Wise Words
Home
Read
Write
Publish
Profile
Logout
आत्ममंथन (नेपाली )
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** "नमस्कार! ज्ञान सूत्रमा यहाँलाई स्वागत छ। मन्थन त्यसलाई भनिन्छ, जब हामी दहीबाट नौनी निकाल्छौँ। जसको अर्थ हो त्यसको सार निकाल्नु, त्यसको शोधन र शुद्धीकरण गर्नु। जुन आवश्यक छैन, त्यसलाई फालिदिनु र जुन सबैभन्दा आवश्यक छ, त्यसलाई छुट्ट्याएर त्यसको उपयोग गर्नु। यो नै मन्थन हो। आत्म-मन्थन के हो? मेरो जीवनको सार खोज्नु, आफ्नो सार खोज्नु, यस जीवनको उद्देश्य खोज्नु, जीवनको अर्थ जान्नु र मनुष्य हुनुको अर्थ बुझ्नु। जुन अनावश्यक छ, त्यसलाई हटाइदिनु। जुन मेरा लागि र मेरो जीवनका लागि सबैभन्दा आवश्यक छ, त्यसको दर्शन गर्नु र त्यसलाई जान्नु। यो नै आत्म-मन्थन हो। जब हामीले थाहा पाउँछौँ कि म यहाँ किन आएको हुँ र के गर्न आएको हुँ, मेरो यस जीवनको उद्देश्य के हुनेछ? त्यसलाई हामी 'लक्ष्य' भन्दछौँ। त्यसो भए आत्म-मन्थन किन गर्ने त? आफ्नो लक्ष्य जान्नका लागि।" "धेरै मानिसहरूले यो गर्दैनन्। धेरै मानिसहरूले निकै ढिलो गरेर गर्छन्, जब उनीहरू मर्ने बेला हुन्छन् अनि सोच्छन् कि मेरो जीवन त बितिगयो, मैले त केही पनि गरिनँ वा त्यही काम गरेँ जो पूर्णतः अर्थहीन थियो, पूर्णतः अनावश्यक थियो, जुन पशुहरूले पनि गर्छन्। अनि कतिपय मानिसहरू बिचरा सारा जीवन दिशाहीन र लक्ष्यहीन भएर बिताइदिन्छन् र त्यसैगरी मर्छन्। के भएको छ भने तपाईँको कुनै लक्ष्य नभएकाले समाज जनताले तपाईँलाई चलाइरहेका छन्, समाजले तपाईँलाई चलाइरहेको छ। यी नीच नेताहरूले तपाईँलाई चलाइरहेका छन्। टेलिभिजन र समाचार पत्रहरूले तपाईँलाई चलाइरहेका छन्, त्यसैले तपाईँको जीवन नरकीय छ। त्यसमा न कुनै खुसी छ, न कुनै सन्तुष्टि छ, न त त्यसको कुनै अर्थ नै देखिन्छ। मृत्युको डर सधैँ रहिरहन्छ। केही गुम्ने डर सधैँ रहिरहन्छ। जे जम्मा गरेको छु त्यो हराउने हो कि, कसैले मलाई छोडिदिने हो कि भन्ने डर हुन्छ। किन? किनकि म आफैँमा त केही पनि होइन। के आवश्यक छ, त्यो मलाई थाहा छैन। कसैले जे भनिदियो, जे पट्टी पढाइदियो, त्यही कुरा आवश्यक बन्न पुग्छ। मैले के गर्ने, मलाई थाहा छैन। मेरो त कुनै संकल्प नै छैन। अरूले जे थोपरिदिन्छन्, जबरजस्ती डन्डा लगाएर जे गराउँछन्, त्यही नै संकल्प बन्न पुग्छ। 'गर, नत्र कसैले आएर कुट्नेछ, जागिरबाट निकालिदिनेछ। स्कुलमा फेल हुनेछु, त्यसैले पढ्नु छ। श्रीमतीले छोडिदिनेछिन्, त्यसैले प्रेमको ढोंग गर्नु छ।' यस्तै जीवन चलिरहेको छ। म त भन्छु कि पशुहरू योभन्दा धेरै राम्रो अवस्थामा छन्। प्रकृतिले उनीहरूको जीवन चलाइरहेको छ, केही गर्नु पर्दैन। सबै कुरा दिइएको छ। पशुहरूलाई उनीहरूको लक्ष्य दिइएको छ, त्यसैले उनीहरू धेरै सुखी छन्। बाँच्छन् तैपनि कुनै गुनासो छैन, मर्छन् तैपनि कुनै गुनासो छैन।" "मानिसमा बुद्धि भएका कारणले दुर्भाग्यवश वा सौभाग्यवश उसलाई आफ्नो लक्ष्य रोज्ने यो सिद्धि प्राप्त छ। उसलाई स्वयं आफ्नो लक्ष्य तय गर्ने यो स्वतन्त्रता छ। अस्तित्व लक्ष्यहीन छ र यसमा सबै लक्ष्यहरू छन्, त्यसैले तपाईँलाई कुनै लक्ष्य दिइएको छैन। ध्यान दिनुहोस्, जब बुद्धिको उदय हुन्छ तब थोपरिएको लक्ष्य स्वीकार हुँदैन। बुद्धिहीनका लागि थोपरिएको लक्ष्य नै उसको लक्ष्य हुन्छ। तर बुद्धिमान व्यक्तिले आफ्नो लक्ष्य आफैँ जान्दछ। उसमाथि कसैले थोपर्न सक्दैन के गर्ने, के सोच्ने वा के बोल्ने? उनान्सय प्रतिशत मानिसहरूको हकमा यो हुन सकेको छैन। किन? कसैलाई यो कुरा थाहा नै छैन। अज्ञानता छ। तपाईँको समाजमा यसको पूर्ण अभाव छ। कसैलाई पनि आत्म-मन्थन गर्ने ज्ञान दिइँदैन। मानिसहरू कुनै समस्यामा फस्छन् भने अरूसँग उपाय सोध्छन्, तर आफैँले उपाय जान्न सक्दैनन्। उनीहरू कहिल्यै पनि शान्तसँग बसेर आत्म-मन्थन गर्दैनन् र उपाय पनि यस्तो खोज्छन् जो सबैभन्दा छिटो होस्, जो सबैभन्दा सस्तो होस् र केही नगरीकन प्राप्त होस्। त्यसैले जीवन सतही छ। त्यसैले अर्थहीन जीवन छ। उनीहरूका कुरा पनि अर्थहीन छन्, विचार पनि अर्थहीन छन् र कर्म पनि अर्थहीन छन्।" "अब प्रश्न यो आउँछ कि आत्म-मन्थन कसरी गर्ने? म यहाँ तपाईँलाई एउटा विधि दिन्छु। आफ्नो लक्ष्य कसरी खोज्ने? जुन मूलभूत प्रश्नहरू छन्, ती सोध्नुहोस्। म प्रश्नका केही उदाहरणहरू दिनेछु र तिनका उत्तरहरू तपाईँले लेख्नुपर्नेछ। यस कुरामा अलिकति ध्यान दिनुहोस् लेख्नुपर्छ; उत्तर सोच्ने होइन, बोल्ने होइन केवल लेख्ने नै हो। जब तपाईँले केही कुरा लेख्नुहुन्छ, तब तपाईँको चित्तमा एउटा सङ्केत (सिग्नल) जान्छ कि यो महत्त्वपूर्ण छ। जब तपाईँले केही सोच्नुहुन्छ, तब यस्तो बानी परेको छ कि हरेक जथाभाबी र अनावश्यक विचार आएर गइहाल्छ, केही पनि याद रहँदैन। तर लेख्ने समयमा बुद्धिमा अलिकति अनुशासन देखिन्छ, नत्र देखिँदैन। जो अलि संवेदनशील छन्, उनीहरूले यसलाई रोचक बनाउन सक्छन्। जुन डायरी वा कापीमा लेख्दै हुनुहुन्छ, त्यसलाई राम्ररी सजाउनुहोस्। रङ्गीन पेनले चित्र बनाउनुहोस्, डिजाइन बनाउनुहोस्, आफ्नो गुरुको नाम लेख्नुहोस्, आफ्नो इष्टदेवको नाम लेख्नुहोस् वा त्यसमा श्री गणेश लेख्नुहोस्। यस्तो गर्नुहोस् कि त्यो तपाईँका लागि सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा रोचक बनोस्। बस त्यही एउटा कुरा होस्, अब यो अलिकति कर्मकाण्ड गरिहाल्नुहोस्। चित्तलाई थाहा हुँदैन कि के भइरहेको छ; चित्तका लागि त त्यो सत्य नै हो। तपाईँका प्रश्नहरू आफ्नै बारेमा हुनुपर्छ, अरू केही होइन। अरूका बारेमा नसोच्नुहोस्, समाजका बारेमा नसोच्नुहोस्। घरबाहिर वा परिवारमा के भइरहेको छ, त्यो पनि नसोच्नुहोस्। केवल आफ्नो बारेमा मात्र सोच्नुहोस्। यताउता नभौँतारिनुहोस् कि उसले त यस्तो भनेको थियो, यो गुरुले यस्तो भन्नुभएको थियो वा त्यो ठुलो मान्छेले यसो भनेको थियो। तपाईँलाई जे राम्रो लाग्छ, त्यही सोच्नुहोस्। सानातिना कुराहरू नहुन्। 'मलाई यो किन्नु छ, मलाई त्यो किन्नु छ, मलाई त्यस्तो लुगा लगाउनु छ, मलाई यससँग विवाह गर्नु छ, मलाई यति जना सन्तान जन्माउनु छ' यी सबै नसोच्नुहोस्। यो तुच्छता हो। सानातिना कुरामा समय खेर नफाल्नुहोस्। अब प्रश्नका उदाहरणहरू के-के हुन् त?" "के छ जुन विराट छ? म को हुँ?... कहाँबाट आएको हुँ? आएँ तर मलाई किन याद छैन म कहाँबाट आएँ? ल ठिक छ म आएँ, अब मैले यस जीवनमा के गर्नुपर्छ? जीवन देखिन्छ, अब यसको लक्ष्य के हो? यस जीवनमा सबैभन्दा आवश्यक कुरा के हो? यदि मृत्यु हुनु नै छ र मृत्यु नै अन्तिम गन्तव्य हो भने, मैले जे-जे गर्छु के ती सबै अर्थहीन छन्? मैले त केही पाउँदिनँ, अरूले पनि केही पाउँदैनन्। उनीहरूको पनि मृत्यु भइहाल्छ। ठिकै छ, अरूको त सोच्नै पर्दैन। के म यी सबै फोहोरहरू जम्मा गर्दैछु मायाको फोहोर? के यो मेरो अन्तिम लक्ष्य हो? किनकि यो त यहीँ रहिरहनेछ, यो त साथमा जाँदैन। मृत्युको विचार निकै शक्तिशाली हुन्छ। मृत्युले हल्लाइदिन्छ। अब बल्ल बुद्धि चल्न थाल्छ। के यी सबै सम्बन्धहरू मैले बनाएको हुँ? यिनको अर्थ के छ? यदि मैले अर्को व्यक्तिले चाहेको जस्तो गरिनँ भने सम्बन्ध तुरुन्तै टुटिहाल्छ। यो सम्बन्ध हो कि बन्धन हो? मेरो उपयोग भइरहेको छ कि सबैले मलाई साच्चै प्रेम गर्छन्? र म किन सम्बन्ध चाहन्छु? यो जान्नु जरुरी छ। बाँकी मानिसहरू किन चाहन्छन्, त्यो त तपाईँलाई थाहा नै छ। ममाथि जुन जात थोपरिएको छ, ममाथि जुन धर्म थोपरिएको छ, ममाथि जुन नश्ल र देश थोपरिएको छ के ती मेरा लागि महत्त्वपूर्ण छन्? के म यसैका लागि जन्मेको हुँ? मेरो आफ्नो ज्ञान के हो? र के अरूका कुरा सुनेर ज्ञान प्राप्त होला? मलाई सबैभन्दा बढी सन्तुष्टि केले दिन्छ? मलाई सबैभन्दा अर्थपूर्ण के लाग्छ? के मनोरञ्जनले मलाई सन्तुष्टि दिन्छ? म कति ठुलो छु, कति उच्च छु, कति धनी छु भनेर सबैलाई देखाउनु के यो मेरो जीवनका लागि अर्थपूर्ण छ? यदि म केही जान्दिनँ भने के जानूँ? के जान्नु सबैभन्दा महत्त्वपूर्ण छ? के खोजूँ जुन सबैभन्दा महत्त्वपूर्ण छ? मलाई के चाहिन्छ जुन सबैभन्दा महत्त्वपूर्ण छ, जुन आउने-जाने खालको नहोस्, जुन सानातिना नहोस्। के छ यस्तो कुरा जसविना कामै चल्दैन, जसविना जीवनै चल्दैन? के जीवनको लक्ष्य यो जैविक पदार्थको पहाड (शरीर) लाई जीवित राख्नु मात्र हो? के यो जैविक क्रिया नै मेरो जीवनको लक्ष्य हो? मेरो अन्तिम लक्ष्य के हो? र यो जान्नु महत्त्वपूर्ण छ कि यही नै किन हो? ल ठिक छ, यो मेरो अन्तिम लक्ष्य हो, तर यही नै किन हो? यो लक्ष्य प्राप्त गर्नका लागि के गर्नुपर्छ? मार्ग के हुन सक्छ? त्यो मार्ग कसले देखाउन सक्छ? उसले त त्यो भनिरहेको छ, अर्कोले त अर्कै भनिरहेको छ। मलाई जे चाहिएको हो, त्यो कसले भनिरहेको छ? के कुरा हो जुन मलाई पटक्कै चाहिएको छैन? के कुरा हो जसबाट म टाढा रहनुपर्छ, छुनु पनि छैन? कसलाई भेट्ने, कसलाई नभेट्ने? कहाँ गएर सोध्ने? के सोध्ने र के नसोध्ने?" "यी प्रश्नका केही उदाहरणहरू हुन्, तपाईँ यसमा आफ्ना प्रश्नहरू पनि थप्न सक्नुहुन्छ र तपाईँको उत्तर लेख्दा चार-पाँच पानाहरू भरिनेछन्। त्यसमा मनन गर्नुपर्छ, सोचविचार गर्नुपर्छ, हतार गर्नु हुँदैन। तपाईँले जति धेरै समय दिनुहुन्छ, त्यति नै सटीक उत्तर आउनेछ। तपाईँ सोच्नुहोला यसबाट के मिल्छ? तपाईँको जीवनले लक्ष्य पाउनेछ, दिशा पाउनेछ, अर्थ पाउनेछ र उद्देश्य पाउनेछ। पहिलो पटक समझमा आउनेछ कि के गर्ने हो। पहिलो पटक समझमा आउनेछ कि कहाँ जाने हो, गुरु को हुन् र मार्ग के हो?अनि यो पनि समझमा आउनेछ कि म कति मूर्ख छु। यो पनि थाहा हुनेछ कि मैले आफ्नो जीवनको यति धेरै समय खेर फालेँ। आँखा खुल्नेछन्, जीवनमा पहिलो पटक दिशा देखिनेछ। धेरै मानिसहरूले भन्नेछन् 'यति धेरै मेहेनत कसले गरोस्? मेरो आमाबुबाले जे भनिदिनुभयो, म त्यसैमा खुसी छु' वा 'मेरो गुरुले जे भनिदिनुभयो, म त्यसैमा खुसी छु। यो किताबमा लेखिएको छ, त्यही मेरो लक्ष्य हो।' यस्ता मानिसहरूको जीवन बर्बाद नै हुनेवाला छ। हुन सक्छ कि लाखौँमा कुनै एक यस्तो व्यक्ति होस्, जसको आत्म-मन्थनबाट पनि त्यही लक्ष्य निस्कियोस् जुन उसलाई पहिलेदेखि बताइएको थियो। तर तैपनि त्यसको प्रमाणित त गर्नुपर्छ, पुष्टि त गर्नुपर्छ। बताइएको कुरा सही छ वा छैन? मानिसहरू कयौँ वर्ष उल्टोपाल्टो काममा बिताइदिन्छन्। दिनका कयौँ घण्टाहरू बेकारका टेलिभिजन कार्यक्रम हेर्नमा र नचाहिँदो गफगाफ गर्नमा बिताइदिन्छन्। तर जीवनको लक्ष्यका लागि पाँच मिनेट दिनुहोस् भन्दा 'नाइँ, नाइँ, त्यसबाट के मिल्छ र?' भन्छन्। यदि तपाईँले यो कुरा बुझ्नुभएन कि यो यस जीवनको सबैभन्दा ठुलो काम हो भने, तपाईँको जीवन खेर नै जानेवाला छ। जतिसुकै राम्रो किन नहोस्, जसलाई तपाईँ राम्रो भन्नुहुन्छ, त्यो राम्रो होइन। यो एउटा चुँडिएको चङ्गा हो, जसलाई हावाले बगाएर लगिरहेको छ संसारको हावाले। तपाईँको जीवन एउटा सुकेको पात हो, बाटोमा उम्रिने घाँस जस्तै हो, जसमाथि मानिसहरूले खुट्टाले कुल्चेर हिँडिदिन्छन्। यो क्षणिक छ, त्यसैको समान छ। थोरै बेर रहन्छ अनि हराएर जान्छ।" "अब यदि तपाईँको लक्ष्य सांसारिक निस्कियो जस्तै मलाई रुपैयाँ-पैसा कमाउनु छ, विवाह-बारी गर्नु छ, छोराछोरी जन्माउनु छ, महल बनाउनु छ र म कति ठुलो छु भनेर सबैलाई देखाउनु छ अनि बजारमा पाइने हरेक चिज किन्नु छ। किन? किनकि ठुला मानिसहरू त्यस्तै त हुन्छन्। त्यसो भए त्यो सांसारिक लक्ष्य हो र यसमा कुनै खराबी छैन। अब तपाईँलाई न गुरु चाहिन्छ, न अध्यात्म, न कुनै पुराण, न त देवी-देवता नै। तपाईँको काम भयो। जो संसारको सबैभन्दा धनी मान्छे छ, उसले लेखेको किताब पढ्नुहोस्। उसको युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। तपाईँले सबै कुरा पाउनुहुनेछ। कहाँ पैसा लगाउने, कुन प्रोपर्टी किन्ने, कुन सेयर किन्ने यही नै तपाईँको ज्ञान हो। तपाईँका सबै मित्रहरू सांसारिक हुनेछन् र त्यो मुसा-दौड सुरु हुनेछ। त्यही मन पर्छ भने त्यही गर्नुहोस्। यस्तो व्यक्ति अध्यात्ममा आउनु हुँदैन, ऊ असफल हुनेछ। यदि लक्ष्य आध्यात्मिक हो भने अब तपाईँको अगाडि ठुलो काम छ। अब यो लक्ष्यले तपाईँलाई यस्तो ठाउँमा लैजानेछ जसको तपाईँले कल्पना पनि गर्नुभएको छैन होला। अब यो लक्ष्यले तपाईँलाई पशु वृत्तिबाट माथि उठाउनेछ। अब तपाईँले त्यो लक्ष्य प्राप्त गर्नका लागि मार्ग खोज्नुपर्नेछ। जे सबैभन्दा प्रिय लाग्छ, त्यही तपाईँको मार्ग हो जस्तो कि मैले अघिल्लो भिडियोमा भनेको थिएँ। तपाईँले गुरु खोज्नुपर्नेछ। त्यसका बारेमा मैले ज्ञान सूत्रको भिडियोमा बताएको छु। त्यसरी तपाईँको आध्यात्मिक यात्रा सुरु हुनेछ, साधना सुरु गर्नुपर्नेछ।" "मैले अघिल्लो पटक भनेको थिएँ कि साधना कसरी गर्ने भन्ने बारेमा म बताउनेछु, तर मलाई यो कुरा पहिले भन्नु आवश्यक लाग्यो। लक्ष्य भेटिएन भने के गर्ने? अलिकति पर्खनुपर्छ, केही प्रतीक्षा गर्नुपर्छ। कहिले न कहिले त अवश्य भेटिनेछ, लागिरहनुपर्छ। तपाईँको जीवनको अनुभव जति धेरै हुन्छ, त्यति नै चाँडो लक्ष्य प्राप्त हुनेछ। त्यसैले अझै अलि अनुभव लिनुहोस्। म यो भन्दिनँ कि कसैलाई नसोध्नुहोस्; हो, तपाईँले सोध्नुपर्छ। तपाईँलाई जो मन पर्छ वा जो तपाईँको आदर्श हो, उहाँसँग गुरुको रूपमा सोध्न सक्नुहुन्छ। केही दिन त्यो लक्ष्यको पछाडि लागेर हेर्न सक्नुहुन्छ कि हो! यसमा सन्तुष्टि मिलिरहेको छ कि छैन। जो बुद्धिमान छ, उसले लक्ष्य निकै चाँडो भेट्टाउँछ; तर जसलाई जीवनमा कुनै अनुभव छैन, जो अझै काँचो छ वा उमेर कम छ, उसलाई अलि समय लाग्छ। जस्तै, सानो बच्चालाई लक्ष्य दिनुपर्छ कि स्कुल जाऊ, यो गर; ऊ आफैँले बुझ्न सक्दैन। तपाईँ अलि परिपक्व भएपछि मात्र आफैँ लक्ष्य खोज्न सक्नुहुन्छ। पैंतीसदेखि चालीस वर्षको उमेरमा बुद्धि सबैभन्दा प्रखर र उच्च स्तरमा हुन्छ र जीवनमा यति धेरै अनुभव भइसकेको हुन्छ कि लक्ष्य स्पष्ट देखिन थाल्छ। त्यही समय अध्यात्म मार्गमा आउने सही समय हो र त्यही बेला तपाईँले अध्यात्ममा सफलता पाउनुहुनेछ। त्योभन्दा पहिले पनि अलि कठिन छ र त्यसपछि पनि कठिन हुन्छ। धेरैले सोध्छन् 'आत्म-मन्थनमा कति समय लाग्छ?' तपाईँलाई जति समय लगाउन मन छ, लगाउनुहोस्। धेरै समय लाग्छ भने धेरै नै लगाउनुहोस्। हतार गर्नु हुँदैन, पटक्कै हतार गर्नु हुँदैन। यदि उत्तर चाँडै आयो भने पनि त्यसमा अझ केही दिन सोच्नका लागि समय दिनुहोस्। जसरी अदालतमा वकिलले प्रश्न गर्छ, त्यसैगरी तपाईँले त्यो लक्ष्यलाई प्रश्न गर्नुपर्छ। त्यसलाई कठघरामा उभ्याएर राम्ररी जाँच्नुपर्छ। लक्ष्य भेटियो, अब के त? अब मार्ग र मार्गदर्शकको पालो आउँछ। यो निकै सजिलो छ, अब मार्ग पनि भेटिनेछ र मार्गदर्शक पनि। लक्ष्य जान्नु किन आवश्यक छ? किनकि यसबाट तपाईँको समझ हजारौँ गुणा बढ्नेछ। जसलाई हामी समझदार व्यक्ति भन्छौँ, उसलाई सबै कुरा थाहा हुन्छ र उसलाई आफ्नो लक्ष्य स्पष्ट हुन्छ। उसले अरूलाई पनि मार्ग देखाउन सक्छ र अरूका लागि पनि मन्थन गरिदिन सक्छ। तर, आत्म-मन्थन त आत्म-मन्थन नै हो। यसबाट तपाईँको समझ धेरै नै विकसित हुनेछ।" तपाईँको जुन हतारो र चञ्चलता छ, बाँदर जस्तै एउटा हाँगाबाट अर्को हाँगामा उफ्रिने, त्यो अब बन्द हुनेछ। जसरी रेलगाडि यताउता नहेरी एउटै दिशामा एउटै पटरीमा सीधा चल्छ, तपाईँ पनि त्यस्तै हुनुहुनेछ। तपाईँलाई कसैले पनि हल्लाउन सक्ने छैन, लक्ष्यबाट विचलित गराउन सक्ने छैन। अर्थात् सफलता तपाईँको चरणमा हुनेछ। जो यसरी हिँड्छन्, उनीहरू सफल नै हुन्छन्, अरू केही हुनै सक्दैन। तपाईँको चञ्चलता नष्ट हुनेछ। चञ्चलता हट्नुको अर्थ यो होइन कि तपाईँ गम्भीर हुनुहुनेछ। होइन, तपाईँ सुखी हुनुहुनेछ, तर मूर्ख हुनुहुनेछैन। तपाईँको जुन खिन्नता वा निराशा छ, त्यो जीवनबाट पूर्ण रूपमा हटेर जानेछ। 'यो गर्छु, यो पनि हुँदैन; त्यो गर्छु, त्यो पनि हुँदैन। यससँग सम्बन्ध बनाएँ, टुट्यो; त्यससँग सम्बन्ध बनाएँ, उसैले तोडिदियो। यो प्राप्त भयो, त्यो पनि राम्रो लाग्दैन। त्यो प्राप्त भएन, त्यसले पनि चित्त बुझ्दैन' यो के हो? यो तपाईँको जीवनको खिन्नता हो। के गर्ने भन्ने थाहा नभएपछि यस्तै हुन्छ। केही मानिसहरूलाई जे प्राप्त भएको छ, त्यसैका कारण उनीहरूमा दम्भ वा घमण्ड आएको छ। घमण्डको अर्थ यो हो कि त्यो व्यक्ति सानो भएको छ, तुच्छ भएको छ। जब तपाईँले आत्म-मन्थनबाट थाहा पाउनुहुन्छ कि मैले जे जम्मा गरेको थिएँ, ती सबै मेरा लागि बेकार र फोहोर मात्र हुन्, तब तपाईँको तुच्छताको अन्त्य हुनेछ। दम्भ समाप्त हुनेछ र मनमा समर्पण, प्रेम र करुणाको भाव आउनेछ। अरू जो मार्गहीन छन्, उनीहरूलाई देखेर दया लाग्नेछ। यसको अर्थ यो होइन कि तपाईँले उनीहरूलाई जबरजस्ती आफ्नो मार्गमा धकेल्नुहोस्, त्यो ठिक होइन। तर तपाईँमा अब तुच्छता रहने छैन र कसैसँग झगडा पनि हुने छैन। तपाईँको चेतना बढ्नेछ। जब पनि तपाईँ लक्ष्यबाट भड्किन थाल्नुहुन्छ, तपाईँको चेतनाले भनिहाल्नेछ कि यो ठिक भइरहेको छैन। तपाईँको बुद्धिले भन्नेछ कि यस्तो हुनु हुँदैनथ्यो। तपाईँले लक्ष्यबाट भड्काउने एउटै मात्र नराम्रो वाक्य बोल्नुभयो भने पनि तुरुन्तै महसुस हुनेछ कि मैले यो बोल्नु हुँदैनथ्यो। गर्न नहुने एउटै मात्र कर्म गरिहाल्नुभयो भने पनि तपाईँको चेतनाले तपाईँलाई स्पष्ट बताउनेछ हेर, अब यो गर्नु हुँदैन।" जो पाई मानिसहरूले आफ्नो घटिया विचारधारा तपाईँमाथि थोपरिरहेका छन्, त्यसबाट तपाईँ बच्नुहुनेछ। अब तपाईँमाथि कसैले पनि आफ्नो मत लाद्न (मतारोपण गर्न) सक्ने छैन कि हेर, यो गर, यो ठिक छ, बाँकी नगर। तपाईँले कहिल्यै त्यसो गर्नुहुने छैन। अब तपाईँ त्यही गर्नुहुन्छ जुन तपाईँलाई ठिक लाग्छ। हाम्रो समाजमा धेरैजसो यही समस्या छ, किनकि मानिसलाई आफूले के गर्ने भन्ने थाहा छैन र उसलाई सजिलै भड्काइन्छ। यस्ता मानिसहरू निकै चाँडो अरूको कुरामा आउँछन्, आफ्नो जीवन नष्ट गर्छन् र अरूको दास बन्दछन्।तपाईँ यस्तो समाजबाट बच्नुहुनेछ जसले तपाईँलाई उपयोग गर्ने प्रयास गरिरहेको छ। ध्यान दिनुहोस्, समाजले तपाईँको भलो चाहँदैन, आफ्नो भलो चाहन्छ। यहाँ सबै मानिसहरू स्वार्थी छन्। यदि कसैले तपाईँको भलो चाहन्छ भने पनि त्यसमा उसको आफ्नै केही न केही स्वार्थ लुकेको हुन्छ, नत्र तपाईँसँग कसैले कुरा पनि गर्दैन। तपाईँ यस्तो समाजबाट बच्नुहुनेछ। म यो भन्दिनँ कि तपाईँ असामाजिक हुनुहुनेछ, तर तपाईँ समाजबाट विरक्त हुनुहुनेछ। समाजमा जति आवश्यक छ, त्यति मात्र पाइला टेक्नुहुनेछ। तपाईँ ती नक्कली गुरुहरूबाट बच्नुहुनेछ, जसले तपाईँलाई दिशाहीन बनाइरहेका छन्। जसले पैसाका लागि ज्ञान बेचिरहेका छन् र पैसाकै लागि अध्यात्म बेचिरहेका छन्। यी सबैबाट तपाईँ बच्नुहुनेछ, किनकि तपाईँलाई के गर्ने भन्ने थाहा छ, त्यसैले गुरुले तपाईँलाई मूर्ख बनाउन सक्ने छैन। उसले जतिसुकै ठुला कुरा गरोस् वा जतिसुकै शास्त्र पढेर श्लोक सुनाओस्, केही लाग्ने छैन। मानिसहरू श्लोकहरू यसरी फ्याँक्छन् जसरी जित्नका लागि ढुङ्गा फ्याँकिन्छ। मलाई यस्ता धेरै मानिसहरू भेटिन्छन्। तपाईँ यस्ता मानिसहरूबाट बच्नुहुनेछ। तपाईँलाई थाहा हुनेछ कि म कुन मार्गमा हिँड्नुपर्छ। श्लोकले भने पनि वा नभने पनि तपाईँ आफ्नो मार्गमा अडिग रहनुहुनेछ। किनकी, यस्ता गुरुहरूबाट बच्ने अरू कुनै उपाय छैन। उनीहरू निकै चतुर हुन्छन् र साधारण जनता सजिलै उनीहरूको कब्जामा आउँछन्। तपाईँको मानसिक दासता (गुलामी) को अन्त्य हुनेछ। आफ्नो मनमा हेर्नुहोस्, तपाईँले जे जति जम्मा गर्नुभएको छ ती सबै अरूले दिएका हुन्, तपाईँको आफ्नो केही पनि छैन। यो धेरै जन्मदेखि यसरी नै चलिरहेको छ, त्यसैले तपाईँको मुक्ति भइरहेको छैन।""यस दासता (गुलामी) को अन्त्य हुनेछ र तपाईँ मुक्त हुनुहुनेछ। तपाईँलाई लागिरहेको होला आत्म-मन्थन बेकारको कुरा हो, तर हेर्नुहोस् यसको परिणाम कति विशाल छ! तपाईँ स्वतन्त्र हुनुहुनेछ। अरूले जे चाहन्छन्, कसैले पनि तपाईँलाई त्यही गर्न बाध्य पार्न सक्ने छैन। तपाईँ त्यही गर्नुहुनेछ जुन तपाईँ चाहनुहुन्छ र यहाँसम्म कि मानिसहरू तपाईँबाट प्रभावित पनि हुनेछन्। तपाईँको व्यक्तित्व चम्किनेछ कि तपाईँको वरिपरि मानिसहरूको भीड लाग्नेछ र भन्नेछन् 'हामीलाई पनि सिकाउनुहोस्, तिमि यस्तो कसरी भयौ ? तपाईँ त्यस्ता कुराहरू कसरी बोल्नुहुन्छ जुन मैले सोच्न पनि सक्दिनँ?' जो व्यक्ति स्वतन्त्र हुन्छ, उ निकै शक्तिशाली हुन्छ। साधारण मानिसहरू यस्तो व्यक्तिसँग डराउँछन् र आक्रमण गर्छन्, तपाईँले देख्नुभएकै होला। किनकि उनीहरू स्वतन्त्र व्यक्तिलाई झेल्न सक्दैनन्। यदि समाजले आफ्नो यो सानो एकाइ अर्थात् व्यक्तिलाई परतन्त्र (दास) बनाएन भने, त्यो समाज रहन सक्दैन। ध्यान दिनुहोस्, सबैले आफ्नो-आफ्नो मनपरी गर्न थाले भने समाज टुट्छ। त्यसैले जहाँ दासता, अन्धविश्वास र देखासिखी हुन्छ, त्यहीँ मात्र समाज देखिन्छ। जब कोही स्वतन्त्र हुने प्रयास गर्छ, सबैभन्दा ठुलो अवरोध समाजबाट नै आउँछ। अब म कसरी स्वतन्त्र हुने त? जब तपाईँले आफ्नो लक्ष्य रोज्नुहुन्छ, तब तपाईँको जीवनमा आनन्द हुनेछ। अरू केही होस् वा नहोस्, तर तपाईँमा आनन्द हुनेछ किनकि तपाईँले त्यही पाउँदै हुनुहुन्छ जुन तपाईँलाई चाहिएको हो। यसभन्दा ठुलो आनन्द अरू के हुन सक्छ? मलाई त्यो कुरा चाहिएकै छैन जसबाट आनन्द मिल्दैन। तपाईँमा सन्तुष्टि हुनेछ। मर्ने बेलामा यस्तो हुने छैन कि धत्! मैले जीवन खेर फालेँ, मैले त केही गरिनँ, केही सोचिनँ पनि।' मर्ने बेलामा यस्तो पश्चात्ताप हुने छैन। बरु यस्तो महसुस हुनेछ कि 'हो, मैले त्यही गरेँ जुन मलाई ठिक लाग्यो। अब अर्को जन्ममा यो जन्मका गल्तीहरू सुधार्नेछु।' यस्तो संकल्पका साथ जसले शरीर छोड्छ, उ कि त सिधै देव योनिमा पुग्छ वा उसको जन्म यस्तो ठाउँमा हुन्छ जहाँबाट उसले आफ्नो लक्ष्य पुन: सुरु गर्न सकोस्। उसले ठ्याक्कै त्यहीँबाट सुरु गर्नेछ जहाँ अहिले रोकिएको छ। अध्यात्ममा 'स्टप' बटन हुँदैन, अध्यात्ममा 'पज' बटन हुन्छ। जब लक्ष्य भेटिन्छ, तब मार्गदर्शन र मार्ग पनि भेटिन्छ र ज्ञान पनि प्राप्त हुन्छ। तपाईँ ज्ञानी हुनुहुनेछ। यस ज्ञानको कहिल्यै अन्त्य हुँदैन। बाँकी तपाईँले जे-जति अनावश्यक कुराहरू सिक्नुभएको छ, ती सबै यहीँ माटोमा मिल्नेछन्। तर आध्यात्मिक ज्ञान स्मृतिमा अङ्कित हुन्छ र कहिल्यै हराउँदैन। यस जीवको जीवन चक्र र विकास क्रममा त्यो ज्ञान सधैँ प्रकाशित भइरहनेछ।" "सबै जीवनकालहरू त्यस ज्ञानले प्रकाशित हुनेछन्। अनी के मैले भन्दैमा यो सत्य भइहाल्छ र कि आत्म-मन्थनको यो झन्झट ममाथि थोपरिएको हो? तपाईँ भन्नुहोला 'तपाईँले पनी त आत्म-मन्थन थोपर्दै हुनुहुन्छ।' यो त अब गरेपछि मात्र थाहा हुनेछ। धेरै मानिसहरूमा अति-आत्मविश्वास हुन्छ 'नाइँ, नाइँ, मलाई सबै थाहा छ, मलाई नसिकाउनुहोस्।' यस्ता मानिसहरू जबसम्म खाडलमा खस्दैनन्, तबसम्म उनीहरूको बुद्धि जाग्दैन। जो बुद्धिमान हुन्छ, उसमा अलिकति शङ्का अवश्य हुन्छ कि 'एक पटक हेरुँ त, म सही बाटोमा जाँदै छु कि छैन, म एक पटक जाँचेर हेर्छु।' र यस्तो व्यक्ति कहिल्यै खस्दैन, उसको पतन हुँदैन। त्यो सुरुको जुन आत्मविश्वास छ, त्यो ढोंग हो, त्यो नक्कली हो। उसले आफैँलाई धोका दिइरहेको छ र आफूलाई निकै ठुलो ठानिरहेको छ। जसले हरेक पाइला हेरेर, पूर्ण ध्यान र पूर्ण चेतनाका साथ राख्छ, उसको पतन कहिल्यै हुँदैन। एक पटक मात्र होइन, तपाईँले आफ्नो जीवनमा पटक-पटक आत्म-मन्थन गर्नुपर्छ, नत्र तपाईँ दिशाहीन भएर भौँतारिनुहुनेछ। दिशाहीन जीवनले दुःख र बन्धनतर्फ लैजान्छ, जुन हामी कहिल्यै चाहँदैनौँ। हो, सैद्धान्तिक रूपमा भन्न त सजिलो छ 'म द्रष्टा हुँ' वा 'यो सबै माया हो,' तर तैपनि हामी दुःख त चाहँदैनौँ नि! यहाँ एउटा चेतना छ, एउटा इच्छा छ कि जे-जस्तो भए पनि, त्यो सुखद र राम्रो हुनुपर्छ। र यही इच्छा वा वासनाले नै हामीलाई जीवनमा अगाडि बढ्न प्रेरित गर्दछ। त्यसैले हेर्नुहोस्, तपाईँलाई के राम्रो लाग्छ। साँचो कुरा जान्नुहोस् र आत्म-मन्थन गर्दै गर्नुहोस ।नमस्कार "
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions