Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - ८ : चेतनाशुद्धि (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** "बोधि वार्तामा यहाँलाई स्वागत छ। अन्तर्शुद्धि शृङ्खलाको अन्तिम भागमा हामी 'चेतना शुद्धि' बारे चर्चा गर्नेछौँ। चेतना के हो? चेतना त्यो प्रकाश हो, जसले हरेक अनुभूतिलाई आलोकित गर्दछ। यो त्यस्तो सत्य हो, जसमा अनुभव सम्भव हुन्छ। चेतनाको यो प्रकाश अनुभवकर्ता स्वयम् हो; जसलाई अध्यात्ममा 'आत्मा' वा 'ब्रह्म' भनिन्छ। यो त्यस्तो पूर्णता हो, जहाँ सारा अनुभव प्रकट हुन्छन् र विलीन हुन्छन्। यसै प्रकाशमा सबै घटना जन्मन्छन् र यसैमा विलय हुन्छन्। यसैमा जगत् प्रकट र अन्त्य हुन्छ। यसैमा जीवको जन्म र मृत्यु हुन्छ।" "सारा जीवन चेतनाको पटलमा चल्छ। चित्तमा यो प्रकाश र अनुभवकर्तालाई बुझ्ने क्षमता हुन्छ, जसलाई हामी 'चेतना' भन्छौँ। मेरो विचारमा चेतना स्वयम् प्रकाश होइन, यो केवल त्यसको प्रतिबिम्ब वा छाया मात्र हो। प्रकाश त सधैँ विद्यमान रहन्छ, चाहे त्यसको चेतना होस् वा नहोस्।" "जब एउटा चित्त अति विकसित हुन्छ, तब त्यसमा आत्मज्ञान भनिने प्रकाशको उदय हुन्छ र यसैबाट एउटा नयाँ प्रज्ञा वा बुद्धिको जन्म हुन्छ, जसलाई हामी चेतना भन्दछौँ। यो परिभाषा म प्रयोग गर्दछु; हुन सक्छ, कतै हजुरले यस शब्दका अन्य भिन्न परिभाषाहरू पनि पाउनुहुनेछ। तर हाम्रो उद्देश्यका लागि यति जान्नु पर्याप्त छ कि चेतना त्यो योग्यता हो, जसद्वारा यस सम्पूर्णताको प्रकाशलाई बोध गर्न सकिन्छ। यो चित्तको क्षमता हो; चित्त नभएको भए चेतना हुँदैनथ्यो। त्यसैले हजुर देख्न सक्नुहुन्छ कि चेतना शब्द चित्तबाटै निस्किएको हो। अनुभव सधैँ भइरहन्छ र अनुभवकर्ता पनि सधैँ रहन्छ; यी दुवै एकै हुन्, भिन्न होइनन्। चेतना सधैँ हुँदैन; चेतना केवल त्यस अति विकसित चित्तमा मात्र जागृत हुन्छ, जुन बुद्धिको सीमाभन्दा धेरै पर पुगिसकेको छ र जसले उच्चतम विकास हासिल गरिसकेको छ।" योगमार्गमा हामी यसलाई सहस्रार चक्रका नामले पनि चिन्दछौँ र योगको समस्त प्रयास त्यसै चक्रसम्म पुग्नु नै हुन्छ। यो त्यति कठिन छैन। यदि मैले यहाँलाई अहिले हजुरमा चेतना छ वा छैन भनी सोधेँ भने 'छ' भन्न हजुरलाई आधा सेकेन्ड मात्र लाग्नेछ। तर त्यहाँ टिकिरहन भने निकै कठिन छ। त्यस आधा सेकेन्डपछि व्यक्ति चिप्लिएर पुनः बुद्धि, अहम् भाव, भावना वा शरीर र जगत्का वस्तुहरूमा लिप्त हुन पुग्दछ र तल झर्दछ। चेतनाको यसै ऊर्जालाई कुण्डलिनी पनि भनिएको छ। कुण्डलिनी साधकको प्रयत्न चेतनाको यस शक्तिलाई तल खस्न नदिनु नै हुन्छ। यसलाई सधैँ ऊर्ध्वगामी राख्नु वा सधैँ सचेत रहनु नै साधकको वास्तविक पुरुषार्थ हो। सम्पूर्ण योग र आध्यात्मिक साधना यसै चेतनालाई कायम राख्ने उपाय हुन्, र यही नै वास्तविक साधना हो।" "ज्ञानमार्गमा हामी सिधै चेतनाको साधना गर्दछौँ र अन्य केही गर्दैनौँ। यहाँले बुझ्न सक्नुहुन्छ कि त्यहाँ सिधै पुग्नका लागि व्यक्तिको आन्तरिक विकास पहिल्यै यति भइसकेको हुनुपर्छ कि उसले चेतनालाई बुझ्न र त्यसलाई कायम राख्न सकोस्। ज्ञानमार्गमा हामी चेतनालाई बोध गर्न बुद्धिको प्रयोग गर्दछौँ। जस्तै आत्म-विचार वा गुरुले एकपटक यो चेतना हो भनी बताइदिएपछि हामी त्यसलाई हृदयङ्गम गर्ने प्रयास गर्दछौँ। हामी यो स्मरण गर्दछौँ कि मनुष्यका लागि चेतना नै परम हो र यसभन्दा माथि केही पनि जान्न असम्भव छ; यो नै ज्ञानको अन्त्य अर्थात् वेदान्त हो। यदि त्यो शिष्य वा साधक सिधै चेतनाको साधना गर्न योग्य छैन भने उसले अन्य मार्गहरू अपनाउनु पर्ने हुन्छ। जस्तै योग, कुण्डलिनी, हठयोग, तन्त्र साधना वा भक्ति, आराधना, उपासना र कर्ममार्ग मध्ये जुन उसका लागि उपयुक्त छ र गुरुले त्यस शिष्यको मूल्याङ्कन गरी बताउनुहुन्छ, साधकले त्यही मार्ग अपनाउनु पर्दछ।" "ज्ञानमार्ग उनीहरूका लागि उपयुक्त छ, जसले 'हो, चेतना छ' भनेर सिधै देख्न सक्दछन्। यो नै आत्मज्ञान हो भनी जान्नका लागि सायद दुई सेकेन्ड पनि लाग्दैन। मानिसहरूले चेतनालाई किन जान्न सक्दैनन्? किनकि यस चित्तमा अनेकौँ मान्यता र अशुद्धिहरू विद्यमान छन्। कसैले शरीरलाई नै परम मानेका छन् त कसैले यस चित्त, यसका भावना वा बुद्धिलाई नै सर्वोपरि ठानेर 'म यो हुँ, म त्यो हुँ' भनिरहेका हुन्छन्। यी त केवल वस्तु र अनुभव हुन्, जो आउँछन् र जान्छन्। चेतना पनि एक प्रकारको अनुभव हो जो आउँछ र जान्छ; तर जे आउँदैन, जे जाँदैन र सधैँ प्रकट रहन्छ, त्यो नै अनुभवकर्ता हो। जसले अनुभव गरिरहेको छ, त्यही 'म' हुँ र त्यही नै यो सारा अस्तित्व हो। जसलाई अहिलेसम्म यो मूलभूत ज्ञान भएको छैन र ज्ञानमार्गमा आउन चाहनुहुन्छ, उहाँहरूलाई मेरो बिन्ती छ कि मैले ज्ञानमार्गका आधारभूत सिद्धान्तका बारेमा बनाएका शृङ्खलाहरू सुन्नुहोस्। केही महिना त्यसमा ध्यान, आत्मविचार र मन्थन गर्नुहोस्; त्यसपछि मात्र चेतनाको शुद्धि सुरु गर्नुहोस्।" "अनुभवकर्ता के हो? अस्तित्व के हो? अनुभवको क्रिया के हो? यो जगत् के हो र यसलाई किन माया भनिएको हो? यो सबै ज्ञान आर्जन गर्नुहोस्। यसमा धेरै समय लाग्दैन; यदि बुद्धि शुद्ध भइसकेको छ भने यहाँले यो ज्ञान तुरुन्तै ग्रहण गर्न सक्नुहुनेछ। यो कुनै ठुलो कुरा होइन, यो यहाँकै सम्मुख छ। सत्यको एउटा विशेषता हुन्छ यदि कुनै कुरा सत्य हो भने त्यसका लागि यताउता भौँतारिनु वा कतै जानु पर्दैन। सत्य हजुरकै अगाडि हुन्छ र एक शुद्ध बुद्धिको व्यक्तिले त्यसलाई देख्न, जान्न र बुझ्न सक्दछ। त्यसपछि ज्ञानमार्गको समस्त प्रयास त्यस चेतनालाई प्रज्वलित र सधैँ प्रकाशित राखिराख्नु नै हो। अहिले चेतना छैन भन्ने होइन; यदि चेतना नहुँदो हो त जीवन पनि हुँदैनथ्यो। हजुरले केही पनि देख्न, सुन्न, गर्न वा बुझ्न सक्नुहुन्नथ्यो, किनकि यी सम्पूर्ण गतिविधि र घटनाहरूलाई चेतनाकै माध्यमबाट मात्र जान्न सकिन्छ। जब शरीर निद्रामा जान्छ, तब चेतना पनि ओझेल पर्छ र कुनै पनि अनुभवको ज्ञान हुन सक्दैन। यसको अर्थ यो होइन कि अस्तित्व वा अनुभवकर्ता पनि हराएर जान्छन्। उनीहरू विद्यमान हुन्छन्, तर त्यस समयमा कुनै महत्वपूर्ण अनुभव नहुने भएकाले स्मृतिमा केही पनि रहँदैन। त्यसैले हामी भन्दछौँ कि म निद्रामा हुँदा अचेत थिएँ वा मलाई होस थिएन। यी चित्तका अवस्थाहरू हुन् र चेतना चित्तको सर्वोच्च अवस्था हो, जसमा व्यक्तिको बुद्धि र जीवन पूर्ण रूपमा सचेत र आलोकित हुन्छ; यसैलाई हामी सविकल्प समाधि भन्दछौँ।" जब त्यही जीव निद्रा वा कुनै प्रकारको गहिरो ध्यानमा अन्तर्मुखी हुन्छ, त्यसलाई हामी निर्विकल्प समाधि भन्दछौँ। जो अनुभवकर्ता हो, त्यो नै परम समाधि हो र ऊ सधैँ समाधिमै रहन्छ। ऊ न सविकल्प हो, न निर्विकल्प; तर चेतना चित्तको एउटा स्थिति हो, जो आउने-जाने गरिरहन्छ। यदि यहाँले यति भेद बुझेर चेतनाको शुद्धिकरण सुरु गर्नुभयो भने, बिस्तारै चेतनाले अनुभवकर्ताकै स्वभाव ग्रहण गर्न थाल्दछ। चेतनाको शून्यता बिस्तारै कम हुँदै जान्छ र एउटा यस्तो समय आउँछ, जहाँ चित्तको जुनसुकै स्थितिमा पनि चेतना सधैँ पूर्ण रूपमा प्रकाशित हुन्छ, जसलाई तुर्यावस्था पनि भनिएको छ। हरेक स्थितिमा पूर्ण रूपले सचेत रहनु नै तुर्यावस्था हो। चाहे त्यो जाग्रत, स्वप्न वा निद्रा होस्, वा मृत्यु पश्चात् र जन्मपूर्वको अवस्था वा सूक्ष्म शरीरको अवस्था नै किन नहोस्; जुनसुकै लोकको जुनसुकै अनुभवलाई एउटै चेतनाले अनुभव गर्दछ। त्यो 'म स्वयम्' हुँ। म नै त्यो चेतन प्रकाश हुँ र म नै स्वयम्-प्रकाशित अनुभवकर्ता हुँ। यो नै वास्तविक आत्मज्ञान हो।" "अनि चेतनाको शुद्धि आत्मज्ञानबाट सुरु हुन्छ। यसमा अशुद्धि आउनुको मुख्य कारण आत्मज्ञानको अभाव नै हो। त्यसैले चेतना कहिले हुन्छ त कहिले हुँदैन; कहिले आधा त कहिले शून्य हुन्छ। यस्तो किन हुन्छ भने हामीमा आत्मज्ञान छैन। आम मानिसमा त यो हुँदै हुँदैन, तर मैले धेरै साधकहरूमा समेत आत्मज्ञान नभएको देखेको छु। उनीहरू केवल योग र सानातिना साधनाहरूमा नै आफ्नो अमूल्य जीवन व्यतीत गर्दछन्। मेरो मान्यता छ कि यदि हजुर अध्यात्म मार्गमा लागेर यी कुरा सुन्दै हुनुहुन्छ भने नत्र त सुन्नुहुने पनि थिएन सबैभन्दा पहिले हजुरले आत्मज्ञान प्राप्त गर्नुपर्दछ। 'म को हुँ, मेरो वास्तविक तत्त्व र मर्म के हो' भनी जान्ने गम्भीर प्रयास यहाँले गर्नुपर्दछ। त्यसपछि हजुरलाई मनपर्ने जुनसुकै पद्धतिबाट साधना गर्न सक्नुहुन्छ; किनकि सबैको अन्तिम लक्ष्य समाधि नै हो। सबै साधनाको ध्येय चेतनाको दिव्य प्रकाशमा सधैँ रहनु नै हो। चेतनाका अशुद्धिहरूबारे चर्चा गर्नुअघि म यो भन्न चाहन्छु कि यदि चेतना शुद्धि भयो भने अन्य शुद्धिहरू गरिरहनु पर्ने खासै आवश्यकता रहँदैन। पहिलेका सात भागहरूमा मैले बताएका शुद्धिहरू यहाँले नगरे पनि कुनै ठुलो नोक्सानी हुँदैन। यति मात्र हो कि ती शुद्धिहरू पनि साथै लैजाँदा प्रगति अझ छिटो हुन्छ। वर्षौँ लाग्ने काम महिना वा केही दिनमै हुन सक्छ; किनकि चेतनामा यस्तो सामर्थ्य छ, जसले अन्य सबै शुद्धिहरू स्वतः गरिदिन्छ।" "यदि हजुरलाई यो कुरा मान्न कठिन लाग्छ भने एउटा उदाहरण लिऊँ के शुद्ध बुद्धि भएको व्यक्तिले जथाभाबी बोल्छ? के उसले अश्लील बोल्छ? के उसले झुट बोल्छ वा अनावश्यक कर्म गर्छ? के उसले हिंसा र हानि हुने कार्य गर्छ? के उसले आफ्नो शरीर र वातावरणमाथि अत्याचार वा क्षति पुर्याउँछ? यसको उत्तर सहज छ गर्दैन। किनकि बुद्धिमा अशुद्धि भएपछि मात्र व्यक्तिले यस्ता कार्यहरू गर्दछ। बुद्धि सफा नभएपछि व्यक्तिको आचरण बिग्रन्छ र अशुद्ध हुन थाल्छ। मैले अघि भनेझैँ, ज्ञानमार्गमा हामी विपरीत दिशाबाट यात्रा सुरु गर्छौँ, ताकि सबै अशुद्धिहरू स्वतः हटेर जाउन्। हामी इन्जिनबाटै सुरु गर्छौँ। यहाँले देख्नुहुनेछ कि यदि विचार शुद्ध छ भने वाणी स्वतः शुद्ध हुन थाल्छ। हजुरले केही गर्नु पर्दैन; वाणी शुद्ध भएपछि आचरण र सम्बन्धहरू आफैँ राम्रा हुन्छन् र अनावश्यक सम्बन्धहरू टुट्दै जान्छन्। जब हजुर चित्तका तल्लो तहहरूमा पुग्नुहुन्छ, तब माथिल्लो तहको शुद्धताले तल्लो तहलाई पनि स्वतः शुद्ध बनाइदिन्छ। ज्ञानमार्गमा हामी सबैभन्दा माथिल्लो तहबाट सुरु गर्छौँ र त्यहाँबाट शुद्धिको अमृत तलतिर प्रवाहित हुन थाल्छ। यसले चित्तका सबै तहलाई परिष्कृत गर्दछ र हजुरको अन्तर्शुद्धि आफैँ हुन थाल्छ।" मैले पहिलो भागमा भनेझैँ, ज्ञानमार्गका लागि अन्य शुद्धि गरिहनु अनिवार्य त छैन, तर कार्य सिद्धिको गति बढाउन ती शुद्धिहरू गर्न सल्लाह दिइन्छ। यसो गर्दा हजुर त्यो सच्चिदानन्द र परमानन्दको अवस्थामा छिट्टै पुग्न सक्नुहुन्छ। दुःख, संसार, पीडा र बन्धनको अन्त्य निकै चाँडो हुन सक्छ। यदि हजुरले चेतनाबाट सुरुवात गर्नुभयो भने जीवनमुक्ति निकै छिटो प्राप्त हुन सक्छ; त्यसैले यसलाई 'सीधा मार्ग' भनिएको हो। बौद्ध मार्ग जस्तै अन्य धेरै परम्पराहरूमा पनि यही मार्ग अपनाइन्छ। त्यसैले जहाँसम्म सम्भव छ, उच्च तहहरूबाट सुरुवात गर्दा हजुरको आध्यात्मिक कार्य सहज हुनेछ। यदि चेतनाबाट सुरु गर्न सम्भव छैन वा आत्मज्ञानमा समस्या आइरहेको छ भने, यसको अर्थ कि त बुद्धिको पूर्ण शुद्धि भइसकेको छैन वा अन्य अशुद्धिहरूका कारण चेतना माथि स्थिर हुन सकेको छैन। त्यो तलतिर चिप्लिन्छ; त्यसैले पहिले अन्य शुद्धिहरू पूरा गर्नुहोस् र पुनः चेतनासम्म पुग्ने प्रयास गर्नुहोस्।" "यदि हजुरलाई यी सबै कुरा के हुन् भनी बुझ्न गाह्रो हुन्छ भने गुरुको मार्गदर्शन आवश्यक पर्दछ। गुरुमाथि विश्वास हुनु जरुरी छ, किनकि अज्ञानीलाई यो सबै के हो भनी बुझ्न असम्भव हुन्छ। श्रद्धाको अभावमा व्यक्तिले केही पनि गर्दैन; उसलाई यी सबै कुरा उटपट्याङ जस्तो लाग्छ र मनमा शंका उब्जन्छ। 'म आरामसँग बाँचिरहेको छु र जीवनको पूर्ण आनन्द लिइरहेको छु, मलाई यी सबैको के खाँचो' भन्नुको अर्थ हजुर आध्यात्मिक मार्गमा हुनुहुन्न। अहिलेका लागि आफ्नै जीवनलाई मार्ग बनाउनुहोस् र जीवनमै सुख खोज्नुहोस्। जीवन र संसारप्रति जसको अनासक्ति पैदा भएको छ, उनीहरू आध्यात्मिक मार्गमा छन् र उनीहरूका लागि शुद्धीकरण आवश्यक छ। नत्र, संसार त्यागेर पनि अध्यात्मको मार्ग नअपनाउने व्यक्तिको जीवन निकै कष्टकर वा नरकीय हुन्छ। ऊ न सांसारिक सुख भोग्न समर्थ हुन्छ, न त उसलाई आध्यात्मिक ज्ञान र शान्ति नै मिल्छ; ऊ बीचमै अलपत्र पर्दछ। यस्ता मानिसहरू बाटो अलमलिएका हुन् र उनीहरूले सही मार्गदर्शन पाएका छैनन्। तसर्थ, सबै गुरु, परम्परा, विज्ञान, तन्त्र र अध्यात्मको एउटै लक्ष्य भनेको यस्ता मानिसहरूलाई सही मार्ग देखाउनु हो। मार्ग देखाउन र त्यसको संकेत गर्न मात्र सकिन्छ, हिँड्ने त हजुर आफैँले हो; त्यसैले आफ्नो लक्ष्यबाटै यात्रा सुरु गर्नुहोस्। हुन सक्छ, चेतनाको साधना र शुद्धिबाटै बुद्धिको यस्तो जागरण होस् कि हजुरले अरू केही गरिरहनु नै नपरोस्।" जो सीधा मार्गमा छन्, उनीहरूले कुनै विशेष साधना वा तपस्या नगरेको यहाँले देख्नुभएको होला; जस्तै रमण महर्षि र निसर्गदत्त महाराज। उनीहरूले कहिल्यै कुनै तान्त्रिक क्रिया, योग वा प्राणायाम जस्ता अभ्यासहरू गरेनन्। उनीहरू जीवनमुक्त भएर यस्तो उच्च अवस्थामा पुगे कि उनीहरूको प्रकाशले सबैलाई आलोकित गर्यो र सबैलाई मार्ग देखायो। यति मात्र होइन, गुरु नानक, कबीर, मीरा, महावीर र जिसस जस्ता धेरै महान् व्यक्तित्वहरू यसका उदाहरण हुन्। उनीहरूले कुनै तान्त्रिक क्रिया वा कुनै प्रकारको योग गरेनन्। यसका लागि केही विलक्षणता आवश्यक हुन्छ। सुरुमा नैसर्गिक प्रतिभा भए मात्र सीधा मार्ग अपनाउनुपर्छ, नत्र शुद्धीकरण अत्यन्तै आवश्यक हुन्छ। 'म त्यति महान् हुन सक्दिनँ' वा 'म त अज्ञान र अन्धकारमा जन्मेकाले अब अगाडि बढ्न सक्दिनँ' भन्ने भ्रममा नपर्नुहोला। यस्तो सोच्नु मूर्खता हो; वास्तविकता केवल यति हो कि हजुरको चित्तमा केही अशुद्धि मात्र छ। अन्तर्शुद्धिले त्यो अशुद्धि हटेर जान्छ र यहाँले तुरुन्तै देख्नुहुनेछ कि हजुरको आध्यात्मिक यात्रा कुनै राजमार्गमा जस्तै द्रुत गतिमा अघि बढ्न थाल्नेछ र निकै तीव्र प्रगति हुनेछ।" "मानिसहरूको प्रगति यसकारण हुँदैन किनकि उनीहरू एउटै मार्ग नअपनाई यताउता भौँतारिरहन्छन् र आत्म-मूल्याङ्कन पनि गर्दैनन्। उनीहरू कति अन्धकार र कति गहिरो खाडलमा छन् अनि सही उपाय के हो भन्ने कुराको उनीहरूलाई पत्तो हुँदैन। विघ्न आउनासाथ संकल्प शक्तिको अभावमा उनीहरू मार्ग नै छोडिदिन्छन् वा पथभ्रष्ट हुन्छन्। उनीहरू यताउता तान्त्रिक क्रिया, पूजा-अर्चना र देवी-देवताका चक्करमा अल्झिन्छन् वा पूर्ण रूपमा पतन भएर सांसारिक भोगी बन्दछन्। त्यसैले म भन्दछु कि यो कठिन मार्ग र कठिन कार्य हो; यो सबैको सामर्थ्यको कुरा होइन। कृष्णले भन्नुभए जस्तै लाखौँमा एकले मेरो दर्शन गर्दछन् र तीमध्ये करोडौँमा एक मात्र ममा विलीन हुन्छन्। तर यसको अर्थ हामीले प्रयास नै नगर्ने भन्ने होइन। जब हजुरले प्रयास सुरु गर्नुहुन्छ, तब 'यो मबाट हुँदैन' जस्तो लागेर निकै कठिन महसुस हुन सक्छ। तर जब बिस्तारै अगाडि बढ्न थाल्नुहुन्छ, तब हजुरलाई यो त्यति कठिन पनि रहेनछ भन्ने आभास हुन थाल्छ। डर, अनिच्छा, दुर्बल संकल्प, विभिन्न अशुद्धि, विघ्न, अन्य मानिस, समाज र अज्ञानता नै हामीले परम स्थिति छिट्टै प्राप्त गर्न नसक्नुका कारण हुन्; केही भाग्यशाली मानिस मात्र तुरुन्तै त्यहाँ पुग्न सफल हुन्छन्।" "मेरो आफ्नै जीवनको यात्रा पनि यस्तै रहेको छ। यताउता भौँतारिएपछि, अनेकौँ मूर्खता गरेपछि र बिस्तारै केही शुद्धि भएपछि गुरुहरूको सम्पर्क र आशीर्वादले अलिअलि ज्ञान प्राप्त भयो। अब मेरो सम्पूर्ण समय यसै प्रकाशलाई फैलाउनमा बित्दछ र मेरो जीवनको अन्य कुनै लक्ष्य बाँकी छैन। अरूलाई मार्ग देखाउनु नै कुनै पनि ज्ञानीको जीवनको वास्तविक लक्ष्य हुनुपर्दछ। एकपटक त्यहाँ पुगिसकेपछि दुई कुरा मात्र बाँकी रहन्छन् आफ्नो चेतनालाई उच्च शिखरमा कायम राख्नु र सबै जीवलाई आफ्नै स्वरूप सम्झनु। सबै जीव मेरै स्वरूप भएकाले उनीहरूको अज्ञानता हटाउन यथाशक्य प्रयास गर्नु नै उत्तम हुन्छ। मेरो विचारमा सबै साधकहरूले यही गरिरहेका छन्। धेरै पटक देखिएको छ कि सबै प्रकारका शुद्धि हुन्छन् र बुद्धि पनि निकै राम्रोसँग चल्न थाल्दछ। अलिअलि बुद्धि शुद्ध पनि हुन्छ, तर कुनै गुरु वा आध्यात्मिक ज्ञानको सम्पर्कमा नआउँदा व्यक्ति पूर्णता प्राप्त गर्नबाट वञ्चित रहन्छ। किनकि हाम्रो समाजमा यस ज्ञानको सर्वथा अभाव छ। मैले पहिले पनि भनेको छु न त यो विद्यालय वा कलेजमा छ, न त टिभी वा पत्रपत्रिकामा नै यसबारे चर्चा हुन्छ। यहाँसम्म कि आमाबुबा वा साथीभाइ कसैलाई पनि यसबारे केही थाहा छैन; सबैजना एक प्रकारको गहन अन्धकारमा जीवन बिताइरहेका छन्।" "सबै कुरा अनुकूल हुँदाहुँदै पनि चेतनासम्म पुग्न सकिँदैन, यसैकारण यसलाई 'कृपा' भनिएको हो। जबसम्म कृपा हुँदैन, तबसम्म व्यक्ति अध्यात्मको सम्पर्कमा आउँदैन। यदि हजुर यहाँसम्म आइपुग्नुभएको छ र यो प्रवचन सुनिरहनुभएको छ भने, हजुरमाथि कृपा भइसकेको छ भन्ने कुरा निश्चित छ। अब तपाइँ अगाडि बढ्नुपर्छ। यस अवसरलाई उम्कन नदिनुहोस्; यस जीवनलाई व्यर्थ नष्ट नगर्नुहोस्। कसलाई थाहा, यस्तो कृपा पुनः नहुन पनि सक्छ! तर सबै जीवहरूमाथि यो कृपा भइरहेकै हुन्छ। जसले थोरै भए पनि प्रयास गर्छ र हात-पाउ चलाउँछ, उसले मार्ग र प्रकाश अवश्य पाउँछ। यदि हजुरको बुद्धि शुद्ध छ र अघिल्ला सातै भाग सुनेर आफूमा कुनै अशुद्धि नभएको महसुस गर्नुहुन्छ, तैपनि किन चेतनाको बोध भइरहेको छैन? यसको अर्थ हजुरको चेतना-शुद्धि अझै भएको छैन र जीवन अझै अचेतन नै छ। बुद्धि, वाणी र आचरण शुद्ध भए पनि अनि सम्बन्धहरूमा कुनै समस्या नहुँदा पनि कतिपयको जीवन अर्थहीन र उद्देश्यविहीन देखिन्छ। उनीहरूले त्यो वास्तविक आनन्द पाउँदैनन्; सामान्य सांसारिक भोगलाई नै सुख र आनन्द ठान्दछन्। यस्ता व्यक्तिलाई इन्द्रिय र शरीरको सुख त मिल्ला, तर वास्तविक शान्ति र सन्तुष्टि मिल्दैन र उनीहरू भित्रभित्रै सधैँ केही न केही खोजिरहन्छन्।""उसलाई यति सम्म पनि थाहा हुँदैन कि म के खोजिरहेको छु। उसको अन्तःकरण पूर्णतः रिक्त हुन्छ र जीवनमा एउटा शून्यता एवं उदासीनता छाएको हुन्छ। बाहिरबाट सबै कुरा राम्रो देखिए पनि, जबसम्म व्यक्तिले 'मुक्ति' लाई आफ्नो जीवनको लक्ष्य बनाउँदैन, तबसम्म जीवन अर्थहीन र रिक्त नै रहन्छ। नत्र ऊ पथभ्रष्ट हुन्छ र कहिलेकाहीँ त अझ तल गिर्र्न थाल्छ, जहाँ प्रगतिको साटो अवनति हुन थाल्दछ। भएको थोरै चेतना पनि हराउन थाल्छ र भित्री प्रकाश बिस्तारै निभ्दै जान्छ। तसर्थ, यदि हजुरमाथि कृपा भएको छ भने यसलाई खेर जान नदिनुहोस्। तुरुन्तै आफ्नो मनमा चेतनाको प्रकाश प्रज्वलित गर्नुहोस्। यदि यी कुरा के हुन् भनी बुझ्न कठिन छ भने गुरुको शरणमा जानुहोस् र पहिले रेकर्ड गरिएका सामाग्रीहरू सुन्नुहोस्। यदि अझै स्पष्ट भएन भने सम्झनुहोस् कि गुरुको कृपा अनिवार्य छ। यदि हजुरको जीवन अचेतन छ भने यसलाई चेतनाको दिव्य प्रकासले भर्नुहोस्। चेतनाको शुद्धि आत्मज्ञानबाटै सुरु हुन्छ; 'म को हुँ' भन्ने वास्तविक बोध नभई चेतनाको प्रकाश सम्भव छैन। हाम्रा यी अनुभवहरूका अनुभवकर्ता को हुन्? यदि त्यो ज्ञान छैन भने हजुरको अहंकारले नै जीवन चलाउन थाल्छ; किनकि जीवन सञ्चालन गर्नका लागि केवल बुद्धिमा मात्र त्यति पर्याप्त शक्ति हुँदैन।"जबसम्म मनुष्यको शरीर रहन्छ, यसलाई अत्यन्त शक्तिशाली प्रक्रियाहरूले सञ्चालन गरिरहेका हुन्छन्। बुद्धि आउँछ र जान्छ; यो केही समयका लागि प्रकट हुन्छ र पुनः हराउँछ। आवश्यकता पर्दा यो प्रकाशित हुन्छ र त्यसपछि फेरि ओझेल पर्दछ। तर जीवनका नब्बे प्रतिशत कार्यहरू तल्लो स्तरका प्रक्रियाहरूद्वारा नै सञ्चालित भइरहेका हुन्छन्। जब आत्मस्वरूपको बोध हुन्छ, तब यस जीवनमा स्वतः पूर्ण नियन्त्रण प्राप्त हुनेछ। त्यस अवस्थामा न भय हुनेछ, न क्रोध, न वासना, न त कुनै दुःख नै; त्यहाँ केवल असीम शान्ति व्याप्त हुनेछ। बुद्धि र अन्य सबै कुरा यथावत् छन्, तर व्यक्तिले 'माया' लाई नै सत्य मानेको छ। यसैकारण ऊ मायाको पछि दौडिरहन्छ; तर माया त एउटा मायावी मृग जस्तै हो, जसलाई प्राप्त गर्न असम्भव छ। यदि यहाँ वास्तवमा केही हुन्थ्यो भने हजुरले पाउन पनि सक्नुहुन्थ्यो, तर यो त केवल एउटा सपना हो। सपनामा हजुरले जतिसुकै जोरजुलुम गरे पनि वा संग्रहको वृत्ति जति नै विशाल भए पनि, ती सबै अन्त्यमा यहीँ छुट्दछन् र सबै हराएर जान्छन्।" "हामी हरेक दिन निद्रामा जाँदा देख्छौँ कि निद्रा निर्विकल्प समाधि जस्तै हो। त्यहाँ न हजुर राजा हुनुहुन्छ, न भिखारी; न हजुरको परिवार, सन्तान, धन, सम्पत्ति वा मान-सम्मान नै रहन्छत्यहाँ केही पनि हुँदैन। हामी दिनहुँ एउटा सानो मृत्यु अनुभव गर्छौँ, तर त्यसमा ध्यान दिँदैनौँ। किनकि हामीलाई 'म त छु' भन्ने लाग्छ र निद्रा केवल एउटा अवस्था मात्र हो भन्ने बुझ्छौँ, जुन कुरा सत्य पनि हो। तर यो केही समयको कुरा मात्र हो, एक दिन यो निद्रा एउटा ठुलो निद्रामा परिणत हुनेछ। अनि हजुरले सङ्ग्रह गर्नुभएको मायाको यो व्यर्थ थुप्रो स्वतः हराएर जानेछ। त्यसैले, आफूसँगै के जान्छ भन्ने कुरामा अहिल्यै विचार गर्नु आवश्यक छ। एकपटक यो सबै माया हो भन्ने बोध भएपछि, हजुर त्यसको पछि दौडन सक्नुहुन्छ; यसमा कुनै नराम्रो कुरा छैन। यो त एउटा खेल र लीला हो, त्यसैले किन नखेल्ने? हामी यहाँ जीवनभर सिक्नका लागि आएका हौँ र सिक्नकै लागि मनुष्यका रूपमा जन्म लिएका हौँ। तर यसका अन्य उपयोग पनि छन्; यो खेल, लीला र मनोरञ्जन पनि हो। जब यहाँलाई मायाको दर्शन र ज्ञान हुन्छ, तब हजुर मायाको खेलमा निर्धक्क भएर सरिक हुन सक्नुहुन्छ। यसमा कुनै खराबी छैन; हजुर मायामा पूर्णतः लिप्त हुन सक्नुहुन्छ।" "धेरै मानिसहरूले मायाको स्वरूप देखेर त्यसमा आसक्ति त्याग गर्दछन् र सन्यासी बन्दछन्। एकपटक जगत्को माया देखिसकेपछि त्यसको प्रतिक्रिया के हुन्छ भन्ने कुरा पूर्णतः हजुरको आफ्नै प्रकृति र स्वभावमा निर्भर गर्दछ। आत्मज्ञानपश्चात् मायाको ज्ञान पनि निकै आवश्यक हुन्छ; त्यसैले मायाको ज्ञान प्राप्त गर्नुहोस्। यो जगत् किन माया हो? किन मेरा सबै अनुभवहरू जगत्का मात्र होइन, सम्पूर्ण अनुभवहरू नै मायावी, असत्य र स्वप्नतुल्य छन्? यसलाई बुद्धिको प्रयोग गरी अपरोक्ष अनुभवद्वारा प्रत्यक्ष देख्नुहोस्। मानिसहरूबाट सुनेकै भरमा पत्याउनु अन्धश्रद्धा र अन्धविश्वास मात्र हो। आध्यात्मिक शिष्यले यसो गर्दैन; साधक त स्वयम् जान्दछ र जान्ने प्रयास गर्दछ। माया के हो र यसको स्वभाव कस्तो छ भन्ने कुराको प्रत्यक्ष दर्शन गर्नुहोस्। हामीले ज्ञानमार्गको शृङ्खलामा यसबारे विस्तारपूर्वक बताएका छौँ; मायालाई जान्नका लागि त्यहीँबाट सुरुवात गर्नुहोस्। चित्त नै माया हो र माया चित्तकै निर्माण हो। त्यसैले चित्तलाई जान्नु नै मायालाई जान्नु हो। चित्तलाई बुझ्दा चेतना प्रकट हुन्छ र चित्तको शुद्धि आरम्भ हुन्छ। यो कुनै सामान्य ज्ञान होइन; चित्तको वास्तविक ज्ञानले हजुरलाई मुक्त गराई छाड्नेछ।" "कहाँबाट मुक्त गरिदिनेछ स्वयम् चित्तबाट? यहाँले देख्नुहुनेछ कि म चित्तको कुनै पनि तह होइन। म कुनै पनि प्रकारको अनुभव होइन। म त चेतनाको त्यो प्रकाश हुँ, जसले चित्तलाई प्रकाशित गर्दछ। यसले जसलाई प्रकाशित गर्दछ, ती मेरै स्वरूप हुन् र ती केवल माया मात्र हुन्। मैले नै यी रूपहरू धारण गरेको हुँ। म त्यो पटल हुँ, जसमा चित्रझैँ सारा अनुभवहरू आउँछन् र जान्छन्; ती सबै असत्य हुन्। यसबाट यहाँको अन्तर्शुद्धि निकै तीव्र हुनेछ र तत्काल अनासक्ति एवं मुक्ति प्राप्त हुनेछ। यसका लागि धेरै समय लाग्दैन; मात्र यस ज्ञानलाई कायम राखिराख्न थोरै प्रयत्न आवश्यक हुन्छ। किनकि कुनै न कुनै वृत्तिमा अल्झिरहनु नै चित्तको प्रवृत्ति हो, जसका कारण चेतनाको त्यो शक्ति तलतिर चिप्लिन्छ। कुण्डलिनी मार्गमा यसलाई तल्लो चक्रहरूमा स्थित भएको बताइएको छ। चक्रहरूको यो प्रारूप वास्तवमा चित्तकै एउटा नमुना हो। चित्तका विभिन्न तहहरूलाई नै चक्रका रूपमा देखाइएको छ र त्यहाँ जुन शक्तिको चर्चा गरिन्छ, त्यो नै चेतना हो। हजुरले चेतनालाई सधैँ सर्वोच्च शिखरमा कायम राख्नुपर्छ। ज्ञानकै सामर्थ्यले गर्दा तल्लो तहको शुद्धि स्वतः हुनेछ। यो प्रयोग यहाँले स्वयम् गर्नुपर्दछ; किनकि केवल जान्नु र त्यसलाई प्रयोगमा ल्याउनु दुई भिन्न कुरा हुन्। एकपटक ज्ञान प्राप्त भएपछि त्यसलाई आफ्नो आचरणमा अपनाउनुपर्दछ र वास्तविक जीवनमा उतार्नुपर्दछ।" "यदि यो सबै ज्ञान भए तापनि व्यक्ति कुनै सही मार्गमा लागेको छैन र ऊसँग गुरुको मार्गदर्शन छैन भने ऊ कुसंगतिमा फस्दछ। आम मानिसहरूको संगतमा परेर ऊ आध्यात्मिक मार्गबाट विमुख हुन्छ र उसको अमूल्य जीवन एवं समय नष्ट हुन पुग्दछ। त्यसैले सत्संग र ज्ञानीहरूको सामिप्यमा रहने प्रयास गर्दै आफ्नो जीवनलाई एउटा स्पष्ट लक्ष्य दिनुहोस्। हजुरको जीवनको वास्तविक लक्ष्यजीवन, संसार, मनुष्य जन्म, अन्धकार र अज्ञानबाट मुक्ति प्राप्त गर्नु हो। पीडा, दुःख र कष्टबाट मुक्त हुनु नै मुख्य ध्येय हो; यसलाई सधैँ आफ्नो सम्मुख राख्नुहोस् किनकि समय निकै कम छ। यो जीवन दियो जस्तै हो, जो केही समय बलेर निभ्छ। जबसम्म जीवनको ज्योति रहन्छ, यसको प्रकाशको पूर्ण सदुपयोग गर्नुहोस्। यो जीवन किन प्राप्त भयो र यसको लक्ष्य के हो भनी विचार गर्नुहोस्। हरेक अनुभवमाथि प्रश्न चिन्ह खडा गर्दै 'के यो मेरो वास्तविक लक्ष्य हो? यसको अर्थ के हो?' भनी जान्नका लागि आफ्नो तर्क, बुद्धि र विवेकको प्रयोग गर्नुहोस्। अरूले दिएको वा थोपरेको लक्ष्यलाई आँखै चिम्लेर सत्य नमान्नुहोस्; आफ्नो लक्ष्य आफैँ निर्धारण गर्नुहोस्। हुन सक्छ त्यो लक्ष्य अर्को व्यक्तिका लागि सुखद र मुक्तिदायी होला, तर हजुरका लागि भने त्यो पूर्णतः अर्थहीन हुन सक्छ। जबसम्म बुद्धिको शुद्धि हुँदैन, तबसम्म हजुरले आफ्नो वास्तविक लक्ष्य पनि पहिचान गर्न सक्नुहुन्न।" "एकपटक चेतनाको प्रकाश आएपछि लक्ष्य यहाँको सम्मुख स्वतः प्रकाशित हुनेछ। यति पनि हुन सकेन भने गुरुको सामु पूर्ण समर्पण आवश्यक हुन्छ। गुरुले के प्राप्त गर्नुभएको छ र उहाँ कुन शिखरमा पुग्नुभएको छ, त्यो देख्नुहोस्; त्यसबाट यहाँको श्रद्धा अझ प्रगाढ हुनेछ। गुरुको शरीरलाई मात्र हेर्नु वास्तविक दर्शन होइन; उहाँले के पाउनुभएको छ भन्ने कुराको बोध गर्नु नै साँचो गुरु-दर्शन हो। यो बोध भएपछि गुरुको जुन परम लक्ष्य छ, त्यसैलाई आफ्नो बनाएर अपनाउनुहोस्। सुरुमा यी कुरा बुझ्न कठिन भए तापनि जब यहाँ गुरुको हात समातेर त्यसै मार्गमा अघि बढ्नुहुन्छ, बिस्तारै सबै कुरा स्पष्ट हुँदै जानेछ। यदि यहाँको ध्यान यताउता भड्किएर थप धन, सुख-सुविधा, सन्तान, राजपाट वा पदोन्नति जस्ता सांसारिक चाहनामा अल्झियो भने त्यो मार्गको अवरोध बन्नेछ। ठुलो कम्पनी खोल्ने, पुस्तक लेख्ने, आविष्कार गर्ने वा देश र समाजका लागि केही गर्ने जस्ता बौद्धिक लक्ष्यहरू पनि कहिलेकाहीँ भ्रम वा विकर्षणका रूपमा आउन सक्छन्, जुन धेरै मानिसमा देखिन्छ। कहिलेकाहीँ त मैले ठुला-ठुला गुरुहरूमा पनि यस्तो विकर्षण देखेको छु। यदि ती कार्यहरूबाट मानिसहरूको भलो भइरहेको छ भने तिनलाई निरन्तरता दिन सकिन्छ, तर यदि यहाँको जीवनको कुनै स्पष्ट आध्यात्मिक लक्ष्य छैन र स्वयंको उन्नतिका लागि कुनै ध्येय छैन भने ती सबै कार्यहरू अन्ततः व्यर्थ र आधारहीन साबित हुनेछन्।" "अध्यात्ममा आत्मा नै प्रधान हुन्छ। जबसम्म मेरो आत्माको लक्ष्य प्राप्त हुँदैन, तबसम्म यी अन्य सानातिना लक्ष्यहरू कुनै कामका हुँदैनन्। सबै कुरा पहिलेदेखि नै जस्तो हुनुपर्ने हो, त्यस्तै छ भनेर देख्नुहोस्; यो अस्तित्व पूर्णतः सुन्दर र आफैँमा परिपूर्ण छ। यसमा केही थप्न वा घटाउनु पर्ने आवश्यकता छैन, न त केही गरिरहनु नै पर्छ। हामीले यसलाई देख्न नसक्नु र 'धेरै कुरा सच्याउनु छ' भन्ने सोच्नु नै हाम्रो अज्ञानता हो। जब व्यक्तिले यसैलाई जीवनको लक्ष्य ठान्दछ, तब ऊ आफ्नो वास्तविक मार्गबाट पथभ्रष्ट हुन पुग्दछ। निकै उच्च स्तरमा पुगेपछि पनि कतिपय मानिसहरू आफ्नो चेतनाको प्रयोग यसरी नै समय नष्ट गर्नमा गर्दछन्। हजुर अझ माथि उठ्नुपर्छ; हजुरको प्रकाशमा अन्य मानिसहरू स्वतः माथि उठ्नेछन्। हजुरले धेरै केही गर्नु पर्दैन; केवल यस ज्ञानको प्रकाश फैलाउनुपर्छ र जो कोही हजुरको सम्मुख आउँछन्, उनीहरूलाई यो असीम ज्ञानको सागर बाँड्नुपर्छ। जति धेरै बाँड्नुहुन्छ, त्यति नै यो बढ्दै जानेछ। यसभन्दा ठुलो कुनै सेवा वा कार्य छैन; ज्ञानको दान नै सर्वश्रेष्ठ दान हो। बाँकी सबै दानहरू सामान्य हुन्। हजुरले जुन कुरा दान गर्नुहुन्छ, के ती साँच्चै हजुरका हुन्? ती त सबै माया मात्र हुन्। मायामा व्यक्ति अन्धो हुन्छ र उसले अर्को व्यक्तिलाई आफूभन्दा भिन्न देख्दछ। ऊ ठान्दछ कि 'मसँग केही आफ्नै चिज छ र म त्यो अरूलाई दिन चाहन्छु', तर वास्तवमा त्यो अर्को व्यक्ति पनि 'म' नै हुँ र त्यो मेरै स्वरूप हो।" "अनि यो जुन लेनदेन भइरहेको छ, ती सबै माया र सपना मात्र हुन्। सपना खुलेपछि सपनाका पात्र, घटना र वस्तुहरू कहाँ विलीन हुन्छन्, कसैलाई थाहा हुँदैन; ती न कहिल्यै थिए, न छन्, न कहिल्यै हुनेछन्। यस सपनाबाट बिउँझनुहोस् र अरूलाई पनि जगाउनुहोस्; यसभन्दा ठुलो ज्ञान, सेवा र दान अरू के हुन सक्छ? आफ्नो ध्यान भड्कन नदिनुहोस्। जब 'सबै कुरा म नै हुँ र सबै मेरै स्वरूप हो' भन्ने ज्ञान हुन्छ, तब हरेक अनुभव अनुभवकर्ताकै रूप हो भन्ने बोध हुन्छ। जसरी हरेक गहना सुनको र हरेक घडा वा मूर्ति माटोकै रूप हुन्छ, त्यसैगरी यस चेतनाको पटलमा आउने हरेक प्रकारको अनुभव 'म' नै हुँ। जब यो ज्ञान हुन्छ, तब यस्ता भ्रम, विकर्षण र अज्ञानता स्वतः हटेर जानेछन्। यदि यहाँको चेतना 'म' र 'म बाहेकको' द्वैतमा विभाजित छ भने, त्यसलाई अद्वैत र एकाकारको स्थिति अर्थात् समाधिमा ल्याउनुहोस्। त्यहाँ देख्नुहुनेछ कि न अनुभव छ, न अनुभवकर्ता; त्यहाँ त केवल अनुभवको क्रिया वा एकता मात्र छ। अनुभव र अनुभवकर्ताको बीचमा रहनु नै अनुभव-क्रिया हो र यही नै वास्तविक समाधि हो। समाधिको अर्थ नै त्यो बुद्धि हो जो 'सम' (समान) हुन्छ न यता, न उता, न बाहिर, न भित्र। जे बाहिर छ, त्यही भित्र छ भनी देख्नु नै समाधि हो र यस स्थितिमा चित्तलाई स्थिर राख्नु सविकल्प समाधि हो। यही समाधिले यहाँलाई मुक्त गरिदिनेछ र यही समाधि पछि निर्विकल्प हुनेछ। तब यहाँले देख्नुहुनेछ कि न त्यहाँ समय छ, न स्थान, न त माया नै। त्यहाँ केवल 'म' मात्र रहनेछु। यही कैवल्य हो, यही ब्रह्म हो र यही नै मेरो वास्तविक स्वरूप हो।"
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions