Wise Words
पुनर्जन्म एक माया ( नेपाली )
रोशन
**पुनर्जन्म एक माया ** *यो आलेख तरुण प्रधानज्यूद्वारा 'बोधी वार्ता' हेतु प्रकाशित दृश्य सामग्री को नेपाली रुपान्तरीत अंश हो; यसको मुख्य अभीष्ट ज्ञानको विस्तार र संरक्षण गर्नु हो। यस ज्ञानवर्धक सामग्रीलाई थप प्रसार उद्देश्यका लागि दृश्य सामग्री वा पुनर्लेखन गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको छ।"* पुनर्जन्म एक माया हो; जन्म-मरणको चक्र केवल एक मिथ्या हो। मेरो न त जन्म हुन सक्छ, न मृत्यु; न पुनर्जन्म, न पुनर्मृत्यु। म यो चक्रभन्दा सर्वथा पर छु। शरीर, व्यक्ति, मन, जीव, स्मृतियी सबै मिथ्या हुन्, जस्तो कि हामीले अघिल्ला भागहरूमा चर्चा गरिसकेका छौं। यदि तपाईंले आफूलाई यिनीहरूमध्ये कुनै एक मान्नुभएको छ भने, त्यो 'म' त स्वभावैले मिथ्या हो। यस्तो छायाको के नै जन्म हुनु? के नै मृत्यु हुनु? त्यसैले पुनर्जन्मको कुरा नै अर्थहीन छ।जो मिथ्या हो उसका लागि। यी सबै आउने-जाने अनुभव मात्र हुन्। म यी सम्पूर्ण अनुभवहरूको 'द्रष्टा' हुँ। त्यसो हो भने, मेरो कस्तो जन्म? र, मेरी कस्तो मृत्यु? स्पष्ट छ, अज्ञानी व्यक्तिलाई यी आउँदै-जाँदै गरेका अनुभवहरू नै देखिन्छन्। र, किनकि उसले तिनैसँग आफूलाई एकाकार गरेको हुन्छ, तिनैलाई 'म' मानेको हुन्छ, तसर्थ 'मेरो जन्म हुन्छ, मेरो मृत्यु हुन्छ' भन्ने धारणा बन्नु स्वाभाविकै हो। अनि, यदि ती अनुभवहरूमध्ये कुनै एकको पुनरावृत्ति भयो भने 'मेरो पुनर्जन्म भयो' भन्ने भ्रम पैदा हुनु पनि अवश्यम्भावी छ। उदाहरणका लागि शरीरलाई हेरौं। जन्म त शरीरको हुन्छत्यो शरीर, जुन केवल पदार्थहरूको एक थुप्रो हो। विभिन्न रासायनिक पदार्थहरू एक ठाउँमा जम्मा भएका छन्। र, हरेक अनुभव अनित्य हुने हुनाले, जे-जति कुरा जम्मा भएको छ, त्यो एकदिन छरिन्छ नै। जसको संगठन भएको छ, त्यसको विघटन पनि अवश्य हुनेछ। जब शरीर छरिन्छ, अर्थात् पुनः माटोमा मिल्छ, तब हामी त्यसलाई 'मृत्यु' भन्ने नाम दिन्छौं। यही माटोबाट फेरि अर्को शरीर बन्न सक्छ; त्यसको संगठन पुनः हुन सक्छ। यसरी शरीरको जन्म र मृत्युको चक्र चलिरहन्छ। यो ठीक त्यस्तै हो, जसरी रुखबाट पातहरू झर्छन्, ती पातहरू कुहिन्छन् र मल बन्छन्। त्यही मलबाट नयाँ बोटबिरुवा वा घाँस उम्रिन्छ, नयाँ रुखहरू बन्छन्। यो एउटा चक्रझैं चलिरहन्छ। के अब हामी भन्न सक्छौं कि रुखको पातको पुनर्जन्म घाँसको रूपमा भयो? के त्यहाँ त्यस्तो केही छ जुन स्थायी छ ? जुन मूलभूत तत्त्व अर्थात् 'पदार्थ' छ, त्यो त उस्तै रहन्छ, केवल त्यसले भिन्न-भिन्न रूप धारण गर्छ। त्यो पातले भन्न सक्दैन कि 'म नयाँ बिरुवा बनें'। र ती नयाँ बिरुवाहरू पनि सुक्छन्, अनि त्यही पदार्थबाट फेरि अरू केही उम्रिन्छ। के यो बन्ने र बिग्रिने चक्रलाई हामी कसैको 'पुनर्जन्म' भन्न सक्छौं र? वास्तविकता त यो हो कि, कुनै पनि शरीर केवल एक पटक मात्र बन्छ। त्यही शरीर फेरि कहिल्यै प्रकट हुने छैनचाहे त्यो उही पदार्थ, उही अणुहरूबाटै किन नबनोस्। अर्को 'दोस्रो' शरीर प्रकट होला, तर 'त्यही' शरीर पुनः प्रकट हुन सक्दैन। एक पटक बन्यो, त्यसको मृत्यु भयो, त्यो नष्ट भयोत्यसपछि त्यो फेरि कहिल्यै देखिने छैन। ठीक त्यसरी नै, 'व्यक्ति' पनि एउटा मानसिक संगठन मात्र हो। जस्तो कि हामीले हेरिसक्यौं, व्यक्ति भनेको विभिन्न मान्यताहरूको एउटा संगालो हो, र त्यो केवल एक पटक मात्र बन्छ; त्यही व्यक्ति पुनः प्रकट हुँदैन। 'व्यक्ति' शरीरमा आधारित हुन्छ; शरीर बनेपछि मात्रै व्यक्तिको निर्माण हुन्छ। व्यक्तिबाट शरीर आउँदैन, बरु शरीरबाट व्यक्तिको उदय हुन्छ। तसर्थ, यदि त्यही शरीर पुनः प्रकट हुँदैन भने, त्यही व्यक्ति पनि पुनः प्रकट हुने प्रश्नै उठ्दैन। नयाँ शरीरको साथमा नयाँ व्यक्तित्व नै बन्नेछ। यसरी नै, 'मनोवृत्ति' पनि पुनः प्रकट हुँदैन। जुन मानसिक तरंगहरू छन्, ती त पछि आउने कुरा हुन्। यिनीहरू चित्तका पत्रहरू हुन्जुन कुरा तपाईंले अब बुझिसक्नुभयो होलार यिनीहरू निरन्तर बन्ने र बिग्रिने गर्छन्। यिनीहरूको संग्रह हुन्छ, विग्रह हुन्छ; स्वयं संगठन हुन्छ र विघटन पनि हुन्छ। यो कुनै एउटा 'वस्तु' होइन, जसले विभिन्न रूप धारण गरिरहेको छ। बरु, यिनीहरू स्वयं 'रूप' हुन्, जो आउँछन् र जान्छन्। र, यदि म यही अहम्भावका कारण यी तल्ला पत्रहरूलाई नै 'म' भन्छु भने, मेरो पुनर्जन्म त स्वतः असम्भव हुन जान्छ। किनकि यी पत्रहरूभित्र खोज्दै जाँदा 'म' नामक कुनै स्थायी चीज नै भेटिँदैन। अब बाँकी रहन्छ 'स्मृति', जुन अत्यन्तै जटिल छ र धेरैजसो मानिसको प्रत्यक्ष अनुभवमा समेत आउँदैन। उनीहरूले केवल थोरै स्मृतिको मात्र अनुभव गर्न सक्छन्, जसलाई हामी 'जागृत स्मृति' भन्छौं। 'चित्त' भनेको नाद-संरचना हो, र यी नाद-संरचनाहरू नै 'स्मृति' हुन्। स्मृति सधैं परिवर्तन भइरहन्छ, तर यो अत्यन्त सूक्ष्म हुनाले, यसमा एक प्रकारको स्थायित्व देखिन्छ। वास्तवमा, यही स्मृति हो जसले अनेकौं रूप धारण गर्छ। चित्तका पत्रहरू भनेका पनि स्मृतिकै पत्रहरू हुन्। र, जब यो स्मृतिले कुनै रूप लिन्छ, तब त्यसबाट उत्पन्न हुने अनुभवहरूले त्यही स्मृतिमाथि पुनः नयाँ छाप छोडिदिन्छन्। यसरी, स्मृतिले यी अनुभवहरूलाई संग्रह गरिरहेको हुन्छ। यसैलाई हामी 'जीव-स्मृति' भन्छौं, जुन 'विश्व-स्मृति' को एउटा सानो अंश मात्र हो। यस जीव-स्मृतिभित्र स्वतः संगठन हुने र विघटन हुने क्रियाहरू निरन्तर चलिरहेका हुन्छन्। अनि, छोटकरीमा हामी यसैलाई 'जीव' भनिदिन्छौं। यसरी जे-जति संग्रहित हुन पुग्छ, त्यसलाई हामी 'संस्कार' भन्छौं। यी संस्कारहरू बदलिन्छन्, तर यति सहजै नष्ट हुँदैनन्। लाखौं-करोडौं वर्षदेखि संस्कारहरू संग्रहित भइरहेका छन्। जीव-स्मृतिमा, 'विश्व-चित्त' मा घटित हुने अन्य घटनाहरू पनि सम्पर्कमा आइरहन्छन्। जस्तो कि सबैलाई थाहा नै छ चित्तको नियम, चित्त एक छ, । यो चित्त नै 'विश्व-चित्त' हो। एउटा व्यक्तिको चित्त र अर्को व्यक्तिको चित्तको बीचमा कुनै सीमारेखा वा पर्खाल हुँदैन। यो 'विश्व-चित्त' मा जे-जति घटित हुन्छ, त्यो तरंगहरूको माध्यमबाट सम्पूर्ण रचनाहरूको सम्पर्कमा आउँछठीक त्यसरी, जसरी पानीको सतहमा एक ठाउँमा उठेको तरंग अर्को ठाउँसम्म पुग्छ। पानीको सतहमा कुनै सीमा हुँदैन। जस्तो कि तपाईंलाई थाहै छ, शरीर 'विश्व-स्मृति' बाटै उत्पन्न हुन्छ। यो पदार्थहरूको एउटा संग्रह हो र शरीरले जन्म लिनासाथ स्नायु-प्रणाली सक्रिय हुन थाल्छ। त्यसमा प्राण चल्न थाल्छ, विद्युतीय शक्ति दौडिन थाल्छ, र इन्द्रियहरू सक्रिय हुन्छन्। सानो बच्चा जन्मिनासाथ, यी सबै मिलेर विभिन्न प्रकारका मानसिक संरचनाहरूको निर्माण गर्न थाल्छन्। यी तरंगहरू 'विश्व-चित्त' मा टाढा-टाढासम्म फैलिन्छन्। हुन त, 'विश्व-चित्त' मा न समय छ, न स्थान; सबै कुरा यहीँ छ, यही ठाउँमा छ, यही समयमा छ। जब यो शारीरिक-मानसिक संरचनाले तरंगहरू पैदा गर्न थाल्छ, तब त्यो 'जीव-स्मृति' को सम्पर्कमा आउँछ। अब, यही 'जीव-स्मृति' लाई हामी 'कारण-शरीर' भन्छौं। अब यो केवल स्मृति मात्र रहेन; यसको सम्पर्क 'विश्व-चित्त' का अन्य रचनाहरूसँग, अर्थात् तल्ला पत्रहरूसँग स्थापित अर्थात् गासिएको छ। जसरी एउटा बोटको जरा जमिनमुनि पानीको सम्पर्कमा आउँछ र पानी तान्न थाल्छ, र त्यही पानी र माटो नै त्यस बोटको भोजन बन्छ, जसले गर्दा बोटको विकास हुन्छ, कती सम्म भने जमिन मा रहेको त्यस खनिज को प्रतिक्रिया स्वरुप कै बोट को रंग पनी हुन्छ। ठीक त्यसरी नै, 'जीव-स्मृति' को सम्पर्क जब शरीर र मानसिक संरचनाहरूसँग हुन्छ, तब त्यसले अनुभवहरू पाउन थाल्छजगत्का अनुभव, जाग्रत अवस्थाका अनुभव। र, यही अनुभव नै उसको भोजन हो। 'कारण-शरीर' यिनै अनुभवहरूबाट बढ्दै जान्छ; अनुभवहरूलाई संग्रह गर्न थाल्छ। जब शरीरको आयु बढ्दै जान्छ, तल्ला पत्रहरू स्थापित हुन थाल्छन्। त्यो सानो बच्चाको रूपमा 'कारण-शरीर' को सम्पर्क यो भौतिक संरचनासँग अझ प्रगाढ हुन थाल्छ। अब 'कारण-शरीर' का तरंगहरूले पनि यो शरीर र मनलाई प्रभावित गर्न थाल्छन्, र त्यस सानो बच्चामा केही जन्मजात भनीने गुणहरू देखिन आरम्भ हुन्छन्। साथसाथै, यो शरीरले जे-जति गरिरहेको छ, इन्द्रियहरूले जे-जति देखिरहेको-सुनिरहेको छ, जीवनमा जे-जति अनुभवहरू भइरहेका छन्ती सबै 'कारण-शरीर' मा संग्रहित हुन थाल्छन्। 'कारण-शरीर' बढ्न थाल्छ, र त्यहाँ जे-जति पहिलेदेखि संग्रहित थियो, त्यो अब तलतिर बग्न थाल्छ र थोरबहुत यस जीवनमा प्रकट हुन थाल्छ। उदाहरणका लागि, हुन सक्छ त्यो 'कारण-शरीर' मा क्रोधका अनुभवहरू भरिएका होउन्। त्यस्तो अवस्थामा, यो सानो बच्चामा पनि क्रोधको मात्रा अत्यन्त धेरै भएको देखिन्छ। हुन सक्छ, त्यो 'कारण-शरीर' मा केही विशेष बानीहरू भरिएका होउन्, र त्यही बानीहरू यहाँ, यो शरीरमा प्रकट हुन थाल्छन्। अर्थात्, जुन पुरानो स्मृतिसँग यस शरीरको सम्पर्क स्थापित भएको छ, त्यसको प्रभाव देखिन थाल्छ। जब त्यो बच्चा अलि ठूलो हुन्छ, लगभग दश-बाह्र वर्षको उमेरमा पुग्छ, तब 'कारण-शरीर' बाट वासनाहरूको प्रवेश यस भौतिक शरीरमा हुन थाल्छ। एउटा विशिष्ट व्यक्तित्व प्रकट हुन थाल्छ र कहिलेकाहीँ यस्तो भ्रम हुन्छ कि मानौं कुनै पुरानो व्यक्तित्व, कुनै पुरानो व्यक्ति नै फेरि फर्किएर आएको छ। जबकि सत्य यो हो कि, ती त केवल स्मृतिका बचेखुचेका कणहरू हुन्; स्मृतिका बाँकी रहेका तरंगहरू हुन्, जसले पुनः यो भौतिक शरीर र यो मनलाई प्रभावित गरिरहेका छन्। जस्तो कि सबैलाई थाहै छ, करोडौं शरीरहरू छन् र करोडौं 'कारण-शरीर' हरू पनि छन्। 'जीव-स्मृति' हरूको संख्या अनन्त छ। यस्तोमा, प्रश्न यो उठ्छ किएउटा 'कारण-शरीर' ले कुनै एउटा विशेष शरीरसँग मात्रै कसरी सम्पर्क स्थापित गर्छ? यो कसले गर्छ? यो सम्पर्क कसले मिलाइदिन्छ? के शरीर आफैं माथि गएर 'कारण-शरीर' सँग सम्पर्क गर्छ र भन्छ त"तिमी मेरो कारण-शरीर हौ"? अथवा, के 'कारण-शरीर' ले तल के भइरहेको छ, यो भौतिक जगत्मा के भइरहेको छ भनेर देख्न सक्छ? र, के त्यसले कुनै एउटा शरीरलाई छनोट गर्न सक्छ र भन्न सक्छ"हो, अब आजदेखि यो मेरो शरीर हुनेछ; यो शरीरलाई म नियन्त्रण गर्नेछु"? के 'कारण-शरीर' ले यसरी सोच्न सक्छ? यो भौतिक शरीर र यसका क्रियाहरू त निर्जीव हुन्। यिनीहरूमा जुन बुद्धि छ, त्यो केवल यतिमा सीमित छ किकसरी जीवित रहने, कसरी हिँडडुल गर्ने, खाना कसरी पचाउने, सास कसरी फेर्ने। यति मात्र यो शरीरको वशमा छ; यसबाहेक यसको अरू कुनै बुद्धि छैन। अर्कोतर्फ, 'कारण-शरीर' त केवल स्मृतिहरूको एउटा संग्रह हो। त्यसमा वृत्तिहरू चल्छन्, तर ती वासनाहरूको रूपमा चल्छन्। त्यसले केवल वासनाका तरंगहरू फैलाई रहन्छ ; त्यसका संकेतहरू सारा 'विश्व-चित्त' मा फैलिरहन्छन्। त्यहाँ अरू कुनै बुद्धि वा विवेक छैन, जसले कुन शरीरसँग सम्पर्क गर्ने भनेर निर्णय गर्न सकोस्, किनकि त्यसलाई त सबै शरीरहरूका संकेतहरू मिलिरहेका हुन्छन्। त्यसकारण, जसले चित्तका नियमहरूलाई बुझ्नुभएको छ, उहाँहरूले सहजै अनुमान लगाउन सक्नुहुन्छ कि एउटा 'कारण-शरीर' कुनै भौतिक शरीरको सम्पर्कमा तब मात्र आउँछ, जब त्यहाँ वासना-पूर्तिको सम्भावना अधिक हुन्छ; जब दुवैका संस्कारहरू मिल्दाजुल्दा हुन्छन्। यसैलाई हामी 'कर्षणको नियम' वा अंग्रेजी मा Law of Attraction भन्छौं। जो जस्तो हुन्छ, ऊ त्यस्तै संगततर्फ आकर्षित हुन्छ। यो नियम तपाईंले भौतिक जगत्मा पनि देख्नुहुनेछ, र यही नियम सम्पूर्ण 'विश्व-चित्त' मा लागू हुन्छ। कुनै भौतिक शरीर कुन अवस्थामा, कुन परिवारमा र कस्तो समाजमा छत्यही कुराले निर्धारित गर्छ कि त्यसप्रति कुनचाहिँ 'कारण-शरीर' आकर्षित हुनेछ। त्यस शरीरले तरंग त सबै 'कारण-शरीर' लाई पठाउँछ, तर त्यसको सम्पर्क केवल त्यही 'कारण-शरीर' सँग स्थापित हुन्छ, जो त्यसका लागि सबैभन्दा अनुकूल छ। यो प्रक्रिया तपाईंले आफ्नो सामाजिक जीवनमा पनि देख्नुभएको होला: एक धनवान् व्यक्ति धनवान् व्यक्तिसँगै वा आफूभन्दा धनी व्यक्तिसँग सम्पर्क बनाउन चाहन्छ; गरिबहरूसँग मित्रता गाँस्दैन। त्यसरी नै, एक बुद्धिमान् व्यक्ति बुद्धिमान् संगत र मित्र चाहन्छ; मूर्खहरूसँग बस्न चाहँदैन। एक सुन्दर स्त्री बाँदर होइन सुन्दर पुरुष नै चाहन्छे। एक शक्तिशाली व्यक्ति शक्तिशाली व्यक्तिहरूसँगै उठबस गर्छ। एक अपराधी प्रवृत्तिको व्यक्ति अपराधीहरूसँगै भेटिन्छ; उसलाई असल मानिसहरू मन पर्दैनन्। यही नै 'कर्षणको नियम' हो। जहाँ फोहोर हुन्छ, त्यहाँ कीराहरू उत्पन्न हुन्छन्। जहाँ मलिलो भूमि हुन्छ, त्यहाँ अन्नबाली, फूल र फलहरू फल्छन्। यो अत्यन्तै प्राकृतिक नियम हो; आकर्षणको यो नियमबारे सबैलाई थाहा छ। र, यही नियमले नै भौतिक शरीर र 'कारण-शरीर' को सम्पर्क निर्धारित गर्छ। त्यहाँ निर्धारण गर्ने कोही पनि छैन; कुनै व्यक्ति बसेर "हो, म यो शरीरसँग सम्पर्क गर्न चाहन्छु" भनेर निर्णय लिइरहेको हुँदैन। त्यस्तो केही पनि हुँदैन। यो एउटा पूर्णतः स्वचालित, यन्त्रवत् प्रक्रिया हो। यहाँ कुनै स्वेच्छाचारी कर्ता छैन; यो आफैं घटित हुन्छ। पहिले सम्पर्क स्थापित हुन्छ, त्यसपछि मात्र व्यक्तित्वको उदय हुन्छ। यो 'व्यक्तित्व' भनेको सांसारिक परिस्थितिहरू र 'कारण-शरीर' का गुणहरूको एउटा संयुक्त उपज (मिश्रण) हो। यदि 'कारण-शरीर' अत्यन्त शक्तिशाली र धेरै पुरानो छ भने, त्यसले यो भौतिक शरीर र मनमाथि अधिक प्रभाव पार्न सक्छ। त्यस्तो अवस्थामा, त्यो 'पुरानो व्यक्तित्व' अत्यन्त स्पष्ट रूपमा प्रकट भएर आउँछ। तपाईंले देख्नुभएकै होलाकेही साना केटाकेटीहरू बाल्यकालदेखि नै उम्दा कलाकारजस्ता देखिन्छन्। कुनै-कुनै साना नानीहरूमा अत्यन्तै विलक्षण क्षमता र योग्यता हुन्छ। फेरि, कोही-कोही केटाकेटीहरू अत्यन्त राम्रो र शिक्षित परिवारमा हुर्केर पनि मूर्ख, व्यभिचारी वा अपराधी निस्कन्छन्। यस्तो यसकारण हुन्छ कि, उनीहरूको 'कारण-शरीर' वर्तमान परिस्थितिहरूमाथि हावी हुन पुग्छ। यदि 'कारण-शरीर' कमजोर छ, नयाँ छ, त्यसमा धेरै संग्रह भएको छैन, पुराना संस्कारहरूको बोझ छैन भने, त्यस्तो व्यक्तिलाई उसको पालनपोषण, उसका मातापिता र समाजले बढी प्रभावित गर्छ। र, यस जीवनका संस्कारहरू पुनः 'कारण-शरीर' मा छापिँदै जान्छन्। यस्तो व्यक्तिको व्यक्तित्व उसको संस्कारले होइन, बरु परिस्थितिहरूले निर्धारण गर्छन्। एक सामान्य मानिसका लागि, हामीले यस्तो मानिलिन सक्छौं कि पचास प्रतिशत परिस्थिति र पचास प्रतिशत संस्कारको प्रभाव हुन्छ। र, किनकि यहाँ कुनै जागृति छैन, कुनै चेतना छैन, यो प्रक्रिया निरन्तर दोहोरिइरहन्छ। यो प्रक्रिया लाखौं-करोडौं पटक घटित हुन्छ र यो 'जीव' अर्थात् 'जीवस्मृति' यही चक्रमा बाँधिन पुग्छ। यी बन्धनहरू अत्यन्त शक्तिशाली हुन्छन्। जसरी पानी सधैं खाल्डोतिर नै बग्छ र त्यहीँ जम्मा हुन चाहन्छ, ठीक त्यसरी नै एउटा 'कारण-शरीर' पनि आफ्नै स्वभावसँग मिल्ने भौतिक शरीरतर्फ आकर्षित हुन्छ र त्यहीँ सम्पर्क बनाउँछ। यदि त्यहाँ कुनै विशेष प्रकारको चराको संस्कार संग्रहित छ भने, यो प्रबल सम्भावना हुन्छ कि त्यसको सम्पर्क ठीक त्यस्तै प्रकारको चराको शरीरसँग हुनेछ। त्यसरी नै, मानव-संस्कार भएको 'कारण-शरीर' को सम्बन्ध मानवकै शरीरसँग हुन्छ। यहाँसम्म कि, यदि त्यो पुरुषको रूपमा संस्कारित छ भने, त्यसले पुरुषको शरीरसँगै सम्बन्ध स्थापित गर्नेछ, स्त्रीको शरीरसँग होइन। र, यतिसम्म पनि देखिएको छ कि, यदि कुनै एकै परिवारको संस्कार त्यो 'कारण-शरीर' मा गहिरोसँग बसेको छ भने, त्यस परिवारमा जन्म लिने सानो बच्चासँग त्यसको पुनः सम्पर्क स्थापित हुन पुग्छ। सायद, तपाईंको घरमा जसले नयाँ जन्म लिएको छ, ऊ तपाईंकै हजुरबुबा-हजुरआमा वा जिजुबुबा-जिजुआमा पनि हुन सक्छ। किनकि, 'कारण-शरीर' मेशिनजस्तै हो; त्यसले अरू केही देख्दैन। त्यो यी संस्कारहरूमा पूर्ण रूपले बाँधिएको छ। जबसम्म त्यो जीवनमा कुनै ठूलो घटना घट्दैन, तबसम्म यो प्रक्रिया एउटा वृत्तझैं चलिरहन्छ, बारम्बार दोहोरिइरहन्छ। एउटा 'कारण-शरीर', जसमा नराम्रा संस्कारहरू परेका छन्, त्यो सधैं खराबीतिर नै आकर्षित हुन्छ। खराब परिस्थितिहरूमा रहेको 'मनो-शरीर' तिर नै त्यो तानिन्छ; त्यसको सम्पर्क त्यहीँ बन्छ, र यस स्थितिबाट बाहिर निस्कने कुनै उपाय हुँदैन। ठीक त्यसरी नै, एउटा आध्यात्मिक संस्कार भएको 'कारण-शरीर' फेरि अज्ञानतिर जाँदैन; त्यसको सम्पर्क ज्ञानी समाज वा जागृत समाजमा नै स्थापित हुन्छ। यो पनि एउटा नियमजस्तै हो। एकपटक जुन 'कारण-शरीर' ले प्रगति गर्छ, त्यो पछाडि पतन भन्ने कुरा अत्यन्तै विरलै देखिन्छ। त्यो अगाडि नै बढ्छ, पछाडि होइन। र, जो एकपटक पतीत भयो, उसको दुर्गति निश्चित छ। त्यसपछि कुनै चमत्कारले मात्रै उसलाई अगाडि बढाउन सक्छ; कुनै कृपाले मात्रै त्यो 'कारण-शरीर' लाई पतन हुनबाट बचाउन सक्छ। एउटा राम्रो कुरा के छ भने, 'जीव-स्मृति' सधैं एकनासको हुँदैन। त्यो पनि निरन्तर बदलिरहेको छ, र यसैलाई हामी 'विकासक्रम' भन्छौंजीवको विकासक्रम। जब-जब विकासक्रम अघि बढ्छ, 'कारण-शरीर' पनि विकसित हुँदै जान्छ र नयाँ-नयाँ रूप धारण गर्छ। प्राकृतिक रूपमा, त्यसले गर्नुपर्ने काम त त्यही होअनुभव संग्रह गर्ने, संस्कारहरू जम्मा गर्ने। यही नै उसको 'वृत्ति' हो। जुन रूप उसको लागि उपयोगी हुन्छ, त्यसले त्यही रूप धारण गरिदिन्छ। जस्तो त्यसको संस्कारले भन्छ, त्यो त्यस्तै रूपतर्फ आकर्षित हुन पुग्छ र त्यसबाट जीवनका अनुभवहरू बटुल्छ। शरीरको मृत्यु हुनासाथचाहे त्यो जुनसुकै शरीर होस्त्यो फेरि बीज-रूपमा आइपुग्छ र कतैबाट पुनः संकेत मिल्छ कि भनेर प्रतीक्षा गर्छ। कुनै अर्को 'मनो-शरीर' बाट संकेत मिलोस्, ताकि अनुभव-संग्रहको काम फेरि सुरु हुन सकोस्; ताकि ती वासनाहरू त्यो 'मनो-शरीर' द्वारा प्रकट हुन सकून्। यो प्रक्रियाको कुनै अन्त्य छैन। यो अनन्तकालदेखि चलिरहेको छ र अनन्तकालसम्म चलिरहनेछ। यसैलाई हामी 'आवागमन' को चक्र भन्छौं। तर, एउटा अत्यन्तै राम्रो कुरा के छ भने, जब विकासक्रम मानवरूपसम्म आइपुग्छजब कुनै न कुनै कारणले 'कारण-शरीर' को सम्पर्क मानव-शरीरसँग हुन पुग्छर यदि त्यो मनुष्य कुनै ज्ञानीको सम्पर्कमा आउँछ भने, त्यहाँ मुक्तिको सम्भावना प्रकट हुन्छ। तब, ज्ञानका संस्कारहरूले यो अज्ञान दूर हुन्छ कि, "म एउटा कारण-शरीर हुँ," "म यो प्रक्रिया हुँ," वा "म यो भौतिक शरीर हुँ," इत्यादि। जसै यो अज्ञान दूर हुन्छ, जसलाई हामी 'आत्मज्ञान' भन्छौं, तब त्यो जीव मुक्त हुन्छ। यसैलाई हामी 'जीवनमुक्ति' भन्छौं। यसको अर्थ यो होइन कि प्रक्रिया बन्द हुनेछ; जुन 'विश्व-चित्त' मा अनन्तकालदेखि चलिरहेको छ, त्यो बन्द हुँदैन। त्यो पूरा हुनेछ, र अन्त्यमा जुन 'जीव-स्मृति' छ, जुन 'कारण-शरीर' छ, त्यो 'विश्व-चित्त' मा विलीन हुन पुग्छ; 'विश्व-चित्त' कै स्मृति बन्न पुग्छनष्ट हुँदैन। जब थोपा सागरमा खस्छ, त्यो नष्ट हुँदैन; त्यो सागरसँगै मिल्न पुग्छ। त्यसलाई अब छुट्टै देख्न सम्भव हुँदैन, तर त्यो त्यहीँ पानीकै रूपमा त छ। ठीक त्यसरी नै, 'कारण-शरीर' कहिल्यै नष्ट हुँदैन। मुक्तिको अर्थ 'कारण-शरीर' को विनाश हुनु होइन; 'कारण-शरीर' को विलय हुनु हो। र विलय पनि कस्तो? त्यो फेरि कुनै न कुनै स्मृतिको रूपमा प्रकट हुन थाल्छ। तर यसपटक, यो एउटा बृहत् स्मृति हुन्छ; धेरै जीवहरूको रूपमा एकसाथ प्रकट हुन थाल्छ। तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि, हामी जुन जगत्मा बाँचिरहेका छौं, यहाँ जति पनि विभिन्न शरीर, जीव, प्राणी, व्यक्ति र मनुष्यहरू देखिन्छन्, ती सबै कुनै एउटा अत्यन्त विशाल 'कारण-शरीर' का रूपहरू हुन्। कहिलेकाहीँ म यसलाई 'महाचित्त' पनि भन्छु, 'महास्मृति' पनि भन्छु, जुन वास्तवमा एउटा अतिविकसित 'कारण-शरीर' मात्र हो। हामी सबै, सम्पूर्ण मनुष्यहरू, त्यस्तै 'महाचित्त' तर्फ विकसित भइरहेका छौं। मुक्तिको अर्थ होम कुनै पनि प्रकारको शरीर होइन; म कुनै पनि प्रकारको रचना होइनचाहे त्यो सूक्ष्म होस् वा स्थूल, चाहे यस्तो होस् वा त्यस्तो। चाहे यो शरीर होस्, चाहे त्यो शरीर होस्; चाहे यति ठूलो होस्, चाहे यति सानोम त्यो होइन। त्यसपछि जे भइरहन्छ, त्यो त भइरहनेछ। यही ज्ञान नै मुक्ति हो। यही ज्ञान नै जीवनमुक्ति हो। मैले जाने कि, जन्म-मरणका यी आउने-जाने अनुभवहरूको अनुभवकर्ता हु म, जुन कुनै पनि प्रकारको आवागमनभन्दा पर छु। म त्यो 'चैतन्य' हुँ। यहाँनेर म बिदा माग्छु। सुन्दै रहनुहोला 'बोधिवार्ता', मायाको श्रृंखला। धन्यवाद।
Share This Article
Like This Article
© Gyanmarg 2024
V 1.2
Privacy Policy
Cookie Policy
Powered by Semantic UI
Disclaimer
Terms & Conditions