Wise Words
Home
Read
Write
Publish
Profile
Logout
मुक्ति के हो ? (नेपाली)
रोशन
**यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि श्रब्य दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"** "ज्ञान सूत्रमा यहाँहरूलाई स्वागत छ। जब मैले भनेँ कि लक्ष्यबाट अध्यात्मको सुरुवात हुन्छ, तब धेरै मानिसहरूले 'मुक्ति' लाई आफ्नो लक्ष्य बनाउनुभएको होला। अब प्रश्न यो आउँछ कि यो वास्तवमा के हो? लक्ष्य त बनाउनुभयो, तर मुक्ति भनेको के हो? कसरी मिल्छ मुक्ति, कहाँ मिल्छ र कसले दिलाउँछ? आज हामी यसै विषयमा अलिकति चर्चा गरौँ। यदि तपाईँले लक्ष्य बनाउनुभएको छ भने त्यो के हो भनेर जान्नु आवश्यक छ, नत्र त्यो पाइँदैन, वा अरु नै केही प्राप्त हुन सक्छ थाहा हुने छैन। धेरैजसो साधकहरूको लक्ष्य 'मुक्ति' नै हुन्छ र विशेष गरी नयाँ साधकहरूले नसोची-नबुझी यसलाई लक्ष्य बनाउँछन्। त्यसैले मैले यस बारेमा केही भन्नु उचित ठानेको छु। मुक्तिका धेरै नामहरू छन्, पर्यायवाची शब्दहरू छन् जस्तै मोक्ष, निर्वाण, कैवल्य, जीवनमुक्ति, विमुक्ति, विलय आदि-आदि। जति पनि मार्गहरू छन्, उनीहरूले यसलाई एउटा नयाँ नाम दिएका छन्। जति पनि परम्पराहरू छन्, त्यसमा मुक्तिको एउटा नयाँ नाम र नयाँ अर्थ दिइएको छ। यसकारण यसमा धेरै मतभेदहरू छन्, एउटै मत कतै पाइँदैन। मलाई यस्तो लाग्छ कि यस कलियुगमा मुक्ति के हो भन्ने कुरा कसैलाई पनि पूर्ण रूपमा ज्ञान छैन। ज्ञान या त आधा-अधुरो छ वा पूरै अज्ञानता छ। किनकि यदि त्यहाँ ज्ञान हुन्थ्यो भने मतभेद हुँदैनथ्यो। जसरी दिन छ र घाम लागिरहेको छ भने त्यसमा मतभेद हुँदैन कि घाम छ कि छैन भनेर, किनकि त्यो सामुन्ने र स्पष्ट हुन्छ। त्यसैले म यो मान्छु कि कसैलाई पनि यसको पूर्ण ज्ञान छैन, नत्र मुक्ति के हो भन्ने कुरा देखिइहाल्थ्यो। हुन सक्छ केही मानिसहरूलाई यसको ज्ञान होला, तर न उनीहरूको कुरा कसैले सुन्छ, न कसैले ध्यान नै दिन्छ। धेरैजसो यस शब्दको व्याख्या शास्त्रहरूबाट गरिएको छ र जसलाई जे राम्रो लाग्छ, उसले त्यही व्याख्या गरिदिन्छ। यो पूर्ण रूपमा ऐच्छिक छ र यसको अर्थ पूर्ण रूपमा व्यक्तिपरक छ। जसलाई जे राम्रो लाग्यो, उसले त्यही मानिदिएको छ।" "अवस्था निकै खराब छ र यहाँ पनि म केवल आफ्नो व्यक्तिगत मत मात्र दिन सक्छु। फेरि मलाई त मुक्ति मिलेको छैन, अनी के बताऊँ? र यदि मिलेकै भए पनि त्यसको कुनै प्रमाण हुने छैन। र प्रमाण भए पनि यस्ता धेरै मानिस भेटिनेछन् जसले भन्नेछन् 'हेर्नुहोस्, यो मुक्ति होइन, तपाईंले त अर्कै केही पाउनुभएछ।' त्यसैले यस विषयमा केही भन्नु पनि कठिन छ। तर पनि हामी यसमा एउटा विहंगम दृष्टि राख्नेछौँ। त्यसपछी तपाईंको इच्छा, जे राम्रो लाग्छ त्यो लिनुहोस्, जे लाग्दैन त्यो छोडिदिनुहोस्। यदि अध्यात्मको सबैभन्दा ठुलो लक्ष्यको त यस्तो हाल छ भने, सानातिना लक्ष्यहरूको के होला? कुनै बुद्धिमान व्यक्तिले यो कुरा सजिलै बुझ्न सक्छ। अलिकति बुझेपछि, यताउता सोधखोज गरेपछि र अध्ययन गरेपछि मुक्तिको एउटा मुख्य तत्व सामुन्ने आउँछ, र त्यो तत्व हो आवागमनको अन्त्य। अर्थात् जन्म-मृत्युको चक्रको अन्त्य, जीवको अन्त्य, संसारको अन्त्य र त्यसका साथै दुःख एवं कर्महरूको पनि अन्त्य। जब न संसार रहन्छ, न जीव रहन्छ, न आवागमन रहन्छ, न सुख रहन्छ, न दुःख रहन्छ र न त कर्म नै रहन्छ भने त्यसलाई जीवन पनि भन्न मिल्दैन। त्यसैले यो जीवनकै अन्त्य हो, सधैँका लागि। मुक्तिका जति पनि नामहरू छन् मुक्ति, मोक्ष, निर्वाण, कैवल्य सबैको सार यही नै हो। अब कसैले सोध्न सक्छ 'मलाई यो किन चाहियो त? यहाँ त सबै कुराको अन्त्य पो भयो! या यो त सुन्दा त्यती राम्रो कुरा जस्तो पनी लाग्दैन , ठिक छ, म रहन्छु होला, मेरो तत्व रहन्छ होला, तर त्यो के काम लाग्यो त? त्यो तत्व त अहिले पनि छ ! मेरो जुन तत्व हो, त्यसको त जन्म पनि हुँदैन र मृत्यु पनि हुँदैन, त्यसलाई किन मुक्ति चाहियो र? र वास्तवमा जसलाई मुक्ति चाहिएको छ, मुक्तिको क्षणमा त उसकै अन्त्य भइहाल्छ। अब विचार गर्नुहोस्, जसलाई मुक्ति चाहिएको छ, उसले मुक्ति किन माग्ला र? उसले आफ्नै अन्त्य किन गराउला? त्यसैले यस्ता अनेकौँ संशय र प्रश्नहरू उठ्छन्। जब म मुक्तिको यो अर्थ बताउँछु, यो धेरैलाई राम्रो लाग्दैन। अती दुखी आत्मालाई मात्र सुनेर राम्रो लाग्ने खालको" "मुक्तिको कुरा सुनेपछि सबैभन्दा पहिलो प्रश्न यो आउँछ कि 'त्यहाँ पुगेपछि म के गर्नेछु?' यो प्रश्न सुनेर गुरुहरु हाँस्नुहुन्छ। किनकि 'म' को त्यहाँ के अर्थ रह्यो र? जब कोही बाँकी नै रहँदैन भने, केही गर्ने भन्ने कुराको त्यहाँ कुनै अर्थ हुँदैन। त्यसैले यो त पूर्ण अन्त्य हो। जसरी निर्वाणको परिभाषा छ दियोलाई पूर्ण रूपमा निभाइदिनु। एउटा सम्पूर्ण अन्धकार। जसरी कैवल्यको परिभाषा छ केही पनि बाँकी नरहनु। अब यस्तो परिभाषा सुन्ने बित्तिकै साधक डराउँछ, त्यसैले गुरुहरु साधकलाई थोरै प्रलोभन दिनुहुन्छ कि 'यो मार्ग समाऊ, यो लक्ष्य बनाऊ, मुक्ति राम्रो कुरा हो, तिमी स्वर्ग पुगौला, भगवान भेटिनेछन्, ईश्वर प्राप्त हुनेछन् वा सारा दुःखको अन्त्य हुनेछ यावत आदि ।' तर जब त्यो साधक साधनाको बाटोमा अलि अगाडि बढ्छ, तब उसलाई मुक्तिको वास्तविक सत्य थाहा हुन्छ। पहिलो त यो कि कसैलाई थाहा छैन त्यो के हो? दोस्रो यो सुन्दा खासै राम्रो लाग्दैन। साधारण साधकले त यति मात्र सोच्छ 'म जे छु, ठिकै छु; मेरो जीवन सुखी होस्, बस म यति मात्र चाहन्छु।' यसैका लागि ऊ अध्यात्ममा आउँछ। एउटा सामान्य साधकको चाहना यति नै हुन्छ। तर गुरुहरू र अन्य महापुरुषहरूले पनी भनेकाले र हरेक वेद-पुराणमा लेखिएकाले मानिसहरूले बाध्य भएर मान्नुपर्छ कि 'हो, अब त मुक्ति नै पाउनुपर्छ।' र यही कारणले पनी उनीहरूको अध्यात्म ठिकसँग चल्दैन, किनकि उनीहरूले यस्तो लक्ष्य लिएका हुन्छन्, जुन न उनीहरूले बुझेका छन्, न त उनीहरूलाई साच्चै चाहिएको नै हो।" "धेरै मानिसहरू मुक्तिको मार्गमा त छन्, तर उनीहरूले गरिरहेका कुराहरू भने अर्कै हुन्छन्। उनीहरू सधैँ आफ्नो संसार सुधार्नमै व्यस्त रहन्छन्। जब उनीहरूलाई भनिन्छ ' तपाईँका यी सबै सम्बन्धहरू एक दिन सकिनेवाला छन्, यो शरीरको अन्त्य हुनेवाला छ, जीव त त्यसै पनि मिथ्या हो; अब यो सब के गरिरहनुभएको छ? किन मुक्त हुनुहुन्न? यदी मार्ग मुक्तिको हो भने तब ऊ गहिरो सोचमा पर्छ। किनकि मुक्ति केही गर्नाले मिल्दैन, बरु केही नगर्नाले मिल्छ। र यो सुन्ने बित्तिकै मानिसलाई सबैभन्दा पहिले यही डर लाग्छ कि 'म मर्नेछु।' हो, मुक्तिको वास्तविक अर्थ नै सम्पूर्ण मरण हो। जब फेरि जन्म नै हुँदैन भने, त्यहाँ केवल मरण मात्र बाँकी रहन्छ। वास्तवमा 'नहुनु' नै मुक्ति हो, फेरि कहिल्यै प्रकट नहुनु नै मुक्ति हो। अब विचार गर्नुहोस्, कुनै पनि साधकले आफ्नो अस्तित्व नै मेटियोस् भन्ने किन चाहला र? यो उसको सामुन्ने निकै ठुलो प्रश्न र चुनौती हो। यही कारणले गर्दा उसको साधनाले वास्तविक फल दिँदैन। त्यसैले, धेरैजसोको साधनामा बढीमा यति मात्र हुन्छ कि उनीहरूले यो मनुष्य जीवन वा मनुष्य योनिबाट मुक्ति पाउँछन्। यदि निकै राम्रो साधना भयो भने उनीहरू उच्च योनिमा जालान्, तर याद राख्नुहोस्, त्यो वास्तविक मुक्ति होइन; त्यो पनि घुमिफिरी एउटा बन्धन नै हो।" "जब साधक नयाँ नयाँ आउँछ, तब ऊ एक दुईवटा मार्ग चाखेर हेर्न चाहन्छ कि यो मार्गमा के छ र त्यो मार्गमा के छ? अनि यो देखेर निकै आश्चर्य लाग्छ कि सबै मार्गहरूको आफ्नैआफ्नै मुक्ति छ। तीमध्ये कुन चाहिँ मुक्ति सत्य हो भनेर जान्नु निकै कठिन हुन्छ। उदाहरणका लागि, ज्ञान मार्गमा आत्मज्ञान प्राप्त गर्नु नै मुक्ति हो। 'म कुनै अनुभव होइन, म कुनै दृश्य होइन, म कुनै वस्तु होइन, म शरीर वा मन होइन' यही नै आत्मज्ञान हो। म द्रष्टा हुँ, म आत्मन हुँ, जसलाई कुनै बन्धन हुन सक्दैन। जो अजर-अमर छ, अप्रकट छ र शून्यता हो। यो भयो आत्मज्ञान, जसमा केवल १० सेकेन्ड लाग्छ। यहाँ मुक्ती प्राप्त भइसक्यो। ज्ञान मार्गमा मुक्ति १०१५ सेकेन्डमै प्राप्त हुन्छ। तर त्यसमा एउटा जटिल कुरा के छ भने, जुन मैले भर्खरै भनेँ, त्यो सबैले बुझ्न सक्दैनन्। कि त बुद्धिमा अशुद्धि हुन्छ, कि त पुराना मान्यताहरू भरिएका हुन्छन्, कि त साधकमा यसप्रति रुचि नै हुँदैन। कतिपयलाई त लाग्छ 'यो सानो तिनो कुरा हो, मलाई कुनै अझ ठुलो मुक्ति वा ठुलो ज्ञान चाहिएको छ' र उसले यो सत्यलाई स्वीकार गर्दैन। या त उसले बुझ्दै बुझ्दैन कि गुरुले के भन्नुभयो, त्यो साधकमा १० सेकेन्डमै आत्मज्ञान हुने गुण वा पात्रता हुँदैन। यस्ता मानिसहरू निकै कम हुन्छन्, नत्र त गुरुको एउटै वाक्य सुनेर पनि आत्मज्ञान प्राप्त हुन्छ र त्यही नै ज्ञान मार्गको मुक्ति हो। यदि बुद्धिमा अशुद्धि छ भने, ती अशुद्धिलाई हटाउन मात्र समय लाग्ने हो। तर यदि बुद्धि कोरा कागज जस्तै सफा र बेदाग छ भने, त्यहीँ तुरुन्तै मुक्ति हुन्छ। ज्ञान मार्ग निकै सीधा मार्ग हो, त्यसैले बौद्धिक मानिसहरूलाई यो मार्ग निकै मन पर्छ।" "योग मार्गमा समाधिलाई नै मुक्ति मानिएको छ। जब साधक समाधि अवस्थामा पुग्छ, विशेष गरी निर्विकल्प समाधिमा, तब त्यहाँ उसको मुक्ति भएको मानिन्छ। योगको सबैभन्दा प्रमुख मार्ग अष्टाङ्ग योग हो, जसमा समाधिसम्म पुग्दापुग्दै साधकको पूरा जीवन व्यतीत हुन सक्छ। २०/२५ वर्ष त यसै लाग्न सक्छ, किनकि यो आठवटा चरणमा विभाजित छ। सबै कुरा एकै दिनमा सम्भव हुँदैन दुई वर्ष एउटा अङ्ग, तीन वर्ष अर्को, अनि पाँच वर्ष ध्यान; यसरी नै यो अगाडि बढ्छ। जब समाधि अवस्था स्थिर हुन्छ, तब साधकलाई मुक्त मानिन्छ। शक्ति मार्गमा, जस्तै कुण्डलिनी वा क्रिया योगमा, शिव र शक्तिको मिलन हुनु नै मुक्ति हो। यसमा शक्तिलाई प्रेरित गर्ने प्रयास गरिन्छ, किनकि शक्ति तल आएर जीवको रूप धारण गरिसकेकी हुन्छिन्। उनलाई त्यहाँबाट उठाएर पुनः शिव रूपमा लैजाने प्रयास गरिन्छ। यो मार्ग कहिलेकाहीँ धेरै जन्मसम्म पनि चलिरहन्छ। शक्तिले जीवलाई पूर्ण रूपमा खाइदिन्छ शरीर, मन र सम्पूर्ण कारण शरीर, सबै कुरा त्यो शक्तिले नष्ट गरिदिन्छ। त्यसपछि जे बाँकी रहन्छ, त्यो शिव हो। शिव अर्थात् शून्यता। यो मार्गमा साधकले आफैँ केही गर्नुपर्दैन, यो त केवल गुरुको कृपा र शक्तिपातबाट मात्र सम्भव हुन्छ। यदि शक्तिपात छैन र गुरुको साथ छैन भने यहाँ केही पनि हुँदैन। यो निकै पीडादायी मार्ग पनि हो, किनकि यसमा सबै कुराको अन्त्य हुन्छ र त्यो पनि निकै तीव्र गतिमा। एउटा सामान्य व्यक्तिको तुलनामा साधकको जीवनको गति निकै छिटो अगाडि बढ्छ। त्यसैले निकै कम मानिसहरू मात्र यसमा सफल हुन सक्छन्। बाँकी मानिसहरूलाई त कहिले टाउकोमा, कहिले ढाडमा त कहिले पेटमा केही अनुभव मात्र हुन्छ, उनीहरूको उपलब्धि त्यतिमै सीमित रहन्छ। उनीहरूलाई वास्तविक मुक्ति वा शिव-शक्तिको मिलन के हो भन्ने कुराको पत्तो समेत हुँदैन, जे सिकाइएको छ त्यही गरिरहन्छन्।" "कर्मको मार्गमा पुण्य कमाउनु नै मुक्ति हो। जति धेरै पुण्य कर्म गर्नुहुन्छ, त्यति नै चाँडो मुक्त भइन्छ र मनुष्य जीवनबाट छुटकारा मिल्छ। यसबाट के हुन्छ त? देव योनिमा जन्म मिल्छ वा त्योभन्दा पनि माथिल्लो योनिहरूमा जन्म प्राप्त हुन्छ। यसैलाई नै मुक्ति मानिन्छ। यसमा केही मतभेद हुन सक्छन्। कोही भन्छन् 'होइन, पुण्य कर्म गर्नाले जीव पूर्ण रूपमा नष्ट हुन्छ।' त्यसो हो भने ठिकै छ, पुण्य गर्दै जानुहोस् र नष्ट हुँदै जानुहोस्। भक्ति मार्ग निकै विचित्र छ। यसमा एकै पटकमा मुक्ति प्राप्त हुँदैन। यो क्रमबद्ध र चरणबद्ध तरिकाले प्राप्त हुन्छ। मुक्तिका सिँढीहरू छन्, जस्तै यहाँ पाँचवटा सिँढीहरू गणना गरिएको छ र यसमा कुनै मतभेद छैन। भक्ति मार्गमा कसैले पनि 'तुरुन्तै मुक्ति हुन्छ' भनेर भन्दैन। यस मार्गमा यस्तै हुन्छ र यी सिँढीहरू पार गर्दागर्दै हजारौँ जन्म र लाखौँ वर्षहरू बितिसक्छन्। जो भक्ति मार्गमा छन्, उनीहरूमा यदि धैर्य छैन भने कहिल्यै मुक्ति मिल्दैन। हजारौँ जन्म, लाखौँ वर्ष र श्रीकृष्णका अनुसार करोडौँमा एक व्यक्ति मात्र यस्तो हुन्छ जसमा मुक्तिको इच्छा हुन्छ, अर्थात् मलाई प्राप्त गर्ने इच्छा हुन्छ। अनि ती करोडौँमध्ये पनि केवल एक जना मात्र हुन्छ जसले अन्तिम मुक्ति पाउँछ जुन पाँचौँ मुक्ति हो। यो कुरा स्वयं कृष्णले भन्नुभएको हो। त्यसैले जो भक्ति मार्गमा छन्, यो निकै दुर्भाग्यको कुरा हो कि यहाँ मुक्ति चाँडो मिल्दैन र सबैले मुक्ति पाउँदैनन्। करोडौँ वर्षपछि करोडौँमा एक जनाले मात्र यो प्राप्त गर्छ। बाँकी मानिसहरू भने यिनैमध्ये कुनै न कुनै सिँढीमा अड्किरहनेछन्।" "मुक्तिको यो कठिन अवस्था र यसको स्वरूपलाई देखेर धेरै ठुला साधक र गुरुहरूलाई यति धेरै दुःख लाग्यो कि उनीहरूले भनिदिए हामीलाई मुक्ति नै चाहिँदैन। जीवको जन्म भइरहन्छ भने भइरहोस्, त्यसमा कुनै ठुलो समस्या छैन। हामीलाई त केवल आफ्नो हरेक जन्म ईश्वरको सेवामै बिताउनु छ।' अर्थात्, उनीहरूले यो स्वीकार गरिसकेका छन् कि जे मिल्यो त्यसमै खुसी हुनुपर्छ। भगवानले जुन हालमा राख्नुभयो, म त्यसमै खुसी छु। जो भक्ति मार्गी हुन्छन्, उनीहरू मुक्तिको त्यति धेरै चिन्ता गर्दैनन् वा भनौँ भक्तिलाई नै मुक्ति मानिछन्। जीव होस् वा नहोस्, उनीहरूका लागि सब बराबर छ। भक्ति भनेको पूर्ण समर्पणको मार्ग हो! यहाँ भगवानको कृपाले मात्र मुक्ति सम्भव हुन्छ, जीव आफैँले केही गर्न सक्दैन। अर्कोतिर तन्त्र मार्ग छ, जसमा वासनाको तृप्तिलाई नै मुक्ति मानिन्छ। जब सबै सिद्धिहरू प्राप्त हुन्छन् र मायामाथि पूर्ण नियन्त्रण आउँछ, तब मुक्ति भएको मानिन्छ। 'अब म मुक्त छु, म स्वतन्त्र छु। वासना आउँछ र आउने बित्तिकै पूर्ण भइहाल्छ। अब मलाई के कुराले बाँध्ला र? अब यो जीवका लागि कस्तो बन्धन?' उनीहरूमा कुनै दुःख हुँदैन र सुखको इच्छा पनि रहँदैन, किनकि इच्छा हुने बित्तिकै त्यो पूर्ण भइहाल्छ। यसरी तन्त्र मार्गमा वासनाको तृप्तिबाट नै वासनाबाट मुक्ति मिल्छ। जुन तान्त्रिक यो उचाइसम्म पुग्छ, ऊ मुक्त भइसक्यो। उसको जन्म र मृत्युमाथि पनि पूर्ण नियन्त्रण हुन्छ। उसलाई जस्तो जन्म मन लाग्छ, त्यस्तै लिन्छ र यदि जन्म लिन मन छैन भने लिँदैन।" अब तपाईँ अलमलमा पर्नुभयो होला कि यीमध्ये कुन चाहिँ मुक्ति सत्य हो? कुन लिने र कुन नलिने? किनकि सबै मार्गमा केही न केही समस्या देखिन्छ। ज्ञान मार्गमा १० सेकेन्डमै मुक्ति हुन्छ भनिन्छ, तर त्यो सबैको हकमा लागू हुँदैन। योग मार्गमा पूरै जीवनको मिहिनेत छ त्यो समाधि होला कि नहोला, अनि त्यो मुक्ति के कामको होला, केही थाहा छैन। कुण्डलिनी त एक प्रकारले आगोमा हिँड्नु जस्तै हो, त्यसपछि के होला भन्ने पत्तो छैन, त्यहाँ त अस्तित्वको विनाश नै विनाश छ। यस्ता अनेकौँ शङ्काहरू मनमा उब्जन्छन्, खास गरी नयाँ साधकहरूमा, जसमा गुरुप्रति अझै पूर्ण श्रद्धा जागिसकेको हुँदैन। गुरुले के भन्नुहुन्छ, त्यो पनि बुझिँदैन र म यो किन गरुँ भन्ने कुरा पनि स्पष्ट हुँदैन। तपाईँले देखिरहनुभएको होला, यो मामला निकै उल्झनपूर्ण छ कुन मार्ग र कुन मार्गको कुन मुक्ति? अझ हरेक मार्गभित्र पनि विभिन्न उप-मार्ग र परम्पराहरू छन्। उदाहरणका लागि, ज्ञान मार्गको अद्वैत परम्परामा अज्ञानको नाश हुनु नै मुक्ति हो। अज्ञानको नाश अर्थात् आत्मज्ञान वा ब्रह्मज्ञान नै मुक्ति हो। बौद्ध मार्गमा अनासक्ति वा विरक्ति हुनु नै मुक्ति हो, किनकि त्यहाँ त 'आत्मा' को अवधारणा नै छैन; त्यसैले बुद्धले 'मुक्ति-मुक्ति' छोडेर दुःखबाट छुटकारा पाउनु नै मुक्ति हो भनिदिनुभयो। साङ्ख्य दर्शनमा प्रकृतिको त्याग गरेर 'पुरुष' को स्वरूपमा आउनुलाई मुक्ति भनिन्छ, यद्यपि उनीहरूले यसलाई त्यति धेरै जोड दिँदैनन् हुन सक्छ अझै केहि बिशेस होला यो त मेरो मत हो किनकी साङ्ख्य दर्शन भौतिक दर्शन तिर अलि ध्यान दिन्छ त्यसै गरी, जैन मार्गमा कर्मको नाश हुनुलाई नै मुक्ति भनिएको छ। त्यहाँ ज्ञानभन्दा पनि कर्मको अन्त्यमा बढी वजन दिइएको छ। सिख मार्गमा पनि निकै स्पष्ट छ कि वाहेगुरुमा समाहित हुनु नै मुक्ति हो र यो गुरुको कृपा र ज्ञानबाट मात्र सम्भव हुन्छ। मानिसहरू गुरुको भक्ति र ज्ञानको आदर त धेरै गर्छन्, तर त्यो ज्ञान जीवनमा उत्रेको भने खासै देखिदैन।" "अब यो त केवल ज्ञान मार्ग मात्र हो र मैले यहाँ दुई चारवटा परम्परा मात्रै गनेको छु। सबै मार्गहरूमा यस्तै छ ! योग पनि बीस प्रकारका छन्, भक्ति मार्ग पनि पाँचछ प्रकारका छन् र तन्त्र मार्गमा पनि स्वतन्त्र तन्त्र, परतन्त्र तन्त्र, दक्षिण मार्ग, वाम मार्ग यस्ता अनेकौँ मार्गहरू छन्। हरेक गुरुको आफ्नै मान्यता छ र उनका चेलाहरूको अर्कै। यस्तो अवस्थामा तपाईँको परम लक्ष्य कसरी प्राप्त होला? अन्ततः यो पूर्ण रूपमा ऐच्छिक छ। तपाईँलाई जुन प्रकारको मुक्ति मन पर्छ, त्यही रोज्नुहोस्, धेरै सोचिरहनु पर्दैन। जब एउटै शब्दका सयौँ अर्थ र परिभाषा हुन्छन्, तब त्यो शब्द नै अर्थहीन बनिदिन्छ। एउटै शब्दका सय अर्थ भएपछि त त्यसको कुनै वजन नै रहेन। त्यसैले मकहाँ जो मानिसहरू आएर 'मुक्तिको मार्ग देखाइदिनुहोस्' भन्छन्, मैले उनीहरूको पूरै आधा घण्टासम्म अन्तर्वार्ता लिनुपर्छ! तपाईँ वास्तवमा के चाहनुहुन्छ? मुक्तिको तपाईँको आफ्नै अर्थ के हो? कतै उनीहरूले खोजेको मुक्ति एउटा र मैले अर्कै मुक्ति देखाइदिएँ भने त उनीहरूलाई ठुलो चोट पर्नेछ। 'मैले के मागेको थिएँ र के पाएँ?' भन्ने हुनेछ। त्यसैले मैले निकै सोच्नुपर्छ कि यिनीहरूलाई के दिऊँ? अध्यात्ममा रुचि त छ, लक्ष्य पनि बनाएका छन्, तर उनीहरूलाई यथार्थ बताउनु आवश्यक छ। जसरी हामी पसलमा केही किन्न जान्छौँ र पसलेले भन्छ 'हेर्नुहोस्, यो सामान यति मूल्यको हो, यसमा यति वर्षको ग्यारेन्टी छ र यो बाहेक अरू केही पाइँदैन।' त्यसै गरी मैले पनि बताउनुपर्छ कि हेर्नुहोस्, यो ज्ञान मार्ग हो, यसमा यस्तो मुक्ति छ र अरू केही पनि पाइँदैन। साधक सोध्छ 'त्यहाँ स्वर्ग पाइन्छ कि?' म भन्छु 'छैन, यहाँ कुनै स्वर्ग छैन, सबै कुरा मिथ्या हो।' ऊ फेरि सोध्छ 'के देवयोनि पाइन्छ त?' म भन्छु 'अहँ, केही पनि छैन यस्तो !' 'के दुःखको अन्त्य होला त?' 'हैन, दुःख पनि त मिथ्या नै हो, अहिल्यै अन्त्य भइहाल्छ नि।' र जब मानिसले यो सुन्छ कि जीव पनि मिथ्या हो, तब उसको मोक्षप्रतिको इच्छा नै मरेर जान्छ।" "मैले के सोचेको थिएँ, यिनीहरू त अर्कै केही बेचिरहेका रहेछन्! त्यसैले यो निकै गाह्रो विषय हो। मुक्ति लिन सजिलो होला, तर दिनु निकै गाह्रो छ। अब प्रश्न यो उठ्छ कि मोक्ष कसलाई मिल्छ? मैले अघि भने जस्तै, तपाईँको जुन वास्तविक 'तत्व' हो, उसलाई मोक्षको कुनै आवश्यकता छैन, किनकि ऊ पूर्ण रूपमा मुक्त छ। त्यो अस्तित्व, त्यो सम्पूर्णता आफैँमा मुक्त छ। त्यसमा सबै कुरा छ मुक्ति पनि र बन्धन पनि। मेरो तत्व त्यही हो र यो ज्ञान मार्गको परिभाषा हो; मलाई पनि सबैभन्दा राम्रो यही लाग्छ। मुक्ति जीवको हुन्छ, मोक्ष जीवले पाउँछ जुन पूर्ण रूपमा मिथ्या हो। मनोशरीर यन्त्रका रूपमा अहिले तपाईँ जे देखिनुहुन्छ, जसको बारम्बार जन्म भइरहन्छ, त्यो प्रक्रिया बन्द हुनु नै मुक्ति हो यदि तपाईँ यो परिभाषा मान्नुहुन्छ भने! जीवनमुक्तिमा मानिस जीवित अवस्थामै मुक्त हुन्छ। धेरै मानिसहरू यसलाई निकै राम्रो मान्छन्। तर वास्तविकता के हो भने, जो जीवनमुक्त व्यक्ति हुन्छ, ऊ एउटा सानो बच्चा जस्तो बनिदिन्छ। मानिसहरूले उसको टाउकोमा खुट्टा राखेर हिँडे पनि उसलाई केही फरक पर्दैन। तपाईँ यदि कुनै जीवनमुक्त व्यक्तिलाई भेट्नुभयो भने, ऊ झन्डैझन्डै पागल जस्तो देखिन्छ। धेरै मानिसहरू त यो देखेर नै तर्सिन्छन् र कहिलेकाई साधकहरूमा वितृष्णा जाग्छ 'मलाई यो जीवनमुक्ति चाहिँदैन,।' अन्ततः, मानिसहरूले आ आफ्नै धारणाहरू बनाएका छन्। मोक्ष कसले पाउँछ भन्ने कुरामा सबैको आआफ्नै मत छ। त्यसैले तपाईँले जसलाई मोक्ष दिलाउनु छ, दिलाउनुहोस्। तपाईँको मार्गले जे भन्छ, जसलाई मोक्ष मिल्छ भन्छ, त्यसैलाई मान्नुहोस्; तपाईँसँग अरू कुनै विकल्प पनि छैन।" जब हामी यस्तो सुन्छौँ, तब लाग्छ कि यो त विनाश नै विनाश हो। हाम्रो जुन 'अहं' भाव छ, त्यो त यो देखेर पक्कै डराउँछ। उसलाई लाग्छ 'यो के हो? के हो मोक्ष? यो त पूरै सर्वनाश हो!' त्यसैले यसका बारेमा धेरै मतहरू छन्, तर मलाई के लाग्छ भने हाम्रो जुन शुद्ध तत्व हो, त्यसमा अशुद्धि आएको छ। त्यसमाथि स्मृति र अनुभवहरूको मैलो जमेको छ। लाखौँ-करोडौँ पटक जन्म लिएपछि धेरै फोहर जम्मा भएको छ र त्यो आफ्नो स्रोतबाट धेरै टाढा हराएको छ। यो जम्मा भएको फोहरलाई हटाउनु नै मुक्ति हो। अहंको दृष्टिकोणबाट यो 'सर्वनाश' जस्तो देखिन्छ, तर मेरो दृष्टिकोणमा यो केवल 'सफाइ' हो, अरू केही होइन। फोहोर उठाएर बाहिर फ्याँकिदिनु हो। हो, अहंले यो कुरा कहिल्यै बुझ्दैन र उसलाई यो कहिल्यै मन पनि पर्दैन; त्यसैले अहं मोक्षसँग डराउँछ। एउटा सांसारिक व्यक्तिलाई भन्नुहोस् त 'सबै सम्बन्ध तोडिदेऊ, कमाएको रुपैयाँ पैसा फ्याँकिदेऊ, शरीरलाई मर्न देऊ र फेरि यो संसारतिर फर्केर नहेर।' ऊ के भन्ला? ऊ भन्छ अ! म नै भेटिएको थिएँ र यस्तो सराप दिनलाई?' सांसारिक व्यक्तिले यो के हो भनेर बुझ्नै सक्दैन। जब साधकले त बुझ्न सकिरहेको हुँदैन भने सांसारिक व्यक्तिले कसरी बुझोस्? र जब यस्ता व्यक्तिलाई 'यही नै अध्यात्म हो' भनेर बताइन्छ, तब ऊ अध्यात्ममै आउन चाहँदैन। यो निकै अनौठो कुरा छ! त्यसैले यी सबै यथार्थ कुरा कसैलाई पहिल्यै भनिँदैन। केवल यति भनिन्छ 'मोक्ष राम्रो हो, मोक्ष ठुलो कुरा हो, के यो संसारमा अल्झिरहेका छौ? जाऊ मुक्तिको मार्गमा।' त्यो भौतिकवादी स्वार्थी व्यक्तिले पनि मुन्टो हल्लाउँछ 'हजुर गुरुजी, हजुरले भनेपछि त पक्कै गर्छु।' तर उसले गर्छ चाहिँ के? ऊ रहन त सांसारिक नै रहन्छ। योग पनि गर्छ भने केवल आफ्नो शरीर ठिक पार्नका लागि गर्छ। तन्त्रको मार्गमा जान्छ ताकि केही सिद्धि वा शक्ति मिलोस् र अझ धेरै पैसा कमाउन सकियोस्। ज्ञान मार्गमा पनि आउँछ ज्ञानी बन्नका लागि, ताकि मानिसहरूले उसको पाउ धोएर पिऊन् र उसको जयजयकार गरून्। अध्यात्ममा आएपछि पनि ऊ सांसारिक नै रहन्छ, किनकि भित्रभित्रै उसलाई मुक्तिदेखि डर लाग्छ।" "प्रायः अर्को एउटा प्रश्न उठ्छ के केही निश्चित मानिसहरूले मात्र मुक्ति पाउने हुन् र अरूले नपाउने हुन्? के महिलाहरूले मुक्ति पाउन सक्दैनन् र पुरुषले मात्र पाउने हुन्? के कुनै खास जातको व्यक्तिले मात्र मुक्ति पाउँछ र अरूले पाउँदैनन्? वा पशुहरूले मुक्ति पाउन सक्दैनन् र केवल मानिस, देवता वा राक्षसहरूले मात्र पाउने हुन्? यस्ता अनेकौँ प्रश्न र धारणाहरू समाजमा व्याप्त छन्। हरेक मान्यताको पछाडि कुनै न कुनै सत्य कारण त थियो होला, तर अहिले ती सबै कुराहरू भ्रष्ट भएर अन्धविश्वास बनिसकेका छन्। मेरो मान्यता सोध्नुहुन्छ भने, म त भन्छु यी सबै कुराहरू बकवास हुन्। जसले चाहन्छ, उसले मुक्ति लिन सक्छ। महिला होस् वा पुरुष, जोसुकैले पनि यो मार्ग रोज्न सक्छन्। तपाईँ जुनसुकै जातको हुनुहोस्, नेपाली हुनुहोस्, भारतीय हुनुहोस् वा चिनियाँ यसले केही फरक पार्दैन। तपाईँ जुनसुकै योनिमा किन नहुनुहोस्, पुराणहरूमा यस्ता धेरै कथाहरू छन् जहाँ ठुला गुरुहरूले पशुहरूको समेत मुक्ति गराइदिएका छन्। अर्कोतिर यस्ता धेरै मानिसहरू छन् जसको कहिल्यै मुक्ति भएन। कतिपय देवताहरू त देव योनिमै अड्किरहन्छन्, उनीहरू मुक्त हुन सक्दैनन् र माथि जानुको साटो उल्टै तल झर्छन्। तर मूल रूपमा बुझ्नुपर्ने कुरा के हो भने यसमा यस्तो कुनै भेदभाव छैन। कसको मुक्ति किन हुन्छ, कहिले हुन्छ र कसरी हुन्छ? यो पूर्ण रूपमा 'कृपा' मा आधारित छ। यो जीवको लिङ्ग, जात वा योनिमा आधारित छैन, बरु केवल कृपामा आधारित छ। जसउपर कृपा हुन्छ, उसको मुक्ति सुनिश्चित हुन्छ।" "अब प्रश्न आउँछ कि के यो आवश्यक छ? के मुक्तिको प्रयास गर्नु जरुरी छ? के म यस्तो अध्यात्म गर्न सक्दिनँ, जसमा मोक्षको लक्ष्य नै नहोस्? यसमा पनि मतभेद छ र मेरो विचारमा मोक्ष प्राप्त गर्नु अनिवार्य छैन। किन? किनकि जीवको मुक्ति त निश्चित छ। प्रकृतिले नै यस्तो प्रबन्ध मिलाएको छ कि मुक्ति त भएरै छाड्छ। हो, कसैको चाँडो होला त कसैको अलि ढिलो। यसैलाई हामी 'कृपा' भन्छौँ। कसैको चाँडो हुन्छ, तर मुक्ति सबैको हुन्छ। अनि अर्को कुरा मुक्त भइसकेपछि पनि ती जीवहरू पुनः प्रकट हुन थाल्छन्। यो पनि प्राकृतिक नै हो, त्यसैले यसलाई अनिवार्य मानिरहनु पर्दैन। जे हुनुपर्ने हो, त्यो भइरहेको छ; यो अनन्त कालदेखि भइरहेको छ र अनन्त कालसम्म भइरहनेछ। यसमा मानिसको केही चल्दैन। मानिसलाई यसमा कुनै अधिकार छैन। ऊ जतिसुकै ठुलो किन नहोस्, जस्तोसुकै ठुलो देवता किन नहोस्, यसमा उसको कुनै नियन्त्रण हुँदैन। अस्तित्व समयहीन छ, यसको अर्थ यो हो कि सबै कुरा भइसकेको छ। मुक्ति पनि अनगिन्ती पटक भइसकेको छ। अब मानिसहरू सोध्छन् के यो सत्य हो त? मोक्ष हुन्छ? यसमा पनि मेरो मान्यता यो छ कि मोक्ष पूर्ण रूपमा असत्य हो। मोक्ष मिथ्या हो, यस्तो वास्तवमा केही हुँदैन। मोक्ष त यो सपनाको एउटा भाग मात्र हो, जुन तपाईं अहिले देखिरहनुभएको छ। यो सपना जसमा आफू जीव भएको र बन्धनमा परेको महसुस हुन्छ त्यही सपनाको अर्को भाग मुक्ति हो; यो सत्य होइन। यो सुन्दा धेरैलाई दुःख लाग्न सक्छ, किनकि उनीहरूको त लक्ष्य नै मुक्ति थियो। 'के म झुटको पछाडि दौडिरहेको थिएँ?' भनेर सोच्न सक्छन्। तर दुखी हुनु पर्दैन, किनकि यो निकै काम लाग्ने कुरा हो। मोक्ष भनेको सपनाको अन्त्य हुनु हो, अरू केही होइन। तर यो सपनाकै एउटा पाटो हो। त्यो सपना त त्यसै पनि सपना नै हो, वास्तवमा त्यो छँदै छैन। त्यसैले त्यसको अन्त्य हुनु कुनै ठुलो कुरा होइन। हो त यो सपना नै, बस बारम्बार दोहोरिन बन्द हुनेछ, त्यति हो। कसले के पाउनेछ? यहाँ कसैले केही पाउने छैन, किनकि त्यहाँ कोही छँदै छैन। सपना देख्ने वाला पनि कोही छैन। सपना देख्ने कोही छ र ऊ मुक्त हुनेछ भन्ने जुन भ्रम थियो, त्यो भ्रम नष्ट हुनु नै मोक्ष हो। सपना पनि नष्ट हुन्छ, सपना देख्ने वाला पनि नष्ट हुन्छ। जसलाई मुक्ति चाहिएको छ, ऊ पनि नष्ट हुन्छ र जो बन्धनमा छ, ऊ पनि नष्ट नै हुन्छ।" "अब यो कथा यहाँ समाप्त हुँदैन, किनकि यदि त्यसो हुन्थ्यो भने सम्पूर्ण अस्तित्व नै अहिलेसम्म नष्ट भइसक्थ्यो। यदि मुक्ति यति सहज र प्राकृतिक हुन्थ्यो भने त अहिलेसम्म सबैले मुक्ति पाइसक्थे! तर त्यस्तो हुँदैन, बरु त्यो सपना पुनः सुरु हुन्छ। यो एउटा चक्र हो सपनाको चक्र, जीवन चक्र र संसार चक्र। यसको न त सुरुवात छ, न त अन्त्य; यो बस भइरहन्छ। ध्यान दिनुहोस्, जीवको कहिल्यै 'मुक्ति' हुँदैन; यहाँ त केवल विकासको क्रम हुन्छ, विलय हुन्छ र पुनः सुरु हुन्छ। यो कुरा सत्य हो, तर मानिसहरूलाई यो सुन्दा राम्रो लाग्दैन। उनीहरू भन्छन्'होइन, विलय भएपछि त केही पनि हुँदैन।' यदि त्यसो हुन्थ्यो भने अहिलेसम्म सबैको विलय भइसक्थ्यो। न यो जगत् देखिन्थ्यो, न पृथ्वी लोक, न यो लोक, न ऊ लोक, न जीव जन्तु केही पनि बाँकी रहँदैनथ्यो। अहिलेसम्म कति पटक प्रलय र महाप्रलय भएर गइसकेका छन्, के ती सबैमा सबैको मुक्ति भएन र? याद राख्नुहोस्, नयाँ नयाँ जीवहरू सधैँ बनिरहन्छन्। यो परिवर्तनको नादस्वरुप महासमुद्रबाट नयाँनयाँ बुलबुलाहरू र नयाँ लहरहरू उठिरहन्छन् र फेरि त्यहीँ विलीन भइरहन्छन्। कसैको विलय अलि चाँडो भयो होला, तर त्यो कुन ठुलो कुरा भयो र? त्यही माटो र त्यही स्मृतिबाट फेरि सय दुई सय नयाँ जीवहरू पैदा भइहाल्छन्। ज्ञान मार्गमा हामी अनुमानबाट धेरै कुरा बुझ्न सक्छौँ। चित्तको यो जुन महावृत्ति चलिरहेको छ जीवन चक्रको रचना, विकास, विलय र महाप्रलय यो विश्व चित्तको सबैभन्दा ठुलो वृत्ति हो। वास्तवमा कसैको पनि मुक्ति हुँदैन। त्यही स्मृतिरुप माटोबाट नयाँ जीवहरू उम्रिरहन्छन्। त्यसैले मुक्ति, मोक्ष र निर्वाण जस्ता शब्दहरू पूर्ण रूपमा अर्थहीन छन्। सबैको मुक्ति भए पनि वास्तवमा कसैको पनि हुँदैन। सबैको सपना टुटिहाले पनि यो महास्वप्न चलिरहन्छ, यसलाई कसैले रोक्न सक्दैन। शक्ति जति पटक शिवसँग मिले पनि, उनी पुनः तल झर्छिन् र पुनः नयाँ रचना गर्छिन्। न यहाँ कुनै व्यक्ति छ, न जीव; यो त केवल एउटा महान् रचना र सपनाको भाग हो। त्यो जे भइरहेको छ, भइरहोस्। हामीलाई के मतलब?" "मानिस भन्छ 'होइन, मलाई यो चाहिँदैन, मलाई त्यो चाहिँदैन। मलाई त केवल मुक्ति चाहिन्छ।' तर याद राख्नुहोस्, यो पनि एउटा अहं भाव नै हो। जो वास्तवमा अनुभवकर्ता हो, जो द्रष्टा हो, जो आत्मन हो र जो ब्रह्म हो उसलाई केही पनि चाहिँदैन। ऊ त सधैँ शान्त छ, मौन छ र परमानन्दको अवस्थामा छ। उसलाई केही कुराको आवश्यकता छैन न मोक्ष, न मुक्ति, न कैवल्य, न त समाधि नै। त्यो 'म' नै हुँ। मलाई थाहा छ कि म मुक्त छु। मलाई थाहा छ कि म परम मुक्त छु। मलाई केही पनि चाहिँदैन र यो संसारमा जुन खेल चलिरहेको छ, त्यसको पनि म केवल द्रष्टा हुँ। मलाई त्यो खेलसँग केही लिनु दिनु छैन। चलिरहेको छ भने चल्न दिनुहोस्। जसलाई पनि अध्यात्मको मार्गमा जानु छ वा मुक्ति पाउनु छ धेरै राम्रो कुरा हो, अवश्य जानुहोस्। तर एउटा कुरा सधैँ ध्यानमा राख्नुहोस् जो वास्तवमा मुक्त थियो, ऊ सधैँदेखि मुक्त छ र सधैँ मुक्त नै रहनेछ। अनि जो बन्धनमा छ, ऊ सधैँ बन्धनमै थियो र सधैँ बाँधिएरै रहनेछ। यो नै शाश्वत सत्य हो। यति जानिसकेपछि अब जसलाई जे चाहिन्छ, त्यो लिनुहोस्। यो सबै तपाईँकै खेल हो र यो तपाईँकै लीला हो। जसलाई मुक्ति चाहिएको छ र जसले अहिले आफू मुक्त भएको देखिरहेका छैनन् त्यस्ता सबै साधकहरूका लागि मेरो धेरै धेरै शुभकामना छ।" नमस्कार
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Disclaimer
Terms & Conditions