बहुमूल्य सामग्रीले सुसज्जित पार्दछन् ताकि लोकले उनीहरूलाई अत्यन्त 'सफाईप्रेमी' वा 'सम्भ्रान्त' सम्झिऊन्। तर जब घरको भित्री भागमा एक पाइला मात्र पनि राखिन्छ, तब त्यहाँ दुर्गन्ध, फोहोर र कसिङ्गरको चाङ मात्र फेला पर्दछ। जब आफ्नै घरको अवस्था यस्तो छ भने बाह्य जगतको त कुरै छोडौँ। तेस्रो पक्ष, तपाईंले देख्नुभएकै होला कि धेरै मानिसहरू आफूलाई 'पशुप्रेमी' भन्न रुचाउँछन्, तर प्राणीहरूलाई बन्धनमा राख्छन् र पन्छीहरूलाई कारागाररुपी पिँजडामा कैद गर्दछन्। यहाँसम्म कि वन्यजन्तुको हत्या गरी तिनको छाला मा भुस भरेर सजाउने साधन बनाउँछन् वा तिनको छालाबाट निर्मित वस्त्रहरू धारण गर्छन्। गाउँघरमा गाई, भैँसी, बाख्रा वा सुँगुरहरू आफ्नै वासस्थानको नजिकै पालिएका हुन्छन्, तर तिनबाट हुने दुर्गन्ध र अशुद्धिलाई भने उनीहरूले पूर्णतः उपेक्षा गरिरहेका हुन्छन्। तपाईंले भन्नुहोला कि अघि भर्खरै मैले पशुपन्छीहरू निर्मल र प्राकृतिक हुन्छन् भन्दै थिएँ, अहिले किन त्यसको विपरित कुरा गरिरहेको छु? यस तथ्यतर्फ निकै कम मानिसले मात्र ध्यान दिन्छन्। पशुपन्छीहरू स्वयम्मा निर्मल हुन्छन्; प्रकृतिले उनीहरूको निर्मलता र शुद्धिकरणको समुचित व्यवस्था पहिल्यै मिलाएको हुन्छ। एउटा उडिरहेको चरालाई हेर्नुहोस्, त्यो अत्यन्त स्वच्छ र सुन्दर देखिन्छ। यहाँसम्म कि कीट-पतङ्ग र सर्पहरूसमेत निर्मल हुन्छन्; उनीहरूमा कुनै नैसर्गिक अशुद्धि हुँदैन। तर जब ती मनुष्यको संसर्गमा आउँछन्, मनुष्यको सम्पर्कमा पुग्छन् वा मानव आवासमा प्रवेश गर्छन्, तब ती मलिन हुन थाल्छन्, दुर्गन्ध आउन थाल्छ र व्याधि फैलाउने कारक बन्दछन्। यसको एउटा विशिष्ट कारण छ। कारण यो हो कि तपाईंले उनीहरूलाई उनीहरूको प्राकृतिक परिवेशबाट विमुख गराई कृत्रिम वातावरणमा आबद्ध गरिदिनुभएको छ। पशुहरूलाई बन्धन कदापि स्वीकार्य हुँदैन। जब मनुष्यलाई बन्धन मन पर्दैन भने पशुलाई कसरी मन पर्ला र? मनुष्य पनि एक प्रकारको पशु नै हो र बन्धन कसैलाई पनि प्रिय लाग्दैन। जब तपाईं कुकुर, बिरालो, बाँदर वा अन्य कुनै प्राणीलाई आफ्नो घरमा कैद गर्नुहुन्छ, तब ती पशुहरू मानसिक रूपमा बिरामी हुन थाल्छन्। उनीहरूले आफ्नो स्वाभाविक आहार पाउँदैनन्। मैले देखेको छु, मानिसहरू कुकुर पाल्छन् र उनीहरूलाई उद्योगमा उत्पादित कुनै मलिन, कुहिएको मासु जस्तो वस्तु खुवाउँछन्। गाई-भैँसीहरूलाई अधिक दुग्ध वा मासु वृद्धिका लागि अनेकौँ रसायन र सुई दिइन्छ। मानिसले गर्ने यस्ता अमानवीय कृत्यहरू देख्दा नै घृणा उत्पन्न हुन्छ। अतः यस्तो पशु कसरी स्वस्थ रहन सक्छ? यस्तो प्रताडित पशुको शरीरबाट दुर्गन्ध बाहेक अरू के नै निस्कन सक्छ र? यस्तो पशुले मानव आवासमा मलिनता बाहेक अरू के नै फैलाउन सक्छ र? जुन उसको नैसर्गिक वातावरण हो, उसको आफ्नै समुदाय, घर र परिवार हो त्यसबाट तपाईँले उसलाई सर्वथा विमुख गराउनुभएको छ। न त उसको प्राकृतिक प्रजननमा अनुमति छ, न त मलमूत्र त्यागको नै कुनै स्वतन्त्रता छ। केही पनि बाँकी छैन। तपाईँले उसलाई केवल आफ्नो क्षणिक मनोरञ्जन वा कुनै न कुनै स्वार्थसिद्धिका लागि मात्र बन्धनमा राख्नुभएको छ; वा मासुका निम्ति पाल्नुभएको छ। यस्तो दयनीय वातावरणमा त्यो जीवले अशुद्धि बाहेक अरू के नै दिन सक्छ र? त्यो जीव मानसिक रूपमा मात्र रुग्ण हुँदैन, बरु उसको शरीर पनि व्याधिग्रस्त हुन पुग्दछ। तिनै व्याधि र सङ्क्रमणहरू अन्ततः मनुष्यमा पनि सर्न पुग्दछन्। धेरै मानिसलाई घरमा पशुपन्छी पाल्ने रहर हुन्छ र उनीहरूलाई स्वच्छ राख्ने प्रयास पनि गर्छन्, चिकित्सककहाँ लैजान्छन्, तर त्यसको कुनै सार्थक प्रभाव पर्दैन। आखिर मानिसहरू किन यस्तो गर्छन् खोइ ? यदि कसैले आफ्नै मनोरञ्जनका लागि वा "राम्रो देखिन्छ" भन्ने बहानामा तपाईँलाई यसरी नै बन्धनमा राखिदियो भने, के तपाईँलाई त्यो आफ्नो लागि प्रिय होला र? पक्कै हुने छैन। तर मनुष्यले अन्य जीवहरूप्रति अत्यन्त क्रूर व्यवहार प्रदर्शन गर्दछ। तपाईँले याद गर्नुभएकै होला, मनुष्य नै यस्तो एकमात्र प्राणी हो जसले यस्तो दुष्कर्म गर्दछ; प्रकृतिका अन्य कुनै पनि जीवले यस्तो गर्दैनन्। अन्य हिंस्रक जीवहरू पनि केवल आफ्नो भोक मेट्नका लागि शिकार गर्छन् र आफ्नो बाटो लाग्छन्। तर मनुष्य मात्र यस्तो जीव हो, जसले अन्य निर्दोष प्राणीहरूप्रति यति विघ्न अमानवीय र घृणास्पद कार्यहरू गर्दछ। अज्ञान र मूर्खता नै यसको मूल कारण हो। कागलाई कसैले पनि आफ्नो घरमा भित्रिन दिँदैन। किन? किनकि त्यो कर्कश स्वरको छ, हेर्दा पनि असुन्दर र कुरूप छ। तर सुगालाई भने पिँजडामा कैद गरिन्छ। त्यसको सौन्दर्य नै उसको दुःख र बन्धनको मूल कारण बनेको छ; त्यसै लावण्यले गर्दा उसको जीवन नरक बनेको छ। जुन घरमा यसरी प्राणीहरूलाई बन्धनमा राखिन्छ स्मरणीय रहोस्, 'पाश' (बन्धन) बाट नै 'पशु' शब्दको व्युत्पत्ति भएको हो, जसको अर्थ नै बाँधेर राखिने प्राणी भन्ने हुन्छ तब त्यो घर कसरी पवित्र हुन सक्छ? अनि त्यस घरको स्वामी कसरी शुद्ध र ज्ञानी हुन सक्छ? यो कस्तो प्रकारको बोध हो र कस्तो किसिमको बुद्धिमानी हो? यो त समाजको देखादेखी गर्ने प्रवृत्ति मात्र थियो "उसको घरमा एउटा कुकुर छ भने मेरो घरमा दुईवटा हुनुपर्छ" भन्ने जस्तो मूर्खता चलिरहेकै छ। तर कतिपय मानिसहरू त वन्यजन्तुहरूको हत्या गर्नसम्म पुग्दछन्। प्रकृति जो स्वयंमा लावण्यमय र सुन्दर छ, त्यसलाई पनि मानिसले मलिन र विद्रूप तुल्याइरहेका छन्; त्यहाँ पनि हिंसाको विस्तार गरिरहेका छन्। हामी, अर्थात् यो सम्पूर्ण मानव जाति नै यस्ता कार्यहरूमा संलग्न छौँ, जसका कारण बाह्य वातावरण पूर्णतः दूषित र अशुद्ध भएको छ। यो कुनै एक वा दुई व्यक्तिको कुरा होइन, लगभग सबैको अवस्था यही हो। यो कुनै सामान्य विषय होइन। यसको मूल जड भनेकै अज्ञान र मूर्खता हो। तपाईँको समाजमा बाह्य शुद्धता र वातावरणीय स्वच्छताका विषयमा कुनै समुचित शिक्षा प्रदान गरिँदैन। न त विद्यालयमा यसबारे सिकाइन्छ, न त विश्वविद्यालयहरूमा नै यस्ता गहन विषयमा चर्चा गरिन्छ। जो उच्च शिक्षाप्राप्त र सुशिक्षित व्यक्तिहरू छन्, उनीहरू पनि यसै दुष्कर्ममा लिप्त छन्। मैले त यो देखेको छु कि जो आफूलाई अत्यन्त बुद्धिमान ठान्दछन्, उनीहरूले नै बृहत् स्तरमा प्रदूषण फैलाइरहेका हुन्छन्। एक सामान्य मगन्तेले त केवल एउटा सानो कुनालाई मात्र मलिन बनाउला, तर तपाईंका ती करोडपति व्यवसायी र राजनेताहरूले त समग्र राष्ट्रलाई नै प्रदूषित तुल्याउने सामर्थ्य राख्दछन्। पद र प्रतिष्ठाले मात्र मानिसमा बाह्य वातावरण शुद्ध राख्नुपर्छ भन्ने विवेक आउँदो रहेनछ; बरु त्यो विवेक अझ हराएर जान्छ र त्यसमा लोभको एउटा बाक्लो पर्दा लाग्न पुग्दछ। यस्तो अवस्थामा एक साधकको कर्तव्य के हो त? तपाईं एक्लैले सम्पूर्ण देशलाई त सफा गर्न सक्नुहुन्न, त्यसैले आफ्नै घर र वरपरको परिवेशबाट यसको थालनी गर्नुहोस्। आफ्नो घरलाई पवित्र तुल्याउन आरम्भ गर्नुहोस्। आफ्नो सम्पन्नताको प्रतीक ठानेर घरभित्र जे-जति अनावश्यक कसिङ्गर र वस्तुहरू थुपारेर राख्नुभएको छ, ती सबैलाई बाहिर फालिदिनुहोस्। साधकले जतिसक्दो 'न्यूनतमवादी' बन्ने प्रयत्न गर्नुपर्दछ। घर यस्तो होस् जहाँ प्रशस्त स्थान होस्, स्वच्छता होस् र प्राणवायु को निर्बाध प्रवाह होस्। घरमा जलको शुद्धतामा ध्यान दिनुहोस्। जहाँ अशुद्धिको सम्भावना बढी हुन्छ, त्यहाँ शोधनका लागि थप प्रयास गर्नुहोस्। तपाईंको पाकशाला र स्नानगृहमा मलिनताको जोखिम उच्च रहन्छ, किनकि त्यहाँ खाद्यवस्तुको अवशेष रहने र ओसिलोपनका कारण रोग फैलने डर हुन्छ; त्यसैले ती स्थानलाई पवित्र राख्न विशेष प्रयत्न आवश्यक छ। अन्यले जेसुकै गरून्, त्यसमा तपाईंको कुनै नियन्त्रण हुँदैन; तर स्वयंमाथि त स्वनियन्त्रण सम्भव छ। तपाईंले त आफ्नो आचरण र व्यवहारलाई मर्यादित एवं शुद्ध राख्न सक्नुहुन्छ। मैले कतिपय सरकारी कार्यालयका उच्चपदस्थ अधिकारी र व्यवस्थापकहरूलाई देखेको छु, जो कसिङ्गरको थुप्रो बीच विराजमान हुन्छन्। उद्योगहरूमा जताततै चिल्लो, तेल र ग्रीस पोखिएर भुइँ विद्रूप भएको हुन्छ, तर उनीहरू त्यसलाई त्यसै छाडिदिन्छन्। उनीहरू करोडपति र सुशिक्षित त छन्, तर उनीहरूको रुचि भने मलिनतामै अल्झिएको देखिन्छ। यो मेरो समझभन्दा बाहिरको कुरा हो कि यस्तो किन हुन्छ? जब घरको परिशोधन सम्पन्न हुन्छ, तब आफ्नो कार्यस्थललाई व्यवस्थित पार्नुहोस्; र यदि तपाईँको आफ्नै व्यवसाय छ भने आफ्नो पसल वा उद्योगलाई पनि शुद्ध एवं परिष्कृत तुल्याउनुहोस्। तपाईँले देख्नुहुनेछ, यसको तत्कालै सकारात्मक प्रभाव अनुभूत हुनेछ। यो तपाईँको आफ्नै स्वानुभूति सिद्ध हुनेछ कि कुनै अशुद्ध वा मलिन स्थानमा प्रवेश गर्दा त्यहाँ क्षणभर बस्न त के, उभिन पनि मन लाग्दैन। तपाईँलाई लाग्नेछ कहिले यो स्थानबाट बाहिर निस्कौँ! त्यस्ता व्यक्तिको घरभित्र प्रवेश गर्नुभन्दा बाहिरै उभिनु श्रेयष्कर लाग्दछ। यदि तपाईँ कुनै त्यस्तो सरकारी कार्यालय वा कारखाना जानुभयो जहाँ समुचित सरसफाइ र व्यवस्थापन छैन भने, त्यहाँ न त कार्य गर्ने इच्छा जाग्दछ, न त शान्त भएर बस्न नै सकिन्छ; बरु मन विचलित र अशान्त बन्दछ। यसको विपरित, यदि केही समयका लागि कुनै सुसज्जित र मनोहर उद्यानमा जानुभयो भने, त्यहाँको सौन्दर्यले मानसपटलमा आनन्दको सञ्चार गराउँदछ। कुनै यस्तो घरमा जानुहोस् जहाँ स्वच्छताको वास होस् भले नै त्यो व्यक्ति धनवान् नहोस् वा उसको घरमा स्वर्ण-आभूषणका सामग्रीहरू नहोऊन्, तर यदि त्यो स्थान प्राकृतिक रूपमा शुद्ध छ भने तपाईँको मनले त्यहाँ केही बेर विश्राम गर्ने अभिलाषा राख्नेछ। किनकि त्यहाँको 'नाद-शक्ति' वा सूक्ष्म ध्वनि-तरङ्गहरू तपाईँको चेतनाका निम्ति अनुकूल एवं सुखद सिद्ध हुन्छन्। विशेषतः ती साधकहरू जो अंतर्शुद्धिको निरन्तर अभ्यासका कारण अत्यन्त संवेदनशील भइसकेका हुन्छन्, उनीहरू कुनै पनि प्रकारको मलिनता वा फोहोरमा पाँच मिनेट पनि स्थिर रहन सक्दैनन्। बाह्य अशुद्धिको प्रभाव तत्कालै उनीहरूको मनमा प्रतिविम्बित हुन थाल्दछ। तपाईंको घर र कार्यालय त तपाईंको प्रत्यक्ष नियन्त्रणमा छन्। तर यदि यहाँ कुनै उच्च ओहदामा हुनुहुन्छ र आफ्नो नगर वा गाउको नीति-निर्माण तहलाई प्रभाव पार्न सक्ने सामर्थ्य राख्नुहुन्छ भने, यहाँको अन्तःकरणमा शुद्धिको यस्तो प्रबल अभिलाषा हुनुपर्छ कि आफ्नो पदको सदुपयोग जनहितमा हुन सकोस्। अहिलेसम्म पदको दुरुपयोग केवल अर्थोपार्जन, मिथ्या मान-सम्मान प्राप्त गर्न वा अरूमाथि शासन गरेर आफ्नो बल प्रदर्शन गर्नका लागि मात्र गरियो। तर अब यहाँ अध्यात्मको मार्गमा आबद्ध भइसक्नुभएको छ भने, आफ्नो नगर र सम्पूर्ण राष्ट्रलाई नै आफ्नै घरसमान पवित्र ठान्ने उदार दृष्टिकोणको विकास गर्नुहोस्। यद्यपि, उच्च पदमा रहेका व्यक्तिहरूमा यस्तो रूपान्तरण आउने सम्भावना निकै क्षीण हुन्छ; म यो राम्ररी जान्दछु। उनीहरूको संकीर्ण सोच र स्वभाव परिवर्तन हुनु प्रायः असम्भव जस्तै देखिन्छ। एक सामान्य व्यक्तिमा बदलावको सम्भावना अधिक रहन्छ, किनकि उनीहरूमा अहङ्कारको बोझ न्यून हुन्छ। मानिस जति ठूलो पदमा पुग्छ, उसको अहङ्कार पनि त्यति नै विशाल बन्दछ र उसलाई सामान्य सरसफाइका कार्य गर्न पनि लोकलाज वा संकोच महसुस हुन थाल्दछ। अतः, यदि प्रत्येक नागरिकले आफ्नो निवास, कार्यस्थल र आफू हिँड्ने बाटो लाई मात्र पनि स्वच्छ राख्ने सङ्कल्प गर्छन् भने, सम्पूर्ण नगर स्वतः कञ्चन र सुन्दर बन्नेछ। यसका लागि सरकार, जनप्रतिनिधि वा प्रशासनलाई मात्र सराप्नु वा गाली गर्नु आवश्यक छैन। "नगर पालिकाले काम गरेन" वा "पालिका प्रमुख अकर्मण्य भयो" भन्दै अरूलाई दोषारोपण गरेर बस्नुभन्दा, आफ्नो परिवेशको सुद्दताका निम्ति यहाँ स्वयंले नै अग्रसरता लिनु श्रेयष्कर हुन्छ। कतिपयको यस्तो धारणा छ कि "हामी निर्धन हौँ, हामी मलिनता मै जन्मिएका हौँ र यसैमा अन्त्य हुनेछौँ।" यो केवल एक मूढता हो। सरसफाइको सम्बन्ध अर्थ वा वैभवसँग हुँदैन। एक सम्पन्न व्यक्ति पनि अत्यन्त अशुद्ध रहन सक्छ, जुन यहाँहरूले देख्नुभएकै होला। उनीहरू भित्र र बाहिर दुवै रूपमा मलिन हुन्छन्, उनीहरूको स्वच्छता केवल प्रदर्शनका लागि मात्र हुन्छ। यदि यहाँमा संवेदनशीलता जाग्रत भएको छ र यहाँ अंतर्शुद्धिको मार्गमा हुनुहुन्छ भने, यसका लागि कुनै ठूलो धनराशिको आवश्यकता पर्दैन; यसका लागि केवल सानो प्रयत्न र श्रमको खाँचो हुन्छ। वातावरणलाई दूषित तुल्याउनु मानवको नैसर्गिक स्वभाव होइन। यदि यहाँ साँच्चै मनुष्य हुनुहुन्छ भने, यहाँको स्वभाव ठीक विपरित हुनुपर्दछ। जहाँ पनि मलिनता देखिन्छ, त्यसलाई परिशोधित गरी स्वच्छ र लावण्यमय बनाउनु नै यहाँको वास्तविक धर्म र स्वभाव हुनुपर्दछ; तब मात्र यहाँ मनुष्य कहलाउन योग्य हुनुहुनेछ। अन्यथा त पशुहरू नै श्रेष्ठ छन्। पशुहरूले आफ्नो स्वभावजन्य कार्य त गर्छन्, तर उनीहरूले प्रकृतिको सन्तुलन बिगार्ने गरी अशुद्धि फैलाउँदैनन्। यदि प्राणीहरूप्रति यहाँको वास्तविक अनुराग छ भने, उनीहरूप्रति क्रूरता नदेखाउनुहोस् र उनीहरूलाई घरमा बाँधेर नराख्नुहोस्। उनीहरूलाई उनीहरूको नैसर्गिक वातावरणमा स्वतन्त्र छोडिदिनुहोस्। पन्छीहरूलाई पिँजडामा कैद नगर्नुहोस्। पन्छीहरूको वास्तविक वासस्थान त अनन्त आकाश हो र स्वतन्त्र रूपमा उड्नु नै उनीहरूको स्वभाव हो। पशुहरूको स्थान उनीहरूको आफ्नै समुदाय र वन-जङ्गलमा हुन्छ। उनीहरूलाई आफ्नो आहार ग्रहण गर्न दिनुहोस् र उनीहरूको प्रजनन् एवं वंश-परम्परालाई निर्बाध अघि बढ्न दिनुहोस्। यही नै वास्तविक करुणा र यथार्थ प्रेम हो। यदि यहाँलाई जीवनप्रति साँचो अनुराग छ भने, यहाँले पशुपन्छीप्रति कदापि क्रूरता प्रदर्शन गर्नुहुने छैन। ती निर्दोष प्राणीहरूलाई आफ्नो मलिनता र अशुद्धिको भुमरीमा कदापि समाहित गर्नुहुने छैन। यदि यहाँको जीविकोपार्जन वा व्यवसाय पशुहरूसँग सम्बन्धित छ भने, म त भन्छु यथाशीघ्र त्यसलाई परिवर्तन गर्नुहोस्। मनुष्यले केवल अर्थोपार्जनका निम्ति मुक प्राणीको उपयोग गर्नुभन्दा लज्जास्पद र निकृष्ट विषय अरू के हुन सक्छ? मनुष्यसँग विवेक छ, कला छ र विज्ञानको अद्भूत सामर्थ्य छ यति हुँदाहुँदै पनि पशुमाथि नै आश्रित रहनु घोर लज्जाको विषय हो। व्यवसाय परिवर्तन गर्नुहोस्, र यदि तत्कालै त्यो सम्भव छैन भने ती पशुहरूलाई नगर वा गाउभन्दा टाढा कतै नैसर्गिक र प्राकृतिक वातावरणमा राख्ने प्रबन्ध गर्नुहोस्। यदि गाई, गोरु, घोडा वा गधा आदिको माध्यमबाट यहाँको जीविका चलिरहेको छ वा भोजन प्राप्त भइरहेको छ भने, उनीहरूलाई उनीहरूको मर्यादा सुहाउँदो खुल्ला एवं समुचित परिवेशमा राख्नुहोस्। विडम्बना ! मानिसले एउटा सानो र सङ्कुचित कटेरोमा उनीहरूलाई थुनेर राखेको हुन्छ, जहाँ ती विचरा प्राणीहरू आफ्नै मलमूत्रमा बस्न विवश हुन्छन्। यस्तो अवस्थामा कसरी शुद्धिको आशा गर्न सकिन्छ? अंतर्शुद्धि त निकै परको कुरा हो, यहाँ त बाह्य शुद्धि पनि सम्भव छैन। यसले केवल व्याधि र दुर्गन्ध मात्र फैलाउँछ, जहाँ क्षणभर उभिन पनि कसैको मन मान्दैन। यो मनुष्योचित जीवनको लक्षण होइन। यस गम्भीर विषयमा अलिकति आत्ममन्थन र आत्मविचार गर्नु अपरिहार्य छ। एक निष्ठावान साधक हुनुको नाताले मलाई यो पूर्ण विश्वास छ कि यहाँले पहिलेदेखि नै यी सबै कुराहरू अनुशरण गरिरहनुभएको होला। यदि छैन भने, अहिलेदेखि नै यसको आरम्भ गर्नु श्रेयष्कर हुनेछ। जब यहाँको अंतर्शुद्धि सघन र प्रगाढ हुँदै जान्छ, तब यहाँले महसुस गर्नुहुनेछ कि कोलाहलपूर्ण नगर वा शहरमा वास गर्नु अब तपाईंका लागि प्रायः असम्भव झैँ हुन थाल्नेछ। तपाईंलाई यो समाजमा रहनु कष्टकर प्रतीत हुनेछ र जनघनत्वबाट टाढा एकान्तमा रहन रुचाउनुहुनेछ। तपाईं त्यस्ता नैसर्गिक स्थलहरूमा बस्न चाहनुहुनेछ जहाँ प्रकृति अझै पनि सुन्दर र पवित्र छ, जहाँ मनुष्यका कलुषित हातहरू अझै पुग्न सकेका छैनन्। हाम्रा जति पनि महान् ऋषि-मुनि र आध्यात्मिक साधकहरू थिए, उनीहरूले आफ्ना वासस्थान, मठ र आश्रमहरू गाउ वा नगरभन्दा निकै टाढा निर्माण गरे। उच्च पर्वतका टाकुराहरूमा र सघन वनहरूमा आफ्ना आश्रमहरू स्थापित गर्नुका पछाडि पक्कै पनि कुनै विशेष रहस्य लुकेको हुनुपर्छ। त्यसको एउटा प्रमुख कारण यो हो कि एक आध्यात्मिक साधक यस्तो मलिनता र अशुद्धिमा रहन सक्दैन, जहाँ एक शहरी वा सांसारिक व्यक्ति अत्यन्त आशक्त भएर बसिरहेको हुन्छ। सांसारिक मानिस यो भिडभाड र प्रदूषणलाई त्यागेर कतै जान सक्दैन; कि त उसलाई एकान्तसँग भय लाग्दछ वा ऊ निरसता महसुस गर्दछ। मानिसहरू एक्लै रहन रुचाउँदैनन्, तर एक मुमुक्षु शिष्य यस्तो कोलाहलमा टिक्न सक्दैन। उसको स्वभाव र रुचि पूर्णतः विपरित हुन्छ। अतः, यो प्रवचन श्रवण गरिरहनुभएका महानुभावहरूले यदि चाहनुहुन्छ भने, अहिलेदेखि नै आफ्नो आगामी जीवनको एउटा ठोस योजना बनाउन सक्नुहुन्छ कि कसरी कुनै पवित्र र एकान्त स्थलमा गएर साधनापूर्ण जीवन व्यतीत गर्ने। जेष्ठ नागरिक वा वृद्धवृद्धाहरू, जो आफ्नो आयुको उत्तरार्धमा हुनुहुन्छ, उहाँहरूले अब यो अवस्थामा सरसफाइका निम्ति कोसँग सङ्घर्ष वा वादविवाद गरिरहनु सम्भव होला र? अतः, सेवानिवृत्त भइसक्नुभएका साधकहरूले कोलाहलभन्दा टाढा कुनै एकान्त प्राकृतिक स्थलमा आफ्नो वासस्थान निर्माण गरी त्यसतर्फ प्रस्थान गर्नु नै श्रेयष्कर हुन्छ। आफ्नो अवशिष्ट जीवनलाई योग-साधना र आध्यात्मिक अनुष्ठानमा व्यतीत गर्नु नै मानव चोलाको वास्तविक सार्थकता र शान्तिको मार्ग हो। जसका निम्ति विजन वन वा दुर्गम पर्वतीय स्थलहरूमा एक्लै रहनु कठिन छ, उहाँहरूका निम्ति प्राकृतिक परिवेशमा अवस्थित आश्रमहरू उपयुक्त विकल्प हुन सक्छन्। तर सजग रहनुहोस्, वर्तमान समयमा धेरैजसो आश्रमहरू केवल व्यावसायिक केन्द्र वा अर्थोपार्जनको थलोका रूपमा परिणत भएका छन्। साधनाको मार्गमा केही पाइला अघि बढिसकेका साधकहरूले कुन आश्रम आफ्ना लागि उपयुक्त छ भन्ने विवेक सहजै प्रयोग गर्न सक्नेछन्। उनीहरूले कुनै आडम्बररहित, सरल र प्राकृतिक सामीप्यमा रहेका साधारण आश्रमहरू चयन गरी यो शहरी मलिनता, अशुद्धि र प्रदूषणबाट टाढा रहने प्रयत्न गर्नुपर्दछ। यदि हामी बाह्य परिवेशलाई पूर्णतः परिशोधन गर्न असमर्थ छौँ भने पनि स्वयंलाई त्यसबाट विमुख राख्नु नै बुद्धिमानी हो। आगामी खण्डमा हामी अंतर्शुद्धिको अर्को महत्त्वपूर्ण खुड्किलो 'शारीरिक शुद्धि' का सम्बन्धमा गहन चर्चा गर्नेछौँ।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions