Wise Words
सुख एक माया (नेपाली)
रोशन
सुख एक माया ** *यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"*** सुख 'माया' हो। सुख 'चित्त'-निर्मित हो। जसरी बादल छाउँछन्, जसरी पानी पर्छ, त्यसरी नै 'चित्त' मा वासनाहरू आउने-जाने गर्छन्। यो एउटा प्राकृतिक घटना हो। यहाँ कोही छैन, जसले यी वासनाहरूलाई उत्पन्न गर्छ, बनाउँछ। यहाँ कोही छैन, जसका यी वासनाहरू हुन्। 'चित्त' मा 'कर्ताभाव' को एउटा प्रक्रिया छ, जसले यी वासनाहरूको उत्तरदायित्व लिन्छ; जसले भन्छ, "यी मेरा वासना हुन्। यो म हुँ, जसले यो इच्छा गरेको हो।" यी वासनाहरूको वर्षा 'चित्त' मा भइरहन्छ, जुन स्मृतिबाट आउँछन्स्मृतिमा रहेका संस्कारहरूबाट। संस्कारहरू हाम्रा अनुभवहरूबाट बन्छन्, जसले स्मृतिमा छाप छोड्छन्। जब कुनै वासनाको पूर्ति हुन्छ, तब 'चित्त' मा अर्को एउटा प्रक्रिया हुन्छ, जसले एउटा 'पुरस्कार' निर्मित गर्छ। यस पुरस्कारको अनुभव हामीलाई 'सुख' को रूपमा हुन्छ। र यदि यस वासना-पूर्तिमा असफलता मिल्छ भनेजस्तो कि तपाईंलाई थाहै छ, हामीले अघिल्लो भागमा चर्चा गरेका थियौं'चित्त' ले एउटा 'दण्ड' निर्मित गर्छ, जसको अनुभव हामीलाई 'दुःख' को रूपमा हुन्छ। सुख एउटा मानसिक घटना हो, जसमा सकारात्मक विचारहरू आउँछन्, सकारात्मक भावनाहरू हुन्छन्। यो शरीरमा पनि देखिन्छ; अनुहारमा देखिन्छहाँसो, बोली, र व्यवहारबाट। यो जुन 'चित्त' को सुखको अवस्था बनेको छ, त्यो देखिन्छ। 'कर्ताभाव' ले यसलाई पनि 'मेरो' अवस्था मानिदिन्छ; यसलाई पनि 'म' को नाम दिइदिन्छ। जसको चेतना जागृत छ, उनीहरूले यो प्रक्रिया देख्न सक्छन्: वासनाहरूको उठ्नेदेखि लिएर कर्मको हुनु, फलको मिल्नु, सुखको पुरस्कार उत्पन्न हुनु, र त्यसको प्रतिक्रिया जुन 'चित्त' मा हुन्छ, अवस्था बन्छ, र 'कर्ताभाव' को आउनु। यो सम्पूर्ण प्रक्रिया एक जागृत व्यक्तिले देख्न सक्छ, जसको चेतना जागृत छ। बाँकी मानिसहरूले त्यसलाई 'म' वा 'मेरो' मानिदिन्छन्, किनकि उनीहरूमा आत्मज्ञानको अभाव छ, 'चित्त' को ज्ञानको अभाव छ, र चेतना शुन्य को बराबर छ। 'चित्त' ले यो सबै किन गर्छ? जीवित रहनका लागि यो उपयोगी छ। यो प्रक्रिया यस जीवको प्रक्रिया हो, जसले उसलाई जीवित राख्छ। जसरी दुःख जीवित रहनका लागि उपयोगी छ, पीडा जीवित रहनका लागि उपयोगी छ, त्यसरी नै सुख पनि एउटा प्रक्रिया हो, जसले जीवनलाई बनाइराख्छ। यदि सुख रहेन भने, जीवले कुनै कर्म गर्नेछैन; त्यत्तिकै चुपचाप थन्कीरहनेछ । दुःख रहेन भने पनि, उसले केही गर्नेछैन। यस्तो मान्न सकिन्छ कि, दुःखको अभाव नै सुख हो। जब एउटा वासना आउँछ र त्यसमाथि कर्म हुन्छ, तब सुख त्यो स्थिति हो, जहाँ दुःख उत्पन्न हुँदैन। यदि सुख उत्पन्न भएन भने, दुःख आफैं निर्मित हुन्छ। जतिसुकै सूक्ष्म किन नहोस्, तपाईंले देख्नुहुनेछ, यी दुई अनुभव 'चित्त' मा सधैं रहन्छन्। यी दुवै 'वृत्तिहरू' केवल निद्राको अवस्थामा रोकिन्छन्, नत्रभने सधैं चलिरहन्छन्। किनकि जाग्रत अवस्था अधिकतर अस्तित्व रक्षाका लागि हो। जाग्रत अवस्थामा यी सबैभन्दा अधिक बलशाली हुन्छन्। जब सुखको पुरस्कार मिल्छ, तब प्राणी त्यो कर्म गर्नका लागि प्रेरित हुन्छ, जसबाट सुख मिलेको छ। नत्रभने, सबैलाई थाहै छ, दुःखको दण्ड मिल्छजुन वासना पूर्ति गर्न नसक्दा पाइने शिक्षा हो, त्यस गल्तीको नतिजा हो। जसरी गधाको अगाडि घाँस होस् र पछाडिबाट लौरो परिरहेको होस् भने, गधा हिँड्छ, काम गर्छ; त्यसरी नै, सुख-दुःखको 'वृत्ति' ले यो 'मनो-शरीर' रूपी यन्त्रलाई चलाउँछ। नत्रभने, यो बसिदिन्छ; नत्रभने, कर्म गर्नेछैन। अनि सडेर खरानी हुनेछ, माटो हुनेछ। अब अज्ञान यो हो कि, व्यक्तिले सुखलाई नै जीवनको लक्ष्य मानिदिन्छ। उसलाई यो थाहा हुँदैन कि जीवनका लागि कर्म आवश्यक छ, तर सुख त 'चित्त' को एउटा प्रतिक्रिया मात्र हो। केही खायो भने सुख मिल्छ, र त्यो खानाका कारण जीवन चल्छ। शत्रुलाई मारिदियो भने सुख मिल्छ, र त्यसबाट जीवन बच्छ। त्यसरी नै यौन-सुख छ, त्यसबाट जीवन अगाडि बढ्छ। तर यी प्रक्रियाहरू सुखविना पनि चल्न सक्छन्। यो प्रतिक्रिया हो, लक्ष्य होइन। जब प्राणीहरू कम विकसित थिए, 'चित्त' मा यी प्रक्रियाहरूको विकास भयो, ताकि त्यसले प्राणीलाई प्रशिक्षित गर्न सकोस्, उसलाई 'के गर्ने, के नगर्ने' भनेर जीवनका लागि तालिम दिन सकोस्। र अहिले पनि यी प्रक्रियाहरू 'चित्त' मा चलिरहेका छन्। यो एउटा ठूलो प्राचीन प्रक्रिया हो। 'चित्त' मा एकपटक जुन विकास हुन्छ, त्यो त्यहाँ सधैं रहन्छ। किनकि यो प्रशिक्षणको प्रक्रिया हो, यसको अर्थ यो होइन कि त्यो जीवनको लक्ष्य हो। जीवनको लक्ष्य त अनुभव लिनु हो; जीवनको लक्ष्य त्यसबाट सिक्नु हो। सुख 'चित्त' को प्रतिक्रिया हो, जुन यो 'मनो-शरीर' रूपी यन्त्रलाई चलाउने काममा आउँछ। यति मात्र हो, यो जीवनको लक्ष्य होइन। कस्तो विचित्र कुरा छ कि, सृष्टिको जुन सबैभन्दा उत्तम कृति, सबैभन्दा बुद्धिमान मानिने प्राणी छ, उसलाई यो थाहा छैन। यो कुरा उसको बुद्धिको पहुँचभन्दा बाहिर छ। त्यसैले, सबै मनुष्यहरूको जीवन सुखको पछि भाग्नु नै हो। उनीहरूलाई थाहा छैन जीवन केका लागि हो; जीवन के हो, यो पनि थाहा छैन। उनीहरूलाई केवल यति थाहा छ कि, सुखको पछि दौडनुपर्छ, नत्रभने दुःखको लौरो पर्नेवाला छ। एउटा गधाजस्तै, जुन घाँसको पछि भागिरहेको छ, त्यसरी नै आम जनता सुखको पछि भाग्छन्। उनीहरूलाई जीवन के हो भन्ने थाहा छैन; 'चित्त' के हो, त्यो त बहुत टाढाको कुरा भयो। र सुखका लागि व्यक्तिले के-के गर्दैन? जीवनका लागि कर्म गर्नु गलत कुरा होइन, तर यदि सुखलाई नै जीवन मानियो भने, तपाईं देख्न सक्नुहुन्छ, त्यो व्यक्ति जीवित छ, दुःख त्यति धेरै छैन, तैपनि उसलाई अझै चाहियो, अझै सुख चाहियो। यो पनि चाहियो, त्यो पनि चाहियो। र वासनाहरूलाई पनि आफ्नै मानेको छ। उसलाई थाहा छ कि वासना-पूर्तिबाटै सुखको पुरस्कार मिल्छ; केही गरिनँ भने मिल्दैन; यी इच्छाहरू पूरा भएनन् भने सुखको अवस्था, त्यसको अनुभव पनि हुनेछैन। जीवित रहनु मात्र पर्याप्त छैन, सुख पनि त चाहियो, जुन सुख दिनहुँको खानपिन र जीवनका प्रक्रियाहरूबाट मिल्यो। किनकि त्यो त मिल्छ नै, त्यो त प्रकृति हो, त्यो त मेसिनजस्तै चलिरहेको छत्यतिले मात्र पुग्दैन। अझै चाहियो। सुखका लागि व्यक्तिले केही राम्रो-नराम्रो सोच्दैन, जुन तपाईंको आफ्नै अनुभव होला। व्यक्तिले त्यो गर्दैन, जुन आवश्यक छ, जुन उपयोगी छ। व्यक्तिले त्यो गर्छ, जुन सुखदायी छ। फेरि चाहे त्यो चोरी होस्, डकैती होस्, हत्या होस्, युद्ध होस्, झूट होस्, छल-कपट होस्जतिसुकै अनैतिक कार्य होस्, ऊ गर्छ, किनकि सुख चाहियो। "मलाई त सुखसँग मतलब छ, कर्मसँग होइन।" र यी सबै कर्महरू उसले यही सोचेर गर्छ कि, यसबाट सुख मिल्नेछ। केही मानिसहरू अलि बढी समझदार छन्; उनीहरू केही राम्रो गर्छन्, जस्तैमनोरञ्जन, नाच्छन्, गाउँछन्। उनीहरूलाई लाग्छ, "अब सुख जैविक प्रक्रिया रहेन; अब त यो मैले गरेको हुँ।" एउटा राम्रो किताब पढ्यो, बहुत सुख मिल्यो। तर तपाईं जेसुकै गर्नुहोस्, यदि सुख मिल्छ भने, त्यो जैविक प्रक्रियाकै कारणले मिल्छ। दुई थरीका सुख छैनन्; एकै थरीको सुख छ, जुन 'चित्त'-निर्मित हो। केवल यति भएको हो कि, तपाईंले 'चित्त' लाई "मैले जीवनका लागि केही उपयोगी काम गरेको छु" भनेर धोका दिनुभएको छ, र त्यसले सुखको निर्माण त्यसरी नै गर्छ। सुख राम्रो कर्मबाट मिलोस् वा नराम्रो कर्मबाट, हो त यो 'चित्त' को प्रतिक्रिया नै; हो त यो गधाको अगाडिको घाँसजस्तै, त्योभन्दा बढी केही होइन। धेरै व्यक्तिहरू छन्, जसका लागि सुख लिनु एउटा लत हो। र सबैलाई थाहा छ, एकपटक जुन लत लाग्छ, त्यो जाँदैन, किनकि थरी-थरीका नशालु पदार्थहरूले उसलाई सुख दिन्छन्। किनकि यो जैविक प्रक्रिया हो, त्यसैले यसलाई पदार्थहरूबाट नियन्त्रण गर्न सकिन्छ। पदार्थ मात्र किन? यदि तपाईंले दिमागमा बिजुलीको झट्का दिनुभयो भने पनि सुख मिल्छ। यो एउटा मेसिन हो; यसले त त्यही अनुभव पैदा गर्नेछ, जुन बटन दबाएर पनि हुन सक्छ। त्यो बटन रक्सी होस् वा चुरोट होस्, वा स्त्री होस्, वा लडाइँ-झगडा होस्, हिंसा होस्, नेतागिरी होस्, हत्याकाण्ड होस्त्यो एउटा नशा बनिदिन्छ। सुखको नशा। कस्तो विचित्र कुरा छ कि, जब सुखको अनुभव हुन्छ, तब बुद्धि बन्द हुन्छ। जस्तो कि तपाईंले देख्नुभएकै होला, दुःखको समयमा पनि यस्तै हुन्छव्यक्ति बुद्धिहीन हुन पुग्छ। जब व्यक्ति बहुत सुखमा हुन्छ, तब पनि बुद्धि भ्रष्ट हुन्छ। र फेरि यी लतहरूलाई त्यहाँ घर बनाउन कुनै कठिनाइ हुँदैन। अब व्यक्तिलाई थाहा हुन्छ कि, "यस वासना-पूर्तिका कारणले यो सुख भएको हो, त्यसैले मलाई अझै वासनाहरू चाहियो।" बुझ्नुहोस्, यही त हो विपरीत बुद्धि। ऊ अझ धेरै वासनाहरूलाई बोलाउँछ: "अझै आउन देऊ, सब मेरै हुन्। यिनले मलाई सुख दिइरहेका छन्। जीवनमा अरू गर्नुपर्ने नै के छ र? वासनाहरूको पूर्ति गर्नु छ, सुख लिनु छ, मेरो बुद्धि यति नै हो।" अनि ऊ अझ बढी वासनालिप्त हुँदै जान्छ; वासनाहरूको हिलोमा फस्दै जान्छ। यो 'चित्त' थरी-थरीका वासनाहरूको घर बन्छ। एक प्रकारले यो बिरामी 'चित्त' हुन पुग्छ। र फेरि, वासनाहरू पूरा हुनेछैनन्यो अटल सत्य हो। सबै पूरा हुँदैनन्। अनि दुःख आउन थाल्छन्, किनकि हजारौं वासनाहरूले घर गरिसकेका छन्, लत बनिसकेका छन्। दुःख त आउँछ नै, पीडा त आउँछ नै। जहाँ प्रकाश छ, त्यहाँ अन्धकार छ। जहाँ दिन छ, त्यहाँ रात छ। हाम्रा अनुभवहरू द्वैत अनुभव हुन्; एकनास रहँदैनन्। वासनाहरू पूर्ण हुँदैनन्, तब मनमा घृणा पैदा हुन्छ: "अरू कसैका कारणले मेरो वासना पूरा भइरहेको छैन। मेरी श्रीमतीले मलाई छोडेर गइन्। अब मेरा वासनाहरू कसले पूरा गरिदेला? मलाई जागिरबाट निकालियो, अब मलाई पैसा कसले देला?" व्यक्ति यी वस्तुहरूको, यी मानिसहरूको दास हुन पुग्छ, गुलाम हुन पुग्छ। हात-खुट्टा जोडेर सबैको अगाडि उभिन्छ। "मेरो वासना पूर्ति गरिदेऊ, मलाई सुख देऊ" भन्दै भीख माग्छ। र सधैं डराइरहन्छ कि कोही न कोही मेरो र मेरो सुखको बीचमा आइदिनेछ, वा मलाई त्यागिदिनेछ, र फेरि मेरो सुख जानेछ। यस्तो व्यक्ति जीवनभर डरमा बाँच्छ। चाहेको थियो सुख, चाहेको थियो भोग, चाहेको थियो दुःखको अन्त्य। तर मिल्यो के? वासनाहरूको कोर्रा। अरू मानिसहरूमाथि निर्भरता, वस्तुहरूमाथि निर्भरता, नशालु पदार्थहरूमाथि निर्भरता। केही मानिसहरू बहुत खान्छन्। दिनभर खाइरहन्छन्। २०० किलो तौल भइसक्यो, तैपनि खान्छन्। खानाको काम व्यक्तिलाई जीवित राख्नु हो, सुख दिनु होइन। किनकि खानाबाट सुख मिल्छ, त्यसैले उनीहरूले खानालाई नै जीवन सम्झिदिन्छन्। त्यसबाट हुने बिमारीहरू, त्यसबाट व्यक्ति जुन सामाजिक मजाक बन्छ, त्यो उसलाई देखिँदैन, किनकि बुद्धि त भ्रष्ट भइसकेको छ। सुखले बुद्धि भ्रष्ट गरिदिन्छ। अब भैंसीजस्तै हिँड्छ र भैंसीजस्तै देखिन्छ, तर खाइरहन्छ, चरिरहन्छ। उसको खाना रोकिदिनुहोस्, ऊ हिंसक हुन पुग्छ। "सानोतिनो होइन, दाल-भात होइन, मलाई गाई-गोरु काटेर देऊ। सिंगो सुँगुर लिएर आऊ, म खान चाहन्छु। " यो सबै किन? सुख। व्यक्ति सुख चाहन्छ। ऊ यो देख्दैन कि सुखको लतमा ऊ जनावरभन्दा पनि तल खसिसकेको छ। मान्छेले नै मान्छेलाई गुलाम बनाउँछ। "तँ नीच जातिको होस्, अब मेरो गुलामी गर्, मलाई सुख चाहियो।" कहिलेकाहीँ यस्ता मानिसहरूले सिंगै देशलाई गुलाम बनाइदिन्छन्, त्यसमाथि शासन गर्छन्। त्यस देशका मानिसहरूलाई, उनीहरूको जातिका कारणले, उनीहरूको वर्णका कारणले, पशुभन्दा पनि नराम्रो अवस्थामा राख्छन्, पशुलाई भन्दा पनि नराम्रो व्यवहार गर्छन्, र आफूलाई श्रेष्ठ सम्झन्छन्; आफूलाई उच्च जातिको सम्झन्छन्। के कारण हो? सुख। जीवनका लागि त यो आवश्यक छैन; यो त एउटा मूर्ख व्यक्तिले पनि बुझ्छ। सुख मिल्छ ? यदि त्यो अरूलाई दुःखी बनाउँदा, अरूलाई पीडा पुर्याउँदा, उनीहरूको जीवन नरक बनाउँदा मिल्छ भने पनि, "मलाई चाहियो।" सुखले व्यक्तिको बुद्धि भ्रष्ट गरिदिन्छ। 'भ्रष्ट' त बहुत सानो शब्द हो। यस्तो केवल मनुष्यमा हुन्छ, किनकि मनुष्य नै हो, जसले बुद्धिको उपयोग सुखका लागि गर्न जान्दछ; बाँकी पशु-पक्षीले जान्दैनन्। पशु-पक्षीहरू सन्तुष्ट छन्; उनीहरूलाई नैसर्गिक तरिकाले जति सुख मिल्छ, त्यतिमै चित्त बुझाउँछन्; उनीहरूमा बुद्धि पनि हुँदैन। मनुष्यमा बुद्धि हुन्छ, र त्यसको दुरुपयोग ऊ सुखका लागि गर्छ। र जो बहुत अधिक सुखमा छ, लिप्त छ, उसले आफूलाई बुद्धिमान सम्झन्छ। "हेर, मसँग त दश करोड छ। म कति चतुर छु, कति बुद्धिमान छु। यो मगन्ते व्यक्ति दुःखी छ, किनकि ऊ बुद्धिहीन छ। सुख कसरी ल्याउनुपर्छ, मलाई थाहा छ। कसैलाई भन्दिन। म चाहन्नँ कि अरू कोही सुखी होस्।" कस्तो विचित्र कुरा छ कि, यस्तो व्यक्ति जतिसुकै सुखको पछि दौडियोस्, जतिसुकै बुद्धिको उपयोग गरोस्, सुख अस्थायी छ; यो गइहाल्छ। उसले अझै वासनाहरू पूरा गर्नुपर्छ। र सबैलाई थाहा छ, वासनाहरू त अनन्त छन्। कति पूरा गर्ने? यस्तो कुन वासना छ, जसलाई पूरा गरेपछि सुख स्थायी होस्, अनि फेरि इच्छा नआओस् र दुःख नमिलोस्? के यस्तो कुनै वासना छ? प्रकृति बहुत चतुर छिन। उसलाई थाहा छ, "गधालाई सबै घाँस दिइयो भने, अब त गधा हिँड्नेछैन।" त्यसैले उसले सधैं अलिकति दिन्छिन र बाँकी झुन्ड्याएर राख्छिन। बाँकी घाँसका लागि उसले गधालाई दौडाउँछिन। सुख यस्तै घाँस हो, जुन प्रकृतिले बनाएको हो। त्यही प्रकृतिले हामीलाई बुद्धि दिएको छ। तर जो सुखको गुलाम छ, उसले बुद्धिको उपयोग गर्दैन। प्रकृति पनि टाउको ठोक्छिन: "यो मैले के गरेँ? यो कस्तो कृति बन्यो? यो व्यक्ति त सुखको लालचमा वासनाहरूको गुलाम बनिसकेको छ।" प्रकृतिले त्यसको पनि व्यवस्था गरिराखेको छ। तपाईंले देख्नुभएकै होला, यदि एउटै वासनालाई बारम्बार दोहोर्याइयो, त्यसलाई पूरा गरियो भने, केही दिनसम्म त सुख मिल्छ। त्यसपछि, त्यही कर्म, त्यही वासना-पूर्तिले दुःख दिन थाल्छ। उदाहरणका लागि, तपाईंको जुन प्रिय खाना छ, त्यो तपाईंलाई धेरै दिनपछि पाउनुभयो भने बडो सुख मिल्छ। अब मान्नुस, त्यही खाना तपाईंलाई हरेक हप्ता दिन थाल्यो। तब तपाईं भन्नुहोला, "कति राम्रो कुरा! मलाई जुन खाना प्रिय छ, त्यो सधैं पाउछु। म बहुत सुखी छु।" यदि त्यही खाना दिनहुँ दिन थाल्यो भने, केही दिनसम्म त तपाईं स्वर्गमै रहनुहुनेछ, "अरे वाह! मलाई जे बहुत मन पर्छ, त्यो दिनदिनै पाईरहेको छ।" हुन सक्छ, यस्तो दुई-तीन हप्तासम्म चल्ला। त्यसपछि, तपाईंको मनले भन्नेछ, "मलाई अब केही अरू पनि खान मन लाग्यो। त्यही-त्यही खाना खाएर म वाक्क भइसकेँ।" अब मान्नुहोस,, तपाईंलाई त्यही खाना हरेक घण्टा खुवाइयो। सुख कहाँ हराउँछ, पत्तै हुँदैन। अब मानिलिनुस्, त्यही खाना तपाईंलाई हरेक मिनेट जबर्जस्ती खुवाइयो; तपाईंलाई बाँधेर राखियोस्। अब त्यो रमाइलो, सहन नसकिने पीडामा बदलिनेछ। ख्याल गर्नुहोस्, खाना त्यही हो। वस्तु त्यही हो। सुख पाउने तरिका पनि त्यही हो, र तपाईंको दिमागले पनि त्यही भन्छ कि, "हो, जति धेरै पाइयो, उति धेरै सुख मिल्नेछ।" तर यो के भयो? यदि सुख खानामा हुन्थ्यो भने, धेरै खाँदा धेरै किन मिल्दैन? किन सुख दुःखमा बदलियो? खाना त त्यही हो, उत्तिकै स्वादिलो छ। अब त वाकवाकी आउँछ, त्यो देखेरै, त्यसको नाम सुनेरै। त्यसैले, यो पनि प्रकृतिले नै नियम बनाएकी छिन् कि, यदि प्राणी त्यही घेरामा फस्यो भने, उसलाई त्यसबाट निकाल्न पनि प्रकृतिलाई आउँछ। उनले सुखलाई दुःख बनाइदिन्छिन्। त्यही मन, जसले तपाईंलाई त्यो वस्तु प्रयोग गर्दा सुख दिइरहेको थियो, त्यही मनले तपाईंलाई दुःख दिनेछ। त्यही प्रक्रिया दुःखमा बदलिनेछ। समझदार मानिसहरूले यो कुरा चाल पाउँछन्, तर साधारण मान्छेले देख्न सक्दैन। तपाईंलाई एउटा चलचित्र देखाइयो, जसमा तपाईंको मन पर्ने कलाकार होस्, तब त्यसले तपाईंलाई खुसी दिन्छ। तर दिनदिनै त्यही चलचित्र देखाइयो भने, मान्छे पागल हुन्छ। त्योभन्दा ठूलो दुःख अरू केही हुनेछैन। शरीरले त बिर्सिदिन्छ, दुःख सहेर; तर मनले बिर्सँदैन। यदि इच्छा पूरा गर्ने काम दोहोर्याइरह्यो भने, त्यसले सुखको सट्टा दुःख दिन थाल्छ। यसबाट एक बुद्धिमान व्यक्तिले बुझ्नेछ कि, सुख भौतिक वस्तुमा छैन, अनुभवहरूमा छैन, व्यक्तिहरूमा छैन, सफलतामा छैन। तृष्णा मेट्नुमा कुनै सुख छैन। यो त मनको प्रतिक्रिया हो; केही बेरका लागि आउँछ, केही बेरका लागि महसुस हुन्छ, अनि गइहाल्छ। यो प्रकृतिको नियम हो, तर मैले त्यसलाई के बनाएँ? यो मूर्खता होइन भने के हो? त्यसैले, एउटी नारी जो यति राम्री देखिन्थिन्, जसविना तपाईं पाँच मिनेट पनि बस्न सक्नुहुन्नथ्यो, बिहे भएको छ महिनापछि नै उनी सबैभन्दा नराम्री र सबैभन्दा झगडालु देखिन्छिन्। जसको पछि तपाईं फूल लिएर कुद्नुहुन्थ्यो, अब उनीसँग सम्बन्ध तोड्न चाहनुहुन्छ। र ती महिलाले पनि, जसलाई भगवान् राम जस्तै ठान्थिन्, त्यो पुरुष त बिहेको एक वर्षपछि नै मामूली मान्छे लाग्न थाल्छ। यस्तो किन हुन्छ? "जुन व्यक्ति मेरो खुसीको कारण थियो, उसैका कारणले मेरो जीवन नर्क किन बन्यो?"यो कुरा मान्छेले बुझ्दैन कि, यो सम्बन्ध मेरो सुखको कारण होइन; यो त मनले बनाएको एउटा सानो भ्रम थियो, जुन आएर गयो। यस्ता मानिसहरू पचास वटा बिहे गर्छन्, तर एउटामा पनि सुखी रहँदैनन्। जो एउटै बिहेमा पिल्सिएको छ, ऊ ५० वटामा त... विचरा! यस्तो के छ, जसका कारणले सुख र भोग, दुःख र पीडा बन्न पुग्छन्? तपाईं सबैको अनुभव होला कि, तपाईंको पहिलो तलब दश हजार रुपैयाँ हुँदा तपाईं कति मख्ख हुनुहुन्थ्यो। तर, "यो धेरै भएन, पुगेन। मेरो साथीले त बीस हजार कमाउँछ।" अनि तपाईं घरबाट निस्किनुहुन्छ, 'जोतीएको गोरु' जस्तै रगत-पसिना बगाउनुहुन्छ। बीस हजार आउँछ, ठूलो सुख मिल्छ। दुई दिन रहन्छ। "अहँ, मलाई त एक लाख चाहियो।" अनि फेरि कुद्नुहुन्छ। एक लाख पनि आउछ। यसपटक त्यति सुख मिल्दैन, जति दश हजार मिल्दा मिलेको थियो। अनि मूर्ख मान्छेले सम्झन्छ, "एक लाख कम भयो, दश लाख चाहियो।" फेरि भाग्छ। तबसम्म बीस-तीस वर्ष बितिसक्छ। जसलाई तपाईंले जीवन सम्झनुभएको थियो, त्यो त गयो। जसलाई तपाईंले सुख सम्झनुभएको थियो, त्यो त मिलेन। जसलाई तपाईंले मान्छे सम्झनुभएको थियो, त्यो त जोतिएको गोरु निस्कियो; त्यो त कुमालेको गधा निस्कियो। यदि वस्तुहरूमा, सम्बन्धहरूमा, समाजमा वा पढाइ-लेखाइको सफलतामा सुख छैन भने, कहाँ छ त? किन बाहिर खोज्छौ सुखलाई? त्यो त भित्र छ। यो मनले रचेको खेल हो, माया हो; वास्तविक होइन। बाहिर जे घट्छ, जुन काम हामी गर्छौं, त्यसबाट सुख मिल्दैन। मनभित्र एउटा कारखाना छ, जहाँ त्यो बन्छ। किन यति धेरै दुःख गर्छौ? नशालु पदार्थहरूबाट बनाऊ। बिजुलीका झट्काहरूबाट लेऊ। यो त यन्त्र जस्तै छ, स्वचालित । के यो तपाईंको वशमा छ? के तपाईं बसेर इच्छा गर्न सक्नुहुन्छ कि, "सुख, अहिले आइज"? यदि मेरो हो भने, त्यो आउनुपर्छ; यहाँ प्रकट हुनुपर्छ। किन सुखले तपाईंको कुरा मान्दैन? किन तपाईंले सुखको कुरा मान्नुपर्छ? यदि सुख मेरो हो भने, त्यसले मेरो आज्ञा मान्नुपर्छ। "को हो मालिक? को हो दास?"यो कुरा उल्टो बुद्धिले सोच्न सक्दैन। उल्टो बुद्धिले त यही भन्छ कि, "म सुखी छैन, अझै सुख चाहियो।" यो कुरा सत्य हो, "म सुखी छैन।" म सुखी हुन पनि सक्दिनँ। यो त मनको एउटा आउने-जाने अवस्था हो। यो कसरी रोकिन्छ? यो प्राकृतिक हो; केही बेरका लागि देखा पर्छ, अनि गइहाल्छ। जसले यो जान्दैन, ऊ सुखको नोकर हो। र यो दासता, यो बन्धन, यो जीवनभरको पीडायही परम दुःख हो। जसलाई तपाईंले सुख सम्झनुभएको थियो, त्यही दुःख हो, त्यही बन्धन हो। जसलाई तपाईंले मोजमस्ती सम्झनुभएको थियो, त्यो त गुलामी हो। यस बन्धनको कारण के हो? अज्ञानता। "थाहा नहुनु।" यो के हो?सुख-दुःखको यस मानसिक खेलको अज्ञानताले मान्छेलाई जनावरभन्दा पनि तल खसालेर राख्छ। मान्छेलाई मान्छे भन्न गाह्रो भइसकेको छ, किनकि उसको मनमा यति धेरै अज्ञानता भरिएको छ। एक साधारण मान्छेले त भन्नेछ, "जीवन भनेकै यही हो। जीवनमा सुख-दुःख भएन भने के हुन्छ त? यो त अज्ञानताको बोली हो। अज्ञानता बोलिरहेको छ। उसलाई अरू केही थाहा छैन, के नै होला र? जब तपाईं गहिरो निद्रामा हुनुहुन्छ, तब के हुन्छ? त्यहाँ न कुनै चाहना हुन्छन्, न सुख, न दुःख। त्यहाँ के हुन्छ त? जब गहिरो निद्राबाट ब्युँझनुहुन्छ, तब एउटा आनन्दको अवस्थामा उठ्नुहुन्छ; एउटा सानो बच्चा जस्तै। दुई मिनेटपछि नै चाहनाहरूले आक्रमण गर्न थाल्छन् र मान्छे फेरि दौडन्छ। "सुख चाहियो, अब सुख चाहियो, मलाई सुख चाहियो।" ऊ दौडिरहन्छ, जबसम्म थाकेर फेरि सुत्दैन। अनि निद्रामा सुख र दुःख दुवै हराउँछन्। जहाँ सुख र दुःख दुवैको अभाव हुन्छ, त्यसैलाई हामी 'आनन्द' भन्छौं। जब सुख-दुःख हुँदैन, त्यो अवस्था नै आनन्द हो, जुन हरेक व्यक्तिले निद्रामा अनुभव गर्छ। तर उसको अज्ञानताले भन्छ "निद्रा त दिक्कलाग्दो हो। निद्रा कुनै कामको होइन। यसले न कुनै सुख दिन्छ, न निद्रामा कुनै चाहना पूरा हुन्छ। जति कम सुत्यो, उति राम्रो। सुखको पछि जति भाग्यो, मेरो लागि उति नै राम्रो।" जब उनीहरू योगीलाई ध्यानमा मग्न देख्छन्, समाधिमा लीन देख्छन्, तब भन्छन् "यसले समय बर्बाद गरिरहेको छ। केही काम गर, केही मिल्ला। धन-सम्पत्ति कमाऊ, छोराछोरी जन्माऊ। अलिकती सुख चाख के हो? मूर्ति बनेर बसेछौ।" यस्तो अज्ञानीलाई के थाहा कि त्यो योगी परम आनन्दमा छ। यो आनन्द मनले बनाएको होइन। यो आनन्द मनको कुनै तरंग होइन। जब मनका तरंगहरू शान्त हुन्छन्, तब आनन्द देखा पर्छ। आनन्द मेरो स्वभाव हो। यो वस्तु, व्यक्ति वा घटनामा भर पर्दैन, त्यसैले आनन्द स्थायी छ, कतै जाँदैन। आनन्द हराए जस्तो किन लाग्छ त? किनकि मनमा अनेक विचार र चाहनाहरू उठ्छन्; तिनीहरूले नाच्न थाल्छन्। त्यसले गर्दा आनन्द छोपिन्छ। सुख-दुःखको यो दौडधुप र मनको चञ्चलताले गर्दा आनन्द हराएको जस्तो लाग्छ, तर त्यो कतै जाँदैन। म कहाँ जानु र? सबै छुट्न सक्छ, तर 'म' छुट्न सक्दिनँ। आनन्द कसैमा निर्भर छैन, त्यसैले यो स्वतन्त्र छ, खुला छ। यसलाई कसैले बिगार्न सक्दैन। यस्तो लाग्छ कि सुख र दुःखले यसलाई फोहोर बनाइदिए। तर जब सुख र दुःख जान्छन्, तब त्यही कञ्चन आनन्द देखा पर्छ। जस्तै धमिलो पानीलाई एक ठाउँमा राखिदियो भने माटो थिग्रिन्छ र सफा पानी माथि आउँछ। त्यसैगरी, शान्त मन आफैं आनन्दको अवस्थामा पुग्छ। यो धेरै स्वभाविक कुरा हो। यो केही गर्नाले, उही गर्नाले, यो पाउनाले वा त्यो पाउनाले हुँदैन। यो त त्याग्नाले हुन्छ, सन्तुष्टिले हुन्छ, किनकि आनन्द निर्मल छ। केही गरेर यो मिल्दैन। यो त 'अकर्म' हो। कर्म गरेर आनन्द पाइँदैन। कर्महरूले त आनन्दलाई छोपिदिन्छन्। काममा, मनका विचारहरूमा, सुख-दुःखको लोभमा, डरमायस्तो हिलोमा त्यो पानी धमिलो देखिन्छ। जब यी सबै हलचल बन्द हुन्छन्, तब जो बाँकी रहन्छ, त्यो आनन्द हो। यही 'म' हुँ। जब मनमा विचारहरू चल्छन्, तब पनि आनन्द त हुन्छ नै। म कतै जाँदिनँ। म त ती विचारहरूलाई हेर्छु। म दुःखलाई पनि महसुस गर्छु, सुखलाई पनि महसुस गर्छु। म यो शरीर र मन रूपी यन्त्रको गतिविधिलाई पनि अनुभव गर्छु। म कहाँ जानु? म देख्न सक्छु, यो यन्त्र चलिरहेको छ। त्यसमा प्रक्रियाहरू चलिरहेका छन्। म आफ्नो सर्वोच्च अवस्थामा बसेर साक्षी बन्न सक्छु र यो सर्वोच्च अवस्था नै आनन्द हो। केही गर्नु आवश्यक छैन। आनन्द पाउनका लागि तपाईंले जे-जे गरिरहनुभएको छ, त्यसलाई त्याग्नु नै आवश्यक छ। तपाईं भन्नुहोला "यदि म केही गर्दिनँ भने त बाँच्ने कसरी?" बाँच्नुहोस् न, सुख आफैं मिल्नेछ। जीवन धान्नका लागि जे आवश्यक छ, त्यो गर्दै जानुहोस्। सुख प्राकृतिक हो, प्रकृतिले दिएको कोसेली हो, इनाम हो; त्यो त पाइन्छ नै। हामीलाई थाहा छ, बाँच्नका लागि खानु जरुरी छ। अब अलिकति खाइदिनुहोस्; त्यसबाट जुन सुख मिल्छ, त्यसलाई प्रसाद सम्झेर स्वीकार्नुहोस्। जुनसुकै घटना होस्, जसले सुख दिन्छ, त्यसलाई प्रकृतिको कोसेली सम्झेर लिनुहोस्। त्यसको पछि दौडनु के खाँचो छ र? त्यसलाई जीवनको लक्ष्य बनाउन के जरुरी छ? जीवन आफैंमा एउटा लक्ष्य हो। जीवनको अनुभव आफैंमा धेरै ठूलो छ। त्यसमा सुख-दुःखको चक्कर किन मिसाउने? रहरहरू त आउँछन्; जति पूरा हुन्छन्, भइहाले। बाँकी गए फोहोरको थुप्रोमा। मेरा कहा हुन् र; रहरहरू मेरा होइनन्। मैले यहाँ रहर पूरा गर्ने ठेक्का लिएको छैन। जीवनका लागि जति आवश्यक छ, म त्यसलाई पूरा गर्ने भरमग्दुर प्रयास गर्नेछु। बाँकी जहाँसुकै जाओस्। पूरा भए सुख आउला। केही छैन, आइहाल्छ। भएनन् भने दुःख आउला। केही छैन, त्यो पनि जान्छ। मेरो स्वभाव आनन्द हो। यो मेरो मनको लहर होइन। जे आवश्यक छ, त्यति भए पुग्छ, धेरै हो। त्यसबाट जति सुख मिल्छ, त्यति नै काफी छ। सबैले देखेको हुनुपर्छ कि यो चेत ६०, ७०, ८० वर्षको उमेरसम्म आफैं आउँछ, किनकि तबसम्म मान्छेले सबै हन्डर खाइसकेको हुन्छ। तबसम्म उसले सबै गल्तीहरू गरिसकेको हुन्छ। तर अब त धेरै ढिलो भइसक्यो। जीवन त बितिसक्यो। जुन जीवनको अनुभवका लागि तपाईंले जन्म लिनुभएको थियो, त्यो त घाँसको पछि दौडँदा-दौडँदै बित्यो। केही छैन, अहिले पनि चेत खुलेको छ। आनन्द त सधैं रहन्छ, त्यो कतै जाँदैन। अब त कुरा बुझियो। अब त आनन्दको शरणमा आउनुहोस्। अब त बुद्धि पलायो, अब त आनन्द आउँछ नै। आनन्द कहाँ जान्छ र? सायद यो जीवन हामीलाई यही सिकाउनका लागि हो, यही ज्ञान दिनका लागि हो। 'यही कञ्चन आनन्द म हुँ' भनेर सिकाउनका लागि हो। हो, मान्छे धेरै सुस्तरी हिँड्छ। बुद्धि धेरै ढिलो छ। धेरै वर्ष लाग्छन्। कयौं जन्म लाग्छन्, तर सिक्छ। यदि सुख-दुःखको स्वभाव नहुने हो भने जीवन पनि हुनेछैन। यो एउटा बहुमूल्य र कामलाग्दो साधन होमन। तर म 'मन' होइन, यसका विचारहरू म होइन, यसले बनाएका अनुभवहरू म होइन, मेरा होइनन्। यो यन्त्रले नै हामीलाई सिकाउँछ। यो सुख-दुःखको स्वचालित स्वभावभन्दा पर जुन आनन्द छ, म त्यही चेतना हुँ। यहाँ म बिदा चाहन्छु। सुन्दै गर्नुहोला। बोधिवार्ता: मायाको शृङ्खला। धन्यवाद।***
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions