Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - ५ : वाक्शुद्धि (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** "बोधिवार्तामा यहाँहरू सबैलाई स्वागत छ। अंतर्शुद्धि को यस शृङ्खलामा अब हामी वाक् शुद्धि अर्थात् वाणीको शुद्धिको विषयमा प्रवेश गरेका छौँ। वाक् शुद्धिको अर्थ, यहाँलाई ज्ञान भएकै कुरा हो हामी जे भन्दछौँ, जे बोल्छौँ र हाम्रा जे-जति वचनहरू छन्, तिनकै शुद्धिसँग यो सम्बन्धित छ। वाक् शुद्धि किन आवश्यक छ त? किनभने मानिसले जस्तो बोल्दछ, उसका कर्महरू पनि त्यस्तै हुने गर्दछन् र उसले जस्तो चिन्तन गर्दछ, उसका विचारहरू जस्ता हुन्छन्, वचन पनि ठ्याक्कै त्यस्तै प्रकट हुन्छन्। किनकि चित्तको प्रत्येक क्रिया र प्रक्रिया एक-अर्कासँग अन्तर्सम्बन्धित छन् र एक-अर्कामाथि नै आश्रित छन्। तसर्थ, विचारको अशुद्धिका कारण वचनहरू अशुद्ध भएका छन् र आचरणको अशुद्धिका कारण पनि वाणी अशुद्ध एवं मलिन हुन पुगेका छन्। यदि यहाँले आफ्ना वचनहरूलाई शुद्ध गर्न आरम्भ गर्नुभयो भने, विचार र आचरणसँग यिनको प्रत्यक्ष सम्पर्क हुने भएकाले ती पनि स्वतः शुद्ध हुन थाल्नेछन्। त्यसैले यो एउटा अत्यन्त शक्तिशाली उपाय हो। केवल बोल्ने शैली बदल्दा कसरी आचरण र विचारहरू परिवर्तन हुन्छन्, यो एउटा चमत्कार जस्तै लाग्न सक्छ। धेरै मानिसलाई यसमा विश्वास नहुन पनि सक्छ। त्यसैले मेरो यो अनुरॊध छ कि यहाँले वाक् शुद्धिको यो प्रयोग स्वयं गरेर हेर्नुहोस्; र यदि यहाँ आध्यात्मिक मार्गमा हुनुहुन्छ भने यो त यहाँले गर्नैपर्दछ। यसबाट यहाँ कुनै पनि हालतमा उम्कन सक्नुहुन्न।" "चाहे तपाइको बाह्य वातावरण अत्यन्तै स्वच्छ र झिलिमिली किन नहोस्, चाहे तपाइँको शरीर सुगन्धित, सफा र सुन्दर नै किन नबनोस् र यहाँको आचरण पनि ठीकठाक वा नैतिक नै किन नदेखियोस्। तर जब यहाँले बोल्न आरम्भ गर्नुहुन्छ, र यदि ती वचनहरू कागका झैँ कर्कश छन्, मिथ्या छन्, अश्लील छन्, हिंसक र तिता छन् भने यसको स्पष्ट अर्थ हो कि यहाँ वास्तविक अंतर्शुद्धि भएको छैन। यी वचनहरू आखिर कहाँबाट आइरहेका छन् त? स्पष्ट छ, यी यहाँको अन्तस्करणबाटै प्रवाह भइरहेका छन्। यसको अर्थ ती वचनका बीजहरू अझै पनि अशुद्ध छन् र तिनको मूल अझै पनि भ्रष्ट नै छ। कुनै व्यक्ति कस्तो स्वभाव र चरित्रको छ भन्ने कुरा उसको वाणी सुनेरै सहजै बताउन सकिन्छ। व्यक्तिले आफ्नो घर सुन्दर बनाउन सक्छ, उसले आफूलाई सुन्दर ढङ्गले सजाउन सक्छ वा कुनै समृद्ध देश र प्रान्तको सुन्दर प्राकृतिक काखमा बस्न सक्छ। बाह्य प्रदर्शन र देखावटी त सम्भव छ, यहाँसम्म कि असल आचरणको अभिनय गर्न पनि सकिन्छ। पाँच-दश मिनेटसम्म त मानिसहरूले कृत्रिम आचरणको प्रदर्शन गरिहाल्छन्; यसै पनी प्रारम्भमा त प्रायः सबैले यस्तो मिथ्या आचरण देखाउने गर्दछन्। तर जब व्यक्तिले मुख खोल्छ र बोल्न आरम्भ गर्दछ, उसको अन्तर्मनमा वास्तवमा के छ, त्यो स्वतः बाहिर प्रकट हुन थाल्दछ। यहाँले एउटा प्रयोग गर्न सक्नुहुन्छ कसैलाई दश मिनेटसम्म निर्वाध रूपमा बोल्न दिनुहोस्, बीचमा कुनै रोकटोक नगरी। बिस्तारै-बिस्तारै बोल्दै जाँदा उसको भित्री वास्तविकता आफैँ बाहिर आउन थाल्दछ र यदि भित्र कुनै फोहोर वा विकार छ भने, त्यो उसका वचनहरूमा प्रस्टै झल्कन थाल्दछ। वास्तवमा हाम्रा वचनहरूले हाम्रै अन्तर्निहित मलिनतालाई संसारको सामुन्ने उजागर गरिदिन्छन्।" "त्यसोभए यहाँले प्रश्न गर्नुहोला यदि अन्तर्मनमा मलिनता छ भने केवल बोल्ने शैली परिवर्तन गरेर त्यो कसरी सफा हुन सक्छ? त्यसैले म भन्दछु प्रयोग गरेर हेर्नुहोस्, यो एउटा चमत्कार हो। चित्तका समस्त प्रक्रियाहरू एक-अर्कासँग अन्तर्सम्बन्धित छन्। यो एउटा टेबल जस्तै हो, जसको एउटा खुट्टा तान्दा बाँकी तीनवटा खुट्टाहरू पनि स्वतः तानिएर आउँछन्, किनभने ती सबै आपसमा जोडिएका छन्। त्यसैले यस्तो नसोच्नुहोस् कि केवल बाहिरबाट बोल्दैमा, बोलेको कुरा परिवर्तन गर्दा भित्र के प्रभाव पर्ला र? यो कुन वैज्ञानिक तथ्य हो, यो त अन्धविश्वास हो' भन्ने कुरा मनमा नल्याउनुहोस्। केवल प्रयोग गरेर हेर्नुहोस्। अनि यदि यसको प्रभाव देखिएन भने आफ्ना गुरु लाइ सोध्नुहोस् कि 'अरु त ठीक छ तर मेरा वचनहरू ठीक भइरहेका छैनन्, म के गरूँ?' यस्तो सुनेर गुरु पनि हाँस्नुहुनेछ, किनकि यस्तो सम्भव नै छैन। यहाँ स्वयम्ले पनि यति त बुझ्न सक्नुहुन्छ। त्यसैले यदि वाणी परिष्कृत हुन थाल्यो भने बाँकी सबै कुरा बिस्तारै ठीक हुन थाल्नेछन्। अतः यदि यहाँ चाहनुहुन्छ भने अंतर्शुद्धि को यो पावन यात्रा वाक् शुद्धिबाट आरम्भ गर्न सक्नुहुन्छ। त्यसमा कुनै खराबी छैन। आखिर सबै प्रकारका अशुद्धिहरूलाई निर्मल र शुद्ध तुल्याउनु नै हाम्रो परम लक्ष्य हो।" "हाम्रा वचनहरू किन अशुद्ध भएका छन् त? जस्तो कि मैले भनेँ, यहाँका विचारहरू अशुद्ध छन्, यहाँको व्यवहार अशुद्ध छ र समाजको यस हिलोमा बस्दा-बस्दै हामीले उनीहरूकै शैली अपनाएका छौँ। मानिसहरू जस्ता छन्, हामीले उनीहरूकै नक्कल गरेका छौँ। किनभने जब हामी साना हुन्छौँ, तब के सही वचन हो र के सही विचार हो भन्ने कुराको बोध हुँदैन, त्यति प्रज्ञा हुँदैन। बाह्य जगतका मानिसहरूले जे सिकाउँछन् र हामी जे देख्छौँ, त्यसैलाई नै हामीले अपनाएका छौँ। धेरै मानिसहरू जब बोल्न आरम्भ गर्दछन्, उनीहरूलाई यति पनि हेक्का हुँदैन, उनीहरूमा त्यति चेतना नै हुँदैन कि उनीहरू के बोलिरहेका छन्। त्यो सही छ वा गलत, असल छ वा खराब उनीहरू केवल बोलिदिन्छन्। अनि जे बोल्छन्, त्यही गर्छन् र त्यस्तै नै हुन जान्छ। बोल्नाले त्यस प्रकारका विचारहरू अझ बढी शक्तिशाली बन्दछन्। एक पटक मैले केही बोलेँ भने अब म त्यो विचारलाई छाड्दिनँ यो मानिसको प्रकृति हो, यो अहङ्कारको स्वभाव र वृत्ति हो। यदि म केही शुभ वा असल बोलिदिन्छु भने त्यसले विचारहरू परिवर्तन हुन्छन् र त्यसको गहिरो प्रभाव पर्दछ। यो चित्त त एउटा यन्त्र जस्तै हो यता बटन दबायो भने उता चक्का घुम्न थाल्छ। तसर्थ, यस समाजमा बस्दा-बस्दै हाम्रा वचनहरू पनि कटु भएका छन्, तीक्त र हिंसक भएका छन्, क्रोध र ईर्ष्याले भरिएका छन् वा मानिसहरू अत्यधिक बोल्ने भएका छन्। उल्टो-पाल्टो त बोल्छन् नै, तर असाध्यै धेरै बोल्छन्। मानिसहरू मौन बस्नै सक्दैनन्। "यहाँले देख्नुभएकै होला, कसैलाई पाँच मिनेट मात्र पनि मौन बस्न भनियो भने उनीहरूका लागि त्यो निकै कष्टकर र भारी कार्य बन्न पुग्दछ। यसका अतिरिक्त हाम्रो जुन मानसिक वातावरण छ, आजको मनोरञ्जनको स्तर र मानिसहरूले अध्ययन गर्ने पुस्तकहरूको प्रभावले गर्दा हाम्रो भाषा अश्लील र असभ्य बन्न पुगेको छ। अनि वाक् शुद्धिको मार्गमा सबैभन्दा ठुलो समस्या त यो हो कि यहाँ प्रत्येक व्यक्ति असत्य बोल्दछ। आजभोलि झुट बोल्नु त मानिसको चरित्र नै बनिसकेको छ। यस जगतमा असत्यको सहारा नलिने व्यक्ति भेट्न मुस्किल छ। यो एउटा अत्यन्त गम्भीर र बृहत् विषय हो। यहाँले यस शृङ्खलालाई हेरेरै अनुमान लगाउन सक्नुहुन्छ कि कति महान् कार्य यहाँको सम्मुख छ। वाक् शुद्धि कुनै सानोतिनो विषय होइन। यदि हाम्रो मनमा कसैप्रति घृणा, द्वेष, अपमानको भाव, क्रोध वा ईर्ष्या छ भने हाम्रा वचनहरू स्वतः कटु र तिक्त हुन पुग्दछन्। कतिपयले त भन्नुहोला 'मैले त कसैलाई केही नराम्रो भनिनँ, उसले जतिसुकै खराब गरे पनि म त चुपचाप बसेँ', तर यहाँले देख्नुहुनेछ, यस्तो व्यक्तिले प्रायः अर्काको अनुपस्थितिमा कुरा काट्ने काम गर्दछन। वास्तवमा यो त झन् ठुलो अशुद्धि हो। सामुन्ने बोल्ने साहस नभएकाले नै उसले पछाडि बसेर विष वमन गर्दछ। अन्तर्मनको अशुद्धि त कतै न कतैबाट अवश्य प्रस्फुटित हुन्छ। मनभित्र लुकेको फोहोर कतिन्जेल थुनिएर रहला र? त्यो त कुनै न कुनै रूपमा बाहिर निस्केरै छाड्छ। कतिपय मानिसहरू सधै रीसमा रहन्छन् र सधैँ हिंसक कुराहरू मात्र गरिरहन्छन्। किनकि यदि यहाँको आचरणमा हिंसा छ भने, त्यो वाणीमा पनि अवश्य प्रतिविम्बित हुन्छ। यदि यहाँले आजको टेलिभिजन वा समाचारहरू हेर्नुभयो भने, ती सबै यस्तै प्रकारका निकृष्ट र निम्नस्तरका वाणीले भरिएका हुन्छन्। सबैतिर केवल नकारात्मक कुराहरू मात्र सुन्न पाइन्छ 'यसले यसो गर्यो, उसले त्यसो गर्यो, यो देश यस्तो छ, त्यो समाज त्यस्तो छ।' फेरि यहाँको छिमेकी भेटिन्छ, उसले पनि त्यही व्यर्थको बखान सुरु गर्दछ 'मेरो घरमा यस्तो हुन्छ, उस्तो हुन्छ।' यो यस्तो देखिन्छ कि मानौँ यो समाजले तपाईलाई एउटा 'फोहर को टोकरी' बनाएको छ र संसारका सबै विकारहरू यहाँभित्र खन्याउने दुष्प्रयास भइरहेको छ। सम्पूर्ण नकारात्मक ऊर्जा यहाँभित्र सञ्चार गरिँदैछ र त्यसको एक मात्र माध्यम 'वचन' हो। श्रवणद्वारबाट यी सबै कुरा यहाँको अन्तस्करणमा प्रवेश गरिरहेका छन्। के यहाँले कहिल्यै सोच्नुभएको छ, यसको यहाँको मन र शरीरमा कस्तो घातक प्रभाव परिरहेको होला? यहाँको वरिपरि मधुर बोल्ने, सुसंस्कृत बोल्ने वा शालीनताका साथ प्रस्तुत हुने कतिजना मानिसहरू छन् त? सम्भवतः एकजना पनि छैनन्। सबैले असभ्य र अश्लील भाषाको प्रयोग गर्दछन् र यदि कोही शिष्टता एवं सभ्यतापूर्वक प्रस्तुत भयो भने, उनीहरूले 'यसले त पण्डितले झैँ भाषा बोलिरहेको छ' भन्दै यहाँको उपहास गर्न थाल्दछन्। "किन त? किनभने आजभोलि मानिसहरूले अश्लीलता र उच्छृङ्खलतालाई नै आफ्नो आधुनिक सभ्यता मानिसकेका छन्। कतिपयले पश्चिमी देशहरूको अन्ध अनुकरण गरिरहेका छन्, किनकि त्यहाँका साहित्य, चलचित्र र मनोरञ्जनका विधा एवं साधनहरू अश्लीलता र असभ्य भाषाले ओतप्रोत छन्। यहाँलाई बोध भएकै कुरा हो यो इन्टरनेट र यी आधुनिक माध्यमहरू निकै दूषित भाषाले भरिएका छन्। यहाँको सम्पूर्ण वातावरण नै यस्तै सस्तो र नीच स्तरको भाषाले व्याप्त छ। तसर्थ, यस्ता मानिसहरूको सामुन्ने यदि कोही शिष्ट वा सभ्य व्यक्ति आइपुग्यो भने उनीहरूलाई त्यो सहन हुँदैन। उनीहरूको अन्तर्मनमा एउटा ग्लानि र अपराधबोध जाग्न थाल्दछ कि 'अरे, यसले त मभन्दा उत्कृष्ट बोलिरहेको छ र यसको अगाडि म नीच साबित भइरहेको छु।' त्यसपछि उनीहरूको 'अहम्' ले तुरुन्तै प्रतिक्रिया वा प्रत्याघात गर्न थाल्दछ। उनीहरू यहाँको सामुन्ने केही न केही अपमानजनक शब्दहरू प्रहार गर्नेछन्। यहाँको वाक् शुद्धि परिष्कृत हुन सक्छ, तर उनीहरूको छैन; त्यसैले उनीहरू यहाँलाई पनि आफ्नै असभ्यताको दलदलमा घिसार्ने प्रयत्न गर्नेछन्। यसैकारण, वाक् शुद्धिका लागि सम्बन्धहरूको शुद्धि हुनु पनि नितान्त अपरिहार्य छ। यहाँ कस्तो वातावरणमा रहनुहुन्छ र कस्ता मानिसहरूको सङ्गतमा बस्नुहुन्छ, यहाँको भाषा र अभिव्यक्ति पनि ठ्याक्कै त्यस्तै हुन जान्छ। यहाँले सोच्नुहोला 'सबैले जे बोल्छन्, मैले पनि त्यही त बोलेको हुँ, यसबाट के नै हानि हुन्छ र? कसैलाई केही नोक्सान त भएको छैन।' विचार गर्नुहोस्, यदि यहाँ आध्यात्मिक मार्गमा हुनुहुन्छ भने यसको गम्भीर नोक्सानीका बारेमा यहाँलाई ज्ञान हुनेछ, अन्यथा हुनेछैन।" यदि यहाँमा संवेदनशीलता नामको कुनै तत्त्व बाँकी छैन र यहाँको हृदय कठोर छ भने जेसुकै बोले तापनि त्यसले यहाँलाई खासै प्रभाव पार्नेछैन। तर यदि यहाँको संवेदनशीलता बढेको छ भने एउटा सानो वचनले पनि यहाँको अन्तर्मनमा गहिरो चोट पुर्याउँछ। यो यहाँको आफ्नै स्वानुभूति हो। वाणीको सामान्य तीिक्तता वा कडापनले पनि यहाँको सम्पूर्ण दिन नष्ट गरिदिन सक्छ। यदि वचनमा हिंसा छ भने, त्यसले एउटा दिन मात्र होइन, बरु सारा जीवन नै बर्बाद गरिदिन्छ। कसैलाई कुनै हिंसक कुरा बोलेर हेर्नुहोस्, त्यसको दुष्-संस्कार र छाप यहाँको मानसपटलमा जीवनभर अङ्कित भइरहनेछ। वचन कुनै सामान्य कुरा होइन। मनुष्यलाई भाषा र वाचनको यो अत्यन्तै दुर्लभ सिद्धि प्राप्त भएको छ। सृष्टिमा अन्य कुनै पनि प्राणीसँग यो वाक्-शक्ति छैन, जुन मनुष्यसँग छ। तर हेर्नुहोस् त, मनुष्यले यो शक्तिको कस्तो दुर्दशा तुल्याएको छ! हामी आफ्नो वाणीको कति धेरै दुरुपयोग गरिरहेका छौँ। जो व्यक्ति संवेदनशील छन्, उनीहरूले यो कुरा अवश्य बुझ्नेछन् कि प्रत्येक शब्द यहाँको स्मृतिमा गहिरो गरी छापिरहेको छ। यस कुराको विशेष ध्यान राख्नुहोस् र आफ्नो चेतनाको प्रयोग गर्नुहोस्। यहाँले जे सुन्नुहुन्छ र जे बोल्नुहुन्छ, त्यसको यहाँको चित्तमा कस्तो प्रभाव पर्दछ भन्ने कुरा यहाँ आफैँले देख्नुहुनेछ। "अरु मानिसहरूले जे बोल्दछन्, त्यसको प्रभाव त पर्दछ नै। तर यहाँको चित्तमा पर्ने सबैभन्दा ठुलो प्रभाव अरुको होइन, बरु स्वयं यहाँकै वाणीको पर्दछ; तर यस कुरामा मानिसहरूले प्रायः ध्यान दिँदैनन्। अरुले के बोल्छन् वा के बोल्दैनन् भन्ने त सबैले देख्छन्, तर म स्वयं के बोल्दैछु भन्ने कुरामा पनि गम्भीरताका साथ ध्यान दिनुहोस्। यो प्रभाव कस्तो हुन्छ भनेर जान्न निकै सरल छ। यदि यहाँ कसैको साथमा बस्नुभएको छ र उसले यहाँलाई केही कटु वचन वा निन्दा गर्यो भने, हेर्नुहोस् यहाँमा त्यसको कस्तो असर पर्दछ! ठ्याक्कै त्यस्तै प्रभाव यहाँले पनि अरूमाथि पार्नुहुन्छ। जब यहाँका वचनहरू हिंसा, क्रोध र ईर्ष्याले भरिएका हुन्छन्, तब यहाँको सम्पूर्ण वातावरणमा त्यसको विषालु प्रभाव फैलिन थाल्दछ। परिणामस्वरूप, त्यस्तै प्रकृतिका मानिसहरू मात्र यहाँतर्फ आकर्षित हुनेछन्। त्यसपछि सज्जन र सुसंस्कृत मानिसहरू यहाँलाई परित्याग गरेर जानेछन्; । तर जो संवेदनहीन छन् र यहाँभन्दा पनि बढी कटु, अश्लील एवं असभ्य बोल्न अभ्यस्त छन्, उनीहरू मात्र यहाँको साथमा रहनेछन्। उनीहरूले यहाँलाई आफ्नै सम्झनेछन् कि 'यो त मेरै स्तरको मानिस हो'। यसरी यहाँ एउटा यस्तो दलदलमा फस्नुहुनेछ, जहाँबाट निस्कन निकै कठिन हुनेछ। किनकि यहाँ स्वयं त्यस्तै हुनुहुन्छ, त्यसैले यो दुर्गम स्थितिलाई परिवर्तन गर्नका लागि यहाँ स्वयं बदलिनु अनिवार्य छ। यहाँले आफ्नै वाक् शुद्धि आरम्भ गर्नुपर्नेछ कतिपय मानिसहरू अत्यन्त धेरै बोल्दछन्। यदि कुनै ठोस प्रयोजन नभए तापनि उनीहरू बोल्न आरम्भ गरिहाल्छन्। विना कुनै कारण पनि उनीहरू निरन्तर बोलिरहन्छन्। यस्तो किन हुन्छ त? यहाँले बुझ्न सक्नुहुन्छ, यसका केही निश्चित कारणहरू छन्। प्रथम त, २४ घण्टामध्ये १६ घण्टासम्म हाम्रा कानमा केही न केही वचनहरू निरन्तर परिरहन्छन् र चित्तको यो स्वाभाविक प्रवृत्ति हो कि जे कुरा भित्र प्रवेश गर्दछ, त्यही नै बाहिर प्रस्फुटित हुन्छ। यदि यहाँको १६ घण्टा केवल अरूका कुरा सुन्दैमा व्यतीत भइरहेको छ भने, त्यसको एउटा ठुलो हिस्सा कुरा गर्नमै खर्च हुनेछ। अन्ततः बाहिर त्यही नै आउनेछ। वास्तवमा जुन संस्कार भित्र छ, त्यही नै आचरण बनेर प्रकट हुन्छ। यसलाई हामी ध्वनि प्रदूषण भन्न सक्छौँ, जसको अर्थ हो अत्यन्त धेरै बोल्ने मानिसहरू २४सै घण्टा यहाँको वरिपरि छन्। यहाँलाई एउटा यस्तो क्षण पनि प्राप्त हुँदैन जहाँ पूर्ण शान्ति होस्। यहाँ शान्तिको अर्थ हो जहाँ कुनै पनि प्रकारको वार्तालाप वा शब्दको झङ्कार नहोस्। यहाँ कतै एकान्तमा एक्लै बस्नुभएको होस् यस्तो समय त यहाँलाई दिनभरिमा पाँच मिनेट पनि प्राप्त हुँदैन। त्यसैको दुष्परिणाम स्वरूप यहाँको मुख स्वतः चल्न थाल्दछ। त्यसमा यहाँको कुनै नियन्त्रण रहन सक्दैन, किनकि यहाँको वातावरण नै त्यस्तै छ। "यता टेलिभिजन चलिरहेको छ, उता समाचारपत्रको वाचन भइरहेको छ र पृष्ठभूमिमा आफन्तजनका निरर्थक प्रलापहरू चलिरहेका छन्। अझ विडम्बना त यो छ कि यहाँको मनमा पनि २४सै घण्टा त्यही अनर्गल र अर्थहीन वार्तालाप चलिरहेको छ। यस्तो कोलाहलपूर्ण स्थितिमा कुनै व्यक्ति कसरी मौन रहन सक्दछ? जब कसैको मन नै पूर्णतः अशान्त छ भने ऊ व्यक्ति बाहिर कसरी शान्त रहन सक्छ र? वास्तवमा, त्यही आन्तरिक अशान्ति नै अत्यधिक वार्तालाप वा वाचालताको रूपमा बाहिर प्रकट हुन्छ। यो आजको समयमा यति ठुलो मानसिक रोग बनिसकेको छ कि कुनै सामान्य व्यक्तिलाई १० मिनेट मात्र मौन बस्न भनियो भने पनि ऊ स्थिर भएर बस्न सक्दैन। मानिसहरूलाई त निकै बलपूर्वक मौन गराउनुपर्ने परिस्थिति सिर्जना भएको छ। यहाँ जुनसुकै सार्वजनिक सभा वा बैठकमा जानुहोस्, मानिसहरू दुई मिनेट पनि शान्त भएर बस्न सक्दैनन्। विना कुनै कारण र प्रयोजन उनीहरूका अर्थहीन वचनहरू निरन्तर प्रवाह भइरहन्छन्। यसको मूल कारण यही हो कि आधुनिक मानिसहरूले शान्तिमा रहन नै बिर्सिसकेका छन्। हाम्रो सभ्यता र जीवनशैली नै यस्तो भइसकेको छ। यो कालखण्ड नै यस्तो भएको छ कि २४सै घण्टा जहाँतहीँ कोलाहल र होहल्ला मात्र व्याप्त छ। मानिसहरू निरन्तर बोलिरहन्छन् र सुनिरहन्छन्; जीवनबाट मौनको त कतै नामोनिसान नै छैन। "अब यो त एउटा गम्भीर समस्या हो, तर यसभन्दा पनि अझ ठुलो र जटिल समस्या जुन मनुष्यको सामुन्ने विद्यमान छ, त्यो हो झुट बोल्नु। झुट वा असत्य कति हिंसक र कति हानिकारक क्रिया हो, अनि यो कर्म कति नीच र निकृष्ट छ भन्ने कुरा यहाँले सपना पनि कल्पना गर्न सक्नुहुन्न। धेरै मानिसहरूलाई त यसको सामान्य आभास समेत छैन, किनभने असत्य आज उनीहरूको जीवनको एउटा सहज अङ्ग बनिसकेको छ; झुट उनीहरूको जीवनको एउटा अभिन्न अङ्ग भएको छ। बिहानदेखि साझासम्म व्यक्तिले केवल असत्य मात्र बोलीरहन्छ। यहाँ कुनै पसलमा जानुहोस्, त्यहाँ व्यापारीको एक मात्र लक्ष्य यही हुन्छ कि कसरी हुन्छ यो ग्राहकलाई केही न केही वस्तु खरिद गर्न बाध्य पारूँ। उसले महँगोभन्दा महँगो वस्तु पनि केवल असत्य बोलेरै बिक्री गर्ने प्रयत्न गर्दछ। कार्यालयमा सहकर्मीहरू सबैले केही न केही झुट बोलिरहेका हुन्छन्। यदि सोध्यो 'यो कार्य कहिलेसम्म सकिन्छ होला?' भन्छन् , भोलि निश्चित रूपमा हुन्छ ।' उनीहरूलाई झुटो बोल्नुअघि रत्तिभर पनि संकोच वा पश्चात्ताप हुँदैन। यदि यहाँले कुनै प्राविधिक वा मिस्त्री लाई बोलाउनुभयो र सोध्नुभयो 'कति खेर आउनुहुन्छ?' उसले निकै सहजताका साथ भन्छ 'बस, भोलि बिहानै आउछु।' तर हामी सबैलाई थाहा छ, त्यो भोलि कहिल्यै आउँदैन। "यो झुट मानिसहरूको व्यवहारमा यसरी घुलमिल भइसकेको छ कि यहाँका ठुला-ठुला राजनीतिज्ञहरू केवल झुटको सहाराले प्रधानमन्त्री, मुख्यमन्त्री, राष्ट्रपति र नजाने अरू के-के बनेका छन्। यहाँको सम्पूर्ण मनोरञ्जन मिथ्या हो, एउटा नाटक मात्र हो; र विडम्बना त यो छ कि त्यही झुटबाटै यहाँले आनन्द प्राप्त गर्नुहुन्छ। पुस्तक र कथाहरू झुट हुन् र यहाँका परिवारका सदस्यहरू पनि असत्य नै बोल्दछन्। यहाँका आफ्नै माता-पिता असत्य बोल्दछन् र झुट बोल्न सिकाउँछन् पनि तपाइको कलिलो मनमा झुटको बीजारोपण गर्दछन्। जब कुनै व्यक्ति रोजगारीको खोजीमा जान्छ, तब उसले अन्तर्वार्तामा झुटमाथि झुटको खेती गरेर आउँछ 'मैले यो काम गरेँ, त्यो काम गरेँ' भन्दै असत्यको ओइरो लगाउँछ र मिथ्या आवेदनहरू प्रस्तुत गर्दछ। मानिसहरूले इन्टरनेटमा आफ्ना कृत्रिम नाम र परिचयहरू राखेका छन्। इन्टरनेटको प्रत्येक कुनामा असत्य मात्र फेला पर्दछ। यहाँसम्म कि यहाँका समाचारहरू पनि झुटले व्याप्त छन्। यहाँलाई जताततैबाट असत्य नै पिलाइँदैछ र असत्य नै खुवाइँदैछ। 'यो खानुहोस्, यसले स्वास्थ्य राम्रो हुन्छ' भन्दै कारखानाका ती फोहोर र विकारहरू यहाँका सामुन्ने बेचिरहेका छन्। 'यो पिउनुहोस्, यहाँ पनि यो अभिनेता झैँ देखिनुहुनेछ' भन्दै रसायनयुक्त, महिनौँ पुरानो, चिनी र रसायनले भरिएको पानी यहाँलाई पिलाइँदैछ र विडम्बना त यो छ कि यहाँ पैसा तिरेर त्यो फोहोर पिइरहनुभएको छ। "किन ? किनभने त्यो पनि झुट हो र यहाँ स्वयम् पनि असत्यको प्रतिमूर्ति बन्नुभएको छ। सर्वत्र झुटको मात्र बोलवाला छ। यहाँका सन्ततिहरूले पनि यहाँसँग झुट बोल्छन्, किनकि उनीहरूले यहाँबाट त्यही त सिकेका छन्। सत्य बोलेमा दण्ड पाइने भयले गर्दा उनीहरू बाल्यकालदेखि नै असत्य वाचन गर्न अभ्यस्त हुन्छन्। यो असत्यको प्रभाव आज यति भयावह र गहिरो भएको छ कि यहाँको अध्यात्म समेत मिथ्या हुन पुगेको छ। यसले धर्मको आडम्बरपूर्ण खोल ओढेको छ र त्यो समेत हिंसक बनेको छ। 'यो व्यक्ति माथि हिँसा गर , यो तिम्रो धर्मको होइन, यसको ईश्वर असत्य हो र तिम्रो ईश्वर मात्र सत्य हो' यस्ता भ्रमहरूमा आजको मानव फसेको छ। किनभने मानिस झुटमै हुर्किएको छ र उसको अन्तःकरण असत्यकै परिवेशमा सोसिएको छ। त्यसैले एक सामान्य व्यक्तिले के सत्य हो र के असत्य हो भन्ने कुराको सहजै बोध गर्न सक्दैन, किनकि उसको सम्पूर्ण जीवन नै यही मिथ्या संजालमा डुबेको छ। जब कुनै व्यक्ति विशिष्ट पहिरन लगाएर बाहिर निस्कन्छ, तब उसले के प्रदर्शन गर्न चाहन्छ? 'म फलानो कुलको हुँ, फलानो प्रतिष्ठित परिवारको हुँ, हेर म कति महान् छु' भन्दै उसले अहंकारको प्रदर्शन गर्छ। सुन चादी का गहनाहरू प्रदर्शन गर्दै, 'मसँग साधारण होइन, विलासी विदेशी वाहन छ' भन्नु केवल एक प्रकारको झुट मात्र हो। कुनै स्त्रीले सौन्दर्य प्रसाधनको लेपन गरेर आफूलाई सजाउँछिन्; ५० वर्षको उमेर भए तापनि १६ वर्षकी युवतीको झैँ पहिरन र हाउभाउ देखाउनु छ । उनको अभिव्यक्ति र लवज सबै कृत्रिम र बनावटी छन्, र विडम्बना त यो छ कि उनले त्यसैलाई आफ्नो वास्तविक चरित्र ठानेकी छन्। यहाँले आफ्नो केशलाई कालो रङ्ग्याउनु पनि एक प्रकारको असत्य नै हो। के यहाँ आफूलाई सुन्दर देखाउन चाहनुहुन्छ? होइन, यहाँ यो झुट बोल्न चाहनुहुन्छ कि यहाँको उमेर ढल्किएको छैन। 'मलाई वृद्ध नभन्नू, हेर मेरा केश अझै काला छन्' भन्दै यहाँले सत्यलाई लुकाउन खोज्नुहुन्छ। यहाँका प्रत्येक भावभङ्गी र हाउभाउ मिथ्या छन्; यो सबै एउटा प्रपञ्च र नाटक मात्र हो। "मानिसहरू विवाह सम्बन्ध जोड्न जान्छन् र त्यहाँ असत्यको निकै सहारा लिन्छन् 'हाम्रो छोरो यस्तो छ, उस्तो छ, ऊ त ठुलो पद मा छ भन्दै उसको बखान गर्दछन् र कन्याको पनि निकै मिथ्या प्रशंसा गरिन्छ। 'उसलाई यो आउँछ, त्यो आउँछ, उसको परीक्षामा यति प्रतिशत अङ्क आएको छ' भन्दै विज्ञापन गरिन्छ। तर त्यसको वास्तविक उपयोग के हो, त्यो कसैले बताउँदैन, किनकि त्यो पूर्णतः निरर्थक छ। उनीहरू भन्छन् 'झुट नबोली त विवाह नै सम्पन्न हुँदैन, आडम्बर र प्रदर्शन त गर्नैपर्दछ।' हामी यति प्रतिष्ठित हौँ, उति ठुला हौँ भन्दै अहंकार प्रदर्शन गरिन्छ र त्यो विवश पिताले ऋणको भारी बोकेर छोरीको विवाह गरिदिन्छ। आफूलाई समाजमा सम्भ्रान्त देखाउनका लागि उसले उपहार दिन्छ, अन्यथा उसको विवाह नै सम्भव हुँदैन भन्ने उसलाई भय हुन्छ। यहाँका समस्त सम्बन्धहरू मिथ्या छन्; ती असत्यको कमजोर जगमा उभिएका छन्, त्यसैले ती जुनसुकै बेला पनि धराशायी हुन सक्छन्। 'म तिमीलाई प्रेम गर्दछु' भन्नु धेरैका लागि केवल वासनाको आवरण मात्र हो। प्रेमको वास्तविक अर्थ त कसैलाई बोध नै छैन; सम्पूर्ण जीवन नै असत्यको अन्धकारमा विलिन भएको छ। यदि मैले यसको व्याख्या गर्न थालेँ भने बिहान देखि साझा सम्मको समय पनि अपुग हुन्छ । झुटको यो महिमा निकै विशाल छ। यहाँको अध्यात्म समेत आधा त झुटले नै व्याप्त छ। कसले के भनिरहेको छ, कुन सत्य हो र कुन असत्य हो त्यो पहिल्याउन एक आध्यात्मिक शिष्यका लागि असम्भव प्रायः छ। त्यसैले हामीले 'ज्ञान मार्गका आधारभूत सिद्धान्त' को त्यो सम्पूर्ण शृङ्खला निर्माण गर्नुपर्यो। वास्तवमा अध्यात्मको वास्तविक आरम्भ नै 'सत्य के हो?' भन्ने गम्भीर प्रश्नबाट सुरु हुन्छ। "त्यसका लागि असत्य के हो, त्यो यहाँलाई बोध हुनुपर्दछ। यदि यहाँ सत्यको अन्वेषणमा हुनुहुन्छ भने असत्यको परित्याग अनिवार्य छ। होइन र? के म असत्य बोलिरहेको छु? असत्यसँग नाता तोड्नु नै वाक् शुद्धिको सर्वोपरी कार्य हो। यो एउटा अत्यन्तै भीषण चुनौती हो; जो सत्यको मार्गमा हिँड्न चाहन्छ, उसका लागि यो मिथ्याचारी संसारमा रहनु आफैँमा एउटा ठुलो सङ्घर्ष हो। एक पटक सत्य वाचन गरेर त हेर्नुहोस्; यहाँको जीवनमा एउटा महा-तूफान आउनेछ। यो म प्रमाणित गरिदिन्छु यो कुरा यहाँले मनन गर्नुहोस्। म स्वयम् पनि असत्यका विरुद्ध निरन्तर संघर्षरत छु। यो अत्यन्तै कुटिल वृत्ति हो, जुन नचाहँदा नचाहँदै पनि कतै न कतैबाट वाणीमा प्रस्फुटित भइहाल्छ। जो अध्यात्मको वास्तविक शिष्य हो, उसका लागि असत्यको स्पर्श मात्रले पनि जीवनमा ठुलो संकट आमन्त्रण गर्दछ। किन त? किनभने यहाँको परम लक्ष्य नै सत्यको साक्षात्कार गर्नु हो। यदि यहाँ मसिना र तुच्छ विषयमा पनि असत्य बोल्नुहुन्छ भने, त्यो विराट सत्यलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? कटु वचनलाई मधुर वाणीमा बदल्नु सहज होला, हिंसक कुराहरूलाई त्याग्नु वा मौन धारण गर्नु पनि सम्भव होला। अश्लील र असभ्य भाषाबाट टाढा रहनु पनि तुलनात्मक रूपमा सरल छ। तर, पूर्ण रूपमा असत्य नबोल्नु अत्यन्तै कठिन छ। यो त स्वयंका विकारहरू र असत्यको काखमा लतपतिएको यो समाजका विरुद्ध एउटा महान् युद्ध हो "एउटा समय थियो, जब मनुष्यको वाणीको एउटा विशिष्ट मूल्य र मर्यादा हुने गर्दथ्यो। एक पटक उनीहरूले मुखबाट जे उच्चारण गर्दथे, त्यही गर्दथे र त्यस्तै नै हुने गर्दथ्यो। सत्यमा एउटा अपार सामर्थ्य लुकेको हुन्छ। यो अत्यन्तै शक्तिशाली हुन्छ। सत्य आफैँमा एउटा सिद्धि हो र यो एउटा ईश्वरीय ऊर्जा हो। तर अहिले मानिसहरूले जेसुकै बोले तापनि त्यसको कुनै प्रभाव वा प्रतिफल नदेखिनुमा अब कुनै आश्चर्य मान्नु पर्दैन। आजको समयमा कसैको वचनमा पनि विश्वास गर्ने आधार बाँकी छैन। यदि मैले कसैलाई केही भनेँ भने यो मेरो मात्र होइन, यहाँहरू सबैको साझा अनुभव होला मानिसहरूलाई सबैभन्दा पहिले त यो झुट बोलिरहेको छ भन्ने संशय नै पैदा हुन्छ। किनकि उनीहरूले आफ्नो जीवनभरि नै सर्वत्र असत्य मात्र देख्दै आएका छन् र कसैलाई सत्य बोलेको उनीहरूले देखेकै छैनन्। त्यसैले यहाँले जेसुकै भन्नुहोस्, मानिसहरूलाई सबैभन्दा पहिले यहाँले झुट बोलिरहनुभएको छ भन्ने नै लाग्दछ। आज कसैको वचनको पनि कुनै मूल्य बाँकी छैन; यो जिब्रो वा वाणीको कुनै गरिमा छैन। त्यसैले त मानिसहरू लिखित प्रमाण खोज्छन्, हस्ताक्षर गराउँछन् वा 'स्ट्याम्प पेपर'मा औँठाछाप लगाउन लगाउँछन्। उनीहरू के सुनिश्चित गर्न चाहन्छन् त? उनीहरू केवल यो कुराको प्रत्याभूति चाहन्छन् कि कतै यसमा असत्य त बोलिएको छैन। "तसर्थ, आजको स्थिति यस्तो छ कि केही बोल्नुभयो भने त्यसको कुनै ठोस प्रभाव पर्दैन। यदि यहाँले 'म स्वस्थ छु, म असल छु, मेरो आचरण शुद्ध छ' भन्नुभयो भने पनि त्यो चरितार्थ हुँदैन, किनकि यहाँले जीवनभर केवल असत्यको मात्र खेती गर्नुभएको छ। यस्तो अवस्थामा एउटा मात्र सत्य वचनको के नै अर्थ रहन्छ र? यसको यो 'विश्व-चित्त' मा कसरी प्रभाव पर्न सक्छ? जब सर्वत्र असत्यको साम्राज्य छ भने यहाँको एउटा सत्य वचन यो विशाल जंगलमा कता हराउँछ, कता! असत्यको यो आँधीमा यहाँका सत्य वचनहरू धुलोका मसिना कण झैँ बिलाउँछन्, ती कतै दृष्टिगोचर समेत हुँदैनन्। एउटा यस्तो स्वर्णिम कालखण्ड थियो, जब मानिसमा वाक्-सिद्धि यति प्रखर रूपमा विकसित थियो कि व्यक्तिले मुखबाट जे उच्चारण गर्दथ्यो, त्यो प्रत्यक्ष रूपमा घटित हुन्थ्यो। यसैलाई नै हामी 'आशीर्वाद' भन्दछौँ। तर विडम्बना, आजभोलि त आशीर्वाद पनि मिथ्या र आडम्बरपूर्ण भइसकेका छन्। मानिसको मुखमा एउटा कुरा हुन्छ तर मनमा अर्कै दुर्भावना, हिंसा र मलिनता लुकेको हुन्छ। बाहिरबाट 'तिमीलाई राम्रो होस्' भने तापनि भित्रभित्रै ईर्ष्या र डाहको अग्नि बलिरहेको हुन्छ। यस्तो अवस्थामा कसैको कसरी कल्याण हुन सक्छ र? यसैकारण त मानिसहरू आफ्ना खुसीहरू लुकाएर राख्न विवश छन्। यदि उनीहरूको घरमा केही शुभ कार्य भयो भने पनि उनीहरू अरूलाई बताउन डराउँछन्। कतै कसैको मनमा जलन पैदा हुने हो कि, कसैले ईर्ष्यावश केही अशुभ बोल्ने हो कि भन्ने भयले उनीहरूलाई सताउँछ। किनभने यो सत्य हो कि यहाँको आशीर्वादले काम गरोस् या नगरोस्, तर कसैको दुर्भावना र दुर्वचनको विषालु प्रभाव भने निश्चित रूपमा पर्दछ। यो यहाँको आफ्नै जीवनको कटु अनुभव हो। यदि यहाँको जीवनमा केही शुभ कार्य घटित भयो भने, त्यसलाई अरूलाई भन्न संकोच र भय लाग्दछ। किनकि मान्छेका वचनहरू यति अशुद्ध, हिंसक र ईर्ष्याले ओतप्रोत छन् कि उनीहरू कहिल्यै वास्तविक हित चिताउँदैनन्। तपार्ईँको सामुन्ने उनीहरू जे बोल्छन्, त्यो केवल आडम्बर र मिथ्या मात्र हो। उनीहरूको बाह्य आचरण पनि उत्तिकै बनावटी र कृत्रिम हुन्छ। तसर्थ, आफ्नो जीवनमा केही सकारात्मक उपलब्धि भएको कुरा सुनाउनुअघि मानिस डराउनु निकै स्वाभाविक र प्राकृतिक छ। हामी यस्तै विकृत समाजमा बाँचिरहेका छौँ। यो नै वर्तमान मानव जातिको वास्तविक स्वरूप र सत्य हो। वास्तवमा यो त यहाँकै प्रतिबिम्ब हो, र विडम्बना त यो छ कि यहाँलाई यसै कुरूप प्रति मोह र आसक्ति छ। यहाँलाई यस बन्धनबाट मुक्ति नै चाहिएको छैन; यो त अत्यन्तै विवेकहीन र मूर्खतापूर्ण अवस्था हो। वाक् शुद्धि अत्यन्तै दुष्कर कार्य हो। त्यसैले म स्पष्ट भन्दछु यो कुनै सरल मार्ग होइन। यदि यहाँ चुनौतीहरूदेखि त्रसित हुनुहुन्छ भने यो मार्गमा पाइला नटेक्नुहोस्। यदि यहाँलाई सङ्घर्षदेखि भय लाग्छ र सङ्कल्प-शक्ति क्षीण छ भने यहाँ अध्यात्मका लागि अयोग्य हुनुहुन्छ। यहाँले अहिलेसम्म कुनै पनि कुरालाई गम्भीरताका साथ लिनुभएको छैन र यहाँको जीवनको कुनै निश्चित लक्ष्य पनि छैन। समाजले जुन विकारहरू यहाँको अन्तःकरणमा भरिदिएको छ, यहाँको मुखबाट अहिले त्यसैको वमन भइरहेको छ। यस्ता दुर्बल र अपरिपक्व मानिसहरू अध्यात्मको क्षेत्रमा प्रवेश नगर्नु नै श्रेयस्कर हुन्छ, किनकि उनीहरूले यो पवित्र यात्रालाई पनि भ्रष्ट र कलङ्कित तुल्याउनेछन्। "यदि यहाँले दृढ निश्चय नै गर्नुभएको छ कि मलाई अंतर्शुद्धि गर्नु छ भने, म यहाँलाई पूर्वजानकारी गराइदिन्छु यो मार्ग अत्यन्तै कष्टकर र दुष्कर हुनेछ। मेरो स्वयम्को सङ्घर्ष पनि अझै जारी छ र त्यही अनुभव म यहाँहरूका सामुन्ने राख्दैछु। म कुनै गुरु होइन, बरु यहाँहरू जस्तै एउटा सामान्य शिष्य हुँ र प्रत्येक दिन मेरो स्वयम्सँगै एउटा भीषण युद्ध चलिरहेको हुन्छ। स्वयम्भित्र रहेका अशुद्धि र विकारहरूका कारण उत्पन्न हुने तीक्षण पीडा र तिनका गहिरा घाउहरू मैले प्रतिक्षण भोग्नु परिरहेको छ। यो कथा केवल मेरो मात्र होइन, सम्पूर्ण आध्यात्मिक साधकहरूको साझा व्यथा हो। हाम्रो अन्तःकरणमा अशुद्धिहरू यति गहिरो गरी जकडिएका छन् कि तिनलाई निर्मुल पार्नु अब निकै कठिन कार्य भएको छ। जसरी एउटा वाण शरीरमा रोपिएपछि निकै पीडादायी हुन्छ र त्यसलाई बाहिर निकाल्नु अझ बढी कष्टकर हुन्छ, हामी पनि यस संसारको मोहजालमा त्यसरी नै फसेका छौँ। संसारको त्यो वाण हामीमा रोपिएको छ, जसलाई निकाल्नु अहिले अत्यन्तै चुनौतीपूर्ण छ। तसर्थ, जो साधकहरूमा अझै केही सङ्कल्प-शक्ति बाँकी छ र यी सबै चुनौतीका बाबजुद पनि यस मार्गमा अगाडि बढ्न चाहनुहुन्छ, म यहाँहरूलाई एउटा स्पष्ट र निष्पक्ष सुझाव दिन चाहन्छु कटु वचन वाचन गर्न अब पूर्णतः बन्द गर्नुहोस्। अनावश्यक बोल्नुको कुनै तुक छैन। यसबाट कसैको पनि हित हुँदैन, उल्टै यसले यहाँकै दिन र मानसिक शान्तिलाई मात्र बर्बाद गरिदिन्छ।" यदि यहाँले कसैप्रति कुनै कटु वचन प्रयोग गर्नुभयो भने, सुन्ने मानिस त त्यसप्रति अभ्यस्त भइसकेको हुन सक्छ; उसको संवेदनशीलता नै समाप्त भइसकेको हुन सक्छ। तर, त्यसको वास्तविक प्रतिकूल प्रभाव यहाँ स्वयम्मा पर्नेछ, किनकि यहाँको संवेदनशीलता निकै विकसित भइसकेको छ। तसर्थ, सदैव प्रिय वचन नै प्रयोग गर्नुहोस्। यदि यहाँले कसैलाई उसको गल्तीकै बारेमा बोध गराउनु छ भने पनि, त्यस अभिव्यक्तिमा एउटा विशिष्ट मधुरता हुनु अनिवार्य छ। हो, यहाँको यो मधुरतालाई मानिसहरूले कमजोरीको रूपमा लिन सक्छन्; तर यसबाट यहाँ कत्ति पनि विचलित नहुनुहोस्। आफ्नो सिद्धान्तमा अडिग रहनुहोस्, तर वाणीमा सधैँ माधुर्यता र सौम्यता कायम राख्नुहोस्। स्नेहपूर्वक बोल्नुहोस्, र कटुतालाई कतै स्थान नदिनुहोस्। कसैको पनि अपमान नगर्नुहोस्, किनकि अपमान पनि एक प्रकारको हिंसा नै हो। यसले अर्को व्यक्तिलाई मात्र होइन, यहाँलाई स्वयम्लाई पनि उत्तिकै क्षति पुर्याउँछ, किनभने ती अपमानजनक शब्दहरू यहाँकै मानसपटलमा प्रतिध्वनित भइरहनेछन्। आफूले बोलेका वचनहरूबाट कहिल्यै सहजै छुटकारा पाइँदैन। हुन सक्छ, सुन्ने व्यक्तिले त ती कुराहरू बिर्सिएला, किनकि यो कोलाहलपूर्ण संसारमा उसलाई त दैनिक रूपमा सबैले केही न केही भनिरहेकै हुन्छन्। आजभोलि मानिसहरू यति उदासीन र संवेदनहीन भइसकेका छन् कि कसले के बोल्यो भन्ने कुरामा उनीहरू ध्यान समेत दिँदैनन्। जस्तो तपाइँ कै कार्यालयमा यहाँका कती त्यस्ता सहायकहरू होलान,जो यति बेशर्म भैसके कि यहाँले उनीहरूलाई जेसुकै भनिरहनुहोस्, उनीहरूमा कुनै प्रभाव पर्दैन। दिनभरिमा त्यति मात्र गर्दछन्, जति उनीहरूले कार्य गर्नु अनिवार्य छ। यदि उनीहरूले दश हजार पाउछन् भने पाँच हजारको मात्र कार्य सम्पादन गर्दछन्। उनीहरू यति जड भइसकेका छन् कि जतिसुकै कटु वचन प्रयोग गरे तापनि, उनीहरूलाई कुनै भिन्नता पर्दैन। तर, यसको प्रभाव यहाँमाथि पर्दछ किनकि जब यहाँ घर फर्किनुहुन्छ, तब यहाँको मन अशान्त हुन्छ, त्यो प्रदूषित भइसकेको हुन्छ । दिनभरि मलिनतामा रहँदा-रहँदै र कटु वाचन गर्दा-गर्दै, यहाँ स्वयम् पनि कटु बन्नुहुन्छ। त्यही प्रतिध्वनि यहाँका परिवारजनमाथि प्रस्फुटित हुन्छ; तसर्थ शनैः शनैः आफ्ना वचनहरूलाई शुद्ध गर्नुहोस्। प्रिय वचन बोल्नुहोस्। मधुर वचन वाचन गर्नुहोस्। जुन मानिसहरूसँग यहाँले कटु बोल्नुपर्दछ, उनीहरूलाई त्यागिदिनुहोस्। त्यस्तो नोकरी छाडिदिनुहोस् जहाँ यहाँले बलपूर्वक दुर्वचन बोल्नुपर्छ, कसैमाथि हुकुम जमाउनुपर्छ वा कसैप्रति हिंसा गर्नुपर्दछ। जहाँ मानिसहरू यहाँको क्रोधको कारण बन्दछन्, त्यस्ता मानिसहरूलाई त्यागिदिनुहोस्। त्यस्तो कर्म परित्याग गर्नुहोस्। त्यस्तो व्यवसाय छाडिदिनुहोस्। तपाइँ भन्नुहोला कि बोल्न त अत्यन्तै सरल छ। मैले कहिले भनेँ र यो सरल छ भनेर? म त सुरुदेखि नै भनिरहेको छु कि यो कठिन छ; तर यो गर्नु त छ नै, म स्वयम् पनि यसका लागि निरन्तर सङ्घर्ष गरिरहेको छु।" "यदि यहाँका आफन्तजन, नातागोताहरू यस्तो छन् कि उनीहरू तपाइँ लाई केही न केही नमिठो बोल्न, अपमानित गर्न वा क्रोधित तुल्याउनका लागि निरन्तर उत्तेजित पारिरहन्छन् भने, ती सबैलाई त्याग गरिदिनुहोस्। यस्ता मानिसहरू यहाँका लागि कुनै पनि अर्थमा उपयोगी सिद्ध हुँदैनन्। सम्बन्ध केवल नाताको नामले मात्र स्थापित हुँदैन; उनीहरूको आचरण र व्यवहार पनि आफन्तको जस्तै हुनुपर्दछ। आचरणमा प्रेमको पराकाष्ठा हुनुपर्दछ। त्यस्ता आफन्तहरूको के प्रयोजन, जसका कारण यहाँको वाणी दूषित र अशुद्ध भइरहेको छ? कदापि ईर्ष्याको वशीभूत भएर केही नबोल्नुहोस्। बाहिर एउटा र भित्र अर्को कपटपूर्ण अभिव्यक्ति नदिनुहोस्। सदैव संयम र धैर्यका साथ कार्य गर्नुहोस्। यदि कसैले यहाँलाई क्रोधित तुल्याउने प्रयत्न गर्दछ भने पनि यहाँले पूर्ण संयम अपनाउनु पर्दछ। म पुनः दोहोर्याउँछु यो मार्ग निकै कठिन हुनेछ, तर हामी अध्यात्मको मार्गमा यसकारण छौँ किनकि यो दुष्कर छ। यदि यो मार्ग सरल हुन्थ्यो भने हामी त्यसतर्फ किन आकर्षित हुन्थ्यौँ र? तब त त्यहाँ सर्वसाधारणको ठुलो भीड लाग्ने थियो। आखिर लाखौँ मानिसहरूमध्ये केवल एक व्यक्ति मात्र किन अध्यात्मको मार्गमा टिकिरहन सक्छ? किनभने यो अत्यन्तै कठिन छ। यस चराचर जगत्मा संयम र आत्म-नियन्त्रण राख्नु सबैभन्दा चुनौतीपूर्ण कार्य हो। यहाँ क्रोध स्वतः प्रस्फुटित हुन्छ र अन्जानमै हिंसा घटित भइहाल्छ। "अधिकांशतः हिंसा वाणीको हुने गर्दछ। शारीरिक कुटपिट त निकै कम मानिसले गर्दछन्। बोल्नुअघि केवल पाँच मिनेट रोकिनुहोस् र यसको परिणामबारे सोच्नुहोस्। मेरो चित्तमा यस कर्मको फल के होला? विचार गरेर मात्र संयमले बोल्नुहोस्। सम्भव छ, गल्ती यहाँकै हो। यहाँ त्यस्तो व्यक्तिको सामुन्ने किन हुनुहुन्छ? अझैसम्म व्यवहार किन राख्नुभएको छ? यहाँ किन उसको पाशोमा हुनुहुन्छ? यस्ता आफन्तहरू वरिपरि किन पाल्नुभएको छ? यो त मेरै दोष हो भन्ने बुझेर आवश्यक भए मात्र संयमले बोल्नुहोस्। अन्यथा मौन रहनुहोस्। सधैँ बोलिरहनुपर्छ भन्ने कुनै नियम छैन। क्रोध उत्पन्न भएमा चुप रहनु नै श्रेयस्कर छ। ईर्ष्यावश केही भन्न मन लागेमा मौन बस्नुहोस्। मौनमा अपार शक्ति हुन्छ। यसले चित्तलाई पूर्णतः रूपान्तरण गरिदिन्छ। "यदि यहाँ अतिवार्तालापमा मग्न हुनुहुन्छ र २४सै घण्टा निरर्थक प्रलाप गरिरहनुहुन्छ भने अल्पभाषी हुनुहोस्। जति आवश्यक र महत्त्वपूर्ण छ, त्यति मात्र बोल्नुहोस्। त्यसभन्दा बढी एक शब्द पनि उच्चारण नगर्नुहोस्। याद राख्नुहोस्, रोग जति भयावह हुन्छ, त्यसको निदान र उपचार पनि उत्तिकै शक्तिशाली हुन्छ। धेरै बोल्ने बानी छ भने यहाँले दृढ सङ्कल्पद्वारा बलपूर्वक स्वयम्लाई रोक्नुपर्दछ। जहाँ आवश्यक छैन, त्यहाँ मौन रहनुहोस्। मानिसहरू समय बिताउनका लागि यहाँलाई फोन गर्दछन्; यस्ता व्यक्तिहरूबाट टाढै रहनुहोस्। सत्य कहिलेकाहीँ तितो पनी हुन्छ, तर मलाई यी कुरा सुन्ने समय छैन भनी स्पष्ट भनिदिनुहोस्। यस्ता वाचाल मानिसहरूले यहाँलाई आफ्नै दलदलमा तान्ने प्रयास गर्नेछन्। यहाँ मौन रहँदा उनीहरूलाई असहज हुनेछ र 'के भयो?' भनी सोध्नेछन्। किनकि उनीहरू बोल्ने र सुन्ने भयंकर मानसिक रोगले ग्रस्त छन्। उनीहरू कसैलाई शान्त देख्नै सक्दैनन्। वास्तवमा अत्यधिक बोल्नु एक प्रकारको मानसिक रोग नै हो। "यहाँको जीवनका अधिकांश समस्याहरू अत्यधिक बोल्ने बानीकै कारण सिर्जना भएका हुन्। तसर्थ, आवश्यकता अनुरूप मात्र बोल्नुहोस्। जहिले पनि प्रिय, मधुर र ज्ञानवद्र्धक कुराहरू मात्र वाचन गर्नुहोस्। महत्त्वपूर्ण विषयमा मात्र चर्चा गर्नुहोस् र निरर्थक कुराहरूलाई जिब्रोमा स्थान नदिनुहोस्। यदि यहाँमा अभद्र वा अश्लील भाषाको संस्कार बसेको छ भने उत्कृष्ट ग्रन्थहरूको पठन सुरु गर्नुहोस्। उच्च स्तरको मनोरञ्जन र साहित्यको मात्र चयन गर्नुहोस्। निम्नस्तरका मानिस र तिनका असभ्य कुराहरूबाट टाढै रहनुहोस्। यदि यहाँको परिष्कृत र शिक्षित शैलीको कसैले उपहास गर्छ भने त्यस्ता व्यक्तिलाई तत्कालै छोडिदिनु बुद्धिमानी हुनेछ। अब यहाँको चेतनाको स्तर उनीहरूभन्दा माथि उठिसकेको छ। त्यसैले पुराना सम्बन्धहरू टुट्नु स्वाभाविक हो। तिनलाई हिंसक रूपमा तोडिनु अगावै प्रेमपूर्वक विच्छेद गर्नुहोस्। आफूलाई त्यस्तो परिवेशबाट अलग राख्नुहोस्। यो रूपान्तरण केही हप्ता वा महिनामै सम्भव छ। मैले स्वयम् यस्ता प्रयोगहरू गरेको छु। "झुट त्याग गर्नु अलि कठिन हुनेछ। त्यसैले सर्वप्रथम ती स-साना झुटहरू बोल्न बन्द गर्नुहोस्, जुन यहाँले निरन्तर बोलिरहनुभएको छ। मानिसहरूलाई प्रसन्न तुल्याउन वा आफ्नो स्वार्थ सिद्ध गर्न बोलिने झुटलाई पूर्णतः निषेध गर्नुहोस्। आडम्बर र कृत्रिम आचरण पनि असत्य नै हो; त्यो पनि एक प्रकारको अभिव्यक्ति नै हो। यहाँको शरीर र यहाँका कर्महरू बोलिरहेका हुन्छन्, ती पनि वाणी नै हुन्। मुखबाट शब्द ननिस्किए पनि के भो र? प्रदर्शन र कपटपूर्ण व्यवहार बन्द गर्नुहोस्। यसो गर्दा यहाँलाई असत्य बोल्ने आवश्यकता बिस्तारै कम हुँदै जानेछ। त्यस्तो व्यवसायमा नरहनुहोस्, जहाँ बिहानदेखि साझसम्म झुट मात्र बोल्न पर्दछ। जस्तै, यदि यहाँले कुनै निम्नस्तरका वस्तुहरू बिक्री गर्ने कार्य रोज्नुभएको छ भने, ग्राहकसँग झुट बोल्नु यहाँको बाध्यता बन्छ। वा 'कल सेन्टर' जस्तो स्थान, जहाँ कोही गुनासो लिएर आउँदा केवल झुटो आश्वासन दिइन्छ कि 'हजुर, भोलि साँझसम्म यहाँको कार्य सम्पन्न हुनेछ'। अर्को पटक अर्कै व्यक्तिले फोन उठाउँदा पनि त्यही भन्छ, किनकि उनीहरूलाई त्यही प्रशिक्षण दिइएको हुन्छ। विडम्बना, आज मानिसहरूले असत्य बोलेबापत नै पारिश्रमिक प्राप्त गरिरहेका छन्। यदि यहाँको कार्य वकील को छ वा यस्तै प्रकृतिको छ, जहाँ असत्य बोलेर अपराधीलाई बचाउनुपर्छ भने चाहे यहाँले लाखौँ रुपैयाँ किन प्राप्त नगर्नुहोस् यो कठिन हुनेछ, तर त्यसलाई त्यागिदिनुहोस्। आफ्नो लक्ष्य आफ्ना सामुन्ने स्पष्ट राख्नुहोस् कि 'मेरो उद्देश्य झुट बोल्ने होइन'। यदि यहाँ चिकित्सक हुनुहुन्छ वा अन्य केही, विचार गर्नुहोस् आज प्रत्येक व्यक्ति भ्रष्ट र असत्यवादी भएको छ। सबैजना असत्य बोलेर धन उपार्जन गर्न चाहन्छन्। 'भाइ, यो परीक्षण गराऊ' भनिन्छ र पछाडी त्यो परीक्षण गर्नेले यहाँलाई ५० प्रतिशत लाभांश दिन्छ। चाहे त्यो रोगीको रोग अर्कै किन नहोस्, चिकित्सकले परीक्षण गराउन आदेश दिन्छ। त्यो विवश व्यक्तिले पनि परीक्षण गराउँछ, किनकि ऊ अनभिज्ञ छ र उसलाई उपचारको ज्ञान छैन। यदि यहाँ यस्तो व्यवसायमा हुनुहुन्छ र अधर्म एवं असत्यद्वारा धन आर्जन गरिरहनुभएको छ भने, त्यो व्यवसाय नै त्यागिदिनुहोस्; वा जति प्राप्त भइरहेको छ, सत्य र निष्ठाका साथ त्यतिमै सन्तुष्ट हुनुहोस्। किनभने सत्यको आफ्नै एउटा परमसन्तोष हुन्छ। यदि यहाँले असत्य वाचन बन्द गर्नुभयो भने यहाँले एउटा उच्च फल प्राप्त गर्नुहुनेछ, तर सम्भव छ कि सांसारिक प्रतिफल जेसुकै आओस्। मैले अघिल्लो भागमा भने झैँ, यसको कुनै प्रत्याभूति हुँदैन। सम्भव छ कि यहाँले सत्य बोल्दा त्यसको कुनै प्रतिकूल परिणाम नै निस्कियोस्। यो पनि सम्भव छ, किनकि यो सम्पूर्ण समाज असत्यको जगमा उभिएको छ। तसर्थ, यहाँले एउटा खम्बा मात्र हल्लाउनुभयो भने पनि सबै कुरा डगमगाउँछ र ती मानिसहरूले यहाँलाई सहजै छाड्ने छैनन्। "अतः कहाँ सत्य बोल्ने र कहाँ मौन धारण गर्ने भन्ने विषयमा सधैँ सचेत रहनुहोस्; यसको प्रत्यक्ष प्रभाव यहाँको चित्तमा पर्नेछ। यसको प्रतिफलस्वरूप मानसिक शान्ति स्वतः प्राप्त हुनेछ। वचनहरू शुद्ध भएकाले यहाँको अन्तःकरणमा सदैव एउटा विशिष्ट सुख र परमानन्द व्याप्त रहनेछ र आचरण पनि बिस्तारै परिष्कृत हुन थाल्नेछ। त्यसपछि भविष्यमा जस्तोसुकै समय वा महासंकट आए तापनि यहाँ विचलित हुनुहुने छैन, किनकि यहाँले असत्यको सहारा लिनुभएको छैन; यहाँले केवल सत्यको वाचन गर्नुभएको छ। यहाँमाथि जतिसुकै आरोप वा लाञ्छनाहरू लागोस् वा कसैले फसाउने चेष्टा गरोस्, यहाँको मनमा यो दृढता रहनेछ कि 'म अपराधी होइन'। म असत्यवादी होइन र मैले सत्य बोलेर आफ्नो धर्म पूर्णतः निर्वाह गरेको छु। सत्य बोलेपछि भविष्यको कुनै चिन्ता रहँदैन। असत्यको यस विशाल महासागरमा सत्यको सानो त्यान्द्रो डुब्नबाट कतिञ्जेल जोगिएला यो यहाँको कठिन परीक्षा हुनेछ; तर यसलाई कदापि नछाड्नुहोस्। हामी अध्यात्मका साधक हौँ, त्यसैले हामीले कुनै पनि मूल्यमा सत्यलाई परित्याग गर्नु हुँदैन। मैले भने झैँ, सत्यमा एउटा अलौकिक शक्ति हुन्छ। सत्यभाषीको वचन प्रत्यक्ष रूपमा प्रकट हुन्छ; अर्थात् उसले जे बोल्छ, त्यो चरितार्थ भएरै छोड्छ। धेरै मानिसलाई मेरा यी कुराहरू हास्यास्पद वा अन्धविश्वास जस्तो लाग्न सक्छ। मलाई थाहा छ, यसमा विश्वास गर्न निकै कठिन छ। निरन्तर असत्य बोलेर हाम्रो यति धेरै दुर्गति र पतन भइसकेको छ कि अब यस्तो यथार्थ कुरामा पनि यहाँलाई विश्वास लाग्ने छैन। "यहाँले ती पौराणिक कथाहरू पक्कै सुन्नु भएको होला कि जो महान् ऋषिहरू र दिव्य सात्विक पुरुषहरू हुन्थे, उनीहरूले जे उच्चारण गर्दथे, त्यो अक्षरशः चरितार्थ हुन्थ्यो। उनीहरूको आशीर्वाद ग्रहण गर्न टाढा-टाढाबाट मानिसहरू आउँदथे ताकि उनीहरूको पनि कल्याण होस्। ती महान् सन्त, ज्ञानी र योगीहरूको वाणीमा यस्तो अद्भुत सामर्थ्य हुन्थ्यो कि उनीहरूले 'तथास्तु' भन्नासाथ त्यो तत्काल घटित हुन्थ्यो। यसको विपरित पक्ष पनि उत्तिकै प्रबल हुन्थ्यो। उनीहरूको वचन कहिलेकाहीँ श्राप पनि बन्दथ्यो; यदि उनीहरू कसैमाथि क्रोधित भएर केही अशुभ बोले भने त्यो पनि सत्य सावित हुन्थ्यो। किन? किनकि उनीहरूको वाणी पूर्णतः परिष्कृत र शुद्ध भइसकेको हुन्छ। यस्तो पवित्र वाणीको प्रकटीकरण हुनासाथ सम्पूर्ण 'विश्व-चित्त' र यो ब्रह्माण्डीय माया नै डगमगाउँछ। त्यसको प्रभाव एउटा चमत्कारका रूपमा सामुन्ने आउँछ। यस्तो किन हुन्छ? के यो कुनै जादु हो? जसले चित्तको बारेमा गहन अध्ययन गरेका छन्, उनीहरूले बुझ्नेछन् कि चित्त वास्तवमा एउटा 'नाद' हो। वाणी पनि नाद नै हो, तर यसको सम्बन्ध निकै सूक्ष्म छ। चित्तभित्रका नादहरू विचारका रूपमा उदय हुन्छन् र ती विचारहरू नै अन्ततः वाणीमा रूपान्तरित हुन्छन्। यदि यहाँको विचार, चित्त र चेतना विशुद्ध छ भने, त्यो 'सत्य नाद' नै वाणी बनेर प्रस्फुटित हुन्छ र जे बोलिन्छ, त्यही नै घटित हुन्छ। "मलाई लाग्दछ, यो धेरैले बुझ्नु हुने छैन। तसर्थ, मैले जे भनेको छु, त्यसलाई पुनःध्यान दिएर सुन्नूस। चित्तको वृत्ति र स्वभाव के हो? जसलाई यहाँ ठोस भौतिक जगत् सम्झनुहुन्छ, वास्तवमा त्यो सत्य होइन। त्यो पनि एउटा मिथ्या मात्र हो। जो सत्यको पक्षमा छ, उसले यस असत्य र मायालाई पूर्णतः नियन्त्रण गर्न सक्दछ। सत्यमा त्यस्तो अलौकिक सामर्थ्य लुकेको हुन्छ। अध्यात्म मार्ग के हो? यो सत्यको मार्ग हो र सत्यलाई आत्मसात् गर्ने मार्ग हो। यदि यहाँको आध्यात्मिक गहिराइ र हृदयबाटै शुद्धि भएको छैन भने, न यहाँको चेतना शुद्ध हुनेछ, न बुद्धि र विचार नै परिष्कृत हुनेछन्। यस्तो अवस्थामा वाक्-शुद्धि कसरी सम्भव होला? सबै कुरा ज्ञानबाटै प्रारम्भ हुन्छ। के सत्य हो र के असत्य हो, त्यसकै विवेक-अमृत चित्तका समस्त तहहरूमा शनैः शनैः प्रवाहित हुन थाल्दछ। यहाँले अन्तःकरणमा जे सत्य जान्नुभएको छ, त्यही नै यहाँको मुखबाट वाणी बनेर प्रस्फुटित हुन्छ। यसको बिस्तारै यहाँलाई स्वानुभूति हुनेछ र यो सत्य प्रकट हुनेछ। वाणीमा कस्तो अद्भुत बल र तेज हुन्छ, त्यो बिस्तारै यहाँको समझमा आउनेछ। तत्काल यो सम्भव छैन, किनकि अहिलेसम्म वाक्-शुद्धि पूर्ण भएको छैन। "मेरो जुन स्वानुभूति छ, यहाँले देख्नुहुनेछ कि त्यो यहाँको पनि हुनेछ। जो सत्यवादी छ, उनीहरूसँग मानिसहरू भयभीत हुन्छन् र उसको सामीप्यमा जान अत्तालिन्छन्। कतै यसले हाम्रा सबै रहस्यहरू नखोलोस् भनी उनीहरू उसलाई केही बताउन वा उसको सामुन्ने अनर्गल बोल्न पनि डराउँछन्। यहाँका स्वयम् माता-पिता र आफन्तजनहरू पनि यहाँसँग त्रसित हुन थाल्नेछन् कि तपाइले कतिबेला के बोल्नुहुन्छ, केही भन्न सकिन्न कतै सत्य नै बोलिदिने त होइन! वास्तवमा, असत्यवादी व्यक्तिको सबैभन्दा ठूलो भय नै आफ्नो मिथ्या र ढोंग प्रकट हुन्छ कि भन्ने हुन्छ। एउटा असत्य लुकाउन उसले सयौँ झुट बोल्दछ र सत्य बोल्ने व्यक्तिबाट सधैँ जोगिएर हिँड्न चाहन्छ। शनैः शनैः यस्ता नीच र मिथ्यावादी मानिसहरू यहाँलाई छोडेर जान थाल्नेछन्। यो दुःखको कुरा होइन; यो त निकै शुभ र हर्षको विषय हो। किनकि यदि यस्तै मानिसहरू यहाँको वरिपरि एकत्रित भए भने यहाँलाई कष्ट मात्र हुनेछ। हुन सक्छ, यहाँ सोच्नुहोला 'किन सबैजना टाढिँदैछन्? मैले त केवल सत्य बोल्न आरम्भ गरेको हुँ।' तर अब कसैलाई यो मन पर्ने छैन। सत्य अत्यन्तै कटु हुन्छ र धेरैलाई यहाँको यो मार्ग र वाणी प्रिय लाग्दैन। जो जति ठुलो अहंकारी हुन्छ र जो जति बढी सांसारिक प्रदर्शनमा लिप्त हुन्छ, उसलाई यहाँप्रति त्यति नै प्रगाढ घृणा हुन थाल्नेछ। "यहाँले सोच्नुहुनेछ कि मैले त्यस्तो के नै अनुचित गरेँ ? मैले त केवल साचो बोलेको थिएँ। यी मानिसहरूलाई आखिर मसँग के आपत्ति भयो? स्मरण रहोस्, यस्तो अवश्य हुनेछ र यही नै यहाँको परीक्षा हो। यही नै यहाँको वास्तविक तपस्या हो। तर यदि यहाँ यस अग्नि-परीक्षाबाट खारिएर निस्कनुभयो भने जुन हिजो असत्यको कोइला थियो र अब सत्यको हीरा बनिसक्यो तब त्यसको दिव्य प्रभाव यहाँले स्वयम् देख्नुहुनेछ। त्यसको ओज र सामर्थ्य यहाँका सामुन्ने प्रकट हुन थाल्नेछ। जो असत्यवादी छन्, उनीहरू यहाँसँग भयभीत हुनेछन्; तर जो सत्यनिष्ठ छन्, उनीहरूले यहाँको उच्च सम्मान गर्नेछन्। जो अज्ञानी र निश्छल छन्, उनीहरू यहाँको परामर्श र मार्गनिर्देशनका लागि सामीप्यमा आउनेछन् र बिस्तारै यहाँको गरिमालाई स्वीकार गर्नेछन्। हो, मिथ्याचारीहरूले यहाँलाई कहिल्यै सम्मान गर्ने छैनन्। उनीहरूले त यहाँलाई पुनः त्यही पुराना दलदलमा तान्ने चेष्टा गर्नेछन्। उनीहरूले यहाँलाई पनि असत्यवादी प्रमाणित गर्ने प्रपञ्च रच्नेछन् ताकि समाजलाई भन्न सकुन् 'हेर, म त झुटो हुँ नै, तर यो पनि त त्यस्तै हो; अर्थात् तिमी पनि हाम्रै स्तरका हौ'। वास्तविकता के हो भने, उनीहरू सत्यको प्रकाशलाई सहन नै सक्दैनन्।" "तसर्थ, म यो परामर्श दिन्छु कि त्यस्ता व्यक्तिहरूलाई बिर्सिदिनुस । यहाँको स्वयम्को वाक्-शुद्धि नै सबैभन्दा ठूलो आवश्यकता हो। बाँकी मानिसहरू त जस्ताका तस्तै रहनेछन्, उनीहरूलाई यहाँले सुधार गर्न सक्नुहुन्न। यहाँले केवल स्वयम्लाई मात्र परिमार्जन गर्न सक्नुहुन्छ। जब यहाँको सत्य र वाक्-शुद्धिको ज्योति प्रज्वलित हुन्छ, तब टाढा-टाढाबाट विशुद्ध र पवित्र आत्माहरू यहाँको सामीप्यमा आउनेछन्। उनीहरू यहाँको प्रभावले स्वतः आकर्षित हुनेछन्, किनकि सत्यमा एउटा अलौकिक आकर्षण हुन्छ। एक सत्यनिष्ठ व्यक्तिले अर्को सत्यनिष्ठलाई टाढाबाटै चिनिहाल्छ। सत्यको वाणीमा एउटा विशेष सामर्थ्य हुन्छ। यो मायाको जगत् असत्यले भरिएको हुनाले सत्य प्रसारित हुन केही समय लाग्न सक्छ। तर एक पटक सत्यले जरा गाडेपछि त्यसलाई कसैले डगमगाउन सक्दैन। सूर्य र सत्य अधिक समयसम्म ओझेलमा रहन सक्दैनन्। सत्यको प्रकाश कहिल्यै लुक्दैन, त्यसैले अत्तालिनु पर्ने कुनै कारण छैन। यदि पुराना असत्यवादी सङ्गीहरूले छोडेर गए तापनि, जो सत्यनिष्ठ र सत्यनुरागी छन्, उनीहरू यहाँको सामीप्यमा अवश्य आउनेछन्। जसलाई सत्यप्रति अनुराग छ, उनीहरू यहाँ जस्तै बन्न चाहनेछन् र यहाँको आचरणबाट सिक्नेछन्। यहाँले कसैलाई सिकाउनु वा उपदेश दिनु आवश्यक छैन। आजैबाट सत्य वाचन आरम्भ गर्नुहोस्; यो सुगन्ध झैँ आफैँ चारैतिर फैलिनेछ। "जो तत्पर छन् र जो परिपक्व हुन तयार छन्, उनीहरू यहाँको प्रभावले स्वतः यहाँतर्फ आकर्षित हुन्छन्। यस्तो विशिष्ट व्यक्तित्व देखेर सबैजना आउने छैनन्, किनकि यस्ता चेतनशील मानिसहरू संसारमा अत्यन्तै कम हुन्छन्। तर, यदि यहाँको एउटै मात्र यस्तो मित्र बन्यो जो सत्यवादी छ र वाक्-शुद्धिमा लीन छ भने, ऊ ती हजारौँ असत्यवादी परिचितहरूभन्दा कयौँ गुणा श्रेष्ठ छ। सत्यवादीको सर्वत्र आदर हुन्छ र उसको वचनमा मानिसहरूले निःसन्देह भरोसा गर्दछन्। यद्यपि, यहाँ एउटा कुरामा सावधान हुनुपर्दछ कसैलाई पनि आफूमाथि अत्यधिक भरोसा गर्न नदिनुहोस्। किनकि भविष्यमा केही प्रतिकूल घटित भएमा त्यसको सम्पूर्ण दोष यहाँमाथि नै थुपरिनेछ कि 'म त तिमीलाई सत्यवादी ठान्दथेँ, तर अहिले त यो अर्कै कुरा निस्कियो।' यस्तो परिस्थिति पनि सिर्जना हुन सक्छ। केही मानिसहरूले त सत्यको निकै ठुलो दुरुपयोग समेत गर्दछन्। सत्यको दुरुपयोग कसरी हुन सक्छ भन्ने कुरा न सुन्नुभएको हुन सक्छ। यदि कसैले यहाँलाई 'यो दूध पिउनुहोस्' भन्दै पानी दियो भने यहाँ हाँस्नुहुनेछ कि 'यो त पानी हो, यसलाई किन दूध भनिरहेछौ?' तर, यदि त्यसमा आधा दूध मिसाएर 'लौ, दूध पिउनुहोस्' भनी दिएमा यहाँले कुनै संशय नगरी त्यसलाई चुपचाप ग्रहण गर्नुहुनेछ। यहाँले कुनै प्रश्न उठाउनुहुने छैन, किनकि त्यो दूध जस्तै देखिन्छ र त्यसको स्वाद पनि दूधकै जस्तो हुन्छ। "यसै गरी, एक चतुर र कुटिल व्यक्तिले असत्यमा अर्धसत्यको सम्मिश्रण गरिदिन्छ र सर्वसाधारणका लागि त्यो कुरा स्वीकार गर्न अत्यन्तै सहज बन्दछ। अब यहाँले सहजै अनुमान लगाउन सक्नुहुनेछ कि मेरो सङ्केत कुन दिशातिर छ। हाम्रा राजनेता, धार्मिक गुरु र समाजका यी स्वघोषित संरक्षकहरूले कसरी जनमानसलाई नियन्त्रण गरिरहेका छन्? उनीहरूले असत्यमा थोरै सत्यको जलप लगाएर कसरी शोषण र शासन गरिरहेका छन्, त्यो विचारणीय छ। यदि कसैले दुईवटा असत्य कुराको बीचमा एउटा सत्य शब्द राखिदिन्छ भने, मानिसहरूले बाँकी रहेका व्यर्थका कुराहरूलाई पनि सत्य नै ठान्दछन्। किनकि त्यो सत्य झैँ प्रतीत हुन्छ र सत्य झैँ सुनिन्छ। मानिसहरू लाइ लाग्छ 'हो, उसले यो एउटा कुरा त सत्य नै भन्यो'; र त्यही सानो प्रकाशले बाँकी रहेको विशाल अन्धकारलाई पूर्णतः ओझेलमा पारिदिन्छ। यो वास्तवमा जनमानसलाई नियन्त्रण गर्ने एउटा सुविचारित प्रविधि हो। यसरी नै सत्यको भयानक दुरुपयोग भइरहेको छ। यो साधारण झुट बोल्नुभन्दा पनि भयावह दुरुपयोग हो। पूर्ण असत्य त कुनै न कुनै दिन पक्राउ पर्न सक्छ, तर अर्धसत्यलाई पहिचान गर्नु र समात्नु लगभग असम्भव हुन्छ। व्यक्तिले यसलाई सहजै स्वीकार गर्दछ र उसको यो दृढ मान्यता बन्दछ कि यसले त सत्य नै बोलेको छ'। अझ त्यो व्यक्ति मधुर भाषी छ, उच्च पदमा आसिन छ, सम्पन्न छ र देख्दा पनि सुन्दर छ भने मानिसहरू झन् छिटो भ्रमित हुन्छन्। उनीहरू सोच्दछन् 'यति प्रतिष्ठित व्यक्तिले बोलेपछि त त्यो सत्य नै होला'। वास्तवमा, मानिसहरूले गर्ने यो नै सबैभन्दा ठुलो बौद्धिक मूर्खता हो।" "सत्यभाषीलाई सत्यवादी मानिसहरूको सहजै पहिचान हुन्छ। के सत्य हो र के असत्य हो, त्यो उसले तत्कालै बोध गर्न सक्दछ। जसरी यहाँले हासको त्यो प्रसिद्ध दृष्टान्त सुन्नुभएको होला दूध र पानीको मिश्रण सामुन्ने राखिदिँदा उसले केवल दुध ग्रहण गर्दछ र पानीलाई छोडदिन्छ। यो एक उदाहरण मात्र हो। यसै गरी, जसलाई सत्यको पहिचान छ र जसको वाक्-शुद्धि भएको छ, उसले अरूको वाणीमा लुकेको असत्यलाई तुरुन्तै ठम्याउन सक्दछ। त्यसैले, त्यस्तो व्यक्तिलाई भ्रमित तुल्याउनु, मूर्ख बनाउनु वा उसको शोषण गर्नु असम्भव हुन्छ। यदि यहाँको वाक्-शुद्धि भएको छ भने यहाँ असत्यवादीहरूको चक्रव्यूहमा कहिल्यै पर्नुहुने छैन। के मिथ्या हो र के यथार्थ, यहाँले तत्कालै बुझ्नुहुनेछ। तर यदि यहाँ स्वयम् असत्यमा अल्झिनुभएको छ भने, यहाँ जस्ता मानिसहरूलाई नियन्त्रण गर्न अत्यन्तै सरल हुन्छ; उनीहरूले यहाँबाट जे चाहन्छन्, त्यही गराउन सक्दछन्। यसै कारण, सत्य बोल्ने व्यक्तिसँग समाजको शक्तिशाली व्यक्ति पनि भयभीत हुन्छ। यहाँले सत्य र असत्यको यो विवेक केवल ज्ञान र अध्यात्मका लागि उपयोग गर्नुपर्दछ, यसलाई सांसारिक प्रयोजनका लागि होइन। मैले यो उदाहरण यहाँलाई सांसारिक लाभका लागि दिएको होइन। वास्तवमा, एक सच्चा आध्यात्मिक साधकलाई यो संसार र यसका प्रपञ्चसँग कुनै सरोकार हुनु हुँदैन। "त्यसैले, सत्यको जुन कसी वा मापदण्ड यहाँले बनाउनुभएको छ र के सत्य हो, के होइन भन्ने जुन बोध यहाँले पाउनुभएको छ, त्यसले अब यहाँको दृष्टि बदल्नेछ। यहाँको बोली शुद्ध भएपछि अब अरूको मात्र होइन, गुरुको वाणीमा पनि सत्य र असत्य प्रस्ट देखिन थाल्नेछ। अब यहाँलाई कसैले पनि झुट बोलेर अलमल्याउन सक्ने छैन। यहाँ सत्यको साथमा हुनुहुन्छ, त्यसैले जति सत्य छ त्यतिलाई मात्र स्वीकार गरेर बाँकी झुटलाई त्यत्तिकै छोडिदिन सक्नुहुन्छ। हास ले दूध र पानी छुट्याए जस्तै, यहाँका लागि जे उपयोगी छ त्यति मात्र लिनुहोस्, बाँकीलाई जान दिनुहोस्। कसैले झुट बोल्यो होला, त्यसको आफ्नै केही कारण होला, तर हामीलाई त्यससँग के मतलब? यो त मायाको संसार हो, यहाँ सुरुदेखि नै झुट चल्दै आएको छ र चलिरहनेछ। हजारौँ वर्षदेखि चल्दै आएको यो शृङ्खला भविष्यमा पनि जारी रहनेछ। हामीलाई त यो सबै जञ्जालबाट पूर्ण छुटकारा चाहिएको छ। हामी यहाँ यो संसार वा झुटलाई ठीक गर्न आएका होइनौँ, हामीलाई त केवल मुक्ति चाहिएको छ। साँचो कुरा त यो हो कि यहाँले यसलाई ठीक गर्न पनि सक्नुहुन्न। यहाँ करोडौँ-अरबौँ मानिस छन्; ती सबैलाई रातारात कसरी सत्यवादी बनाउन सकिन्छ र? यहाँको जीवन अब जति वर्ष बाँकी छ, त्यो केवल आफैँलाई सुधार्नमा खर्च गर्नुहोस्। यदि यहाँले आफ्नो सबै ध्यान बोलीको शुद्धिमै लगाउनुभयो भने, यो काम धेरै छिटो हुन्छ। "यसको अर्थ यो होइन कि अब सबै कुरा राम्रो मात्र हुनेछ। यहाँका धेरै शत्रुहरू पनि बन्नेछन्। यदि यहाँले संसारमा सत्यको प्रयोग सुरु गर्नुभयो भने, म यो भन्दिनँ कि त्यसो नगर्नुहोस्। यहाँलाई जे मन पर्छ त्यही गर्नुहोस्, तर सत्यको वास्तविक प्रयोग ज्ञान आर्जन र बोलीको शुद्धिका लागि हुनुपर्दछ। यहाँ केवल झुट नबोल्नुहोस्, बाँकी मानिसहरू जेसुकै होऊन्, उनीहरूको चिन्ता नगर्नुहोस्। यसो गर्दा यहाँको वाणीमा शक्ति आउनेछ र बोलीमा चमत्कारहरू हुन थाल्नेछन्। मुखबाट स्वतः सत्य निस्कनेछ। यहाँले बोल्न सुरु गरेपछि थाहै नपाई वर्षा झैँ सत्य वचनहरू झर्न थाल्नेछन् र मुखमा साक्षात् सरस्वतीको वास हुनेछ। किनभने यहाँले सत्यको साथ रोज्नुभएको छ। सत्यले यहाँलाई आध्यात्मिक उचाइसम्म पुर्याउनेछ। संसारको उचाइको यहाँ कुनै अर्थ छैन, किनकि संसारमा केही पनि सत्य छैन। हामीले त यसैबाट छुटकारा पाउनुछ। जब बोलीमा शुद्धि हुन्छ, तब विचार पनि शुद्ध हुन थाल्छन्। यहाँको आचरण पनि पवित्र बन्दै जानेछ। जसले झुट बोल्छ, उसले झुटो कर्म नै गर्छ। जसले अश्लील बोल्छ, उसका कर्म पनि अश्लील नै हुन्छन्। जसले धेरै बोल्छ, उसका कर्मको कुनै अर्थ हुँदैन; ती बेकार र निरर्थक हुन्छन्। जो हिंसापूर्ण बोल्छ, ऊ पशु जस्तै क्रोधी हुन्छ र जसले तितो बोल्छ, उसको जीवन नरक समान हुन्छ। साँचो होस् वा झुटो, एउटा कुरा सधैँ ध्यानमा राख्नुहोस् सत्यको प्रयोग अध्यात्ममा गर्ने हो, संसारमा होइन। यसबाट बोली शुद्ध हुनेछ र विचारमा पनि स्वच्छता आउनेछ, किनकि यी दुवैको आपसमा गहिरो नाता छ। विचार शुद्धिको बारेमा हामी अर्को भागमा चर्चा गर्नेछौं।"
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions