Wise Words
Home
Read
Write
Publish
Profile
Logout
कारण एक माया (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** कारण एक माया (नेपाली) कारण माया हो र प्रभाव मिथ्या हो। यदि सम्पूर्ण अज्ञानलाई विसर्जित गरिदिने हो, यदि सारा मान्यताहरूलाई त्यागिदिने र कल्पनाहरूलाई पनि हटाइदिने हो भने, त्यहाँ केवल शुद्ध अस्तित्व मात्र बाँकी रहन्छ, जुन अनुभव र अनुभवकर्ताका रूपमा परिलक्षित भइरहेको हुन्छ। हामीलाई यसको कुनै कारण देखिँदैन र यसको कुनै प्रभाव पनि दृष्टिगोचर हुँदैन। वास्तवमा यी दुई अनुभव र अनुभवकर्ता तत्त्वतः एकै हुन्। यदि यहाँ धेरै हुन्थे भने एउटा कारण हुन्थ्यो, एउटा कार्य हुन्थ्यो, एउटा प्रभाव हुन्थ्यो र एउटा प्रक्रिया पनि हुन्थ्यो। परन्तु त्यस्तो देखिँदैन। हामीलाई त केवल एक मात्र देखिन्छ, यहाँ त केवल अद्वैत मात्र अनुभूत हुन्छ। यदि यस एकको पनि कुनै कारण छ भने, त्यो एक रहने छैन, त्यहाँ त दुईको उत्पत्ति हुनेछ। र यदि यस अस्तित्वको कुनै प्रभाव छ भने, त्यस्तो अवस्थामा पनि ती दुई नै हुनेछन्। तर जब हामी गणना गर्न थाल्छौं, तब केवल एउटै मात्र देखिन्छ। यदि यसको कुनै कारण छ भने, त्यो अस्तित्वभन्दा बाहिर हुनुपर्दछ। किनभने अस्तित्वको अर्थ नै त्यो हो जे जति छ, ती सबै। र यदि अस्तित्वको प्रभाव हो भने, त्यो पनि अस्तित्वभन्दा बाहिरै हुनुपर्छ। परन्तु यी दुवै कुराहरू अर्थहीन छन्। यदि केही वस्तु अस्तित्वभन्दा बाहिर छ भने, त्यो केवल कल्पना मात्र हो। त्यसलाई न त स्थापित गर्न सकिन्छ, न त सिद्ध नै गर्न सकिन्छ। यदि त्यसको अस्तित्व छ भने, त्यसको पनि कुनै न कुनै अनुभव हुनेछ र त्यसको कोही अनुभवकर्ता पनि अवश्य हुनेछ। फेरि त्यो त कुनै अर्कै अस्तित्व ठहरिनेछ, जुन मनगढन्ते वा काल्पनिक मात्र हुनेछ। जस्तो कि सबैलाई विदितै छ, हाम्रो अनुभव भनेको घटनाहरूको अनुभव हो। एउटा घटनापछि अर्को घटना घट्छ, अनि दोस्रोपछि तेस्रो घटना घट्छ। यसरी यहाँ अनन्त घटनाक्रमहरू निरन्तर चलिरहेका छन्। तीमध्ये केही घटनाहरूलाई हामी कारण भनिदिन्छौं र केही घटनाहरूलाई प्रभाव भन्दछौं; तर वास्तविकतामा सबै घटनाहरू अस्तित्वभित्रै घटित हुन्छन्। अस्तित्वभन्दा बाहिर केही पनि छैन। जे जति अस्तित्वभन्दा बाहिर भनिएको छ, त्यो पनि अन्ततः अस्तित्व नै हो। यदि त्यो देखियो वा अनुभूत भयो भने त्यो अस्तित्व नै ठहरिन्छ। यदि देखिएन वा अनुभव भएन भने, त्यो केवल कल्पना मात्र हो। सबै घटनाहरू अस्तित्वभित्रै निहित छन्। यदि कारण पनि घटना हो र प्रभाव पनि घटना नै हो भने, स्वयं अस्तित्व चाहिँ कुनै घटना होइन। यो त ती सम्पूर्ण घटनाहरूको कुल योग हो। सबै घटनाहरूलाई समाहित गरेर जे-जति बनेको छ, त्यही नै अस्तित्व हो। त्यसैले अस्तित्वको कुनै कारण वा कुनै घटना हुन सक्दैन, न त यसको प्रभाव नै कुनै घटना हुन सक्छ। त्यसैगरी, कुनै पनि अनुभवको कुनै कारण हुन सक्दैन। कुनै पनि अनुभवको कुनै प्रभाव पनि हुन सक्दैन, किनभने अनुभवको कारण कुनै घटना भयो भने त्यो पनि अन्ततः अनुभव नै हुनेछ। अनुभवभन्दा बाहिर अरू केही पनि छैन र अनुभवको कारण अनुभव नै हो भन्नु सर्वथा अर्थहीन छ। यसै प्रकार अनुभवकर्ताको पनि कुनै कारण हुँदैन। अनुभवकर्ताको कारण स्वयं अनुभवकर्ता नै हुनेछ र त्यसको प्रभाव पनि अनुभवकर्ता नै हुनेछ; अनि यो भन्नु पनि अर्थहीन नै ठहरिन्छ। जस्तो कि सबैलाई ज्ञात छ जीवन भनेको अनुभवहरूको एउटा अविच्छिन्न शृङ्खला हो। किनकि अनुभवको कुनै निश्चित कारण छैन, त्यसैले अनुभवहरू कहाँबाट आउँछन् भनी प्रश्न गर्नु नै अर्थहीन छ। त्यसैकारण जीवनको कुनै कारण छ भन्नु पनि अर्थहीन कुरा हो। जीवनको न त कुनै कारण छ, न त कुनै प्रभाव नै। त्यसो भए के जीवन अकारण छ त? एउटा अज्ञानी व्यक्तिका लागि यो सत्यलाई स्वीकार गर्न अत्यन्तै कठिन हुन्छ। त्यसैले हामी उनीहरूलाई कुनै न कुनै कारण देखाइदिन्छौं कि हेर जीवन यसकारणले हो, जीवनको लक्ष्य यो हो, र जीवनको कारण त्यो हो। तिमीलाई कुनै ईश्वरले बनाएका हुन्, तिमी जीव हौ र अब तिमीले यस जीवनमा यी-यी कर्महरू गर्नुपर्दछ भनेर बुझाइन्छ। यदि तिमीले यसो गर्यौ भने यसको प्रभाव यस्तो हुनेछ भनी पाठ पढाइन्छ, किनभने हाम्रो बुद्धिले कारण र प्रभावभन्दा माथि उठेर सोच्नै सक्दैन। बुद्धिको सीमा नै यही हो। जबकि अनुभव त असीम छ, अस्तित्व त अनन्त छ। यो अस्तित्व कारण र प्रभावहरूको बन्धनमा बाँधिएको छैन। बुद्धि केवल कारण र प्रभावको घेरासम्म मात्र पुग्न सक्छ, त्यसैले जीवनका यी मनगढन्ते कारणहरू निर्माण गरिएका हुन्। मानिसहरू भन्दछन् कि यो जीवन 'जीव' का कारणले छ। जुन स्मृतिहरूको सङ्ग्रह छ, त्यसैका कारणले यो जीवन प्राप्त भएको हो र त्यही नै यस जीवनको कारण हो। हामी मनुष्य रूपमा वा कोही पशु रूपमा जन्म लिन्छौं भने त्यसको कारण जीव हो, जीवात्मा हो भनिन्छ। तर जसरी तपाईंलाई ज्ञात छ जीव त केवल एउटा अनुभव मात्र हो। अनुभवहरूको कुनै कारण हुँदैन। ती केवल छन्, र अनुभवको कुनै प्रभाव पनि हुँदैन। यो जीवले जे-जति गरे पनि त्यसको कुनै अर्थ छैन, त्यसको कुनै प्रभाव पर्दैन र यो जीवको अस्तित्व कुनै पनि कारणले भएको होइन। जुन व्यक्तिले आफूलाई जीव मान्दछ, आफूलाई मनुष्य ठान्दछ वा आफूलाई देह वा मन मान्दछ, नाम मान्दछ वा कुनै प्रकारको काल्पनिक सम्बन्ध वा स्मृति मान्दछ, ऊ सधैं भ्रमित देखिन्छ। उसको मनमा केही पनि स्पष्ट हुँदैन। केवल केही मान्यताहरू हुन्छन् यो मेरो जीवन हो, म यो हुँ, मलाई यो गर्नु छ। बस। किन यस्तो छ? किनभने उसले केही अर्थहीन कल्पनाहरूलाई कारण मानेको छ र केही अर्थहीन प्रभावहरूलाई आफ्नो जीवनको लक्ष्य मानेको छ। किनभने अर्थहीनता नै उसको जीवनको आधार हो, त्यसैले उसको मनमा केही पनि स्पष्ट छैन। के गर्छ, त्यसको कुनै कारण छैन। उसले मनगढन्ते कारणहरू निर्माण गरेको छ म यो काम गर्छु किनभने यसबाट मलाई सुख मिल्छ। सुख के हो, उसलाई त्यो पनि थाहा छैन। सुखको कारण के हो र सुखको प्रभाव के हुनेछ, त्यो पनि उसलाई ज्ञात छैन। बस उसलाई गर्नु छ। हो, मलाई लामो जीवन बाँच्नु छ, मलाई आफ्नो पुस्ता र वंश अगाडि बढाउनु छ, मलाई शत्रुहरूको नाश गर्नु छ, यस देशको रक्षा गर्नु छ भन्दछ। तर उसलाई यो थाहा छैन कि यी सबैको प्रभाव के हो। यी सबैबाट के प्राप्त हुनेछ, त्यो उसलाई थाहा छैन। केवल गर्नु छ र ऊ भड्किरहन्छ। मनमा कुनै स्पष्टता छैन, केवल धमिलोपन छ, अज्ञान छ, अन्धकार छ। ऊ यही हिलोमा भासिएर रहन्छ। जसले यो जान्यो कि यो सब कुनै कारणले भइरहेको छैन र यसको कुनै प्रभाव पनि छैन, ऊ मुक्त छ, ऊ स्वतन्त्र छ, ऊ स्वच्छन्द छ। आज यो कारण छ भने भोलि अर्कै कुनै कारण हुन्छ; आज यो लक्ष्य हो भने भोलि अर्कै कुनै लक्ष्य हुन्छ। ऊ कतै पनि बाँधिएको छैन। यस्तो व्यक्तिका लागि कुनै बन्धन रहँदैन, जसलाई यो बोध भयो कि कुनै पनि अनुभवको कुनै कारण हुँदैन र कुनै पनि अनुभवको कुनै प्रभाव पनि हुँदैन। यसभित्र जीवन पनि आउँछ, जीव पनि आउँछ र सबै मानिसहरू पनि आउँछन्। यो सम्पूर्ण विश्व, चित्त र सारा ब्रह्माण्ड नै यसैभित्र समाहित हुन्छ। जब तपाईंले कुनै कारणको कल्पना गर्नुहुन्छ, तब तपाईं त्यही कारणसँग बाँधिनुहुन्छ। अब तपाईंले अर्को कुनै नयाँ कारण निर्माण गर्न सक्नुहुने छैन, किनभने सबै कारणहरू अर्थहीन र मनगढन्ते हुन्छन्। तपाईंको सारा जीवन अर्थहीन र काल्पनिक नै रहिरहनेछ। नजान्नु र अज्ञान हुनुमा धेरै ठूलो अन्तर छ। नजान्नुमा एउटा स्पष्टता छ कि हो, म जान्दिनँ। यो सबै अज्ञान त केवल मान्यता मात्र हो। यो सबै सत्य हो भनेर मानिदिनु नै अज्ञान हो। त्यसमा कुनै स्पष्टता हुँदैन, त्यो त केवल उन्माद वा पागलपन मात्र हो। त्यसैले त सर्वसाधारण मानिसहरू भ्रमित भएर भौँतारिरहेका देखिन्छन्; यो अज्ञानकै परिणाम हो। यदि उसले यो मात्र भनिदियो कि हो, मलाई थाहा छैन, यसको कुनै कारण छ वा छैन भन्ने पनि मलाई ज्ञात छैन तब जीवनमा निकै स्पष्टता आउनेछ। त्यसपछि मानिसहरूले यस प्रकारको उन्मत्त व्यवहार गर्न बन्द गर्नेछन्। यस्तो लाग्छ कि यहाँ कारण छ र प्रभाव पनि छ। यो हाम्रो आँखाकै अगाडि छर्लङ्ग देखिन्छ; घटनाक्रमहरूका रूपमा परिलक्षित भइरहन्छ। अनि यस्तो पनि प्रतीत हुन्छ कि कारण र प्रभावका बीचमा कुनै सम्बन्ध छ। एउटा घटना कुनै कारणले घटित हुन्छ र त्यो अर्को घटनासँग सम्बन्धित हुन्छ। त्यसपछि आउने अर्को घटना त्यसैको प्रभाव हो र यसरी ती आपसमा सम्बन्धित हुन्छन्। परन्तु, यो सबै चित्तद्वारा निर्मित मात्र हो; यो सम्बन्ध वास्तविक होइन। यस्तो कसरी सम्भव छ? यदि हामीले यो स्वीकार गर्यौं कि कुनै पनि घटना कारणबिना घट्न सक्दैन र त्यसका लागि कारण अनिवार्य छ भने, स्वयं कारण पनि त एउटा घटना नै हो र त्यो घटनाका लागि पनि अर्को कारण आवश्यक पर्दछ। एउटा घटना, त्यसको कारण पहिलो कारण, फेरि त्यो कारणको पनि अर्को कारण तेस्रो घटना। यसै गरी हामी भन्दै जान्छौं कि अब यो तेस्रो घटनाका लागि पनि कारण आवश्यक छ कि यो कहाँबाट आयो। यसलाई त आउनु हुँदैनथ्यो, किनभने घटना आफैं त हुन सक्दैन। अब चौथो कारण, चौथो घटना; त्यो पनि सम्बन्धित हुनुपर्यो। त्यसपछि पाँचौं घटना, छैटौं घटना, सयौं घटना। यस प्रकारले कारणहरूको एउटा अनन्त शृङ्खला बन्न पुग्छ। अब त्यो पहिलो घटना कहाँबाट ल्याउने, जुन यी सारा घटनाहरूको मूल कारण होस्? अहिले तपाईंको सामुन्ने जुन घटना घटेको छ, त्यसका त अनन्त कारणहरू देखिन्छन्। के यो कुरा अर्थहीन छैन र? यसको तात्पर्य के हो त? के एउटै घटनाका पनि अनन्त कारणहरू हुन सक्छन् र? यसै गरी हामी भन्दछौं कि जब कुनै घटना घट्छ, तब त्यसको प्रभाव पर्दछ। यदि घटनाको प्रभाव अनिवार्य छ भने, त्यो प्रभावको पनि अर्को प्रभाव हुन आवश्यक छ र त्यो प्रभावको प्रभाव हुनु पनि उत्तिकै अनिवार्य छ। यस प्रकारले भविष्यमा प्रभावहरूको एउटा अनन्त शृङ्खला बन्न पुग्छ। यो पनि अर्थहीन कुरा हो। हामी भन्दछौं कि एउटा घटनाको एउटा प्रभाव पर्नेछ, तर यहाँ त अनन्त प्रभावहरू परिरहेका छन् भने त्यस घटनाको वास्तविक प्रभाव कुन चाहिँ हो त? दुई-तीनवटा प्रभावहरू पछि त यो बुझ्न पनि कठिन हुन जान्छ के प्रभाव पर्नेछ भनी जान्न असम्भव प्रायः हुन्छ र जब हामी जान्नै सक्दैनौं कि के प्रभाव पर्नेछ, तब त्यसलाई सत्य मान्नुको औचित्य के छ? हामी दुई वा तीनवटा प्रभावहरू त जान्न सक्दछौं, तर यहाँ त अनन्त प्रभावहरू विद्यमान छन्। तीमध्ये एक वा दुईलाई मात्र सत्य मान्नु र बाँकीलाई भुलाई दिनु कुन प्रकारको बुद्धिमानी हो र? यति मात्र होइन, यी कारण र प्रभावहरूको अनन्त शृङ्खलामा प्रत्येक कारणका अनन्त कारणहरू हुनेछन् र प्रत्येक प्रभावका अनन्त प्रभावहरू हुनेछन्, जुन त्यस शृङ्खलाभन्दा बाहिर हुनेछन्। यसरी हेर्ने हो भने दुवै दिशाहरूमा अनन्त घटनाहरू छन्, जुन यस एउटा घटनाका कारण हुन्। अर्थात्, कुनै एउटा घटनाको कारण यस अस्तित्वमा घटित हुने सम्पूर्ण घटनाहरू हुन्। एक, दुई, दश वा हजार मात्र होइन सबै घटनाहरू। यहाँसम्म कि अहिले जे घटिरहेको छ त्यो, जे अनन्त भूतकालमा घटित भयो त्यो, र जे अनन्त भविष्यमा घटित हुनेछ ती सबै यस एउटै घटनाका कारण हुन्। त्यसै गरी एउटा प्रभावका पनि सबै दिशाहरूमा अनेकौं प्रभावहरू हुनेछन्। केवल ती प्रभावहरूको शृङ्खलामा मात्र होइन, सबै दिशाहरूमा अनन्त प्रभावहरू हुनेछन्। यसको अर्थ यो हो कि भविष्यमा हुने सम्पूर्ण घटनाहरू र विगतमा भइसकेका सम्पूर्ण घटनाहरू, यस एउटै घटनाको प्रभाव हुन्। यो पूर्णतः अर्थहीन छ। यो भन्नु ठ्याक्कै त्यस्तै हो कि कुनै घटनाको कुनै कारण छैन र कुनै घटनाको कुनै प्रभाव छैन। यो भन्नु यस कुराको समान छ कि सम्पूर्ण घटनाहरू एउटै घटनाका कारण हुन् र सम्पूर्ण प्रभावहरू एउटै घटनाका प्रभाव हुन्। यहाँ तपाईं बुद्धिको सीमा देख्न सक्नुहुन्छ। अब बुद्धि अगाडि बढ्न सक्दैन; अब बुद्धि एउटा अपराधी झैँ चुपचाप बसिदिन्छ र स्वीकार गर्दछ कि हो, मबाट त्रुटि भयो। मैले तर्कहीन कुरालाई तर्क सम्झिएँ र जुन कुरा बुद्धिभन्दा पर थियो, त्यसैलाई बुद्धिमत्ता ठानेँ। जब कुनै घटना हुन्छ, तब कुनै पनि व्यक्तिले बताउन सक्छ कि यहाँबाट आरम्भ भयो र कुनै पनि व्यक्तिले भन्न सक्छ कि यस घटनाको अन्त्य यहाँ भयो। तर ध्यान दिएर हेर्नुहोस् जब घटना आरम्भ भयो, त्यतिबेला पनि केही न केही घटिरहेकै थियो। के तपाईंले कहिल्यै यस्तो कुनै घटना देख्नुभएको छ, जुन अचानक आरम्भ भयो र त्यसभन्दा पूर्व केही पनि घटेको थिएन? यस विषयमा तपाईं एकान्तमा बसेर ध्यान र मनन गर्न सक्नुहुन्छ। तपाईं कुनै यस्तो घटनाको स्मरण गर्नुहोस् र यो हेर्ने प्रयास गर्नुहोस् कि जसभन्दा पहिले केही पनि भएको थिएन। वास्तविकता यो हो कि जसलाई हामी आरम्भ भन्दछौं, त्यो केवल मनपरि ढङ्गले तोकिएको आरम्भ मात्र हो। जुन बिन्दुबाट घटना सुरु भयो भनी हामी मान्दछौं, त्यस बिन्दुभन्दा अगाडि नै धेरै कुराहरू भइसकेका हुन्छन्। कुनै पनि तर्कविना, केवल मनोगत ढङ्गले हामी एउटा बिन्दुलाई आरम्भ मानिदिन्छौं। वास्तवमा घटनाको कुनै आरम्भ हुँदैन, यो त अनन्तकालदेखि चलिआएको एउटा अविच्छिन्न प्रवाह हो। हामी केवल एउटा बिन्दुलाई पक्रन्छौं र भन्दछौं हो, यो मेरो घटना हो र यहाँबाट यसको आरम्भ भयो। जस्तै, तपाईं कसैको घर जानुहुन्छ, त्यो एउटा घटना हो। कसैलाई भेट्न जानुलाई तपाईं एउटा घटना मान्नुहुन्छ। अब तपाईंलाई सोधियो कि यो घटना कहाँ आरम्भ भयो? तपाईं भन्न सक्नुहुन्छ कि जब म मित्रको ढोकासम्म पुगेँ, त्यहाँबाट आरम्भ भयो। तर त्यसभन्दा अघि तपाईं गाडीमा हुनुहुन्थ्यो, त्यसभन्दा अघि तपाईं घरमा हुनुहुन्थ्यो। जब तपाईंको मनमा मित्रलाई भेट्ने विचार आयो, त्यसैलाई आरम्भ किन नमान्ने? त्यहाँबाट घटनाको आरम्भ किन हुन सक्दैन र? अथवा जब तपाईंको मित्रले ढोका खोल्यो र तपाईंले उसको अनुहार देख्नुभयो वा हात मिलाउनुभयो त्यसैलाई किन घटनाको आरम्भ नमान्ने? हामी यो बुझ्न सक्छौं कि जुन महत्त्वपूर्ण अनुभव हो, त्यसैलाई हामी आरम्भ मानिदिन्छौं। जो महत्त्वहीन छ, त्यसलाई हामी आरम्भ मान्दैनौं। यो महत्त्वको निर्धारण केवल चित्तद्वारा निर्मित कुरा हो। अस्तित्वमा यस्तो कुनै महत्त्व हुँदैन। अस्तित्वमा जुन घटनाहरू घट्दछन्, त्यसमा महत्त्वको कुनै छाप लागेको हुँदैन। त्यसमा आरम्भ र अन्त्यको कुनै चिन्ह अङ्कित हुँदैन। यो त केवल हाम्रो कल्पना मात्र हो। जुन घटनाको न आरम्भ छ, न मध्य छ, न त अन्त्य नै छ के त्यो सत्य हो त? के त्यस्तो कुनै कुराको अस्तित्व हुन सक्छ? तपाईं भन्न सक्नुहुन्छ कि ठीक छ, आरम्भ र अन्त्य कहाँ छ थाहा नहोला, तर म त्यस घटनाको मध्यमा त थिएँ। घटना भयो, म जान्दछु; त्यस घटनाको मध्यमा म स्वयं उपस्थित थिएँ, त्यसैले त्यो घटना हो। तर प्रश्न उठ्छ त्यसको मध्य कहाँनेर मान्नुहुन्छ? यदि तपाईंसँग एउटा नाप्ने फिता छ, जसको आरम्भ शून्य र अन्त्य १०० छ भने, त्यसको मध्य ५० हो भनी निकै राम्रोसँग बताउन सकिन्छ; त्यसलाई प्रमाणित गर्न सकिन्छ। तर यदि त्यस फिताको न आरम्भ छ न अन्त्य, भने त्यसको मध्य कहाँनेर राख्नुहुन्छ? त्यो पनि केवल मनगढन्ते नै हुनेछ। स्मृतिमा तपाईंले एउटा बिन्दुलाई पक्रनुभयो र त्यसलाई मध्य भनिदिनुभयो, तर त्यो पनि अर्थहीन छ। न त्यहाँ मध्य थियो, न आरम्भ, न त अन्त्य नै। यदि त्यो घटना कारण हो भने, के त्यो सत्य हो? यदि त्यो घटना प्रभाव हो भने, के त्यो सत्य हो? के यी घटनाहरू काल्पनिक होइनन् र? यो घटना यहाँ सुरु भयो, यो यसको आरम्भ हो, यो घटना घटित भयो, यो यहाँ अन्त्य भयो र अब यसको प्रभाव सुरु भयो प्रभाव आरम्भ भयो, प्रभाव अन्त्य भयो र यसको मध्य यहाँ थियो यी सबै कुराहरू मनगढन्ते होइनन् र? यी सबै कल्पना बाहेक अरू केही होइनन्; यी कोरा कल्पना हुन्, तर्कहीन हुन् र सत्य होइनन्। त्यसैले, न घटनाहरूको कुनै अस्तित्व छ, न कारणहरूको, न त प्रभावहरूको नै। तपाईंका अगाडि पानीको एउटा भाडा राखियो भने, तपाईं भन्न सक्नुहुन्छ कि त्यसको अस्तित्व छ; किनकि भाडा यहाँ सुरु हुन्छ, यहाँ अन्त्य हुन्छ र यसको मध्य यहाँनेर छ। आरम्भ र अन्त्यको बीचमा जे छ, त्यो पानीको भाडा हो। यस आधारमा भन्न सकिन्छ कि हो, त्यो सत्य हो। तर यदि तपाईंलाई त्यस प्यालाको न आरम्भ देखिन्छ, न अन्त्य देखिन्छ र न त मध्य नै देखिन्छ भने, के त्यसको अस्तित्व सम्भव छ? के त्यो सत्य हो र? जब घटनाहरूको न कुनै आरम्भ छ, न अन्त्य, न त मध्य नै छ र कारण-प्रभाव पनि स्वयंमा एउटा घटना नै हो भने कारण-प्रभावको पनि न कहिल्यै आरम्भ हुन्छ, न मध्य, न त अन्त्य नै। यो केवल एउटा परिकल्पना हो, मिथ्या हो। सबैले देख्नुभएकै होला कि कुनै पनि घटनाको प्रभाव त्यस घटनापछि मात्र आउँछ र कारण त्यस घटनाभन्दा पहिले आउँछ। यसको अर्थ यो भयो कि प्रभाव सधैं कारणपछि नै आउँछ। के तपाईंले कहिल्यै यस्तो कुनै घटना देख्नुभएको छ, जसको प्रभाव पहिले पर्यो र कारण पछि आयो? हामी देख्न सक्छौं कि यो पूर्णतः समयमा निर्भर छ र समयको दिशामा आधारित छ। समयको नदी जुन दिशामा प्रवाहित भइरहेको छ, त्यही दिशामा कारण, घटना र प्रभावहरू चल्दछन्। तर जसरी तपाईंलाई ज्ञात छ समय त स्वयंमा मिथ्या हो। अब जो कुरा समयमा यति धेरै निर्भर छ, के त्यो सत्य हुन सक्छ? यदि समयलाई हटाइदिने हो भने, के कारण पहिले आउनेछ र प्रभाव पछि? कुन घटना पहिले हुनेछ? यदि समय नै नहुने हो भने तपाईं कसरी भन्न सक्नुहुन्छ कि के कारण हो र के प्रभाव हो? कुन घटना कहिले भयो भनी कसरी ठम्याउनुहुन्छ? यसको आधार नै समय हो र यदि समय नै मिथ्या एवं मनद्वारा निर्मित छ भने, यी घटनाहरू, कारण र प्रभावहरू सबै अर्थहीन छन्। सबैले देख्नुभएकै होला कि कारण त्यहीँ भेटिन्छ, जहाँ त्यो घटना घटेको छ। अनि त्यस घटनाको प्रभाव पनि त्यहीँ हुन्छ, जहाँ कारण विद्यमान थियो। यो एउटा निश्चित स्थानमा पाइन्छ र त्यही स्थानमा रहन्छ। तर जसरी तपाईंलाई ज्ञात छ स्थान त मिथ्या हो, चित्तद्वारा निर्मित हो तब ती घटनाहरू कहाँ घटे त? के तपाईंले कहिल्यै यस्तो कुनै कारण देख्नुभएको छ, जुन त्यस स्थानमा भएको थिएन? कतै अर्कै ठाउँमा कारण घटित भयो र घटना चाहिँ यहाँ भयो। अथवा यस्तो कुनै घटना देख्नुभएको छ, जुन यहाँ भयो तर त्यसको प्रभाव चाहिँ अर्कै कुनै स्थानमा पर्यो, जहाँ भएको तपाईंलाई पत्तोसम्म छैन; तर वास्तवमा यस्तो हुँदैन। कारण र प्रभाव पूर्णतः स्थानमा आधारित हुन्छन्। घटना स्थानमा निर्भर रहन्छ र यदि त्यसको आधार नै स्थान हो र स्थान स्वयं मिथ्या छ भने, सम्पूर्ण घटनाहरू पनि मिथ्या नै हुन्। अब हामी प्रभाव र कारणको अझ बढी गहिराइमा जाऔं र म तपाईंलाई केही तर्कहरू दिनेछु। जब हामी आगोमा राखेर पानी उमाल्छौं, तब हामी भन्छौं कि अग्नि कारण हो र वाफ त्यसको प्रभाव हो। यदि आगो हुँदैनथ्यो भने, न पानी उम्लिन्थ्यो न त वाफ नै बन्दथ्यो। आगोमा जुन ताप (ऊष्मा) हुन्छ, त्यो पानीमा प्रवेश गर्दछ र त्यसलाई हावामा छरपस्ट पारिदिन्छ, जुन वाफ हो। अनि वाफलाई छुँदा तातो महसुस हुन्छ, अर्थात् त्यसमा पनि त्यति नै ताप छ, जति आगोमा थियो। तापको जुन गुण अग्निमा थियो, त्यही पानीमा सर्यो र त्यही वाफमा पनि देखिन्छ। यसरी प्रभावमा पनि त्यही मूल गुण दृष्टिगोचर हुन्छ। यसै गरी यदि कुनै वस्तु राखिएको छ र त्यसमा तपाईंले अर्को वस्तुले प्रहार गर्नुभयो भने, त्यो वस्तुले पनि गति लिनेछ। जुन पहिलो वस्तुको गति हो, त्यही नै दोस्रो वस्तुमा दृष्टिगोचर हुनेछ। त्यसैले त हामी भन्दछौं कि यो वस्तु यहाँबाट त्यहाँ कसरी पुग्यो? किनभने अर्को कुनै वस्तुले, जसमा गति विद्यमान थियो, त्यसले यसलाई एक स्थानबाट अर्को स्थानसम्म पुर्यायो। यदि पहिलो वस्तुमा गति हुँदैनथ्यो भने, दोस्रो वस्तुमा पनि त्यो देखिने थिएन। गतिको जुन गुण छ, जुन कारण हो, त्यही नै प्रभावका रूपमा प्रकट भयो अर्थात् गति। जब एउटा कुमालेले माटोबाट घैँटो बनाउँछ, तब जुन माटो हो, त्यही नै घैँटोमा देखिन्छ। हामी भन्दछौं कि घैँटोको कारण माटो हो; यदि माटो हुँदैनथ्यो भने घैँटोको अस्तित्व हुने थिएन। परन्तु जुन घैँटो हो, त्यो वास्तवमा माटो नै हो। माटोको नै गुण घैँटोमा प्रतिविम्बित हुन्छ। तपाईं एकान्तमा बसेर यो सोच्न र मनन गर्न सक्नुहुन्छ कि के यस्तो कुनै घटना वा वस्तु छ, जसमा त्यसको कारणको गुण पूर्णतः लोप भएको होस्? यसै गरी मानसिक घटनाक्रमहरूमा पनि तपाईंले देख्न सक्नुहुन्छ। कसैले तपाईंको अपमान गरिदियो। अब तपाईं क्रोधित हुनुभयो। यस्तो कसरी सम्भव छ? तपाईंको यस क्रोधको वास्तविक कारण के हो? यदि हामीले सूक्ष्म रूपले हेर्यौं भने, जुन व्यक्तिले तपाईंको अपमान गर्यो, ऊ स्वयं क्रोधित थियो, त्यसैले त उसले अपमान गर्यो। त्यही क्रोध त्यस मनबाट यस मनमा सरेको हो। त्यही गुण मात्र सञ्चारित भएको हो। यसै गरी तपाईंले देख्नुहुनेछ कि तपाईंको मनमा कसैका प्रति प्रेम जागृत भएको छ। यो किन जाग्यो, यसको कारण के हो? तपाईंले पाउनुहुनेछ कि सामुन्नेको व्यक्तिको मनमा प्रेम छ, त्यसैले। केवल त्यो गुण सञ्चारित भएको हो, बस। त्यसैले हामी एउटा नियम बनाउन सक्छौं कि प्रभावका गुणहरू कारणमा पाइन्छन् र कारणका गुणहरू प्रभावमा भेटिन्छन्। के कहिल्यै यस्तो कुनै प्रभाव देख्न सकिएला, जसमा कारणका गुणहरू समाहित नहुन्? अनि यदि ती दुवैका गुणहरू एउटै हुन्, केवल स्थान वा रूप मात्र भिन्न छ भने, के ती घटनाहरू अलग हुन् त? गुण त त्यही हो, त्यही गुण मात्र सञ्चारित भएको हो; र त्यो गुण निरन्तर छ। त्यसो भए के त्यहाँ दुईवटा घटनाहरू घटेका हुन्? वास्तवमा एउटै घटना हो, जुन दुईवटा रूपमा दृष्टिगोचर भएको छ। यदि कारण नै प्रभाव हो र प्रभाव नै कारण हो भने, के ती दुवैको कुनै स्वतन्त्र अस्तित्व रहन्छ र? के हामी प्रभावलाई कारणबाट अलग गरेर वा कारणलाई प्रभावबाट छुट्याएर हेर्न सक्छौं? यो विषय निकै गहन छ; यो हाम्रो अपरोक्ष अनुभव होइन। हामीलाई त केवल गुणहरूको सञ्चरण मात्र देखिन्छ। गुणहरूको रूपान्तरण देखिन्छ, जुन विभिन्न रूप र नामहरूका पछाडि लुकेको हुन्छ। यिनै नाम र रूपका आवरणहरूका कारण हामीलाई ती घटनाहरू भिन्न-भिन्न लाग्दछन्। अग्नि त वाफभित्रै लुकेको छ, किनभने अग्निको बाह्य रूप मात्र परिवर्तन भएको हो। तर हामीलाई लाग्छ कि कुनै नयाँ घटना घटित भयो। जब हामी स्विच थिच्छौं र बिजुलीको बत्ती बल्छ, तब त्यसको कारण हामी बिजुलीलाई मान्छौं; तर जुन प्रकाश हो, त्यो बिजुली नै हो। बिजुलीले नै प्रकाशको रूप धारण गरेको हो; त्यही ऊर्जा हो जुन अब तारमा मात्र सीमित नरहेर वातावरणमा व्याप्त भएको छ। यी दुई अलग घटनाहरू होइनन्; बिजुलीको उपस्थिति र प्रकाशको उत्पत्ति एउटै घटना हो, जुन नाम र रूपले ढाकिएका कारण दुईवटा रूपमा देखिएका हुन्। हामी भन्छौं त्यो त बिजुली थियो, यो त प्रकाश हो! दुईवटा नाम भएकाले दुईवटा वस्तु होलान् भन्ने लाग्छ, तर तत्त्वतः ती एउटै हुन्। त्यही गुण यस रूपमा प्रकट भएको हो। अब यसलाई यो इन्द्रियले होइन, अर्कै इन्द्रियले ग्रहण गरेको मात्र हो। यो केवल इन्द्रियहरूको परिवर्तन मात्र हो; घटना त त्यही नै हो। यिनको न कुनै अन्त्य छ, न आदि छ, न त कुनै मध्य नै। घटनाहरूको कुनै स्वतन्त्र अस्तित्व छैन; र नाम-रूप परिवर्तन हुनाले वा गुणहरू लुकेका कारण जे प्रतीत भइरहेको छ, त्यो अनुभव, कारण र प्रभाव होइन। हामीलाई त केवल एउटा निरन्तर परिवर्तनको अनुभव भइरहेको छ। हामीलाई घटनाहरूको अनुभव भइरहेको छैन। हामीलाई कारण वा प्रभावहरूको अनुभव भइरहेको छैन। यहाँ त केवल एक प्रकारको निरन्तर परिवर्तनशीलता मात्र छ। बाँकी सबै कुरा चित्तद्वारा निर्मित हुन्। बाँकी सबै मनगढन्ते कल्पनाहरू हुन्। त्यसमाथि मनले विभिन्न प्रकारका छाप वा धारणाहरू लगाइदिएको छ यो यस्तो हो, त्यो उस्तो हो भन्ने जस्ता कुराहरू मनका उपज हुन्; जबकि त्यसको वास्तविक तत्त्व त अखण्ड निरन्तरता हो। चाहे त्यो परिवर्तनशील नै किन नहोस्, त्यो निरन्तर छ र अनन्त छ यो नै मेरो अनुभव हो। बाँकी सबै चित्तद्वारा निर्मित मान्यताहरू हुन्। अनि हामीले यो पनि देख्यौं कि चित्तले यस्तो किन गर्दछ किनभने यसबाट जीवन अलिकति सहज बन्न पुग्दछ। जुन हाम्रा लागि उपयोगी वस्तुहरू हुन्, तिनको कारण निकै सजिलैसँग पहिल्याउन सकिन्छ। उपयोगी अर्थात् जीवित रहनका लागि सहयोगी। यसबाट व्यक्तिले यो अनुमान लगाउन सक्छ कि यी कारण, प्रभाव र घटनाहरूको सम्बन्ध जीवनको वृत्तिसँग जोडिएको छ। अस्तित्वमा यस्तो केही पनि छैन जसको कुनै कारण होस्, जसको कुनै उपयोग होस् वा जसको कुनै प्रभाव होस्। त्यस्तो केही पनि छैन। जुन ठाउँमा कुनै कुरा जीवनका लागि उपयोगी बन्न पुग्छ, चित्तले त्यस घटनाको कारण र प्रभाव आफैं निर्माण गरिदिन्छ। कसैलाई यो ज्ञात भयो कि यदि बिउ रोपिदियो भने वृक्ष उम्रिन्छ र खानका लागि फल प्राप्त हुन्छ। तब त्यस फलको सम्बन्ध बिउसित गाँस्नु उसको लागि अत्यन्तै उपयोगी हुन जान्छ। अब जब स्मृतिमा यो सम्बन्ध अङ्कित भयो, तब यसले भविष्यमा धेरै काम दिनेछ। अब उसले पटक-पटक बिउ रोप्नेछ र फलहरू प्राप्त भइरहनेछन्। यदि कुनै व्यक्ति वनमा गइरहेको छ र उसमाथि कुनै पशुले आक्रमण गर्दछ भने, उसलाई पीडा हुन्छ। उसलाई चोट लाग्दछ। अब मेरो यस पीडाको कारण त्यो पशु हो भनी सम्बन्ध स्थापित गर्नु जीवनका लागि अत्यन्तै उपयोगी छ। यो कारण स्मृतिमा अङ्कित हुनुपर्दछ। त्यस घटनाको प्रभाव यो दर्द र यो कष्ट नै हो। अब अर्को पटक त्यो व्यक्ति त्यस मार्गबाट जाने छैन। उसलाई कारण थाहा भयो र प्रभावको पनि बोध भयो। यो जीवनका लागि निकै उपयोगी छ। अब तपाईंले देख्नुहुनेछ कि हाम्रा सम्पूर्ण विज्ञान, सारा तन्त्र र ज्ञान कारण एवं प्रभावमा नै आधारित छन्। अनि यसले हाम्रो जीवनलाई सहज बनाउँछ र जीवनको गुणस्तरलाई अभिवृद्धि गर्दछ। यो केवल एउटा मान्यता हो, तर निकै उपयोगी छ। यद्यपि जीवनका लागि यसमा सत्यको अंश अलिकति पनि छैन। सम्पूर्ण ज्ञान-विज्ञान चित्तद्वारा नै निर्मित हुन्, किनभने ती काल्पनिक आधारमा अडिएका छन्। यदि तपाईंको स्वप्न चलिरहेको छ र त्यहाँ केही घटित हुन्छ भने, तपाईंलाई त्यसको कारण पनि देखिन्छ। त्यसको प्रभाव पनि देखिन्छ। तर बिउँझिएपछि के त्यो कारण सत्य सावित हुन्छ र? के वास्तवमै त्यहाँ कुनै यस्तो घटना घटेको थियो, जसको कुनै कारण होस्? के त्यहाँ कुनै परिवर्तन भएको थियो र? के त्यहाँ कुनै स्वतन्त्र अनुभव प्राप्त भएको थियो? त्यो त सबै माया मात्र थियो, तर तपाईंलाई कारण र प्रभावको प्रतीति त भयो नि? जुन व्यक्ति जागृत छ, उसलाई कारण र प्रभाव त देखिन्छन्। परन्तु उसलाई यो पनि देखिन्छ कि ती असत्य हुन्, ती माया हुन् र ऊ यी कारण एवं प्रभावका चक्रहरूबाट मुक्त छ। उसले त्यसको उपयोग त गर्दछ, तर यो सबै असत्य हो भन्ने कुरा पूर्ण रूपमा बोध गरेर मात्र गर्दछ। हामी जे-जति गर्दछौं, त्यसको फल प्राप्त हुन्छ। हाम्रो कर्मलाई हामी कारण भन्दछौं र जुन फल प्राप्त हुन्छ, त्यसलाई प्रभाव भन्दछौं। यदि कारण र प्रभाव नै असत्य हुन् भने, कर्म र फल पनि मिथ्या हुन्। सबैले यो मान्दछन् कि मेरो जीवनमा जे घटित हुन्छ, त्यो मेरा कर्महरूको फल हो र यसरी नै जीव यस चक्रमा बाँधिएको छ। कर्म र फलको यो चक्र पनि मिथ्या नै हो। यदि कर्म नै छैन भने, फल के प्राप्त होला र? धेरै मानिसहरू मान्दछन् कि मैले यो गरेँ भने सुख मिल्छ र त्यो गरेँ भने दुःख हुन्छ; यसो गर्दा हानि हुन्छ र उसो गर्दा लाभ हुन्छ तर वास्तवमा यस्तो कहिल्यै हुँदैन। धेरैको यो पनि मान्यता छ कि यस्तो कर्म गरे यस्तो जन्म पाइन्छ र उस्तो कर्म गरे उस्तो मृत्यु हुन्छ यो पनि एउटा भ्रम मात्र हो। न मेरो सुखको कुनै कारण छ न दुःखको, न हानिको न त लाभको, न मेरो विजयको न मेरो पराजयको नै। न यस जन्मको कुनै कारण छ न त यस मृत्युको नै; यी त केवल मानिआएका कुरा मात्र हुन्। यदि कारण छैन र फल पनि छैन भने, यसको अर्थ के भयो त? यसको अर्थ यो भयो कि म परम मुक्त छु। म मात्र होइन, सबै जना मुक्त छन्। मानिसहरू त केवल मान्यताहरूमा बाँधिएका हुन्, र मान्यताको अर्थ नै अज्ञान हो। यदि तपाईंमा अज्ञान छ भने तपाईं बन्धनमा देखिनुहुनेछ; यदि ज्ञान छ भने तपाईं बन्धनरहित देखिनुहुनेछ। यो निकै सरल छ। यदि मेरा कर्महरूको कुनै प्रभाव नै पर्दैन भने, कर्म त अर्थहीन भयो। कर्म त केवल प्रतीत मात्र हुने हुन् किनकि कर्म अर्थहीन र मिथ्या छ, एवं कर्ता पनि मिथ्या नै हो। जब कर्म गर्ने वाला नै कोही छैन भने कर्म चाहिँ कहाँबाट होला र? कर्मको परिभाषा नै अर्थहीन छ। कर्म त त्यो हो जसको कोही कर्ता हुन्छ। तर हामीले देखिसक्यौं कि कर्ता नै मिथ्या हो भने कर्म कसरी हुन सक्छ? जे-जति हुन्छ, स्वतः हुन्छ। सबै अनुभव हो एउटा अखण्ड र निरन्तर अनुभव। त्यसमा कर्म, कर्ता र फल जस्ता यी सबै नामहरू चित्तद्वारा नै निर्मित हुन्, चित्तले नै यिनको निर्माण गरेको हो। चित्त आफ्नै सिर्जनामा आफैं अल्झिएको छ। यदि तपाईंले बस्नका लागि एउटा विशाल घर बनाउनुभयो र त्यसमा अल्गा-अल्गा पर्खालहरू खडा गर्नुभयो भने, घर त बन्नेछ तर तपाईं त्यसभित्र स्वयं कैदी बन्नुहुनेछ। तपाईंलाई लाग्नेछ कि यो अत्यन्तै सुरक्षित छ, तर तपाईं त्यसैभित्र मात्र सीमित रहनुहुनेछ। त्यसभन्दा बाहिर के छ भन्ने तपाईंलाई पत्तो हुने छैन र तपाईं बाहिर निस्कन पनि सक्नुहुने छैन; केवल त्यही पिञ्जरामा परिरहनुहुनेछ। आफ्नो सुरक्षा र जीवनरक्षाका लागि चित्तले ठ्याक्कै यही गरेको छ। आफ्नो सुरक्षा र अस्तित्व रक्षाका लागि यसले विभिन्न प्रकारका मान्यताहरू निर्माण गरेको छ र विविध प्रकारका ज्ञानका तन्त्रहरू खडा गरेको छ। अहिले चित्त त्यही जालमा स्वयं फसेको छ। यस्तो होइन कि उसले देख्न सक्दैन; देख्न त सक्छ, तर देख्न चाहँदैन किनकि ऊ डराउँछ। उसलाई लाग्छ कि सत्य जान्नाले उसको सुरक्षा खतरामा पर्नेछ। उसलाई तासका पत्ताहरूबाट निर्मित यो आफ्नो महल अत्यन्तै प्रिय लाग्दछ। मैले एउटा फुँ मात्र गरिदिएँ र ती सबै छरपस्ट भए। किन? किनकि ती केवल कल्पना मात्र थिए। जुन सत्य हो, त्यो एउटा फुँ ले कहिल्यै समाप्त हुँदैन। ती घटनाहरू, कारण, प्रभाव, कर्ता, कर्म र फलहरू कहाँ बिलाए त? ती सबै कल्पना मात्र थिए। तपाईंका अगाडि एउटा अखण्ड र निरन्तर अनुभव छ, जुन स्वयं अनुभवकर्ता नै हो र जसको स्वभाव शून्यता हो। सम्पूर्ण अनुभवहरू शून्य छन्; कारण शून्य छ, प्रभाव शून्य छ, घटना शून्य छ र कर्ता पनि शून्य छ। यो नै परम सत्य हो र यो कतै जाने छैन। यो सत्यको भूमिमा अडिएको छ र सत्यको जगमा ठडिएको छ। यसलाई तपाईंले नष्ट गर्न सक्नुहुन्न र यसलाई बदल्न पनि सम्भव छैन। कारण र प्रभावभन्दा पर, कर्म र फलभन्दा माथि जुन अखण्ड, निरन्तर र स्वयम्भू सत्ता छ म त्यही चैतन्य हुँ। अब म यहाँ बिदा माग्दछु। सुन्दै रहनुहोला बोधिवार्ता : मायाको शृङ्खला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions