Wise Words
Home
Read
Write
Publish
Profile
Logout
अंतर्शुद्धि : भाग - ३ : सम्बन्धशुद्धि (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** बोधिवार्तामा यहाँहरू सबैलाई स्वागत छ। अंतर्शुद्धि को यस शृङ्खलामा आज हामी सम्बन्धहरूको शुद्धिकरणका विषयमा चर्चा गर्नेछौँ। किनकि मानिस एक सामाजिक प्राणी हो, ऊ समूहमा बस्ने जीव हो। एक अर्का बिना जीवित रहनु मानिसका लागि निकै कठिन छ। उसले आफ्नो जीवनका लागि समाजको गठन गरेको छ र अन्य व्यक्तिहरूसँग एक व्यक्ति कुनै न कुनै सम्बन्धले बाँधिएको हुन्छ। अज्ञानताका कारण यी सम्बन्धहरू दूषित हुन पुग्दछन् र तिनै सम्बन्धहरू नै त्यस व्यक्तिको दुःख र दासताको कारण बन्दछन्। सम्बन्ध, चाहे सामाजिक, पारिवारिक वा निजी होस् मानिसले आफ्नो सुख र प्रसन्नताका लागि निर्माण गर्दछ। र यहाँहरू सबैको यो आफ्नै स्वानुभूति होला कि सबैभन्दा बढी दुःख एक व्यक्तिले अर्को व्यक्तिलाई नै दिने गर्दछ। सबैभन्दा बढी दुःख अन्य मानिसहरूसँगका सम्बन्धहरुकै कारण उत्पन्न हुन्छ। यो वातावरणले र यो शरीरले पनि त्यति पीडा दिँदैन, जति अरु मानिसहरूले पुर्याउने गर्दछन्। जति हिंसा एक व्यक्तिले अर्को व्यक्तिसँग गर्दछ, त्यति क्रूरता यो प्रकृतिले कसैसँग पनि गर्दैन। सम्बन्ध हामीले आफ्नो जीवन सरल बनाउनका लागि निर्माण गरेका हौँ र तिनै सम्बन्धहरूले जीवनलाई नरक बनाइदिन्छन्। यस्तो किन छ? यसको पछाडी के कारण छ त ? यसको कारण जान्न गर्न सजिलो छ। यसको मुख्य कारण हो अशुद्धि। सम्बन्धहरूको अपवित्रता र अज्ञान। सम्बन्धहरू वास्तवमा के हुन्, कसरी स्थापित गरिन्छन् र कसरी निर्वाह गरिन्छन् भन्ने कुरा मानिसहरू जान्दैनन्। यो सबै ज्ञान कसैलाई पनि प्रदान गरिँदैन। जब हामी जन्मन्छौँ, तब निर्मित सम्बन्धहरू हामीमाथि थोपरिन्छन्; तर सम्बन्ध कसरी गाँस्ने र कसरी त्यसलाई अक्षुण्ण राख्ने भन्ने कुरा सिकाइँदैन। त्यसैले, हाम्रो अहङ्कार वा अहम् भावले नै कुन व्यक्तिसँग कस्तो सम्बन्ध राख्ने भन्ने निर्णय लिने गर्दछ। र अहम् को मुख्य कार्य केवल 'अस्तित्व रक्षा' वा भनौ उत्तरजीविता हुनाले सम्बन्धहरू स्वतः पशुता तर्फ अधोगत हुन्छन्। धेरै मानिसका सम्बन्धहरू त मानव सम्बन्ध कहलाउन समेत योग्य छैनन्; ती पशुहरूका सम्बन्ध भन्दा पनि निकृष्ट छन्। जसको मूल कारण अज्ञान हो र सम्बन्धहरूमा व्याप्त अशुद्धि नै हो। सम्बन्धहरू केवल स्वार्थ सिद्धिका माध्यम बनेका छन्। जसलाई यहाँले प्रेम भन्नुहुन्छ, त्यो केवल मोह भाव, आसक्ति, भय वा काम निकाल्नका लागि रचिएको प्रपञ्च मात्र हो, बाह्य रूपमा मात्र मानिसहरू यसलाई प्रेमको संज्ञा दिन्छन्। सम्बन्धहरूको अध्ययन हामी तीन पद्धतिबाट गर्न सक्छौँ र मेरो विचारमा तिनको शुद्धि एवं अशुद्धि पनि तीन प्रकारकै हुन्छन्। ती तीन श्रेणी हुन् निजी सम्बन्ध, परिचित व्यक्तिहरूसँगको सम्बन्ध र अपरिचित व्यक्तिहरूसँगको सम्बन्ध। सबैभन्दा बढी विनास भएका सम्बन्धहरू व्यक्तिका निजी सम्बन्ध नै हुन्। जहाँ प्रेम-भाव, दया र करुणा हुनुपर्दथ्यो, त्यहाँ भय र अति आसक्ति व्याप्त भएको छ। त्यहाँ मोह र स्वार्थको सम्बन्ध हाबी भएको छ। जो हाम्रो उपयोगमा आउँछ, जसले हाम्रा लागि केही गर्दछ र जसबाट हामीलाई केही लाभ मिल्दछ, हामी उनीहरूसँग मात्र सम्बन्ध स्थापित गर्न चाहन्छौँ। यसलाई नै 'निजी सम्बन्ध' भनिन्छ र हामीलाई त्यो सम्बन्ध टुट्ने हो कि भन्ने भयले सधैँ सताइरहन्छ। समस्त वैवाहिक सम्बन्धहरू यस्तै प्रकारका लेनदेनमा आधारित सम्बन्ध हुन्। यहाँका रक्त सम्बन्धहरू, जस्तै माता पितासँगको सम्बन्ध पनि प्रायः यस्तै प्रकृतिको हुने गर्दछ। ' एक सानो बालकलाई जीवित रहनका निम्ति माता पिताको आवश्यकता हुन्छ र माता पिताले पनि आफ्नो जीवनलाई सुगम बनाउन आफ्ना सन्तानको उपयोग गर्दछन्। यसैलाई उनीहरू प्रेमको संज्ञा दिन्छन् र यी सम्बन्धहरू टुट्ने भयमा सधैँ रहन्छन् किनकि ती सम्बन्धहरू अत्यन्त कृत्रिम र स्वार्थमा आधारित हुन्छन्। अज्ञानतामा आधारित यी सम्बन्धहरूमा जसले हाम्रो हित गर्दैन वा सुख प्रदान गर्दैन, चाहे ती रक्त सम्बन्ध, निजी सम्बन्ध वा वैवाहिक सम्बन्ध नै किन नहुन् हामीमा उनीहरूप्रति घृणा उत्पन्न हुन्छ। एक अपरिचित व्यक्तिले हाम्रा लागि केही गरोस् वा नगरोस्, हामी उसप्रति मित्रताको भाव राख्दछौँ। तर आफन्त ले यदि सुख प्रदान गरेन भने हामी उसप्रति घृणा गर्दछौँ। हिजोसम्मको भनिने प्रेम आज घृणामा रूपान्तरित हुन्छ र यसैबाट ज्ञान हुन्छ कि त्यो वास्तवमा प्रेम थिएन। त्यो त केवल लेनदेन थियो "तिमी मेरो यो काम गरिदेऊ र म तिम्रो त्यो काम गरिदिन्छु।" त्यो एउटा व्यवसाय र व्यावहारिक सम्बन्ध मात्र थियो। हाम्रा रक्त सम्बन्धहरू समेत अचेल यस्तै वाणिज्यिक प्रकृतिका भएका छन्, पिता चाहन्छन् कि उनका सन्ततिहरू उनको दासत्वमा रहून् र उनका आदेशहरूको पूर्ण अनुपालन गरून्। माता चाहन्छिन् कि ती सन्ततिहरूले उनको सेवा गरून् र उनको आज्ञा शिरोपर गरून्; यहाँ प्रेमको अभाव छ, केवल परनिर्भरता मात्र विद्यमान छ। यी सम्बन्धहरू मुक्त छैनन्, उल्टो दासताले बाँधिएका छन्; यहाँ अनासक्ति र करुणाको स्थानमा आसक्ति, परनिर्भरता र घृणा व्याप्त छ। कतिपय व्यक्तिहरू आफ्नो स्वार्थ सिद्धिका निम्ति अनुचित सम्बन्धहरू गाँस्दछन्, जसलाई सामान्य भाषामा अनैतिक सम्बन्ध पनि भनिन्छ र ती सम्बन्धहरूले क्षणिक सुख त प्रदान गर्दछन्, तर जीवनको बाँकी समय केवल दुःख र सन्ताप मात्र दिने गर्दछन्। ती सम्बन्धहरू निजी सम्बन्ध भन्दा पनि निकृष्ट सावित हुन्छन्, किनभने ती नितान्त स्वार्थ र कार्य सिद्धिका निम्ति मात्र स्थापित गरिएका हुन्छन्। यस्ता सम्बन्धहरूलाई यहाँले प्रेम वा आसक्तिको जुनसुकै संज्ञा दिए तापनि, ती वास्तवमा अहङ्कारबाट निर्मित सम्बन्धहरू मात्र हुन्। किनकि व्यक्ती उचित मार्गबाट वाञ्छित वस्तु प्राप्त गर्न सक्दैन र वासना तृप्त पुरा भएन, त्यसैले अनुचित उपायद्वारा यी सम्बन्धहरू निर्माण गरिएका हुन्। र यदि यस्तो सम्बन्ध छ भने त्यसले अल्पकालीन सुख र भोगको अवसर त प्रदान गर्ला, तर जीवनभर पीडा नै दिनेछ। यो धेरैको आफ्नै अनुभव हुन सक्छ किनकि ती सम्बन्धहरू अशुद्ध र मलिन छन् र पवित्रताको साटो मलिन भावले निर्मित भएका हुन्। जब निजी सम्बन्धहरू नै जीवनको आधार बन्दछन् र हाम्रो जीवन पूर्णतः सम्बन्धहरूमा आश्रित हुन्छ, तब त्यहाँ स्वतन्त्रताको अस्तित्व रहँदैन र ती सम्बन्धहरू स्वतः कलहको कारक बन्न पुग्दछन्। किनकि यदी ती आफन्तीले यहाँको जीवनका निम्ति उपयोगी कार्य गरिरहेका हुँदैनन्; तब यहाँ के गर्नुहुन्छ? क्रोध उत्पन्न हुन्छ, घृणा जाग्दछ र तपाइँ दबाब दिएर बलपूर्वक आफ्ना आफन्त हरूबाट आफूलाई सुख मिल्ने कार्य गराउन चाहनुहुन्छ। उनीहरूको सुख यहाँको हितमा हुँदैन र उनीहरू तपाइँका दास वा गुलाम भई रहून् भन्ने चाहना तपाइँका निम्ति अधिक हितकारी प्रतीत हुन्छ। अरूलाई दास बनाएर राख्ने वा बलपूर्वक आफूसँगै राख्ने यस्ता सम्बन्धहरूलाई पनि मानिसहरू आफ्ना सम्बन्धी, रक्त-सम्बन्धी वा निजी सम्बन्ध मान्दछन् र यस्ता सम्बन्धहरू सदैव कलहपूर्ण हुन्छन्। त्यहाँ निरन्तर द्वन्द्व भइरहन्छ र ती तनावका कारक बन्दछन्। ती मानसिक अशान्तिका कारण बन्दछन् र मानसिक व्याधिहरूबाट शारीरिक रोगहरू उत्पन्न हुन थाल्दछन्। यस्ता सम्बन्धहरूको भार वहन गर्दागर्दै शरीर समेत क्लान्त हुन पुग्दछ। धेरै सम्बन्धहरू आर्थिक कारणले निर्मित हुन्छन्। त्यहाँ यस्तो परनिर्भरता हुन्छ कि यदि यो सम्बन्ध रहेन भने मेरो अस्तित्व रक्षा वा जीवित रहनु नै कठिन हुनेछ, म सडकमा पुग्नेछु । धेरै वृद्धवृद्धा र धेरै विवाहित स्त्रीहरूको कथा यही हो कि उनीहरू आर्थिक रूपमा कसैमाथि आश्रित छन्। केवल आहार वा जीवन निर्वाहका निम्ति समेत मानिसहरूले सम्बन्ध गाँसेका छन्, जुन अत्यन्तै खेदजनक विषय हो। र यस्ता व्यक्तिहरू स्वयंलाई 'मनुष्य' भन्दछन्, यो अझ बढी दुःखद कुरा हो। सम्बन्धहरूमा एकातर्फ मलिनता छ, त्यसमाथि अज्ञानता र मूर्खता पनि थपिएको छ। अझ विडम्बना त के छ भने, तितो करेलामा नीम थपे झैँ मानिसहरू यस्ता सम्बन्धलाई आफ्नो श्रेष्ठताको साधन र 'मनुष्य' कहलाउने अधिकार मान्दछन्। उनीहरूको तर्क हुन्छ कि पशुले सम्बन्ध गाँस्दैन तर मानिसले गाँस्छ, त्यसैले म मनुष्य हुँ। तर यहाँका सम्बन्धहरू पशुका भन्दा पनि निकृष्ट र अशुद्ध छन्। पशुहरूले कस्तो सम्बन्ध राख्दछन् भन्ने तपाइँलाई ज्ञात छैन; अन्य पशुहरूसँग उनीहरूको सम्बन्ध निकै उत्तम र सन्तुलित हुन्छ। जबसम्म आवश्यकता रहन्छ, तबसम्म मात्र सम्बन्ध रहन्छ; त्यस पश्चात् हुँदैन। पशुहरू अत्यन्त सरल र निर्दोष हुन्छन्। सम्बन्धहरूमा उनीहरूले देखावटी आवरण चढाएका हुँदैनन् र त्यसलाई आफ्नो श्रेष्ठताको प्रतीक पनि ठान्दैनन्। उनीहरूको आचरण पूर्णतः प्राकृतिक हुन्छ, जुन मनुष्यमा विरलै पाइन्छ। दोस्रो प्रकारको सम्बन्ध परिचितहरूसँगको सम्बन्ध हो। यहाँ एक व्यक्तिले अर्को व्यक्तिसँग तब मात्र परिचय गर्दछ, जब त्यहाँबाट उसको कुनै स्वार्थ सिद्ध हुन्छ। हाम्रो समाज मा यस्तो प्रचलन छ भेट्ने बित्तिकै की मानिसहरूले सबैभन्दा पहिले नाम सोध्छन्, त्यसमा पनि पूर्ण नाम, जाति आदी जान्नमा बढी जोड दिन्छन्। उनीहरू यो जान्न चाहन्छन् कि तपाइँ कुन कार्यका निम्ति उनीहरूको उपयोगी बन्न सक्नुहुन्छ। यदि यहाँ अन्य कुनै जाति वा धर्मको हुनुहुन्छ भन्ने थाहा भयो भने उनीहरूको व्यवहार तत्कालै परिवर्तित हुन्छ। त्यस पश्चात् उनीहरू यहाँको पेशा, कार्यालय र पदका बारेमा सोधपुछ गर्दछन्। यथार्थमा उनीहरू यो जान्न चाहन्छन् कि यहाँसँग कति धन छ, यहाँको सामाजिक प्रतिष्ठा कस्तो छ र बैङ्क मौज्दात कति छ। किन? उनीहरू यो जान्न चाहन्छन् कि यहाँ उनीहरूको उपयोगी बन्नुहुन्छ वा हुँदैन र यहाँसँग थप संवाद अघि बढाउने वा नबढाउने अथवा यहाँलाई आफ्नो परिचित बनाउने वा नबनाउने भन्ने उनीहरूको स्वार्थ हुन्छ। सबै मानिसहरू यस्ता हुँदैनन्; म सबैमाथि यो लाञ्छना लगाउन चाहन्न। केही अत्यन्तै शालीन व्यक्तिहरू पनि छन् जो बिना कुनै सर्त वा प्रश्न यहाँसँग प्रेमपूर्वक संवाद गर्दछन्। तर बहुसंख्यक मानिसहरू यस्तै छन् उनीहरू तबसम्म परिचय गर्न चाहँदैनन्, जबसम्म अगाडिको व्यक्ति कुनै प्रतिष्ठित पदमा हुँदैन वा बाह्य रूपमा आकर्षक देखिँदैन। यदि कोही स्त्री छिन् र उनी रूपवती छिन् भने मात्र उनीसँग परिचय गाँस्न चाहन्छन्, अन्यथा बेवास्ता गर्दछन्। यी स्वार्थप्रेरित सम्बन्धहरू हुन्। जसलाई यहाँले 'परिचित' भन्नुहुन्छ, ती यहाँले आफ्नै स्वार्थका निम्ति निर्माण गर्नुभएको परिचय मात्र हुन्। यसलाई बोलीचालीको भाषामा 'काम लाग्ने मान्छे' पनि भनिन्छ। बेला बेला मा फोन गर्ने वा चाड पर्वका शुभकामना सन्देशहरू पठाउछन। त्यसको मनसाय एउटै हुन्छ "उसले मलाई नबिर्सोस र भविष्यमा कुनै काममा मलाई उसको आवश्यकता पर्ला ?" यस्ता सम्बन्धहरूलाई नै मानिसहरू परिचय भन्दछन्, तर यथार्थमा यी सम्बन्धहरू प्रदूषित र दूषित भइसकेका छन्। जसलाई यहाँले परिचय भन्नुहुन्छ, त्यो केवल स्वार्थ, लोभ र अहङ्कार मात्र हो। यस पश्चात् तेस्रो प्रकारको सम्बन्ध अपरिचित व्यक्तिहरूसँगको हो, जोसँग यहाँको कुनै सरोकार छैन। यहाँलाई ज्ञात छ कि उनीहरू यहाँको कुनै काममा आउँदैनन्। यस्ता मानिसहरूप्रति एक सामान्य व्यक्तिको सम्बन्ध कस्तो हुन्छ? उनीहरू पूर्णतः उदासीन र तटस्थ रहन्छन्। कोही असहाय व्यक्ति सडकमा कष्टकर अवस्थामा छ, दरिद्र छ वा याचक छ भने पनि मानिसहरू केवल एक दृष्टि दिएर आफ्नो बाटो लाग्दछन्। "ऊ जोसुकै होस्, हामीलाई के मतलब, ऊ त अपरिचित हो" भन्ने भाव उनीहरूमा रहन्छ। त्यसपछि मानिसहरूले रूप-रङ्ग, वेशभूषा, जाति र धर्मको सूक्ष्म निरीक्षण गर्दछन्। कुन भाषा बोलिरहेको छ र ऊ कारबाट ओर्लिएको छ कि साइकल बाट भन्ने बाह्य आधारमा मानिसहरूले कस्तो व्यवहार गर्ने भन्ने निर्णय लिन्छन्। मानिसहरू पक्षपाती हुन्छन् र सबैप्रति समान व्यवहार हुँदैन; यस समाजमा यहाँले यस्तै दूषित सम्बन्धहरू पाउनुहुनेछ र यही नै सिकाइने गरिन्छ। बालक हुर्कँदै जाँदा उसलाई परिवारमा यो तिम्रो भाइ हो, यी तिम्रा मामा र काका हुन् भनी सिकाउने गरिन्छ। उनीहरूको मात्र सहायता गर, बाँकीको नगर; उनीहरूको काम गर, किनकि उनीहरू नै तिम्रो काम आउनेछन्, धन र भोजन दिनेछन् र उनीहरूको मात्र पाउ लाग्नू भनी संस्कार हालिन्छ। साथै, "त्यो छिमेकीकोमा नजानू, ऊ अन्य जात को हो" वा "त्यो तिम्रो मित्र मलाई मन पर्दैन, ऊ तल्लो जातको वा गरीव छ, धनी हरूसँग मात्र मित्रता गाँस्नू" भनी सिकाइन्छ। वैवाहिक सम्बन्धहरू पनि केवल वासना तृप्ति वा अस्तित्व रक्षा का निम्ति मात्र स्थापना गरिन्छन्; जीवित रहनका लागि मात्र गरिने यस्ता विवाहमा प्रेमको सर्वथा अभाव हुन्छ। हाम्रो समाजमा प्रेम विवाहलाई पापको संज्ञा दिइनु अत्यन्तै विडम्बनापूर्ण र खेदजनक छ; यथार्थमा यो त प्रेम प्रधान देश हुनुपर्दथ्यो, तर स्थिति विपरीत छ। मानिसहरू स्वार्थ र धनका लागि विवाह गर्दछन् र अझ प्रशस्त दाइजो को अभिलाषा राख्दछन्। घर भित्रिएकी पत्नीलाई नोकर जस्तो व्यवहार गरिन्छ। यहाँले धेरै पटक सुन्नुभएकै होला यद्यपि कठोर कानुनका कारण यस्ता घटनामा केही कमी आएको होला केही वर्ष पहिले सम्म पनी, पत्नीमाथि अमानवीय अत्याचार गरेको र उनले अपेक्षित धन नल्याएको निहुँमा जिउँदै जलाउने सम्मका समाचार हुन्थे। यसैलाई यहाँहरू 'विवाह' भन्नुहुन्छ; स्मरण रहोस्, जुन सबैभन्दा निजी र आत्मीय सम्बन्ध हो, यदि त्यसकै अवस्था यस्तो छ भने अन्य सम्बन्धहरूको हविगत के होला? यी विषयहरूमा चर्चा गर्दा मलाई स्वयं घृणा र ग्लानि महसुस हुन्छ, तर यो हाम्रो विमर्शको विषय भएकाले बोल्नै पर्ने बाध्यता छ। कुनै पनि शिष्ट व्यक्तिले समाजमा यस्ता कुराहरू खुल्ला रूपमा व्यक्त गर्दैन; सम्बन्धहरूमा यति धेरै मलिनता छ कि यसलाई अभिव्यक्त गर्न पनि लज्जाबोध हुन्छ। जब स्वार्थ सिद्धि हुँदैन, तब सहोदर दाइले भाइकै हत्या गर्दछ र पत्नीले पतिलाई त्याग गरी परपुरुषसँग सम्बन्ध राख्दछिन्। परिवारभित्र कलह, कुटपिट र द्वन्द्व सामान्य बन्दछन्। एक सम्बन्धीले अर्कोलाई यति तुच्छ अपशब्द प्रयोग गरी गाली गर्दछन्, जति त कुनै हिंसक अपराधीले पनि गर्दैन र घोर अपमान गर्दछन्। यदि यहाँले उनीहरूको दासत्व स्वीकार गर्नुभएन भने यहाँकै आत्मीय भनिनेहरूले यहाँको चरम अपमान गर्नेछन्। अनि यस्ता व्यक्तिहरू स्वयंलाई 'मनुष्य' भन्न रुचाउँछन्! पशुहरूले समेत यस्तो निकृष्ट व्यवहार गर्दैनन्; यति धेरै अशुद्धि त मैले अन्य कुनै पनि प्राणीमा देखेको छैन। एक आध्यात्मिक साधक यस्तो मलिनताबाट पूर्णतः खिन्न र विरक्त हुन्छ; उसले यति धेरै मानसिक कलुषता वा मैल सहन गर्न सक्दैन। त्यसमाथि यो आडम्बर, घमण्ड र पर्दा पछाडिको मिथ्या प्रपञ्च भयावह छ। बाह्य रूपमा मात्र "हामी एक सुखी परिवार हौँ र प्रेमपूर्वक रहन्छौँ" भनी प्रदर्शन गरिन्छ, तर आन्तरिक रूपमा स्थिति कति निकृष्ट र पतनशील छ भन्ने कुरा सबैलाई अवगत नै छ। यस्तो अशुद्ध परिवेश र यस्ता परिचितहरूको बीचमा एक आध्यात्मिक साधकका लागि बसोबास गर्नु सर्वथा असम्भव छ। त्यसैले यहाँले धेरै पटक देख्नुभएको होला कि जब व्यक्तिले आध्यात्मिक मार्गमा पाइला टेक्न आरम्भ गर्दछ, सर्वप्रथम उसका पुराना मित्रहरू छुट्छन् र निजी सम्बन्धहरू विच्छेद हुन्छन् किनकि ती अशुद्ध छन्। ज्ञान प्राप्त हुनासाथ आत्मशुद्धि र अंतर्शुद्धि को प्रक्रिया प्रारम्भ हुन्छ र दुःख एवं बन्धनका जुन मुख्य कारणहरू छन्, आध्यात्मिक शिष्यले सर्वप्रथम तिनैको परित्याग गर्दछ। सम्बन्धमा बन्धन निहित छ र 'सम्बन्ध' शब्दकै व्युत्पत्ति 'बन्धन' बाट भएको हो; सम्बन्धको वास्तविक अर्थ नै पारस्परिक बन्धन हो। आध्यात्मिक मार्गको एक मौलिक तत्व स्वतन्त्रता वा मुक्ति हो। बन्धनबाट पूर्ण मुक्ति। कुनै पनि सम्बन्ध आध्यात्मिक शिष्यका निम्ति विघ्न स्वरूप हुन्छ। आध्यात्मिक व्यक्तिको जीवनमा सबैभन्दा पहिले सम्बन्धहरू नै टुट्ने गर्दछन्। त्यसैले, जब कुनै युवक वा युवती घर छाडेर कुनै गुरुको सामीप्यमा वा आश्रम जान थाल्दछन्, तब सर्वप्रथम उनका माता-पिता विचलित र चिन्तित हुन पुग्दछन्। उनीहरू रिसाउछन "तलाई हाम्रो चिन्ता छैन", किनकि उनीहरूमा अब यसले हामीलाई छाडेर जानी भयो भन्ने भय व्याप्त हुन्छ। तपाईंले आफ्ना सन्ततिहरूसँग जुन कृत्रिम सम्बन्ध गाँस्नुभएको छ, त्यहाँ भय हुनु स्वाभाविकै हो कि उसले मलाई कहिले छाड्ने हो भन्ने। जहाँ वास्तविक प्रेम हुन्छ, त्यहाँ विच्छेद हुँदैन। तर जहाँ स्वार्थ निहित हुन्छ, त्यहाँ सम्बन्ध टुट्ने भय सधैँ रहिरहन्छ। सन्तानमा अलिकति मात्र विवेक जागृत भयो भने उसले आफूलाई छाड्नेछ भन्ने डरले माता पिताले उनीहरूलाई दबाएर राख्दछन्, उनीहरूमाथि दासवत व्यवहार गर्दछन् र उनीहरूलाई भ्रमित पार्ने प्रयास गर्दछन्। उनीहरू सन्ततिमा अधिक प्रज्ञा वा बुद्धिको उदय हुन दिँदैनन्; किनकि धेरै शिक्षित वा विवेकी भएमा उनीहरू आफ्नो नियन्त्रणबाट बाहिर जाने भय रहन्छ। "हाम्रो सेवा कसले गर्ने?" भन्ने संकीर्ण सोचका कारण यस्तो गरिन्छ। जन्माएका सन्तानहरूलाई उनीहरू दास र आफ्नो वृद्धावस्थाको सहारा मात्र ठान्दछन्; त्यसैले आफ्नै माता-पिताले उनीहरूसँग पशुको भन्दा पनि निकृष्ट व्यवहार गर्दछन्। त्यसमाथि आफन्तहरूले झन् आगोमा घिउ थप्ने कार्य गर्दछन् र गुरु तथा अध्यात्मका विरुद्धमा अनेकौँ मिथ्या पाठहरू पढाउँछन्। विशेष गरी स्त्रीलाई बाह्य जगतका बारेमा अनेकौँ भय देखाएर डराइन्छ र बाहिर नजानका निम्ति विवश तुल्याइन्छ। उनीहरूलाई गुरु वा आश्रमका विषयमा नराम्रा कुरा सुनाइन्छ र यदि उनीहरू अझै मानेनन् भने "मेरो सम्पत्तिबाट तिमीले एक कौडी पनि पाउने छैनौ र समाजमा हाम्रो नाक काट्नेछौ" भन्दै डराउने र धम्काउने कार्य गरिन्छ। यस्तो पतित समाजमा मानिसहरू आफ्नो नाम र प्रतिष्ठाको चिन्ता किन गर्छन्, त्यो मैले आजसम्म बुझ्न सकेको छैन। यो एक आध्यात्मिक देश हो भन्नु कति ठूलो मिथ्या हो; यो पनि अन्य देशहरू झैँ नितान्त स्वार्थी र निकृष्ट मानिसहरूले भरिएको देश हो। माता-पिताले अध्यात्मको वास्तविक मूल्य बुझ्ने अवसर अत्यन्तै न्यून हुन्छ। यदि उनीहरू स्वयं आध्यात्मिक छन् भने मात्र आफ्ना सन्तानलाई अध्यात्मको मार्गमा प्रेरित गर्दछन्। तर यदि उनीहरू सांसारिक, धनको लोभी र स्वार्थी छन् भने स्वतन्त्रताको आशा त्याग्नुहोस्; यस्तो घरमा जन्मिएपछि जीवनभर यहाँले केवल दासत्व र कष्टहरू मात्र झेल्नुपर्ने हुन्छ। यदि यहाँ आध्यात्मिक मार्गमा अग्रसर हुन चाहनुहुन्छ भने त्यो यहाँको नितान्त व्यक्तिगत विषय बन्नेछ र स्मरण रहोस् यस प्रक्रियामा सम्बन्धहरू विच्छेद हुनेछन्। म अध्यात्मका नाममा यहाँलाई कुनै मधुर आश्वासन दिन वा मिथ्या प्रलोभन देखाएर भ्रमित पार्न चाहन्न। यदि यहाँ आध्यात्मिक मार्गमा आउनुभयो भने अंतर्शुद्धि अवश्यम्भावी छ; त्यसलाई कसैले रोक्न सक्दैन र सर्वप्रथम यहाँका सम्बन्धहरू नै विच्छेद हुनेछन्। अतः यदि यहाँ मोह-बन्धन र आसक्तिमा आबद्ध हुनुहुन्छ भने, आध्यात्मिक मार्गमा प्रवेश नगर्नुहोस्। बरु कुनै जीविकोपार्जनमा लाग्नुहोस्, धन आर्जन गर्नुहोस् र सन्तानोत्पादन गरी सुखपूर्वक जीवन व्यतीत गर्नुहोस्; किनकि आध्यात्मिक मार्ग अत्यन्त दुष्कर छ। किन? वास्तवमा अध्यात्म स्वयंमा त्यस्तो कठिन विषय होइन, तर यहाँको परिवेश दूषित छ र सम्बन्धहरू अपवित्र छन्, जसले गर्दा यो मार्ग दुर्गम बन्दछ। ती सम्बन्धहरूको पाश र दलदलबाट मुक्त हुनु नै सबैभन्दा कठिन कार्य हो। हुन त अध्यात्ममा त्यस्तो के विशेष छ र? यसमा केवल केही शब्द र तीन-चार महावाक्यहरू मात्र छन्। तर आत्मशुद्धि र अंतर्शुद्धि अत्यन्त कठिन छ, यसलाई सामान्य ठान्ने भूल नगर्नुहोस्। यहाँ जति गहिरो मलिनता वा खाडल मा फस्नुभएको छ, यो मार्ग त्यति नै चुनौतीपूर्ण र कठिन हुनेछ। तापनि विचलित हुनुपर्ने आवश्यकता छैन; केही यस्ता युक्ति वा उपायहरू छन् जसले यहाँलाई सुरक्षा प्रदान गर्न सक्छन् र यस मार्गलाई केही सुगम बनाउन सक्छन्। तर विघ्न र बाधाहरू त अवश्य आउनेछन् यो त म लेखेर दिन सक्छु । यदि सम्बन्धीहरूप्रति अतिशय आसक्ति छ भने अहिलेदेखि नै अनासक्ति भाव जागृत गर्न आरम्भ गर्नुहोस्। यदि हृदयमा घृणा वा द्वेष उत्पन्न भएको छ भने अहिलेदेखि नै करुणाको भाव आफ्नो मनमा जगाउन सुरु गर्नुहोस्। सम्बन्ध दुई व्यक्तिहरूको बीचमा हुने गर्दछ; तर यदि म नै सर्वस्व हुँ र सबै मेरै स्वरूप हुन् भने सम्बन्ध कसरी सम्भव छ? एक मात्र अस्तित्व भएको ठाउँमा सम्बन्धको गुञ्जायस रहँदैन, सम्बन्धका लागि कम्तीमा दुई हुनु अनिवार्य छ। यदि यहाँमा सबै व्यक्ति मेरै प्रतिरूप हुन् भन्ने ज्ञान छैन भने यहाँका लागि सम्बन्धहरूबाट अनासक्त हुनु असम्भव छ। त्यसैले सर्वप्रथम यो ज्ञानलाई दृढ बनाउनुहोस् ब्रह्मज्ञान र आत्मज्ञान यो हो कि सबै मेरै स्वरूप हुन्, सबै माया र मायावी रूप हुन् र यी केवल नाम र रूप मात्र हुन्। अन्य व्यक्ति पनि मेरै स्वरूप हुन्। यस अवस्थामा अन्य व्यक्तिसँग अद्वैत वा एकताको सम्बन्ध बाहेक अर्को के सम्बन्ध हुन सक्छ र? मेरो दाहिने हातको मेरो देब्रे हातसँग के सम्बन्ध हुन सक्छ, जब कि शरीर एउटै छ? जब अज्ञानता रहन्छ र आफ्नै दुई भागहरूका बीचमा भिन्नता उत्पन्न हुन्छ, तब मात्र सम्बन्धको सृष्टि हुन्छ। जसलाई यहाँले प्रेम भन्नुहुन्छ, त्यो पनि यस अज्ञानता र अशुद्धिलाई हटाउने एउटा प्रयास मात्र हो, जसले अंतर्शुद्धि तर्फ प्रेरित गर्दछ। प्रेम किन हुन्छ? किनकि अर्को व्यक्ति पनि आफ्नै अंश जस्तो प्रतीत हुन्छ; जहाँ एक प्राण र दुई शरीरको आभास हुन्छ, त्यो नै वास्तविक प्रेम हो। यदि यस्तो अनुभूति छैन र यहाँले यो सत्यको अनुभव गर्नुभएको छैन भने त्यो केवल आसक्ति हो र यो ज्ञानले यहाँलाई अनासक्तितर्फ डोर्याउनेछ। अन्य व्यक्तिहरू केवल मायामात्र र स्वप्नमात्र हुन् जस्तै यहाँको स्वप्नमा विभिन्न पात्रहरू दृष्टिगोचर हुन्छन् तब उनीहरूप्रति घृणा गरेर के प्राप्त हुन्छ ? घृणाको मूल कारण अहङ्कार हो र त्यसको पृष्ठभूमिमा यो भय निहित हुन्छ कि यसले मेरो केही अहित गर्नेछ। जब तपाइँ बाहेक अन्य कोही छँदै छैन भने यहाँले कोप्रति द्वेष वा घृणा गर्नुहुन्छ र? प्रज्ञा वा ज्ञानका कारण करुणाको भाव स्वतः जागृत हुन थाल्दछ। करुणा र दयाको अर्थ यो होइन कि यहाँले कुनै अशिष्ट वा क्रूर आफन्त को सामु अनुनय-विनय गर्न वा उसका गोडा ढोग्न थाल्नुहोस्। यो करुणा वा क्षमा होइन। करुणा त आन्तरिक भाव हो, तर बाह्य रूपमा यहाँले विवेकपूर्ण र उचित व्यवहार नै गर्नुपर्दछ। जसरी हामी वन्यजन्तुको संरक्षण गर्दछौँ र उनीहरूको जीवनलाई बहुमूल्य ठान्दछौँ, तर यसको अर्थ यो होइन कि हामी सिंहको गुफामा गएर उसलाई अङ्कमाल गरौँ। सिंहले खान सक्छ। अतः वास्तविक र सही व्यवहार भनेको मानसिक दया र करुणा हो; मनमा घृणा, नकारात्मकता र आसक्तिको अभाव हुनु नै यथार्थ आचरण हो। बाह्य रूपमा यहाँले त्यही गर्नुपर्दछ जो व्यवहारिक छ, अर्थात् आवश्यक परेमा त्यस्ता सम्बन्धहरूलाई परित्याग नै गरिदिनुपर्दछ। अनासक्ति र करुणाका माध्यमले निजी सम्बन्धहरू केही समयसम्म सुमधुर वा कष्टरहित ढङ्गले निर्वाह हुन सक्दछन्। यहाँका सम्बन्धहरू सदैव त रहँदैनन्, तर दया र करुणाका माध्यमले तिनमा केही मधुरता अवश्य ल्याउन सकिन्छ। यो बुझ्नुहोस् कि अन्य व्यक्तिहरूको व्यवहार अज्ञानतापूर्ण र मूर्खतापूर्ण छ भने, जोसँग प्रज्ञा र विवेक छ, उसैले आफ्नो आचरण परिवर्तन गर्नुपर्दछ; अरूले यो कुरा बुझ्दैनन्। यदि यहाँका सम्बन्धहरू अनुचित वा अनैतिक भएका छन् भने अहिलेदेखि नै दूरी कायम गर्न आरम्भ गर्नुहोस्। सम्बन्ध गाँस्नु नै छ भने उचित र नैतिक सम्बन्ध गाँस्नुहोस्। के नैतिक हो र के अनैतिक, त्यो यहाँको समाजले नै निर्धारण गर्दछ। नैतिकता वा अनैतिकता यहाँको व्यक्तिगत भनाइले मात्र तय हुँदैन। तपाइँ समाजमा बस्न चाहनुहुन्छ र सम्बन्धहरू पनि सामाजिक व्यक्तिहरूसँगै गाँसिन्छन्; वनमा गएर सम्बन्धहरू स्थापित हुँदैनन्। त्यसैले यहाँ जुन समाजमा रहनुहुन्छ, त्यसका नैतिक मानक र मापदण्डहरू पालना गर्नैपर्दछ; अन्यथा सम्बन्ध नै नगाँस्नुहोस्। यदि यहाँ नैतिकता र अनैतिकताको सीमाभन्दा माथि उठिसक्नुभएको छ भने फेरि सम्बन्ध गाँस्नुको के प्रयोजन? तब सम्बन्धहरूबाट पनि माथि उठ्नुहोस्। जसलाई नैतिकता र अनैतिकताको बोध छैन, उनीहरूले सौन्दर्य र नैतिकताका विषयमा गरेको चर्चा सुन्नु भएको छैन भने एक पटक त्यो खण्ड पुनः श्रवण गर्नुहोस्। यदि यहाँलाई नैतिक र अनैतिकका बारेमा कुनै विभ्रम छ वा "म जेलाइ नैतिकता बुझ्छु, त्यही गर्छु" भन्ने गलत बुझाइ छ भने, मेरो रेकर्ड गरिएको त्यो भाग फेरि सुन्नुहोस्। यथार्थमा, सामाजिक मर्यादाको पालना गर्दै आन्तरिक रूपमा अनासक्त रहनु नै वास्तविक साधकको पहिचान हो। यस्तो केही हुँदैन; नैतिकता र अनैतिकता व्यक्तिपरक हुन्छन्। सबैले आफ्नै मापदण्ड बनाएका हुन्छन्, त्यसैले द्वन्द्व हुनु स्वाभाविकै हो। यदि यहाँ यस द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने दूरी कायम गर्नुहोस्। अनैतिक सम्बन्धबाट त १० किलोमिटर टाढा रहनुहोस् र अनुचित सम्बन्ध नगाँस्नुहोस्। आफ्ना स्वार्थका सम्बन्धहरू निर्माण नगर्नुहोस्। वासना तृप्तिका लागि सम्बन्ध नगाँस्नुहोस्; यो त खाडलमा खस्नु समान हो। तपाइँको लक्ष्य त त्यो खाडलबाट बाहिर निस्कनु हो। यदि यहाँका सम्बन्धहरू हिंसक भएका छन् र मानसिक वा शारीरिक हिंसा सुरु भएको छ भने, टाढा जानुहोस् भन्नु बाहेक मसँग अन्य विशेष उपाय छैन। यहाँले यस्ता व्यक्तिहरूलाई सुधार्न सक्नुहुन्न। यहाँले कसैलाई पनि परिवर्तन गर्न सक्नुहुन्न; यो मेरो अनुभव हो र यहाँको पनि स्वानुभूति होला। अलिअलि प्रबन्ध त गर्न सकिएला तर कसैलाई पूर्णतः बदल्न सम्भव छैन। व्यक्ति आफ्नै मन र इच्छाले परिवर्तन हुन्छ, कसैको आग्रहले परिवर्तन हुँदैन। अतः यदि सम्बन्धका कारण जीवन नरक भएको छ भने, ती सम्बन्ध विच्छेद गरेर टाढा जानुहोस् र स्वतन्त्र हुनुहोस्। यस्ता व्यक्तिहरूसँग किन बस्ने, जसको मनमा यहाँका लागि न त प्रेम छ, न दया, न आदर-सम्मान नै विद्यमान छ? जो कुटपिट गर्छन् र अपशब्द बोल्छन्, त्यस्तासँग किन टाँसिरहनुहुन्छ? अझ माथिबाट आफूलाई 'आध्यात्मिक शिष्य' भन्नुहुन्छ; यो त घोर मूर्खता, गुलामी र दासत्व मात्र हो। किन अहिलेसम्म आत्मनिर्भर हुनुहुन्न? जो परनिर्भर छ, उसले मुक्तिको सपना देख्नु हुँदैन। आत्मनिर्भर बन्नुहोस्। सर्वप्रथम आर्थिक आत्मनिर्भरता हुनु आवश्यक छ; धन स्वयं आर्जन गर्नुहोस् र आफ्नो आहार-विहार एवं जीविकोपार्जन आफैँ गर्नुहोस्। अन्यमाथि आश्रित नरहनुहोस्। गरीवीमै सही, तर दासत्वमा नबाँच्नुहोस्; तब मात्र यहाँले मुक्ति र मोक्षको सपना देख्न सक्नुहुन्छ। अहिलेको अवस्था के छ? अहिले दस जनाको वचन र अपमान सहेर मात्र गाँस प्राप्त हुन्छ; यस्तो स्थितिमा अध्यात्म कसरी सम्भव छ? अशुद्धिले भरिएका, मलिन र दूषित सम्बन्धहरूको त्यो ढलमा फसेपछि यहाँको आध्यात्मिक उन्नति कसरी सम्भव छ? स्वतन्त्रता, आत्मनिर्भरता र आफ्नो जीवन स्वयं सञ्चालन गर्न सिक्नुहोस्। सुरुमा यहाँलाई माता पिता, मित्र वा सम्बन्धीहरूको सहयोग आवश्यक पर्न सक्छ। तर जब यहाँ एक पटक स्वतन्त्र हुनुहुन्छ र यदि उनीहरूको व्यवहार अनुचित एवं अशोभनीय छ भने, त्यस्ता सम्बन्धहरू परित्याग गर्नुमै कल्याण छ। अब यहाँले यो नसोच्नुहोस् कि "उनीहरूले मेरो लागि यति धेरै गरे, त्यसैले मैले यो सम्बन्ध टिकाइराख्नुपर्छ"; यस विषयमा यस्तो कृत्रिम नैतिकतालाई स्थान नदिनुहोस्। यहाँको मार्ग मुक्तिको मार्ग हो, सम्बन्धहरू विस्तार गर्ने मार्ग होइन। हो, यदि यहाँलाई उनीहरूले पालनपोषण गरेको वा शिक्षा प्रदान गरेको गुन तिर्नुपर्छ भन्ने लाग्छ भने, त्यो कार्य यहाँले टाढा रहेर पनि गर्न सक्नुहुन्छ। उनीहरूको दासत्व स्वीकार नगरी पनि सहायता गर्न सम्भव छ। सहायता गर्नु कुनै ठूलो कुरा होइन; यदि यहाँ आत्मनिर्भर हुनुहुन्छ भने अन्यको सहायता सहजै गर्न सक्नुहुन्छ। त्यसका निम्ति सबैको पाउ मोल्नु वा चाकडी गर्नुको के आवश्यकता छ र? परनिर्भर नभई आत्मनिर्भर बन्नुहोस्। जब मूलाधार र स्वाधिष्ठानबाट यहाँको मुक्ति हुन्छ, तब मात्र त्यो ऊर्जा अगाडि बढ्नेछ र यहाँ मुक्तिको दिशामा अग्रसर हुनुहुनेछ। सम्बन्धहरूलाई पवित्र तुल्याउनुहोस्। निजी सम्बन्धहरूलाई कम्तीमा पवित्र बनाउनुको अर्थ नै तिनबाट विदा लिनु वा मुक्त हुनु हो। सम्बन्ध स्वयंमा एक मलिनता हो। एक योगीको कोही सम्बन्धी हुँदैन र एक ज्ञानीलाई कोही 'अन्य' सँग प्रेम हुँदैन। प्रेमका लागि कोही 'अर्को' को उपस्थिति अनिवार्य हुन्छ, तर यदि सबै 'म' नै हुँ भने कोप्रति प्रेम गर्ने? के स्वयं प्रति? जसले आफैँलाई प्रेम गर्दछ, त्यो नै सर्वोच्च प्रेम हो। स्वयंलाई प्रेम गर्नु स्वार्थी प्रेम होइन। म बाहेक अन्य कोही छैन र सबै मेरै प्रतिछाया मात्र हुन् भन्ने बोध भएपछि सबैप्रति स्वतः प्रेम जागृत हुन्छ। त्यसपछि केको सम्बन्ध? केको पराया वा आफ्नो? केको परिचित वा अपरिचित? यहाँसम्म पुगेपछि सम्बन्ध 'सम्बन्ध' रहँदैन, यो स्वतः विलीन हुन्छ। अतः, कि त यहाँले द्वन्द्व गरेर बलपूर्वक सम्बन्ध विच्छेद गर्न सक्नुहुन्छ, कि त ज्ञान मार्गमा लागेर प्रज्ञा, करुणा र अनासक्तिका माध्यमले ती सम्बन्धहरूलाई एकता वा अद्वैतमा रूपान्तरण गर्न सक्नुहुन्छ। यसपछि परिचित व्यक्तिहरूको प्रसङ्ग आउँछ। यदि यहाँका कोही परिचित वा मित्र छन् भने उनीहरूसँग निस्वार्थ भावले मित्रता राख्नुहोस्। निस्वार्थ मित्रता के हो? कसैबाट कुनै अपेक्षा नराख्नु नै निस्वार्थ मित्रता हो। "यो मेरो काममा आउनेछ" भन्ने सोचेर मित्र नबनाउनुहोस्। यदि कसैको स्वभाव उत्तम छ, यहाँको उनीहरूसँग राम्रो तालमेल मिल्छ र उनीहरूमा कुनै लोभ वा स्वार्थ देखिँदैन यदि कोही निस्वार्थ र निश्चल छ भने मात्र उसँग मित्रता गाँस्नुहोस्। यदि कसैलाई कुनै सहायता आवश्यक छ भने, काम गरिदिनुहोस्; तर बदलामा केही अभिलाषा नराख्नुहोस्। यदि यहाँ कुनै संकटमा पर्नुभयो र यदि ऊ सच्चा मित्र हो भने, सहायताका लागि ऊ स्वतः अग्रसर हुनेछ। उसले स्वयं यहाँको मद्दत गर्नेछ। संकटको घडीमा नै यहाँलाई बोध हुनेछ कि को केवल परिचित हो, को वास्तविक मित्र हो र को नितान्त स्वार्थी। त्यसैले यहाँले यस्तो परीक्षा पनि लिन सक्नुहुन्छ। जुन व्यक्तिहरूसँग यहाँको मित्रता छ, यदि उनीहरूबाट कुनै कार्य लिनुभयो भने त्यसको पूर्ण मूल्य वा ऋण चुकाउनुहोस्। यदि कसैले यहाँका लागि केही गरेको छ भने, त्यो यहाँको शिरमा एउटा भार समान हुन्छ; त्यसको प्रत्युपकार गर्नु वा ऋण तिर्नु अनिवार्य छ। यस्तो सजगताले नै यहाँको सामाजिक सम्बन्धमा अंतर्शुद्धि कायम राख्दछ। मेरो मित्र हो, उसले केही भन्ने छैन वा केही बोल्ने छैन भनी कहिल्यै नसोच्नुहोस्; मानिसहरू कहिले परिवर्तन हुन्छन्, त्यसको कुनै निश्चितता वा प्रत्याभूति हुँदैन। जब सही समय आउँछ, तब तिनै मित्रले यहाँलाई हिजोको उपकार स्मरण गराउँदै "मैले तेरो लागि यति धेरै गरेँ तर त यस्तो निस्किस" भनी लाञ्छना लगाउन सक्छन्। त्यसैले उनीहरूले गरेको उपकार वा गुण तत्कालै चुकाइदिनुहोस्। भविष्यका बारेमा कसैले केही भन्न सक्दैन। भले ही कसैले निस्वार्थ भावले यहाँको सहायता गरेको किन नहोस्, यहाँले त्यो उपकार वा ऋणलाई बाँकी राख्नु हुँदैन, त्यसलाई चुकाउनै पर्दछ। ठिकै छ, यिनीहरू मेरा मित्र हुन्, उनीहरूले केही भन्ने छैनन् भन्ने यहाँलाई लाग्न सक्छ, तर समयक्रममा सबै परिवर्तन हुन्छन्। किन? किनकि यहाँ स्वयं परिवर्तन हुनुहुन्छ । जब यहाँ आध्यात्मिक मार्गमा अग्रसर हुनुहुन्छ, तब यहाँको अंतर्शुद्धि को प्रक्रिया सुरु हुन्छ। अब ती मित्रहरू मित्र रहने छैनन्, जसको साथमा यहाँ धूम्रपान वा मद्यपान गर्नुहुन्थ्यो र अपशब्दको प्रयोग गाली-गलौज गर्नुहुन्थ्यो। किन? किनकि अब यहाँको वाक् शुद्धि र आत्मशुद्धि भइरहेको छ। जब आत्मशुद्धि हुन्छ, तब यस्ता मित्रहरूले यहाँलाई स्वयं छाडेर जानेछन् वा यहाँ आफैँले उनीहरूबाट दूरी कायम गर्नुहुनेछ। यस्तो अवस्थामा यहाँ भन्नुहोला कि "म त एक्लो हुनेछु; यदि माता-पिता, रक्त-सम्बन्धी र मित्रहरू सबैलाई त्यागिदिने हो भने यो जीवन बाँच्न योग्य रहने छैन।" यहाँलाई यस्तो लाग्न सक्छ किनकि हाम्रो जीवन अरूको उपस्थितिले बनेको छ र 'स्वयं' का लागि कसैले बाँचेको देखिँदैन। यो एक प्रकारको अज्ञानता हो, तर जसले आध्यात्मिक यात्रा भर्खरै आरम्भ गर्दैछ, उसको ज्ञान अझै ठोस र परिपक्व नभएकाले हामी यसलाई स्वभाविक मान्दछौँ। तर विचलित हुनुपर्ने आवश्यकता छैन। यहाँ एक्लो रहनुहुनेछैन; जो आध्यात्मिक शिष्य, गुरुभाइ र गुरुमित्रहरू छन्, उनीहरूसँग मित्रता, परिचय र सामीप्य गाँस्नुहोस्। जुन आश्रममा यहाँ जानुहुन्छ, त्यहाँका साधकहरूसँग मित्रता गर्नुहोस्। यस्तो मित्रता स्वार्थप्रेरित हुने छैन, किनकि आध्यात्मिक पथका साधकहरू यहाँका वर्तमान स्वार्थी र मलिन परिचितहरू जस्ता हुने छैनन् भन्ने पूर्ण विश्वास र आशा गरिन्छ। स्वार्थका सम्बन्धहरू जो मानिसहरूले यहाँसँग गाँसेका छन्, ती स्वतः हटेर जानेछन्; त्यसैले एक्लो रहनुपर्ने आवश्यकता छैन। यहाँलाई जो मन पर्दछ, उनीहरूसँग मित्रता गर्नुहोस्। नयाँ मित्र र नयाँ परिचय निर्माण गर्नुहोस्, जो यहाँकै मार्गमा अग्रसर हुन्। यस्ता व्यक्तिहरूसँग मित्रता गर्नु अत्यन्त उत्तम हुनेछ। पुरानालाई परित्याग गर्नुहोस्, ती त्यसै पनि टुट्ने नै छन्। के लिएर बस्नुभएको छ? ती जे भए पनि टुट्ने नै हुन्। स्वयं परित्याग गरिदिनुहोस्। पूर्ण चेतनाका साथ, सचेत भएर त्यस्ता व्यक्तिहरूलाई छाडिदिनुहोस्। एक्लो रहनु अनिवार्य छैन; यदि रहनुहुन्छ भने त्यो अझ राम्रो कुरा हो, यसमा कुनै खराबी छैन। तर यो मनुष्यको स्वभाव हो कि कतै न कतै परिचय र मित्रता भइहाल्छ। हामी सामाजिक छौँ र सामाजिक नै रहनेछौँ। जबसम्म यो शरीरमा हुनुहुन्छ, तबसम्म असल व्यक्तिहरूसँग मित्रता गर्नुहोस् र आध्यात्मिक व्यक्तिहरूसँग मित्रता गाँस्नुहोस्। जो अपरिचित छन्, उनीहरूसँग मित्रता गाँस्न कठिन हुन सक्छ। किन? किनकि जो अपरिचित छन्, उनीहरू मलिन र अशुद्ध छन्। यहाँका सम्बन्धी र परिचितहरू त यस्ता छन् भने अपरिचितको व्यवहार कस्तो होला भनी यहाँ सोच्नुहुन्छ। तर कहिलेकाहीँ त यो आश्चर्यको विषय बन्दछ कि अपरिचितहरूको व्यवहार यहाँका नातेदारहरूको तुलनामा निकै राम्रो हुन्छ। किन? किनकि उनीहरूसँग कुनै लेनदेन हुँदैन र जब कुनै स्वार्थ हुँदैन, तब सम्बन्धहरू स्वतः शुद्ध हुन्छन्। तर जतिबेला स्वार्थको प्रवेश हुन्छ, तब सम्बन्धहरू नीचता र पशुतामा रूपान्तरित हुन्छन्। एक अपरिचित व्यक्तिको प्रायः कुनै स्वार्थ हुँदैन। यहाँले देख्नुभएको होला कि लामो यात्रामा यहाँको सामुन्ने बस्ने व्यक्तिले अत्यन्त शालीनताका साथ संवाद गर्दछ। सायद यहाँका आफ्नै दाजुभाइ वा दिदीबहिनीले पनि यहाँसँग कहिल्यै त्यति प्रेमपूर्वक कुरा गरेका थिएनन्। त्यो अपरिचित व्यक्ति जसले बसबाट ओर्लिएर कतै जानु छ, उसले यहाँको नाम समेत सोध्दैन र निकै अभिरुचिका साथ विविध विषयमा संवाद गर्दछ। यस्तो किन हुन्छ? किनकि त्यहाँ कुनै स्वार्थ हुँदैन। उसलाई पनि ज्ञात छ कि यहाँसँग कुनै लेनदेन गर्नु छैन; यहाँ पनि आफ्नो गन्तव्यमा जानुहुन्छ र ऊ पनि आफ्नो बाटो लाग्छ। जब स्वार्थको प्रवेश हुन्छ, तब सम्बन्धहरू निकृष्ट हुन पुग्दछन्। यहाँमा निस्वार्थताको गुण विद्यमान छ, तर अन्य मानिसहरूमा यस्तो गुण नहुन सक्छ। अतः पक्षपाती वा उदासीन हुनुको साटो अपरिचित व्यक्तिहरूसँग जति आवश्यक छ, त्यति मात्र सम्बन्ध राख्नुहोस्। यदि कसैलाई सहायताको खाँचो छ वा यहाँको कार्यक्षेत्र यस्तो छ जहाँ मानिसहरूसँग संवाद गर्नै पर्ने हुन्छ भने, जति आवश्यक छ त्यति मात्र भेट्नुहोस् र प्रेमपूर्वक एवं निस्वार्थ भावले संवाद गरी उनीहरूलाई विदा गर्नुहोस्। यस्तो सन्तुलित आचरणले नै यहाँको अंतर्शुद्धि लाई सहयोग पुर्याउँदछ। बाह्य पहिरन वा स्वर्ण-आभूषणका आधारमा कसैलाई "धनी वा ठूलो मान्छे" सम्झेर उसको चाकडी गर्ने वा पाउ मोल्ने जस्ता तुच्छ कार्य नगर्नुहोस्। मानिसहरू प्रायः यस्तो गर्दछन्, तर यहाँले त्यसो नगर्नुहोस्। जति आवश्यक छ, त्यति नै बोल्नुहोस् र उनीहरूलाई जान दिनुहोस्। यदि कोही गरीव वा याचक आउँछ भने पनि उसँग समान व्यवहार गर्नुहोस्; सबैप्रति एकनासको समभाव राख्नुहोस्। एक मनुष्यले अर्को मनुष्यप्रति गर्नुपर्ने स्वभाविक मानवीय व्यवहार मात्र गर्नुहोस्। जब यहाँको अंतर्शुद्धि हुन थाल्दछ र यहाँ निकै अगाडि बढ्नुहुन्छ, तब यहाँले एउटा विचित्र कुरा देख्नुहुनेछ कि यहाँको व्यवहार सबैप्रति एकसमान भएको छ। त्यति नै प्रेम, त्यति नै करुणा, त्यति नै दया र त्यति नै मित्रता चाहे ती यहाँका शत्रु हुन् वा यहाँका माता-पिता, भाइ, पति वा पत्नी नै किन नहुन्; सबैप्रति समभाव जाग्दछ। महान सन्त र गुरुजनहरूको व्यवहार यस्तै हुने गर्दछ, जुन यहाँको आफ्नै स्वानुभूति पनि हो। यस्तो व्यवहार हुनुको कारण के हो भने, सामान्यतया सबै सम्बन्धहरू स्वार्थ र केवल जीवित रहन का लागि निर्मित शरीरका सम्बन्ध हुन्। जब यो शरीरको आवश्यकता रहँदैन र यहाँले आफ्नो वास्तविक स्वरूपको साक्षात्कार गर्नुहुन्छ कि "म आत्मा हुँ, म ब्रह्म हुँ", तब स्थिति पूर्णतः परिवर्तित हुन्छ। म त्यो शुद्ध चेतना हुँ जसको शरीरसँग कुनै वास्तविक सरोकार छैन; जब यहाँलाई यो सम्पूर्ण जगत माया र एउटा खेल जस्तो प्रतीत हुन्छ, तब यहाँको चित्त शुद्ध हुन्छ। चित्तको त्यही निर्मलता यहाँका सम्बन्धहरूमा देखिन थाल्दछ र त्यही नै व्यवहारमा प्रतिविम्बित हुनेछ। यस शरीर र यसको आचरणका माध्यमले तब सबै एक हुन पुग्दछन्; चाहे राजा होस् वा रङ्क, मित्र होस् वा शत्रु, ठुलो होस् वा सानो सबैमा एकात्मकताको भाव जागृत हुन्छ। यहाँले यसलाई कृत्रिम पद्धति वा अभिनयबाट प्राप्त गर्न सक्नुहुन्न। स्मरण रहोस्, जब अंतर्शुद्धि को स्तर निकै उच्च हुन्छ, तब यो अवस्था स्वतः प्राप्त हुन्छ। यदि यहाँले यसलाई कृत्रिम रूपमा प्रदर्शन गर्न खोज्नुभयो भने त्यो केवल बनावटी र ढोंग लाग्नेछ। ध्यान दिनुहोस्, यहाँको सामुन्नेको व्यक्ति अशुद्ध, मलिन वा नीच होला, तर ऊ मूर्ख हुँदैन। यहाँले सन्त बन्ने जुन मिथ्या प्रदर्शन गर्नुहुन्छ, मानिसहरूले त्यसलाई तत्कालै पहिचान गर्न सक्दछन्, जसले अन्ततः यहाँको अपमान र बदनामी मात्र गराउनेछ। यदि यहाँ आफ्ना गुरु, सन्त वा देवतुल्य महापुरुष जस्तो आचरण गर्न चाहनुहुन्छ भने, ढोंग वा अभिनय नगर्नुहोस्। अघी भने झैँ, यो सबै स्वतः हटेर जानेछ, स्वतः घटित हुनेछ र अनासक्ति पनि स्वतः जागृत हुनेछ। अहिले यहाँ जुन अवस्थामा हुनुहुन्छ, त्यसैअनुरूप इमानदारीका साथ व्यवहार गर्नुहोस्। कसैले सिकाएको भरमा गरिने कृत्रिम आचरण न त प्राकृतिक हुन्छ, न त नैसर्गिक नै। जहाँ प्रेमको आवश्यकता छ, त्यहाँ प्रेमपूर्वक र मधुर वाणीमा संवाद गर्नुहोस्; तर जहाँ कसैले दण्डको भाषा मात्र बुझ्दछ, त्यहाँ दण्डकै प्रयोग गर्नुपर्दछ वा क्रोधित हुनुपर्दछ, तब मात्र कार्य सिद्ध हुन्छ। मित्रहरूलाई लात हानेर निकाल्नुपर्छ, ताकि उनीहरूले यहाँको अनुचित उपयोग गर्न नसक्ने कुरा बोध गरून्। अपरिचित व्यक्तिहरूबाट सतर्क रहनुहोस्; यहाँलाई ज्ञान छैन कि ऊ को हो कोही अपराधी वा गुण्डा पनि हुन सक्छ। सबैप्रति अतिशय प्रेम देखाउनु आवश्यक छैन। यदि यहाँले अस्पष्ट वा चाप्लुसीपूर्ण भाषा प्रयोग गर्नुभयो भने मानिसहरूले यहाँको अनुचित लाभ उठाउनेछन् र कतिपयले यहाँलाई दुर्बल सम्झेर यहाँमाथि अत्याचार समेत गर्न सक्दछन्। अघी भने झैँ, सिंहप्रति दया र करुणा राख्नु आवश्यक छ, तर उसको मुखमा आफ्नो गर्दन सुम्पनु कदापि बुद्धिमानी होइन। दया, करुणा र क्षमाको पनि एक निश्चित सीमा वा मर्यादा हुन्छ। यो मानव जीवनले यहाँलाई जे सिकाइरहेको छ, यदि त्यो आत्मसात् गर्नुभएन भने जीवनको कुनै सार्थकता रहँदैन। यो साधना यति सहज छैन। यदि "सबैप्रति एउटै व्यवहार गर" भन्ने कुनै सूत्र मात्र पछ्याउनुभयो भने, अध्यात्म त परको कुरा, यहाँको अस्तित्व रक्षा नै संकटमा पर्नेछ र जीवन कष्टकर हुनेछ। अतः व्यक्तिले आफ्ना अभूतिहरूबाट सिक्दछ कि समाजमा व्याप्त विविध प्रकारका बन्धनहरूबाट कसरी मुक्ति प्राप्त गर्ने। यथाशक्य प्रज्ञा, नैतिकता, दया र करुणाको प्रयोग गर्नुहोस्। जहाँ जीवन नै संकटमा पर्दछ, त्यहाँ प्रतिकार (हिंसा) को प्रयोग गर्नुहोस्। एउटा यस्तो समय आउनेछ जब समस्त सम्बन्धहरू विच्छेद हुनेछन् र त्यस पश्चात् यहाँको जीवन निकै सरल बन्नेछ। प्रायः मैले देखेको छु कि मानिसहरूले नै यहाँलाई परित्याग गरिदिनेछन्। यहाँले कसैलाई छाड्नु पर्ने छैन। र यो पूर्णतः निश्चित छ कि यहाँको जतिसुकै निकटतम सम्बन्ध किन नहोस् पत्नी, पति, प्रेमी, प्रेमिका वा सन्तति सबैले यहाँलाई छाड्नेछन्। सम्बन्ध आफैँमा एक प्रदूषण हो। एक दूषित व्यक्तिले मात्र अर्को दूषित व्यक्तिसँग सम्बन्ध स्थापित गर्न सक्दछ। तर जो पवित्र र शुद्ध भएको छ, उसबाट मानिसहरू टाढै रहन चाहन्छन्। यहाँको सामीप्यमा आउन समेत मानिसहरू डराउँछन्; यो यहाँको आफ्नै अनुभूति पनि होला। यो नै सम्बन्धको शुद्धि र अंतर्शुद्धि को वास्तविक परिणाम हो। यदि यहाँमा यस्तो भ्रम छ कि मनको शुद्धिको अर्थ "सबै व्यक्तिसँगको सम्बन्ध प्रगाढ हुन्छ र जीवन स्वर्ग समान बन्छ" भन्ने हो भने, त्यो ठूलो मूर्खता हो। त्यस्तो केही हुनेवाला छैन। आध्यात्मिक मार्गमा सबैथोक छुट्दछ र सम्बन्धहरू विच्छेद हुन्छन्। त्यसैले अहिलेदेखि नै स्वयंलाई परिपक्व बनाउनुहोस्। यो मार्ग काँडाले भरिएको छ; यहाँ फुल को अभिलाषा राख्नु मूर्खता मात्र हो।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions