Wise Words
Home
Read
Write
Publish
Profile
Logout
आध्यात्मिक मार्ग (नेपाली )
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।** "बोधि वार्तामा यहाँलाई हार्दिक स्वागत छ। लक्ष्य रोजिसकेपछि त्यसलाई कसरी हासिल गर्ने भन्ने प्रश्न उठ्छ। तपाईँले थाहा नै छ जस्तै, मार्ग लक्ष्यसम्म पुग्ने एउटा साधन हो। यसलाई हामी आध्यात्मिक मार्ग भन्दछौँ। जसरी पर्वतको शिखरमा पुग्नका लागि धेरै मार्गहरू हुन्छन् र विभिन्न दिशाबाट पुग्न सकिन्छ, त्यसैगरी आध्यात्मिक लक्ष्यसम्म पुग्नका लागि पनि धेरै मार्गहरू हुन सक्छन्। यस्ता कति मार्गहरू छन् त? मैले त कहिल्यै गनेको छैन, तर मार्गहरू धेरै छन्। तिनलाई गन्न पनि कठिन हुनेछ र धेरै समय लाग्नेछ। त्यसैले हामी मार्गहरूको वर्गीकरण गरिदिन्छौँ र तिनलाई विभिन्न वर्गमा विभाजन गर्छौँ। यहाँ मैले केही वर्गीकरण गर्ने प्रयास गरेको छु र यसमा मतभेदहरू हुन सक्छन्। कतिपय मानिसहरू अर्कै वर्गीकरण गर्न चाहलान् वा अरू नै प्रकारले मार्गहरूलाई विभाजित गर्न चाहलान्, उनीहरूले पक्कै पनि त्यसो गर्न सक्छन्। यहाँ मैले सबैभन्दा प्रचलित वर्गीकरण गरेको छु, जो अक्सर देखिने गरिन्छ। ध्यान दिनुहोस्, यी मार्गका नामहरू होइनन्, बरु मार्गका प्रकारहरू हुन्। मार्गको नाम अक्सर गुरुको नाममा हुन्छ वा कुनै विशेष नाम हुन्छ; हामी यी सबैका केही उदाहरणहरू हेर्नेछौँ। मैले आध्यात्मिक मार्गहरूलाई छ वटा वर्गमा विभाजन गरेको छु। ती हुन् ज्ञानमार्ग, योगमार्ग, शक्तिमार्ग, कर्ममार्ग, भक्तिमार्ग र तन्त्रमार्ग। ज्ञानमार्गका मैले केही उदाहरणहरू यहाँ उल्लेख गरेको छु, जसमा अद्वैत वेदान्त, साङ्ख्य दर्शन, बौद्ध दर्शन, जैन, सिख इत्यादि छन् "ज्ञानमार्ग खासगरी नास्तिक मार्ग हो र यसको लक्ष्य ज्ञान प्राप्त गर्नु हो। ज्ञानको प्राप्तिले बाँकी सबै लक्ष्यहरू स्वतः सिद्ध हुन्छन्। ती जुनसुकै हुन् मुक्ति होस्, समाधि होस् वा सांसारिक जीवनमा सुख आदि सबै इच्छाहरूको पूर्ति, यी सबै कुरा ज्ञानमार्गद्वारा सिद्ध गर्न सकिन्छ। भौतिक विज्ञान ज्ञानमार्गको एउटा शाखा हो। मानसिक विज्ञान पाी ज्ञानमार्गकै एउटा शाखा हो। विज्ञानको सहायताले सांसारिक जीवनलाई उत्तम बनाउन सकिन्छ जुन तपाईँले गरिरहनुभएकै छ र आध्यात्मिक ज्ञानको सहायताले तपाईँले आफ्नो आध्यात्मिक लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ। आध्यात्मिक लक्ष्यका बारेमा हामीले अघिल्लो भागमा चर्चा गरेका थियौँ, जसले छुटाउनुभएको छ उहाँहरूले अवश्य हेर्नुहोला। यसपछि एउटा ठुलो वर्ग आउँछ, जसलाई हामी योगमार्ग भन्दछौँ। यसका मैले दुई वटा मात्र उदाहरणहरू उल्लेख गरेको छु जसमा पतञ्जलिद्वारा स्थापित अष्टाङ्ग योग र स्वामी विवेकानन्द आदि ऋषिहरूद्वारा स्थापित राजयोग पर्दछन्। यस्ता अरू पनि धेरै छन्। सबैले आआफ्नै योगका पद्धतिहरू बनाएका छन्। योगमार्गमा मुख्य लक्ष्य भनेको चित्तलाई अनुशासित बनाउनु हो। यसका धेरै तरिकाहरू हुन सक्छन्। तपाईँलाई थाहा नै होला आसन, प्राणायाम, ध्यान यी सबै योग अन्तर्गत नै पर्दछन् र यसैका माध्यमबाट तपाईँले आध्यात्मिक लक्ष्य प्राप्त गर्नुहुन्छ अनि सांसारिक जीवन पनि सुचारु रूपले चल्न सक्छ। यहाँसम्म कि शरीर आदिलाई पनि स्वस्थ राख्न सकिन्छ। त्यसैले योगमार्ग निकै लोकप्रिय छ।" "यसपछि आउँछ शक्तिमार्ग, जुन अत्यन्तै रहस्यमयी छ र यसका केही उदाहरणहरू मैले यहाँ प्रस्तुत गरेको छु जस्तै कुण्डलिनी, क्रिया र हठयोग। शक्तिमार्गमा दुईवटा कुराहरू मुख्य छन् शक्तिको देवीका रूपमा उपासना गर्नु र विभिन्न क्रियाहरूका माध्यमबाट शक्तिको आरोहण वा शक्तिमाथि नियन्त्रण प्राप्त गर्नु। शक्तिमाथि नियन्त्रण हुनासाथ तपाईँका धेरैजसो आध्यात्मिक लक्ष्यहरू प्राप्त हुन्छन्, जसमा वासनाको पूर्ति र सांसारिक लक्ष्यहरू पनि पर्दछन्। धेरै मानिसहरू सांसारिक जीवनलाई सुखी बनाउनका लागि पनि शक्तिको उपासना गर्ने गर्छन्। त्यसमा कुनै खराबी छैन; म यो भन्दिनँ कि त्यसो गर्नु हुँदैन। गर्नुहोस्, अवश्य गर्नुहोस्।यी सबै मार्गहरू तपाईँकै उपयोगका लागि हुन्, तर त्यसो गर्दा त्यसलाई फेरि अध्यात्म भन्न भने मिल्दैन। र त्यसैगरी, शक्तिको उपयोग आध्यात्मिक लक्ष्य प्राप्तिका लागि पनि गर्न सकिन्छ जस्तै मुक्ति आदि र शक्तिमार्गको सबैभन्दा ठुलो कार्य हो जीवको विकास। शक्तिमार्गमा हिँड्ने व्यक्ति मनुष्य योनिभन्दा माथिल्ला योनिहरूमा निकै छिटो पुग्न सक्छ। यसपछि आउँछ कर्ममार्ग, जसमा सही कर्म गर्नु नै मुख्य लक्ष्य हो। सही कर्मलाई पुण्य कर्म भनिन्छ भने गलत कर्मलाई पाप कर्म भनिन्छ। यसका पनि मैले केही उदाहरणहरू दिएको छु जस्तै सेवा, क्षमा, दान र अहिंसा आदिको मार्ग। कर्ममार्गको लक्ष्य कर्महरूद्वारा आध्यात्मिक लक्ष्य प्राप्त गर्नु हो र यसको प्रभाव सांसारिक जीवनमा पनि पर्ने गर्छ। यसले तपाईँको जीवन निकै सुखद रूपमा चल्छ; कर्ममार्गमा पुण्य कमाउनाले आध्यात्मिक लक्ष्यको सिद्धि हुन्छ। अर्को वर्ग हो भक्तिमार्ग, जसमा प्रेमको भाव प्रचुर मात्रामा हुन्छ र सेवा एवं करुणाको भाव पनि निकै धेरै हुन्छ। त्यस्ता व्यक्तिहरूले भक्तिमार्ग रोज्छन्। र भक्तिको उद्देश्य समर्पण हो र यसमा आफ्ना इष्टदेवको सहायता लिने गरिन्छ। इष्टदेवको पूजा, आराधना आदि गरेर उहाँ जस्तै बन्ने प्रयास गरिन्छ। यसबाट आध्यात्मिक लक्ष्यहरू प्राप्त हुन्छन्; इष्टदेव वा भगवानको कृपाले गर्दा व्यक्तिले खासै केही गर्नु पर्दैन, केवल समर्पित हुनुपर्छ। मलाई मेरो आध्यात्मिक लक्ष्य प्राप्त होस् भनेर सङ्कल्प लिनुपर्छ। भक्तिमार्ग निकै सरल मार्ग हो; साधारण मानिसहरूलाई यो मार्ग धेरै मन पर्ने हुनाले यो निकै लोकप्रिय पनि छ।" "यसपछि एउटा ठुलो वर्ग आउँछ तन्त्रमार्ग; जसका मैले तीनवटा उदाहरणहरू दिएको छु स्वतन्त्र तन्त्र, परतन्त्र तन्त्र र धर्म रक्षा। जो व्यक्तिहरू यो के हो भनेर जान्न चाहनुहुन्छ, उहाँहरूले 'वासना पूर्ति' को शृङ्खला अवश्य हेर्नुहोला। त्यसमा मैले अलि विस्तारमा बताएको छु। म यहाँ तपाईँलाई यति मात्र बताउँछु कि तन्त्रमार्गको उद्देश्य वासना पूर्ति हो; चाहे त्यो सांसारिक होस् वा आध्यात्मिक, जुनसुकै प्रकारको किन नहोस्। स्वतन्त्र मार्गमा सिद्धिहरूको चाहना हुन्छ। मन्त्र र यन्त्रद्वारा, तान्त्रिकले आफ्नो स्वयंको कर्म र प्रयासबाट तिनलाई प्राप्त गर्दछ। परतन्त्र मार्गमा पनि यस्तै इच्छाहरू हुन्छन् र यो वासना पूर्तिका लागि नै हो, तर यसमा वैदेहिक शक्तिहरूको माध्यमबाट फल प्राप्त हुन्छ। चाहे त्यो आध्यात्मिक लक्ष्य नै किन नहोस्, वैदेहिक शक्तिहरूले तपाईँका लागि कार्य गर्छन्। वैदेहिक शक्तिहरूमाथि नियन्त्रण र उनीहरूको कृपा प्राप्त गर्नु नै परतन्त्र मार्गको लक्ष्य हो। बाँकी सबै काम उनीहरूले नै गरिदिन्छन्; र यिनको उपयोग वा दुरुपयोग सांसारिक कार्यहरूका लागि पनि गरिन्छ भन्ने कुरा सबैलाई थाहा नै होला। यहाँ मैले एउटा नयाँ कुरा उल्लेख गरेको छु 'धर्म रक्षा', जसका बारेमा म खासै बोल्ने गर्दिनँ। यो मार्ग अहिले लगभग नष्ट भइसकेको छ। मेरो विचारमा, निकै कम मानिसहरूले मात्र यसलाई अपनाउने गर्छन्। यसलाई मैले तन्त्रको वर्गमा राखेको छु, किनभने यसको लक्ष्य सिद्धिहरूको उपयोग र तन्त्र-मन्त्रको सहायताले धर्मको रक्षा गर्नु हो। धर्म अर्थात् सत्य, धर्म अर्थात् ज्ञान वा आध्यात्मिक ज्ञान। तपाईँले देख्नुभएकै होला, जो नीच शक्तिहरू छन्, उनीहरू सधैँ धर्मको नाश गर्न लागिपरेका हुन्छन्। त्यसैले उनीहरूको सामना गर्नका लागि धेरै गुरुजनहरूले एक प्रकारको सेना वा व्यवस्था खडा गरिदिनुभएको थियो, जहाँ उनिहरूलाई यी कलाहरूमा पारङ्गत बनाइन्थ्यो। ती नीच शक्तिहरूको नाश गर्नका लागि उनीहरूलाई प्रशिक्षित गरिन्थ्यो। उनीहरूलाई ती सबै कुरा सिकाइन्थ्यो र सिद्धिहरू प्रदान गरिन्थ्यो। उनीहरूको काम नै धर्मको नाश गर्न खोज्नेहरूको अन्त्य गर्नु थियो। यो एउटा हिंसाको मार्ग हो; सायद त्यसैले धेरै मानिसहरूलाई यो मन पर्दैन। अहिले यस्तो केही बाँकी छैन। मैले देखेको एउटा मात्र मार्ग छ जुन केही हदसम्म धर्म रक्षाको नजिक आउँछ, त्यो हो सिख मार्ग, जसलाई मैले ज्ञानमार्गमा राखेको छु। तर त्यहाँ एउटा निकै राम्रो कुरा के छ भने हाम्रो प्राचीन ज्ञानको रक्षाका लागि नै गुरुजनहरूले त्यो मार्ग निर्माण गर्नुभएको थियो। तपाईँलाई थाहा नै छ, कुनै समय बिदेसी आक्रन्ता हरूले यस क्षेत्रमा निकै सत्यानाश गरिरहेका थिए। त्यसैले अहिले न त धर्म रक्षाको त्यो स्वरूप बाँकी रह्यो, न त त्यो सिख मार्ग नै पहिले जस्तो रह्यो। अब त्यो पनि पूजा-पाठको मार्ग जस्तो हुन पुगेको छ, तर वास्तवमा त्यो ज्ञानमार्ग नै हो।" "म स्वयम् ज्ञानमार्गमा छु, तर ज्ञानमार्गी निकै विचित्रको प्राणी हुन्छ। उसलाई सबै कुरा जान्नुपर्ने हुन्छ। त्यसैले म पनि यी सबै मार्गहरूमा रुचि राख्दछु। हरेक मार्गको बारेमा अलिअलि जान्दछु। यदि तपाईँले मलाई सोध्नुभयो भने, म तपाईँलाई अन्य मार्गहरूको सामान्य ज्ञान दिन सक्छु, तर मार्गदर्शनकै लागि सोध्नुहुन्छ भने, म तपाईँलाई ज्ञानमार्गको मार्गदर्शन दिन सक्छु। त्यसमा मैले साधना गरेको छु र त्यो अझै पनि चलिरहेको छ। बाँकी मार्गहरूको साधना गरेर मैले छोडिदिएँ र अब ज्ञानमार्गमा पनि अद्वैततर्फ मेरो बढी झुकाव छ। तर बाँकी मार्गहरू पनि मलाई धेरै मन पर्छन्। अब प्रश्न यो उठ्छ कि मैले थाहा पाएँ, यहाँ धेरै मार्गहरू छन् र यी त मैले केही उदाहरण मात्र दिएको हुँ। तपाईँले खोज्नुभयो भने यस्ता झण्डै सयौँ मार्गहरू भेट्टाउनुहुनेछ। हरेक गुरुको नाममा एउटा मार्ग चलिआएको छ, किनकि गुरु पनि मनुष्य नै हुन् र मनुष्यको स्वभाव नै यस्तो हुन्छ कि सबै मानिस एकैनासका हुँदैनन्। कुनै एउटा मार्ग रोज्दैमा व्यक्ति त्यही घेराभित्र मात्र बाँधिनुपर्छ भन्ने पनि छैन। उनीमाथि यताउताको प्रभाव परिनै हाल्छ र हरेक गुरुको आफ्नो एउटा छुट्टै मार्ग बन्न पुग्छ। त्यसैले, कुन चाहिँ मार्ग रोज्ने त? यो एउटा ठुलो प्रश्न हो।यस विषयमा म धेरै कुरा त भन्दिनँ। तपाईँलाई जुन मन पर्छ, त्यही रोज्नुहोस्; यो त तपाईँको आफ्नो इच्छाको कुरा हो। त्यसैले, मार्ग रोज्नका लागि हामीले प्रयोग गर्ने पहिलो मापदण्ड भनेको त्यो मार्ग मलाई प्रिय हुनुपर्छ। त्यो मार्गमा हिँड्दा आनन्द आउनुपर्छ र त्यो मार्ग देख्नेबित्तिकै तपाईँ प्रसन्न हुनुपर्छ। 'बस, मलाई चाहिएको त यही थियो!' यदि तपाईँको मनमा यस्तो भाव आउँछ भने, बुझ्नुहोस् त्यही नै तपाईँको मार्ग हो। कम्तीमा सुरु गर्नका लागि त्यही नै मार्ग हो; तर जुन मार्ग तपाईँलाई अप्रिय लाग्छ, देख्दा नै नराम्रो लाग्छ र कसैले त्यसमा हिँड्न भन्दा तपाईँलाई निकै कष्ट हुन्छ भने, जसमा कत्ति पनि आनन्द आउँदैन, त्यस्तो मार्ग लिनु हुँदैन। मार्गमा हिँड्दा रमाइलो र आत्मसन्तुष्टि मिल्नु धेरै जरुरी छ, नत्र तपाईँ त्यसमा कसरी अघि बढ्नुहुन्छ र के कार्य गर्नुहुन्छ? यो आध्यात्मिक कार्य जबर्जस्तीले हुँदैन। यो तपाईँको विद्यालय वा कलेजको पढाइ होइन, न त यो कुनै जागिर नै हो जो जसरी पनि गर्नैपरोस्। दोस्रो तरिका हो जाँच्नु वा परख गर्नु, जुन धेरै मानिसहरूले गर्ने गर्छन्। हरेक मार्गलाई अलिअलि जाँच्छन् र अलिअलि चाख्छन्। जसरी तपाईँ आफ्नो सहरका विभिन्न होटलहरूमा गएर खाना चाख्नुहुन्छ। कताको खाना मीठो छ र कता चाहिँ मैले खोजेको र मलाई मन पर्ने स्वाद छ भनेर तपाईँ हेर्नुहुन्छ, किनकि बाहिरबाट हेरेकै भरमा त थाहा हुँदैन। जस्तै मैले यी वर्गहरूको बारेमा बताएपछि तपाईँलाई केही मन पनि पर्यो होला, तर तपाईँले अहिले नै 'अब म आफ्नो सारा जीवन यसै मार्गमा लगाउँछु' भन्न सक्नुहुन्न। यो एकै दिनमा हुने कुरा होइन। त्यसैले धेरै मानिसहरूलाई मेरो सुझाव यही रहन्छ कि जे मन पर्छ, त्यहीँबाट सुरु गर्नुहोस्। यदि त्यहाँ चित्त बुझेन वा मन परेन भने अर्को रोज्नुहोस्, अनि तेस्रो। यसरी अलिअलि जाँच्नुपर्छ। अब तपाईँ भन्नुहोला 'यसो गर्दा त सारा जीवन नै बित्नेछ।' मलाई यस्तो लाग्छ कि एक-दुई वर्षभित्रै सबै मार्गहरूको परख भइसक्नुपर्छ। बुद्धिमान व्यक्तिले त्यो गर्न सक्छ। तर यदि कोही दश-बीस वर्षदेखि केवल आफ्नो मार्ग मात्र बदलिरहन्छ भने, फेरि उसका लागि निकै कठिन हुनेछ।" "त्यसपछि तेस्रो, एउटा निकै उत्तम उपाय छ। गुरुलाई सोध्नुहोस्। गुरुले आफ्नो सारा जीवन यही कार्यमा बिताउनुभएको छ। उहाँले विभिन्न मार्गमा हिँड्ने हजारौँ मानिसहरूलाई भेट्नुभएको छ। उहाँलाई स्वयम् धेरै मार्गहरूका बारेमा थाहा हुन्छ। यहाँसम्म कि गुरुजनहरूलाई अन्य गुरुहरूका बारेमा पनि थाहा हुन्छ कि को के गर्दैछ भनेर। उहाँहरू सबै एउटै समूहका हुनुहुन्छ, त्यसैले उहाँहरूलाई सबै कुरा थाहा हुन्छ। धेरै मानिसहरू सोध्ने गर्छन् 'म कुन गुरु रोजूँ?' म भन्छु 'पहिले मार्ग त रोज्नुहोस्, त्यसपछि मात्र गुरु आउनुहुन्छ।' तपाईँलाई थाहा नै होला, जसले अघिल्लो भाग हेर्नुभएको छ मार्गपछि परम्परा रोज्नुपर्छ र परम्परापछि गुरु रोज्नुपर्छ। तर हामी यहाँ 'शर्टकट' पनि लिन सक्छौँ, किनकि के गर्ने भन्ने थाहा हुँदैन। कुनै पनि परम्पराका कुनै पनि गुरुकोमा पुग्नुहोस् र उहाँको अगाडि यो प्रश्न राख्नुहोस् कि 'मेरो अध्यात्मको यो लक्ष्य छ' वा 'अहिलेसम्म मेरो कुनै लक्ष्य नै छैन, तर म यति जान्दछु कि अब यो संसार मेरा लागि होइन। त्यसैले मलाई केही मार्गदर्शन दिनुहोस्,' यसो गर्दा उहाँले मार्ग पनि बताइदिनुहुनेछ। यो छोटो बाटो मैले पनि अपनाएको छु। अक्सर म जो भेटिन्छ उसैलाई सोधिहाल्छु 'म यो मार्गमा छु, के यो भन्दा कुनै अरु राम्रो मार्ग छ की ?' मार्ग रोज्ने अर्को एउटा मापदण्ड पनि छ कहिलेकाहीँ हाम्रो लक्ष्य यस्तो हुन्छ, जसमा अरू कुनै मार्ग रोज्ने सम्भावना नै हुँदैन। जुन मार्ग त्यस लक्ष्यका लागि उपयुक्त हुन्छ, त्यही नै रोज्नुपर्छ। जस्तै सिद्धि तपाईँको लक्ष्य हो भने तन्त्रमार्ग यसका लागि निकै उपयुक्त हुन्छ। यदि तपाईँ वैदेहिक प्राणीहरूमाथि नियन्त्रण चाहनुहुन्छ भने, अब तपाईँका लागि तन्त्र वा परतन्त्र मार्गबाहेक अरू केही चल्दैन। त्यसैगरी, यदि तपाईँको लक्ष्य ज्ञान हो भने तपाईँका लागि ज्ञानमार्ग नै उचित हुनेछ। तपाईँ अरू केही गर्न चाहनुहुन्न, तपाईँलाई भक्ति आदि मन पर्दैन, पूजा-पाठ कत्ति पनि मन पर्दैन र श्रद्धा भन्ने चिज नै छैन भने तपाईँ ज्ञानमार्गमा मात्र अगाडि बढ्न सक्नुहुन्छ, अरू कुनै मार्गमा होइन। त्यसैले लक्ष्यमा आधारित मार्ग रोज्नुपर्छ। यदि लगभग सबै जसो मार्गहरूबाट लक्ष्य प्राप्त गर्न सकिने अवस्था छ भने तपाईँ अलिअलि यताउता भौँतारिनुहुनेछ।" "अब मार्ग रोज्ने अर्को एउटा निकै उत्तम वैज्ञानिक तरिका छ, जसलाई म 'आत्म-मूल्यांकन' भन्दछु। मार्गहरूको छनौट चित्तको स्वभावमा आधारित छ। अब यो कुरा तपाईँले बुझिसक्नुभएको होला। व्यक्ति जस्तो हुन्छ, उसको आचार-विचार जस्तो हुन्छ, उसैका लागि त्यस्तै मार्ग उपयुक्त हुन्छ। नत्र ऊ धेरै समयसम्म हिँड्न सक्दैन र यदि हिँडिहाल्यो भने पनि असफल हुन्छ, किनकि उसको चित्तको निर्माण नै कुनै एउटा विशेष मार्गका लागि भएको हुन्छ। अनि सबैलाई थाहा नै होला चित्तको त निरन्तर विकास भइरहन्छ, त्यो सधैँ एकैनासको रहँदैन। जस्तै दश वर्षदेखि बीस वर्षको उमेरसम्म तपाईँको चित्त निकै नासमझ हुन्छ र बुद्धि पनि निकै कम हुन्छ। अरूले जे भनिदिए, त्यही तपाईँको मार्ग बन्न पुग्छ र कतिपय मानिसहरू त आफ्नो सारा जीवन यसरी नै बिताइदिन्छन्। उनीहरूका लागि त्यो मार्ग ठिक छ वा छैन भन्ने बारे उनीहरू सोच्दै सोच्दैनन्। बुद्धि चाहिँ तीसदेखि पचास वर्षको उमेरसम्म आफ्नो शिखरमा हुन्छ। त्यस समयमा तपाईँले आत्म-मूल्यांकन गर्नुपर्छ। यदि तपाईँ यस उमेर समूहमा हुनुहुन्छ भने तपाईँले आफ्नो चित्तवृत्तिलाई अलिकति जाँच्न आवश्यक छ। मैले यस बारेमा दुई वटा भिडियोहरू बनाएको छु। जसले ज्ञानमार्गको शृङ्खला हेर्नुभएको छ, उहाँहरूले पक्कै पनि देख्नुभएको होला। मैले आत्म-मूल्यांकनका दुई वटा भिडियोहरू बनाएको छु, जसमा मैले विधि बताएको छु मूल्यांकन गर्ने विधि र त्यसको नतिजा अनुसार तपाईँले मार्ग रोज्नुपर्ने हुन्छ। त्यो पनि मैले भिडियोमै बताएको छु। कस्तो मूल्यांकन हुँदा कुन मार्ग सही होला? यो चित्तवृत्तिमा आधारित हुने भएकाले निकै सटीक हुन्छ। गुरुले पनि यही गर्नुहुन्छ, केवल मूल्यांकन नै गर्नुहुन्छ। मात्र यहाँ आत्म-मूल्यांकनको सट्टा पर मूल्यांकन हुन्छ । म पनि यही गर्दछु। तपाईँ मेरोमा आउनुहुनेछ 'म कुन मार्ग रोजूँ?' म पनि तपाईँको मूल्यांकन नै गर्नेछु, जसमा केवल थोरै प्रश्नोत्तरहरू हुन्छन्। कहिलेकाहीँ दश-बाह्र मिनेटमै बुझ्न सकिन्छ कि यो व्यक्ति कुन माटोले बनेको छ, अनि उसलाई त्यही बाटोमा लगाइन्छ। यो कुनै ठुलो कार्य होइन, जसले पनि गर्न सक्छ।" "अब प्रश्न यो आउँछ कि मैले कुनै न कुनै प्रकारले मार्ग त रोजेँ, अब यो मेरा लागि सही छ कि छैन? म कसरी थाहा पाउनेछु? म तपाईँलाई अँध्यारोमा राख्न चाहन्नँ, त्यसैले म तपाईँलाई भनिदिन्छु मार्गमा हिँडेपछि मात्र थाहा हुन्छ कि त्यो सही छ वा छैन। यदि सही छ भने तपाईँले आफ्नो फल पाउनुहुनेछ, तपाईँको प्रगति हुनेछ। प्रगतिको अर्थ हो तपाईँ फलको नजिक पुग्दै जानुहुनेछ। तर यस्तो भइरहेको छैन। कैयौँ वर्ष बितिसके, न फल मिल्छ, न प्रगति हुन्छ, न त कुनै सङ्केत नै मिल्छ। तपाईँले सिग्नल पनि पाउनुहुन्न कि यो रातो सिग्नल हो कि हरियो, त्यो पनि थाहा हुँदैन। त्यसो भए त्यो मार्ग उपयुक्त छैन। चाहे तपाईँले त्यो वैज्ञानिक विधिबाट रोज्नुभएको होस् वा गुरुले बताउनुभएको होस् यदि प्रगति भइरहेको छैन भने त्यो उपयुक्त छैन। त्यो मार्ग छोडिदिनुपर्छ। त्यो गर्दा आनन्द पनि आउँदैन। गर्न खोज्नुहुन्छ तर त्यसमा असफल हुनुहुन्छ। गुरुले के भन्नुहुन्छ, सबै टाउको माथिबाट जान्छ। यो विधि, त्यो विधि वा योगको विधि बताइएको छ, तर त्यो हुँदै हुँदैन। अब जतिसुकै राम्रो लागे पनि, त्यो तपाईँको मार्ग होइन। त्यसैले, त्यसको उपयुक्तता थाहा पाउन सकिन्छ, सुरुवातमै अलिअलि थाहा पाउन सकिन्छ र मैले यसका चार वटा मापदण्डहरू राखेको छु। यो त्यति धेरै सटीक त छैन, तर मोटामोटी थाहा पाउन सकिन्छ कि भविष्यमा मेरा लागि यो मार्ग उपयुक्त होला कि नहोला। ती चार वटा मापदण्डहरू मैले राखेको छु बुद्धि, शरीर, भावना र वासना। त्यसैले मैले यहाँ चित्रमा देखाएको छु कि यदि बुद्धि तेज भयो भने कुन मार्ग उपयुक्त होला? बुद्धि चल्दैन भने कुन मार्ग उपयुक्त होला? यो जुन ग्राफ छ, यसले यही देखाउँछ। यदि बुद्धि तेज छ भने ज्ञानमार्ग सबैभन्दा उपयुक्त हुन्छ। यस्तो व्यक्तिले भक्तिसक्ति गर्न सक्दैन। उसका प्रश्नहरू धेरै हुन्छन्। उसलाई एक ठाउँमा बसाएर पूजाआजा गराउन निकै कठिन हुन्छ। यस्ता व्यक्तिहरू नास्तिक हुन्छन्। ज्ञानमार्गमा यिनीहरूको प्रगति निकै तीव्र हुन्छ। शरीरसरीरमा खासै ध्यान दिँदैनन्, त्यसैले योग सोग पनी गर्दैनन्। गुरु भन्नुहुन्छ बसेर यो काम गर र पाँच वर्षपछि आउनु।' अब यस्तो काम उनीहरूबाट हुँदैन। उनीहरू सोध्छन् 'यो गर्नाले के हुन्छ? यसको कारण के हो? यही गर्नाले यही नै किन हुन्छ?' अनि गुरुले उनीहरूलाई भगाइदिनुहुन्छ 'जाऊ , तिम्रो ज्ञानमार्ग हो, यहाँ नआउनु।' "त्यसैगरी, जसको शरीर निकै मजबुत छ, बुद्धि होस् वा नहोस् तर शरीर बलियो छ भने, उनीहरूका लागि कि त कर्ममार्ग वा शक्तिमार्ग रोज्न सुझाव दिइन्छ। शक्तिको अर्थ शारीरिक शक्ति मात्र होइन, तर शक्तिहरूमाथि नियन्त्रण पाउनका लागि शरीर निकै बलशाली हुनुपर्छ, नत्र ती शक्तिहरूले उसैलाई सिध्याइदिन्छन्। व्यक्ति कि त पागल हुन्छ कि त बिरामी हुन्छ; यी मार्गहरूका लागि शरीर उपयुक्त हुनुपर्छ। त्यसैले यदि तपाईँको इच्छा यस मार्गमा जाने छ तर शरीरले साथ दिइरहेको छैन भने, गुरुले यो कुरा हेरेर पहिले उसको शरीर मजबुत बनाउन लगाउनुहुन्छ। यसैगरी योगमार्गमा पनि स्वस्थ शरीर आवश्यक छ, नत्र चित्त अनुशासित हुन सक्दैन। शरीर कमजोर छ, सधैँ बिरामी जस्तो वा आलसी रहन्छ भने न त यो योगमार्गका लागि उपयुक्त हुन्छ, न त कर्ममार्गका लागि नै। अनि जसको शरीर स्वस्थ र सक्रिय हुन्छ, उनीहरू एक ठाउँमा बसेर चिन्तन मनन गर्न सक्दैनन्, अध्ययन गर्न सक्दैनन् र पढाइलेखाइमा रुचि नहुने भएकाले उनीहरू ज्ञानमार्गमा आउँदैनन्। जसका भावनाहरू निकै प्रबल छन्, विशेष गरी प्रेमभाव, समर्पणभाव र सेवाभाव आदि छ भने, उनीहरूले केवल भक्तिमार्गमा मात्र सफलता पाउनेछन्। तपाईँले एउटा कुरा ध्यान दिनुभयो होला मैले यहाँ लिंगभेद गरेको छैन; पुरुष होस् वा स्त्री, यसमा कुनै भेद छैन। तपाईँले जुन मार्ग अपनाउन चाहनुहुन्छ, अपनाउन सक्नुहुन्छ; यसमा कुनै लिंगभेद छैन। यसैगरी यसमा कुनै जातिभेद वा धर्मभेद पनि छैन। जसलाई आजभोलि मानिसहरू धर्म वा राजनीतिक धर्म भन्छन्, म त्यसको कुरा पनि गर्दिनँ। यहाँसम्म कि यसमा नश्लभेद पनि छैन; संसारको जुनसुकै कुना वा देशको बासिन्दाले कुनै पनि मार्ग लिन सक्छ। तर मैले जुन चार वटा भेदहरू गरेको छु, यसलाई तपाईँले ध्यानमा राख्न सक्नुहुन्छ यो कुरा कुन मार्ग मेरा लागि उपयुक्त हुन्छ वा हुँदैन भनेर जान्नका लागि मात्र हो। तर मैले भने जस्तै, कहिलेकाहीँ हामी झुक्किन पनि सक्छौँ। मेरो बुद्धि राम्रो थियो तर ज्ञानमार्गमा केही बुझिँदैन वा मेरो शरीर त निकै राम्रो थियो तर दुई वर्षपछि थाहा हुन्छ कि कुनै रोग लाग्यो। अब योग हुँदैन, कुनै आसन गर्न सकिँदैन र अब मानसिक अनुशासन पनि रहँदैन। अनि मानौँ, म शक्तिहरूको पछाडि दौडिन्थेँ र त्यसमा रुचि थियो, तर जीवनमा शक्तिहरुकै कारण केही नराम्रो भयो भने अब त्यता हेर्न पनि डर लाग्न थाल्छ। यस्तो कहिलेकाहीँ हुने गर्छ; जीवनको गति निकै अनौठो छ, त्यसैले मार्ग र गुरुहरू बदलिरहन्छन्। अब गुरुले भनिदिनुभयो, त्यसैले यही मात्र मार्ग हुन्छ भनेर सोच्नु हुँदैन; तपाईँले चाहेको बेला मार्ग बदल्न सक्नुहुन्छ। अनि कसैलाई लाग्छ कि गुरु त एक पटक बनेपछि सधैँका लागि हुन्छ; होइन, त्यस्तो पनि हुँदैन। तपाईँले जति चाहनुहुन्छ, त्यति गुरु बनाउन सक्नुहुन्छ। गुरुका बारेमा हामी यो 'ज्ञान सूत्र' शृङ्खलाको अबका एक दुई भागमा कुरा गर्नेछौँ। बोध वार्ता हेर्दै रहनुहोस् र हामी अर्को पटक फेरि भेट्नेछौ ।"नमस्कार
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions